अस्ट्रेलियाको न्युनतम पारिश्रमिक बढ्ने

एजेन्सी । अस्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

जुलाई १ देखि, न्युनतम ज्याला २३.२३ अस्ट्रेलियन डलर (१५.४७ अमेरिकी डलर) प्रति घण्टा बाट बढेर २४ं.१० अस्ट्रेलियन डलर (१६.०५ अमेरिकी डलर) प्रति घण्टा, वा ९१५.९० अस्ट्रेलियन डलर (६०९.९९ अमेरिकी डलर) प्रति हप्ता ३ घण्टाको आधारमा बढ्ने छ ।

आयोगका अनुसार अस्ट्रेलियाली श्रमशक्तिको २०.७ प्रतिशत वा करिव २६ लाख मानिसलाई न्युनतम ज्याला दर दिइन्छ । प्रवाह–अन प्रभावहरूको लेखांकनपछि न्यूनतम पारिश्रमिकमा वृद्धिले सबै अस्ट्रेलियाका कर्मचारीहरूको एक चौथाईलाई असर गर्ने अनुमान छ ।

आयोगले न्यूनतम पारिश्रमिकलाई मुद्रास्फिति दरभन्दा धेरैले बढाउनु उपयुक्त नभएको बताएको छ । अप्रिलसम्मको १२ महिनामा मुद्रास्फिति ३.६ प्रतिशतले बढेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले मेमा जनाएको छ । ट्रेजरी प्रक्षेपणका अनुसार सन् २०२४ को अन्त्यसम्ममा मुद्रास्फीति ३ प्रतिशतभन्दा तल झर्ने लक्ष्य रहेको छ ।

तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको निरीक्षण

बझाङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो ।

साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको रासस प्रतिनिधिलाई बताए। टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी भएका थिए ।

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएका उनले जानकारी दिए ।

नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमशः खोल्नसहमतिभएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले संयुक्त रूपमा नाका पुनःसञ्चालनको घोषणा गरेका थिए । रासस

काठमाडौंको दक्षिणकालीमा दुईजना मृत फेला

काठमाण्डौँ । काठमाडौंको दक्षिणकालीमा दुईजना मृत फेला परेका छन् । दक्षिणकाली नगरपालिका वडा नम्बर ८ केराबारी स्थित भिरमा एक महिला र एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश ३-०२-००७ प ३८१२ नम्वरको पल्सर मोटरसाइकलसहित धादिङ सिद्धलेख गाउँपालिका ५ घर भई हाल जिल्ला भक्तपुर बस्दै आएका वर्ष ४२ का रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका ५ भक्तपुरकी वर्ष ३२ की सबिना राईको शव फेला परेको प्रहरीले बताएको छ ।

केराबारी स्थित भिरमा शव देखेपछि स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरी टोलि खटिएको थियो । सडक बाटोबाट करिब २०० मिटर तल भिर पहरामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त किर्तिपुरले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बाल यौन दुर्व्यवहार आरोपमा इन्सपेक्टर शिवाकोटी पक्राउ

काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् ।

एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । त्यही क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएकी थिइन् ।

बुधबार साँझ पनि काठमाडौं महानगरका प्रतिनिधिलाई सम्पर्क गरेर आफूमाथि दुर्व्यवहार भएको र बस्नै नसक्ने स्थितिमा पुगेको भन्दै खबर गरेकी थिइन् । त्यसपछि काठमाडौं महानगरपालिका, नागर्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली शिवाकोटी बसेको घरमा पुगेको थियो ।

त्यसपछि महानगरको टोलीले पीडित किशोरीलई उद्दार गरेर बाल सुरक्षा गृहमा पठायो भने स्वयम्भु प्रहरीले इन्स्पेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएको एक अधिकृतले बताए ।

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बैठक बोलाइएको छ।

आजको बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। यस प्रस्तावलाई आज अनुमोदनको लागि पेस गरिने कार्यसूची समेत रहेको छ।

त्यस्तै, आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धि पहिलो संशोधन विधेयक, २०८० प्रस्ताव पेश गर्ने छन् भने विनियोजन विधेयक २०८१ माथि बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन्।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभामा उत्पति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ माथि छलफलका लागि प्रस्ताव पेस गर्दै छिन भने उनले यस प्रस्तावलाई पारित गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा गरेका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा यदुचन्द्र घिमिरेलाई जिम्मेवारी दिइएको छ । यस्तै, आयुर्वेद विभागको निर्देशकमा डा. प्रदीप केसीलाई सरुवा गरेको छ । उनी यसभन्दा अगाडी सिंहदरवार आयुर्वेद औषधालयको प्रमुखको जिम्मेवारीमा थिए ।

