पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

तनहुँ, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो ।

उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ ।

राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले बताए ।

आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए ।

उनले भने, “मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहनेछ ।”

उक्त अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् ।

त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत सकिएको छ ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाण्डू, पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।

पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनले २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

साताको पहिलो कारोबार दिनमा सेयर बजार वृद्धि, ४.९८ अंकल सेयर वृद्धि भएर परिसूचक २७५३.७६ पुग्यो

काठमाण्डू, साताको पहिलो कारोबार दिनमा सेयर बजार वृद्धि भएको छ । आइतबार ४.९८ अंकल सेयर वृद्धि भएर नेप्से परिसूचक २७५३.७६ पुगेको छ ।

आज ३२६ वटा कम्पनीको सेयर करोबार भएको छ । जसमा १४५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

सबैभन्दा धेरै सेयर मूल्य अपरहेवाखोलाको, उन्नति सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्तको वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

नाङदी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको ४५ करोड १७ लाख १० हजार बढी कारोबार भएको हो ।

आज २ करोड ४४ लाख २६ हजार ९ सय किक्ता सेयर कारोबार भएको छ ।

कारोबार भने ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ सय रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली विवाह पञ्चमी महोत्सवको निम्तो पुर्‍याउन भारतको अयोध्या प्रस्थान

जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली विवाह पञ्चमी महोत्सवको निम्तो पुर्‍याउन भारतको अयोध्या प्रस्थान गरेका छन् ।

ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको साताव्यापी आयोजना हुने विवाह पञ्चमी महोत्सवको निमन्त्रणाका लागि मुख्यमन्त्रीसहितको टोली आइतबार वीरगन्जबाट रामजन्मभूमि अयोध्याधामका लागि प्रस्थान गरेका हुन् ।

टोलीले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायसहितको टोलीलाई औपचारिक निमन्त्रणा दिँदै जनकपुरधाममा मङ्सिरमा आयोजना हुने साताव्यापी विवाह महोत्सवमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम छ ।

विवाह पञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबिचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर मानिन्छ । राम र सीताको ऐतिहासिक विवाहको सम्झनामा मनाइने यो महोत्सवमा हरेक वर्ष नेपाल तथा भारतका हजारौँको सङ्ख्यामा श्रद्धालुहरूको जमघट हुने गर्दछ ।

अयोध्या प्रस्थान हुने मुख्यमन्त्री सिंहसहितको टोलीमा प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मद सकिल अलि मियाँ, वन तथा वातवरणमन्त्री त्रिभुवन साह, श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको सहभागिता छ ।

यस्तै, उक्त टोलीमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अङ्कुर साहको पनि उपस्थिति छ ।

मुख्यमन्त्री सिंहले तिलकसहितको विश्व हिन्दू परिषद्को टोलीलाई शनिबार बिदा गर्दै भने, “महोत्सवलाई भव्य बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध छ, यो महोत्सवले हाम्रो सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुर्‍याउनेछ र आगामी दिनमा आर्थिक वृद्धिमा समेत टेवा पुर्‍याउनेछ ।”

विश्व हिन्दु परिषदको टोली भने तिलकसहितको निमन्त्रणा लिएर एकदिन अघि शनिबार नै जानकी मन्दिरबाट बिदा लिएर अयोध्याका लागि प्रस्थान वीरगन्जमा बास बसेको थियो ।

सोही टोलीसँग आज ९आइतबार० बिहान मुख्यमन्त्रीसहितको टोली वीरगन्जबाट अयोध्याका लागि प्रस्थान गरेका हुन् ।

अयोध्याधाम प्रस्थानका क्रममा वीरगन्जस्थित विश्व हिन्दू परिषद् नेपालको सभाहलमा परिषद्का मधेश प्रदेशका उपाध्यक्ष सुनिल खेतालले मुख्यमन्त्रीसहितको टोलीलाई स्वागत गथिए ।

४ महिनामा २० अर्बको लगानी प्रतिबद्धता, प्रतिबद्धताअनुसार लगानी भित्रिए ७ हजार ६६७ ले रोजगारी पाउने

