गरिव देशका लागि ३ खर्ब डलर छुट्ट्याउने निर्णयसहित सकियो कोप-२९

एजेन्सी, विश्वका धनी देशहरूले गरिब देशहरूलाई ३ खर्ब डलर दिने वाचा गरेका छन् ।

जलवायु परिवर्तनको तयारी र यसको असरबाट बच्नका लागि सो रकम उपलब्ध गराइने सहमतिसहिते कोप-२९ समाप्त भएको छ ।

अजरबैजानको बाकुमा आयोजित संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन कोप-२९ मा ३३ घण्टा ढिलो वार्ता सुरु भएको थियो ।

वार्ता लगभग निष्फल भइसकेको थियो । तर, अन्त्यमा केही सहमति जुट्यो । यात्रा निकै कठिन रहेपनि आफूहरू सम्झौतामा पुग्न सकेको जलवायु परिवर्तन हेर्ने यूएनको निकायका प्रमुख सिमन स्टेइलले भनेका छन् ।

तर, जैविक इन्धनको प्रयोग कम गर्दै जाने भनेर गएको वर्षको मागमा सबै सदस्य देशहरूलाई एकजुट गराउन भने वार्ता असफल भयो ।

शनिबार मध्याहन्न भएको वार्ताबाट विकासशिल देशका साथसाथै जलवायु परिवर्तनको सबैभन्दा धेरै मारमा पर्ने देशहरू पनि बाहिरिए ।

विश्वभर खनिज इन्धनको प्रयोग कम गर्दै लैजाने भन्ने भाषा अति नै कमजोर भएको भन्दै स्वीट्जरल्यान्ड, मालदिभ्स, क्यानडा र अस्ट्रेलियाले विरोध गरेका थिए ।

यसबारे निर्णय सन् २०२५ को जलवायु वार्तासम्म स्थगित भएको छ ।

कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ व्यवसायीसमेत हुन् । उनी लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा थिए ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ ।

२०७९ मा चितवन(२ बाट चुनाव लडेका श्रेष्ठ रास्वपा सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।

कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कोषाध्यक्ष पद रिक्त थियो ।

कांग्रेसको विधानअनुसार १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाण्डू, बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले ५० अर्ब तान्ने भएको छ । आज आइतबार अपराह्न २ बजे नेपाल राष्ट्र बैंकले सो बराबरको निक्षेप उपकरण बोलकबोल गर्न लागेको हो ।

१४ दिन अवधि रहेको उक्त उपकरण मङ्सिर २३ गते परिपक्व हुनेछ । बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड र त्योभन्दा बढी ५ करोडले भाग जाने जतिसुकै रकमका लागि बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

फुयाल र ढकालको इजलासमा रास्वपाका नेताविरुद्धको अदालती अवहेलना मुद्दा

काठमाण्डू, रास्वपाका पदाधिकारी एवं सांसदहरूविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिटउपर हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।

रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको थियो ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका हुन् ।

अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियामा प्रभाव पर्नेगरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा नागरिकमा फैलाउने लगायतका काम गरी स्वतन्त्र न्यायपालिका माथि नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

अवहेलना निवेदनमा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायतलाई विपक्षी बनाइएको छ ।

चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा, २८ जना घाइते

चितवन, चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।

कालिका नगरपालिका-४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३-०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगरपालिका-९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अहिले चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको महतोले बताए ।

उनका अनुसार ३० जना विद्यार्थीसहित ३२ जना बसमा सवार थिए । पिकनिक गएर फर्किंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको थियो ।

सिनामंगलको होटल जन्मभूमिमा दम्पतीको रहस्यमय ढंगले मृत्यु

काठमाडौं । सिनामंगलस्थित एक गेष्ट हाउसमा दम्पती झुन्डिएको अवस्थामा भेटिएका छन् ।

‘होटल जन्मभूमि’ नाम गरेको गेष्ट हाउसको एउटै कोठामा दम्पती मृत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानले घटना आत्महत्या भएको संकेत गरेको छ ।

मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिब २५–२६ वर्ष उमेरका रमेश माझी छन् भने २९ बर्षीय शर्मिला माझी रहेको गौशाला प्रहरीले जनाएको छ ।

