दार्चुलामा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुग्यो, ४ जना घाइते उपचार हुँदै

दार्चला, दार्चुलामा जात्राबाट फर्किरहेका दशनार्थी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।

जीप दुर्घटनामा परेर दुई जना भारतीय नागरिकसहित मृत्यु हुने ८ जनाको सनाखत भएको छ।

अन्य ४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावलले जानकारी दिए ।

घाइतेमा शैल्यशिखर नगरपालिका(५ लेकगाउँका ८ वर्षीय सन्दीप रावल, जीप चालक मालिकार्जुन गाउँपालिका(८ पस्तीका ३० वर्षीय सुनील जोशी, बैतडीको डिलाशैनी गाउँपालिका(५ का २८ वर्षीय उत्तम रोकाया र भारतको पिलिभित मारुडण्डाका १७ वर्षीय सोहिन शाह छन्।

टाउकोमा चोट लागेका जीप चालक जोशीको अवस्था गम्भीर छ। अन्य मध्यम घाइते छन्। उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

मृतकमा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसिम, दार्चुलाको शैल्यशिखर नगरपालिका(९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, ४० वर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका(५ लेकका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका(५ नगराउँका १५ वर्षीय सुदीप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहरा छन्।

सामान्य घाइते प्रकाश रावल उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप आज बिहान शैल्यशिखर नगरपालिका(६ बकजेबलामा दुर्घटना भएको हो।

जिपमा १३ यात्रु थिए। मालिकार्जुन गाउँपालिका(३ स्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु चढेको जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो।

कस्तो रहला तपाईँको आजको दिन :हेर्नुहोस् राशिफल

वि.सं. २०८१ साल कार्तिक ३० गते । शुक्रबार । ईश्वी सन् २०२४ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४६ । कार्तिक शुक्लपक्ष । तिथि–पूर्णिमा, ५१ घडी ५४ पला, रातको ३ बजेर ११ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–भरुणी, ४० घडी ४३ पला, बेलुकी १० बजेर ४३ मिनेट उप्रान्त कृतिका ।

योग–व्यातिपात, ७ घडी ४७ पला, बिहान ८ बजेर २१ मिनेट उप्रान्त वरियान । करण–भद्रा, बेलुकी ४ बजेर १६ मिनेट उप्रान्त बव, रातको ३ बजेर ११ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २६ घडी ५० पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर २६ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर २७ मिनेटदेखि बिहान ७ बजेर ४६ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ४६ मिनेटदेखि बिहान ९ बजेर ७ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर ८ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २८ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ३० मिनेटदेखि दिउसो ३ बजेर ४९ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ५० मिनेटदेखि बेलुकी ६ बजेर ४९ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान १० बजेर २७ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्मा मुहूर्त
बिहान ४ बजेर ५१ मिनेटदेखि बिहान ५ बजेर ३९ मिनेटसम्म ब्रह्मा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरूले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ । नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्च बढ्ने तथा काम बिग्रने सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तर पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ । साङ्गीतिक यात्रा हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा नाफा कमाउन बढी नै समय दिनु पर्नेछ । नोकरीमा विशिष्ट व्यक्तित्व हरूसँग विवाद बढ्नेछ । बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरू प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावश्यक शङ्का गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवाल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने भए पनि तपाईँकै कारणले टरेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ भने विलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्नीहरूमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउँदा ख्याल गर्नुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनैपनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउने छैनन् । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । तर पनि सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक तथा कल्याणकारी कामबाट नाम कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक असमझ्दारिले कामहरू गर्न केही कठिनाइ हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेको छ । यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरूकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ ।  

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पतिपत्नी बिचको मधुर प्रेम भावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्य शक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तीर्थाटनको अवसर जुर्नेछ  । पापीय मनोवृत्ति बिस्तारै हट्दै जानाले मन प्रफुल्लित बन्नेछ  । नोकरीमा ख्याति बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक सङ्कट निवारण गर्नेछ ।

सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानमा रहेका रास्वपा सभापति लामिछानेलाई रुपन्देहीबाट कास्की फर्काइँदै

पोखरा, सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शुक्रबार) रुपन्देहीबाट कास्की फर्काइँदै छ ।

उनलाई हवाई उडानमार्फत् नै आज पोखरा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीले बुद्ध एयरमार्फत बिहीबार साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि आजलाई सारिएको हो ।

बयान सकिए पनि त्यसलाई प्रमाणीकरण गराउँदा राति अबेर भएपछि उनलाई आज मात्र पोखरा पठाइने अवस्था आएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मंगलबार बयानका लागि रुपन्देही पुर्याइएका लामिछानेको बिहीबार साँझ बयान सकिएको हो ।

सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।

त्यसपछि पोखरा लगिएका उनलाई प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।
बयानका क्रममा लामिछानेसँग ७० भन्दा बढी लिखित प्रश्न सोधिएको र उनले इन्कारी बयान दिएको बताइएको छ ।

उनीसँग सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो ।

संसदीय छानबिन विशेष समितिले सुप्रिम सहकारीको रकमसमेत गोरखा मिडियामा ल्याएर अपचलन गरेको भन्दै उनीसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो ।

विश्वकपमा पुगेको नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार

काठमाण्डू, यू–१९ महिला विश्वकपमा छनोट भएको नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान०ले पुरस्कारको घोषणा गरेको हो । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइनेछ ।

एसिया छनोटमा बुधबार यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।

युएईमा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

टोली आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी हुनेछ ।

शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाण्डू, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६३ पैसा र बिक्रीदर आठ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन रुपैयाँ ८६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६ड पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र बिक्रीदर १२ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पहिलो पटक बङ्गलादेश जाँदै नेपालको ४० मेघावाट बिजुली

काठमाण्डू, नेपालबाट पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुने भएको छ ।

गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएकामा यस वर्षका लागि कात्तिक ३० गते एक दिन मात्र बङ्गलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा अन्य प्रक्रिया मिलाउन समय लागेकाले सुरुवातका रूपमा एक दिनकै लागि भए पनि निर्यात गर्न लागिएको प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले जानकारी दिए ।

“विद्युत् निर्यातसम्बन्धी प्रक्रिया पूरा गर्न समय लागेकाले एक दिनका लागि मात्रै भएपनि विद्युत् निर्यात गर्न लागिएको छ,” उनले भने ।

गत असोजमा सम्पन्न सम्झौता अनुसार नेपालले पाँच वर्षका लागि हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने तालिका छ ।

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रेजुल करिम र एनटिपिसी विद्युत् व्यापार निगम भारतकी प्रमुख कार्यकारी अधिकृत रेनु नारङ्गले हस्ताक्षर गरेका थिए ।

शुक्रबार नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीहरूले संयुक्त रूपमा विद्युत् निर्यात शुभारम्भ गर्ने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

कार्यक्रमका अनुसार परराष्ट्र मन्त्रालयमा दिउँसो १२: ५५ मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशका ऊर्जा सल्लाहकार र भारतका पावर मिनिस्टरले संयुक्त शुभारम्भ गर्ने कार्यक्रम छ ।

शुक्रबार प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाट चिलिमे जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेश पुर्‍याउँदै छ ।

यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट पाउने छ ।

नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ ।

अर्थात् बङ्गलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ ।

मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् पुग्ने छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकामा दर्शनार्थी बोकेको जीप दुर्घटना ७ जनाको मृत्यु, ५ जना घाइते

दार्चुला, दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको रात्रीजात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ फर्किँदै गरेको जीप शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा दुर्घटना भएको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा निधन भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारत उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । अर्का एक मृतकको भने सनाखत हुन बाँकी छ ।

मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ जादै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।

जीपमा बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको प्रहरीले बताएको छ । जीप सडकबाट करिब १०० मिटर तल खसेको छ ।

सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्छ : सभापति देउवा

डडेल्धुरा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिकि योजना अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बैठकमा सभापति देउवले डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पश्चिमसेती जलविद्युत योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–बझाङ जोड्ने सडक, डडेल्धुरा मेडिकल कलेज लगायतका योजना अगाडि बढाउन सबैले लाग्नु पर्नेमा जोड दिए ।

सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्ने भन्दै उनले नेता कार्यकर्तालाई निर्देशन दिनुभएको कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए ।

उनका अनुसार कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामले पूर्णता पाउनेगरी सरकारले काम गरिरहेको बताएका छन् ।

बैठकमा कांग्रेसको सय दिने संकल्प यात्राबारे चर्चा भएको थियो । सभापति देउवाले संकल्प यात्राको उद्देश्यअनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएको उनले जानकारी दिए ।

कांग्रेस पार्टीको नेतृत्वमा देशमा प्रजातन्त्र आएको उल्लेख गर्दै उनले लोकतन्त्र र संघीयताको रक्षाका लागि कांग्रेस नेता कार्यकर्ताले अहम भूमिका खेल्नुपर्ने बताए ।

संसदीय निर्वाचन पछि कात्तिक २६ गते गृह जिल्ला डडेल्धुराा पुगेका सभापति देउवाले विभिन्न देवीदेवताको पूजाआजा दर्शनसँगै कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् ।

उनले बिहीबार राति सभापति देउवा जन्मथलो गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा रहेको असियु देवताको पूजाआजा गरेका छन् ।

जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता एवं विभिन्न राजनैतिक दलहरुले जनताका सहजताका लागि विभिन्न माग राख्दै योजनाहरु निर्माण गर्न मागपत्र बुझाएकबा छन् ।

बिहीबार कांग्रेस जिल्ला कार्यसमितिको बैठकपछि सभापति देउवा अजयमेरु गाउँपालिका –१ पुइलेक र २ को चमडामा पुगी कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

आर्थिक ऐन २०८० को छुट तथा स्किमबाट आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब १६ करोड राजस्व संकलन

काठमाण्डू, सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक ऐनले दिएका छुट र ‘स्किम’ बाट १४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन २०८० को छुट तथा स्किमबाट १४ अर्ब १६ करोड बराबर राजस्व संकलन गरेको हो ।

गत आव सरकारले कुल ९ खर्ब ४४ अर्ब ५५ करोड कर राजस्व र १ खर्ब १४ अर्ब ३४ करोड १७ लाख गैरकर राजस्व उठाएको थियो ।

उक्त आवमा सरकारको राजस्व संकलन लक्ष्य भने १४ खर्ब २२ अर्ब ५४ करोड रहेकोमा लक्ष्यको ७६ प्रतिशत मात्र उठेको हो ।

सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कर आधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि कर ९भ्याट० का १७० र ३४० छुटका दर खारेज गरेको थियो ।

गत आवमा सरकारले १ हजार ९ सय ८६ करदाताका विभिन्न आय वर्ष अनुसन्धान गरी ११ अर्ब ४ करोड थप निर्धारण गरिएको समेत अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले लामो समयदेखि उठ्न नसकेको राजस्व उठाउन विभिन्न स्किम घोषणा गर्ने गर्छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरेर फर्केका नेपालीले १ जेठ २०८० देखि आफूले प्रयोग गरेका मोबाइल फोन सेट १ थानबाहेक थप १ थान महसुल सुविधामा ल्याउन पाउने व्यवस्था गरेको थियो ।

चालू आवदेखि भने सामाजिक सुरक्षा कोषमा आबद्ध भई वैदेशिक रोजगारीमा गई लगातार कम्तीमा १२ महिना काम गरी फर्केकाले साथ ल्याउने एउटा जुनसुकै आकारको टेलिभिजन सेटमा भन्सार महसुल छुट दिइएको छ ।

