सुन-चाँदीको मूल्य घट्यो

काठमाण्डौँ । सुन-चाँदीको मूल्य आज घटेर कारोबार भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर कारोबार भएको भइरहेको हो ।

छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा जोडिएर बृक्षरोपण


काठमाण्डौँ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारालाई झन् सार्थक बनाउन ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अन्तर्गत जेष्ठ २१ गते मुलघर कृषि सहकारी संस्था चन्द्रपुर–९ प्रगतिटोल रौतहटको १२ औँ स्थापना दिवस चन्द्रपुर नगरपालिका –९ को मरधर चादी नदि किनारमा वृक्षरोपण गरी भब्यरुपमा सम्पन्न भएको बताइएको छ । सो अभियानले सुरुवात गरेको स्थानमा झण्डै ६० वटा विभिन्न जातका बिरुवा रोपेर स्थापना दिवस मनाएको थियो ।
चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नसरे आलमको मुख्य उपस्थिती र सस्थाका अध्यक्ष महेन्द्र चौलागाईं, उपाध्यक्ष ज्ञानबहदुर भट्ट, सचिव बिरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष गोमामाया मिश्र लेखा समिती संयोजक बिक्रम चौलागाईं, शिबराम तामाङ लागायत विभिन्न उपसमिती सदस्य र शेयर सदस्यको सकृय उपस्थिती सो कार्यकममा रहेको थियो ।
कार्यक्रममा सो अभियान अन्तर्गतको बृक्षरोपणको सुरुवातका दिनमा जोडिएका सेवाभाबका ब्याक्तित्व समेत कार्यक्रममा सहभागी भएर बृक्षरोपण गरेको प्रहरी नायब निरीक्षक प्रराज चौलागाईंले सम्पत्ति न्युजलाई बताए । उनका अनुसार मुलघर सहकारीले यस क्षेत्रमा लोकप्रियता कायम गर्दै गएको बताइएको छ । पछिल्लो समयमा वातावरणलाई सभ्य बनाउन यो अभियान देशभरमै गुञ्जयमान भई राष्ट्रिय अभियान बनेको छ ।
आज विश्व वातावरण दिवस–२०२४ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ ।

यस्तो छ तपाईंको  २३ जेष्ठ २०८१, बुधबार  आजको राशिफल

मेष : काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

वृष : धन खर्च हुने योग छ। भ्रमण गर्दा खर्च कटौती गर्नु राम्रो हुन्छ। महत्त्वपूर्ण अवसरबाट बन्चित हुने खतरा छ। मन अशान्त हुनेछ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ।

मिथुन : आफ्नो जिम्मेवारी नबुझ्दा अरुले कुरा काट्ने जोखिम हुनसक्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन तनावपूर्ण हुनसक्छ। छिमेकमा भएको नराम्रा कामको दोष आइलाग्न सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने जोखिम छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट मनमा सन्तोष मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

सिंह : नयाँ कामको सुरुवात नगर्नु। शिक्षा क्षेत्रको लगानीले उत्साह बढाउने छ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा समस्या हुनेछ। परिवारमा विवाद हुने भएकाले सचेत भएर काम गर्नु राम्रो हुनेछ।

कन्या : अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट थप उत्साह बढ्ने योग छ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : योजना गोप्य राख्नु राम्रो हुन्छ। हल्ला गर्नुभयो भने काम नबन्ने जोखिम छ। शिक्षा क्षेत्रमा खराब नतिजा प्राप्त होला। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ।

वृश्चिक : शिक्षामा उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा चर्चा हुनेछ। मन अशान्त हुने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। जुटेको सम्पत्ति सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्ने योग छ।

मकर : आफन्तले तपाईंलाई फसाउने खतरा छ। मनको कुरा गोप्य राख्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : मन आशान्त हुनेछ। तनाव बढ्ने भएकाले साथीसँग भेट गर्नु राम्रो हुनेछ। परिवारको भने साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आफन्तको साथले मन थोरै शान्त बन्नेछ।

मीन : कर्म अनुसारको सम्मान प्राप्त हुनेछ। बोल्न नजान्दा शब्द जालमा पर्ने जोखिम हुनसक्छ। न्यायपूर्वक गरेको श्रमको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा प्रगति हुनेछ।

