गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ जारी

काठमाडौं । सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त  इजलासमा तोकिएको छ ।

यसअघि न्यायाधीश श्रेष्ठको एकल इजलासले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटलाई अग्राधिकार प्रदान गरी अन्तरिम आदेशका लागि आज दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

सर्वोच्चले कास्की सूर्यदर्शन सहकारी ठगीबारे गृहमन्त्री लामिछानेविरुद्ध परेको जाहेरीको प्रतिलिपि समेत झिकाएको छ ।

गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने ठहर गर्दै निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा गत सोमबार रिट दर्ता भएको हो। रिटमा महान्यायाधिवक्ता कार्यालय,महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई  विपक्षी बनाइएको छ।

गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन हुँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

काठमाडौँ ।  भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् । 

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी, उहाँहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुनुभएको थियो । शपथग्रहणपछि उहाँहरुबीच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्री दाहालले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकामा मोदीलाई बधाई दिनुका साथै उहाँको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ नै भारतका राष्ट्रपति मुर्मुले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री दाहाल आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।   

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। आज नेपाली बजारमा नेपाल सुनचाँदी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ।

यस अघि आइतबार पनि सुन प्रतितोला १ लाख ४१ हजारमा नै कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघले आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा १८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

वैदेशिक रोजगारका ठगी विरुद्ध असार २ गतेदेखि आईटी आर्मीले विभाग घेराउ गर्छ : अध्यक्ष साह

काठमाडौं, । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन आगामी असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रमहरु बारे जानकारी गराइएको हो ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले वैदेशिक रोजगारीमा जाने लाखौं युवाहरुबाट खर्बौं रकम अवैध रुपमा असुली भएको बताए । लामो समयदेखि भइरहेको उक्त अवैध असुलीलाई आइटी आर्मीले रोक्न चाहेको उनले बताए । उनले यसरी अवैध रुपमा गरिएको असुली फिर्ता गराएर छाड्ने बताए ।

‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’– साहले भने ।

नेपालको हरेक राजनीतिक आन्दोलनमा युवाहरुले अग्रणीय योगदान गरेपनि युवाहरुको भविष्यमाथि सरकार गम्भीर नबनेको उनको भनाइ छ । उनले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको बताए ।

साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ ।

‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ,’– उनले भने ।

साथै, असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । वैदेशिक रोजगारीमा पठाउँदा जीटूजी प्रणाली अवलम्बन गरिनुपर्ने, फ्री भिसा – फ्री टीकट व्यवहारतः लागु गर्नुपर्ने, भ्रष्ट अधिकारी तथा ठग मेनपावर र ऐजेंटलाई कारवाई गर्नुपर्ने उनको माग छ ।

आईटी आर्मीका केन्द्रीय सचिव प्रशान्त केसीले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको उनले सुनाए । गलत काम गर्ने मेनपावर व्यवसायी र त्यस्ता काममा संलग्नहरुको विरुद्ध अब आईटीआर्मीले धावा बोल्ने उनले उद्घोष गरे ।

आईटीआर्मीका महासचिव नरेश तुरहाले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए ।

मलेसियामा दुर्घटनामा परेर रौतहटका युवकको मृत्यु

रौतहट । रौतहटबाट बैदेशिक रोजगारीमा मलेसिया गएका एकजना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

मलेसिया स्थित कम्पनीबाट कामसकेर कोठामा फर्किनेकर्ममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ। मृतकको को शव १० दिनपछी सनिवार साँझ उनको घरमा ल्याएर गएराती अन्तेष्टि गरिएको छ ।  

हिन्दू परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको डाहसंस्कार गरिएको कटहरिया ३ कारवडा अध्यक्ष श्यामान्त यादवले बताएका छन्। मलेसियास्थित नेपाली राजदूतावासले उनी कामगर्ने कम्पनीबाट  क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।

पछिल्लो एकवर्ष देखि उनी बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।

वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया शुरु

 काठमाडौं। वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिएका छन्।

उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा रु. एकदेखि तीन लाखसम्म पर्छ। शरीरका कोषिकाहरू असामान्य ढंगबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उहाँले जानकारी दिए। 

‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अंगहरू कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ। हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,’ उनले भने।

ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो। एक्स-रे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ। ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ।

यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ, तर उच्च डोजको विकीरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरू बताउँछन्।

अस्पतालमा दैनिक ६ देखि आठजना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन्। झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका सयजना बिरामी अस्पताल आउने गरेका छन्। 

ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने उनको भनाइ छ। नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो।

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न प्रदेश सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुनेछ।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ। तर, कांग्रेससँग २७ सिटमात्रै छ। कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भएपनि बहुमत पुग्ने देखिदैन्। गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन्। गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत पाउने आश गरेका छन्। 

विश्वासको मत प्राप्त गर्ने अवस्था देखिए राप्रपा पनि सकारात्मक देखिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई औपचारिक पत्र पठाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन आग्रह गरेका छन्। नेपाल समाजवादीका नेता समेत रहेका गाेरखाका प्रदेश सांसद फडिन्द्र देवकोटाले विश्वासको मत दिने मुख्यमन्त्री पाण्डेको आश छ। उनले माओवादीको चुनाव चिन्ह लिएर चुनाव जितेका छन्। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताए।

“असार १ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु जिम्मेवार ढंगले प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ”, उनले भने।

विपिन जोशीको घरमा इजरायली राजदूत, उद्धारका लागि दिए आश्वासन

काठमाण्डौँ । नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्ड बर्गर विपिन जोशीको घरमा पुगेका छन् । आइतबार इजरायली राजदूत हानान गोडर कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसी महेन्द्रनगर विपिनको घरमा पुगेका हुन् ।
गत २० असोजमा प्यालेष्टाईनी हमास समूहले इजरायलमाथि हमला गर्दा हमास समूहको नियन्त्रणमा रहेका जोशीको घरमा पुगेका हुन् । इजरायली राजदूत विपिनको घर पुगेर उद्धारका लागि आश्वासन दिएका छन् ।
विपिनका बुवा महानन्द जोशीले छोराको रिहाइका लागि राजदूतसँग अनुरोध गरेका छन् । विपिनका परिवारको अनुरोध अनुरूप इजरायली राजदूतले दुखत घटना भएको भन्दै उद्धारका लागि इजरायली सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि प्रतिबद्धता जाहेर गरेको परिवारजनले जनाएका छन् ।
यस अघि विपिनको रिहाइका लागि घर परिवारले गृहमन्त्री, पराराष्ट्रमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतीसम्म भेटघाट गरेर अनुरोध गरेका छन् ।

यस्तो छ तपाईंको २८ जेष्ठ २०८१, सोमबार (आज)को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन सामान्य छ। खर्च बढ्ने देखिन्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। भएको सम्पत्ति संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। परिवारले साथ दिने दिन छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समस्यामा परिनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक क्षेत्रमा मन जानेछ। सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। साथीको चित्त बुझाउन कठिन हुनेछ। लगानी गर्ने भए विदेशमा भन्दा स्वदेशमै फाइदा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको सहकार्यमा सफलता मिल्नेछ।

सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजमा हुने दुई खेल खेल्ने भएका छन्। भिसा नदिएपछि विश्वकप खेल्न अमेरिका जान नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिज पुगेका छन् । नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

दुवै खेलमा सन्दीपले सहभागिता जनाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। (क्यान)ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको जनाएको छ।

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको क्यानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

अमेरिकाले भिसा नदिएपछि क्रिकेटर लामिछाने विश्वकप खेल्न जान पाएका छैनन्।

नेपाली बजारमा भिभो वाई १८ सार्वजनिक, कति पर्छ मूल्य

काठमाडौँ ।  स्मार्टफोन ब्रान्ड भिभोले वाई १७ एस श्रृंखलाको उत्तराधिकारी भिभो वाई १८ सार्वजनिक गरेको छ । आजका प्रयोगकर्ताहरूका विविध आवश्यकता पूरा गर्न डिजाइन गरिएको भिभो वाई १८ ले उत्कृष्ट डिजाइन, सशक्त प्रदर्शन, र असाधारण क्यामेरा विशेषताहरू प्रदान गर्दछ, जसले यसलाई तपाईंको उत्तम मनोरञ्जनात्मक सामाजिक साझेदार बनाउने कम्पनीले जनाएको छ । 

भिभो वाई १८ ले वाई १७ एसको विरासतलाई कायम राख्दै दुई विशिष्ट रंग भेरियन्टहरूः मोचा ब्राउन र वेभ एक्वामा एक शानदार डिजाइन प्रदान गरेको जनाएको छ ।

भिभो वाई १८ ले उत्कृष्ट ६+६ जीबी एक्सटेन्डेड र्‍याम र १२८ जीबीको लागी इन्टर्नल स्टोरेज प्रदान गर्दछ, जसले सजिलो मल्टीटास्किङ र एप्स, फाइलहरू, र मल्टिमिडियाका लागि प्रशस्त स्टोरेज सुनिश्चित गर्छ ।

यस्तै मिडियाटेक हेलिओ जी ८५ प्रोसेसरबाट सञ्चालित यो फोनले प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा ल्याग–फ्री अनुभवको मजा दिन्छ । साथै, वाई १८ मा लामो समयसम्म टिक्ने ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जुन काम, कन्टेन्ट स्ट्रिमिङ, वा गेमिङका लागि राम्रो मानिएको छ ।

५० एमपी अल्ट्रा क्लियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा रहेको उक्त फोनको मूल्य रु. १४,४९९ रुपैयाँ कायम गरिएको छ ।

बालिका बलात्कारको अभियोगमा गुल्मीका युवक पक्राउ

पाल्पा। पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तानसेन नगरपालिका ८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका निर्देशक चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको आरोपमा आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी आयोगमा परेको थियो ।

अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

उपप्रधानमन्त्री महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री दाहाल भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदमा तेस्रो कार्यकालका लागि आज साँझ शपथग्रहण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री महासेठले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘आइडिए’ को २१औँ बैठक नेपालमा हुँदै

काठमाण्डौँ । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) को २१औँ बैठक नेपालमा हुँदै छ ।
असारको ४ देखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने भएका छन् । आइडिएको २१ औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो ।
नेपालले ६ वर्षअघि आइडिए– १९ बैठक काठमाडौंमा गर्न डिसीस्थित विश्व बैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रूपमा ‘लबिङ’ गरेको थियो ।
उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् ।
अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन् ।
विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, नौ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदै छन् ।
यस्तै, विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका तीन सयभन्दा बढी प्रतिनिधि बैठकमा सहभागी हुने सहसचिव नेपालले जानकारी दिए ।
नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो ।