पश्चिमी बायुको प्रभाव कायमै, कोशी, वागमती र गण्डकीमा वर्षाको सम्भावना, तराईका केही स्थानमा हल्का हुस्सु

काठमाण्डू, हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज (बुधबार) बिहान तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक /दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चालू आर्थिक वर्षको तीन महिनामा गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि, तरकारी र गेडागुडीको मूल्य उच्च

काठमाण्डू, नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ ।

मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

“२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत छ ।

अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत थियो”, प्रतिवेदनमा भनिएको छ, “समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत छ ।”

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ ।

जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो । त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५७ प्रतिशत र घिउ तथा तेलको चार दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

यो अवधिमा केही वस्तुको मूल्य भने घटेको छ । माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत, मरमसलाको शून्य दशमलव ७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ७८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दूगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ४९, मदिराजन्य पेय पदार्थको छ दशमलव ३२, कपडाजन्य तथा जुत्ता चप्पलको छ दशमलव १२ प्रतिशत र घरायसी उपकरणको चार दशमलव ८८ प्रतिशतले बढेको छ ।

गत असोजमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दूगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दूगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव २६, मधेश प्रदेशको पाँच दशमलव ०८, बागमती प्रदेशको चार दशमलव २४ र गण्डकी प्रदेशको तीन दशमलव ९८ प्रतिशत रहेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशको चार दशमलव ४२, कर्णालीको तीन दशमलव २५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको छ दशमलव ५६ प्रतिशत छ ।

काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ५०, तराईको पाँच दशमलव २३, पहाडको चार दशमलव ३२ प्रतिशत र हिमालको पाँच दशमलव ०८ प्रतिशत छ ।

रासस

विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनी सरकारबीच सम्झौता

काठमाण्डू, नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको छ ।

मङ्गलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र सङ्घीय गणतन्त्र जर्मनीको तर्फबाट राजदूतावासबिच सम्झौता भएको हो ।

सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय सहयोग महाशाखाका सहसचिव धनीराम शर्मा र नेपालका लागि जर्मनीका राजदूत डा। थोमस प्रिन्जले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

जर्मनी सरकारले नेपाललाई अनुदान सहायता स्वरूप १० मिलियन युरो अर्थात् एक अर्ब ४६ करोड रुपियाँ उपलब्ध गराउन सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताले नेपालको विद्युत वितरण पूर्वाधारलाई सुदृढ पार्ने र थप प्रभावकारी विद्युत आपूर्ति सुनिश्चित गर्न जलवायु–अनुकूल प्रविधिहरू लागू गर्ने लक्ष्य राखेको छ ।

उक्त अनुदान रकम भरतपुर ९बागमती प्रदेश०, बुटवल(भैरहवा ९लुम्बिनी प्रदेश० र पोखरा ९गण्डकी प्रदेश० लगायतका नेपालका प्रमुख क्षेत्र विकासका लागि केन्द्रित हुनेछ ।

कार्यक्रमले नेपाल विद्युत प्राधिकरणलाई विस्तृत सम्भाव्यता अध्ययन तयार गर्न र विद्यमान विद्युत वितरण प्रणालीलाई आधुनिक, जलवायु स्मार्ट प्रविधिसहितको स्तरोन्नति गर्न सहयोग गर्नेछ ।

सो परियोजना जर्मनीको विकास बैङ्कमार्फत जर्मन वित्तीय सहयोग एफसीको रूपमा कार्यान्वयन गरिने र आधिकारिक कार्यान्वयनका लागि रेड बुकमा प्रतिबिम्बित हुँदै नेपाल सरकारको बजेट प्रणालीमा एकीकृत गरिने सम्झौता उल्लेख छ ।

कार्यक्रम सन् २०२५ बाट सुरु हुने छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घट्यो, कारोवार रकम १० अर्ब ४६ करोड

काठमाण्डू, मंगलबार सेयर बजार नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२ अंकमा कायम भएको छ ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो ।

२० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो । आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, पिपुल्स हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी क्रमशः अगाडि रहे ।

