प्रतिनिधि सभा बैठक आज पनि, बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउने

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ।

आजपनि तीन वटा मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

चितवनको एक सुन पसलमा चोरी, ३५ केजी चाँदी चोरी

भरतपुर । चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजार स्थित एक सुन चाँदी पसलमा चोरी भएको छ । गए राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी वर्ष ३५ को विनोद सुनार को सुन चाँदी पसल बाट करिब ३५ केजी चाँदी ३ केजी सुन चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले चोरले नगद दुई लाख रुपैयाँ समेत चोरेको पीडितले जनाएका बताए ।

हतियार धारी समूहले सो चोरी गरेको हो । प्रनाउ भण्डारी चोरी भएको छ भन्ने खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक कै नेतृत्वमा टोली गठन भई सूक्ष्म अनुसन्धान कार्य भइरहेको जानकारी दिए।

पाल्पामा स्कार्पियो दुर्घटनाः ९ जना घाइते

तानसेन । पाल्पामा स्कार्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार बिहान सवा ४ बजेतिर दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।

होराइजन डेन्टल रामपुर अस्पताल सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्कने क्रममा बा। १५ च ५९४ नम्बरको स्कार्पियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइते हुनेमा रामपुर–५, का २१ वर्षीय डोल्मा खण्डाल, सोही स्थानकी २८ वर्षकी रचना राना, चालक ३० वर्षका मोहन अर्याल र ३४ वर्षका शङ्कर श्रेष्ठको अवस्था मध्यम् रहेको प्रहरीले जनाएको छ ।

यस्तै रामपुर–५, पाल्पाकी अनिसा सिंह ठकुरी, ममता श्रेष्ठ, सविता राना, श्रृया रुचाल, दिपा हिस्कीमगरको अवस्था सामान्य रहेको छ । उनीहरूलाई रामपुर अस्पतालबाट थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ कुल बजेट ल्याएको हो ।

प्रदेश सभामा शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.७ प्रतिशत हो ।

यस्तै चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रहेको छ । यो कुल बजेटको अर्थात २४.१२ प्रतिशत प्रतिशत हो । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत अर्थात २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ । चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आफ्नो आम्दानी ८३ करोड ४४ लाख ६५ हजार रुपैयाँ हुने अनुमान गरेको छ ।

बाँकी रकम संघीय सरकारको अनुदानमा र चालु वर्षमा खर्च नभएको बजेटमा भर परेको छ । चालु आर्थिक वर्षमा खर्च नभएको ५ अर्ब १३ करोड ८१ लाख २६ हजार रुपैयाँ रहने मन्त्री केसीले बताए ।

प्रदेशको कुल बजेटमध्ये संघीय सरकारबाट राजस्व बाँडफाँटबापतको रकम ९ अर्ब ३८ करोड ५३ लाख प्राप्त भएको छ । वित्तीय समानीकरण अनुदानतर्फ १० अर्ब ३६ करोड ६३ लाख प्राप्त भएको छ भने सशर्त अनुदानतर्फ ३ अर्ब ७१ करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ ।

यस्तै संघीय सरकारबाट समपूरक अनुदानतर्फ १ अर्ब २८ करोड ५० लाख र विशेष अनुदानतर्फ ६७ करोड ६५ लाख रुपैयाँ प्राप्त भएको अर्थमन्त्री केसीले जानकारी दिए ।

अर्थमन्त्री केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को नारालाई सार्थक तुल्याउने उद्देश्यसहित बजेट ल्याइएको बताए । साथै बजेट ७ उद्देश्य, ७ प्राथमिकता र ७ रणनीतिक क्षेत्र निर्धारण गरी ल्याइएको उनको भनाइ छ ।

गण्डकी प्रदेशः ३२ अर्ब ९६ करोडको बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१-०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।

बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८५ करोडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०-०८१ को बजेट ३३ अर्ब ८२ करोड थियो ।

गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जोड दिए पनि पूर्वाधारमै ठूलो बजेट छुट्याएको छ । व्यावसायिक कृषि र यसको रूपान्तरण गर्दै उत्पादन र रोजगारमा जोड दिएका छन् । कृषि कर्जामा जोड दिँदै गाँजा खेतीको कानुनी बाटो खोल्ने गुरूङले बताए ।

१२ अर्ब ७० करोड रूपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा बिनियोजन भएको छ ।

सुदूरपश्चिम प्रदेशः ३१ अर्ब ६२ करोडको बजेट

सुदूरपश्चिम। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँ को बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षका लागि को बजेट ल्याएका हुन् ।