काठमाण्डू, ४ महिनामा १९ अर्ब ८० करोड १२ लाख २९ हजार २ सय ५० रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार उक्त लगानीमध्ये स्वचालित प्रणालीबाट उनीहरुले चार महिनामा १०९ उद्योगका लागि १ अर्ब ६२ करोड ७३ लाख ५७ हजार, अप्रुभल रुट ९स्वीकृति लिएर०बाट १५४ उद्योगका लागि १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार ४ सय रुपैयाँबराबर लगानी भित्र्याउन स्वीकृति लिएका छन्।

यसबाहेक सेयर खरिदलगायतमा २५ उद्योगका लागि १ अर्ब १३ करोड ६१ लाख १५ हजार ८ सय ५० रुपैयाँबराबरको लगानी भित्र्याउन विभागबाट स्वीकृति लिइएको छ।

चार महिनामा जनाइएको लगानी प्रतिबद्धताअनुसार लगानी भित्रिए ७ हजार ६ सय ६७ जनाले रोजगारी पाउन सक्नेछन्।

स्वचालित प्रणाली, स्वीकृति र सेयर खरिदलगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएको विभागले जनाएको छ।

गत कात्तिकमा मात्रै विदेशी लगानीकर्ताले स्वचालित रुटबाट ६१ करोड ३७ लाख ९६ हजार ८ सय रुपैयाँ ३६ उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै २३ उद्योगका लागि १ अर्ब ६१ करोडबराबरको लगानी प्रतिबद्धता आएको छ। सेयर खरिद तथा सब्सक्रिप्सनमा उनीहरुले कात्तिकमा एक उद्योगको लागि २ करोडको लगानी प्रतिबद्धता गरेका छन्।

सबैभन्दा बढी साना उद्योगमा लगानी प्रतिबद्धता धेरै आएको छ। १५१ यस्ता उद्योगमा प्रतिबद्धता आउँदा मध्यमखालको उद्योगका लागि १ र ठूलाखालको उद्योगका लागि २ वटा प्रतिबद्धता प्राप्त भएको विभागले उल्लेख गरेको छ।

यसमा पनि पर्यटनमा सबैभन्दा बढी, त्यसपछि सेवा, उत्पादन, कृषि, ऊर्जा, खनिज र सूचना प्रविधि क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ।

यसैबीच नेपालमा बिजनेस भिषा सिफारिस माग्ने विदेशी लगानीकर्ताको संख्या पनि बढेको छ।

विभागका अनुसार गत आवको ४ महिनामा १ हजार ५ जनाले यस्तो भिषा मागेकामा यस वर्षको सोही अवधिमा १ हजार २० जना पुगेको छ।

त्यसैगरी लगानीकर्ताको प्रतिनिधि पनि यस वर्ष बढेर २०५ जना पुगेको छ। यसबाहेक बिजनेस भिषा सिफारिस लिने लगानीकर्ताको डिपेन्डेन्टको संख्या पनि यस वर्ष बढेर ३३२ पुगेको छ।

यो चार महिनामा लगानीकर्ताले नेपालबाट फिर्ता लगेको रकममा पनि उल्लेख्य गिरावट आएको छ।

लगानीकर्ताले उक्त अवधिमा ३८ करोड २२ लाख ५४ हजार ७ सय २९ रुपैयाँ रोयल्टी स्वदेश फिर्ता लगेका छन्।

जुन अघिल्लो वर्षको सोही अवधिमा भन्दा निकै कम हो। अघिल्लो वर्ष उनीहरुले ७४ करोड ८६ लाख ६७ हजार ५ सय ८९ रुपैयाँ राजस्व फिर्ता लगेका थिए।

अमेरिकी डलरमा यो अवधिमा उनीहरुले ८ लाख १५ हजार ५ सय २१ डलर फिर्ता लगेका छन्।

गत वर्ष सोही अवधिमा यस्तो रकम ५ लाख ९१ हजार ४ सय ६८ थियो। डलरमा फिर्ता गएको रकम भने यो अवधिमा बढेको देखिएको हो।

लगानीकर्ताले भारुमा यस वर्ष २० करोड ५ लाख १ हजार १२८ भारु फिर्ता लगेका छन्।

गत वर्ष सोही अवधिमा १९ करोड २० लाख २५ हजार भारु लगेका थिए। यस वर्ष युरोमा १० हजार २ सय रोयल्टीबापत फिर्ता गएको छ।