नक्कली प्रमाण पत्र पेस गरी जागिर खाएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा महोत्तरीका एक शिक्षकविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

महोत्तरीको बलवा नगरपालिका वडा नं. ९ धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटामा शिक्षक पदमा कार्यरत साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

नक्कली प्रमाण पत्रका आधारमा साहले राष्ट्रिय प्राथमिक विद्यालय महोत्तरीमा २०६९ कात्तिक २५ गतेदेखि लागू हुने गरी शिक्षक अनुदान कोटा (राहत) मा नियुक्ति लिई हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

गोदावरीका मेयर र उपमेयर निलम्बनमा


काठमाण्डौ । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी पदबाट निलम्बनमा परेका छन् ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर र उपमेयर पदीय जिम्मेवारीबाट निलम्बित भएका छन् । अदालतले सफाइ दिएमात्रै दुवै जना पुनः नगरपालिकाको काममा फर्कन पाउनेछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुङ्गाखानीबाट रोडा, ढुङ्गा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मेयर र उपमेयर दुबै निलम्बनमा परेकाले अब कार्यवाहक मेयरको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषय अन्योलमा परेको छ ।

सिटिजन्स बैंकका डेपुटी सीइओ काफ्लेको निधन

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ प्रकाश कुमार काफ्लेको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । बैंकका एक उच्च अधिकारीले उनको निधनको खबर पुष्टी गरेका छन् ।

एक कार्यक्रमका लागि उनीसहित बैंकको सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको थियो । काफ्लेको श्रीलंकामै निधन भएको हो । बिफिनको कार्यक्रमका लागि सिटिजन्स बैंकको उच्च व्यवस्थापनसहितको टोली पनि श्रीलंका गएको थियो । श्रीलंकाबाट फर्किनुपूर्व नै उनको निधन भएको हो । उनी बिफिनको कार्यक्रमका लागि बिफिनका सदस्य संस्थाका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए ।

काफ्ले सिटिजन्स बैंकका राम्रा कर्मचारीमध्येका एक मानिन्थे । हृदयघात भएपछि उनलाई श्रीलंकाकै एक अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अगाडी बढाइएको छ ।

सर्वाेच्च अदालतमा उपेन्द्र यादवको मुद्दा ‘हेर्न नभ्याइने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा मंगलबार ‘हेर्न नभ्याइने’ भएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो ।

जसपा नेपाल छाडेका अशोक राई सहितका नेताहरूको निवेदनअनुसार निर्वाचन आयोगले दल दर्ता गरेपछि अध्यक्ष यादव सर्वोच्च गएका थिए ।

 घाँटी रेटेर एक भारतीय नागरिकको हत्या

रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद भएको छ। भारतीय सिमानासँग जोडिएको राजपुर-१ पिपरा भगवानपुरको पुर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्। मृतकको गोजीबाट प्राप्त कागज पत्रमा भारत बिहार मोतीहारीको ठेगाना बताइएको छ। तर, मृतकको स्पष्ट सनाखत नहुन्जेलसम्मको लागि नाम सार्वजनिक नगरिएको तथा शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ।

मृतकको शवको केही पर सिजे०१- २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ। उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या गरिएको छ वा अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालिएको हो खुल्न सकेको छैन। हत्या कसले र किन गरेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतकको शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से मंगलबार भने ६.२२ अंकले बढेर २ हजार ८५.३० विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२९ प्रतिशतले बढी हो ।

नेप्सेमा आज ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कारोबामा आएकामध्ये १ सय २५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १४ वटाको घट्यो र बाँकी ८ वटाको स्थिर छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४४६.५० रुपैयाँ पुगेको छ । यसका साथै आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य पनि ८ प्रतिशतले बढेको छ ।

आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.५१ प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २० करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

अर्थमन्त्री पुनसँग एमसीसी उपाध्यक्ष ब्रुक्सको भेट, परियोजना समयमै सकाउन सरकार प्रतिबद्ध