नारायणी विकास बैंकको ७.२७, गुराँस लघुवित्तको ५.८४, युनिक नेपाल लघुवित्तको ५.३७, पोखरा फाइनान्सको ४.०४ प्रतिशत मूल्य बढ्यो ।

ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९.२५ प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ८.५५, जानाकी फाइनान्सको ८.२०, धौलागिरि लघुवित्तको ७.९४, मोलुङ हाइड्रोपावरको ६.८५ प्रतिशत मूल्य घट्यो ।

सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार २.२१ प्रतिशत घटे ।

प्रधानमन्त्री ओली र देउवाबीच आजपनि भेटवार्ता, मन्त्रिपरिषद् पूनर्गठन कि अध्यादेश ?

काठमाण्डू, प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता बाक्लिएको छ ।

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन जोड गरिरहेको बेलामा सत्ता साझेदार दुई दलका प्रमुख नेताबीच तारन्तार भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री ओलीले दशैंअघि नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेका थिए । तर, कांग्रेसको अवरोधको कारण त्यो सफल हुन सकेन् ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउअघि देउवासँग सहमति लिएर नै प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन खोजेका थिए ।

सुरुमा देउवाले पनि सहमति दिईएको बताईन्छ । तर, पार्टीभित्र शेखर कोइरालालगायतका नेताले विरोध जनाएपछि देउवा त्यसबाट ब्याक भएको बुझिन्छ ।

प्रधानमन्त्री ओलीले कार्यसम्पादन झुर भएका केही मन्त्रीहरुलाई विदा गर्न चाहेका छन् ।

उनीहरुको कारण आफूले समेत बदनामी खेप्नुपरेको उनको निश्कर्ष छ । एमालेबाट कम्तिमा चार जना मन्त्रीलाई विदा गरेर उनीहरुको ठाउँमा काम गर्नसक्ने मन्त्री ल्याउने उनको तयारीछ ।

कांग्रेस सभापति देउवाले भने सरकार बनेको ६ महिनापनि नपुग्दै मन्त्रीहरु हटाउँदा राम्रो सन्देश नजाने भन्दै मन्त्रिपरिषद् पूनर्गठनमा आफ्नो दलबाट सहभागी मन्त्रीहरुलाई नचलाउन भनेका छन् ।

तर, केही मन्त्रीहरुको कार्यशैली र विवादमा मुछिएको कारण पार्टीभित्रैबाट आलोचना भएपछि देउवाले पनि मन्त्रिपरिषद् पूनर्गठनको लागि प्रधानमन्त्री ओलीलाई सहमति दिईएको स्रोतको दावी छ ।

यस्तै, प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा सभापति देउवासँग छलफल थालेका छन् । दुई नेताबीच हिजोपनि बालुवाटारमा दुई घण्टा लामो भेटवार्ता भएको थियो ।

त्यसको भोलिपल्टै आज दुई नेता पूनः भेट्ने भएका हुन् । भेट सिंहदरबारमा अपरान्ह ४ बजेका लागि तय भएको छ

विदेशी विनिमय सञ्चिति ९.४५ ले वृद्धि, १७.६ महिनाको वस्तु आयात धान्ने

काठमाण्डू, २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई रु.१९८८ अर्ब पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई रु २४४ अर्ब २७ करोड कायम भएको छ ।

२०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु

क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

बिर्तामोडमा नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ उद्योग स्थापना

बिर्तामोड, नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा.लि.ले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले सोमबार उद्योगको उद्घाटन गर्दै नेपालको अलैँचीलाई प्रशोधन गरी नेपालकै ब्राण्ड बाट विश्वबजारमा पुर्‍याउने कार्यमा प्रदेश सरकारले सहयोग पुर्‍याउने बताए ।

उनले पूर्वी पहाडमा खोल्साको सुन भनेर परिचित अलैँचीको विश्वबजारमा उच्च माग रहेको भए तापनि यस अघि आफ्नै ब्राण्ड नहुँदा अर्कै मुलुक र अर्कैको ब्राण्ड बाट बजार पुगिरहेको चर्चा गरे ।

लामो समय देखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँची जन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ ।

उद्योगका अध्यक्ष ओमकृष्ण बिमलीले नेपाली अलैँचीलाई प्रशोधन गरी निर्यात गर्दा विदेशी मुद्राको आर्जनका साथै स्वदेशमा थप रोजगारीको सृजना हुने बताए ।

विश्वबजारमा नेपाली उत्पादनलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने उनले माग गरे

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निकासी व्यापारमा अलैँचीको योगदान उच्च रहेको जनाउँदै यसका स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरणका लागि सहजीकरण गर्न केन्द्र तयार रहेको बताए ।

युएसआइडीको ट्रेड एण्ड कम्पेटीटिभनेसले उद्योगलाई मेसिनरी सहयोग गरेको जनाइएको छ ।

उक्त दातृ संस्थाका प्रवक्ता जेसन सुकले विश्वबजारमा आर्थिक मन्दी छाइरहेको अवस्थामा स्थापित अलैँची प्रशोधन उद्योगले स्वदेशमा रोजगारी र निर्यात व्यापारमा महत्त्वपूर्ण योगदान दिनेमा आफू विश्वस्त रहेको बताए ।

उद्योगले ‘एभरेष्ट शान’ ब्राण्डमा अलैँची चिया मसला, अलैँची मिश्रित गरम मसला, माउथ फ्रेसनर र अलैँची तेल उत्पादन गरेर तेस्रो मुलुकमा बिक्री गर्न थालिसकेको उद्योगका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले जानकारी दिए ।

उनले खाडी मुलुकमा अलैँचीको ठूलो बजार रहेका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताए ।

खाडी मुलुकको युएई, कतार, साउदी अरबल गायत अष्ट्रेलिया, युरोप र अमेरिकामा नेपाली अलैँची र यसका प्रशोधित उत्पादन खपत हुने गरेको उनले बताए ।


रासस

प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा दुर्गा प्रसाईंलाई गर्योे सीआईबीको टोलीले पक्राउ

काठमाण्डू, अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रसाईं भक्तपुरस्थित निवासबाट मंगलबार बिहान सीआईबीको टोलीले पक्राउ गरेको हो । प

सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सीआईबीले साइबर ब्यरोमा बुझाउने तयारी छ। विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको सीआईबी निर्देशक दीपक थापाले जानकारी दिए ।

यस्तै उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने थापाले बताए।

‘प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो,’ उनले भने, ‘हिजोको घटनापछि तत्काल नियन्त्रणमा लिनुपर्ने अवस्था आयो।’

प्रसाईँले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ। प्रधानमन्त्रीका हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ।

विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।

उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

साताको तेश्रो दिन बढ्यो सुनचाँदीको मूल्य

काठमाण्डू, मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेर १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३५ रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दूधको भुक्तानीका लागि सरकारले करोडौं दिंदा पनि किसानले पाएनन

काठमाण्डू, दुग्ध बिकास संस्थानमा महाप्रबन्धक छनौट हुन नसक्दा किसानले बेचेको दूधको रकम भुक्त्तानी हुन सकेको छैन् । बिज्ञापन मागेर पनि महाप्रबन्धक छनोट गर्न महाप्रवन्धक छनौट हुन नसक्दा किसान अहिले दोहोरो मार परेका छन् ।

मन्त्रालयले सन्जिब झाको समय सकिएसँगै नयाँ महाप्रबन्धक चयनका लागि २१ दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो ।

सस्थान सुधार्न मन्त्रालयले तत्काल काम गर्नका लागि महाप्रबन्धकको जिम्मेवारी दिएका डाक्टर सूर्य पौडेलको असक्षमताका कारण किसानले बेचेको दूधको पैसा पाएका छैनन भने दूध बजारसम्म लान समेत पाएका छैनन् ।

तर, सूचना अनुसार महाप्रवन्धकका लागि दरखास्त परेकाहरुका लागि पनि मन्त्रीले अहिलेसम्म निर्याण नर्गदा अनुभव नभएका ब्याक्तिmको जिम्मामा जाँदा संस्थानको अलिअलि बचेको साख पनि गिर्दौ गएको छ ।