विदेशी प्रविधिलगायतको प्रयोगबापत नेपालबाट रोयल्टी रकम बाहिरिने गर्छ।

त्यसैगरी लाभांशतर्फ यस वर्ष ४ महिनामा ६ करोड ४० लाख फिर्ता गएको छ। गत वर्ष यस्तो रकम १ अर्ब ४१ करोड ६ लाख ८८ हजार २ सय ३३ रुपैयाँ लाभांशबापत लगानीकर्ताले लगेका थिए।

सेवाशुल्कबापत असोजसम्म नेपाली रुपैयाँमा ३८ करोड ८ लाख ६८ हजार १६७, अमेरिकी डलरमा २८ लाख ६८ हजार ६ सय ४४ र भारुमा ५ करोड ७६ लाख १५ हजार ९ सय १७ संकलन भएको विभागले उल्लेख गरेको छ।

सीटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाण्डू, सीटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।

कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ ।

कम्पनीलाई रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिटेन्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गरेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८ वर्ष देखि विश्वभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

रास्वापाले कीर्तिपुरको मेयर र २ वडाध्यक्षका लागि उम्मेदवारी नदिने, काठमाडौँ–१६ मा श्रेष्ठलाई उठाउने

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरको मेयर र २ वडाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ।

रास्वपाका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले पार्टीले खोजेको जस्तो उम्मेदवार नभएकाले त्यहाँ उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए।

यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो।

तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ। काठमाडौँ महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिने भएको छ।

आफूले उम्मेदवारी नदिएपछि रास्वपाले राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ। यद्यपि, अहिले कसलाई सर्मथन गर्ने भन्ने निर्णयमा भने पुगिनसकेको बिष्टले जानकारी दिए।

अहिले कसलाई सर्मथन गर्ने भन्ने निर्णयमा हामी पुगेका छैनौं,’ उनले भने, हामी यसमा छलफल गरेर निष्कर्षमा पुग्छौं।

काँग्रेस महामन्त्री थापाले गरे वीपी अध्ययन केन्द्रको उद्घाटन

सिन्धुपाल्चोक, काँग्रेस महामन्त्री गगनकुमार थापाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको नवनिर्मित भवन वीपी अध्ययन् केन्द्र’ को उद्घाटन गरेका छन् ।

सिन्धुपाल्चोकको चौतारामा भवन उद्घाटनपछि महामन्त्री थापाले बर्तमान गठबन्धनको सरकारको औचित्य संसदबाट गर्नुपर्ने महामन्त्री थापाले धारणा ब्यक्त गरे ।

नेपाली काँग्रेस र एमालेको सरकारले ४० वटा कानुन बनाउनु पर्ने अभिभारा रहेको पनि उनले बताए ।

मुलुकमा बिकास गर्न धमाधम कानुन बनाउने, संसदमा ल्याउने र दिनरात नभनी काम गरेर टुंग्याए मात्र सरकार सफल हुने उनको जिकिर गरे ।

काँग्रेस नेता, कार्यकर्ताले ब्यक्तिगत रकम सहयोग गरेर सो भवन निर्माण गरिएको सभापति जंगबहादुर लामाले जानकारी दिए ।

नेपाली काँग्रेस पूर्वजिल्ला सभापति रोहिणीराज सिग्देल, पूर्वजिल्ला सभापति भूपेन्द्रबहादुर थापाबाट प्राप्त जग्गामा पूर्व सभापति स्वः बिकास लामाको कार्यालयमा पूर्व महामन्त्री प्रकाशमान सिहंले २०७४ भदौ २५ गते उक्त भवन निर्माणका लागि शिलान्यास गरेका थिए ।

महामन्त्री थापाले महामानव वीपी कोइराला, स्वः सभापतिद्वय सिग्देल र लामाको शालिक अनावरण गरेका थिए ।

सभापति लामाका अनुसार उक्त भवन निर्माणका लागि इन्द्रावती गाउँपालिका –३ हाल चौतारा निवासी भूपेन्द्र थापाले १५ लाख ४९ हजार १५५ रुपियाँ, इन्द्रावती गापा–९ महासमिति सदस्य राजु गोर्खालीले १० लाख, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ५ लाख ६८ हजार ७ सय सहयोग गरेका छन् ।

