पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा

काठमाण्डू, पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।

सानो गौचरमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ ।

यतिबेला सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति छ । नेता एवम विभिन्न निकायका विशिष्ट व्यक्तिहरूको आउने क्रम पनि सुरु भएको छ ।

श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका विशिष्ट व्यक्तित्व समेत सहभागी भएका छन् ।

नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो ।

कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार निधन भएको थियो ।

पूर्वसभामुख ढुङ्गानाको निधनले माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाण्डू, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

उनका अनुसार आज आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब मंगलबार मात्रै बस्नेछ ।

बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बढ्यो सुनचाँदीको भाउ, तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ६१ हजार रूपैयाँमा कारोवार

काठमाण्डू, सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघकाअनुसार सोमबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १ हजार ९ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

गाजामा इजरायली हवाई आक्रमणमा परी ३४ जनाको मृत्यु

एजेन्सी, गाजाको बेत लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी हालसम्म ३४ जनाको मृत्यु भएको छ ।

स्थानीय नागरिक सुरक्षा निकायले सो जानकारी दिएको बीबीसीले जनाएको छ । एएफपीले एजेन्सीलाई उद्धृत गर्दै आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ।

आक्रमणमा सात जना घाइते भएका छन् । इजरायली सेनाले हमासलाई पुनस् संगठित हुन नदिन उत्तरी गाजामा आक्रमण गरिरहेको बताएको छ। इजरायली आक्रमणका कारण विगत पाँच हप्तामा १.२५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

इजरायलमा हमासले अक्टोबर ७ मा हमला गरेको थियो र त्यसमा १,२०० जनाको मृत्यु भएको थियो ।

इजरायलको जवाफी कारबाहीका कारण गाजामा हालसम्म ४४ हजार मानिसले ज्यान गुमाएका छन् ।

पूर्वसभामुख ढुङ्गानाको निधनमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाण्डू, आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

“पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ”, प्रवक्ता गुरुङले भने, “राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ ।”

प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेलेको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उनको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

बैठकले ढुङ्गानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।

उनको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।

कांँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाण्डू, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान १०ः३० बजेका लागि आह्वान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपाले सूचना जारी गर्दै बैठक आव्हान गरेको जनाएको हो ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए ।

राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाण्डू, मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।

उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

मुख्यसचिव अर्यालको सचिवालयले उक्त राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइसकेको छ ।

सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त पत्र पेश हुने र अर्यालको राजीनामा स्वीकृत हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको हो ।

अर्यालले आइतबार दिउसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका थिए ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो ।

गत कात्तिक १४ मा सफाइ पाएका उनले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गरेका थिए ।

उनी निलम्बनमा रहेकै बेला नयाँ मुख्यसचिव नियुक्ति भइसकेको अवस्थामा सोही स्तरको पदमा आयोगमा कुनै खास र स्पष्ट जिम्मेवारी बिना बस्न उपयुक्त नहुने भन्दै अर्यालले राजीनामा दिएको बुझिएको छ ।

डा. अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

भ्रष्टाचार मुद्दा दर्ता भएको पछिल्लो दिन असार १० मा मन्त्रिपरिषद्ले योजना आयोगमा विशिष्ट श्रेणीको पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेको थियो ।

माओवादी पदाधिकारी बैठक बस्दै, स्थानीय तह उपनिर्वाचनवारे छलफल हुने

काठमाण्डू, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

महाधिवेसनवाट पारित भएको विधानमा बिबाद देखा परे पछि त्यसलाइ संशोधन गर्ने देखि आगामी, केन्द्रीय समिति बैठकको तयारीका बारेमा पदाधिकारी बैठकमा छलफल हुनेछ ।

साथै, मंशिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सचिव देवेन्द्र पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ ।

सो पार्टीको गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २–७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।

मंसीर ३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष: बिहान खर्च, त्यसपछि उपहार–खाद्यसामग्री प्राप्ति, कार्य सफल होला ।

वृष: बिहान धन लाभ, खुशी तर त्यसपछि मानसिक चञ्चलता, आर्थिक क्षति होला ।

मिथुन: शुरुमा विवाद र खर्च भए पनि दिनभर लाभ, सुख–शान्ति हुने सम्भावना छ ।

कर्कट: बिहान आर्थिक लाभ, मिष्ठान्न भोजन, त्यसपछि भने दुःखद यात्रा, तनाव होला ।

सिंह: समय शुभ छ, आँटेको काम पूरा हुने, धन लाभ, विद्याप्राप्ति, सफलताको योग छ ।

कन्या:बिहान राज्यभय भए पनि दिनभरि कार्य सिद्धि, सुख–सन्तोष, सफलता होला ।

तुला: दिन अशुभ छ, अस्वस्थता, व्यापारमा असफलता, मान–सम्मानमा बाधा, खर्च होला ।

वृश्चिक: बिहान लाभ भए पनि त्यसपछि कष्ट, कार्य बाधा, दौडधूप होला, सजग रहनुस् ।

धनु: समय शुभ छ, पढाइ, मुद्दामामिलामा विजय, धन लाभ, मान–सम्मानमा वृद्धि होला ।

मकर: बिहान पेटको समस्या भए पनि कार्य सफल होला, आर्थिक लाभ, विजय हुनेछ ।

कुम्भ: दिनचर्या अस्तव्यस्त, झमेला, तनाव बढ्नाले अस्वस्थता ननिम्तेला भन्न सकिन्न ।

मीन: बिहान द्रव्य लाभ, प्रगति तर त्यसपछि भने दौडधूप, तनाव बढ्ने सम्भावना छ ।

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर ११ बजेदेखि श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिने

काठमाण्डू, पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।

सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व ढुङ्गानाका परिवार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गर्ने जनाइएको छ ।

नेपाल सरकारले उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाण्डू, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ ।

विवरणअनुसार, अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।

यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्री दर एक सय ७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्याङ्क एकको खरिद दर एक सय ५१ रुपैयाँ ७३ पैसा, बिक्री दर एक सय ५२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ सात पैसा, बिक्री दर ८७ रुपैयाँ ४६ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एक को खरिद दर ९५ रुपैयाँ ६२ पैसा, बिक्री दर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर १ को खरिद दर एक सय रुपैयाँ ३५ पैसा, बिक्री दर एक सय रुपैयाँ ७९ पैसा बराबर रहने गरी विनिमयदर तय गरेको छ ।

यस्तै, जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७३ पैसा, बिक्री दर आठ रुपैयाँ ७७ पैसा तय भएको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा, बिक्री दर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एक को खरिद दर ३५ रुपैयाँ ९१ पैसा, बिक्री दर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एक को खरिद दर ३६ रुपैयाँ ९६ पैसा, बिक्री दर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्री दर तीन रुपैयाँ ८९ पैसा, यूएई दिराम एक को खरिद दर ३६ रुपैयाँ ६८ पैसा, बिक्री दर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ १४ पैसा, बिक्री दर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ २७ पैसा, बिक्री दर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा, हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३१ पैसा र बिक्री दर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ एक पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ९६ पैसा र बहराइन दिनार एक को खरिद दर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्री दर तीन सय ५९ रुपैया छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ ।

उपनिर्वाचन हुने ४२ पदका लागि ४०७ को उम्मेदवारी

काठमाण्डू, आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चारसय सात जनाको मनोयनपत्र दर्ता भएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त जम्मा आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुईसय ९३ पुरूष र एक अन्य गरी जम्मा तीनसय २३ जनाको मनोयनपत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङ जिल्लामा सबैभन्दा कम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका –२ र बझाङको सुर्मा गाउँपालिका –४ को वडा अध्यक्ष पदमा तीन÷तीन जना उम्मेदवारको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारीको समय निर्धारण गरिएको थियो ।

शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोयनपत्र दर्ता भएको आयोगका सहसचिव पोखरेलले जानकारी दिए ।

मङ्सिर ३ गते विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान गरिने प्रवक्ता अर्यालले बताए ।

पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

तनहुँ, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो ।

उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ ।

राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले बताए ।

आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए ।

उनले भने, “मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहनेछ ।”

उक्त अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् ।

त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत सकिएको छ ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाण्डू, पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।

पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनले २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

साताको पहिलो कारोबार दिनमा सेयर बजार वृद्धि, ४.९८ अंकल सेयर वृद्धि भएर परिसूचक २७५३.७६ पुग्यो

काठमाण्डू, साताको पहिलो कारोबार दिनमा सेयर बजार वृद्धि भएको छ । आइतबार ४.९८ अंकल सेयर वृद्धि भएर नेप्से परिसूचक २७५३.७६ पुगेको छ ।

आज ३२६ वटा कम्पनीको सेयर करोबार भएको छ । जसमा १४५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

सबैभन्दा धेरै सेयर मूल्य अपरहेवाखोलाको, उन्नति सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्तको वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

नाङदी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको ४५ करोड १७ लाख १० हजार बढी कारोबार भएको हो ।

आज २ करोड ४४ लाख २६ हजार ९ सय किक्ता सेयर कारोबार भएको छ ।

कारोबार भने ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ सय रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।