प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । 

प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी गए राति सर्वदलीय बैठक आह्वान गरेका थिए ।

सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सर्वदलीय बैठक बोलाएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । तर, सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको मल्लको भनाइ छ ।

असोज १३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष : आज तपाईंलाई न्याय मिल्ने योग छ। सप्तम भावको स्वामी तपाईंको राशिमा भएकाले धन प्राप्त हुनेछ। ठुला योजनामा भने हात नलगाउनु राम्रो हुनेछ। अप्रिय समाचारले दुःखी बनाउनेछ। 

वृष : मुल त्रिकोणमा मित्रग्रह रहेकाले शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अध्ययन र अध्यापनमा जाँगर बढ्नेछ। तपाईंको बोलीको प्रभाव रहनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

मिथुन : धन आर्जन गर्ने दिन छ। माया मार्न लागेको धन हात लाग्नेछ। धनको पछाडि लाग्दा संस्कार गुम्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ। 

कर्कट : चन्द्रमा उच्च भएकाले साथीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। मायाका पछाडि लाग्दा इज्जत गुम्ने खतरा छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

सिंह : आफ्नै बोलीका कारण व्यवहारमा अप्ठेरो पर्नेछ। व्यापारमा घाटा हुने दिन छ। आफन्तसँग व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा आम्दानीको राम्रो अवसर प्राप्त हुनेछ। सरकारी भन्दा निजी क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। 

कन्या : भूमि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। राजनीतिक संगठनको बलमा ठुलाठुला काम बन्नेछन्। धार्मिक व्यक्तिसँगको भेटले परिवारमा खुशी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : गुम्न लागेको धन हात लाग्नेछ। कला र गलाको क्षेत्रमा प्रगति हुनेछ। आफूभन्दा ठुलाको सुझावमा अगाडि बढेमा सफलता मिल्नेछ। तपाईंको प्रतिभाको सम्मान हुने योग छ। परिवारको तर्फबाट माया मिल्नेछ। 

वृश्चिक : मन शान्त बन्नेछ। घर व्यवहार उत्साहजनक रहने योग छ। आफन्तको सहयोग प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा मौसमी रोगको जोखिम रहेकाले खानु अगाडि सचेत बन्नु राम्रो हुनेछ। 

धनु : स्वदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य र निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो काम बन्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। 

मकर : अनुत्पादक क्षेत्रमा लगानी हुनेछ। सानो कुराले सताउने जोखिम छ। शिक्षा र अध्यापनको क्षेत्रमा जाँगर बढ्नेछ। कृषि क्षेत्रमा गरेको लागनीबाट फाइदा हुनेछ। 

कुम्भ : मध्यसाढेसाती दशाको सामना गर्नुपर्ने भएकाले हरेक ठाउँमा बाधा हुनेछ। तपाईंले विश्वास गरेको साथीले धोका दिनेछन्। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा सहज बन्नेछ। परिवारसँग मेलमिलाप हुनेछ।
 
मीन : तपाईंको आजको दैनिकी सहज छ। साथीले सहयोग गर्नेछन्। अधिकारका लागि लडाइँ लड्नुपर्ने भएकाले संयम बन्नुपर्नेछ। परिवारमा अभिभावकको साथ र सहयोग आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन

गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको  यात्रुवाहक बस सम्पर्कविहीन भएको छ। गोरखाबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार ११ असोज बिहान उक्त बस गोरखाको धार्चे गाउँपालिकाको लापुवेसीबाट काठमाडौंका लागि छुटेको थियो ।

गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैन । उक्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन।

बाढी-पहिरोबाट अहिलेसम्म सय जनाको मृत्यु ६७ जना बेपत्ता

काठमाडौँ । दुई दिनसम्म लगातार परेको वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाले ज्यान गुमाएका छन् । यस्तै, ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए । 

पहिरोले घर भत्किँदा १ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौंको नागार्जुनमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । पुरिएर बेपत्ता भएका प्रहरीले जनाएको छ। 

नागार्जुन नगरपालिका- ३ इचङ्गु नारायण मन्दिर नजिक घर भत्किँदा  ५५ वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतकको सनाखत भएको छैन। भत्किएको घरमा अन्य तीन जना पुरिएका छन्। घटनास्थलमा अहिले सशस्त्र प्रहरीको मुख्यलयबाट एम्बुलेन्स सहितको टोलि परिचालन भएको छ। 

नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध

 काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ ।

थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

तर सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ आउँदै गरेको प्र.३.०१.०२४च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भैरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भैरहेको छ ।

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा दुई जना सिफारिस भएका छन्।

शुक्रबार बसेको न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो। अब संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि उनीहरू सर्वोच्चको न्यायाधीशमा नियुक्त हुन्छन्।

