शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा, द्वन्द्वपीडितले न्याय पाउन नसक्दा समाजमा असन्तुस्टि कायमै

काठमाण्डू, द्वन्द्वका कारणहरूको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ ।

सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो ।

लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन गर्यो ।

सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए । दुवै आयोगले पीडितहरुको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि अरु प्रक्रिया अगाडि बढाउन सकेन ।

राजनीतिक दलबीच मतैक्य नहुँदा लामो समयसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको गुनासो व्याप्त छ ।

विसं २०५२ फागुन १ गतेदेखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो ।

सोही सम्झौताका आधारमा अन्तरिम संविधान, दुई पटक संविधानसभाको निर्वाचन, संविधान निर्माणलगायतका काम पूरा भए ।

नेपालको विशेषतामा अगाडि बढेको शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको पीडितलाई राहत, क्षतिपूर्ति तथा परिपूरण गर्ने र द्वन्द्वका कारणहरुको खोजी गरेर आगामी दिनमा दोहोरिन नदिन आवश्यक पहल जरुरी छ ।

सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो । जनताका प्रतिनिधिले लेखेको संविधान जारी भयो । नेपाली नागरिक खास अर्थमा सार्वभौम भए ।

यस्तै, हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापनजस्ता महत्वपूर्ण काम पूरा भएपनि द्वन्द्वपीडितले न्याय पाउन नसक्दा समाजमा असन्तुस्टि कायमै छ ।

आफन्त बेपत्ता भएका नागरिकको व्यग्र प्रतिक्षाले कहिले पूर्णता पाउने हो प्रश्नहरु कायम छ ।

बेपत्ता नागरिकको सत्यतथ्य सार्वजनिक गर्ने, घाइतेको उपचार र क्षतिपूर्ति, पीडित परिवारको जीविका, स्वास्थ्य, शिक्षालगायतका विषयमा अपेक्षित काम हुन नसकेको गुनासो व्याप्त छ ।

सरकारले पछिल्लो पटक २०८० साल चैत ३० गते सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिवारका व्यक्तिको छानबिन आयोगमा आयोगमा पदाधिकारी सिफारिस गर्न लागि ‘सिफारिस समिति गठन’ गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगका पदाधिकारी सिफारिस गर्नेछ । हाल आवेदनको प्रक्रिया चलीरहेको छ ।

द्वन्द्वपीडितलाई न्याय दिन ढिलाइ गर्नु हुँदैन भन्ने सरकार र सम्वद्ध राजनीतिक दलको समान मत भएपनि कानुन निर्माणमा नै एक दशक लाग्दा केही आशङ्का भने कायमै थियो ।

पछिल्लो पटक राजनीतिक सहमतिका आधारमा संक्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण भएकाले अब भने पीडितले न्याय पाउने आधार तय भएको छ ।

शान्ति सम्झौताअनुरुप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि प्रविद्ध रहेको उल्लेख थियो ।

सोही उद्देश्यका साथ सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको २०७१ माघ २७ गते गठन गरेपनि काम पूरा नभई आयोग पदाधिकारीविहिन हुन पुग्यो ।

दुई वर्षभित्र सम्पूर्ण काम सक्ने भनेर गठन गरिएका यी दुई आयोगमा पहिलो पदाधिकारीले चार वर्षसम्म जिम्मेवारी पूरा गरे ।

पछिल्लो पटक २०७९ साउन १ गतेदेखि आयोग पदाधिकारीबिहीन छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार सात सय १८ उजुरी दर्ता भएको छ ।

तीमध्ये तीन हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय गरेको थियो । आयोगले द्वन्द्वपीडित परिचयपत्र उपलब्ध गराउने र पीडितलाई परिपूरणको फाराम भराउने र परिपूरणको सिफारिस गर्ने काम गरे पनि पदाधिकारी नहुँदा काम अघि बढ्न सकेन ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार दुई सय ४३ उजुरीमध्ये दुई सय ३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ । दुई हजार चार सय ९६ उजुरीमा विस्तृत छानबिन भइरहेको छ ।

लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक ९तेस्रो संशोधन०, २०८१ राष्ट्रपतिबाट प्रमाणीकरण भइ कार्यान्वयनमा आइसकेको छ ।

ऐनमा दुई आयोगका सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिसक्नुपर्ने र पदाधिकारीको पदावधि नियुक्ति भएको मितिले चार वर्षको हुने व्यवस्था छ ।

ऐनले गरेको व्यवस्थाअनुसार सरकारले आयोगको कामलाई तीव्रता दिन जरुरी छ । पीडितले न्याय पाएको अनुभूति हुने गरी आयोगले काम गर्नुपर्ने धेरैको मत छ ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे वर्गीय, जातीय, लिङ्गिय, सांस्कृतिक उत्पिडनविरुद्ध आफूहरुले ‘जनयुद्ध’ लडेको स्मरण गर्दै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको मूल विषयका आधारमा सबै सरोकारवाला पक्ष अगाडि बढ्न्पर्ने बताउँछन् ।

शान्ति प्रक्रिया टुङ्गो लगाउनका लागि सहमति अनुसार समयसीमा निर्धारण भइ छ महिनामा टुङ्गो लगाउने भनिएपनि विविध कारणका कारणले अगाडि बढन नसकेको उनको भनाइ छ ।

राजनीतिक परिवर्तन अनुरुप नेपाली जनताको आर्थिक विकास प्रक्रिया अगाडि बढ्न नसकेको तथा संविधान निर्माणमै लामो समय लाग्ने जस्ता कारण यसबीचमा देखा परेको उनले बताए ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन बनेको सन्दर्भमा विगतका कमी कमजोरी तथा सकारात्मक दुवै पक्षलाई ध्यान दिएर अब प्रक्रिया अगाडि बढ्ने उनको कथन छ ।

बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक हुन नसक्ने विषयले सबैभन्दा बढी पीडा दिएको उल्लेख गर्दै उनले भने, ‘शहादत हुनेले त देशका लागि बलिदान गरे भनेर चित्त बुझाउन सक्छ ।

तर, बेपत्ता नागरिकको अवस्था सार्वजनिक हुन नसक्नु दुःखद् छ ।’ देशलाई अगाडि बढाउन कमी कमजोरी सुधार गरेर, नपुगेका काम पूरा गर्दै जानुपर्ने छ ।

ऐनमा भएको व्यवस्थाअनुसार, अब शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने नेता पाण्डेले विश्वास व्यक्त गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल मुलुकको हित हेरेर शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने बताए ।

भ्रष्टाचारको नियन्त्रण, उद्योग धन्दाको प्रवद्र्धन, राष्ट्रियताको प्रवद्र्धनलगायतका काम गरिएमात्रै वास्तविक अर्थमा शान्ति कायम हुन सक्ने उनको मत छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया शान्ति प्रक्रियाको बाँकी रहेको काम शीघ्र निष्कर्षका पुर्याउने गरी सरकारले काम गरिरहेको बताए ।

‘विस्तृत शान्ति सम्झौताको धेरै काम सकिए पनि सत्य अन्वेषण गरी पीडितलाई न्याय दिने काम पूरा हुन सकेको छैन’, मन्त्री चौरसियाले भने, ‘सङ्क्रमणकालीन न्यायको काम अघि बढिसकेको छ, अब जतिसक्दो छिटो पीडितले न्याय पाउनेछन् ।’

पीडितले पूर्ण रुपमा न्याय पाएको अनुभूति हुने गरी सङ्क्रमणकालीन न्यायको काम अगाडि बढाउन सरकार, सम्वद्ध पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने साझा मत रहँदै आएको छ ।

राजनीतिक सहमतिका आधारमा ऐन निर्माण भएको, आयोगका पदाधिकारी छनौटको प्रक्रिया सुरु भएको सन्दर्भमा पछिल्ला दिनमा पीडितले न्याय पाउने आशा भने बढेर गएको अनुभव गर्न सकिन्छ ।

रासस

मन्त्री पाण्डेले घुस खाएको आरोप लगाएका सांसद बजगाईँले मागे माफी

काठमाण्डू, सांसद राजेन्द्र बजगाईँले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् ।