शनिबार साँझ ६ बजे गेष्ट हाउस पुगेका उनीहरु चौथो तलाको कोठा नम्बर १२० मा बसेका थिए ।

आइतबार बिहानसम्म ढोका नखुलेपछि र बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरिएको थियो ।

उनीहरूले बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए ।

यू-१९ एसीया कप क्रिकेट खेल्ने १५ सदस्यीय टोली घोषणा

काठमाण्डू, एसीसी यू-१९ एसिया कप खेल्न नेपाली टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीको उपकप्तानमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिस विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन्।

यस्तै टोलीमा युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार छन्। टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्।

यू(१९ एसिया कप यूएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म सञ्चालन हुनेछ।

नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग, दोस्रो खेल डिसेम्बर १ मा बंगलादेशसँग र समूहको अन्तिम खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ।

कोप २९ : १ सय ३४ बढी राष्ट्रद्वारा जलवायु वित्त निर्णयमा गम्भीर असन्तुष्टि

काठमाण्डू, अजरबैजानको बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) ले जलवायु वित्त सम्बन्धमा गरेको निर्णयमा १ सय ३४ भन्दा बढी राष्ट्रहरूले गम्भीर असन्तुष्टि र असहमति जनाएका छन् ।

शुक्रवार राति १२ बजेसम्म निर्णय आउनुपर्नेमा विकसित राष्ट्रहरूको जलवायु वित्तप्रतिको असंवेदनशीलताका कारण समयमा नै निर्णय हुन सकेको थिएन् ।

तर, यसैबीच जलवायु वित्त सम्बन्धमा गोलमटोल निर्णय भएपछि विकासशील राष्ट्रका प्रतिनिधिहरू असन्तुष्ट बनेका छन् भने कोपमा सहभागी हुन विश्वभरबाट आएका हजारौं प्रतिनिधि खिन्न हुँदै फर्कन थालेका छन् ।

के निर्णय भयो भन्नेबारे विस्तृत विवरण शनिबार रातिसम्म पनि आउन सकेको छैन ।

जलवायु वित्तको विषयलाई लिएर कार्बन उत्सर्जन बढी गर्ने विकसित राष्ट्र र जलवायु जोखिम तथा प्रभावमा पर्ने विकासशील राष्ट्रहरूबीचको विवादकै कारण गोलमटोल निर्णय गरिएको छ ।

जलवायु वित्त बढ्ने अपेक्षामा रहेका विकासशील राष्ट्रका प्रतिनिधिहरू विकसित राष्ट्रले अपनाएको रवैयाप्रति आक्रोशित बनेका थिए ।

जलवायु वित्तको विषयलाई लिएर कार्बन उत्सर्जन बढी गर्ने विकसित राष्ट्र र जलवायु जोखिम र प्रभावमा पर्ने विकासशील राष्ट्रहरूबीचको संघर्ष भने कायमै रहेको छ ।

अब यस विषयलाई आगामी वर्ष ब्राजिलमा हुने कोप–३० मा प्रभावकारी रूपमा उठाउने गरी अहिलेदेखि नै आवश्यक रणनीति बनाउनुपर्नेमा विकासशील राष्ट्रका प्रतिनिधिहरू एकमत देखिएका छन् ।

कोप–२९ लाई जलवायु वित्त सम्मेलनका रूपमा समेत चित्रण गरिएको थियो ।

अध्यक्षता ग्रहण गरेका अजरबैजानका राष्ट्रपतिले उद्घाटनका दिनमा कोप–२९ लाई जलवायु वित्त सम्मेलनको संज्ञा दिँदै वित्त बढाउने उद्घोष गरेपनि पछिल्ला दिनमा अजरबैजानले सकारात्मक भूमिका खेल्न नसक्दा जलवायु वित्त सम्बन्धमा अग्रगामी निर्णय हुन नसकेको भन्दै अध्यक्षको आलोचना भएको छ ।

