दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर भएको छ । आज नेप्से २८.६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ विन्दुमा बन्द भएको हो ।                                                                                          

नेप्से सूचक बढेर २००० विन्दु माथि पुगेपछि कारोबार रकम पनि बढेको छ। सोमबार करिब साढे ३ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब बढीको शेयर कारोबार भएको छ। आज कारोबार भएका कम्पनीमध्ये २१९ वटाको बढेको छ भने २२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।            

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।  यसका साथै आज चार कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा बढिले बढेको छ ।    

आज हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.६४ प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १५ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

काठमाडौं महानगरलाई नयाँ भनेर ४ पुराना सवारी बिक्री

काठमाडौँ । सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ।

महानगरपालिकाले सोमवार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पुराना सवारीसाधन बिक्री गरेको जानकारी गराएको हो।

 नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए। 

उनले महानगरले खरिद गरेका ६ वटा टिपरकै ब्लू बुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिपरको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताए। हामीले केही वर्ष यता खरिद गरेका ६ वटा गाडी मध्ये ४ वटा गाडी गत वर्षको पायाैं, २ वटा गाडी सोही वर्षको पायौँ। सबै गाडीको ब्लुबुकमा म्यानुफ्याक्चर्स इयर २०२२ देखिन्छ। जुन २०२१ मा बनेको गाडीको पनि ब्लुबुकमा २२ मा रहेको पाइयो। नेपालमा आयात भएर बिक्री नभइ लामो समयसम्म गोदाममा थन्किएका सवारी साधन खरिद नगर्ने उद्देश्यका साथ बोलपत्रमा म्यानुफ्याक्चर्स इयर समावेश गरिएको हुन्छ।’

महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको पनि उनले बताए।

अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति

काठमाडौं । सरकारले वित्त तथा मौद्रिक नीतिको समाञ्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश: सुधार आएको बताएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताएका हुन्।

उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताए। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताए। मूल्यवृद्धिदर पनि घटेको बताए। कानुनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको पनि जानकारी दिए।

वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ। मूल्यवृद्धिदर घटेको छ। कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ।’

उनले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए। शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताए।

हुन्डाईका गाडी नेपालमै उत्पादन हुने

काठमाडाैं । दक्षिण कोरियाको गाडी निर्माता कम्पनी हुन्डाईले नेपालमा गाडी एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको छ। हुन्डाईको नेपालस्थित वितरक लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले नवलपरासीको रामग्राममा हुण्डाई मोटर एसेम्बली प्लान्ट स्थापना गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उक्त प्लान्टको स्थापना गर्नुभएको छ । ५ अर्ब रूपियाँभन्दा बढीको लागतमा ६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी हुण्डाई मोटर एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटरको निर्माण क्षेत्र रहेको छ।

८ हजार वटा गाडी वार्षिक उत्पादन क्षमता भएको प्लान्टमा २ सयभन्दा बढीले रोजगारी पाएका छन् । हुण्डाई मोटर कम्पनी (एचएमसी)को सबै मापदण्डको पालना गर्दै नेपालभर हुण्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने कम्पनीको लक्ष्य राखेको छ।

लामिछानेमाथि छानबिन गर्न समिति नबनाए संसद् चल्न नदिने : कांग्रेसको अडान कायमै

काठमाडौँ । नेपाली कांग्रेसले सहकारीको बचत रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन नगरिए संसद् अवरोध यथावत् रहने निष्कर्ष निकालेको छ । 

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले आज दिउँसो नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, आज बसेको बैठकले नीति तथा कार्यक्रम पेस गर्न दिने तर सहकारी छानबिन समिति नबन्दासम्म संसदका अरु कारबाही अगाडि बढ्न नदिने निर्णय गरेको छ । हाम्रो अडान यथावतै छ ।

यस्तै बैठकमा गिरिबन्धु टिस्टेट फैसलाबारे छलफल भएको थियो । यो विषयले बैठकमा प्रवेश पाए पनि यसबारे व्यवस्थित धारणा ल्याउने प्रमुख सचेतक लेखकले बताए ।

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भएको हो ।

यसदिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्र्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

मन्त्रिपरिषदले पारित गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् । उनकाअनुसार १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषदबाट पारित भएको छ।

राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

माबि गोनाहीको अध्यक्षमा अर्जुन यादव चयन

रौतहट १ जेष्ठ। रौतहटको देवाही गोनाही नगरपालिका ७ स्थित माबि गोनाहिको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा अर्जुन यादवलाई चयन गरिएको छ।
सोमवार विद्यालयमा भएको अभिभावक भेलाले माबी गोनाहिको अध्यक्षमा अर्जुन यादवलाई सर्वसहमतिमा चयन गरिएको हो। अन्य सदस्यहरु अर्को बैठकले चयन गर्ने योजना रहेको माबी गोनाहीले जनाएको छ।

भारतको मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु

एजेन्सी । भारतको मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ । घटनामा ७० जना घाइते भएका छन् ।

मुम्बईमा आएको आँधीका कारण विशाल होर्डिङ बोर्ड घर र पेट्रोल स्टेशनमथि खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुम्बईको पूर्वी उपनगर घाटकोपरको व्यस्त सडक नजिकैको भवनहरूमा ठोक्किएको हो ।

यसैबीच महाराष्ट्र राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाको उच्च स्तरीय छानबिनको आदेश दिनुभएको छ । घटनामा मारिएका र घाइते भएका परिवारलाई प्रदेश सरकारले ५ लाख भारतीय रुपैयाँ प्रदान गर्ने भएको छ ।

आँधीबेहरीको समयमा शहरको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू अस्थायी रूपमा रद्द गरिएको छ । मुम्बईमा मनसुन शुरु भएपछि प्राकृतिक बिपत्तीमा धेरैको मृत्यु हुने गरेको छ ।

सन्दीप लामिछानेको मुद्दाको पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ गर्न आज पेसी तोकिएको छ। 

 गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

हाई्वे ट्रमा सेन्टर अस्पताल चन्द्रनिगहपुरले गरीब असहायको सहज उपचार गर्दै 

रौतहट ३१ बैशाख। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर खुलेपछि गरीब असहायको उपचारमा सहज भएको छ ।

२०८० साल माघ २२ गते चन्द्रपुर ४ स्थित जंगलटोलमा हाईवे ट्रमा हस्पिटल संचालनमा आएदेखि नै गरिब असहायको उपचारमा सहजता भएको हो। राजमार्गको उत्तरपट्टि रहेको उक्त हस्पिटलमा आधुनिक मेसिनको सहयोगले २४ सौं घण्टा आकस्मिक उपचार सेवा दिँदै आएको छ। दक्ष तथा बिशेषज्ञ डाक्टर द्वारा गुणस्तरिय सेवा दिन हस्पिटलमा आधुनिक उपकरण जडान गरेको छ । राजमार्ग क्षेत्रमा निजि स्तरमा सुविधायुक्त अस्पताल नभएको कारण हाईवे ट्रमा हस्पिटल स्थापना गरीएको संचालक तथा अर्थोपेडिक सर्जन डाक्टर नविन सिंहले बताउनुभयो ।

उनले चन्द्रपुरबाट नै शिक्षा हासिल गरेर डाक्टर वनेकोले आफ्नो गाँउमा स्वास्थ्य सेवा दिने उदेश्यले हस्पिटल संचालनमा ल्याएको बताउनुभयो । विपन्न तथा गरिव समुदायका बिरामीको पहुँचमा रहेको यस अस्पतालकोे शुल्क महँगो नभएको उहाँको भनाई छ डाक्टर सिंहले हस्पिटल नाफामुखी भन्दा पनि सेवामुखी भएको बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको उपचारमा हस्पिटलले सहुलियत दिदै आएको छ । विपन्न पाँच जना बिरामीको जटिल प्रकारका उपचार समेत निशुल्क गरीएको उहाँले जानकारी दिनुभयो । अव कुनै पनि रोगको उपचारका लागि बीरगंज, जनकपुर , भरतपुर , काठमाडौं जानुपर्ने वाध्यता हटेको र हस्पिटलबाट जटिल प्रकारका उपचार पनि सम्भव भएको उहाँले दावी गर्नुभयो ।

हस्पिटलले २४ सैं घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडि सेवा, अथोपिडिक तथा ट्रमा सर्जरी, जेनर तथा ल्यापरोस्कोपिक सर्जरी, दन्त तथा दन्त प्रत्यारोपन सर्जरी, बाल तथा नवजात शिशु रोग, आई.सी.यु, एन.आई.सी.यु, जेनरल मेडिसिन स्त्री तथा प्रसुती रोगको उपचार तथा बालरोग बिशेषज्ञ डक्टरद्धारा बालरोगको उपचार सेवा दिदै आएको छ ।

हस्पिटलमा आधुनिक प्रविधिको ल्याव सेवा, डिआर प्रविधिको डिजिटल एक्सरे सेवा, फोरडि कलर डोपर भिडियो एक्सरे सेवा, ईन्डोस्कोपी सेवा, ईसिजी मुटु जाँचको सेवा, आईसियू, एनआईसियू, पोष्ट, ओपिडी वार्ड सेवा, भिआईपी वाड, भिआईपी क्याविन सेवा उपल्वध छ । बिरामी वा कुरुवाका लागि आवश्यक परेको खण्डमा सुविधायुक्त डिलक्स रुमको समेत व्यवस्था हस्पिटलले गरेको छ । डिलक्स रुममा विरामीका लागि आरामदायी बेड, करुवालाई बस्ने छुट्टै वेड, एट्याच ट्वाईलेट वाथरुम, एसी तथा टिभिको समेत व्यवस्था रहेको हस्पिटलका संचालक सिंहले प्रष्ट पार्नुभयो ।

विरामीको सुविधालाई मध्यनजर गर्दै सम्भवत यस भेगमा नै पहिलो पटक लिफ्टको व्यवस्था गरिएको उहाँको भनाई छ । यस हस्पिटल स्थापनाकाल देखि नै बिरामीको उपचारलाई प्रथामिकतामा राखेको उहाँले दोहोयाउनुभयो । आधुनिक प्रविधिबाट ल्याब परिक्षण गर्नुका साथै दक्ष चिकित्सकबाट चेकजाँच हुने गरेको हस्पिटलका चिकित्सकहरुले बताएका छन् ।

अस्पतालमा उपचारका लागि आउनु भएको रन्जय ठाकुर लोहारले यस अस्पतालले दिएको सेवा र सुविधा प्रति सन्तुष्ट रहेको बताउनुभयो । चिकित्सकको व्यवहार, कर्मचारीले गर्ने कार्यशैली र सरसफाई लगायतका हरेक कुरामा यो हस्पिटल उत्कृष्ट रहेको उहाँको भनाई छ । उहाँका अनुसार हस्पिटलको उपचारमा लाग्ने शुल्क महँगो छैन् ।

यस हस्पिटलको सुविधा र चिकित्सक तथा कर्मचारीले गर्ने व्यवहार प्रशंसा योग्य रहेको उहाँले बताउनुभयो । सो हस्पिटलका अर्का डा।संजय साहका अनुसार यस हस्पिटलबाट बिरामीलाई दिने उपचार सेवामा कमी हुने छैन् । यहाँ २४ सैँ घण्टा चिकित्सकको उपस्थिती रहने र विरामी वा करुवाको हरेक गतिविधि सिसि टिभीको निगरानीमा रहने गरेको उहाँले बताउनुभयो ।

विरामीको सेवा नै मुल धर्म हो भन्ने मान्यताका साथ यो हस्पिटल अघि बढेको उहाँको कथन छ । अस्पताल प्रशासनले स्थानीयलाई सरल एवं सुलभ ढंगबाट सेवा सुविधा दिन थालेपछि ग्रामीण भेगका स्थानीयहरू उपचार गराउन अहिले हाईवे ट्रमा हस्पिटलमा आउन थालेका छन् । बिशेषत गर्भवती महिलाहरुलाइ यो मेशिन बाट बढी लाभ पुग्ने छ ।

पेट भित्रको बच्चाको अवस्था अनि बच्चाको अङ्गहरुको बिकास र पेट भित्रको बच्चाको रगिंन चित्र स्क्रिनमा प्रस्ट रुपमा हेर्न सकिन्छ । यो मेशिन बाट बच्चाको मुटुको अवस्था र बच्चा अपाङ्गता रहे, नरहेको समेत हेर्न सकिने हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले जनाएको छ । हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरका अनुसार दुई महिनामा ३५ वटा मेजर अप्रेशन भएको छ । चन्द्रपुरमा रहेको २५ वेडको यस हस्पिटल सुविधायुत मानिन्छ ।

यस्तो छ तपाईंको १ जेष्ठ २०८१, मंगलवार आजको राशिफल

मेष : समय चुनौतीपूर्ण छ।आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

वृष : आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन : दिन रमाइलो बन्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर लगानी गर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कट : चन्द्रमा तपाईंकै राशिमा भएकाले तपाईंको सम्मान हुनेछ। सामाजिक क्षेत्रमा तपाईंले गरेको कामको प्रशंसा हुनेछ। व्यापार विवादित हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। सुन्दरताका पछाडि लाग्दा साथी गुमाउनुपर्ने जोखिम देखिन्छ।

