कोप–२९ मा सहभागी बन्न अजरबैजान पुगेका राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिवगुटेरसवीच भेट

काठमाण्डू, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) सोमबारदेखि अजरबैजानको बाकुमा प्रारम्भ भएको छ ।

नेपालले यस सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ । कोप–२९ मा भाग लिन उनी सोमबार नै बाकु आइपुगेका छन् ।

सम्मेलनमा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु आउने क्रममा उनीसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरसले भेट गरे ।

राष्ट्रपति पौडेललाई यहाँस्थित हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फरिद अहमदोले स्वागत गरे ।

सो अवसरमा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता प्रकट गरेको रकम प्रदान गर्नका लागि आग्रह गरे ।

साथै उनले कार्बन उत्सर्जनमा न्यून योगदान गरेर मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सोमबार साँझ राष्ट्रपतिको उपस्थितिमा नेपाली टोलिलाई परराष्ट्र र वन मन्त्रालयलका अधिकारीले नेपालको तयारी बारेमा जानकारी गराएका थिए ।

वन मन्त्रालयका सहसचिवहरू डा.सिन्धु ढुङ्गाना, डा.महेश्वर ढकाल, डा.बुद्धिसागर पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत उपस्थित थिए ।

सम्मेलनको सोमबार भव्य समारोहका बीच उद्घाटन भएको छ । सम्मेलनमा विश्वभरका नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि बाकुमा भेला भई सकेका छन् ।

यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यू कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ ।

एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्य यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ ।

जलवायु वित्तसम्बन्धी स्वतन्त्र उच्चस्तरीय विशेषज्ञ समूहको सन् २०२२ को प्रतिवेदनअनुसार विकासशील देशहरूलाई जलवायु वित्त आवश्यकता पूरा गर्न सन् २०२५ सम्ममा प्रतिवर्ष १० खर्ब अमेरिकी डलर तथा सन् २०३० सम्ममा २४ खर्ब अमेरिकी डलर चाहिन्छ ।

कोप–२९ को मुख्य उद्देश्य जलवायुसम्बन्धी चुनौतीहरूको सामना गर्ने कमजोर देशहरूलाई सहयोग गर्न वित्तीय लक्ष्यहरूमा सम्झौताहरू सुरक्षित गर्नु हो ।

त्यस्तै कोप–२९ का विषयवस्तुहरूले वित्त, ऊर्जा सङ्क्रमण, मानव पुँजी, जैविक विविधता, खाद्य सुरक्षालगायत जलवायुका पक्षहरूलाई सम्बोधन गर्नेछन् ।

वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिटजस्ता उल्लेखनीय सत्रहरूले उच्चस्तरीय छलफललाई सहज बनाइ युवा, स्वास्थ्य र सहरीकरणका संवादलाई बढावा दिने अपेक्षा गरिएको छ ।

सम्मेलनका प्रमुख लक्ष्यहरूमा नयाँ विश्वव्यापी जलवायु वित्त लक्ष्य स्थापना, अनुकूलन उपायहरू मापन गर्ने र एक दशमलव पाँच डिग्री सेल्सियस तापक्रम सीमित गर्ने लक्ष्यसँग प्रतिबद्धताहरू प्राप्त गर्ने समावेश हुनेछन् ।

यसैगरी सम्मेलनस्थल बाकुमा सम्मेलनमा भाग लिन विश्वभरबाट आएका उच्च व्यक्तित्वहरू हरिया पहिरनमा जताततै देख्न सकिन्छ भने कार, ट्याक्सीलगायतका सवारी साधनमा कोप–२९ को लोगो र प्रचार सामग्री छापिएका देखिन्छन् ।

बाकुका होटेलहरू भरिभराउ छन् । सहभागीहरू तारे होटेल, सामान्य होटेल, कोठा, अपार्टमेन्ट र होस्टलहरूमा उपलब्धता र आर्थिक हैसियतानुसार बसेका छन् ।

४० देशका राष्ट्रपति वा उपराष्टपति तथा ३५ देशका प्रधानमन्त्री सम्मेलनमा सहभागी हुने तय भएको बताइएको छ ।

कोप–२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

सम्मेलनमा नेपालको तयारीका लागि यसअघि नै वनमन्त्री ऐनबहादुर शाही ठकुरीसहित वन सचिव डा दीपककुमार खरालसहित अन्य उच्च कर्मचारी र विज्ञसहितको नेपाली टोली सम्मेलनस्थल बाकु स्टेडियम पुगी आवश्यक तयारी गरिसकेको छ ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा.सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।

नेपालले जलवायु परिवर्तनका विषयमा नेपालले सामना गरिरहेको चुनौती तथा हालसम्म गरेको प्रतिबद्धता र त्यसको कार्यान्वयन बारेका प्रयासलाई विश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नमा जोड दिने बताइएको छ ।