कोप–२९ को विधिवत् समापन नहुँदै अध्यक्षता हासिल गर्दै आएको राष्ट्र अजरबैजानले कोपमा उपस्थित भएका सबै प्रतिनिधिहरूले पाउँदै आएको सुविधा कटौती गरिदिएको थियो, यसो हुँदा कैयौं सहभागीहरू कोप नसकिँदै स्वदेश फर्कन बाध्य भएका थिए ।

जसका कारण जलवायु वित्त बढाउन आवश्यक लबिङ र दबाबको अभाव भएको थियो । यही मौकामा विकसित राष्ट्रको दबाबमा जलवायु वित्त सम्बन्धमा गोलमटोल निर्णय गरिएको थियो ।

विकासशील राष्ट्रहरूले जलवायु परिवर्तनको जोखिम अत्यधिक बढ्दै गएकाले जलवायु वित्त फन्डमा वार्षिक रूपमा १.३ ट्रिलियन उपलब्ध हुनुपर्ने माग गर्दै आइरहेका थिए तर विकसित राष्ट्रहरूले भने ३ सय बिलियन जलवायु वित्त कोषमा दिने गरी निर्णय गरेका छन् ।

तर, सो रकम पनि के कसरी र कहिलेसम्म दिने भन्नेबारेमा समेत स्पष्ट गरेका छैनन् । त्यसको मोडालिटी स्पष्ट छैन । यसले झनै अन्योल बढाएको छ ।

सम्मेलनकै क्रममा विकसित राष्ट्रको दाउपेच बुझेपछि जलवायु परिवर्तनको प्रभाव र जोखिमको सामना गरिरहेका ल्याटिन अमेरिकन, अफ्रिकन, जी ७७ र चाइना ग्रुप, अतिकम विकसित राष्ट्र (एलडीसी) र सामुद्रिक राष्ट्र गरी १ सय ३४ भन्दा बढी राष्ट्रहरूले समेत प्रस्ताव गरेको ३ सय बिलियन रकम अत्यन्तै कम भएको र यसले पृथ्वीमा भएका जलवायुजन्य जोखिम सम्बोधन गर्न नसक्ने भएकाले सो प्रस्तावमा सहमति गर्न नसकिने भन्दै लिखित रूपमा नै विरोध र गम्भीर असहमति जनाएका थिए ।

जसका कारण कोप–२९ केही लम्बिन पुगेको थियो र शुक्रवार राति समापन हुने भनिए पनि सो दिन समापन हुन सकेको थिएन ।

पछि गोलमटोल निर्णय भएपछि जलवायु वित्तको विषयलाई लिएर कार्बन उत्सर्जन बढी गर्ने विकसित राष्ट्र र जलवायु जोखिम र प्रभावमा पर्ने विकासशील राष्ट्रहरूबीचको संघर्ष कायमै रहेको बताइएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा कोप–२९ का नेपालका फोकल पर्सन डा. सिन्धु ढुंगानाले विकसित राष्ट्रले जलवायु वित्तका लागि ३ सय बिलियन दिने भनिए पनि त्यसको मोडालिटी स्पष्ट नभएकाले अन्योल कायमै रहेको बताए ।

अन्य केही विषयमा उपलब्धि भए पनि कोप–२९ मा जलवायु वित्त सम्बन्धमा अपेक्षा गरेअनुसार उपलब्धि हुन सकेन, जुन दुःखद् छ’ –मन्त्रालयका सहसचिव ढुंगानाले भने ।

ढुंगानाले यस विषयमा विकसित राष्ट्रहरू र विकासशील राष्ट्रहरूबीचको विवाद र संघर्ष कायमै रहेको र ब्राजिलमा आगामी वर्ष हुने कोप–३० मा यो विषयमा विकासशील राष्ट्रले आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता आंैल्याए ।

मन्त्रालयका अर्का सहसचिव डा. महेश्वर ढकालले कोप–२९ मा नेपालले केही महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेकाले त्यसलाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताए ।

यसै गरी अर्का सहसचिव डा. बुद्धि पौडेलले नेपालले विभिन्न वार्ता र छलफलमा सक्रियतापूर्वक सहभागिता जनाएर केही विषयमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको बताए ।

जलवायु विज्ञहरूका अनुसार कोपमा सधैं नै विकसित र विकासशील राष्ट्रहरूबीच द्वन्द्व हुँदै आइरहेको छ ।