सिंह : राम्रो आम्दानी हुनेछ। जुन क्षेत्रमा लगानी गरे पनि फाइदा हुनेछ। निर्णय लिन नसक्दा परिवारमा खटपटी हुने देखिन्छ। व्यवहार गर्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। पैसाको घमण्डले परिवार बिग्रने जोखिम देखिन्छ।

कन्या : सुरक्षाको सुनिश्चितता भएकाले आज लगानी गर्न डराउनु पर्दैन। शिक्षामा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आजको दिन रमाइलो गरेर बित्नेछ। परिवारसँगको रमाइलो अविस्मरणीय हुनेछ। रमाइलो गर्दा खानपानमा भने विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापारमा नाफा आर्जन हुनेछ। शिक्षामा प्रगति हुनेछ भने वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ।

वृश्चिक : अधिकारका लागि कडा रुपमा प्रस्तुत हुनुपर्ने दिन छ। झुटा आरोप लाग्ने जोखिम रहेकाले सचेत हुनुपर्ने देखिन्छ। आज ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीले खुशी मिल्नेछ। शिक्षा क्षेत्रमा भने सफलता प्राप्त गर्न प्रतिक्षा गर्नुपर्नेछ। परिवारको माया पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अचानक खर्च बढ्नेछ। जुनसुकै काम गर्दा पनि तीन पटक सोच्नु राम्रो हुन्छ। खर्चबाट बच्नका लागि गणेशको सम्झना गर्नु राम्रो हुनेछ। काम गर्नु अगाडि परिवारको सुझाव लिनु उत्तम हुन्छ।

कुम्भ : धेरै रिस उठ्ने देखिन्छ। सोचेर नबोल्दा नराम्रो शब्द सार्वजनिक हुने जोखिम हुन्छ। गणेशको दर्शन गरेर कामको सुरुवात गरेमा सफलता मिल्नेछ। जन्मुकण्डली हेरेर दिन शान्त पार्न सकिन्छ।

मीन : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफ्ना सहकर्मीले कुरा काट्ने गर्छन्। सोचेर र मन शान्त राखेर व्यवहार गर्नु उचित हुनेछ। परिवारबाट हुने साथ र सहयोग राम्रो रहनेछ।

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यादवले पठाएको समर्थन फिर्ताको जानकारीसहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

यसअघि उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका पार्टी अध्यक्ष उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री रहेका दीपक कार्कीले राजीनामा दिएका थिए ।

सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको सांसद राजकिशोर यादवले बताए । जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको उनको आरोप छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको यादवको जिकिर छ । सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने उनले चेतावनी दिएका छन् । 

बैंकिङमा आएको उत्साहले नेप्सेमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंक बढेको छ । नेप्से परिसूचक २४.३९ अंक बढेर १९९८.८९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ अंक बढेको छ।

दिउँसो १२ बजेर ५६ मिनेटमा दुई हजार विन्दुमा पुगेको नेप्से त्यसपछि उतारचढावका बीच एक हजार ९९८.८९ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सिर्जनशील लघुवित्त र हिमालय ऊर्जा विकासको मूल्य १० प्रतिशत बढ्यो । 

सीवाईसी लघुवित्तको ५.६, आरम्भ चौतारी लघुवित्तको ३.३ तथा रिभर फल्स पावरको २.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा संस्थापक, सीईडीबी हाइड्रोपावर, कर्णाली विकास बैंक, पोखरा फाइनान्स र कुमारी बैंक क्रमशः अगाडि रहे ।

अवैध कारोबार गर्ने एक जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुङ्गाना छन् । सोमबार पत्रकार सम्मेलन गरी ढुङ्गानालाई सार्वजनिक गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ढुङ्गानाले विभिन्न माध्यमबाट दुई अर्ब एक करोड बढीको कारोबार गरेको प्रारम्भिक अनुसनधानबाट खुलेको बताए।

११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिङ्क गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको जानकारी उहाँले दिनुभयो । त्यस्तै, १५ वटा वालेट प्रयोग गरी पाँच करोडभन्दा बढी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको छ ।

उनका अनुसार पक्राउ गरिएका ढुङ्गानालाई नेपालको कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताईएको छ ।