मंसिर १० गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष : बिहानको समयमा धन हानि, कष्ट भए पनि त्यसपछि भने विजय, सफलता प्राप्ति होला ।

वृष : दिन अनुकूल देखिँदैन । दिनचर्या अस्तव्यस्त, वायु विकार, धन हानि, सन्तान–कष्ट हुन सक्छ ।

मिथुन : बिहान द्रव्य लाभ, उन्नति होला । त्यसपछि भने स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट : शुरुमा खर्च, अस्थिरता होला । त्यसपछि भने द्रव्य लाभ, मान–सम्मान, प्रगति हुने देखिन्छ ।

सिंह : बिहानको समयमा उत्तम भोजन, कार्य सफल तर त्यसपछि अस्थिरता, खर्च हुन सक्छ ।

कन्या : बिहान अस्वस्थता हुन सक्छ । त्यसपछि भने समय अनुकूल भएकाले प्रगति होला ।

तुला : बिहान मिष्ठान्न भोजन पाइएला । त्यसपछि भने अस्वस्थ, शारीरिक कष्ट हुने सम्भावना छ ।

वृश्चिक : समय अनुकूल हुँदा कार्य सिद्धि, आत्मसन्तुष्टि, विविध वस्तु, सेवा वा आर्थिक लाभ होला ।

धनु : बिहान बाधा–व्यवधान भए पनि दिनभर समय शुभ भएकाले सुख–सन्तोष, कार्य सिद्धि होला ।

मकर : समय त्यति अनुकूल छैन । रोगको भय, धन हानि, राज्यबाट अपयश, असफलता हुन सक्छ ।

कुम्भ : बिहान धन लाभ, सफलता हुन सक्छ । त्यसपछि भने कार्य बाधा, अस्वस्थता, खर्च हुन सक्छ ।

मीन : तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, पढाइमा सफलता, विजयको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली, देशका बाँकी भू-भागको मौसम सफा रहने

काठमाण्डू, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (सोमबार बिहान) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली छ।

देशका बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु लागेको छ। आज दिउँसो पनि कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा दिउँसो हल्का वर्षाकोसमते सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

मंगलबार र बुधबारको मौसम

२०८१ मंसिर ११ गते मंगलबार

दिउँसोː कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

रातिː कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ मंसिर १२ गते बुधबार

दिउँसोː कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीस्वरुप पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र र मन्त्रीहरूसँग छलफल गर्दै

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको तयारीस्वरुप पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् ।

छलफल आज (सोमबार) बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू प्रायः सबै सहभागी हुने भएपनि स्वास्थ्यका कारण लोकेन्द्रबहादुर चन्द भने सहभागी नहुने सचिवालयका एक सदस्यले नेपालभ्युजलाई जानकारी दिए ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री ओलीलाई नजिकको छिमेकी देश भारतले निम्तो दिएको छैन् । यसैले उनी अर्को छिमेकी चीनको भ्रमणमा जान लागेका हुन् ।

रुकुमपश्चिममा आफ्नै १९ वर्षीय छोराले गरे चक्कु प्रहार गरी बुवाको हत्या

रुकुमपश्चिम, रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आइतबार बेलुका वीर बहादुरले बुवाको पेटमा चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

बुवाको हत्यापछि उनी फरार छन् । उनको खोजीमा प्रहरी परिचालन भएको प्रहरी निरीक्षक पाठकले बताए ।

स्थानीयका अनुसार बुवाले कान्छी श्रीमती ल्याएको भन्दै पटक पटक विवाद हुने गरेको थियो ।

बुवालाई चक्कु प्रहार गरेर वीरबहादुर जंगल तिर भागेको बताइएको छ । हत्याको कारण भने अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

केही दिनदेखि ठप्प बनेको विद्युतीय राहदानी सेवा आंशिक सञ्चालन, सेवाग्राहीका तथ्याङ्क सुरक्षित

काठमाण्डू, विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने भएपनि आंशिक सेवा आइतबार अपराह्नबाट सञ्चालन गरिएको राहदानी विभागले जनाएको छ ।

केही दिनदेखि ठप्प बनेको विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्णस्तरमा सञ्चालनमा आउन १५ दिनसम्म समय लाग्न सक्ने जनाउँदै विभागले पहिले लिइएका आवेदन जुन अद्यावधिक र छपाइको प्रक्रियामा गएका थिए त्यससम्बन्धी आंशिक सेवा सञ्चालन गरिएको बताएको छ ।

राहदानी सेवाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै विभागले स्वदेश र विदेशका उच्चस्तरीय प्राविधिकसहितको टोलीले समस्या समाधानका लागि काम गरिरहेको जनाएको छ ।

टोलीले समस्या आएदेखि समाधान नभएसम्मको विस्तृत विवरण भविष्यमा आवश्यक सुरक्षाका लागि सुझाव दिने छ ।

विभागका महानिर्देशक तीर्थराज अर्यालले भने, “देशकै तथ्याङ्क सुरक्षासँग जोडिएको विषय विद्युतीय राहदानी सेवा हो, त्यसैले विभागले अत्यन्त सतर्कताका साथ सेवा सञ्चालन गर्नु पर्छ र त्यसै अनुसार काम गरिरहेका छौँ ।”

उनले नेपालको राहदानी सेवाको प्राविधिक पक्ष मजबुत रहेको र राहदानीवाहक र आवेदकहरूको सबै तथ्य तथ्याङ्क सुरक्षित रहेको समेत उहाँले जानकारी दिए ।

अनलाइन आवेदन लिने क्रममा सेवाग्राहीको कम्प्युटरबाट आएको भाइरसले सिङ्गो प्रणालीमा नै बाह्य साइबर आक्रमण हुने खतरा रोक्न सेवा बन्द गर्नु परेको जानकारी दिंदै विभागको प्रणाली सुरक्षामा शङ्का नगर्न उनले आग्रह गरे ।

जिल्लाबाट आएको अनलाइन आवेदनको इमेलमा असावधानीबस क्लिक गरेका कारण एक कम्प्युटरमा भाइरसको समस्या देखिएको दाबी उनको छ ।

त्यो भाइरस प्रणालीगत सर्भरमा पुग्न नदिई नष्ट गर्ने प्रक्रियाका क्रममा सेवा अवरुद्ध हुँदा सर्वसाधारणले समस्या खेप्नु परेकोमा विभागले क्षमा मागेको छ ।

विभागले अत्यावश्यक सेवाका रूपमा अनलाइन बुकिङ खुलाउन भने अझै दुई दिन जति समय लाग्ने प्रस्ट पारेको छ । जिल्ला प्रशासनहरूमार्फत दिइने सामान्य सेवासहितका राहदानीका सेवा खुलाउन थप समय लाग्ने छ ।

अबको एक साताभित्र काठमाडौँ र भक्तपुर जिल्ला प्रशासनमार्फत सेवा सञ्चालन गर्ने गरी विभागले तयारी थालेको महानिर्देशक अर्यालले बताए ।

उनका अनुसार काठमाडौँबाहिरका जिल्ला प्रशासनहरूमार्फतको सेवा सञ्चालनका लागि साताभन्दा बढी समय लाग्ने छ । त्यस्तै सुदूरपश्चिमसहित दुर्गमका इलाका प्रशासन कार्यालयमा अझ बढी समय लाग्ने छ ।

विदेशस्थित कूटनीतिक नियोगहरूमा पनि सेवा सञ्चालनका लागि समय लाग्ने भएकाले धैर्य गर्न र अत्यावश्यक परेमा विभागमार्फत सेवा लिन भनिएको छ ।

देश विदेशसमेतको विद्युतीय राहदानीको सेवाको भार केही दिनलाई विभागमा अत्यधिक पर्ने भएकाले विभाग सतर्क रहेको जनाएको छ ।

त्यसैले पनि अत्यावश्यक रहेकाले मात्र विद्युतीय राहदानीसम्बन्धी सेवाका लागि आउन विभागले अनुरोध गरेको छ ।

उपनिर्वाचनका दिन अनुमति बिना सवारी चलाए २५ हजार जरिवाना

काडमाण्डू, १६ मंसिरमा हुने उपनिर्वाचनका क्रममा निर्वाचन कानूनविपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न वा नगराउन आयोगले सचेत गराएको छ ।