विगतमा जलवायु वित्तका लागि १ सय बिलियन दिने सहमति भएपनि त्यसको कार्यान्वयन हुन सकेको छन् ।

यस अघिको १ सय बिलियनको सहमति पनि निकै न्यून नै हो । अहिले गरिएको ३ सय बिलियनको गोलमटोल निर्णय पनि अत्यधिक न्यून नै हो जसले जलवायु परिवर्तनको जोखिमलाई सम्बोधन गर्न नसक्ने विज्ञहरूको भनाइ छ ।

जलवायु परिवर्तनजस्तो अति नै महत्वपूर्ण समस्यालाई सम्बोधन गर्नुपर्नेमा विकसित राष्ट्रहरूले काम चलाउका रूपमा चारो फाल्ने काम गरेर असंवेदनशीलता देखाएको भन्दै विरोध भइरहेको छ ।

शुक्रवार सम्मेलन हलमा विकासशील राष्ट्रका प्रतिनिधिहरूले विभिन्न सांकेतिक गतिविधिमार्फत विकसित राष्ट्रहरूको रवैयाप्रति विरोध जनाएका थिए भने यस सम्बन्धमा नाटकसमेत प्रदर्शन गरेर विकसित देशलाई दबाब दिएका थिए ।

कोपमा नेपालले हासिल गरेका उपलब्धिहरू

कोप–२९ मा नेपालले केही महत्वपूर्ण उपलब्धि हासिल गरेको वन तथा वातावरण मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

मन्त्रालयका सहचिव तथा कोप–२९ का फोकल पर्सन सिन्धु ढुंगाना तथा कोप–२९ का विभिन्न छलफल, वार्ता र संवादमा सक्रियतापूर्वक सहभागिता जनाउनुभएका सहसचिवद्वय डा. बुद्धि पौडेल र डा. महेश्वर ढकालका अनुसार नेपालले केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

जसअनुसार नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष संयुक्त राष्ट्रसंघअन्तर्गतको अनुकूलन कोषको कार्यान्वयन संस्थाका रूपमा सूचीकृत हुन सफल भएको छ ।

गत वर्षको सम्मेलनमा स्थापना भएको क्षति र नोक्सानी कोषको अन्तरिम सचिवालय बारेको सम्झौता अघि बढेको छ, जसले गर्दा सो कोषबाट नेपाललगायतका विकासोन्मुख देशहरूले सहयोग पाउने बाटो खुलेको छ ।

सहसचिव डा. ढकालका अनुसार कार्बन व्यापार प्रक्रियामा पनि महत्वपूर्ण उपलब्धि भएको छ ।

नेपालले कार्बन व्यापारमा संलग्न भई फाइदा लिन सक्ने विभिन्न देशहरूसँग द्विपक्षीय बैठक गरेर ती देशबाट सहयोग लिन सक्ने वातावरण बनाएको छ ।

सोही क्रममा कार्बन व्यापारमा आवश्यक सहयोग जुटाउने गरी स्विडेन सरकारसँग आवश्यक सम्झौता गर्नसमेत नेपाल सरकार सफल भएको जनाइएको छ ।

यसै गरी नेपालले कोप–२९ मा विभिन्न सत्रहरूमा ( लगभग २५ भन्दा बढी बैठकहरूमा )पर्वतीय क्षेत्रमा परिरहेको असर, बाढीपहिरो, हिमताल विस्फोटलगायतका बारेमा महत्वपूर्ण विषयहरू राख्नुका साथै ड्राफ्ट टेक्सहरूमा पर्वतीय विषयका बारेमा उल्लेख गराउन सफल भएको सहसचिव ढुंगानाले जानकारी दिए ।

सहसचिव ढुंगानाका अनुसार जलवायु परिवर्तनका विषयमा विकसित देशका रूपमा रहेका बेलायत, जर्मन, र अस्टेलियासँग उच्चस्तरीय बैठक गरेर ती देशहरूबाट द्विपक्षीय सम्बन्ध र सहयोगको प्रतिबद्धता जुटाउन पनि सम्मेलनका क्रममा नेपाल सफल भएको छ ।

