अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन् ।
पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान सात बजे महिला तथा बालबालिका बोकेको डुङ्गा नदीमा डुबेको प्रान्तको सूचना विभागका प्रमुख कुराइसी बद्दलुनले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा सार्वजनिक गरेका छन् । अधिकारीका अनुसार दुर्घटना परेका पाँच जना बाँचेका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
नङ्गरहार सूचना तथा संस्कृति विभागले मिडियालाई दिएको सन्देशमा अधिकारीले उक्त क्षेत्रमा मेडिकल टोली र एम्बुलेन्स पठाएको बताएका छन् । कम्तिमा पाँचवटा शव निकालिएको तथा अरूलाई खोज्ने प्रयास भइरहेको प्रान्तीय सरकारी अधिकारीले बताए ।
नजिकैको पुल नभएको कारण यस क्षेत्रका बासिन्दाले प्रायःखराब अवस्थामा डुङ्गा प्रयोग गरेर नियमितरूपमा नदी पार गर्ने गरेको स्थानीय मिडियाले जनाएको छ ।

कानून निर्माणका लागि ‘सुझाव बैंक’

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानून निर्माणका लागि आम रुपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा कानून अध्ययनरत विद्यार्थीहरुसँग छलफल गर्दै मन्त्री गिरीले कानून निर्माणका लागि सुझाव माग्न सुझाव बैंक स्थापना गर्ने तयारी गरिएको बताएका हुन् ।

मन्त्री गिरीले सुझाव बैंकमार्फत आम नागरिकले जुन कुनै कानूनलाई संशोधन गर्नका लागि सुझाव दिन सकिने बताउनुभयो । उहाँले आएको सुझाव अनुसार सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, सम्बन्धित विषय विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने र सुझावलाई कानून निर्माणको प्रक्रियामा समावेश गरिने बताए।

मन्त्री गिरीले संसदभित्रका निश्चित सांसदहरुले मात्रै कानन बनाउन जानेको छ भन्ने कुराबाट बाहिर निस्किनुपर्ने बताए। उनले सांसदको वृत्तभन्दा बाहिर पनि विषयविज्ञ र अनुभवी मानिसहरु भएका भन्दै कानून निर्माणमा उनीहरुको सुझावलाई पनि ग्रहण गर्नुपर्ने बताए ।

मन्त्री गिरीले आफू कानून अध्ययनरत विद्यार्थीहरुसँग देशको कानून लगायतको विषयमा निरन्तर छलफल गर्ने र सल्लाह, सुझावहरुलाई ग्रहण गर्ने पनि बताउए ।

काठमाडौँ महानगरले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नागरिकले ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस दिन आग्रह गरिएको छ ।

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाण्डौका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् । गएराति अनुगमनका क्रममा उहाँले प्रहरी कार्यालयको कामकारबाही, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्तका प्रमुखसँग जानकारी लिएका हुन् ।

उजुरी जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र अहिले रहेको सङ्ख्याबारे पनि जानकारी लिए । गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिए ।

नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेस गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई उहाँले निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि स्वास्थ्य मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा।दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा।गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्ने जनगुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवलाई निर्देशन दिएका थिए ।

समितिले काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ । यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या, उनीहरूको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग ९ओपिडी० सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरूले दैनिक बिरामी हेरेको सङ्ख्या, प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ ।

समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण, सोही सेवाका लागि अन्यत्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ । यस्तै अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधन स्रोत एवम् अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए(नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

नारायणहिटी दरबार हत्याकाण्डः २३ वर्ष पूरा

काठमाण्डौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । तर यो घटना अझै रहस्यको गर्भमै छ ।

२०५८ सल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

सो घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

उक्त दरबार हत्याकाण्डमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको भए पनि आमनागरिकले त्यसलाई स्वीकार गर्न सकेका छैनन् ।

रहस्यको पर्दा खुल्न नसकेको यो हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग उठ्दै आएको छ ।

विभिन्न दलका नेताहरूले सरकार बाहिर रहँदा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि कहिल्यै प्राथमिकता दिएको पाइँदैन ।

गणतन्त्र स्थापनापछि पहिलो पटक प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नारायणहिटी हत्याकाण्डको छानबिन गरेर सत्य बाहिर ल्याउने वाचा गरेका थिए ।

तराईमा सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी जारी गरेको छ ।

पछिल्लोपटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन-तीन दिन तातो हावा चल्ने चेतावनी जारी गर्थ्यो ।

विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा बढी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्ला नै तातो हावाबाट प्रभावित हुनेछन् ।

पछिल्ला दिनमा नेपालमा गर्मी अत्यधिक बढेको छ । तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।

अत्यधिक गर्मी बढेपछि नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो

नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ ।

अत्यधिक गर्मी र तातो हावाले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।

यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो । उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ । केही दिनअघि नेपालगञ्जको अधिकतम तापक्रम ४४।२ डिग्री सेल्सियससम्म मापन भएको थियो ।

गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । रासस

त्रिविको जग्गा खोज्न पूर्वसचिव त्रितालको नेतृत्वमा समिति गठन

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको खोजी गर्न समिति गठन गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ घिमिरे तथा त्रिविका प्राध्यापक डाक्टर प्रेम प्रसाद चापागाई विज्ञ सदस्य छन् । शिक्षा मन्त्रालयका उपसचिव सदस्यसमिति रहने गरी समिति गठन भएको हो । समितिलाई त्रिविको काठमाडौं उपत्यकामा रहेका जग्गा तथा भवनको विषयमा छानविन गरी प्रतिवेदन दिने जिम्मेवारी दिइएको छ । ‘काठमाडौं उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न’ समितिलाई कार्यादेश दिइएको छ ।