नेपालले यस सम्मेलनमा मुख्यतया अनुकूलन हानी नोक्सानी, जलवायु वित्त, पर्वतीय क्षेत्रका मुद्दा, प्रविधि विकास हस्तान्तरण, क्षमता विकासलगायत विषय प्रमुख रूपमा उठाउने तयारी गरेको छ ।

गत वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप–२८ मा पनि नेपालले हिमालका मुद्दाबारे विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीको नेतृत्वमा सम्मेलन कक्षमै उच्चस्तरीय बैठकको आयोजना गरेको थियो ।

सम्मेलनमा राष्ट्रको उच्चस्तरीय प्रतिनिधित्व र यस्ता बैठकले आफ्ना मुद्दाबारे ध्यानाकर्षण गराउन प्रभावकारी हुने तथा यसले निर्णय क्षमता र कार्यान्वयनमा पनि ठूलो महत्त्व राख्ने यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।

नेपालले यसअघि सन् २००९ डेनमार्कको कोपहेगनमा भएको कोप–१५ मा तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको कोप–२४ मा तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा सम्पन्न कोप–२७ मा तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सन् २०२३ मा संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप–२८ मा तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा उच्चस्तरीय सहभागिता जनाएको थियो ।

मन्त्रालयले विभिन्न विधागत समूह तय गरी राष्ट्रिय स्थिति पत्र तयार गरेको छ । सहसचिव डा ढुङ्गानाका अनुसार मन्त्रालयले कार्बन व्यापार, न्यूनीकरण, अनुकूलन, लैङ्गिक समानता, समावेशीकरण, जलवायु वित्त, क्षमता विकास, पारदर्शिता र सुशाासन, पर्वतीय मुद्दामा विधागत समूह निर्माण गरी राष्ट्रिय स्थिति पत्र तयार गरेको हो ।

हिमाली मुलुक नेपालले प्रायः अन्तर्राष्ट्रिय सम्मेलनमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।

यस सम्मेलनमा पनि नेपालले पर्वतीय मुद्दा नेतृत्व लिएर प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

कोप–२९ ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिमरूप दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्त्वपूर्ण हुने बताइएको छ ।

सम्मेलनमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुगेका राष्ट्रपति पौडेलका साथमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारणमन्त्री शाही, राष्ट्रपतिका विज्ञरसल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू छन् ।

यही कात्तिक २६ गते अर्थात् आजदेखि सुरु भएको सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।

रासस–

निजामति सेवामा वितृष्णा, भौतिक मन्त्रालयका सहसचिव खत्रीले दिए राजीनामा

काठमाण्डू, स्वदेशमा रोजगारी नपाए पछि लाखौंको सख्यामा बिदेशीने लहर चलिरहेको बेला निजामती सेवाको आकर्षक पदमा कार्यरत सहसचिव प्रेमप्रकाश खत्रीले राजीनामा दिएका छन् ।

खत्रीको राजीनामाले कार्यरत र नयाँ प्रवेशीका लागि भने तरङ्ग नै पैदा गराएको छ।

कोहि नहुनेको निम्ति लोकसेवा भरोसा बनेर उभिएकै कारण देशमा सुशासनको निम्ति काम गर्ने र नागरिकको तहमा उत्पन्न गुनासालाई घटाउने ध्ययका साथ लिखितबाट अधिकृत स्तरमा नाम निकाल्न सफल सहसचिव खत्रीले बिभिन्न चरणका परीक्षा उर्तिण गर्दै सहसचिवसम्म पुगेका थिए ।

निजामती सेवामा प्रवेशका हिसाबले बाहुल्यता रहेको स्याङ्जा निवासी सहसचिव खत्री प्राविधिक सहसचिव हुन्।

सडक विभाग भित्र उत्तर दक्षिण आयोजनाको निर्देशक पदमा रहेका खत्रीको झण्डै १७ वर्ष जागीरे सेवा अवधि बाँकी रहेको छ । निजामति सेवाको विशिष्ट पदमा पुग्ने खत्रीको अकस्मातको राजीनामाले धेरैमा संसय पैदा गरेको छ ।

राजीनामाको बिषयलाई गहन रुपमा नहेर्ने हो भने निजामती सेवामा इमानदार कर्मचारीहरुले सेवा छोडने क्रम एका–एक बढेर जाने देखिन्छ । पछिल्लो समय सुरक्षा निकायमा राजिनामा दिने संख्या बढेको बेला खत्रीको राजीनामा आएको छ ।

भौतिक मन्त्रालय भन्ने बित्तिकै नागरिकको तहबाट हेर्ने दृष्टिकोण सकारात्मक देखिदैन् ।

बर्सौदेखि सरकारी सेवामा देखिएका बेथितिहरु हटाउन जोस र जाँगर बोकेर भौतिक मन्त्रालय त छिरे तर उनको त्यो जाँगर र जोसमा एकाएक कमी आयो र बेथितिलाई जस्ताको तस्तै छाडेर आफैं बाहिरिन पर्यो ।

खत्रीले केही बर्ष पछि आउने मन्त्रालय अन्तरगतको महानिर्देशक र बिशिष्ट श्रेणीको अवसरलाई पनि प्रवाह गरेनन् ।

महानिर्देशकको पद भनेपछि शक्तिकेन्द्रमा लम्पसार पर्ने र जस्तोसुकै सम्झौता गर्न राजीहुने निजामती क्षेत्रमा देखिएको आजभोलिको आशक्तिपन सबैमा हुदैन भन्ने उदाहरण खत्री आम नागरिककावीचमा उदाहरण समेत बनेका छ्न्।

सहसचिव पदमा चार वर्ष सेवा गरिसकेका १७ वर्ष सेवा बाँकी रहेका सहसचिव खत्रीले राजीनामा दिनु हुदैन्थो कि ? भन्ने एकाथरिको धारणा छ ।

तर, खत्रीले जति कोशिश गरेपनि पूर्वाधार बिकास क्षेत्रमा ब्याप्त बिकृतिको साक्षी बस्दै माफियाको हलिया बन्नु भन्दा स्वाभिमानका साथ बाँच्नु नै हितकर ठाने ।

सेवा निबृत्त नहुँदै सेवाबाट राजीनामा दिएको समाचारले निष्ठापुर्वक कार्यरतहरुको उकुसमुकुसलाई चिन्तित मात्रै बनाउने छैन बेलैमा यो परिस्थितिजन्य राजीनामालाई ध्यान नदिने हो भने निश्चित माफियाका कारण समग्र प्रणाली कै विकल्पका बारेमा सोच्नुपर्ने परिस्थिति चाडैं नै आउन सक्ने देखिन्छ ।

केहि दिन अगाडि निर्माण व्यावसायी निकोलस पाण्डेले सरकारी कर्मचारी भनेका पढेलेखेका गुण्डा हुन भनेका थिए ।

उनले कर्मचारी कहिल्यै सुध्रदैनन सबै प्रक्रियामा घुस खान्छ्न भनेर सार्वजनिक कार्यक्रममा भनेको केही दिन बित्न नपाउदै खत्रीको राजीनामा आएको छ ।

यसलाई इमानदारीसाथ काम गर्ने कर्मचारीका निम्ति सार्वजनिक मर्यादामा आच पुगेको निष्कर्षमा पुगि सेवाबाट राजिनामा दिएको भनेर पनि ब्याख्या गर्न थालिएको छ ।

बदमासी एउटाले गर्छ । तर, अपजस प्रणालीलाई नै न्यायोचित नभएको भन्ने कुरामा कतिपय इमानदार कर्मचारीले प्रतिबाद गर्ने गरेका छन् ।

हुन त केही बदमासी गर्ने कर्मचारीलाई कारवाही नगरेर तोकिएको पारिश्रमिकमा बाच्ने इमान्दार राष्ट्रसेवकको हुर्मत लिने छुट कसैलाई छैन् ।

अहिले बदमासी गर्नेलाई कारवाही र इमान्दारलाई पुरस्कृत गर्ने भन्ने दुई कोणबाट बहस सुरुसमेत भएको छ।

सरकारी कर्मचारी सबै बदमाश नै हुन त !

अख्तियारको दुरुपयोग गर्ने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायले कार्वाही मात्रै गर्दैन मुद्दा समेत चलाएका छ्न्।

विधिको शासनको धज्जी उडाउने र भ्रस्टाचारमा जोडिएकालाई अख्तियारले चलाइएका अधिकाश मुद्दामा अदालतले सफाइ दिनु र सुन पानी छर्कने प्रवृत्ति बढदै गए पछि माफियाकरण बढदै गरेको निष्कर्ष सहित सहसचिव खत्रीले निरासा पूर्ण राजीनामा थप पेचिलो बनेको बताइन्छ।

जसकाकारण क्षमता भएका सहसचिव खत्री जस्ता योग्य जनशक्ति बाध्य भएर पलायन भएको देखिन्छ। यो क्रममा पूर्णबिराम नलागेमा स्थिति अभल भयाभह बन्न सक्छ ।

सहसचिव खत्रीले कार्तिक १९ गते भौतिक मन्त्री समक्ष राजिनामा दिएका हुन।

सहकारीको रकम अपचलनको अभियोग लागेका रास्वापा सभापति लामिछानेलाई पोखराबाट रुपन्देही लगिंदै

पोखरा, सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्कीबाट आज (मंगलबार) रुपन्देही लगिने भएको छ ।

पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणलाई लिएर रुपन्देहीमा पनि मुद्दा परेकाले अनुसन्धानका लागि त्यहाँ लान लागिएको हो ।

लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर प्रर्दशन गर्दै आएको रास्वापाले रुपन्देहीमा प्रर्दशनको तयारी गरेको छ ।

प्रर्दशनका लागि लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे भैरहवा पुग्न सर्कुलर गरेको छ ।

यता ठगीमा लामिछानेको नाम मुछिएको सुप्रिम सहकारीका पीडितले पनि आन्दोलनको तयारी गरेका छन् ।

यसै शिलशिलामा लामिछानेलाई बिहान पोखरा विमानस्थल पुर्‍याइएको छ ।

आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिंदै

काठमाण्डू, हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ ।

यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन् । 

तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ ।

शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ ।

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ ।

रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ ।

यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ ।

यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले बताए ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।

यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । 

यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कुलमानलाई सर्वोच्चको साथ, ट्रंक लाइन महसुल नतिर्न परेको रिट खारेज

काठमाडौँ। डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा महसुल नतिर्नुपर्ने माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । हिमाल आइरन एन्ड स्टिल उद्योगले नेपाल विद्युत प्राधिकरणको महसुल उठाउने निर्णयविरुद्ध रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको हो ।

नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकले महसुल बक्यौता तिर्न सूचना जारी गरेको ‌थियो।

मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिटलाई खारेज गरिदिएको हो । प्राधिकरणले उक्त उद्योगले १३ करोड ६५ लाख १ हजार ९०२ रुपियाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।

डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ड स्टिलले २०७५ फागुन ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । यसअघि विद्युत नियमन आयोगले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् विद्युत् प्रयोग गरेका उद्योगले रकम बुझाएपछि मात्रै प्राधिकरणले लाइन जोड्ने निर्णय गरेको थियो ।

आयोगले गत बुधबार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयमा उल्लेख भएको २०७२ माघदेखि २०७५ वैशाखसम्मको विवादित डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुलको हकमा मात्र सम्बन्धित उपभोक्तबाट आवधिक रुपमा असुल-फरफारक गर्ने गरी तहाँ प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महसुल नबुझाएको कारणबाट लाइन काटेको भए तापनि सम्बन्धित ग्राहकले त्यस्तो आवधिक रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिने, उक्त विवादित महसुलको परिणाम वा अन्य पक्षउपर पछि कुनै आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसकेको भए पनि त्यसपछिका बिलमा समायोजन गर्दै जाने र यससम्बन्धी भए गरेका प्रगति विवरण आवधिक रूपमा आयोगमा जानकारी गराउनु भन्ने निर्णय गर्दै प्राधिकरणलाई निर्देशन दिएको थियो ।

डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् विद्युत् प्रयोग गरेका उद्योगीहरूले महसुल नतिर्न गरेको हरेक प्रयास अहिलेसम्म असफल हुँदै आएका छन् । डेडिकेटेड फिडर एवम् ट्रंक लाइनको महसुलका विषयमा उद्योगहरूले दायर गरेका ९० वटाभन्दा बढी मुद्दाको विपक्षमा आदेश आएको छ । त्यस्तै बाराको सिमरास्थित हुलास स्टिललाई बक्यौता रकम तिर्न गरेको पत्राचारविरुद्ध उच्च अदालत जनकपुरमा दायर गरेको रिटमा न्यायाधीसद्वय नीलम पौडेल र अर्जुन महर्जनको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । १४ करोड १२ लाख रुपियाँ महसुल बक्यौता रहेको सो उद्योगको लाइन प्राधिकरणले काटिसकेको छ ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपयोेग गरेका उद्योगलाई बक्यौता महसुल भुक्तानी गर्न दिएको अन्तिमपटकको अल्मिेटम सकिएपछि प्राधिकरणले महसुल बक्यौता रहेका ४९ उद्योगमध्ये ३४ उद्योगको लाइन कार्तिक ८ गतेदेखि काटेको थियो । प्राधिकरणले लाइन काटेपछि १४ वटा उद्योगले प्राधिकरण सञ्चालक समितिले दिएको किस्ताबन्दी सुविधाअनुसार बक्यौता रकमको पहिलो बुझाई लाइन जोडेका छन् । त्यस्तै सरकारी स्वामित्वका २ वटा सिमेन्ट उद्योगले समेत किस्ताबन्दीको सुविधा लिई महशुल भुक्तानी गरिसकेका छन् भने ६ वटा उद्योगले कार्तिक २८ गतेसम्म लाइन नकाट्न अदालतबाट स्टे अर्डर लिई बसेका छन् ।

डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेका ६१ वटा उद्योगको ६ अर्ब ६० करोड ७८ लाख रुपियाँ महसुल बक्यौता रहेको निष्कर्षसहित सरकारले गत वैशाख २७ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यसमा २५ प्रतिशत जरिवाना जोडिँदा करिब ८ अर्ब रुपियाँ हुन आउँछ । सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद सुल्झाउनका लागि लाल आयोग गरेको थियो । सोही प्रतिवेदनका आधारमा उद्योगीले १६ अर्बभन्दा बढी छुट पाएका छन् ।

राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट शुभसाइतमा तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनिहरूले राष्ट्रपति भवनमा बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक टीका लगाइदिएका हुन्।

उनीहरुले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गरे। राष्ट्रपतिले पनि बहिनीहरूलाई टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

नेपाल कै पहिलो बर्थडे पार्क संरक्षण समिति गठन


चन्द्रपुर।हरेक स्थानियले आफनो जन्म उत्सवमा एउटा एउटा फुल र फलको बिरुवा रोपेर अभियान नै चलाउन थाले सगै देशभर यो अभियानलाई एक्यवद्धता जनाउने र रौतहट बाट पहिलोपटक सुरुवात जनमदिनलाइ सतकर्ममा जोडौ अभियानबाट हजारौं फलफूलका बिरुवा रोप्ने काम सम्पन्न भएको छ।
चादी खोला नजिकै बाट यो अभियानका रुपमा सुरुवात भएको स्थानमा सबै क्षेत्रबाट चासो बढन थाले पछि यो क्षेत्र लाई थप आकर्षक बनाउन विभिन्न टोल सुधार समितिबाट भेला भै सबैको प्रतिनिधित्व हुने गरि सुरेश मगर को अध्यक्षतामा आज ११ जनाको संरक्षण समिति गठन गरेको छ।
जसमा उदय भट्ट उपाध्यक्ष उमाकान्त मैनाली सचिब बिना लामा कोषाध्यक्ष सदस्यहरु नवराज बिष्ट,,रामप्रसाद त्रिपाटी, धावाडोल्मा तामाङ ,तेजबहादुर लामा ,टक बहादुर मगर ,गोपिनी घिसिङ ,युबकुमारी बिक लगायतका जिल्लाका सेवाभाबका ब्याक्ती सम्मीलित समिति एक भेलाले आज गठन गरेको छ।
देशभरकै पहिलो अभियान भएकाले
सिन्दुरेघारी जजामाबिका प्रधानाध्यापक सत्रुधन प्रसाद साह शिक्षकहरु ब्यबस्थापन समिति सबैले यो अगाडि बढाउन अग्रसरता देखाएर बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई आफनो जन्मदिनमा फुलका बिरुवा रोप्न प्रेरित गर्दै आएका छ्न भने यो राष्ट्रिय अभियान बन्न थाले पछि रौतहटका प्रजिअ हिरालाल रेग्मी ,प्रहरी उपरीक्षक घिमिरे देखी जिल्लाका सबैले सो स्थानमा पुगेर एउटा एउटा बृ क्ष रोपिसकेका छ्न।
रौतहट सुरुवात भएपछि,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त , नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल,पुर्व मुख्यसचिव न्यायलयका न्यायाधीशहरु महानायक राजेश हमाल नायक पल शाह,नायिकाहरु केके अधिकारी पुजा चन्द दर्जनौं राष्ट्रिय खेलाडीहरुले रौतहटको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृ क्ष रोपण पशुपतिनाथमा पुगेर गरेका थिए।
सतकर्मको यो अभियानलाई एक्यवद्धता जनाउन देश बिदेश बाट थालिए सगै स्थानीयले थप चासो लिएर सो क्षेत्रको सरसफाइ गर्न मात्रै जुटेका छैनन रोपिएका बिरुवा जोगाउन मुस्किल परेको भन्दै बास गाडेर जोगाउन पहल गरिरहे पनि संरक्षणमा चुनौती देखिएको छ।
नागरिकको तहमा बढी रहेको उत्साह सहितको अभियानलाई स्थानीय तहले हालसम्म कुनै सहयोग नगरेको समेत सस्थाका सदस्य रामप्रसाद त्रिपाटीले सम्पत्ति न्युजलाई बताए ।
यो अभियान २०८० फागुन ११ गते बाट सुरुवात गरिएको हो।
तराई बिकास तथा संचार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्द चौलागाईंले पहिलोपटक सुरुवात गर्नुभएको यो अभियान नेपाल कै पहिलो अभियान बन्न पुगेको छ। पहिलोपटक सुरुवात गर्दा चौलागाईं सहित रौतहटका संचारकर्मी शिव पुरी ,रमेश तिमल्सिना अनमोल कार्की सुब्बा कार्की, मनोज साह,राष्ट्र सेवक प्रराज चौलागाईं ,रामप्रसाद त्रिपाटी ले अभियानलाई साथ दिएका थिए। एओअ वर्षको अबधिमा यो अभियान दर्जनौं जिल्लामा सुरुवात गरिसकिएको छ भने अमेरिका ,बेलायत अस्टे्रलिया ,क्यानडा बस्ने नेपालीले समेत जन्म दिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृ क्ष रोपण अभियान लाई एक्यवद्धता जनाउदै बृ क्ष रोपेका छ्न।

अर्यालले पाए भ्रष्टाचारको मुद्दामा सफाइ 

काठमाडौ । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा डा अर्यालले सफाइ पाउने फैसला गरेको हो ।

फैसलामा भनिएको छ, ‘प्रतिवादी डा अर्यालले सूचना तथा सञ्चार मन्त्रालयको सचिवको हैसियतमा गरेको निर्णय पूर्वअभ्यास र विनियमावली नबनेको भन्ने आधारमा गरेको देखिएको र सो निर्णय गर्दा मिलेमतो र बदनियत राखी आफूलाई लाभ वा सरकारलाई हानिनोक्सानी निजकै कारणबाट भएको भन्ने प्रमाणबाट पुष्टि हुन आएन ।’

अदालतले राष्ट्रिय सुरक्षण मुद्रण केन्द्रका लागि राष्ट्रिय बजेटबाट नै ‘एलएमबीएस’ माध्यमबाट बजेट विनियोजन भएको देखिएको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका निर्देशक प्रतिवादी विकल पौडेलले सो बजेट र खरिद योजना स्वीकृतिका लागि प्रतिवादी रहेका निज सचिवसमक्ष पेस गरेको, निजले मन्त्रालयको सचिवको हैसियतमा बजेट र खरिद गुरुयोजना स्वीकृत गर्दा सो बजेट हुबहु स्वीकृत गरेको देखिँदा बजेटको भावनामा तात्विक फरक पर्ने अवस्था देखिन नआएको ठहर अदालतको छ ।

‘राष्ट्रिय आवश्यकता र महत्वको आयोजना कार्यान्वयन गर्ने सदनियतले काम गरेको देखिँदा निज प्रतिवादीबाट नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको र आफूलाई निजी लाभ लिने बदनियत लिएको भन्ने आरोपदाबी पुष्टि हुन नसकी निज प्रतिवादीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ’, फैसलामा भनिएको छ । मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सफाइ पाउनेमा सुरक्षण मुद्रण केन्द्रका परामर्शदाता शक्ति श्रेष्ठ, उक्त केन्द्रका लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हलिबल्लभ घिमिरे, प्रिन्ससेल प्रालि र उक्त प्रालिका निर्देशक केशव शर्मा रहनुभएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य र सोही विभागका उपमहानिर्देशक टङ्कप्रसाद पाण्डेय, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेलको हकमा समग्र मिसिल अध्ययनबाट आन्तरिक राजश्व विभागले अर्थ मन्त्रालयसँग अन्तःशुल्क स्टिकर छपाइको सैद्धान्तिक सहमतिको लागि मात्र अनुरोध गरिएकोमा अर्थ मन्त्रालयबाट नै छपाइको लागत र खर्चको विषय उठान गरी पत्राचार गरेको देखिएको तर उक्त कार्यका लागि प्रक्रियामा संलग्न रहेका अर्थ मन्त्रालयका अधिकारीहरुउपर कुनै अनुसन्धान भएको नपाइको फैसलामा उल्लेख छ ।
अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई अदालतले सजाय निर्धारण गर्नेछ । उक्त प्रकरणमा ११ व्यक्ति र एक कम्पनीसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । यही कात्तिक ५ गतेदेखि निरन्तर सुनुवाइ गर्दै आज अदालतले फैसला सुनाएको हो ।

माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले आज काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । 

सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा आज खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।

गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

रूपन्देही । दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत शनिवार विहान करिव साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीका अनुसार दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका सल्यान कपुरकोट गाउँपालिका वडा नं ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरू १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

यस्तो आज कार्तिक १० गते शनिबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै रहनु राम्रो ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ, तर पारिवारिक जमघट र सद्भाव बढ्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभ कार्यमा सरिक भइने छ । महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण काममा दुबिधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा नरमाइलोपन आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आस्था र पराक्रममा वृद्धि हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक र राजनैतिक क्षेत्रमा विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला पनि आउला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि दिउँसोदेखि‍ पश्चिमी वायूको आंशिक प्रभाव पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

हाल कोशी प्रदेशमा आंशिक देखि  साधारणतया बदली र बाँकी प्रदेशमा  आंशिक  बदली रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भईहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आगामी २४ घण्टा कोशी प्रदेश लगायत  देशको पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

यस्ता छन् प्रधानमन्त्रीको १०० दिने उपलब्धि (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् । 

उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै भने, ‘सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन् । बितेका एक सय दिनमा हामीले विपत्तिका बिच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन् ।’

हेर्नुहोस् प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्णपाठ :

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

मलेशियामा नेपालीहरूका लागि रोजगारी पुन: कहिले खुल्छ?

काठमाडौं । नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्त्वय रहेको मलेशियाबाट पछिल्ला केही महिनाहरूमा वैदेशिक रोजगारीको माग ठप्प छ।

आन्तरिक व्यवस्थापन गर्न भन्दै गत २०८१ जेठ १८ गतेदेखि मलेसियाले नेपालसहित सबै मुलुकबाट कामदार लैजान रोकेको थियो। यसले गर्दा हाल मलेसिया जाने श्रमिकको संख्या निकै घटेको छ। अब मलेसियाले कामदार भित्र्याउन कहिले खुला गर्छ भनेर नेपाल लगायतका मुलुकको चासो बढेको छ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा दुई लाख ५९ हजार पाँच सय ९४ जना नेपाली श्रम स्वीकृति लिएर मलेसिया गएका थिए। जसमा महिला सात हजार दुई सय ९९ सय जना छन्।

वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली मलेसिया गएका थिए। साथै मलेसियामा काम नपाएर बिचल्ली पर्नेहरूको संख्या पनि बढ्दै गएको थियो। उच्च लागत शुल्क तिरेर मलेसिया पुगेका आप्रवासी श्रमिकहरूले उचित तलबसहितको रोजगारी नपाउने अवस्था भएपछि मलेसियाले कामदार ल्याउन रोकेको हो।

मलेसियाले विदेशी कामदार रोकेर अवैधानिक तवरले बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम पनि ल्याएको थियो। अवैधानिक रूपमा मलेसियामा बस्दै आएका विदेशी नागरिकलाई २०८० फागुन १८ देखि २०८१ पुस १६ सम्म घर फिर्ती कार्यक्रम ल्याएको हो।  

अहिले वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मुलुक मलेसिया जान नेपाली श्रमिक पर्खिएर बसेका छन् । नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य बनेको मलेसियाको सरकारले मे महिनाको अन्त्यदेखि वैदेशिक रोजगारीका लागि श्रमिकको माग रोकेको छ।

मलेसियाको माग र आपूर्ति हेरेर त्यहाँको सरकारले वैदेशिक रोजगारीका लागि श्रमिक माग गर्ने व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए। अब केही समयमै मलेसियामा नेपालबाट कामदारहरू जान पाउने छन् भन्ने आशा गरिए पनि एकै पटक ठूलो संख्यामा नेपाली कामदार लैजान्छ भन्ने निश्चित भएको छैन।

मलेसियामा विभिन्न पाँच क्षेत्रमा नेपाली कामदारहरूले काम गर्ने गर्छन्। सबैभन्दा धेरै कामदार उत्पादन क्षेत्र, सेवामूलक क्षेत्र, कृषि क्षेत्र, निर्माण क्षेत्र र बागवानी अर्थात् प्लान्टेसन क्षेत्रमा कार्यरत छन्। ‘मलेसियामा प्लान्टेसन क्षेत्रमा सीमित मात्रामा खुला गरिएको छ,’ भण्डारीले भने, ‘त्यहाँ उत्पादनमूलक क्षेत्रमा धेरै नेपाली कामदारले रोजगारीको अवसर पाउने गरेका छन्।’

 संभवतः यही कारणले नेपाली कामदार ठूलो संख्यामा मलेसिया जान्छन् तर अहिले त्यहाँ पनि अर्थतन्त्र र रोजगारी दुवै क्षेत्रमा समस्याहरू छन्। तत्कालै ठूलो संख्यामा नेपालबाट कामदार जाने अवस्था भने देखिँदैन, भण्डारीले भने।

कतिपय वैदेशिक रोजगार व्यवसायीहरूले मलेसियामा मात्रै कामदार पठाउने गरेका थिए। त्यो बन्द हुँदा म्यानपावरहरूलाई नवीकरण गर्नसमेत कठिन हुने अवस्था छ। किनभने न्यूनतम सय जना कामदार एक वर्षमा नपठाउने म्यानपावरलाई नवीकरण नगर्ने नीति सरकारको छ।

मलेसियामा हाल काम गर्नेमध्ये धेरै कामदारहरू अदक्ष वा कम दक्ष रहेको पाइन्छ। पछिल्लो समयमा मलेसियाको जोड दक्ष कामदारहरू भित्र्याउनेमा रहेको संकेत पाइएको पनि उनले बताए। मलेसियाको कुल श्रम जनशक्तिमध्ये झन्डै १५ प्रतिशत विदेशी कामदार छन्।

मलेसिया सरकारको सन् २०२२ को तथ्यांक अनुसार त्यहाँ काम गर्ने नेपाली श्रमिकको संख्या तीन लाख ३५ हजारभन्दा बढी रहेको थियो। त्यसमा महिला कामदारहरूको संख्या झन्डै तीन प्रतिशत रहेको पाइन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार मलेसियाले विदेशी कामदार लैजाने प्रक्रिया जुुन–जुलाईतिर खुलाउँछ भन्ने छ तर यकिन भने गर्न सकिने अवस्था छैन। यद्यपि जुन–जुलाइतिर खोल्ने भनेको छ तर कसैलाई पत्राचार भने गरेको छैन्।

नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियासँग पाँच वर्षअगाडि (२०७५ मा) भएको शून्य लागत श्रम सम्झौताको अवधि यही कात्तिक १२ गतेदेखि सकिँदै छ। मलेसियासँग श्रम सम्झौताको नवीकरणका चाँडै हुने सूचना अधिकारी उप्रेतीले जानकारी दिए।

उनका अनुसार नयाँ श्रम सम्झौता अब तत्काल ओमान र स्पेनसँग पनि हुन लागेको छ। अब केही समयमै श्रम सम्झौताको नवीकरण मलेसिया, कतार र दक्षिण कोरियासँग हुन लागेको उप्रेतीले खुलाएका छन्।

मलेसियाले विदेशी कामदार रोकेर अवैधानिक रूपमा बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएसँगै माइग्रेसन प्रिपरेसन प्रोग्रामअन्तर्गत बढीमा पाँच सय मलेसियन रिंगेट जरिवाना तिरेर घर फर्किने कार्यक्रम लागु गरेको थियो।

उक्त कार्यक्रमअन्तर्गत मलेसियामा विनाभिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेका (ओभर स्टे) को हकमा पाँच सय मलेसियन रिगेंट जरिवाना र भिसाको नियम उल्लघंन गरी मलेसियामा बसेकाहरूको हकमा तीन सय मलेसियन रिंगेट जरिवाना तिराइ स्वदेश फर्काउने व्यवस्था गरेको थियो।

मलेसियामा श्रमिकको न्यूनतम तलब १५ सय रिंगेट थियो। आर्थिक मन्दीका कारण रोजगारदाताहरूले ओभरटाइम दिन नसक्दा न्यूनतम तलब मात्रै दिन बाध्य भएका थिए।

अहिले मलेसियामा काम गर्ने श्रमिकको पारिश्रमिक प्रतिमहिना १५ सय (४७ हजार रूपैयाँ) बाट बढाएर १७ सय रिंगेट (करिब ५३ हजार रूपैयाँ)पुर्‍याइएको छ। यो पारिश्रमिक आगामी फेब्रुअरीदेखि लागु हुनेछ।

अब वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले पाउने न्यूनतम तलबमा सबैभन्दा बढी मलेसियामा काम गर्ने श्रमिकले पाउने छन्। खाडी मुलुकहरूमध्ये कतारले एक हजार रियाल (३४ हजार रूपैयाँ) मात्रै निर्धारण गरेको छ। साउदी अरब, युएई, कुवेत लगायतका देशले न्यूनतम तलब तोकेका छैनन्। जसले गर्दा ती देशमा जाने श्रमिकको करारपत्र फेरबदल हुँदै आइरहेको छ।

मलेसियामा शून्य लागत र फ्रि भिसा फ्रि टिकटमार्फत श्रमिक पठाउँदै आएका आकर्षण इन्टरनेसनलका अध्यक्ष विष्णु केसीले मलेसियामा कामदार लैजाने प्रक्रिया यो वर्षको अन्त्यसम्ममा खुल्ने बताए। आफूहरूले कामदार आपूर्ति गर्दै आएका कम्पनीहरूसँग अहिले अडिटदेखिका विभिन्न काम भइरहेको उनको भनाइ छ।

‘अहिले कामदार पठाउन नपाए पनि अन्य प्रशासनिक काम भइरहेका छन्। अब खुलेपछि मात्रै कामदार पठाउने प्रक्रिया सुरु गर्छौं,’ केसीले भने, ‘ठ्याक्कै भन्न सकिने अवस्था छैन तर अब चाँडै खुल्छ भन्ने अपेक्षा छ।’

मलेसियामा तीन लाखभन्दा बढीको संख्यामा नेपाली श्रमिकहरू रहेका छन्। विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा एक लाख तीन हजार चार सय ४२ जना नेपाली श्रम स्वीकृति लिएर मलेसिया गएका छन्। त्यसमा पुरूष एक लाख एक हजार जना र महिला दुई हजार चार सय २४ जना छन्।