सय दिनको उपलब्धि सार्वजनिक गर्यो सुदूरपश्चिम प्रदेश सरकारले

धनगढी, मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको हो।

एक सय दिनको अवधिमा प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१, अपाङ्गता सम्बन्धी प्रादेशिक नीति २०८१ बनाएको छ।

यसैगरी, प्रदेश सभाबाट पाँच वटा ऐन निर्माण भएका छन्। प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८०, सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०८१ र सुदूरपश्चिम प्रदेश विनियोजन ऐन, २०८१, सामयिक राजस्व संकलन सम्बन्धी ऐन २०८१, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक ९पहिलो संशोधन० २०८१ प्रदेश सभाबाट पारित भएको हो।

सरकारले भौतिक पूर्वाधारतर्फ एक सय दिनमा १८.५ किलोमिटर सडक कालोपत्रे, २७ किलोमिटर सडक ग्राभेल गरेको छ।

यसैगरी, दुई वटा पक्की पुल निर्माण, १६ हजार फिट झोलुङ्गे पुल निर्माणका लागि लट्ठा खरिद, आठ वटा खानेपानी योजना र दुई वटा कभर्ड हल निर्माणको कार्य सम्पन्न गरिएको छ।

सुदूरपश्चिम प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८१, सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८१–८२ को बजेट र यससँग सम्बन्धित विभिन्न मार्गदर्शन निर्माण गरी सरकारले कार्यान्वयनमा ल्याएको छ।

यसैगरी, राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन कार्यविधि २०८० कार्यान्वयनमा ल्याइएको छ।

यो एक सय दिनको अवधि शासकीय दृष्टिले राजनीतिक, आर्थिक र प्रशासनिक पक्षमा उपलब्धिमूलक रहेको मुख्यमन्त्री शाहले बताए ।

यस अवधिमा प्रदेश सरकारले प्रदेशभित्र वित्तीय पारदर्शीता, सुशासन प्रवद्र्धन, भ्रष्टाचार न्यूनीकरण तथा समग्र सेवा प्रवाह, विकास निर्माण र राजस्व संकलन लगायत नागरिक सरोकारका विविध पक्षहरुमा केन्द्रित रही काम गरेको उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भइ विचाराधिन अवस्थामा रहेको प्रदेश सरकारले जनाएको छ।

यसैगरी, प्रदेश निजामती सेवा नियमावली २०८१ को मस्यौदा तयार गरी सुझावका लागि मन्त्रालयहरुमा पठाएको जनाइएको छ।

सय दिनको अवधिमा ८‍.०२ प्रतिशत बजेट खर्च गरेको सरकारले जनाएको छ। आजको मितिसम्म ३८ करोड ४५ लाख ३० हजार अर्थात लक्ष्यको तुलनामा २३.९३ प्रतिशत राजस्व परिचालन गरेको जनाइएको छ।

आफूले सोचेको र कल्पना गरेको कुराहरु ७० प्रतिशतमात्रै पूरा भएमा त्यो धेरै उपलब्धि हुने मुख्यमन्त्री शाहले बताए ।

तोकिएको स्थानमा प्रदेश राजधानी कार्यान्वयन नभएमा त्यसको विकल्प खोज्न ढिला गर्न नहुने उनले उल्लेख गरेका छन् ।

हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने उल्लेख गर्दै मुख्यमन्त्री शाहले सबैको सहमतिमै राजधानी तोक्ने बताए ।

त्यस्तै, सेती प्रादेशिक अस्पताललाई संघमा हस्तान्तरण गरी त्यसलाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गाभ्ने र शैक्षिक कार्यक्रम अगाडि बढाउने गरी प्रक्रिया थालेको जानकारी दिएका छन् ।

शाहको नेतृत्वमा गत साउन २१ गते प्रदेश सरकार गठन भएको थियो।

राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन् : प्रधानमन्त्री ओली

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् ।

“नेपालमा एकातिर हिन्द राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ ।’’,

प्रधानमन्त्री ओलीले भने, “यस्ता कुराहरूलाई हामी क्रमशः नियन्त्रण गर्छौँ । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन् । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौ ।’’

प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतीकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताए ।

भेटका अवसरमा आचार्य श्री महाश्रमणजीका शिष्य मुनि रमेशकुमारजी र मुनि रत्नकुमारीलगायतले समाजमा नैतिकता, सद्भावना, मानव एकता, नशाबाट मुक्ति र शान्तिका लागि आफूहरूले गर्दै आएका कामबारे अवगत गराएका थिए ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई सरकारले दोस्रोपटक सोध्यो स्पष्टीकरण

काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः ६ बुँदे स्पष्टीकरण सोधेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग ६ बुँदे स्पष्टीकरण माग गरेको हो ।

यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरिएको थियो । घिसिङले हालसम्म पनि जवाफ नपठाएको जनाइएको छ ।

घिसिङलाई गत कात्तिक १३ गते स्पष्टीकरण पत्र पठाएको थियो । हिजो बैठक बस्न नसकेपछि ऊर्जामन्त्री खड्काले आजै प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन् ।

फाइनान्स समूह चम्कंदा पनि कारोबार र सूचक दुवैमा गिरावट

काठमाण्डू, साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक ०.४० प्रतिशत अर्थात ११.२४ अंकले घटेर २ हजार ७४८.९६ विन्दूमा सीमित बनेको छ ।

मंगलवार बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले घटेर ४८८.७८ विन्दूमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

मंगलवारको कारोबार सोमवारको तुलनामा कम हो । अघिल्लो दिन ११ अर्ब बढीको कारोबार भएको थियो ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो ।

यो समूह आज १.१२ प्रतिशतले बढेर ३ हजार ६१३ विन्दूमा पुग्यो । यस्तै आज निर्जीवन बीमा समूह ०.१३ र व्यापार समूह ०.३५ प्रतिशतले घट्यो ।

यो दिन अन्य समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.१८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३५ प्रतिशत, विकास बैंक ०.३१, होटल ०.१५,हाईड्रो ०.५७,लगानी ०.३५,जीवन बीमा ०.४४,उत्पादन तथा प्रशोधन ०.०२,लघुवित्त ०.६७ र म्युचुअल फण्ड ०.१३ प्रतिशतले घट्यो ।

आज गूडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २९ करोड २८ लाख बढीको कारोबार भयो ।

वेष्ट फाइनान्सको आज २९ करोड २५ लाख,आँखुखोला जलविद्युत २५ करोड ५९ लाख,जानकी फाइनान्सको २० करोड ५९ लाख र पिपुल्स पावरको १९ करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज गुराँस लघुवित्त, मेन्छियाम हाईड्रो,वेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै समृद्धि फाइनान्स ९.६१ प्रतिशत, समाज लघुवित्त ७.२५ र सपोर्ट माईक्रोफाइनान्सको सेयरमूल्य ७.२२ प्रतिशतले बढ््यो ।

यो दिन गूडविल फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.३६ प्रतिशतले घट्यो ।

आँखुखोला जलविद्युतको सेयरमूल्य पनि आज ४.९१ र माछापुच्छ्रे बैंकको सेयरमूल्य ४.५९ प्रतिशतले घट्यो ।

सभापति लामिछानेले अडिग, अटल र अविचलित भएर अन्यायविरुद्धको कानूनी लडाइँ लड्ने : रास्वापा

रुपन्देही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने अडिग, अटल र अविचलित भएर अन्यायविरुद्धको कानूनी लडाइँमा लड्ने प्रस्ट पारेको छ।

यही विश्वासको जगमा टेकेर राज्य व्यवस्थाको शक्ति पृथकीकरणमा अझै पनि विश्वास गर्दै यो अन्यायविरुद्धको कानूनी लडाइँमा हाम्रा सभापति अटल, अडिग र अविचलित भएर लड्नुहुनेछ,’ रास्वपाले भनेको छ।

‘हिरासतको जीवन सहज कसैका लागि पनि सहज हुँदैन्। तर, सभापतिसँगको हरेक भेटमा हामी सबैले महसुस गरेको एउटा कुरा के हो भने उहाँ हतास हुनुभएको छैन,’ रास्वपाले भनेको छ।

‘इतिहास साक्षी छ, देश होस् या व्यक्ति लडेरै माथि उठ्छ। अनि झुटा कुराको आयु जति नै लामो होस्, त्यसलाई सत्यले नै बदल्छ।

लामिछानेले हिरासतभित्रबाट आफूमाथि शुभेच्छा राख्ने सबैमाथि आभार सुनाइदिन पनि आग्रह गरेको रास्वपाले बताएको छ।

सरकार र पुराना दलहरूका कारण नेपालमै केही गरौँ भन्ने सोच भएका नेपालीहरूमा पनि निराशा बढ्दै गएको रास्वपाले बताएको छ।

त्यस्तै, सभापति लामिछानेले आफू कानूनी लडाइँ लड्न सक्षम भएको पनि भेट्न पुगेका नेताहरूलाई बताएको रास्वपाले बताएको छ।

मंगलबार हिरासतमा लामिछानेसँग गरिएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले सन्देश जारी गर्दै रास्वपाले यस्तो बताएको हो।

साथै, लामिछाने हिरासतमा रहँदा हतास नदेखिएको पनि रास्वपाद्वारा प्रेषित सन्देशमा भनिएको छ।

ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान

काठमाण्डू, ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।

मङ्गलबार काठमाडौँको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।

लगत्तै अदालतले मनाङेलाई केन्द्रीय कारागार पठाएको हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।

उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने छ ।

नेपालले कुवेतलाई १६५ रनले हरायो, कप्तान पूजा महतोको कीर्तिमानी प्रदर्शन

काठमाण्डू, आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले चौथो जीत निकालेको छ ।

चौथो जीत दर्ता गर्नेक्रममा नेपालले मंगलबार कुवेतलाई १ सय ६५ रनले हरायो ।

जारी प्रतियोगितामा कुवेतसँगको पहिलो भेटमा नेपाल १ सय ८ रनले विजयी भएको थियो । कुवेतको भने यो लगातार पाँचौं हार हो ।

पाँचौं खेलमा नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो ।

उसका लागि कप्तान जिफा जिलानीले ४२ बलमा सर्वाधिक ३६ रन बनाउन बनाइन् । बाँकी ब्याटरले भने दोहारो अंकमा समेत रन बनाउन सकेनन् ।

कुवेतका ८ ब्याटर शून्यमै आउट भए । नेपालका लागि कप्तान पुजा महतोले घातक बलिङ गरिन् ।

उनले चार ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन् । योसँगै पुजा नेपालका लागि एउटै खेलमा शतक र पाँच विकेट लिने पहिलो महिला क्रिकेटर बनेकी छन् ।

यस्तै, कुवेतविरुद्ध रचना चौधरी र सिमाना केसीको नाममा दुईरदुई विकेट रह्यो ।

त्यसअघि दुबईस्थित द सेभेन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो ।

नेपालका लागि कप्तान पुजा महतोले शतकीय इनिङ खेलिन् । उनले ६९ बलमा १७ चौकासहित अविजित १३० रनको पारी खेलेकी हुन् ।

योसँगै पुजाले इतिहास रचिन् । उनी अब यू–१९ क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् ।

यस्तै, पुजाले नेपालका लागि महिला क्रिकेटमा उच्च स्कोर बनाउने रेकर्ड पनि बनाइन् ।

यस्तै, कुवेतविरुद्ध सोनी पाख्रिनले अविजित ४३, सावित्री धामीले ११ तथा साना प्रवीनले ६ रन जोडे ।

कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले एकरएक विकेट लिए ।

यो जीतपछि विश्वकपमा छनोट हुने नेपालको सम्भावना जीवितै रहेको छ । त्यसका लागि नेपालले बुधबार आयोजक यूएईलाई हराउनुपर्ने समीकरण बनेको छ ।

प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा चारमा जित र एकमा हार बेहोरेको छ । नेपाल ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

पुछारमा रहेको कुवेत भने पाँच म्याच खेल्दा अंकविहीन छ । छनोट प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।

तालिकाको शीर्ष स्थानमा रहने टिमले आउँदो वर्ष मलेसियामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/८२ को बजेट ७७ करोड ५५ लाख

लुम्बिनी, लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ ।

कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो ।

परिषद्ले रु। ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्ताव गरेको बजेटमा आन्तरिकतर्फ रु. ३२ करोड ५५ लाख ९२ हजार र सरकारको अनुदान रु. ४५ करोड गरी उक्त आम्दानी खर्चको अनुमान गरिएको छ ।

प्रस्तुत बजेट नीति र कार्यक्रमले आय बढाउन दर्शनार्थीको सङ्ख्या बढाउने, दियो बत्तीको सेवालाई थप वृद्धि विस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किङ, लुम्बिनी प्रवर्द्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिएको छ ।

व्ययतर्फ लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, युनेस्को विश्व सम्पदा कमिटीका सुझाव कार्यान्वयन, पूर्वाधार निर्माण, तिरौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र स्थानीय तहसँगका सहकार्य व्यय गर्ने योजना प्राथमकितामा छन् ।

बैठकमा मन्त्री पाण्डेले लुम्बिनीको विकास र सुधारमा मन्त्रालय र आफ्नोतर्फबाट पर्याप्त रूपमा सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएकाले यसबाट लुम्बिनी र त्यस क्षेत्रका पर्यटकीय क्षेत्रले लाभ लिनुपर्ने बताएका थिए ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समयको सदुपयोग गरेर कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

बैठकमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकास कोषले अर्थ, परराष्ट्र, गृह र पर्यटन मन्त्रालयबाट यथेष्ट सहयोग नपाएको गुनासो गर्दै उक्त सहयोग र ढोका खुला राख्ने हो भने लुम्बिनी गुरुयोजना कार्यान्वयन सक्न सरकारको अनुदानबिना नै पूरा गर्न सकिने तर नेपालको नीतिमा उदार व्यवस्था हुनुपर्ने बताएका थिए ।

बैठकले लुम्बिनीमा निर्माण गरी राम्रोसँग सञ्चालनमा नआएका बिहार, गुम्बाको अध्ययन गरी तिनको करार प्रक्रिया र अवधिमा पुनःमूल्याङ्कन गर्न अध्ययन कार्यदल बनाउने निर्णयका साथै कर्मचारी सङ्गठनको बदलिँदो आवश्यकताअनुरुप पुनःसंरचना गर्ने निर्णय पनि गरेको छ ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बूमा महालक्ष्मी जात्रा सुरु, आफन्त बोलाएर खुवाउने प्रचलन

काठमाण्डू, काठमाण्डूको चन्द्रागिरि नगरपालिकाको बलम्बूमा महालक्ष्मी जात्रा सुरु भएको छ ।

बलम्बू महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् ।

बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् ‘मुः’ अष्टमीबाट सुरु हुन्छ ।

छवयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरू छोयला, तखाः (थलथले ), यला (रक्सी ) लगायतका परिकार बताउछन् र पाहुना बोलाएर खुवाइन्छ ।

उपत्यकामा जहाँ–जहाँ जात्रा हुन्छ, त्यस बखत आफन्त बोलाएर खुवाउने प्रचलन रहि आएको छ ।

नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

काठमाण्डू, आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपालले कुवेतलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित द सेभेन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो ।

नेपालका लागि कप्तान पूजा महतोले शतकीय इनिङ खेलिन् । उनले ६९ बलमा १७ चौकासहित अविजित १३० रन बनाइन् ।

योसँगै पूजाले इतिहास रचेकी छन् । उनी अब यू–१९ क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् ।

यस्तै, पूजाले नाममा नेपालका लागि महिला क्रिकेटमा उच्च स्कोर बनाउने रेकर्ड पनि बनाइन् । कुवेतविरुद्ध सोनी पाख्रिनले अविजित ४३, सावित्री धामीले ११ तथा साना प्रवीनले ६ रन जोडे ।

कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले एकरएक विकेट लिए ।

जारी प्रतियोगितामा नेपालले ४ खेलमा ३ जीत र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो ।

त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । छनोट प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई पुर्याइयो भैरहवा

भैरहवा, सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भएपनि मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो ।

लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने विमानस्थलमै पुगेर पनि समर्थकहरुले प्रदर्शन गरिरहेका छन् ।

उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारीका लागि पुगेका छन् ।

उनीहरुले ११ बजेदेखि प्रदर्शन गर्ने सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले जनाए ।

उनले कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरेको बताए ।

यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध पूजा महतोको सानदार शतक

काठमाण्डू, आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाली टिम कप्तान पूजा महतोले शतक पूरा गरेकी छन् ।

उनले ५७ बलमा १२ चौकासहित शतक पूरा गरेकी हुन् ।

यू–१९ क्रिकेटमा पूजाको यो पहिलो शतक हो । आफ्नो पाँचौं खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म १६.२ ओभरमा २ विकेट गुमाएर १ सय ६६ रन बनाएको छ ।

नेपाल र कुवेतबीचको खेल दुबईस्थित द सेभेन स्टेडियममा भइरहेको हो । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जीत र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।

छनोट प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।

प्रतितोला २४०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाण्डू, नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २४०० रुपैयाँ घट्दा चाँदी पनि प्रतितोला ३० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मूल्य घटेसँगै सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६५ हजार रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै मूल्यघटेसँगै आज चाँदी १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंबाट पक्राउ

काठमाण्डू, ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका छन् ।

कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मंगलबार गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।

मनाङेले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ आएपछि अदालतमा आफैँ उपस्थित हुने बताएका थिए ।

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो । वि.सं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।

ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।

बाढीले क्षति भएका संरचनाहरुको पुननिर्माणका लागि माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको उत्पादन बन्द

दोलखा, अपर तामाकोशी हाईड्रोपावर लिमिटेडअन्तर्गत सञ्चालित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

गत असोज १० गतेदेखि देशव्यापी रुपमा आएको अविरल वर्षाका कारण उक्त जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको ड्याम अपरेशनल कन्ट्रोल बिल्डिङ, सेट्लिङ बेसिन, बक्स कल्भर्ट, हाईड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु,ट्रान्समिशन लाइन तथा बाँधस्थल प्रवेश मार्ग लगायतका संरचनामा क्षति हुन गएकाले पूर्ण रुपमा विद्युत उत्पादन बन्द भएको हो ।

बाढीको कारण क्षति भएका संरचनाहरुको मूल्यांकनपश्चात पुननिर्माणको कार्य अघि बढाइएको कम्पनीले जनाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ ।