दुर्गा प्रसाईं १ लाख धरौटीमा रिहा

 काठमाडौं । साइबर अपराधको आरोपका पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ  ।

काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् । मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुई वटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए ।

प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुई वटा मुद्दा दायर गरेको थियो ।

जनकपुर उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्धा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेका छन् । 

अख्तियारले सहनी र तेलीले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको थियो ।

अख्तियारले सहनी र तेलीसहित विजय मण्डलले घुस रकम लिएको प्रमाणित भएकोले मुख्य आरोपी बनाउदै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिएको छ । 

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं ।   देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । 

भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तपाईंको असोज १५ गते मंगलबारको राशिफल

मेष : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। पढाइमा रुचि बढ्नेछ। परीक्षाको दिन भए राम्रो नतिजा प्राप्त हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। 

वृष : स्वास्थ्यमा नसोचेको समस्या हुनसक्छ। खानपानमा सचेत बन्नुपर्नेछ। शिक्षाको लगानीमा उत्साहजनक नतिजा प्राप्त हुनेछ। परिवारले संकटमा साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंले विश्वास र संरक्षण गरेका मान्छे विपक्षी कित्तामा पुग्नेछन्। बोल्दा शब्दको चयन गर्नु राम्रो हुनेछ। सानो भनेर रोगलाई लापरवाही गरेमा गम्भीर जोखिम बढ्नसक्छ। परिवारमा तपाईंको कुरा नबिक्ने जोखिम रहेकाले सचेत बन्नु राम्रो होला। 

कर्कट : लगानी गरेको भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। सम्पत्ति र पदले घमण्ड बढ्नेछ। लगानीका स्रोतमध्ये उत्कृष्ट नतिजा प्राप्त हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। 

सिंह : सुन्दर बन्न मन लाग्नेछ। तपाईंको रुपको प्रशंसा हुनेछ। अध्ययनमा प्रगति हुनेछ। परिवारमा हुने सम्बन्धमा शान्त वातावरण बन्नेछ। खानपानमा ख्याल नगर्दा नयाँ रोगको प्रकोप बढ्नेछ। व्यवहार गर्दा सचेत बन्नु राम्रो होला। 

कन्या : सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनसक्ने जोखिम देखिन्छ। लगानीका क्षेत्रमध्ये भूमि सम्बन्धी कारोबारमा आम्दानी हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

तुला : लगानीका क्षेत्रमा सफलता मिल्नेछ। निजी क्षेत्रको लगानीबाट अगाडि बढ्ने योग छ। सामाजिक संस्था र पश्चिमा धर्मको आँडमा नाम र दाम बढ्नेछ। परिवारमा रचनात्मक काम बन्नेछ।
 
वृश्चिक : आम्दानीका बाटा प्रशस्त भए पनि मन अशान्त बन्ने जोखिम छ। धार्मिक चर्चा परिर्चामा सहभागी हुन पाइने छ। वैदेशिक क्षेत्रको लगानीमा मन जानेछ। परिवारमा सुख मिल्ने योग छ।
 
धनु : धन लाभ हुने दिन छ। राजनीतिक संगठनबाट साथ र सहयोग रहनेछ। परिवारले ठुलो साथ दिनेछ। खानपानमा ख्याल नगर्ने बानीले पेट सम्बन्धी समस्या बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। 

मकर : आफ्नो इच्छा विपरितको काम गर्नुपर्ने बाध्यता हुनसक्छ। मन अशान्त बन्नेछ। शनि शान्ति गरेमा मन सामान्य बन्नसक्छ। शनिको पूजा मात्र गरेमा परिवारमा मेलमिलाप हुनेछ। 

कुम्भ : सप्तम भावमा चन्द्रमा रहेका छन्। परिवारमा प्रेम बढ्नेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। पुराना साथीसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मीन : अनावश्यक खर्च बढ्ने जोखिम छ। सानोसानो काममा खर्च कटौती गर्नुपर्ने देखिन्छ। आफन्तले हरेक काममा साथ दिनेछन्।  बिहानै गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु

धनगढी । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका १ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा जानकी गाउँपालिका ८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको जानकारी दिनुभयो ।

उनकाअनुसार चौधरी से६प ६२७९ नम्बरको मोटरसाइकल र मल्ल बा९५प ९२५२ नम्बरको मोटरसाईकलका चालक हुन् ।दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यस्तै, बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार कञ्चनरको शुक्लाफाँटा नगरपालिका- ७ का २२ वर्षीया दिपक बोहोरा घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

बाढी–पहिरो र डुबान : २१७ को मृत्यु, २८ जना बेपत्ता

काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् ।

 प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए। बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए। 

घट्यो इन्धनको मूल्य, अब कति पुग्यो ? (सूचीसहित)

काठमाडौं ।  नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।

आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ। 

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

काभ्रे र धादिङको सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ । मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरूलाई फेरेको हो ।

प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै सेडाईको स्थानमा मन्त्रालयका उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ।

यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा झिकाएर पाण्डेको स्थानमा मन्त्रालयका सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ।

आजको मौसम : आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

क्यानडामा नेपालको पहिलो जित, ओमानविरुद्ध ३७ रनले विजयी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ र ट्वान्टी–२० क्रिकेट शृंखलाका निम्ति क्यानडा पुगेको नेपाली टिमले पहिलो जित निकालेको छ ।

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।
क्यानडाको किङ सिटीमा आइतबार सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो।

जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो। ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए। त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे।

ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेल र गुलसन झाले दुई/दुई विकेट हात पारे। रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो। नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए।

उनले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन्। त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिए। उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाए। आसिफ शेख र अनिल शाहले समान २७/२७ रन बनाए। आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए।

अनिल साहले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे। त्यस्तै कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए। बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिए।

त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो । नेपालले अब तेस्रो खेल मङ्गलबार क्यानडासँग खेल्नेछ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ एक पैसा र बिक्रीदर २० रुपैयाँ १० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ पाँच पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ

बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएका छन् । गत बिहीवार र शुक्रबारको अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ। विपद्मा परेर कम्तीमा ३० जना बेपत्ता छन्। बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ। 

गृहमन्त्रालयको आज बिहानसम्मको  विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाएका छन्। अझै १० जना बेपत्ता रहेका छन्।  धादिङमा ३९ जनाले ज्यान गुमाएका छन्। ललितपुरमा ३३, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०,  मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको छ।

भक्तपुर, पाँचथर र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ।

पहिरोमा परी  प्रमुख सेनानी (कर्णेल) मिलन केसीको पनि ज्यान गएको छ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। घाइते भएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

बाढीपहिरो र डुबान/कटानका कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन्। ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन्। बाढीपहिरोमा २ सय ७२ वटा पशु/चौपाया मरेका छन्।

काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोले ३ सय २२ घरमा क्षति पुगेको छ। २९ वटा प्रहरी कार्यालय, ६ वटा अन्य सरकारी कार्यालय र विभिन्न राजमार्ग ७५ स्थानमा भत्किएको गृहको तथ्यांक छ।

जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु

कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

गएराति १ बजेतिर मानववस्तीमा पसेको जङ्गली हात्तीको आक्रमणमा परेर लालझाडी गाउँपालिका वडा नम्बर ४ डाँडाजाई बस्ने अन्दाजी ५० वर्षीय रामदल रानाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

जङ्गली हात्तीको समूह गाउँ पसेपछि भगाउनका लागि घरबाहिर आएर स्थानीय बासिन्दाहरूले होहल्ला गरेका थिए। त्यस क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको बताइएको छ। 

अहिले हात्तीको समूह नजिकैको जङ्गलमा पसेको छ। यस घटना सम्बन्धमा प्रहरी टोली सहित निकुञ्जको टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए। 

आजको मौसम: देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ। 

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ। ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ।

ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिए।

उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए। महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्विडीस क्रोनर एकको खरिददर १३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ र बिक्रीदर २० रुपैयाँ ०९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।