त्यस्तै मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादन संरक्षण गर्न केही वस्तु आयातमा लाग्ने महसुल वृद्धि गरिएको थियो ।

स्वदेशी उद्योगले सिमेन्ट, फलामे डन्डी, फलाम तथा प्लास्टिकका पाइप, जस्तापाता, विद्युतीय केबुल आयोजनालाई बेच्दा लाग्ने भ्याट र अन्तःशुल्क छुट दिएर बिक्री गर्न सकिने व्यवस्था गरिएको थियो ।

त्यसैगरी लघु, घरेलु तथा साना उद्योगले उत्पादन प्रयोजनमा पैठारी गर्ने मेसिनरीमा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने, वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आय भएका प्राकृतिक व्यक्तिको आयकरमा समान्य वृद्धि तथा सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नेलाई त्यस्तो आयकरमा ५० प्रतिशत छुट दिइएको छ ।

त्यस्तै सरकारले नेपालमा विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दालाई करको दायरामा ल्याउन २०८० जेठ मसान्तसम्मको भ्याट २५ असारसम्म दाखिला गरे त्यसमा लाग्ने शुल्क, ब्याज र थप दस्तुर मिनाहा गरेको थियो

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम आउँदो मंसीर भित्र सुरु नभएमा ठेक्का तोड्ने प्रभानमन्त्री ओलीको चेतावनी

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले सो चेतावनी दिएका हुन् ।

उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ उल्लेख गरे ।

‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरुले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ ।

आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ ।

हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।’ नवलपरासी (सुस्ता पूर्व)का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए ।

चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमी व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए ।

भौतिकमन्त्री दाहालले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्मका काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराए ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका थिए ।

सभापति लामिछानेविरुद्ध अनुसन्धान चल्दै गर्दा रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दावी गर्दै सर्वोच्चमा रिट

काठमाण्डू, सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरिएको हो।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा उपसभापति वाग्लेसहित कार्यवाहक प्रवक्ता मनीष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सोबिता गौतमलगायत रास्वपा सांसदलाई विपक्षी बनाइएको छ।

अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियामा प्रभाव पर्नेगरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा नागरिकमा फैलाउने लगायतका काम गरी स्वतन्त्र न्यायपालिका माथि नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

भट्टराईको निवेदन सर्वोच्च प्रशासनले सुरूमा दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिएको थियो ।

कात्तिक १४ मा सर्वोच्च प्रशासनले निवेदन दरपिठ गरेपछि त्यस विरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए ।

उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै अदालतले दरपिठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको बयान आज तेस्रो दिन पनि जारी

बुटवल, सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान सुरु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजे सुरु भएको हो ।

दुई दिनमा ५० भन्दा बढी प्रश्न सोधिएको र झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको अनुसन्धान अधिकारीहरूले जनाएका छन् । उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।

मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई हिजो र अस्ति बयान लिइँदा केही प्रश्नहरु अझै बाँकी रहेका थिए।

हिजो अधुरो रहेका विषयहरू सम्भवतः आजै सकिने जिल्ला सरकार वकिलको कार्यलय रुपन्देही न्याधिवक्ता प्रेमराज पौडेलले बताए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।

मङ्गलवार सुरु गरिएको लामिछानेको बयानलाई तेस्रो दिन पनि निरन्तरता दिएका हुन् । आज बयान सकिएमा कास्की पठाउने योजनामा प्रहरी रहेको छ ।

एकै दिन २,२०० ले घट्यो सुनको मूल्य

काठमाण्डू, नेपाली बजारमा सुनको ओरालो यात्रा निरन्तर छ । आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको हो ।

‘कोप–२९’ सम्मेलनमा हिमाल र समुद्रबीचको सम्बन्ध सुमधुरदेखि हिउँ चितुवा संरक्षणमा गम्भीर छलफल

काठमाण्डू, संसारको उच्च भाग हिमाल, तल्लो भाग समुद्र । यी दुईबीचमा असल सम्बन्ध हुँदा नै संसारले न्याय पाउँछ ।

बुधबार बाकुमा हिमाल र समुद्रबीचको सम्बन्ध सुमधुर हुनुपर्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ ।

कोप–२९ मा सम्मिलित देशका राष्ट्ररसरकार प्रमुखले भावी पुस्तालाई स्वच्छ पृथ्वी हस्तान्तरण गर्नका लागि उच्च भाग र तल्लो भागबीचमा सौहार्दता कायम हुनुपर्नेमा जोड दिएका छन् ।

जलवायु परिवर्तन सबैको साझा चुनौती भएको र यसको सामना सामूहिक बुझाइ एवं साझा प्रयास हुनुपर्ने उनीहरूको भाव थियो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु आएका राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराए ।

उनले भने, ‘सबैलाई आ–आफ्नो समस्या ठूलो लाग्नु स्वाभाविकै हो, तर पछिल्ला दिनमा नेपालले भोगेका जलवायु समस्याको चुनौती निकै हृदयविदारक छन् ।’

राष्ट्रपति पौडेलले थपे, ‘तीन महिनाअघि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामेगाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो ।

त्यस्तैगरी, विगत तीन महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र पाँच सयभन्दा बढी मानिसले ज्यान गुमाउन पुगे भने खर्बभन्दा बढीको हानिनोक्सानी भएको छ ।’

उनले यस्ता प्रकारको हानिनोक्सानी स्पेन र गत जुलाईमा क्यारिबियन क्षेत्रमा आएको आँधीबेहरीले गरेको स्मरण गरे ।

‘भोलिका दिनमा यो मानवीय सङ्कट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो भन्ने हामी नेपालीको विश्वास हो,’ नेपालले बुधवार आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्नसक्ने र सामुद्रिक किनार माथि उठ्नसक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्नुपर्छ ।’

यस विशेष सत्रमा बेलायत, फ्रान्स, भुटान, कीर्गिस्तान, अजरबैजानलगायत देशका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिसहित विज्ञ समुदायको सहभागिता रहेको थियो ।

नेपालसँग मिल्दो भाव व्यक्त गर्दै सम्मेलनमा सम्मिलित देशले जलवायु परिवर्तनबाट उत्पन्न हुने बहुआयामिक असर न्यूनीकरणका लागि समिष्टिगत एवं सङ्ख्यात्मक हानिनोक्सानी समेटेर जलवायुवित्त व्यवस्थापन गर्न आह्वान गरे ।

ती देशले जलवायु परिवर्तनबाट निम्तिनसक्ने सङ्कटको पूर्वानुमान गर्न नसकिने भन्दै सहकार्य र जलवायुवित्त व्यवस्थापनमा जोड दिएका हुन् ।

हिउँ चितुवाको स्मरण

कोप–२९ सम्मेलनका क्रममा कीर्गिस्तानद्वारा बुधबार बाकुमा आयोजित उच्चस्तरीय सत्रमा हिउँ चितुवाको स्मरण गरिएको छ ।

नेपाल र कीर्गिस्तान दुवै पर्वतीय मुलुक भएको र दुवै देशले जलवायु परिवर्तनका असर र प्रभाव समान रहेको दुवै देशको बुझाइ छ ।

नेपाल र कीर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा सहकार्य गरेको अनुभव स्मरण गर्दै राष्ट्रपति पौडेलले पर्वतीय मुलुकले समान प्रकारको समस्या भोगिरहेको बताए ।

उनले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा गरीब, महिला, बालबालिका र वृद्धवृद्धा अझ बढी प्रभावित भएको र उनीहरूलाई न्याय दिनुपर्नेमा जोड दिए ।