त्यस्तै, सुनकोशी गाउँपालिका –६ का रामशरण भण्डारीले ५ लाख, इन्द्रावती गापा–७ का केशव श्रेष्ठले ४ लाख ८० हजार, इन्द्रावती गापा–५ का दिनेश खरेलले ३ लाख १३ हजार ३३३, उपसभापति तथा भोटेकोशी गापा–१ का दार्जे लामा (हाउडे) ले ३ लाख ११ हजार १११ रुपियाँ, इन्द्रावती गापाका पूर्वअध्यक्ष बंशलाल तामाङले ३ लाख ८ हजार ८ सय रुपियाँ, चौतारा साँगचोकगढी नगरपालिका–७ का रुपक धितालले २ लाख ५१ हजार १०५ रुपियाँ सहयोग गरेका हुन् । भवन निर्माणका लागि अन्य दाताहरुले समेत सहयोग गरेका छन् ।

‘ह्रस्व दीर्घ’ प्रवर्द्धन गर्न प्रदीप रावत र साउथ अभिनेत्री कल्याणी आइतबार काठमाडौं आउने

काठमाण्डू, भारतीय अभिनेता प्रदीप रावत र साउथ अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्धनको लागि आइतबार दिउँसो नेपालमा आउने भएका छन् ।

अभिनेत्री समेत रहेकी निर्मात्री नीता ढुंगानाले आइतबार दिउँसो १ः३० मा रावत दम्पती काठमाडौं विमानस्थलमा अवतरण गर्ने जानकारी दिइन् ।

रावत दम्पती एकसाता काठमाडौंमा रहेर फिल्म प्रवर्धनको कार्यमा ब्यस्त हुनेछन् ।

काठमाडौं बसाइमा पत्रकार सम्मेलन, मिडिया इन्टरभ्यूदेखि हल भिजिटसम्मका कार्यक्रममा प्रदीप र कल्याणी सहभागि हुने जनाइएको छ ।

शुक्रबारदेखि प्रदर्शन सुरु भएको यो फिल्ममा रावतले नीताको बुवाको चरित्रमा अभिनय गरेका छन् । जहाँ उनलाई एक धर्मगुरुको रोलमा देख्न पाइन्छ ।

कल्याणी पनि साउथ अभिनेत्री हुन् । उनले चर्चिन कन्नाडा फिल्महरुमा अभिनय गरेकी छन् ।

सन् २०११ को ‘सुसाइड’, सन् २०१२ को ‘ड्रामा’, सन् २०१३ को ‘जयमान्ना मागा’ लगायतका उनका हिट फिल्म हुन् । उनी विशेषगरि चरित्र अभिनेत्रीको रुपमा ती फिल्ममा देखिने गरेकी छन् ।

फिल्मको प्रचारप्रसारका लागि अन्य कलाकारलाई पनि पालैपालो काठमाडौंमा ल्याउने जानकारी नीताले दिइन् ।

ब्रम्हनन्दम र अलि पनि आउने चर्चा छ, तर यसबारे निधो भैसकेको छैन ।

‘फिल्मले राम्रो ओपनिङ गरेदेखि नै रावत नेपाल आउन उत्साहित हुनुहुन्छ’ नीताले भनिन्, ‘हामी नियमितरुपमा उहाँसँग सम्पर्कमा छौं ।’ फिल्मले शुक्रबार र शनिबार देशब्यापी हाउसफूल ब्यापार गरेको जानकारी उनले दिइन् ।

‘दर्शकसँगको वार्तालापमा राम्रो रेस्पोन्स भएको छ । धेरै दर्शक टिकट नपाएर फर्किएको कुरा छ । भोलिदेखि शो थपिनेछन्’ उनले भनिन् ।

‘ह्रस्व दीर्घ’ शनिबार झण्डै डेढसय हलमा प्रदर्शनमा आएको थियो ।

डा. शर्मा नियुक्त भए स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक

काठमाण्डू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत डा। शर्मालाई थप जिम्मेवारी प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्बाट नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी दिइएको हो ।

यसअघि बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबार समाप्त भएको थियो । यस्तै बोर्डका अध्यक्ष रहेका डा. गुणराज लोहनीले गत भदौको अन्तिम साता राजिनामा दिएपछि अध्यक्ष विहीन भएको हो ।

नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ ।

पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने

काठमाण्डू, विश्व व्यापी रुपमा पाठेघर र स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको अवस्थामा नेपाल सरकारले विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघ देखि फागुन ६ गते सम्म (१५ दिन) पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै खोप सञ्चालन गर्ने मिति तोक्ने निर्णय गर्नुभएको हो ।