बजगाईँले सामाजिक सञ्जालमै लेखेर पाण्डेले क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए ।

त्यसपछि मन्त्री पाण्डेले बजगाईँले आफू विरुद्ध बारम्बार कु प्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए ।

सोही क्रममा मंगलबार अनुशासन समितिले बजगाईँलाई बोलाएको थियो । त्यसको भोलिपल्ट बजगाईँले माफी मागेका हुन् ।

‘सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,’ बजगाईँले एक्समार्फत भनेका छन्, ‘मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यस कारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु ।

टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमा प्रार्थी छु ।’

ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनितिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै

एजेन्सी, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तिमा २७५ मिलियन डलर भन्दा बढी मूल्यका नयाँ हतियार पठाउने भएको छ ।

अमेरिकाले युक्रेनले रुसविरुद्धको लडाइलाई बलियो बनाउन यो नयाँ सहयोग दिने घोषणा गरेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दुई महिनामा सकेसम्म धेरै सहायता प्राप्त गर्न चाहको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा कार्यकाल शुरु गर्नु अघि बाइडेनले युक्रेनलाई सकेसम्म बढी सहयोग गर्ने रणनीति बनाएको रिपोर्टमा उल्लेख छ ।

विशेष गरी युक्रेनमा द्वन्द्व बढ्ने डर बढ्दै गएको बेला अमेरिकाले हतियारको पछिल्लो ढुवानी युक्रेनमा आफ्नो सेनालाई थप बलियो बनाउन पठाइने भएको छ ।

ट्रम्पले युद्ध चाँडै अन्त्य गर्ने वाचा गरेकाले दुवै पक्षले थप लाभ लिन जोड दिइरहेका छन् ।

यस अघि नोभेम्बर १७ मा बाइडेनले युक्रेनलाई देश बाहिर पनि लामो दूरीको मिसाइलहरू प्रयोग गर्न अनुमति दिएका थिए ।

त्यसपछि, १९ नोभेम्बरमा, युक्रेनले सामरिक मिसाइल प्रणाली प्रयोग गरेको दाबि गरिएको छ ।

रिपोर्टका अनुसार युक्रेनले गए राति रुसको ब्रायान्स्क क्षेत्रमा ६ वटा अमेरिकी एटीएसीएमएस मिसाइल प्रहार गरेको दाबी गरिएको छ ।

एटीएसीएमएस प्रणाली सतहबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल हो, जसले ३०० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ ।

लामो दूरीको स्ट्राइक क्षमताका कारण यो मिसाइल युक्रेनका लागि गेम चेन्जर साबित हुन सक्ने बताइएको छ ।

अमेरिकाको नयाँ सहायताले युक्रेनलाई एयर डिफेन्स, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम, १५५ एमएम र १०५ एमएम आर्टिलरी राउण्ड, जेभलिन एन्टि(आर्मर हतियार र अन्य उपकरण प्रदान गर्नेछ ।

यी हतियारहरू पेन्टागनले सकेसम्म चाँडो युक्रेनी सेनालाई पठाइने बताएको छ ।

साइबर अपराध मुद्दामा पक्राउ परेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस

काठमाण्डू, साइवर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

मंगलबार नै उनको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रसाईंले प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी ओलीको अर्बौं डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएका प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने बताइएको छ ।

मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । यसअघि मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए ।

साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उनि सो मुद्धामा एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

पश्चिमी बायुको प्रभाव कायमै, कोशी, वागमती र गण्डकीमा वर्षाको सम्भावना, तराईका केही स्थानमा हल्का हुस्सु

काठमाण्डू, हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज (बुधबार) बिहान तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक /दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चालू आर्थिक वर्षको तीन महिनामा गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि, तरकारी र गेडागुडीको मूल्य उच्च

काठमाण्डू, नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ ।

मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

“२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत छ ।

अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत थियो”, प्रतिवेदनमा भनिएको छ, “समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत छ ।”

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ ।

जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो । त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५७ प्रतिशत र घिउ तथा तेलको चार दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

