‘सिंहदरबारमा ‘हाफपाइन्ट लगाएर भित्र जान नपाउनुको कारण के हो ?

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।

आईतवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सांसदहरुले जुनसुकै प्रकारको पोशाक लगाएर पनि आउनसक्ने तर सर्वसाधारणको पोशाक हेरेर रोकिने गरेको भन्दै त्यसो गर्नु नहुने सुझाव दिइन् ।

‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कतिजना छौँ रु हामी साडीमा आउँछौँ कि ? कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि रु आफ्नो मातृ ड्रेस लगाएर आउँछौ कि रु आज यो संसदमा कोही फ्रक लगाएर आउनुभएको छ । कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही जम्पर लगाएर आउनुभएको छ । हामीलाई चाहीँ सबै छुट ?’ उनले भनिन्, ‘अनि जनतालाई चाहीँ त्यसमा बन्देज रु नियम बनाउने हामी माननीयले चाहीँ जस्तो लगाएर यहाँ आएपनि भयो । नौरंगी फेसन लगाएर आएपनि हुन्छ हामीले चाहीँ केही गर्नु नपर्ने ? विचरा जनताहरु हाफपाइन्ट लगाएर प्रवेश नपाउने सिंहदरबारको ढोकामा । चप्पल लगाएर हेर्न नपाउने संसद भवनमा । अत्यन्तै अप्ठेरो विषय हो ।’

सभामुखमार्फत सरकारलाई प्रश्न गर्दै उनले थपिन्, ‘हाफपाइन्ट लगाएर भित्र जान नपाउनुको कारण के हो ? हामी चाहिँ सबै ड्रेस लगाएर यहाँ आइरहेका छौँ त रु नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउँछन् रु बाहिरतिर पनि हेरौँ । संसद पस्दा हामीले कस्तो ड्रेस लगाएर पस्नुपर्छ भन्ने सभामुखबाट रुलिङ होस् । सर्वसाधारण जनतालाई के कारणले रोक्यो त्यसमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सर्वसाधारण जनतालाई पोशाकका कारण सिंहदरबार र संसद भवन दुवै ठाउँमा रोकिएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

भ्रष्टाचार मुद्दामा सफाइः सांसद यादवको निलम्बन फुकुवा

लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ । प्रदेश सभाको चौथो अधिवेसनको ११औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भ्रष्ट्राचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलागेसम्मलाई निलम्बन गरेको थियो ।

सो मुद्दामा यादवले सफाइ पाएपछि प्रदेश सभाले निलम्बन फुकुवा गरेको हो । विशेष अदालतले जेठ ९ गते यादवलाई सफाइ दिएको थियो । मुद्दाको फैसला भएको र यादवले सफाइ पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछि निलम्बन फुकुवा गरिएको सभामुख घर्तीमगरले जानकारी दिए ।

यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

विचाराधीन भ्रष्टाचारका मुद्दामा धमाधम फर्स्योट

काठमाडौँ । सर्वोच्च अदालतले विचाराधीन भ्रष्टाचारका मुद्दामा धमाधम फर्स्योटको नीति अघि बढाएको छ । अभियान फाँट अन्तर्गतका मुद्दालाई प्राथमिकतामा राखेर विशेष अदालतबाट टुङ्गिएर विचाराधीन रहेका मुद्दाको फर्स्योटलाई सर्वोच्च अदालतले प्राथमिकतामा राखेको हो ।

अदालतले आइतबार र सोमबार निरन्तर तीन वटा मुद्दाको सुनुवाइ सकेको छ । जसमध्ये एउटामा फैसला र दुई वटामा निर्णय सुनाउने मिति तोकेको छ । सर्वोच्चले अन्तिम किनारा लगाउन लागेका मुद्दा दुई दशक पुराना छन् ।