यो निर्णय संगै १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीले नि: शुल्क खोप पाउने छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा। अभियान गौतमले किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने बताए ।

‘खोप अभियानका लागि १८ हजार ९ सय वटा विद्यालयमा केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ ।

थप ८ हजार २ सय वटा यस्ता केन्द्र तोकिएका छन्,’ उनले भने । डा.गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० जना स्वयंसेवक, १५ हजार ६ सय ७४ जना सुपरीवेक्षक परिचालन गरिने बताए ।

यस्तै उनले अभियानका लागि १७ लाख ७० हजार २० डोज खोप तयारी अवस्थामा रहेको १७ हजार ८ सय ४३ वटा सेफ्टी बक्स प्रयोग हुने समेत जानकारी दिए ।

विभिन्न अनुसन्धानले बार्षिक करीव २ हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको छ ।

यस्तै एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पु¥याउँने पाइएको छ ।

मन्त्री पौडेलले एचपीभीको संक्रमणबाट बचाउँन र अकाल मृत्युबाट जोगाउन खोप अभियान सुरु गर्न लागिएको बताए ।

उनले भने, ‘हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं ।

मन्त्री पौडेलले भने, किशोरावास्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका हौं ।’

त्यसो त सरकारले यो वर्ष अभियान सञ्चालन गरे पनि आगामी वर्ष देखि एचपीभीलाई नियमित खोप सूचीमा पार्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन, आगामी वर्षबाट सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको छ ।

नेपालमा एचपीभी खोप निशुल्क गर्ने भनेर राष्ट्रपतिबाट बाचन हुने सरकारको नीति तथा तीन पटक आइसकेको छ ।

पहिलो पटक आर्थिक वर्ष २०७६/७७, दोस्रो पटक २०७९/८० र तेस्रो पटक २०८०/८१ को नीति तथा कार्यक्रममा यो खोप निःशुल्क आउँने जनाएपनि खोप उपलब्ध गराउँने दातृ निकायले नेपालको माग अनुरुप खोप उपलब्ध गराउँन सकेको अवस्था छैन ।

तर, यो भने देशव्यापी अभियानका रुपमा पहिलो निर्णय गरिएको हो ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा प्राप्त खोप सरकारले यसपटक १० देखि १४ वर्ष उमेर समूहका १६ लाख बढी किशोरीहरुलाई निशुल्क दिने तयारीमा छ ।

यसरी देशव्यापी रुपमा तोकिएको उमेर समूहका सबै किशोरीलाई दिन थालिएको पहिलो पटक हो । तर, एचपीभी खोप सुरु गरेको पहिलो पटक भने होइन् ।

सन् २००६ मा पहिलो पटक पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी सुरु गरेको नेपाल सरकारले त्यस यता कम्तिमा तीन पटक यस्ता ‘पाइलटिङ’ गरिसकेको छ ।

सन् २००६ देखि २०१३ सम्म १० जिल्लाका ३० हजार किशोरीहरुलाई पाइलटिङ भन्दै सरकारले पहिलो पटक एचपीभी खोप दिएको थियो ।

त्यसपछि सन् २०१५ मा स्वास्थ्य मन्त्रालयले पुनः पाइलटिङ भन्दै कास्की र चितवनमा यो खोप सुरु गरेको थियो ।

गतवर्ष सरकारले अघिल्लो आर्थिक वर्षको बजेटबाट खरीद गरेर ल्याएको २० हजार खोप गत भदौको अन्तिम साता देखि असोजको १० गतेसम्म सातै प्रदेशका सात ठूला अस्पतालमा लगेर १४ वर्षका किशोरीलाई दिएको थियो ।

तर, त्यो बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानलाई ‘डेमोस्ट्रेसन’को रुपमा परिभाषित गरेको थियो । यसपटक भने खोप देशव्यापी रुपमा सुरु हुन लागेको हो ।

त्यस कारण पनि स्वास्थ्य मन्त्री पौडेलले गत महिना विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस लगायत अधिकारीहरुसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए ।

एचपीभी खोपको आवश्यकता किन ?

पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही किन आवश्यक छ भनेर प्रश्न गर्नु अघि एचपीभीबारे जान्न जरुरी रहेको बताउँँछन् ।

उनले भने, पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) लाई मानिएको छ ।

जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ । एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १ सय ७० भन्दा बढी प्रकारको हुन्छ ।

यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।

एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ । त्यसैले बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो ।

विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिसकेका छन् ।

यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ ।

यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पु¥याउँछ ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एचपीभी खोपहरुमा अहिले सर्भरिक्स, गाडासिल, गाडासिल –९, र सिकोलिन ब्राण्डका चारवटा खोपहरु आएका छन् ।

स्मरण रहोस भविस्यमा लाग्न सक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन विश्वका १ सय १७ वटा देशले त्यसविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा सूचीबद्ध गरिसकेका छन् ।

चैनपुर सेती जलविद्युत् आयोजना सहित अन्य १२ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान

काठमाण्डू, विद्युत् विकास विभागले चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिको छ । सो आयोजनाको कुल क्षमता दुई सय १० रहेको छ ।

यस्तै, अन्य १२ वटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ । ती आयोजनाको क्षमता तीन सय ५३ दशमलव दुई मेगावाट छ ।

नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ ।

विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ ।

विभागले जलविद्युततर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कुल क्षमता ६९ दशमलव दुई मेगावाट रहेको छ ।

सौर्य ऊर्जातर्फ दुईवटा आयोजनाको कुल ४० मेगावाट बराबरको जडित क्षमता छ ।

विभागले वायु ऊर्जातर्फ एक आयोजनाको कुल १० मेगावाट बराबरको क्षमता रहेको जनाएको छ ।

यसरी कुल १० वटा आयोजनाको एक सय १९ दशमलव दुई मेगावाट जडित क्षमताको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी गरिएको हो ।

सौर्य ऊर्जातर्फ दुई आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७ दशमलव तीन मेगावाट रहेको जनाइएको छ ।

यसबीचमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।

प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको ५६ दशमलव ४५ सर्किट किलोमिटर, एक सय ३२ केभी क्षमताको दुई सय १० दशमलव ९५ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताको एक सय २५ दशमलव एक सर्किट किलोमिटर, चार सय केभी क्षमताको २९ दशमलव ३७ सर्किट किलोमिटर गरी कुल २२ वटा विद्युत् प्रसारणको सर्वेक्षण अनुमतिपत्रसमेत जारी गरिएको महानिर्देशक सिंहले जानकारी दिए ।

त्यस्तै, प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको २३ दशमलव पाँच सर्किट किलोमिटर, एक सय ३२ केभी क्षमताको १९ दशमलव आठ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताको १२ दशमलव एक सर्किट किलोमिटर र चार सय केभी क्षमताको पाँच सर्किट किलोमिटर गरी कुल सातवटा विद्युत् प्रसारण लाइनको अनुमतिपत्र जारी गरिएको उनले बताए ।

विभागका अनुसार वितरण लाइनतर्फ ३३ केभी क्षमताको कुल ८३ सर्किट किलोमिटर हुने सातवटा विद्युत् वितरणतर्फको अनुमतिपत्र जारी गरेको छ ।

सुनको मूल्य आज फेरि घट्यो, चाँदी पनि सस्तियो

काठमाण्डू, गएको शुक्रबाट थोरै बढेको सुनको भाउ आज फेरि घटेको छ।

गत साता पाँच दिनसम्म लगातार घटेको सुनको मूल्य गएको शुक्रबार थोरै बढेको थियो। तर, आज पुनः सुनको मूल्य घटेको हो।

आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटिसकेको छ। आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ।

शुक्रबार तोलाको एक हजार नौसय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौसय पाँच रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित

काठमाण्डू, आज बस्ने भनेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणबारे छलफल गर्न बिहान ११ बजे बोलाइएको संसदीय समितिको बैठक आजको लागि स्थगित भएको हो ।

मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई स्थगित भएको सूचना पठाइएको छ । प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।

पहिलो चौमासिकसम्म खर्चअनुसार आम्दानी हुन नसक्दा डेढ खर्ब बजेट घाटा, ३४ अर्बको विकास गर्दा ऋणको किस्तामा मात्रै ८७ खर्ब खर्च

काठमाण्डू, चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकसम्म सरकारको खर्चअनुसार आम्दानी हुन नसक्दा डेढ खर्ब रुपियाँ बजेट घाटा भएको छ ।

खर्चअनुसार आम्दानी हुन नसक्दा सरकारले आन्तरिक र बाह्य ऋण लिएर खर्च व्यवस्थापन गर्दै आएको छ ।

