देशभर मनसुन प्रारम्भ भएसँगै जोखिम न्यूनीकरणमा संवेदनशील आग्रह

काठमाडौँ । देशभर मनसुन प्रारम्भ भएसँगै यसवर्ष औसतभन्दा बढी वर्षा हुने र १८ लाखभन्दा नागरिक प्रभावित हुने सरकारको आङ्कलनबाट नागरिकको जीउधनमा पर्नसक्ने जोखिमप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मनसुनजन्य विपद्को न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा रेडक्रसका अधिकारीहरूसँग परामर्श गरेको छ ।

नेपालमा पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्को घटनाबाट ३ हजार ५२ जनाको मृत्यु, ७९१ जना हराइरहेका र ४ हजार १७६ मानवीय क्षति भएको आयोगको भनाइ छ ।

२०८० सालमामात्र मनसुनजन्य विपद्बाट ६३ जनाको मृत्यु, ६९ जना घाइते र ३० जना हराइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । मनसुन सुरु भएसँगै २०८१ सालको प्रारम्भमा ताप्लेजुङ जिल्लामा जनधनको क्षति भइसकेको छ ।

तराई मधेसको सीमावर्ती क्षेत्रमा निर्माणाधीन भौतिक संरचनाले डुबान हुन सक्ने आङ्कलन गरेको आयोगले जनाएको छ ।सरकारबाट विपद् प्रभावित हिमाली तथा पहाडी जिल्लाको १४ जोखिमयुक्त स्थानको भौगर्भिक अध्ययन भएकोस तराइका अति जोखिमयुक्त ३४ स्थानमा पूर्व सूचना प्रणाली जडान भएको र गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट गठन भएको पाइएको छ । सरकारका यी प्रयासका बाबजुद खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई विपद् सुरक्षा उपकरण, पोसाक, तालिम, उत्प्रेरणालगायतको व्यवस्था पर्याप्त नभएको आयोगले जनाएको छ ।

विपद्जन्य घटनापश्चात आकस्मिक रूपमा विशिष्ट व्यक्तित्व तथा राजनीतिक दलका नेताहरुको घटनास्थनमा हुने आगमनले खोज, उद्धार र राहत वितरणको नियमित कार्यमा बाधा परेको आयोगको विगतका अनुगमनमा देखिएको भन्दै नेपालको संविधानको धारा १६ ले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै वातावरण संरक्षण र विकासबिच सन्तुलन कायम गरी मानव अधिकारमुखी विकास पद्धतिको अवलम्बन गर्न, बाढी पहिरोका कारण अवरुद्ध सडक सुचारु नीति तय गर्न, विपद् पूर्वसूचना प्रणाली मातृभाषी समुदायका लागि पहुँचयुक्त बनाउन र स्थापित पूर्वसूचना प्रणाली तथा वर्षामापन केन्द्रहरुलाई अद्यावधिक गर्न, भनेका छन् ।

संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको निष्कर्ष

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो ।

उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए ।

दुधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन

काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध कृषकहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थानलगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा ३४ जना कृषकहरुलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानीलगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौता र सहमति समेत कार्यान्वन नभएको उनीहरुको आरोप छ ।

मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाण्डौँ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा पहिरो खस्दा एउटा ट्रक (टेलर) पुरिएको छ । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख–७१४४ नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

ट्रक पुरिए पनि चालक भने सकुसल रहेको प्रहरीले जनाएको छ । ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल छन् ।

यसैबीच, पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् ।

सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेको उनले बताए । उनका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् । उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् ।

राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले विदाइ गरेका थिए ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए । राष्ट्रपति निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण थियो ।

२०७१ सालमा टेन्डर लागेको सडक कालोपत्रे अझै पनि निर्माण हुन सकेन

गुल्मी । २०७१ सालमा टेन्डर लागेको सडक कालोपत्रे अझै पनि निर्माण हुन सकेको छैन । २०७२ चैत ३० गते सम्पन्न गर्ने गरी सात करोड १९ लाख ८७ हजार ७० रुपियाँमा लोहनी एन्ड ब्रर्दश प्रालि चितवनले २०७१ असार ३१ गते सम्झौता गरेको थियो । तर अझै सडक कालोपत्रे हुन सकेको छैन ।

ठेकेदारले राजनीतिक आड र नियमन गर्ने निकायलाई प्रलोभनमा पारेर सडक निर्माणको जिम्मा लिएर दश वर्ष देखि काम नगरी अलपत्र पारेको हो । स्थानीयको दवाव पछि गुल्मीमा टेन्डर भएको झन्डै एक दशकपछि सडकको कालोपत्रेको काम सुरु गर्ने भएको छ । तम्घास – खाम्सेपानी – नयाँगाउ – नादी – सूर्यटारी सडकको अर्घाखाँची जिप पार्कदेखि जन्ते ढुङ्गा (सिस्ने हार) सम्मको सडक कालोपत्रे अव कालोपत्रे हुने भएको छ ।