सर्वोच्चमा अहिले चार न्यायाधीश पद रिक्त छ। केहीदिनमै प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अवकास लिएपछि ५ न्यायाधीश पद खाली हुन्छन्। तर परिषदले भने २ जनालाई मात्रै सिफारिस गरेको छ। 

नेपालबारको दबाबका कारण अरू पदमा नियुक्ति सिफारिस गर्न नसकिएको परिषदका एक सदस्यले बताए। 

अहिले नेपाल बार एशोसिएसनले मुख्य रजिष्ट्रारलाई उच्च अदालतमा नियुक्त गरेर ल्याउँदा दिइने बरियता सम्बन्धी नियमलाई लिएर विरोधमा गरिरहेको छ। मुख्य रजिष्ट्रारलाई मुख्य न्यायाधीशपछिको रोलक्रममा पार्ने गरि यसअघि परिषदले नियमावली बनाएको थियो। उक्त नियमावली संसोधन गरेर मुख्य रजिष्ट्रारलाई अरू न्यायाधीशपछिको रोलक्रम नै तोक्नुपर्ने बारको माग छ।

उक्त माग सम्बोधन गर्न बारले दबाबमूलक कार्यक्रम गरिरहेको छ। आफ्नो माग सम्बोधन नगरि न्यायाधीश नियुक्ति नगर्न समेन बारले चेतावनी दिँदै आएको छ। 
बारले अघि सारेको नियमावली संसोधनको विषयलाई सम्मान गर्न आजबसेको परिषदले बरिष्ठतम न्यायाधीश प्रकाश सिंह राउतलाई जिम्मेवारी दिएको पनि ती सदस्यले जानकारी दिए। 

सुनको मूल्यमा निरन्तर वृद्धि, कति पुग्यो तोलामा?

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि विहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोशी र मधेस  प्रदेशको थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा घनघोर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान  महाशाखाले  सो समयावधिमा १५० मिलिमिटर वर्षा भएको जनाएको हो ।

हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा, ,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।  

आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

आज राती देखि देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । 

बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 

निजीक्षेत्र र गैरआवासीय नेपालीका सम्बन्धमा अनुसन्धान गर्न पाउने विषयमा अख्तियारकाे जोड

काठमाडौं । नेपाल विश्वव्यापी भ्रष्टाचार सूचकांकमा उच्च अंकसहित शीर्ष स्थानमा रहँदै आएको प्रतिवेदन ट्रान्स्परेन्सी इन्टरनेशनलले सार्वजनिक गर्ने गरेको छ । यसो हुनुको एउटा कारण अख्तियारले राम्ररी काम गर्न नसक्नु हो । अख्तियारकै प्रतिवेदन हेर्ने हो भने उसले दायर गरेको मुद्दा निकै कमजोर देखिएको छ । यस्तो कमजोरीलाई सुधार्ने गरी ऐनमा संशोधन गर्नुपर्नेमा निजीक्षेत्र र गैरआवासीय नेपालीका सम्बन्धमा अनुसन्धान गर्न पाउने विषयलाई अख्तियारले जोड दिइरहेको छ । नेपाल भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिमा हस्ताक्षरकर्ता देश हो र यसको अर्थ निजीक्षेत्रमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नु देशको दायित्व हुन्छ । यसका लागि अख्तियार नै यसमा प्रवेश गर्नुपर्ने हो कि हालका नियामक निकायलाई बलियो बनाई भ्रष्टाचारजन्य काम नियन्त्रण गर्ने हो त्यसमा विचार गर्नुपर्ने हुन्छ । निजीक्षेत्रमा हुने अनियमितताको नियन्त्रणका लागि नियामक निकाय नै बलियो हुनुपर्छ । सहकारीको नियामक निकाय बलियो नहुँदा अहिले आएको समस्या सबैको अगाडि छर्लङ छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति हुन बाँकी रहेका विषयमा सहमति जुटाउन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट गठिन उपसमितिले निजी क्षेत्र र अनुचित कार्यको अनुसन्धान गर्न नसक्ने सहमति गरेको छ।

समितिका सदस्य हृदयराम थानीको संयोजकत्वको १० सदस्यीय उपसमितिले निजी क्षेत्रलाई र अनुचित कार्यलाई विधेयकमा नराख्ने विषयमा सहमति गरेको स्रोतले बतायो। उपसमितिले नीतिगत भ्रष्टाचार, निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारसम्बन्धी विवाद, अनुचित कार्य, बेनामी उजुरी र अख्तियारले मुद्दा दायर गर्ने समयसीमा लगायतमा सहमति खोज्न निरन्तर छलफल गरेको छ।

निजी र पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारभित्र राख्ने कि नराख्ने भन्ने विषयमा समितिमा छलफल भए पनि बैंक, मेडिकल कलेज र निजी अस्पतालका प्रतिनिधिको आग्रहपछि निजी क्षेत्रलाई अनुसन्धान गर्ने कुराबाट उपसमिति पछि हटेको छ।

