काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताए ।
अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै यस्ता गलत प्रवृत्ति हुन नहुनेमा मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराए ।
सिंहदरबारमा शुक्रबार सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, “व्यापार र उद्योगमा लगानी हुने वातावरण सृजना गरी काम गर्नुपर्छ । निकै ठुलो षड्यन्त्रका रुपमा विकासलाई अवरोध उत्पन्न गर्ने गरी सामाजिक अराजकता निम्त्याइएको छ ।
प्रधामन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजामा सुधारका लागि अनलाइन कक्षालगायतका विकल्पका योजना ल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिए ।
“हामीले गतिका साथ काम गरेर साहसिक निर्णय लिनुपर्नेछ । कृषिको आधुनिकीकरण र निजी क्षेत्रलाई प्रोत्साहित दिँदै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेछ ।
उद्यमीलाई तर्साउने र गाली गर्ने अनि त्यस्तै प्रवृत्तिले ताली पाउने खालका कार्यलाई कडाइका साथ निरुत्साहन गर्नुपर्छ ।”
बैठकमा प्रस्तुत शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैँक, सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दररेट, बाल सुधार गृह सञ्चालन तथा सडक बालबालिका मुक्त अभियान, सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारी भवन, समपूरक अनुदान, सोह्रौँ आयोजनाको कार्यान्वयन योजना, आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत महसुल सङ्कलन विनियमावली, अनिवार्या तथा निःशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नसिप, विपद् उत्थानशील पूर्वाधार निर्माण, विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यसूचीहरुमा समाधानको विकल्पसहित निर्णय भएका छन् ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकरीले समष्टीगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सङ्घीयतापछि चालू आर्थिक वर्षसम्मको आर्थिक सामाजिक प्रगति स्थिति, प्रदेशहरुको समष्टीगत आर्थिक अवस्था, चालू आर्थिक वर्षको प्रगति स्थिति, यसअघिका पछिल्ला तीन वटा विकास समस्या समाधान समितिका बैठकका निर्णयको कार्यान्वयन स्थितिलगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रीगण, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल राष्ट्र बैङ्कका गभर्नर, नेपाल सरकारका मुख्यसचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी, महालेखापरीक्षक, सङ्घ र प्रदेश सरकारका सचिवलगायत सहभागी थिए ।
काठमाण्डू, बिषेश अदालतले सिरहाको कर्जन्हा नगरपालिकाका तात्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
दोषी ठहर हुनेहरूमा पूर्वमेयर गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव रहेका छन् ।
मंगलबार र बुधबार सुनुवाइपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर कायमको फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।
उनीहरूलाई सजाय निर्धारणका लागि भने १० मंसीरको पेसी तोकिएको छ । अख्तियारले १४ चैत ०८० मा मुद्दा दायर गरेको थियो ।
चितवन, अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रालिका सञ्चालक पक्राउ परेका छन् । रेनफोरेष्ट रिसोर्टमा लुकीछिपी एसी प्रोजेक्टको छैठौं किस्ता चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै गर्दा पक्राउ गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको दिर्नेशनमा गएको टोलीले एसी प्रोजेक्टका सञ्चालकलाई नियन्त्रणमा लिन सकेको हो ।
एसी प्रोजेक्टले ६ हजार ९ सय ९९ जना सदस्यहरुसँग प्रति व्यक्ति मासिक रुपले २ हजार २५० को दरले १ करोड ५७ लाख ४७ हजार ७५० असुल्दै आएका थिए ।
अभियानका सञ्चालकहरु वीरगंज घडिअर्वाका दिपेश वर्णवाला, रानीघाटका सुशील सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ताले वर्षौदेखि पर्साका एसपी कुमोद ढुंगेलको संरक्षणमा चिठ्ठा कार्यक्रम निर्वाध रुपमा चलाउदै आएका थिए ।
विभिन्न मिडियाहरुले चिठ्ठाको विकृति विरुद्ध समाचार लेख्दा सञ्चालकहरुले एसपी ढुंगेल रहेसम्म जति समाचार आएपनि अथवा जसले जे गरे पनि केही नहुने भन्दै सदस्यहरुलाई सान्तवना दिदै आएका थिए ।
अभियानको कार्यालय पर्सा जिल्लाको वीरगंजमा रहे पनि ठग सञ्चालकहरुले पीडित सदस्यहरुको डरले अन्य–अन्य जिल्लामा लुकिछिपी चिठ्ठा खोल्दै आएका थिए ।
तात्कालीन अवस्थामा अभियान डिजिटल वल्र्ड प्रा.लि ले २६ किस्ता चलाई करिव २५ करोड असुली गरिसकेको छ ।