यसै गरी नेपालले उठाएका माउन्टेनको एजेन्डालाई आउँदा दिनमा पर्वतीय क्षेत्रमा कार्यान्वयन गरिने र जलवायु अनुकूलताका कार्यक्रमलाई महासन्धिका सबै संवैधानिक अंगहरूमा छलफल गरी कार्ययोजना बनाएर कार्यक्रम गर्ने र त्यसका उपलब्धिलाई वार्षिक रूपमा कोप सम्मेलनमा पेस गरेर छलफल गर्दै अघि बढ्ने निर्णयसमेत भएको सहसचिव डा. ढकालले जानकारी दिए ।

यसै गरी ढकालका अनुसार कोपमा नेपालले उठाएको जीवाष्म इन्धनको अन्त्य गर्दै सफा ऊर्जामा जानुपर्ने र नेपालजस्ता पहाडी मुलुकमा निर्माण भएका जलविद्युत् आयोजनालाई नवीकरणीय ऊर्जाका रूपमा परिभाषित गरेर ती आयोजनाले कार्बन उत्सर्जन न्यूनीकरण गर्न पु¥याएको योगदानको उचित मूल्य दिनुपर्नेमा नेपालले जोड दिएको विषयलाई पनि कोपले गम्भीर रूपमा लिएको छ ।

यसै गरी नेपालले उठाउँदै आइरहेको जलवायु न्यायको विषयमा जलवायु अनुकूलता तथा न्यूनीकरणका कार्यक्रम कार्यान्वयन गर्दा महिला, बालबालिका, वृद्धवृद्धा, अपांगलगायत पिछडिएका वर्गलाई जलवायु कार्यक्रममार्फत उनीहरूको जीविकोपार्जनमा सेवा पु¥याउनका लागि कोप सम्मेलनले विशेष आग्रह गरेको छ ।

नेपालले हिमाल र पृथ्वी सुरक्षाको मुद्दाका साथै जलवायु वित्त, जलवायुजन्य हानि नोक्सानी न्यूनीकरण, कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्राविधिक र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, लैंगिक समानता र समावेशीकरण विषयमा विभिन्न कार्यपत्रमार्फत ती मुद्दालाई अन्तर्राष्ट्रिय रूपमा राख्न सफल भएको थियो ।

सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रप्रमुख रामचन्द्र पौडेलले गरेका थिए ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण मन्त्रालयका सचिव डा। दीपक खराल, मन्त्रालयका अन्य प्रतिनिधिहरू, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरू, अन्तरसरकारी निकायका प्रतिनिधिहरू, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मीलगायतले सम्मेलनमा सहभागिता जनाएका थिए ।

मन्त्रालयले महासन्धि र पेरिस सम्झौताअन्तर्गतका सातवटा विषयगत क्षेत्रमा प्रत्येकमा सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी सबै समानान्तर वार्ताहरूमा नेपालको सशक्त उपस्थिति जनाएको थियो ।

कोप २९ का केही झलकहरू

–पहिलो हप्तासम्ममा, विभिन्न राष्ट्रहरू र संघसंस्थाहरूबाट ७० हजारभन्दा बढी सम्मेलनमा सहभागी भएका थिए र सम्मेलनको अन्त्यसम्म यो संख्या अझ बढेको थियो ।

–१९५ देशहरूबाट पार्टी डेलिगेटका रूपमा ३५ हजार जति सहभागी आउनुभएकोमा, सरदर प्रत्येक देशबाट १८० जना प्रतिनिधि सहभागी भएका थिए ।

–संयुक्त राष्ट्रसघंका जलवायु विशेषदूत सेल्विन हार्टसँग नेपाली प्रतिनिधिको भेटमा उनले नेपालको सहभागिताका बारेमा प्रशंसा गर्नुका साथै संयुक्त राष्ट्रसंघका महासचिवले नेपालका बारेमा चासो लिइरहने जानकारी गराएका थिए ।

–वार्ताको समयमा एकै दिन दुई सयभन्दा बढी बैठक हुने र एकै समय ३० वटा जति विषयमा छलफल हुने हुँदा नेपालका तर्फबाट सहभागीहरू धेरै नै चाहिने अवस्था देखिएको थियो ।