कीर्गिस्तानका राष्ट्रपति, मङ्गोलियाका राष्ट्रपति र अजरबैजानका विदेश मामिलामन्त्रीले पनि पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्याका समस्या समान रहेको बताए ।

उनीहरूले जलवायु परिवर्तनको प्रभाव हरेक वर्ष बढ्ने क्रममा रहेको र त्यसले नयाँ ‘रेकर्ड’ कायम गर्दै गएकाले एकीकृत भएर सामना गर्नुपर्नेमा जोड दिए ।

पर्वतीय क्षेत्र तुलनात्मक रूपमा बढी जोखिममा परेको उनीहरूको भनाइ थियो ।

विकसित देशलाई गम्भीर बन्न आग्रह

सम्मेलनकै क्रममा बुधबार नै अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार प्रमुखहरूले जलवायु परिवर्तनबाट उत्पन्न असरप्रति विकसित देशहरू गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले विकसित मुलुकहरूका कारण जलवायु परिवर्तनको असरमा वृद्धि भएको बताएका हुन् ।

बाकुमा जारी कोप–२९ को सम्मेलनअन्तर्गत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार प्रमुखहरूसँग भएको सामूहिक भेटघाटमा राष्ट्रपति पौडेलले विकसित देशलाई जलवायु परिवर्तनको असर र प्रभाव बुझाउनुपर्ने बताए ।

अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूले उनीहरूको कुनै योगदान नै नभएको विकराल समस्या बनेको जलवायु परिवर्तनबाट बच्न विकसित देशहरूबाट उल्लेख्य सहयोग पाउन नसकेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उनले अल्पविकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घले अझ प्रयास गनुपर्नेमा जोड दिए ।

नेपालको सहभागिता र चासो

बाकु कोपमा विश्वका करिब दुई सय मुलुकका राष्ट्रप्रमुखदेखि अन्य उच्च व्यक्तित्वहरू सहभागी छन् ।

सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्री सम्मेलनमा सहभागी भएका छन् । यसपटक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पौडेलले गरिरहेका छन् ।

नेपालकोतर्फबाट हरेक कोपहरूमा जलवायुजन्य सङ्कटका कारण पर्वतीय क्षेत्र असुरक्षित रहेको, हिमालको हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गइरहेको, हिमताल विष्फोट हुनसक्ने खतरा रहेकोजस्ता जोखिम रहेको भन्दै पर्वतीय मुद्दालाई उच्च प्राथमिकताका साथ उठाइएको छ ।

आगामी मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ मा जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि मुख्यगरी ६ वटा मुद्दालाई उच्च प्राथमिकता दिइ नेपाली प्रतिनिधिहरू कोपमा उपस्थित भएका छन् ।

वन तथा वातावरण मन्त्रालयका अनुसार जलवायु वित्त, जलवायुजन्य हानिनोक्सानी न्यूनीकरण, कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताका छ विषयगत कार्यपत्र तयार गरिएका छन् ।

यसअघि सन् २००९ डेनमार्कको कोपहेगनमा भएको कोप–१५ मा तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको कोप–२४ मा तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा बेलायतको स्कट्ल्याण्डमा सम्पन्न कोप–२७ मा तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सन् २०२३ मा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न कोप–२८ मा तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सहभागिता जनाइएको थियो ।

–रासस

आन्तरिक राजस्व कार्यालय भरतपुरले गर्‍यो १४६ करदाताको बैंक खाता रोक्का

चितवन, आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ ।

कार्यालयले रु एक लाखभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरूको बैंक खाता रोक्का गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरूको बैंक खाता रोक्का गरिएको हो ।

कार्यालयमा रहेका करदतामध्ये चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको रु ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ ।

त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले रु ९४ करोड बक्यौता तिर्न बाँकी रहेको उनले बताए ।

कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा रु छ अर्ब ६२ करोड राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो ।

सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालू आवको कात्तिक मसान्तसम्ममा रु सात अर्ब ६६ करोड ५९ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ ।

रासस