तात्कालीन चिठ्ठाका सदस्यहरुलाई उपहारहरु नदिइ लुकिछिपी अभियान कै नामले एसी प्रोजेक्ट सुरु गरेको करिब ६ महिनामा ९ करोड ४४ लाख ८६ हजार ५ सय असुली सकेका छन् ।
एसी प्रोजेक्टमा तात्कालीन अभियान डिजिटल वल्ड प्रालि. काठमाडौंको नामले सदस्यहरुलाई लोभ्याउने ब्राउसर (बुक) वितरण गर्ने गरेको भएपति पछिल्लो समय अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. र डिजिटल ईलेक्ट्रोनिक्स सप्लायर्सका नाममा गरिमा विकास बैंक लिंकरोड वीरगंजमा खाता खोली रकम जम्मा गर्ने गरेका छन् ।
सञ्चालकहरुले टिभि एसेम्बलिङ्ग गरी विक्री वितरण गर्न अनुमति लिए पनि सो नगरी सोझासाझा जनतालाई विभिन्न प्रलोभनमा पारी सदस्य बनाउदै लुकिछिपी चिठ्ठा खेलाउदै ठगी गर्दै आएका थिए ।
चिट्ठा ऐनले के भन्छ ?
चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर, दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ ।
३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्री भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ ।
त्यसपछि बाकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ ।
तर, गैरकानूनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख रहेको छ ।
जहाँ गयो त्यहीँ सफलता हाल पार्ने कुशल प्रशासक प्रजिअ पौडेलले यस्ता ठगीमा जोडिएकालाई कहिले संरक्षण नगरी कानूनीले तोके बमोजिम कार्वाही गर्दै आएका छ्न।
प्रजिअ पौडेलले केहि समय अगाडि मात्रै चितवनको जिम्मेवारी समालेका थिए।
रुपन्देहीमा राम्रो काम गरेर पर्सा आएका प्रजिअ गणेश अर्यालले आफनो जिल्लामा यो ठगी धन्धा थाहा नपाएका हुन यो प्रहरी उपरीक्षकले काध थापेकाले मेसो नपाएर हो पर्सामा यो धन्धा चल्दै आएको छ।
भर्खरै सरुवा भएर आएका कारण नयाँ प्रजिअलाई यो धन्दाका बारेमा जानकार नभएपनि अर्यालको यो कामले तस्कर र माफियालाई निसाना पर्ने विश्वास लिइएको छ ।
काठमाण्डू, काठमाडौंको गौशालामा काठमाडौं महानगरपालिकाको प्रहरी बल र स्थानीयबीच तनावको स्थिति सिर्जना भएको छ ।
फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि स्थानीय सडकमा उत्रिएपछि तनाव सिर्जना भएको हो ।
काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमति संरचनामा डोजर चलाउने तयारी गरेको थियो । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाउन लाग्दा प्रतिकार भएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
स्थानीय प्रतिकारमा उत्रिपछि स्थानीय सुमन सायमीको नेतृत्वमा महानगरसित बार्ता गर्न महानगर पुगेको ट ।
‘अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं,’ अर्यालले भने पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्ने छ ।’
चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाए ।
स्थानीयले अदालतले आदेश विपरीत महानगरपालिकाले मनपरी गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए । महानगरले डोजर चलाए ढुंगामुढा गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् ।
काठमाण्डू, पहिलोपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ ।
शुक्रवार ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको ४० मेगावाट विद्युत बंगलादेश निर्यात हुन थालेको हो ।
आज रातिदेखि भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा निर्यात हुनेछ । यससँगै नेपाल-बंगलादेशबीच विद्युत व्यापार औपचारिक रुपमा सुरुवात भएको छ ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।
विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो ।
त्यसबेलासम्म प्राधिकरणको अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक शुक्रबारदेखि निर्यात सुरु गर्ने योजना बनेको थियो ।
त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ ।
ऊर्जामन्त्री खड्काले भारत भ्रमणका बेला बंगलादेश विद्युत् निर्यात अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री खट्टरसँग छलफल गरेका थिए ।
हालसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको बाटो खुलेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
भारतबाट भने बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ ।
हाल भारतको एनभीभीएनबाट बंगलादेशले सोही प्रसारण लाइन हुँदै विद्युत् आयात गरिरहेको छ ।
नेपालले १० हजार मेगावाट विद्युत भारत र ५ हजार मेगावाट बंगलादेशलाई निर्यात गर्ने लक्ष्य राखेको छ ।
काठमाण्डू, मंसिर महिनाका लागि धेरै वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
मंसिर १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरिएको नयाँ ब्याजदर २० वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर घटाएका छन् ।