–मुख्य वार्ताबाहेक साइड इभेन्ट र द्विपक्षीय बैठकहरूमा समेत सहभागिता जनाउनुपर्ने भएकाले पनि सहभागिता त्यसैअनुसारको चाहिने निष्कर्ष निकालिएको थियो ।

–समुद्री सतहबाट २८ मिटर ( ९२ फिट) तल रहेको अजरबैजानको राजधानी बाकुमा सम्पन्न भएको थियो ।

नेपाल समाचारपत्रबाट

मंसिर ९ गते आइतबार, यस्तो छ तपाईँको राशिफल

मेष: समय तपाईंको अनुकूल छैन । कार्य असफल, नोक्सानी, चिन्ता, दुःख–कष्टको सम्भावना छ ।

वृष: सतर्क रहनुहोला । खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधूप, आलस्यता हुन सक्छ ।

मिथुन: तपाईंका लागि दिन शुभ छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।

कर्कट: धनको नोक्सानी, चञ्चलता, खर्च, कार्यमा असन्तुष्ट हुन सक्छ । सजग रहनुहोला ।

सिंह: समय अनुकूल छ । पैसा लाभ, खाद्यान्न, पुरस्कार, उपहार प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

कन्या: अशुभ समयले सजग रहनुहोला । रोगव्याधिको भय, विवाद, चोटपटकको सम्भावना देखिन्छ ।

तुला: दिन उत्तम फललदायक छ । आर्थिक लाभ, भोजभतेर, खाद्यान्न प्राप्तिको सम्भावना छ ।

वृश्चिक: शुभ समय भएकाले सुख–समृद्धि, कार्य सफल, स्वस्थता, आत्मसन्तुष्टि हुने देखिन्छ ।

धनु: तपाईंका लागि दिन शुभ देखिँदैन । राजनीतिक भय, प्रतिष्ठामा आघात, कार्य बाधा हुन सक्छ ।

मकर: समय अनुकूल नभएकाले रोगव्याधि, कार्य व्यवसायमा व्यवधान, नोक्सानी हुन सक्छ ।

कुम्भ: समय उत्तम छ । धन प्राप्ति, परीक्षा प्रतियोगितामा सफलता, सुख–सन्तोष हुने देखिन्छ ।

मीन: आर्थिक लाभ, शुभ यात्राको सम्भावना, विजय, बौद्धिक क्षमतामा वृद्धि हुने सम्भावना छ ।

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति बारे ब्रिफिङ लिने

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएमका छन् ।

हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्री ओलीले ब्रिफिङ लिन लागेका हुन् ।

राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङ मार्गहरू लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन् ।

यसै बीच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दै छ । बालुवाटार स्थित पुरानो सचिवालयमा बस्ने सो बैठकमा पनि प्रधानमन्त्री ओलीले सहभागिता जनाउने सचिवालयले जनाएको छ ।

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

इनरुवा, देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् ।

मजदूरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गरे । तर, मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।

भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् ।

नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ ।

भारतमा सस्तोमा बीउm तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताए ।

“नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उनले भने ।

इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा भारतबाट आउने तरकारीका कारण स्थानीय उत्पादन बिक्री गर्न समस्या हुने गरेको बताए ।

तरकारी खेती गर्न भारतमा भन्दा नेपालमा महँगो पर्ने भएकाले भारतीय किसानसँग प्रतिस्पर्धा गर्न समस्या भएको स्थानीय किसान बताउँछन् ।

अहिले भारतबाट आउने बन्दागोभी प्रतिकिलो रु २० देखि रु ३० सम्ममा बिक्री हुने गरेको छ ।

नेपाली किसानलाई सोही मूल्यमा बिक्री गर्नुपर्दा लगानी असुल नहुने स्थानीय किसान चन्दन मेहताले बताए ।

देवानगञ्ज बजारमा भारतबाट भित्रिने तरकारीको मात्रा बढेसँगै यहाँका किसानले उत्पादन गरेको तरकारीको मूल्यमा गिरावट आएको छ ।

भारतबाट सस्तो मूल्यमा आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भण्टा र सागपात बजारमा भित्रिएपछि स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको किसानले बताएका छन् ।