जसका कारण विकास खर्चभन्दा ऋणको सावाँ ब्याजमा मात्रै झन्डै ५४ अर्ब रुपियाँ बढी खर्च भएको छ । चार महिनाको अवधिमा ३ खर्ब २३ अर्ब २४ करोड रुपियाँ राजस्व उठेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन–कार्तिकसम्म सरकारलाई १ खर्ब ५३ अर्ब रुपियाँ बजेट घाटा रहेको छ ।

कार्तिक मसान्तसम्म सरकारले ३ खर्ब २९ अर्ब १ करोड ५५ लाख रुपियाँ आम्दानी गर्दा खर्च भने ४ खर्ब १५ अर्ब २ करोड १ लाख रुपियाँ गरेको छ ।

महालेखाका अनुसार साउन ९४ अर्ब, ७२ अर्ब, असोजमा ८१ अर्ब र कात्तिकमा ७६ अर्ब रुपियाँको हाराहारीमा राजस्व उठेको छ ।

चार महिनाको अवधिमा कर राजस्व २ खर्ब ८९ अर्ब ८९ करोड ९५ लाख अर्थात् लक्ष्यको २२ दशमलव ५७ प्रतिशत र गैरकर राजस्व ३३ अर्ब ३४ करोड ५ लाख रुपियाँ अर्थात् लक्ष्यको २४ दशमलव ६८ प्रतिशत उठेको छ ।

यस अवधिमा सरकारले अनुदानबापत कुनै आम्दानी गर्न सकेको छैन् । यो लक्ष्यको २२ दशमलव ७७ प्रतिशत हो ।

चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपियाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

सरकारले राजस्वको लक्ष्य भेट्टाउन हरेक महिना करिब १ खर्ब १९ अर्ब रुपियाँ अर्थात् चार महिनामा ४ खर्ब ७६ अर्ब रुपियाँको राजस्व संकलन गर्नुपर्ने हुन्छ ।

यद्यपि, चार महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा १६ दशमलव ८४ प्रतिशतले राजस्व बढेको छ ।

अन्य आम्दानी ५ अर्ब ७६ करोड ४५ लाख रुपियाँ गरी सरकारले कात्तिक मसान्तसम्म ३ खर्ब २९ अर्ब १ करोड ५५ लाख रुपियाँ अर्थात् लक्ष्यको २२ दशमलव ३६ प्रतिशत मात्रै रहेको छ ।

चालू आवमा सरकारले कर राजस्वबाट १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपियाँ संकलन गर्ने लक्ष्यसहित चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, चार महिनाको अवधिमा सरकारले विनियोजन बजेटको २२ दशमलव ३१ प्रतिशत बजेट खर्च गरेको छ ।

चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपियाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।

सरकारको कुल खर्चमध्ये चालू खर्चतर्फ २ खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रुपियाँ रहेको छ । यो लक्ष्यको २५ दशमलव ६५ प्रतिशत हो ।

सरकारले यस वर्ष ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपियाँ चालू खर्च गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, पुँजीगत खर्च भने जम्मा ३४ अर्ब ५३ करोड १० लाख रुपियाँ अर्थात् लक्ष्यको ९ दशमलव ८ प्रतिशत भएको छ ।

सरकारले यस वर्ष ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपियाँको विकास निर्माणका लागि पुँजीगत खर्च गर्ने योजना बनाएको छ ।

पुँजीगत खर्च चालू आवको पहिलो चार महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा १५ दशमलव १४ प्रतिशतले बढेको छ ।

सरकारी ऋणको सावाँब्याज तिर्न सरकारले वित्तीय व्यवस्थातर्फ चार महिनामा ८७ अर्ब ९६ करोड २४ लाख रुपियाँ अर्थात् लक्ष्यको २३ दशमलव ९५ प्रतिशत खर्च गरेको छ ।

चालू आर्थिक वर्षमा वित्तीय व्यवस्थापनका निम्ति ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

लक्ष्य अनुसारको राजस्व र वैदेशिक अनुदान प्राप्त हुँदा पनि यस वर्ष सरकारलाई ५ खर्ब ४७ अर्ब ६७ करोड रुपियाँ बजेट अपुग हुनेछ ।

अपुग रकम पूर्ति गर्न सरकारले वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र ३ खर्ब ३० अर्ब रुपियाँ र बाँकी आन्तरिक ऋण लिने सरकारको योजना छ ।