यसअघिका निर्देशक डा. वासुदेव उपाध्याय लुम्बिनी प्रदेश अन्तरगत सरुवा भएपछि केसीलाई विभागको जिम्मेवारी दिइएको हो । भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. कृष्ण प्रसाद पौडेललाई दिएको छ ।

‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक

काठमाण्डौँ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ।

प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ।

यही जेठ २१ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त कार्ययोजना पारित गरेको थियो।

प्राधिकरणले यस वर्ष १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिनअगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताए। उनका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ।

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा चक्रवती ल क्याम्पसका विद्यार्थीहरु द्वरा शुक्रबार अर्को मुद्दा दर्ता भएको छ ।

विद्यार्थी कृष्ण विक, रविन्द्र पौडेल, आकाश कुमार भट्ट, प्रमेश पौडेल, उज्ज्वल माली र इमामुल हकले लामिछाने तथा गृह मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । निवेदकहरूले ट्राफिक नियम उल्लंघ गर्नेहरूलाई २ घण्टा भोलियन्टर बनाउने गृहमन्त्रीको निर्णय मानवअधिकारविरुद्ध रहेको भन्दै रिट दायर गरेका हुन् । उनीहरूले गृहमन्त्रीको मौखिक आदेशका भरमा लागू गरिएको सो नियम खारेज गर्न माग गरिएको छ । 

उनीहरूले कानुनभन्दा माथि व्यक्ति नहुने र ट्राफिक नियम उल्लंघन गरेकालाई भोलियन्टर खटाउने कानुन नभएको जिकिर गरेका छन् ।  

सर्वोच्च अदालतमा दायर सो रिटमाथि २० जेठका लागि पेसीसमेत तोकिएको छ । 

सहकारी ठगी छानबिन समितिले थाल्यो काम

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित विशेष संसदीय समितिले काम थालेको छ । 

१५ जेठमा प्रतिनिधिसभा बैठकबाट छानबिन समिति गठन गरिएको थियो । बुधबार समितिको सचिवालय तयार भएपछि समितिले काम थालेको हो । अहिले समितिको पहिलो बैठक जारी छ । पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी छन् । समितिले पहिलो कार्यविधि बनाएर काम सुरु गर्नेछ ।

समितिको सभापतिमा एमाले सांसद सूर्य थापा छन् भने सदस्यहरूमा एमालेकी सरिता भुसाल, कांग्रेसका बद्री पाण्डे र ईश्वरी न्यौपाने, माओवादी केन्द्रका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान छन् । समितिलाई सहकारीको ठगीमा दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गर्ने कार्यदेश दिइएको छ । समितिको कार्यवधि तीन महिना तोकिएको छ ।

समितिलाई सहकारीको ठगीमा दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गर्ने कार्यदेश दिइएको छ । समितिको कार्यवधि तीन महिना तोकिएको छ । 

भ्रष्टाचार मुद्दामा ललितपुरको मालपोत तथा पानी कार्यालयका प्रमुखले पाए सफाइ

काठमाडौं । ललितपुरको मालपोत तथा पानी कार्यालयका प्रमुखले सफाइ पाएका छन् । नियम मिचेर जग्गाको कित्ताकाट गरेको भ्रष्टाचार मुद्दामा बिशेष अदालतले मंगलबार सफाइ दिएको हो ।
मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवाल तथा नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्वेक्षक लोकेन्द्रसिंह धामीले सफाइ पाएका हुन् ।
साविक टिकाथली गा.वि.स. वडा नं. ६ को कित्ता नं. १६९९ र १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको भन्दै उनीहरुविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । भू–उपयोग नियमावली, २०७९ मा उल्लिखित कित्ताकाटको लागि तोकिएको न्यूनतम मापदण्ड भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानुनी व्यवस्था विपरीत उक्त नियमावलीले तोकेको क्षेत्रफलभन्दा कम क्षेत्रफलका कित्ताहरु कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए तापनि कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा टायल चेकबाट बढ कायम गरी टायल चेक गरी बढाएको क्षेत्रफल र नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नं. २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी प्लटरजिष्टर र स्रेस्तामा जनाइएको छ । उक्त जग्गासमेत व्यक्ति विशेषको नाममा कायम भएको कित्ताहरुमा समावेश गरी नक्सामा भन्दा प्लटरजिष्टर र राजीनामा लिखतमा बढी क्षेत्रफल उल्लेख गरी कित्ताकाट गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुर उनीहरुमाथि थियो ।
अख्तियारले राउसाई होल्डिङ्गस् प्रा.लि., ललितपुर महानगरपालिका वडा नं. २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोज बहादुर श्रेष्ठलाई पनि प्रतिवादी बनाएकोमा उनीहरुले पनि सफाइ पाएका छन् ।