मतदानको दिन अनुमतिबिनाका सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार रुपैयाँ जरिवाना हुने निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५ ९१० मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन भन्ने प्रावधान रहेको पनि आयोगले स्मरण गराएको छ ।

‘यसविपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारी साधन निर्वाचन अवधिभरको लागि कब्जामा लिन सक्ने कानूनी व्यवस्था भएको’ आयोगले आइतबार विज्ञप्तिमार्फत सूचित गराएको छ ।

आयोगले सवारी साधनमा लाउडस्पिकर समेत प्रयोग गरी निर्वाचन प्रचारप्रसारका कार्य भइरहेको भन्ने सूचना आएको भन्दै यस्ता सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको पनि प्रस्ट पारेको छ ।

चिकित्सा शिक्षा आयोगको बैठकमा प्रधानमन्त्री ओलीले दिए आवासीय चिकित्सकको विवाद मिलाउन निर्देशन

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पीजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झालगायतलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले हाल आवासीय चिकित्सकलाई जति सुविधा दिन सकिन्छ त्यति उल्लेख गरेर आयोगमा स्वमूल्याङ्कन फारम आग्रह गर्दै समभदारीका साथ निचोडमा पुग्दा निजी मेडिकल कलेजको घाटा नाफाको पनि अध्ययन गर्न आग्रह गरेका छन् ।

निजी कलेजका आवासीय चिकित्सकलाई पनि आठौ तहको सरकारी सरह मासिक ४८ हजार रुपियाँ सुविधा कायमका लागि सहजीकरण गरिदिन भनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रका आधारमा यही मङ्सिर ११ गतेभित्र स्वमूल्याङ्कन फारम भर्न आयोगले सूचना प्रकाशन गरेको थियो ।

प्रधानमन्त्री ओलीले हाल आवासीय चिकित्सकलाई जति सुविधा दिन सकिन्छ त्यति उल्लेख गरेर आयोगमा स्वमूल्याङ्कन फारम आग्रह गर्दै समभदारीका साथ निचोडमा पुग्दा निजी मेडिकल कलेजको घाटा नाफाको पनि अध्ययन गर्न आग्रह गरेका छन् ।

बैठकमा एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले पीजीका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन भनेर आयोगले एकपक्षीय निर्णय गर्न नसक्ने भन्दै निकास दिन प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । ।

आयोगको जारी बैठकमा गत आर्थिक वर्षको प्रगति विवरण, चालू आर्थिक वर्षको बजेट र कार्यक्रममा नीतिगत संशोधन, प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको आशयपत्र र सम्बन्धन, कार्यक्रम गाम्भे, स्वामित्व हस्तान्तरण, छात्रवृत्तिलगायत कार्यसूची रहेका छन् ।

सहकारी ठगीको आरोप लागेका रास्वापाका सभापति लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा, सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

उनीमाथि पोखराको सुदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आइतबार म्याद थप्ने क्रममा थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको थियो ।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । रविलाई जिल्ला अदालत कास्कीमा आइतबार पाचौं पटक उपस्थित गराएको हो ।

रविलाई म्याद थपेपछि काठमाडौं लैजाने तयारी छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप रविमाथि छ ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

रवि र जोशीविरुद्ध चितवनको सहरा बचतको रकम अपचलन आरोपमा चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको छ ।

दोहोरो अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक १३ दशमलव ०३ अंकले घटेर २६६७ दशमलव ४० को विन्दूमा

काठमाण्डू, साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १३ दशमलव ०३ अंकले घटेर २६६७ दशमलव ४० को विन्दूमा पुगेको छ ।

आइतबार ३२२ कम्पनीका ७६ हजार ४ सय १८ पटकको कारोबारमा १ करोड ५२ लाख ७० हजार १ सय ९७ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये लगानी र निर्माण कम्पनी बढ्दा अन्य राताम्मे छन् । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

गरिव देशका लागि ३ खर्ब डलर छुट्ट्याउने निर्णयसहित सकियो कोप-२९

एजेन्सी, विश्वका धनी देशहरूले गरिब देशहरूलाई ३ खर्ब डलर दिने वाचा गरेका छन् ।

जलवायु परिवर्तनको तयारी र यसको असरबाट बच्नका लागि सो रकम उपलब्ध गराइने सहमतिसहिते कोप-२९ समाप्त भएको छ ।