पटक–पटकको ताकेता र दबाबपछि मात्र निर्माण कम्पनीले लामो समयपछि धेरै पुरानो ठेक्का अर्घाखाँची जिप पार्कदेखि जन्ते ढुङ्गासम्म करिब तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्न लागेको हो । निर्माण कार्य सम्पन्न गर्नका लागि पटक९पटक म्याद थप्दा पनि काम सम्पन्न नभएपछि अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थप गरिएको थियो ।

निर्माण व्यवसायीको लापरबाहीका कारण काम हुन नसक्दा यो सडक अलपत्र अवस्थामा रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिल ध्वज पन्थीले बताए ।

सडक कालोपत्रे हुनासाथ यस क्षेत्रका नागरिकहरूले पाएको सास्तीको अन्त्य हुनेछ । गुल्मीको रेसुङ्गादेखि प्युठानको स्वर्गद्वारी जोड्ने यो एउटा महत्त्वपूर्ण सडक रहेको भन्दै पछिल्लो समय लुम्बिनी प्रदेशको राजधानी दाङ पुग्न पनि अत्यन्तै छोटो सडकका रूपमा रहेको नगरप्रमुख पन्थीले बताए ।

यस सडक खण्डको साढे दुई किलोमिटरभन्दा बाँकी खण्डको केही ठाउँमा भने २ वर्षअघि नै कालोपत्रे भएको थियो ।

६० किलो सुन तस्करी प्रकरणः थप दुई जना पक्राउ

काठमाडौँ । ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी रहेका छन् ।

भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रवक्ता होविन्द्र बोगटीले बताए । उनीहरूको न्युरोडाम सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ ।

यो सँगै दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।

संसद् भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

काठमाडौँ । संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान अजित गोले संसद् भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

दोलखाका प्रहरी जवान गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले घटनाको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

‘बिहान ८ बजेर दुई मिनेटमा आवाज सुनिएको जानकारीमा आएको छ । घटनास्थलमा प्रहरी टोली गएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रहरी जवान गोलेले आफैँ गोली हानेर आत्महत्या गरेको भन्ने जानकारी आएको बताए । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

बाढी र डुवानका कारण १८ घर परिवार प्रभावित

काठमाण्डौ । बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति सोमवार रातिदेखि परेको पानीले कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार प्रभावित भएका प्रहरीले जनाएको छ ।

कुञ्जी राजवंशीको तीन जनाको परिवार पूर्णरुपमा विस्थापित भएका छन् । उनीहरु स्थानीय प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन् । स्थानीय देवी राजवंशी, कार्तिक राजवंशी र सञ्जय राजवंशीको परिवार डुबानका कारण जोखिममा परेका छन् ।

त्यसैगरी झापा गाउँपालिका–६ युवा टोलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अर्जुनधारा–२ लाप्चेटारमा पुष्पा समाल मगरको घरमा क्षति पुगेको छ । उनीहरुलाई पनि सुरक्षित ठाउँमा सारिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

अर्जुनधाराको वडा–२ को रातेमा मदन भण्डारी राजमार्ग उत्तरतर्फका १० घर डुबानमा परेका छन् । त्यस्तै वडा–३ मा सुखानी खोलाको कजवेमा क्षति पुगेपछि आवागमन बन्द भएको ढकालले जानकारी दिनुभयो ।

काँकडभिट्टाबाट ११ महिनामा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात तीन दशमलव ६१ प्रतिशतले घट्दा निर्यात भने १० दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । उहाँका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजारको मालवस्तु निर्यात भएको छ ।

चालु आवको जेठसम्म गत आवको तुलनामा निर्याततर्फ छुर्पी ६५ दशमलव २९ प्रतिशत, प्लाउड ५६ दशमलव ३३ प्रतिशत, अदुवा ३५ दशमलव ४५ प्रतिशत, अम्रिसो ३१ दशमलव ३४ प्रतिशत र भेनियस सिट १२ दशमलव ५७ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी कँडेलले जानकारी दिए । अलैँची दुई दशमलव ६१ प्रतिशत र चिया १३ दशमलव ४२ प्रतिशतले निर्यात घटेको उनले बताए ।

यसैगरी, पेट्रोल, फलामका सामग्री र विद्युतीय उपकरणलगायत आयातमा सामान्य वृद्धि हुँदा डिजेल, हवाई इन्धन, तरकारी, जुट, जिप्सम, कपडा, एलपिजीलयायत सामग्री आयात भने गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा घटेको छ ।

काँकरभिट्टा नाकाबाट आयात हुने पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, खाना पकाउने ग्यास, सबै प्रकारका तरकारी, जिप्सम, अलकिड रेजिन, सबै प्रकारका कपडा तथा फलफूल ९जुससमेत०, भेनियस सिटलगायत छन् ।

यो नाकाबाट अलैँची, फलामका पाता, प्लाइउड, चिया, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायत सामग्री निर्यात हुने गरेका छन् ।

देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव

काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गृहमन्त्रीमाथि सरुवा आतंक फैलाएको आरोप

काठमाण्डौँ । गृहमन्त्रीमाथि प्रहरीको चेन अफ कमाण्ड ब्रेक गरेको र सरुवा आतंक फैलाएको आरोप

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

सांसद केसीले प्रहरी ऐन विपरीत प्रहरीहरुको जथाभावी सरुवा किन गर्नुपर्यो ? भनी गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे । गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै केसीले आक्रोश व्यक्त गरे ।

गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोहरुलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको आरोप थियो ।

‘सरकारले यो सय दिनको अवधिमा मैले गृह मन्त्रालयको सय दिनको प्रस्तुति सबै पढेँ । दैनिक गर्नुपर्ने कार्यहरुको फेहरिस्त छ । तर नयाँ ढंगले जुन उत्साहका साथ, प्रतिवद्धताका साथ, जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको नयाँ टिम प्रवेश गरेको थियो । मैले सय दिनको कार्यक्रममा कुनै पनि पाइनँ,’ उनले भने, ‘मैले अघिल्लो वर्ष यही संसदबाट भनेको थिएँ– तपाइँ शिवजीको जटामा भागिरथ अड्किएजस्तो नअड्किनु होला भनेर । अहिले मैले सम्पूर्ण परिस्थिति र परिवेश त्यतैतर्फ उन्मुख भएको देखेको छु । निश्चित विधि र परिधिभित्र रहेर काम गरेको मैले चाहिँ देखेको छैन ।’

उनले अगाडि भने, ‘सय दिनमा १७ चोटि प्रहरीहरु परिवर्तन भए । ३४ सयभन्दा बढी प्रहरीहरु यो तीन महिनाको अवधिमा परिवर्तन भए । ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन् । सय दिनभित्र यत्रो परिवर्तनको आवश्यकता किन रु जब कि प्रहरी नियमावलीमा स्पष्ट रुपमा एक वर्षसम्म विशेष परिस्थिति वा उसको काममा खोट देखिएमात्रै परिवर्तन गर्न सकिन्छ, नभए भने परिवर्तन गर्न नहुन्न भन्ने छ । त्यसरी अहिले सरुवा आतंक, आतंक मात्र होइन, प्रहरी भित्रको चेन अफ कमाण्डलाई लाचार छायाँ बनाउने खालको जुन काम गरिएको छ ।’

सांसद केसीले प्रहरी भित्रको चेन अफ कमाण्डलाई आफ्नो लाचार छायाँ बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराए ।

शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाड्ने शिक्षामन्त्री श्रेष्ठकोको घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनमा भएका कामको फेहरिस्त सार्वजनिक गरेकी छिन् ।

मन्त्रालयमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री श्रेष्ठले शिक्षामा राजनीतिकरणको अन्त्य गरेर छोड्ने प्रतिबद्धता जनाईन् । उनले अहिलेसम्म ८ सय २५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेको पनि स्पष्ट पारिन् ।

यस्तै, आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको बताईन् । तीमध्ये चार जनाले सफाइ पाएको उनको भनाई छ । शिक्षा क्षेत्रको सुधारको लागि नीतिगत रुपमा नै काम सुरु गरिएको उनको भनाई छ ।

शिक्षामन्त्री श्रेष्ठ भएपछि शिक्षा क्षेत्रमा ब्यापक रुपमा सुधार भईरहेको प्रतिक्रियाहरु आईरहेका छन् ।

ताप्लेजुङका बाढीपहिरोबाट पिडीतको लागि सबै कार्य अघि बढाउने प्रतिबद्धता

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसमक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले सो जिल्लाका विभिन्न स्थानमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराएका छन् । बाढीपहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु तथा ठुलो भौतिक क्षति भइसकेको छ ।

प्रतिनिधि सभाका सदस्यहरू योगेश भट्टराई, उर्मिला थेबे, लीलादेवी बोखिम (लिम्बू) ले मङ्गलबार उपप्रधानमन्त्रीसमक्ष भेट गरी जिल्लाका दर्जनौँ घरमा भएको क्षतिले सयौँको सङ्ख्यामा मानिस विस्थापित भएको तथा पक्की, झोलुङ्गे र काठे पुल तथा सडकमा भएको क्षतिले यातायातका साधन सञ्चालन हुन नसक्ने गरी विभिन्न स्थानमा आवतजावत तथा यातायातसमेत अवरुद्ध भएको अवगत गराएका हुन् ।