यो अवधिमा केही वस्तुको मूल्य भने घटेको छ । माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत, मरमसलाको शून्य दशमलव ७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ७८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दूगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ४९, मदिराजन्य पेय पदार्थको छ दशमलव ३२, कपडाजन्य तथा जुत्ता चप्पलको छ दशमलव १२ प्रतिशत र घरायसी उपकरणको चार दशमलव ८८ प्रतिशतले बढेको छ ।

गत असोजमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दूगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दूगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव २६, मधेश प्रदेशको पाँच दशमलव ०८, बागमती प्रदेशको चार दशमलव २४ र गण्डकी प्रदेशको तीन दशमलव ९८ प्रतिशत रहेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशको चार दशमलव ४२, कर्णालीको तीन दशमलव २५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको छ दशमलव ५६ प्रतिशत छ ।

काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ५०, तराईको पाँच दशमलव २३, पहाडको चार दशमलव ३२ प्रतिशत र हिमालको पाँच दशमलव ०८ प्रतिशत छ ।

रासस

विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनी सरकारबीच सम्झौता

काठमाण्डू, नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको छ ।

मङ्गलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र सङ्घीय गणतन्त्र जर्मनीको तर्फबाट राजदूतावासबिच सम्झौता भएको हो ।

सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय सहयोग महाशाखाका सहसचिव धनीराम शर्मा र नेपालका लागि जर्मनीका राजदूत डा। थोमस प्रिन्जले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

जर्मनी सरकारले नेपाललाई अनुदान सहायता स्वरूप १० मिलियन युरो अर्थात् एक अर्ब ४६ करोड रुपियाँ उपलब्ध गराउन सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताले नेपालको विद्युत वितरण पूर्वाधारलाई सुदृढ पार्ने र थप प्रभावकारी विद्युत आपूर्ति सुनिश्चित गर्न जलवायु–अनुकूल प्रविधिहरू लागू गर्ने लक्ष्य राखेको छ ।

उक्त अनुदान रकम भरतपुर ९बागमती प्रदेश०, बुटवल(भैरहवा ९लुम्बिनी प्रदेश० र पोखरा ९गण्डकी प्रदेश० लगायतका नेपालका प्रमुख क्षेत्र विकासका लागि केन्द्रित हुनेछ ।

कार्यक्रमले नेपाल विद्युत प्राधिकरणलाई विस्तृत सम्भाव्यता अध्ययन तयार गर्न र विद्यमान विद्युत वितरण प्रणालीलाई आधुनिक, जलवायु स्मार्ट प्रविधिसहितको स्तरोन्नति गर्न सहयोग गर्नेछ ।

सो परियोजना जर्मनीको विकास बैङ्कमार्फत जर्मन वित्तीय सहयोग एफसीको रूपमा कार्यान्वयन गरिने र आधिकारिक कार्यान्वयनका लागि रेड बुकमा प्रतिबिम्बित हुँदै नेपाल सरकारको बजेट प्रणालीमा एकीकृत गरिने सम्झौता उल्लेख छ ।

कार्यक्रम सन् २०२५ बाट सुरु हुने छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घट्यो, कारोवार रकम १० अर्ब ४६ करोड

काठमाण्डू, मंगलबार सेयर बजार नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२ अंकमा कायम भएको छ ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो ।

२० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो । आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, पिपुल्स हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी क्रमशः अगाडि रहे ।

नारायणी विकास बैंकको ७.२७, गुराँस लघुवित्तको ५.८४, युनिक नेपाल लघुवित्तको ५.३७, पोखरा फाइनान्सको ४.०४ प्रतिशत मूल्य बढ्यो ।

ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९.२५ प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ८.५५, जानाकी फाइनान्सको ८.२०, धौलागिरि लघुवित्तको ७.९४, मोलुङ हाइड्रोपावरको ६.८५ प्रतिशत मूल्य घट्यो ।

सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार २.२१ प्रतिशत घटे ।

प्रधानमन्त्री ओली र देउवाबीच आजपनि भेटवार्ता, मन्त्रिपरिषद् पूनर्गठन कि अध्यादेश ?

काठमाण्डू, प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता बाक्लिएको छ ।

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन जोड गरिरहेको बेलामा सत्ता साझेदार दुई दलका प्रमुख नेताबीच तारन्तार भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री ओलीले दशैंअघि नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेका थिए । तर, कांग्रेसको अवरोधको कारण त्यो सफल हुन सकेन् ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउअघि देउवासँग सहमति लिएर नै प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन खोजेका थिए ।

सुरुमा देउवाले पनि सहमति दिईएको बताईन्छ । तर, पार्टीभित्र शेखर कोइरालालगायतका नेताले विरोध जनाएपछि देउवा त्यसबाट ब्याक भएको बुझिन्छ ।

प्रधानमन्त्री ओलीले कार्यसम्पादन झुर भएका केही मन्त्रीहरुलाई विदा गर्न चाहेका छन् ।

उनीहरुको कारण आफूले समेत बदनामी खेप्नुपरेको उनको निश्कर्ष छ । एमालेबाट कम्तिमा चार जना मन्त्रीलाई विदा गरेर उनीहरुको ठाउँमा काम गर्नसक्ने मन्त्री ल्याउने उनको तयारीछ ।

कांग्रेस सभापति देउवाले भने सरकार बनेको ६ महिनापनि नपुग्दै मन्त्रीहरु हटाउँदा राम्रो सन्देश नजाने भन्दै मन्त्रिपरिषद् पूनर्गठनमा आफ्नो दलबाट सहभागी मन्त्रीहरुलाई नचलाउन भनेका छन् ।

तर, केही मन्त्रीहरुको कार्यशैली र विवादमा मुछिएको कारण पार्टीभित्रैबाट आलोचना भएपछि देउवाले पनि मन्त्रिपरिषद् पूनर्गठनको लागि प्रधानमन्त्री ओलीलाई सहमति दिईएको स्रोतको दावी छ ।

यस्तै, प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा सभापति देउवासँग छलफल थालेका छन् । दुई नेताबीच हिजोपनि बालुवाटारमा दुई घण्टा लामो भेटवार्ता भएको थियो ।

त्यसको भोलिपल्टै आज दुई नेता पूनः भेट्ने भएका हुन् । भेट सिंहदरबारमा अपरान्ह ४ बजेका लागि तय भएको छ

विदेशी विनिमय सञ्चिति ९.४५ ले वृद्धि, १७.६ महिनाको वस्तु आयात धान्ने

काठमाण्डू, २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई रु.१९८८ अर्ब पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई रु २४४ अर्ब २७ करोड कायम भएको छ ।

२०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु

क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

बिर्तामोडमा नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ उद्योग स्थापना

बिर्तामोड, नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा.लि.ले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले सोमबार उद्योगको उद्घाटन गर्दै नेपालको अलैँचीलाई प्रशोधन गरी नेपालकै ब्राण्ड बाट विश्वबजारमा पुर्‍याउने कार्यमा प्रदेश सरकारले सहयोग पुर्‍याउने बताए ।

उनले पूर्वी पहाडमा खोल्साको सुन भनेर परिचित अलैँचीको विश्वबजारमा उच्च माग रहेको भए तापनि यस अघि आफ्नै ब्राण्ड नहुँदा अर्कै मुलुक र अर्कैको ब्राण्ड बाट बजार पुगिरहेको चर्चा गरे ।

लामो समय देखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँची जन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ ।

उद्योगका अध्यक्ष ओमकृष्ण बिमलीले नेपाली अलैँचीलाई प्रशोधन गरी निर्यात गर्दा विदेशी मुद्राको आर्जनका साथै स्वदेशमा थप रोजगारीको सृजना हुने बताए ।

विश्वबजारमा नेपाली उत्पादनलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने उनले माग गरे

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निकासी व्यापारमा अलैँचीको योगदान उच्च रहेको जनाउँदै यसका स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरणका लागि सहजीकरण गर्न केन्द्र तयार रहेको बताए ।

युएसआइडीको ट्रेड एण्ड कम्पेटीटिभनेसले उद्योगलाई मेसिनरी सहयोग गरेको जनाइएको छ ।

उक्त दातृ संस्थाका प्रवक्ता जेसन सुकले विश्वबजारमा आर्थिक मन्दी छाइरहेको अवस्थामा स्थापित अलैँची प्रशोधन उद्योगले स्वदेशमा रोजगारी र निर्यात व्यापारमा महत्त्वपूर्ण योगदान दिनेमा आफू विश्वस्त रहेको बताए ।

उद्योगले ‘एभरेष्ट शान’ ब्राण्डमा अलैँची चिया मसला, अलैँची मिश्रित गरम मसला, माउथ फ्रेसनर र अलैँची तेल उत्पादन गरेर तेस्रो मुलुकमा बिक्री गर्न थालिसकेको उद्योगका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले जानकारी दिए ।

उनले खाडी मुलुकमा अलैँचीको ठूलो बजार रहेका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताए ।

खाडी मुलुकको युएई, कतार, साउदी अरबल गायत अष्ट्रेलिया, युरोप र अमेरिकामा नेपाली अलैँची र यसका प्रशोधित उत्पादन खपत हुने गरेको उनले बताए ।


रासस

प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा दुर्गा प्रसाईंलाई गर्योे सीआईबीको टोलीले पक्राउ

काठमाण्डू, अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रसाईं भक्तपुरस्थित निवासबाट मंगलबार बिहान सीआईबीको टोलीले पक्राउ गरेको हो । प

सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सीआईबीले साइबर ब्यरोमा बुझाउने तयारी छ। विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको सीआईबी निर्देशक दीपक थापाले जानकारी दिए ।

यस्तै उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने थापाले बताए।

‘प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो,’ उनले भने, ‘हिजोको घटनापछि तत्काल नियन्त्रणमा लिनुपर्ने अवस्था आयो।’

प्रसाईँले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ। प्रधानमन्त्रीका हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ।

विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।

उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

साताको तेश्रो दिन बढ्यो सुनचाँदीको मूल्य

काठमाण्डू, मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेर १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३५ रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दूधको भुक्तानीका लागि सरकारले करोडौं दिंदा पनि किसानले पाएनन

काठमाण्डू, दुग्ध बिकास संस्थानमा महाप्रबन्धक छनौट हुन नसक्दा किसानले बेचेको दूधको रकम भुक्त्तानी हुन सकेको छैन् । बिज्ञापन मागेर पनि महाप्रबन्धक छनोट गर्न महाप्रवन्धक छनौट हुन नसक्दा किसान अहिले दोहोरो मार परेका छन् ।

मन्त्रालयले सन्जिब झाको समय सकिएसँगै नयाँ महाप्रबन्धक चयनका लागि २१ दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो ।

सस्थान सुधार्न मन्त्रालयले तत्काल काम गर्नका लागि महाप्रबन्धकको जिम्मेवारी दिएका डाक्टर सूर्य पौडेलको असक्षमताका कारण किसानले बेचेको दूधको पैसा पाएका छैनन भने दूध बजारसम्म लान समेत पाएका छैनन् ।

तर, सूचना अनुसार महाप्रवन्धकका लागि दरखास्त परेकाहरुका लागि पनि मन्त्रीले अहिलेसम्म निर्याण नर्गदा अनुभव नभएका ब्याक्तिmको जिम्मामा जाँदा संस्थानको अलिअलि बचेको साख पनि गिर्दौ गएको छ ।

सरकारले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि रकम उपलब्ध गराएपनि संस्थमानले किसानहरूको भुक्तानी नदिएर दूध खरिदमा सात महिनादेखि कोटा निर्धारण गरेको छ ।

सरकारले ९० करोड भुक्तानी दिंदा पनि किसानहरूको १४ किस्ता अझै पाउन सकेका छैनन् । उच्च स्तरीय दुग्ध पर्दाथ उत्पादनत गरेर ख्याती कमाएको डिडिसी ब्राण्डलाई बचाउन सरकार गम्भीर बन्न नसके संस्थान इतिहास बन्ने चिन्ता बढेको छ ।