सर्वोच्चले आइतबार पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दालाई निर्णय सुनाउने मिति तोकेको छ भने पूर्वसहसचिव सावित्री राजभण्डारीको मुद्दामा फैसला गरेको छ । सोमबार पूर्वसचिव चक्रबन्धु अर्यालको मुद्दालाई पनि निर्णय सुनाउने मिति अदालतले तोकेको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेका अनुसार अर्यालको मुद्दामा असार १० गते फैसलाको मिति तोकिएको छ ।

राजभण्डारी दोषी ठहर

सुरु अदालतमा मुद्दा दर्ता भएको दुई दशकपछि माथिल्लो अदालतले राजभण्डारीलाई दोषी ठहर गरेको हो । विशेष अदालतले गरेको फैसला आइतबार सर्वोच्चले पनि सदर गरेको हो । पुनरावेदन भएको ११ वर्षपछि सर्वोच्च अदालतले उक्त मुद्दाको अन्तिम किनारा लगाएको हो ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार राजभण्डारीलाई दोषी ठहर गरेको हो । विशेष अदालतका तल्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ मङ्सिर १२ गते गरेको फैसला नै सर्वोच्चले सदर गरेको हो ।

फैसला अनुसार राजभण्डारीलाई एक वर्षको कैद सजाय हुने छ । यस्तै दुई करोड ४६ लाख रुपियाँ जरिबाना हुने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६२ भदौ ५ गते मुद्दा दायर गरेको थियो । २०२२ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका राजभण्डारी तत्कालीन भौतिक योजना मन्त्रालयको सहसचिव रहँदा अवकाश पाएका थिए।

जोशीको मुद्दामा साउन १३ मा फैसला

यस्तै सर्वोच्चले पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा साउन १३ गते फैसला सुनाउने मिति तोकेको छ । २०६९ सालदेखि विचाराधीन मुद्दामा अदालतले बहस सकेर निर्णयको मिति तोकेको हो । सुरु अदालतमा दर्ता भएको २० वर्षपछि जोशीको मुद्दा अन्तिम टुङ्गो लाग्न लागेको हो । विशेषले २०६९ साउनमा जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय विनोश शर्मा र बालकृष्ण ढकालले जेठ १ गतेदेखि मुद्दा हेर्दाहेर्दैमा राखेका थिए । दुवै पक्षको बहस सकेपछि मुद्दाको निर्णय सुनाउने मिति तोकिएको हो । अदालतले असार २१ गतेसम्म बहस नोट पेस गर्न र साउन १३ मा निर्णय सुनाउने आदेश गरेको हो ।

विशेषले जोशीलाई डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार तीन सय ७६ रुपियाँ बिगो भराउने फैसला गरेको थियो । बिगो अनुसारकै जरिबानाको फैसला पनि विशेषले गरेको थियो । विशेषको फैसलामा चित्त नबुझाउँदै जोशीले २०६९ फागुन ६ गते सर्वोच्चमा पुनरावेदन दर्ता गर्नुभएको थियो ।

अर्यालको मुद्दा निसुमा

यस्तै सर्वोच्चले पूर्वसचिव चक्रबन्धु अर्यालको भ्रष्टाचार मुद्दामा असार १० गते फैसला सुनाउने (निसु) मिति तोकेको छ । विशेष अदालतले अर्याललाई एक वर्ष छ महिना कैद र ६६ लाख दुई हजार ५३० रुपियाँ जरिबानाको फैसला गरेको थियो । जरिबाना बराबरकै बिगो जफतको फैसला पनि विशेषले गरेको थियो । अख्तियारले अर्यालविरुद्ध २०६० मङ्सिर १० गते मुद्दा दायर गरेको थियो ।

२०२२ मा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका अर्यालले २०५६ वैशाख २२ गते अवकाश पाउनुभएको थियो । सुरुमा विशेष अदालतले २०६४ भदौ १४ गते हदम्यादको कारण देखाउँदै मुद्दा खारेज गरेको थियो तर सर्वोच्च अदालतको आदेश अनुसार मुद्दा पुनः विशेषमै फर्किएको थियो । सर्वोच्चले अर्यालको २०६८ पुस १२ गते विशेषमै फर्काएको थियो । २०६९ वैशाख १२ गते विशेषले अर्याललाई भ्रष्टाचारी ठहर गरेको थियो । गोरखापत्रबाट

संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ।

आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल आजपनि जारी रहने छ।

त्यस्तै, आजको बैठकमा कांग्रेसका पूर्व संविधान सभा सभासद सूर्यमान गुरुङ, पूर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै, राष्ट्रिय सभाको बैठक १ः१५ बजे बोलाइएको छ। यस बैठकमापनि बजेटमाथि छलफल हुने छ।

टी-२० विश्वकप: नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । अमेरिकाको डलासमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् ।

नेपाल १० वर्षपछि आज विश्वकपमा खेल्दैछ । नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् ।

नेपाल र नेदरल्यान्डस्ले टी २० क्रिकेटमा एक अर्कोसँग १२ खेल खेलिसकेको छ। जसमा, ६ खेल नेदरल्यान्डस्ले जितेको छ भने नेपालले ५ खेल जितेको छ। एक खेलको भने नतिजा आएको थिएन।

पछिल्ला तीन खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलिएको थियो । जसमा, फाइनसहित गरी दुई खेलमा नेदरल्यान्डस्ले जितेको थियो भने एक खेलमा नेपालले जितेको थियो ।

यस्तो छ तपाईंको २२ जेष्ठ २०८१, मंगलवार आजको राशिफल

मेष : समय रमाइलो छ। आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । राज्यबाट सहयोग मिल्नेछ ।

वृष : आफ्नै बोलीको फन्दामा पर्ने जोखिम देखिन्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। अधिकारका नाममा आफन्तसँग प्रतिवाद हुने जोखिम देखिन्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीले झगडा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : बौद्धिक क्षेत्रमा गरेको मेहनत सफल हुनेछ। शिक्षाको क्षेत्रबाट हौसला बढ्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। विश्वास गरेको मित्रबाट परिवारमा धोका हुने भएकाले सचेत हुनु राम्रो हुनेछ।

कर्कट : झुटो आरोप लाग्नसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारमा मेलमिलाप हुने दिन छ। प्रेम सम्बन्धक सुमधुर बन्ने योग छ।

सिंह : तपाईंसँग अपेक्षा गर्ने धेरै मानिस भएकाले सामाजिक बन्नुपर्ने बाध्यता देखिन्छ। विदेशमा गरेको लगानी भन्दा देशभित्र वैकल्पिक पेशा गरेर रमाउन सक्नुहुन्छ। स्वास्थ्यका क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। समाज र परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

कन्या : अधिकारको उपयोग गर्ने दिन हो। लगानीका क्षेत्र धेरै छन्। हिम्मत गर्नुभयो भने शिक्षा क्षेत्रमा सबैभन्दा बढी फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा भने शंका बढ्ने जोखिम छ।

तुला : परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। ठुलो योजना सफल हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

वृश्चिक : मन अशान्त हुनेछ। लगानीका क्षेत्रबाट भने उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। सिर्जनात्मक बन्नुहुनेछ। तपाईंको उत्साह देखेर साथीहरुले प्रशंसा गर्नेछन्। स्वास्थ्यमा सुधारका संकेत देखिन्छन्। परिवारसँग मेलमिलाप बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ।

मकर : बोलीमा सुधार गर्नुपर्ने समय छ। लगानीका क्षेत्र राम्रा छन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारको सामान्य विवादले उग्र रुप लिने जोखिम देखिन्छ। साथीसँग बोल्दा सचेत हुनु राम्रो हुन्छ।

कुम्भ : साढेसाती दशा चल्दै छ। जसले गर्दा परिवारमा झगडा हुने जोखिम हुन्छ। शनिदेव अनुकल भएमा ठुला काम बन्नेछन्। परिवारमा मेलमिलाप हुनेछ। जन्मकुण्डली हेरेर ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ।