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटेवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गरेका थिए । ‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ,’ मन्त्री पुनले भनेका थिए । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्ड-खण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको पुनले बताए । परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोगजस्ता समस्या एमसीए नेपालमार्फत समाधान हुने विश्वास मन्त्री पुनले दिलाए ।

उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे अवगत गराएका थिए । उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए । झन्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३ सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ । सम्झौता अनुसार ६० अर्बमध्ये ४५ अर्ब एमसीसीले अनुदानमा उपलब्ध गराउँछ भने १५ अर्ब रुपैयाँ नेपाल सरकारले आफ्नो तर्फबाट लगानी गर्ने छ ।

एमसीसीबाट नेपालले प्राप्त गर्ने ४५ अर्ब अनुदानमध्ये अधिकांश रकम नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च गरिने छ । आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माण गर्नेछ । ३ सय १५ किलोमिटर लामो डबल सर्किट ४ सय केभी प्रसारण लाइन निर्माण हुनेछ ।

एमसीसी परियोजनाअन्तर्गत ३ सय ५ किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मत सम्भार र गुणस्तर सुधार गर्ने योजना रहेको छ । नेपाल र अमेरिकी सरकारको एमसीसीबीच सन् २०१७ मा आयोजनासम्बन्धी हस्ताक्षर भए पनि दुई वर्षअघि नेपालको संसद्ले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।

सिभिल अस्पतालले माग्यो विभिन्न पदमा १२८ कर्मचारी (सूचनासहित)

काठमाडौं ।  निजामति कर्मचारी अस्पतालले नवौंदेखि चौथो तहसम्मका विभिन्न पदमा १२८ जना कर्मचारी मागेको छ। शुक्रबार विज्ञापन सार्वजनिक गर्दै अस्पतालमा रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायक लगायत पदहरूमा विभिन्न संख्यामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो।

इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकले असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म अस्पतालको वेभसाइटमार्फ अनलाइन दरखास्त दिन सक्नेछन्।

सूचना :-

४ सहायक सीडीओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौँ । ४ सहायक सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको छ । मन्त्रालयले गृह र विभिन्न जिल्लामा कार्यरत उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

सरुवा सूची अनुसार मन्त्रालयले जेठ १६ गते उनीहरूको सरुवा तथा पदस्थापन गरे पनि पाँच दिन पछि सूची सार्वजनिक गरेको हो ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 हिजो सोमबार १ लाख ४१ हजारमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८६० रुपैयाँ कायम भएको छ ।

खराब मौसमका कारण उडान प्रभावित

काठमाडौँ । मंगलबार बिहानै एकाएक मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका छन् ।

पानीसँगै हावाहुरी चलेपछि जहाज उडान तथा अवतरणमा समस्या आएको हो । विमानस्थलको भिजिबिलिटी राम्रो रहेपनि तीव्र गतिमा हावाहुरी चलेसँगै जहाज उडान तथा अवतरणमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का प्रवक्ता सुवास झाले जानकारी दिए ।

खराब मौसमकै कारण चीनको टाइनफुबाट काठमाडौँ आएको सिचुवान एयरको ३ यू ३९०१ जहाज ल्हासा डाइर्भट भएको छ । स्थानीय समय अनुसार बिहानको १०ः४० बजेट टीआईएमा अवतरण गर्ने समय रहेपछि तीव्र हावाहुरीका कारण जहाज ल्यान्ड (अवतरण) गर्न नसकेर लासा डाइर्भट गरिएको प्रवक्ता झाले जानकारी दिए ।

अन्य उडानहरू केही समय होल्ड भए पनि थप समस्या नआएको उनले बताए । आन्तरिकतर्फको उडान पनि केही प्रभावित हुन पुगेको उनको भनाई छ ।

काठमाडौँ उपत्यकामा वर्षा

काठमाडौँ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ ।

काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

यो वायु प्रणालीले राजधानी उपत्यकामा एक घण्टाभन्दा बढी समयसम्म वर्षा गराउने र उत्तरतिर लागेर कमजोर हुँदै जाने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिनुभयो । यो प्रि मनसुन क्रियाकलाप भएको महाशाखाले जनाएको छ ।

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा छ । कोशी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।