बजारमा डिडिसिको मोह अझै घटेको छैन् । उपभोक्ताहरू डिडिसिको दूध लगायतका उत्पादित बस्तुखोजि खोजी खरिद गर्ने गरेका छन् ।

बजार हुँदाहुँदै पनि असक्षम नेतृत्व र संस्थानमा हुने अनियमितताले किसानले दिएको दूध बेच्ने सस्थानले किसानलाई रकम दिन नसक्ने अवस्था आउनुमा जिम्मेवार को हो सोको गहिरो अनुसन्धान हुन जरुरी छ ।

संचालक समितिका पदाधिकारीले महिनामा सयौं लिटर दूध ध्यु लिने मात्रै होइन सयौं लिटर इन्धनको दुरुपयोग अझैसम्म नघट्नुले पनि संस्थानलार्इ चरम संकटमा पुर्याएको महालेखाको प्रतिबेदनलाई अध्ययन गर्दा प्रष्ट हुन्छ।

बजारमा आजभोलि डिडिसिको दूध बजारमा प्रयाप्त नपाएको भन्दै आम उपभोक्ता चिन्तामा रहेका छन् ।

अप्ठ्यारो अवस्थामा गुज्रिएको संस्थानलाइ सुधार्न नयाँ नयाँ योजना बनाउनु पर्नेमा त्यसो नगरी हरेक दिन मिटिङ भन्ने कामचलाउ महाप्रबन्धक डा. पौडेलले कुनै परिणाम दिन सकेको छैनन् ।

उपलब्धि हिन मिटिङ गरेर बैठक भत्ता मात्रै लिने गरेको संचालक समितिका एक सदस्यले सम्पत्ति न्यूजलाइ बताए।

कामचलाउ महाप्रबन्धक पौडेल बिहान बेलुकी मन्त्रीको र सचिवालयमा चाकडी बजाएर सस्थान फर्कन्छ्न हामी डुब्दैछौ ती सञ्चालकको भनाइ छ।

लेखाका प्रमुख बस्नेत असुल्नै ब्यस्त

सरकारले दिएको रकम केन्द्रीय कार्यालयबाट आयोजनाहरुमा किसानको भुक्तानी पठाउँदा रकम माग्ने केन्द्रीय लेखा प्रमुख बासु बस्नेतले रकम असुल्ने धन्धालेसमेत संस्थान आर्थिक संकटमा रुमलिएको छ । यस सन्दर्भलाई अख्तियारले हस्तक्षेप सुक्ष्म छानविन गर्न अब ढिला गर्न हुन्न् ।

लेखाका बिकृतिलाइ दीपक सुवेदीसमेतले साथ दिएको बताइन्छ। संस्थानमा मौज्दात रहेको दुलो पाउडर बिक्री गर्दा बिराटनगरबाट लोकल एल्सि खोली बिक्री गरेर २५ लाख भन्दा बढी घाटा परेको बताइन्छ ।

यस्ता शृङ्खलाबद्ध घाटाको खेतिले संस्थानको अस्तित्व नै संकट्मा पर्ने हो कि भन्दै इमानदार कर्मचारी चिन्तामा छन् ।

चौतर्फी चुनौतीपूर्ण अवस्था उभिएको संस्थानलाइ दर्बिलो बनाउनु पर्ने दायित्व बोकेको तालुकदार मन्त्रालय मौन बस्दा एकातिर बजारमा संस्थानका उत्पादन लोप हुने अवस्थामा छ भने अर्को तर्फ किसानको करोडौं रकम जोखिममा छ ।

तर, मन्त्रीका स्वकीय सचिब नवराज तिमल्सिनाले केही घुसिया कर्मचारीसँग रकम लिएर संस्थान भित्रका कर्मचारीलाई सरुवा गराउन कामचलाउ महाप्रबन्धक पौडेललाई दवाव दिने गरेको मन्त्रालय श्रोतबाट बुझिएको छ।

यस्तो अवस्थामा संस्थान कसरी सुध्रेला या रहला कि नरहला भन्ने प्रश्न पेचिलो बनेको छ।

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाण्डू, अहिले देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।