मीन : भौतिक सम्पत्ति जम्मा गर्ने दिन छ। शेयर कारोबारमा फाइदा हुनेछ। धार्मिक कार्यमा गणेशको भजन सुन्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा प्रशांसा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई बालुवाटारको रोयल अम्पायर होटेल परिसरबाट पक्राउ गरिएको जनाइएको छ । त्यही ठाउँमा उनी निर्देशित फिल्म ‘रावायण’को दोस्रो चरणको छायाङ्कन सुरु हुने क्रममा थियो ।

आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद-२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएको बुझिएको छ।

सुदूरपश्चिमः प्रदेश सरकार विस्तार अन्योलमा

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको वातावरण अझै नबनेको बताएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरू सहभागी हुने वातावरण बन्न नसकेको बताए ।

“हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन,” उनले भने । समाजवादीका नेता सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एमालेले तत्काल सरकारमा भने नजाने निर्णय पहिले नै गरेको हो । एमालेले यो निर्णय परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरूको स्वामित्व रहेको बताउँदै नेता रावलले पत्रकार सम्मेलनमा भने, “अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदै छौँ ।” रासस

मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ । अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्ट मुद्दा पेश गरेको छ ।

मुलघर सहकारीको १२ औँ स्थापना दिवसः सिन्दुरेघारीमा बृक्षरोपण


रौतहट । रौतहटको चन्द्रपुर–९ सिन्दुरेघारीमा बृक्षरोपण गरिएको छ । मुलघर सहकारीको १२ औँ स्थापना दिवसको अवसरमा बृक्षरोपण गरिएको हो ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘जन्म दिनलाई सतकर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै बृक्षरोपण गरिएको सो अभियानमा सुरुवात देखि जोडिएका राष्ट्रसेवक प्रराज चौलागाईंले बताएका छन् ।
सोमबार स्थापना दिवस स्मरण गर्दै मरधर चादिमा ५० वटा विभिन्न जातका बृक्षरोपण गरिएको संस्थाका उपाध्यक्ष बिक्रम चौलागाईंले सम्पत्ति न्युजलाई बताए ।
बृक्षरोपणमा चन्द्रपुर सहकारी शाखा प्रमुख शेख नसरे आलम, सस्थाका लेखा समिती प्रमुख बिक्रम चौलागाईं, शिबराम तामाङ लगायत झण्डै १ सय जनाको उपस्थिती रहेको थियो ।
पछिल्लो समयमा यो अभियानले ब्यापक चर्चा बटुलेर केही संस्थाहरुले बृक्षरोपणका कार्यहरु थालेपनि सरकार भने मौन छ ।

गुल्मी जिप दुर्घटनाः १ जनाको ज्यान गयो

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परेर सत्यवती गाउँपालिका-८ भार्से निवासी ३२ वर्षकी कमला बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

सोमबार बिहान कालिगण्डकी गाउँपालिका-४ ओक्याङमा चन्द्रकोटबाट पुर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप दुर्घटना भएको थियो । जिपमा ८ जना सवार थिए ।

घाइते ७ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको डीएसपी पोखरेलले बताए । घाइते सबैलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

दुर्घटनामा परेर २९ वर्षका केशव राना, ३७ वर्षकी रिता छन्तेल, ४ वर्षकी ईरिसा छन्तेल, २६ वर्षका अजय नेपाली, ७५ वर्षका टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल र २३ वर्षका मेख बराल घाइते भएको प्रहरीले जनाएको छ ।

कान्तिलोकपथ आजदेखि पूर्णरूपमा सञ्चालन हुँदै

काठमाडौँ । कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा  सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि सो मार्गमा गत वैशाख २१ गते देखि सेवा बन्द गरिएको थियो ।

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिए । ‘ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ, ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ, बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ । बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन हुनेछ । 