विधेयकले यी संस्थालाई अख्तियारको दायराभित्र राख्ने प्रस्ताव गरेको थियो। उपसमिति नीतिगत भ्रष्टाचारलाई रोक्नुपर्नेमा एक मत रहेको छ। तर रोक्ने नाममा कार्यकारीको काम गर्ने मन्त्रिपरिषद्लाई केही निर्णय नै गर्न नदिने कुरा भने गर्न नहुने भएकाले कस्ता विषयमा नीतिगत निर्णय गर्ने कस्तामा गर्न नहुने विषयमा अझै कानुनविद्सँग छलफलको आवश्यकता रहेको समिति सदस्यको भनाइ छ।

ललितानिवास जग्गा प्रकरण, गिरीबन्धु टि–स्टेट, टीकापुर र तारागाउँ विकास समितिको जग्गा प्रकरणलगात अनियमितता मन्त्रिपरिषद्कै निर्णयबाट भएकाले ऐनमा यसलाई स्पष्ट पार्न जरुरी भएको उपसमिति सदस्य हृदयराम थानीले बताए।

यसैगरी, अख्तियारले मुद्दा दायर गर्ने समयसीमाबारे भने टुंगो लगाउन बाँकी छ। प्रमाण पुगेका मुद्दा दुई वर्षभित्र टुंगोमा पु¥याउने भन्ने विषयमा सबैको सहमति छ। तर, अख्तियारले अनुसन्धान गरेको छ वा छैन, प्रमाण जुटाएको छ वा छैन भन्ने विषयलाई कसरी बाहिरबाट थाहा पाउने भन्ने विषयमा भने उपसमितिले अझै छलफल गर्नुपर्ने भएको छ।

उपसमितिमा बेनामी उजुरी लिए पनि नाम लेखेको उजुरी लिए पनि त्यसबारे अनुसन्धान गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। विज्ञको सुझावलाई ध्यानमा राखेर उपसमितिले कस्ताकस्ता उजुरी लिने भन्ने विषयमा निर्णय गर्ने उपसमिति सदस्यको भनाइ छ।

समिति सदस्य रघुजी पन्तले भने साझा धारणा बनाउन बाँकी रहेकाले कुनै पनि विषयमा सहमति भएको भनेर अहिल्यै भन्नसक्ने अवस्था नभएको बताए। ‘हामी छलफलमै छौं, कतिपय विषयमा भाषा मिलाउन बाँकी छ,’ उनले भने।

अनुचित कार्यबारे अनुसन्धान गर्नका लागि संविधानले अख्तियारलाई दिएको छैन तर निजी क्षेत्र सबैलाई अनुसन्धान गर्न नपाउने भन्ने विषय पनि सत्य होइन, हामी यसमा भाषा मिलाएर राख्नेछौ,’ उनले भने।

रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने जेल जाने निश्चित रहेको दाबी गरेका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै मुकुलले यस्तो दाबी गरेका हुन्।

मुकुलले लेखेका छन्, “सहकारीको विषय लगभग टुङ्गिन लागेको छ । रवि लामिछाने जेल जान निश्चित छ ।”

उनले थप स्पष्ट पार्दै भने, “अब राहदानी दुरुपयोगको प्रमाणको बारेमा कुरा गरौं ।” उनले उल्लेख गरे कि रवि लामिछानेले २०७० सालको ९ फागुनमा अमेरिकी नागरिकता र सोही वर्षको २१ फागुनमा अमेरिकी राहदानी लिएका थिए । २०७१ सालको २२ जेठमा उनले नातेदार भिसामा नेपाल फर्केका थिए र २०७२ सालको १३ जेठमा पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिएका थिए ।

उनीसँग २०७२ सालको १३ जेठदेखि २०७५ सालको ४ जेठसम्म नेपाल र अमेरिका दुवै देशको राहदानी भएको देखिन्छ । यदि दोहोरो राहदानीको मुद्दा टुंग्याइएको खण्डमा, लामिछानेले भविष्यमा नेपालका कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।

असोज ११ गते शुक्रबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोका साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागि खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगरमा सुधार आउने छ । साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अन्न तथा धनको पनि लाभ होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा जोश जागँर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन्, धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामकै पछि लागेपनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ । आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
पैतृक सम्पतीबाट लाभ हुनुका साथै धार्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान चौपाय आदी प्राप्त होला । साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ, रुपैँया पैसाको कारोबार हुने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शारिरीक तथा मानसिक आलश्यता बढ्नेछ । झै भगडा हुने दिन छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य वादविवाद पनि होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन ।

मुलुकका अधिकांश भागमा पानी पर्ने, केही प्रदेशमा भारी वर्षा

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ।

कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ।

त्यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। देशका तराई भागका केही स्थानमा हुरीको सम्भावना छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्क रहन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध

बागमती । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । 

मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा  सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।