पूर्वसचिव त्रिताल नेतृत्वकै समितिले यसअघि बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिनाको छानविन गरेको थियो । सोही छानविन प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले मुद्दा दायर गरेको थियो ।

मेयर बालेनको सिंगापुर भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का २६ निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ सिंगापुर भ्रमणमा जाने भएका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि बालेन सिंगापुर भ्रमणमा जाने निश्चित भएको हो । 

बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सहभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको हो ।

सो भ्रमणसम्बन्धी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्‍याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका-१ बाट पक्राउ गरेको हो । 

 उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रियोः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताए। उनले अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताए। उनले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको समेत औल्याए। उनले समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताउए। उनले देशको योजना बनाउँदा हावादारी योजना बनाउन नहुने बताए ।

अध्यक्ष नेपालले आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताए । उनले नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पु¥याउन जरुरी रहेको सोत बताएका छन् ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले आर्थिक वर्ष २०७७–७८ मा गाउँपालिकाको वडा नम्बर ७ मा सडक निर्माण कार्यमा अनियमितता भएको भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

वास्तविकभन्दा कम चौडाइ कायम गरेको, फर्जी प्रतिवेदनका आधारमा भुक्तानी दिएको र निर्माण सम्झौता बमोजिम काम नगरेको अख्तियारले जनाएको छ । अख्तियारले जनही १३ लाख ७२ हजार बिगो कायम गरी कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।

बिभिन्न दल परित्याग गरी आजपा प्रवेश, प्रभु साह द्वारा स्वागत

बारा १८ जेठ । बाराको बारागढी गाउँपालिका स्थित विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ,
बारागढी गाउँपालिका–४ सुखीपथरामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता कार्यकर्ता आजपामा प्रवेश गरेका हुन् । समाजसेवी सियाराम साहको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा उनीहरू आजपाका गोलबन्द भएको अध्यक्ष प्रभु साहले जानकारी दिए । देशमा व्याप्त बेथिति, भ्रष्टाचार एवं कुशासनको दुष्चक्रलाई तोड्न तथा विद्यामान सङ्कटहरूको ठोस निकास प्रदान गर्ने सवालमा आम जनता पार्टीले नेतृत्वदायी एवं निर्णायक भूमिका निर्वाह गर्ने साहले बताए ।
उनले नवप्रवेशीहरुलाई अबिर मालाले स्वागत गरेका थिए ।
यसैबिच बुधवार आयोजित अर्को एक कार्यक्रममा साहले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न सरकारसँग माग गरे । आजपा पर्सा जिल्ला कमिटीले टाउनहलमा आयोजना गरेको कार्यक्रममा उनले वीरगन्जबाट देशको कुल राजस्व मध्ये ८० प्रतिशतभन्दा बढी उठ्ने गरेको बताए ।
‘वीरगन्ज देशकै आर्थिक नगरी हो । यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्तभन्दा यहाँबाट धेरै उठ्ने गरेको छ । आर्थिक नगरी वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन । यथाशीघ्र वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्छ’ साहले भने, ‘सरकारले यहाँबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्नु हामीलाई स्वीकार्य छैन । वीरगन्ज आर्थिक राजधानी हो र यहाँ त्यही अनुसार सरकारले लगानी पनि गर्नुपर्छ ।’ सञ्जय मिश्रा

रौतहटमा हावाहुरीले दर्जनौं घरको छाना उडायो, दर्जनौं पोल ढल्दा विद्युत आपूर्ति बन्द

रौतहट १८ जेठ। रौतहट स्थित विहीबार साझँ आएको हावाहुरीले कैयौं घरको छाना उडाएर लाखौँ बराबरको क्षती भएको छ। चन्द्रपुर केन्द्रित हावा हुरीले कैयौं ठाउँको दर्जनौं विधुत पोल ढलेर विभिन्न ठाउँको विद्युत अवरुद्ध भएको छ । हावा हुरीले चन्द्रपुर नगरपालिका ६ स्थित सत्यनारायण भगतको घरको इलबेष्टरको छाना उडाउँदा ८ लाख बराबरको क्षती भएको छ।
त्यसैगरी वडा ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामाबिनय यादव, वडा ६ का भिमाबिर पहरी,४ का सुन्तली पहरी, का धर्मेन्द्र माझी, रामवीर माझी लगायतको घरको छाना उडाएर २० लाख ६० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
चन्द्रपुरमा ५० भन्दा बढी विद्युत पोल ढलेको छ । हावा हुरीले दर्जनौं बिजुलीको पोलका भाचिनुका साथै एउटा २०० केवीको ट्रानसफर्मरमा क्षती पुगेको छ। विद्युत पोल ट्रानफर्मार र अन्य उपकरण समेत गरि ३० लाख भन्दा बढीको क्षती भएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताएका छन्। हावाहुरीले गरेको क्षति बारे अनुगमन तथा भाँचेको पोल गाड्ने काम भईरहेको कारण चन्द्रपुरको अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको प्रमुख यादवले जानकारी दिएका छन्।
त्यसैगरी हावाहुरीले कटहरिया स्थित एउटा ११ केविको पोल ढलेको छ। हावाहुरीले फलफूल तथा अन्नबालीमा समेत क्षति पुर्याउँदा किसानहरु मर्कामा परेका छन् । बिहीवार साँझको हावा हुरीले जिल्लाको अन्य स्थानमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।