वैशाख १५ गतेदेखि आंशिकरूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्णरूपमा क्षति काल्चे खण्डको सडकको भाग भत्किएपछि वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौंलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ । 

प्रमुख दलका शीर्ष नेता छलफलमा जुटे

काठमाडौँ । प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको हो ।

सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबिच एकै पटक भेटवार्ता र छलफल भएको हो । तीन नेताबिच बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको हुनसक्ने बुझिएको छ ।

यस्तो छ तपाईंको २१ जेष्ठ २०८१, सोमबार आजको राशिफल

मेष : समय रमाइलो छ। मनमा उत्साह बढ्नेछ।  प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

वृष : दिन राम्रो छ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। बढी तर्क गर्नु भन्दा चुपचाप आफ्नो काम गर्नु राम्रो हुनेछ। परिवारमा विवाद गर्नु भन्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ।

मिथुन : खर्च बढ्ने देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। पैतृक सम्पत्ति र विद्याको क्षेत्रमा उत्साह थपिने छ। समाजसेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : हल्ला गर्नु भन्दा गोप्य ढंगले काम गर्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारको साथ पाइनेछ। सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा हुनेछ। व्यापारमा फाइदा होला।

कन्या : बौद्धिक व्यक्तिसँगको भेट फलदायी हुनेछ। राजनीतिक क्षेत्रमा धोका हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले काम गर्नु अगाडि सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा झगडा हुनसक्छ। परिवारको भने साथ मिल्नेछ।

वृश्चिक : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खर्च बढ्ने भएकाले सचेत हुनु राम्रो हुनेछ। आफ्नै मित्रले असहयोग गर्ने देखिन्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

धनु : दिन राम्रो छ। श्रम लगानीका क्षेत्रबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। खर्च बढ्ने जोखिम रहेको छ। लगानीको क्षेत्रमा आफू अगाडि बढ्नु भन्दा परिवारका सदस्यमार्फत् गर्नु राम्रो हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा उत्साह बढ्नेछ। परिवारमा भने समस्या हुनसक्छ।

कुम्भ : भएको धनको संरक्षण गर्नुपर्ने दिन छ। लगानी फस्ने भएकाले सचेत हुनुपर्छ। परिवारमा शंका र उपशंका बढ्ने देखिन्छ। अप्ठेरो समयमा साथीको सहयोग मिल्नेछ।

मीन : धन र मान जोगाउनु राम्रो हुनेछ। असहयोग र अशान्तिले मन दुःखी हुनसक्छ। दान गरेमा फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

उपत्यका बाहिर स्थायी बसोबास भएकाहरूले पनि काठमाडौँबाटै पाउने राष्ट्रिय परिचयपत्रको विवरण

काठमाडौँ । बाहिरी जिल्लाबाट काठमाडौँ आइ बसोबास गरिरहेका नागरिकहरूले काठमाडौँ उपत्यकाबाटै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने भएका छन् ।

काठमाडौँ उपत्यका बाहिर स्थायी ठेगाना भई हाल काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएकाहरूले अब काठमाडौँका विभिन्न स्थानबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो । आज (सोमबार) देखि यो व्यवस्था लागू गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागका अनुसार नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा काठमाडौँ, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा स्थायी बसोबास भएका सेवाग्राही र राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन सक्ने छन् । काठमाडौँ जिल्लाको विभिन्न स्थानीय तहको परिचयपत्र वितरण अभियानमार्फत परिचयपत्र लिन छुटेका सेवाग्राहीहरूले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरबाट आफ्नो परिचयपत्र लिन विभागले अनुरोध गरेको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि नागरिकता प्रमाणपत्रको सक्कल, बसाई सरी आएकाको हकमा बसाई सराई प्रमाणपत्रको सक्कल र विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्ने छ । विभागका अनुसार हाल देश भरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू, एक सीमा प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानहरूबाट राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्ने कार्य भई रहेको छ ।