सरकारले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि रकम उपलब्ध गराएपनि संस्थमानले किसानहरूको भुक्तानी नदिएर दूध खरिदमा सात महिनादेखि कोटा निर्धारण गरेको छ ।

सरकारले ९० करोड भुक्तानी दिंदा पनि किसानहरूको १४ किस्ता अझै पाउन सकेका छैनन् । उच्च स्तरीय दुग्ध पर्दाथ उत्पादनत गरेर ख्याती कमाएको डिडिसी ब्राण्डलाई बचाउन सरकार गम्भीर बन्न नसके संस्थान इतिहास बन्ने चिन्ता बढेको छ ।

बजारमा डिडिसिको मोह अझै घटेको छैन् । उपभोक्ताहरू डिडिसिको दूध लगायतका उत्पादित बस्तुखोजि खोजी खरिद गर्ने गरेका छन् ।

बजार हुँदाहुँदै पनि असक्षम नेतृत्व र संस्थानमा हुने अनियमितताले किसानले दिएको दूध बेच्ने सस्थानले किसानलाई रकम दिन नसक्ने अवस्था आउनुमा जिम्मेवार को हो सोको गहिरो अनुसन्धान हुन जरुरी छ ।

संचालक समितिका पदाधिकारीले महिनामा सयौं लिटर दूध ध्यु लिने मात्रै होइन सयौं लिटर इन्धनको दुरुपयोग अझैसम्म नघट्नुले पनि संस्थानलार्इ चरम संकटमा पुर्याएको महालेखाको प्रतिबेदनलाई अध्ययन गर्दा प्रष्ट हुन्छ।

बजारमा आजभोलि डिडिसिको दूध बजारमा प्रयाप्त नपाएको भन्दै आम उपभोक्ता चिन्तामा रहेका छन् ।

अप्ठ्यारो अवस्थामा गुज्रिएको संस्थानलाइ सुधार्न नयाँ नयाँ योजना बनाउनु पर्नेमा त्यसो नगरी हरेक दिन मिटिङ भन्ने कामचलाउ महाप्रबन्धक डा. पौडेलले कुनै परिणाम दिन सकेको छैनन् ।

उपलब्धि हिन मिटिङ गरेर बैठक भत्ता मात्रै लिने गरेको संचालक समितिका एक सदस्यले सम्पत्ति न्यूजलाइ बताए।

कामचलाउ महाप्रबन्धक पौडेल बिहान बेलुकी मन्त्रीको र सचिवालयमा चाकडी बजाएर सस्थान फर्कन्छ्न हामी डुब्दैछौ ती सञ्चालकको भनाइ छ।

लेखाका प्रमुख बस्नेत असुल्नै ब्यस्त

सरकारले दिएको रकम केन्द्रीय कार्यालयबाट आयोजनाहरुमा किसानको भुक्तानी पठाउँदा रकम माग्ने केन्द्रीय लेखा प्रमुख बासु बस्नेतले रकम असुल्ने धन्धालेसमेत संस्थान आर्थिक संकटमा रुमलिएको छ । यस सन्दर्भलाई अख्तियारले हस्तक्षेप सुक्ष्म छानविन गर्न अब ढिला गर्न हुन्न् ।

लेखाका बिकृतिलाइ दीपक सुवेदीसमेतले साथ दिएको बताइन्छ। संस्थानमा मौज्दात रहेको दुलो पाउडर बिक्री गर्दा बिराटनगरबाट लोकल एल्सि खोली बिक्री गरेर २५ लाख भन्दा बढी घाटा परेको बताइन्छ ।

यस्ता शृङ्खलाबद्ध घाटाको खेतिले संस्थानको अस्तित्व नै संकट्मा पर्ने हो कि भन्दै इमानदार कर्मचारी चिन्तामा छन् ।

चौतर्फी चुनौतीपूर्ण अवस्था उभिएको संस्थानलाइ दर्बिलो बनाउनु पर्ने दायित्व बोकेको तालुकदार मन्त्रालय मौन बस्दा एकातिर बजारमा संस्थानका उत्पादन लोप हुने अवस्थामा छ भने अर्को तर्फ किसानको करोडौं रकम जोखिममा छ ।

तर, मन्त्रीका स्वकीय सचिब नवराज तिमल्सिनाले केही घुसिया कर्मचारीसँग रकम लिएर संस्थान भित्रका कर्मचारीलाई सरुवा गराउन कामचलाउ महाप्रबन्धक पौडेललाई दवाव दिने गरेको मन्त्रालय श्रोतबाट बुझिएको छ।

यस्तो अवस्थामा संस्थान कसरी सुध्रेला या रहला कि नरहला भन्ने प्रश्न पेचिलो बनेको छ।

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाण्डू, अहिले देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मंसिर ४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मेष: दिन शुभ भएकाले सानै मेहनतमा पैसा प्राप्ति, मान–सम्मान, काम सफल हुनेछ ।

वृष: दिन अनुकूल देखिँदैन । धन व्यय, मानसिक तनाव, व्यर्थको खर्च, व्यापारमा बाधा हुन सक्छ ।

मिथुन: दिन बलवान् छ । उपहार मिल्ने, व्यापार, ठेक्कामा सफलता, आर्थिक लाभ हुन सक्छ ।

कर्कट: दिन शुभ नहुँदा सजग रहनु बेस । चोटपटकको डर, पढाइमा समस्या आउन सक्छ ।

सिंह: दिन शुभ फलदायक छ । सुख–शान्ति, धन लाभ, उत्तम भोजन प्राप्ति होला ।

कन्या: थोरै मेहनतमा कार्य सिद्धि, विविध वस्तु वा सेवा प्राप्ति, शारीरिक स्वस्थता हुनेछ ।

तुला: समयको प्रभावले राज्यबाट तनाव, पढाइ वा काममा बाधा नहोला भन्न सकिन्न ।

वृश्चिक: सजग रहनु नै बेस । काममा व्यवधान, धन र समयको नोक्सानी हुन सक्छ ।

धनु: शुभ समयले गर्दा समस्या समाधान, यश–कीर्ति बढ्ने, वाहन–सुख, धन लाभ होला ।

मकर: पढाइ, प्रतियोगिता, मुद्दामामिला आदिमा विजय, लाभको सम्भावना देखिन्छ ।

कुम्भ: समय त्यति शुभ देखिँदैन । कार्यनाश, स्वास्थ्य बाधा, विवाद, चिन्ता हुन सक्छ ।

मीन: आफन्तमा विवाद, दिनचर्या अस्तव्यस्त, झुटो आरोप लाग्न सक्ने हुँदा सजग रहनुस् ।

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुरको भिडन्त

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

उक्त तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्टको भिडन्त हुनेछ ।

उद्घाटन खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुने क्यानले जनाएको छ । फाइनल खेल भने ६ पुसमा हुनेछ

मेची भन्सार कार्यालयबाट चिया निर्यात बढ्यो, चार महिनामा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन निर्यात

झापा, मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार चार महिना -साउन–कात्तिके मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।

चालू आवको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ ।

गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार चालू आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ ।

गत आवको सोही अवधीको तुलनामा अलैँची ११ दशमलव ८७ प्रतिशत, अम्रिसो ११ दशमलव ६६ प्रतिशत, छुर्पी ४१ दशमलव ४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७ दशमलव ९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

उनका अनुसार भेनियर सिटको निर्यात दुई सय ४१ दशमलव ९४ र प्लाइउडको निर्यात २९ दशमलव ६३ प्रतिशले बढेको छ ।

मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षको कात्तिकसम्म रु चार अर्ब ७२ करोड सात लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ ।

उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७ दशमलव २२ प्रतिशत हो ।

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाण्डू, नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ ।

विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो ।

मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।

सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो ।

मङ्गलबारका लागि युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ ।

सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो ।

मङ्गलबारका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ ।

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तय भएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ सात पैसा, बिक्रीदर ३० रुपैयाँ २० पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा, बिक्रीदर १२ रुपैयाँ २९ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ तीन पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।