उनले दिउँसो ४ बजेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभामा करिब डेढ घण्टा लामो भाषणमार्फत आगामी वर्षको बजेट प्रस्तुत गरे । मन्त्री पालले असार १ गते प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्थाअनुसार बजेट भाषण गरेका हुन् ।

मन्त्री पालले आगामी आर्थिक वर्षदेखि प्रदेशको आम्दानी बढाउनका लागि करका दर समेत हेरफेर गरेका छन् । उनले घरजग्गा लगायत क्षेत्रको करका दर हेरफेर गरेको जानकारी दिए । उनले टाँगा र रिक्सा जस्ता यातायातका साधनमा समेत कर लगाउने र स्थानीय तहसँग बाँडफाँड गर्ने व्यवस्था गरेका छन् ।

प्रदेशका निजी व्यवसायीलाई औपचारिक अर्थतन्त्रमा ल्याउने गरी व्यवसाय नवीकरण वा दर्ताको व्यवस्था गरिएको मन्त्री पालको भनाई छ । कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब ७ करोड रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरेको मन्त्री पालले बताएका छन् ।

कोशी प्रदेश सरकारः झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख

बनियानी । झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख अनुदान प्रदान गरेको छ । जिल्लामा सञ्चालित कृषिका प्रवर्द्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त भएको छ ।

चालु आवमा जिल्लामा कृषि प्रवर्द्धनका लागि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यहाँका १४ वटा स्थानीय तहलाई नौ करोड पाँच लाख र कृषि ज्ञान केन्द्रमार्फत एक करोड ४८ लाख उपलब्ध प्रदान गरेको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको ससर्त अनुदानमा कृषि बजार निर्माण र सिँचाइलाई बढी प्राथमिकता दिएको छ ।

जिल्लाका छ पालिकाका १२ स्थानमा कृषि बजार निर्माण तथा पूर्वाधार विकासका लागि तीन करोड ४० लाख, ११ वटा पालिकामा सिँचाइ विस्तारका लागि तीन करोड ससर्त अनुदान दिएको प्रमुख विष्टले बताए। जिल्लाका तीन वटा पालिकामा कृषि यान्त्रिकीकरणका लागि ५५ लाख, गह्रा सुधार तथा चक्लाबन्दी खेतीका लागि ४० लाख, तोरी खेती तथा मौरीपालनका प्रवर्द्धन र तोरी प्रशोधन उपकरण खरिदका लागि ६० लाख उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ ।

नमूना कष्टम हाउसिङ सेन्टर स्थापनाका लागि ६० लाख, प्राङ्गारिक मल उत्पादन पूर्वाधार निर्माण गर्न ३० लाख र तरकारी सङ्कलन केन्द्र निर्माण गर्न २० लाख स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराएको छ । कोशी प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जिल्लामा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । युवा लक्षित तरकारी, च्याउ, मह उत्पादन कार्यक्रमअन्तर्गत ३९ जना युवालाई एकएक लाख अनुदान दिएको छ ।

तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा पशुपति क्षेत्र विकास कोषले हटाउदै

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएरपनि घर जग्गा खाली नगर्नेहरूका लागि कोषले १५ दिने सूचना जारी गरेको हो ।

काठमाडौँ महानगरपालिका ८ तिलगंगा बी १३ आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू भत्काई लैजान १५ दिने सूचना जारी गरेको हो । म्यादभित्र ती संरचना नहटाए कानुन बमोजिम कोष आफैँले हटाई खाली गराउने कोषले जनाएको छ ।

अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन २०७७ साल असार ३ गते कोषले ३५ दिने सूचना जारी गरे पनि कोषबाट मुआब्जा बुझिसकेका अधिग्रहण प्रभावितहरूले हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल खाली नगराएपछि कोषले १५ दिने सूचना जारी गरेको हो ।

सो क्षेत्रका झन्डै १ सय सङ्ख्याका पक्की तथा कच्ची घर टहरा हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषको स्वीकृत अवधारणात्मक गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू समेत स्थायी रूपले अधिग्रहण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले बताएको छ ।

रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त रहेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेतृत्व गरेको चार मन्त्रालय बेतिथिमुक्त रहेको दाबी गरेका छन् ।

आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा गृहमन्त्रीसमेत रहेका लामिछानेले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केही खराब नगरिकन सरकारमा बस्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘हामी सहभागी भएको चार मन्त्रालयमा हामी नगएको भए अरु कोही गएर बेतिथि फैलाउने काम गर्ने थियो होला, कम्तीमा हामीले त्यो चार मन्त्रालयमा भएपनि बेतिथि रोक्ने काम त गर्यौं । हाम्रो नेतृत्व पश्चात बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम हामीले बन्द गरेका छौं, यो गर्व गर्ने विषय हो । नेपाली जनतालाई लुट्ने काम पनि रोकिएको छ । केही खराब नगरिकन हामी सरकारमा छौं ।’

सय दिन सरकारमा बसेर एउटा आधार तयार गरेका भन्दै आधारको जगमा टेकेर आगामी दिनहरुमा असल कार्यहरुलाई निरन्तरता दिने कोशिस गर्ने उनको भनाई छ ।

खेलकुदमन्त्री विराजभक्तः सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आयो

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिले सरकारलाई दिएको समीक्षा गर्ने बेला भएको बताएका हुन् ।

उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको बताउदै आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए । उनले राजीनामा पत्र बोकेर हिडेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको उल्लेख गरे ।

उनले भनेका छन्- ‘केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले हामीलाई कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ,’ उनले भने, ‘हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ ।

वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरु सबै बसेर सल्लाह पनि भएको छ । सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ ।’

ज्येष्ठ नागरिकहरुमाथि दुर्व्यवहारका घटना बढ्दै

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समय ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटना बढ्दै गएको जनाएको छ । आयोगले ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटना बढ्दै जानु दुःखद पक्ष रहेको समेत बताएको छ ।

शनिबार आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै नेपालमा ज्येष्ठ नागरिकहरूमाथि हुने दुर्व्यवहारका प्रति २४ वटा घटनाहरूमा एउटा मात्र घटना कानुनी कारबाहीको दायरामा पुग्ने गरेको र बाँकी घटनाहरू मेलमिलाप र ढाकछोप गरिने तथ्याङ्कले न्यायमा पहुँच नपुगेको बताएका छन् ।

विज्ञप्तिमा ज्येष्ठ नागरिकहरूले पाउने स्वास्थ्य लगायतका सुविधाको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताइएको छ । आयोगले ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न, ज्येष्ठ नागरिकको अधिकारको संरक्षण र संवर्द्धनका सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

उपत्यकामा शुक्रबारको तुलनामा आज केही शितल

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए ।

शुक्रबारको तुलनामा आज आंशिकदेखि साधरणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ क डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

देशका ७१ जिल्लामा फैलियो डेङ्गु

काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए ।
उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए । ‘गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ’, उनले भने ।
उनका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ ।
काठमाडौँमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधँै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।

जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु

काठमाडौं । जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो ।

चिकित्सकले दुवै जनालाई ९ः २७ मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहररू नवविवाहित जोडी हुन् । मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लोक सेवा आयोगले शनिबार स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौँ । लोक सेवा आयोगले शनिबार स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाउँदै छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुख, लोक सेवा आयोगका पूर्वपदाधिकारी तथा पूर्वसचिव, नेपाल सरकारका सचिव, चार वटै सुरक्षा निकायका लामो समय आयोगमा कार्यरत रही हाल सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलगायतको बृहत् उपस्थिति रहने आयोगले जनाएको छ ।

आयोगले शुक्रबार जारी विज्ञप्ति अनुसार, आयोगको वार्षिकोत्सवको पूर्वसन्ध्यामा जेठ ३०, ३१ र ३२ गते अन्तरसंवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगिता, आन्तरिक ब्याडमिन्टन प्रतियोगिता र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ । हाजिरीजवाफ प्रतियोगितातर्फ निर्वाचन आयोग, राष्ट्रिय समावेशी आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । ब्याडमिन्टन खेलतर्फ अर्जुनप्रसाद रेग्मी र नरबहादुर बोगटीले प्रथम स्थान हासिल गरेका छन् ।

सोही अवसरमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, पूर्वअध्यक्ष कयोदेवी यमी र पूर्वसचिव डा। राजन खनालको सहभागितामा नेपाल टेलिभिजनबाट परिसंवाद, आयोगका सदस्य माधव बेलबासे, डा. भगवान कोइराला र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाको सहभागितामा रेडियो नेपालबाट परिसंवाद र आयोगका सदस्य वीरबहादुर राईको सहभागितामा रेडियो नेपालबाटै अन्तरसंवाद कार्यक्रमसमेत आयोजना गरिएको छ । वार्षिकोत्सवका अवसरमा आयोगमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत रहेको आयोगले जनाएको छ ।