भेटमा गृहमन्त्री लामिछानेले ताप्लेजुङमा परेको विपत्तिबारेमा आफू जानकार रहेको र राहत, उद्धार र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखी स्थानीय तह, प्रदेश सरकार, सङ्घका सरकारी कार्यालयसँगको समन्वय र सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन

जनकपुर। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिएकी छन् । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास (१०४) का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन् । ‘मुख्य विषय हराएका बालबालिकाको खोजी गर्नु नै हो । थुप्रै बालबालिका अहिले पनि हराइरहेका छन् । ती बालबालिकाको अवस्था के छ ?’, मन्त्री चौधरीले भनिन्, ‘त्यसैले ती बालबालिका कहाँ कुन अवस्थामा छन् ? तीनको पनि खोजी गर्नुस् ।

बालबालिकाको खोजतलासको कार्य अझै बढाउनुस् । बालबालिकाको खोजी नै हाम्रो पहिलो प्राथमिकता हो ।’ अहिलेको आँकडाअनुसार सबैभन्दा मधेश प्रदेशमै बालबालिकाहरू हराउने गरेको भन्दै उनले ६ हजार बालबालिका हराएकामध्ये ५ हजार २ सय जना मात्रै फेला परेको बताइन् । पछिल्लो ११ महिनामा मात्रै १३२८ बालबालिका हराएको र त्यसमध्ये ९९३ जना मात्रै फेला परेको उनले बताए ।

मधेस प्रदेश बढी संवेदनशील क्षेत्र भएकोले त्यसमा बढी ध्यान दिन मन्त्री चौधरीले निर्देशन दिइन् । विगतमा हराएका बालबालिकाहरूमध्ये एभरेजमा ६०-७० प्रतिशत भेटिएको देखिने बताउँदै उनले यी घटनालाई कम गर्नका निम्ति अझै धेरै काम गर्न आवश्यक रहेको बताइन् । मन्त्री चौधरीले समस्याको समाधान खोज्नुपर्ने बताइन् । ‘यी घटनाहरू भई रहनुमा कारण के हो त ? परिवार हो कि ? समाज हो कि ? खानपान वा अन्य कारण के हो ? परिवारभित्रको कलह वा अन्य कारण हो कि ? यी कुराहरू पनि खोज्न जरुरी छ’, उनले भनिन्, ‘७५३ पालिका र सात वटै प्रदेशमा यी कामहरू गर्न आवश्यक छ । त्यसका निम्ति नीति बनाएर काम गर्न सरकार तयार छ ।’ मन्त्रालयले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएको भन्दै जो संघ, प्रदेश र स्थानीय तह मिलेर कार्यान्वयन हुनेछ भनिन् । छोरीहरूलाई आत्मनिर्भर बनाउने खालको कार्यक्रम ल्याउनुपर्ने उनले बताइन् । ‘छोरीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक छ । उनीहरूलाई सीपमूलक कार्यक्रमहरू चाहिन्छ । सँगै सिड मणि पनि चाहिन्छ । यो कुरामा हामीले एक भएर काम गर्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन, ‘किनभने आत्मनिर्भर नहुँदासम्म यस्ता खाले घटनाहरू, हिंसाहरू भइरहनेछन् ।

यस्ता कार्यक्रम ल्याएमा केही न केही रूपमा हामीले आत्मनिर्भर बनाउन सक्छौँ ।’ नेपालमा अझै पनि बालबालिका केन्द्रित शिक्षण सिकाइ नभएको भन्दै उनले त्यसमा पनि जोड दिन आवश्यक रहेको बताइन् । उनले बालगृहमा वा बाल सुधार गृहमा के भइरहेको छ भन्ने कुराको अध्ययन, अनुगमन गर्नुपर्ने बताइन् ।

‘त्यहाँ बस्दै आएका बच्चा साँच्चिकै कस्तो अवस्थामा छ भनेर अनुगमन निरीक्षण गर्न आवश्यक छ । बालगृहको नाममा कतै नराम्रो काम भइरहेको छ कि ? यसमा अरू कोही मिलेमतो छ कि ? यस्ता कुराहरूमा अनुगमन मूल्याङ्कन गर्न आवश्यक छ । समस्या कहाँ छ ? त्यसको कारण पत्ता लगाएर जान आवश्यक छ’, मन्त्री चौधरीले भनिन् ।

बालबालिका सम्बन्धी ऐन २०६५ बालबालिका सम्बन्धी नियमावली २०७८ बाल न्याय सम्पादन कार्यविधि २०७६ ल्याएको, बाल नीति २०८० पनि पारित भएको उनले बताइन । मन्त्री चौधरीले भनिन, ‘पहिले जिल्ला जिल्लामा बाल कल्याण समिति थियो । तर अहिले त्यो स्थानीय तहमा वा प्रदेशमा गएको छ ।