उत्पादन गरेको तरकारीले मूल्य नपाउँदा किसानको लगानी डुब्नुका साथै तरकारीखेतीलाई निरन्तरता दिन समस्या भएको किसान बताउँछन् ।

भारतबाट आउने तरकारीमा कडाइ गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय तहसँग किसानले माग गरेका छन् ।

रासस

सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई आज पुनः अदालतमा उपस्थित गराइदैं

काठमाण्डू, सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) पुनः अदालतमा उपस्थित गराइने भएको छ ।

सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि यसअघि दिइएको १३ दिनको म्याद शुक्रबार सकिएसँगै उनलाई आज म्याद थपका लागि प्रहरीले कास्की जिल्ला अदालतमा पेस गर्न लागेको हो ।

म्याद थप भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

लामिछानेविरुद्ध काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । आज म्याद थप थपेर क्रमशः उनलाई काठमाडौं र चितवन लाने प्रहरीको तयारी रहेको बुझिएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीलाई काठमाडौं लगेर बयान लिइसकिएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

प्यालिस्टिनीमाथि इजरायली आक्रमणको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाण्डू, प्यालिस्टिनीमाथि इजरायली आक्रमणको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

नेकपा ९माओवादी केन्द्र०, एकीकृत समाजवादी, जनमोर्चा, जसपा नेपाल, नेकपासहितका दलद्वारा गठित ‘प्यालिस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ ले उक्त प्रदर्शनको आयोजना गरेको हो ।

प्रदर्शनकारीहरु विभिन्न नारा अङ्कित प्लेकार्डसहित सहभागी भएका छन् ।

उनीहरुले गाजामा भइरहेको युद्ध रोक्न समेत आग्रह गरेका छन् ।

१९ वर्ष मुनिको महिला क्रिकेट विश्वकपमा छनोट भएका खेलाडी सम्मानित

कञ्चनपुर, विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ।

महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु-१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई शनिबार ३०र३० हजार रुपैयाँसहित सम्मान गरेको हो।

त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दू रावललाई ५० हजार रुपैयाँ र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई ३० हजार रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्मान गरे।

खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरुको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताए। ‘

प्रदेश सरकारले खेलकुदको विकासका लागि पूर्वाधार विकासमा पहल गर्छ’, उनले भने, ‘हाम्रो यहाँ पूर्वाधारको अभावमा पनि खेलाडीहरुले धेरै मेहनत गरेकाले अब सरकार पूर्वाधार विकासमा लाग्छ।’

जिल्ला क्रिकेट संघका कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताए। ‘

खेलाडीहरुको विकासका लागि क्रिकेट संघले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ’, अध्यक्ष चन्दले भने, ‘कञ्चनपुरका थुप्रै खेलाडीले राष्ट्रिय टोलीबाट खेलिरहेका छन्।’

उनले खेलाडीका लागि खेलमैदान पहिलो आवश्यकता रहेकाले प्रदेश सरकारले खेलमैदान निर्माणका लागि सहयोग गर्नुपर्ने बताए।

‘यहाँ ठूलो प्रतियोगिता सञ्चालन गर्नका लागि राम्रो खेलमैदान छैन्, स्थानीय कबर्ड हलमा प्रतियोगिता गराउनुपर्छ’, उनले भने, ‘तीनै तहका सरकारले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी गर्न आवश्यक छ।’

होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताए।

गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसीसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो।

सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ।

रासस

प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा घुस रकमसहित अख्तियारको फन्दामा

महोत्तरी, जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बालाई अख्तियारको टोलीले घुससहित शुक्रबार पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुब्बा अशोककुमार यादवलाई २० हजार रुपियाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

प्रशासनका नासु यादव विनाघुस कुनै पनि काम नगर्ने गुनासोको आधारमा निगरानीमा रहेका उनलाई शुक्रबार दिउँसो घुस रकमसहित पक्राउ गरिएको हो ।

आयोगले नासु यादवलाई पक्राउ गरी अनुसन्धानका लागि कागजपत्र समेत नियन्त्रणमा लिएको छ । नासु यादवमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।