८ वटाले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमा हिमालयन, एभरेष्ट, प्रभु, नेपाल, सिद्धार्थ, नेपाल एसबीआई, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन् ।
नयाँ महिनाका लागि प्रकाशित ब्याजदर तालिका अनुसार साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् ।
त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत ११ वटा बैंकको ब्याजदर घट्दा र एकवर्षे संस्थागत मुद्दती खातामा १२ वटा बैंकले ब्याज घटाएका छन् ।
संस्थागत मुद्दती खाताको ब्याजदर त ३ प्रतिशत भन्दा कम समेत कायम गरिएको छ ।
सानिमा बैंक
सानिमा बैंकले नयाँ महिनाका लागि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ ।
बैंकले नयाँ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.४० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यसपटक स्थिर राखेको छ ।
अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ प्रतिशतले घटाएको छ ।
मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर दुवैलाई ०.५० प्रतिशतले घटाएको छ ।
यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४ प्रतिशत ब्याज दिनेछ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर क्रमशः १.५० र १.०० प्रतिशतले घटाएको छ ।
यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।
नबिल बैंक
नबिल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दूले घटाएको छ ।
यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर दिनेछ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राख्दा र व्यक्तिगत मुद्दती खातामा ०।७४ प्रतिशत र संस्थागत मुद्दती खाताको ब्याजदर १।२५ प्रतिशत विन्दुले घटाएको छ ।
मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र २.५० प्रतिशत ब्याज दिनेछ जनाएको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंक मंसिर महिनाका लागि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ ।
यस अनुसार बैंकले मंसिर महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.००५ प्रतिशत, ५.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।
एभरेस्ट बैंक
एभरेस्ट बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने मुद्दती खाताका ब्याजदरलाई ०.१५ प्रतिशत विन्दूले घटाएको छ ।
यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.५० र ०.७५ प्रतिशतले घटाएको छ ।
यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।
हिमालयन बैंक
हिमालयन बैंकले यो पटक बचत खाताको ब्याजदरलाई ०.०५ प्रतिशत विन्दूले घटाएको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई एयथावत राखेको छ ।
अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.७५ प्रतिशत र ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ ।
कात्तिक महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको हो ।
नेपाल बैंक
नेपाल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.१९ प्रतिशतले घटाएको छ ।
मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ४.५५ प्रतिशत र ३.११ प्रतिशत ब्याजदर दिनेछ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ९एनआईएमबी० ले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर क्रमशः ०.५० र ०.२५ प्रतिशतले घटाएको छ ।
बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर दुवैलाई ०.३४ प्रतिशत घटाएको छ ।
बैंकले मंसिर महिनामा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.०१ प्रतिशत र ४.०१ प्रतिशत ब्याज दिनेछ ।
एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले बचत खाता ब्याजदर ०।१७ प्रतिशत विन्दुले घटाउँदा व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ ।
बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ४.१५ प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।
एनएमबि बैंक
एनएमबि बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदर घटाएको छ ।
बचत खातामा ०।०२ प्रतिशत, व्यक्तिगत र संस्थागत मुद्दती खातामा १.५० प्रतिशतका दरले ब्याज घटाएको हो ।
बंैकले मंसिर महिनामा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।
प्रभु बैंक
प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन् ।
आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशतमा यथावत रहनेछ ।
प्राइम कमर्सियल बैंक
साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेर व्यक्तिगत र संस्थागत मुद्दती खातामा ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ ।
आगामी महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशतले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ ।
अब उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ४.०० प्रतिशत कायम भएको छ ।
यी हुन् सबैभन्दा धेरै र कम ब्याज दिने बैंक
बैंकहरुको यो समायोजनसँगै बैंकहरुमा साधारण बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि अधिकतम ३.१० प्रतिशत ब्याज पाइन्छ ।
त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ५.७५ प्रतिशतसम्म ब्याज पाइन्छ भने एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम २.५० देखि ४.३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो । साधारण बचत खातामा १२ वटा बैंकको ब्याज ३.०० प्रतिशत छ ।
त्यस्तै, व्यक्तिगत मुद्दती खातामा सिटिजन्स बैंकले तोकेको ५.७५ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ ।
यो खातामा एभरेस्ट र एनएमबि, राष्ट्रिय वाणिज्य र बैंकले सबैभन्दा कम ४.०० प्रतिशत ब्याजदर तोकेका छन् ।
त्यस्तै, संस्थागत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ४.३० प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ ।
यस्तो खातामा सबैभन्दा कम एनआईशी एसिया बैंकले तोकेको ३.३० प्रतिशत ब्याज नै सबैभन्दा धेरै देखिएको छ ।
त्यस्तै, कृषि विकास बैंकको ब्याजदर सबैभन्दा कम २.५० प्रतिशत रहेको देखिन्छ ।
काठमाण्डू, नेपाली बजारका शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार दुई हजार दुई सय रुपियाँले घटेको सुनको मूल्य आज एक सय रुपियाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासङ्घले आज छापावाल सुनको मूल्य एक लाख ६० हजार एक सय रुपियाँ पुगेको जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि पाँच रुपियाँले वृद्धि भएको छ । योसँगै चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपियाँ पुगेको छ ।
दार्चुला, दार्चुलाको जीप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते जीप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिएका छटन् ।
यसैगरी, घाइते दुई जनाको अवस्था भने सामान्य रहेको र उनिहरुको गोकुलेश्वर अस्पतालमै उपचार भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताएका छन् ।
चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भीर चोट रहेको छ ।
२२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएका छन् ।
दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल लगिएको थियो । यसैगरी, दार्चुलामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको मालिकार्जुन मन्दिरको जात्राबाट फर्किने दर्शनार्थी बोकेको म १ ज ३३८ नम्बरको जीप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–६ ग्वानीमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रकाश दाहालका अनुसार जीप दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलीप बिष्ट र ४० वर्षीया मीना लेखक, शैल्यशिखरकै वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका–५ का ५० वर्षीय वीरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजीव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल गरी आठ जना छन् ।
पाँच जनाको घटनास्थलमै र बाँकी तीन जनाको उद्धार गरेपछि उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किदै गर्दा घर नपुग्दै आठ जना जीप दुर्घटनामा परी मृत्यु भएपछि दार्चुलावासी स्तब्ध भएका छन् ।
जात्रामा २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको भएपनि ट्राफिक नियमको पालना नभएको भन्दै आलोचना भइरहेको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डू, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
अध्यक्ष दाहालले २०८० जेठमा प्रधानमन्त्रीको रूपमा भएको मेरो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न दिन भारत सरकार सहमत भएको बताएका छन् ।
शुक्रबार ९आज० नेपालले बंगलादेशलाई विद्युत् बेच्दैछ । यसबाट आफू खुसी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भनेका छन्, “विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।”
त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्दै आज बङ्गलादेशमा विद्युत् निर्यात हुन थालको हो ।”
नेपालले आजबाट बंगलादेशमा विद्युत् निर्यात गर्दैछ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअलमार्फत संयुक्त रूपमा उद्घाटन गरेपछि विद्युत् बंगलादेश पठाइने छ ।
शुक्रबार करिब ११ घण्टा मात्रै विद्युत् बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने बताइएको छ ।
दार्चला, दार्चुलामा जात्राबाट फर्किरहेका दशनार्थी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
जीप दुर्घटनामा परेर दुई जना भारतीय नागरिकसहित मृत्यु हुने ८ जनाको सनाखत भएको छ।
अन्य ४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावलले जानकारी दिए ।
घाइतेमा शैल्यशिखर नगरपालिका(५ लेकगाउँका ८ वर्षीय सन्दीप रावल, जीप चालक मालिकार्जुन गाउँपालिका(८ पस्तीका ३० वर्षीय सुनील जोशी, बैतडीको डिलाशैनी गाउँपालिका(५ का २८ वर्षीय उत्तम रोकाया र भारतको पिलिभित मारुडण्डाका १७ वर्षीय सोहिन शाह छन्।
टाउकोमा चोट लागेका जीप चालक जोशीको अवस्था गम्भीर छ। अन्य मध्यम घाइते छन्। उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
मृतकमा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसिम, दार्चुलाको शैल्यशिखर नगरपालिका(९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, ४० वर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका(५ लेकका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका(५ नगराउँका १५ वर्षीय सुदीप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहरा छन्।
सामान्य घाइते प्रकाश रावल उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप आज बिहान शैल्यशिखर नगरपालिका(६ बकजेबलामा दुर्घटना भएको हो।
जिपमा १३ यात्रु थिए। मालिकार्जुन गाउँपालिका(३ स्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु चढेको जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो।
वि.सं. २०८१ साल कार्तिक ३० गते । शुक्रबार । ईश्वी सन् २०२४ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४६ । कार्तिक शुक्लपक्ष । तिथि–पूर्णिमा, ५१ घडी ५४ पला, रातको ३ बजेर ११ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–भरुणी, ४० घडी ४३ पला, बेलुकी १० बजेर ४३ मिनेट उप्रान्त कृतिका ।
योग–व्यातिपात, ७ घडी ४७ पला, बिहान ८ बजेर २१ मिनेट उप्रान्त वरियान । करण–भद्रा, बेलुकी ४ बजेर १६ मिनेट उप्रान्त बव, रातको ३ बजेर ११ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २६ घडी ५० पला ।
आजको बार बेला । बिहान ०६ बजेर २६ मिनेटसम्म चर बेला । बिहान ६ बजेर २७ मिनेटदेखि बिहान ७ बजेर ४६ मिनेटसम्म लाभ बेला । बिहान ७ बजेर ४६ मिनेटदेखि बिहान ९ बजेर ७ मिनेटसम्म अमृत बेला । बिहान ०९ बजेर ८ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म काल बेला । बिहान १० बजेर २८ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म शुभ बेला । बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म रोग बेला । दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म उद्वेग बेला । दिउसो २ बजेर ३० मिनेटदेखि दिउसो ३ बजेर ४९ मिनेटसम्म चर बेला । दिउसो ३ बजेर ५० मिनेटदेखि बेलुकी ६ बजेर ४९ मिनेटसम्म रोग बेला । नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल बिहान १० बजेर २७ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ । नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रह्मा मुहूर्त बिहान ४ बजेर ५१ मिनेटदेखि बिहान ५ बजेर ३९ मिनेटसम्म ब्रह्मा मुहूर्त रहनेछ ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरूले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ । नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्च बढ्ने तथा काम बिग्रने सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तर पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ । साङ्गीतिक यात्रा हुने योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा नाफा कमाउन बढी नै समय दिनु पर्नेछ । नोकरीमा विशिष्ट व्यक्तित्व हरूसँग विवाद बढ्नेछ । बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरू प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावश्यक शङ्का गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवाल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने भए पनि तपाईँकै कारणले टरेर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ भने विलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्नीहरूमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउँदा ख्याल गर्नुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनैपनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउने छैनन् । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । तर पनि सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक तथा कल्याणकारी कामबाट नाम कमाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक असमझ्दारिले कामहरू गर्न केही कठिनाइ हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेको छ । यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरूकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पतिपत्नी बिचको मधुर प्रेम भावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्य शक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तीर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृत्ति बिस्तारै हट्दै जानाले मन प्रफुल्लित बन्नेछ । नोकरीमा ख्याति बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक सङ्कट निवारण गर्नेछ ।
पोखरा, सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शुक्रबार) रुपन्देहीबाट कास्की फर्काइँदै छ ।
उनलाई हवाई उडानमार्फत् नै आज पोखरा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।
पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीले बुद्ध एयरमार्फत बिहीबार साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि आजलाई सारिएको हो ।
बयान सकिए पनि त्यसलाई प्रमाणीकरण गराउँदा राति अबेर भएपछि उनलाई आज मात्र पोखरा पठाइने अवस्था आएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मंगलबार बयानका लागि रुपन्देही पुर्याइएका लामिछानेको बिहीबार साँझ बयान सकिएको हो ।
सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।
त्यसपछि पोखरा लगिएका उनलाई प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ । बयानका क्रममा लामिछानेसँग ७० भन्दा बढी लिखित प्रश्न सोधिएको र उनले इन्कारी बयान दिएको बताइएको छ ।
उनीसँग सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो ।
संसदीय छानबिन विशेष समितिले सुप्रिम सहकारीको रकमसमेत गोरखा मिडियामा ल्याएर अपचलन गरेको भन्दै उनीसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो ।
काठमाण्डू, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६३ पैसा र बिक्रीदर आठ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन रुपैयाँ ८६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६ड पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र बिक्रीदर १२ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाण्डू, नेपालबाट पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुने भएको छ ।
गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएकामा यस वर्षका लागि कात्तिक ३० गते एक दिन मात्र बङ्गलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा अन्य प्रक्रिया मिलाउन समय लागेकाले सुरुवातका रूपमा एक दिनकै लागि भए पनि निर्यात गर्न लागिएको प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले जानकारी दिए ।
“विद्युत् निर्यातसम्बन्धी प्रक्रिया पूरा गर्न समय लागेकाले एक दिनका लागि मात्रै भएपनि विद्युत् निर्यात गर्न लागिएको छ,” उनले भने ।
गत असोजमा सम्पन्न सम्झौता अनुसार नेपालले पाँच वर्षका लागि हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने तालिका छ ।
सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रेजुल करिम र एनटिपिसी विद्युत् व्यापार निगम भारतकी प्रमुख कार्यकारी अधिकृत रेनु नारङ्गले हस्ताक्षर गरेका थिए ।
शुक्रबार नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीहरूले संयुक्त रूपमा विद्युत् निर्यात शुभारम्भ गर्ने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
कार्यक्रमका अनुसार परराष्ट्र मन्त्रालयमा दिउँसो १२: ५५ मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशका ऊर्जा सल्लाहकार र भारतका पावर मिनिस्टरले संयुक्त शुभारम्भ गर्ने कार्यक्रम छ ।
शुक्रबार प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाट चिलिमे जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेश पुर्याउँदै छ ।
यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट पाउने छ ।
नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ ।
अर्थात् बङ्गलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ ।
मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् पुग्ने छ ।