तीनकुनेको घरमा लागेको आगो निभाइयो 

काठमाडौँ । तीनकुनेमा रहेको एक घरमा आगलागी भएको छ । पाँच तले उक्त घरको अन्डरग्राउण्डमा सञ्चालित एक पसलको स्टोरबाट आगो सल्किएको हो ।
सोही ठाउँमा रहेको जीवन रेग्मीको ४ तल्ले घरमा दिलीप कुमार शाहले संचालन गर्दै आएको चाउचाउ, विस्कुट गोदामा ग्यास लिकेज भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रणको लागि २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको सुरक्षा फौज सक्रियताकासाथ आगो नियन्त्रणमा जुटेका थिए ।आगलागीबाट भएको क्षति एकीन विवरण भने आउन बाँकी रहेको छ।

सेयर बजार परिसूचकसँगै कारोबार रकम घट्यो

काठमाडौं । बुधबार सेयर बजार परिसूचकसँगै कारोबार रकम घटेको छ । नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रहेको छ ।
८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ। मंगलबार बजार ६.२२ अंकले बढ्दा परिसूचक नेप्से २०८५.३० को विन्दुमा थियो । ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको थियो ।

साताको चौथो दिन १५८ कम्पनीको सेयरमूल्य घटेको छ भने ८३ कम्पनीको मात्रै बढेको छ । ६ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन छैन ।

बजारलाई ४.९२ प्रतिशतले बढेको म्युचुअल फण्डले थामेको छ। म्युचुअल फण्डसँगै लघुवित्त, उत्पादन तथा प्रशोधन र फाइनान्स उपसमूह बढेका छन् । लगानी उपसमूह स्थिर रहँदा वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, व्यापार र अन्य उपसमूह घटेका छन् ।

घटेको बजारमा पनि भगवती हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ता फाइदामा रहे। मनकामना स्मार्ट लघुवित्त, माईखोला हाइड्रोपावर, विजय लघुवित्त, लक्ष्मी लघुवित्तलगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।

सर्वाधिक कारोबार एनआरएन इन्फ्रस्ट्रक्चरको भएको छ । उक्त कम्पनीको १९ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै सीइडीबी हाइड्रोपावरको १८ करोड ४३ लाख, सानिमा माई हाइड्रोपावरको १६ करोड ९९ लाख, पोखरा फाइनान्सको १२ करोड ६ लाख र ग्लोबल आइएमई लघुवित्तको ८ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अर्जुन लामा हत्या प्रकरणः सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकियो

काठमाण्डौँ । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकिएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले आज मुद्दाको अन्तिम सुनुवाइ सकिएको जानकारी दिँदै फैसला भने आउन बाँकी रहेको बताए । सर्वोच्चले आजै संक्षिप्त आदेश वा निर्णय सुनाउने दिन तोक्न सक्नेछ ।

१२ वर्षअघि अर्थात २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरु यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्।

आईसीसी टी–२० विश्वकपः नेदरल्यान्ड्ससँगको हारबाट दबाबमा नरहेको भनाई

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गए राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले भने यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । खेलपछि उनले भने, ‘यो हारबाट दबाबमा छैनौँ । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौँ । सुपर आठका लागि योग्य टोली हौँ भन्ने सन्देश दिन चाहन्छौँ । आज हार बेहोर्‍यौँ तर आउँदो तीन खेलमा राम्रो गर्नेछौँ ।’

अब नेपालले लिग चरणको दोस्रो खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्रो जुन १५ मा दक्षिण अफ्रिका र चौथो तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्ग्लादेश रहेका छन् । नवौँ संस्करणको प्रतियोगितामा २० वटा देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख (असारको १५ गते) हुनेछ ।

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् ।

बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन् ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ ।

३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।