अजरबैजानको बाकुमा आयोजित संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन कोप-२९ मा ३३ घण्टा ढिलो वार्ता सुरु भएको थियो ।

वार्ता लगभग निष्फल भइसकेको थियो । तर, अन्त्यमा केही सहमति जुट्यो । यात्रा निकै कठिन रहेपनि आफूहरू सम्झौतामा पुग्न सकेको जलवायु परिवर्तन हेर्ने यूएनको निकायका प्रमुख सिमन स्टेइलले भनेका छन् ।

तर, जैविक इन्धनको प्रयोग कम गर्दै जाने भनेर गएको वर्षको मागमा सबै सदस्य देशहरूलाई एकजुट गराउन भने वार्ता असफल भयो ।

शनिबार मध्याहन्न भएको वार्ताबाट विकासशिल देशका साथसाथै जलवायु परिवर्तनको सबैभन्दा धेरै मारमा पर्ने देशहरू पनि बाहिरिए ।

विश्वभर खनिज इन्धनको प्रयोग कम गर्दै लैजाने भन्ने भाषा अति नै कमजोर भएको भन्दै स्वीट्जरल्यान्ड, मालदिभ्स, क्यानडा र अस्ट्रेलियाले विरोध गरेका थिए ।

यसबारे निर्णय सन् २०२५ को जलवायु वार्तासम्म स्थगित भएको छ ।

कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ व्यवसायीसमेत हुन् । उनी लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा थिए ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ ।

२०७९ मा चितवन(२ बाट चुनाव लडेका श्रेष्ठ रास्वपा सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।

कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कोषाध्यक्ष पद रिक्त थियो ।

कांग्रेसको विधानअनुसार १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाण्डू, बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले ५० अर्ब तान्ने भएको छ । आज आइतबार अपराह्न २ बजे नेपाल राष्ट्र बैंकले सो बराबरको निक्षेप उपकरण बोलकबोल गर्न लागेको हो ।

१४ दिन अवधि रहेको उक्त उपकरण मङ्सिर २३ गते परिपक्व हुनेछ । बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड र त्योभन्दा बढी ५ करोडले भाग जाने जतिसुकै रकमका लागि बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

फुयाल र ढकालको इजलासमा रास्वपाका नेताविरुद्धको अदालती अवहेलना मुद्दा

काठमाण्डू, रास्वपाका पदाधिकारी एवं सांसदहरूविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिटउपर हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।

रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको थियो ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका हुन् ।

अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियामा प्रभाव पर्नेगरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा नागरिकमा फैलाउने लगायतका काम गरी स्वतन्त्र न्यायपालिका माथि नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

अवहेलना निवेदनमा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायतलाई विपक्षी बनाइएको छ ।

चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा, २८ जना घाइते

चितवन, चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।

कालिका नगरपालिका-४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३-०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगरपालिका-९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अहिले चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको महतोले बताए ।

उनका अनुसार ३० जना विद्यार्थीसहित ३२ जना बसमा सवार थिए । पिकनिक गएर फर्किंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको थियो ।

सिनामंगलको होटल जन्मभूमिमा दम्पतीको रहस्यमय ढंगले मृत्यु

काठमाडौं । सिनामंगलस्थित एक गेष्ट हाउसमा दम्पती झुन्डिएको अवस्थामा भेटिएका छन् ।

‘होटल जन्मभूमि’ नाम गरेको गेष्ट हाउसको एउटै कोठामा दम्पती मृत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानले घटना आत्महत्या भएको संकेत गरेको छ ।

मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिब २५–२६ वर्ष उमेरका रमेश माझी छन् भने २९ बर्षीय शर्मिला माझी रहेको गौशाला प्रहरीले जनाएको छ ।

शनिबार साँझ ६ बजे गेष्ट हाउस पुगेका उनीहरु चौथो तलाको कोठा नम्बर १२० मा बसेका थिए ।

आइतबार बिहानसम्म ढोका नखुलेपछि र बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरिएको थियो ।

उनीहरूले बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए ।