गर्मी बढेपछि विद्यालय बन्द हुँदै

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विगत केही दिनदेखि बढेको गर्मीले पठनपाठन प्रभावित भएको भन्दै बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको हो ।

कमलामाई नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीले जनजीवन प्रभावित भई बालबालिका घरबाट विद्यालयसम्म आउन कठिनाइ भएकाले जेठ ३१ गतेदेखि असार ५ गते बुधबारसम्म एक साताका लागि गर्मी बिदा दिएको जनाएको छ ।

उक्त निर्णयसँगै पालिकाभित्रका ८४ वटा सामुदायिक विद्यालय र २४ वटा संस्थागत विद्यालय बन्द भएको र उक्त गर्मी बिदा वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको कार्यवाहक नगर प्रमुख मञ्जु देवकोटाले जानकारी दिए ।
यसअघि ह्वात्तै गर्मी बढेपछि तराईका जिल्लाका बिद्यालयहरु बन्द भएका थिए ।

वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नुपर्ने निणर्यप्रति सांसदहरुको आपत्ति

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नुपर्ने निणर्यप्रति सांसदहरुले आपत्ति जनाएका छन् ।

सांसदहरुले गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै उक्त निर्णय तत्काल रोक्न माग गरेका छन् । देशभरका जिल्ला प्रशासन कार्यालयमा पुग्न ज्येष्ठ नागरिक, बिरामी र अशक्त व्यक्तिहरुले खेपेको हैरानीप्रति सांसहरुले विहीबार गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

सांसद ऋषिकेश पोखरेलले पूर्वतयारी बिना नै आगामी वर्षको लागि सामाजिक सुरक्षा भत्ता लिन लाभग्राहीलाई विवरण नवीकरणको दुईवटा सर्त राखेर सर्कुलर पठाउँदा ज्येष्ठ नागरिक, अशक्त र बिरामीले पीडा खेप्नुपरेको बताए । भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्ने र साउन महिनाभित्र विवरण भरेर पठाइसक्नुपर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सुर्कलरले समाजमा आतंक सिर्जना गरेको भन्दै तत्काल त्यसलाई रोक्न र आगामी वर्ष पूर्वतयारी गरेर मात्र प्रकृया अगाडि बढाउन माग गरे ।

‘परिचयपत्र नम्बर राख्नु राम्रो कुरा हो । तर, सरकारले पूर्वतयारी बेगर आज सामाजिक आतंक सिर्जना गरेको छ । बिरामी, अपांग र ज्येष्ठ नागरिकहरुले दुःख पाइरहनुभएको छ, यसलाई तत्काल रोकेर अर्को वर्ष हरेक घरमा बायोमेट्रिक गर्ने टोली पुग्ने वातावरण निर्माण गरेर मात्र पूर्व तयारीसहित प्रक्रिया अगाडी बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’ सांसद पोखरेलले भने ।

संखुवासभामा पहिरोः तीन घर बगायो

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते हुनुभएको उनले बताए ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए । उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ ।

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब रु एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ । रासस

कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज पेशी

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा आज पेशी तोकिएको हो।

उक्त मुद्धामा यसअघि संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने जिकिर गर्दै आएका थिए । तर, उनलाई हटाएर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि कार्की सर्वोच्च पुगेका थिए ।

कार्कीले संविधानको धारा १६८ अनुसारको अन्तिम मुख्यमन्त्री आफू भएकाले हटाउने निर्णय गैरसंवैधानिक भएको जिकिर गरेका छन् । उक्त रिटमा एकल इजलासले पाँचवटा संवैधानिक विवादका प्रश्नहरू निरूपण हुनुपर्ने भन्दै लिखित जवाफसहित छलफलमा बोलाएको थियो ।

कार्कीका कानुन व्यवसायीहरूले आजदेखि बहस सुरु गर्ने छन् । उनीहरूको बहस सकिएपछि सरकारी वकिलहरूले बहस गर्ने छन् । सरकारी पक्षपछि मुख्यमन्त्री कार्कीका तर्फबाट बहस हुने छ ।

टी-२० विश्वकपः न्यूजिल्याण्डलाई हराउँदै वेस्ट इन्डिज सुपर आठमा

काठमाण्डौँ । वेस्ट इन्डिज जारी टी -२० विश्वकपको सुपर ८ मा पुगेको छ। बिहीबार बिहान सम्पन्न समूह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्यूजिल्याण्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको हो।

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन मात्र बनाएको थियो। न्यूजिल्याण्डका लागि ग्लेन फिलिपले सर्वाधिक ४० रन बनाए भने फिन एलेनले २६ तथा मिचेल सेन्टनरले अविजित २१ रन बनाएका थिए।

त्यस्तै वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले ४ र गुडाकेश मोतिले ३ विकेट लिएका थिए। यस अघि पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि शेरफान रुथरवूडले सर्वाधिक ६८ रन बनाएका थिए। त्यसै गरी न्यूजिल्याण्डका बलर ट्रेन्ट बोल्टले ३ तथा टिम साउदी र लुकी फर्गुसनले २-२ विकेट लिएका थिए।

यो जितपछि वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर ६ अङ्क सहित समूह सी बाट सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ। त्यस्तै न्यूजिल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ र सुपर आठको यात्रा सङ्कटमा परेको छ। यस समूहमा अफगानिस्तानले २ खेलमा दुवै जित हासिल गरेर ४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ।

अब अफगानिस्तानले शुक्रबार पिएनजीविरुद्धको खेलमा जित हासिल गरेमा सुपर आठमा पुग्ने छ भने न्यूजिल्याण्ड सुपर आठको दौडबाट बाहिरिने छ। न्यूजिल्याण्डले अब तेस्रो खेल शनिबार युगान्डासँग खेल्ने छ । त्यस्तै वेस्ट इन्डिजले भने जुन १८ मा अफगानिस्तानसँग खेल्ने छ।

उपत्यकाको तापक्रम आज पनि उच्च रहने

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने भएको छ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बिच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ । मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमतीमा बोहराको आगमन सँगै गोकर्णदेखि बल्खुसम्मका कामले रफतार लिदै

काठमाण्डौँ । गोकर्णदेखि बल्खुसम्म सिसीक्यामरा र डाइमाक्सड जडान हुने भएका छन् । फोहोर ब्यवस्थापन गर्न सहज हुने तथा अपराधिक घटनाहरु न्यूनिकरण गर्न सिसीक्यामेरा र डाइमाक्स जडान हुने भएको बताइएको छ ।

खासगरी बागमती र यसका सहायक नदी सरसफाइ गर्दै संरक्षण तथा सही ढङ्गले ब्यवस्थित गर्न सिसीक्यामेरा जडान गर्ने अभियान चलाईने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक रबिन्द्र बोहोराले जानकारी दिए ।

साथै बागमती नदीको सौन्दर्यता बढाउन तीनकुने पुलदेखि बल्खुसम्म छुटेका भागहरुमा सरसफाइ गर्दै रात्रिकालिन उज्यालो बनाउने अभियान सुरुवात गरिने भएकाले रोपिएको फुल र बिरुवाहरुले बागमती नदि छेउछाउमा सजिसजाउ गरिए जस्तै सुन्दर त हुन्छ नै आयोजनाले थप सुरक्षाका लागि समेत आवश्यक्ता अनुसारका काम अगाडी बढाईएको सदस्य सचिव बोहराले बताए । टुकुचा प्रशोधन केन्द्रको निर्माण कार्य पनि तिब्र गतिमा अगाडी बढाईरहेको जनाईएको छ ।

पछिल्लो समय अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बगमती नदी तथा आसपासका खोलाहरुको संरक्षण र सरसफाईमा विशेष ध्यान पुर्याउदै आएको छ । पहिला पनि यस कार्यालयमा प्रमुखको भुमिकाका रहेका बोहराले छोटो कार्यकालमा स्मरणयोग्य काम गरेका थिए । उनले लामो समय काम गर्न पाएका थिएनन् । यस बीचमा मन्त्रालयबाट डेढ महिना अघि जिम्मेवारी पाएका उनले कामको रफतारलाइ अगाडि बढाइसकेका छन् ।

तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको धर्मदेवी नगरपालिका-४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले विद्यालयको खानेपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै बुधबार प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यविरुद्ध मुद्दा दायर गरेको हो ।

विद्यालयले प्रदेश सरकारबाट खानेपानी योजना र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट कुनै पनि काम नै नगरी बिल भरपाई मिलाई अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार प्रधानाध्यापक भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीलाई ८ लाख ३ हजार ४५५, तत्कालीन शिक्षक मण्डललाई ३ लाख ४३ हजार र प्रेस सञ्चालक शाक्यलाई ४ लाख १० हजार ४५५ रुपैयाँ जरिवाना र त्यति नै बिगो असुल उपर गर्न माग गरिएको छ ।

नेप्से बढेसंगै, कारोबार रकम पनि बढ्यो

काठमाडौ । नेप्से परिसूचकले निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको छ । गत सोमबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
बुधबार नेप्से परिसूचक ६.३७ अंक बढेर २१२१.६२ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंक बढेको छ ।

नेप्सेमा आज कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ५५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१२ स्टकको ७४ हजार ८५८ पटकको कारोबारमा ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयर कारोबार भएको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन गण्पति माइक्रोफाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य यस दिन साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको करिब साढे २४ करोडको शेयर खरिदबिक्री भएको छ भने ग्रीनलाइफ हाइड्रोपावरको करिब २० करोडको शेयर किनबेच भएको छ

अमेरिकी राष्ट्रपति बाइडनका छोरा अवैध बन्दुक मामिलामा दोषी ठहर

अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडन बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । डेलावेयरमा दर्ता भएको तीन मुद्दामा उनी दोषी पाइएका हुन्।

बीबीसीका अनुसार २१ सदस्यीय इजलासले हन्टर बाइडनलाई २०१८ मा बन्दुक खरिद गर्दा आफ्नो लागूपदार्थ सेवनबारे फारममा गलत जानकारी दिएको भन्दै दोषी ठहर्‍याएका हुन्।

हन्टरमाथि लगाइएको आरोपमा उनलाई २५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ। ५४ वर्षीय हन्टरविरुद्ध गलत बयान दिएको र अवैध रूपले बन्दुक राखेको आरोप लगाइएको थियो। जसमा उनी दोषी पाइएका हुन्।

अमेरिकामा बन्दुक खरिद गर्दा झूठो बयान दिएमा १० वर्षसम्मको जेल सजाय हुन सक्ने प्रावधान छ भने कुनै व्यक्ति जसलाई लागू औषधको लत लागेको र अवैध रूपले बन्दुक राख्छ भने उसलाई पनि १० वर्षको जेल सजाय हुन सक्छ।

देशभर गर्मी बढ्यो : जनजीवन कष्टकर, सावधानी अपनाउन विज्ञको सुझाव

काठमाडौं । धनगढी, भैरहवा, नेपालगन्ज, सिमरालगायत स्थानको तापक्रम एक सातायता ४० डिग्री सेल्सियस नाघ्न थालेको छ । विशेषगरी, पछिल्ला दिनमा बढेको आगलागी, प्रदूषण तथा खडेरीका कारण गर्मी बढिरहेको छ ।

गर्मी धेरै बढेकाले जल तथा मौसम विज्ञान विभाग अन्तगर्तकाे मौसम पूर्वानुमान महाशाखाले मंगलबार चेतावन समेत दिइसकेकाे छ । मंगलबारदेखि बिहीबारसम्म तातो हावा तथा लू चल्ने सम्भावना रहेको महाशाखाले पुर्वानुमान गरिसकेकाे  छ ।

गर्मीकाे चपेटामा परेका नेपालीहरू अहिले वर्षाकाे प्रतिक्षामा रहेका छन् । यद्धपी साेमबारदेखि नेपालमा मनसुन प्रणाली भित्रिसकेकाे छ । नेपालको कोशी प्रदेशको पूर्वी भू-भागमा आगमन भएको हाे । तर काठमाडौँ उपत्यकामा मनसुन भित्रन भने केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना रहेकाे छ । काठमाडाैंको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएकाे छ । आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केहि स्थानमा वर्षा हुने सम्भावना रहेकाे छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएकाे हाे।

यसैगरी, सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

शुक्रबारसम्म नै कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले पुर्वानुमान गरेकाे छ। आगामी तीनदिनसम्म कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका -थोरै स्थानहरूमा तथा बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको छ।

जेनेभा पुगे राष्ट्रपति पौडेल, यस्ता छन् कार्यक्रम

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

मंगलबार काठमाडौंबाट प्रतिनिधिमण्डलसहित कतारको दोहा प्रस्थान गरेका राष्ट्रपति बुधबार बिहानमात्रै त्यहाँबाट जेनेभा प्रस्थान गरेका थिए। दोहाबाट बिहान कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेका थिए। जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको सचिवालयले जनाएको छ। 

जेनेभामा आज राष्ट्रपति पौडेलले स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार(भोलि) सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्। 

यस्तै,भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि असार १ गते जेनेभाबाट बर्लिन प्रस्थान गर्ने राष्ट्रपति पौडेलको कार्यक्रम छ। जर्मनीका राष्ट्रपति फ्रैङ्क वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन्। 

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इन्स्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो-साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । असार २ गते गैरआवासीय नेपाली सङ्घ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संङ्ख्या बढ्यो

काठमाण्डौँ । नेपालमा डेबिड कार्ड प्रयोगकर्ताको संङ्ख्या २ बर्षको अबधिमा १९ लाख बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७९ असार देखि २०८१ बैशाखसम्म डेबिड कार्ड प्रयागकर्ताको संङ्ख्या १९ लाख बढेको हो ।
यो सँगै २०७९ असार मसान्तसम्म कुल १ करोड ८ लाख रहेको डेबिड कार्ड प्रयोगकर्ताको संङ्ख्या २०८१ बैशाख मसान्तसम्म १ करोड २७ लाख पुगेको छ ।

यस्तै, यसअवधिमा डेबिड कार्ड मार्फत ९७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारेबार भएको राष्ट्र बैंकले जनाएको छ ।
डेबिड कार्ड सँगै नेपामा क्रेडिट कार्ड प्रयोगकर्ताको संङ्ख्या पनि बढेको छ । २०७९ असार मसान्तसम्म २ लाख ३८ हजार रहेको क्रेडिट कार्ड प्रयोकर्ताको संङ्ख्या २०८१ बैशाख मसान्तसम्म २ लाख ८६ हजार रहेको छ ।

जसपा नेपालको अध्यक्षमा यादव

काठमाण्डौँ । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भएको छैन ।

विभिन्न निकायमा कार्यरत १७ जना उपसचिवको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १७ जना उपसचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरवार विशेष ब्यूरोलाई प्राप्त विवरण अनुसार शिक्षा विकास तथा समन्वय इकाई, इलामका उपसचिव तारानाथ निरौलालाई भाषा आयोगमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा रही कामकाजका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश पठाइएको उपसचिव तारा ज्ञवालीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)मा फिर्ता ल्याइएको छ ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका उपसचिव टेक बहादुर अर्याललाई अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव वैकुण्ठ प्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका उपसचिव राम कृष्ण श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।
सङ्घीय मामिला तथासामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का उपसचिव चिरञ्जीवी नेपाललाई सङ्घीय मामिला तथासामान्य प्रशासन मन्त्रालयमा, सङ्घीय मामिला तथासामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)की मन्दिरा पोखरेल काफ्लेलाई मुस्लिम आयोगमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)की उपसचिव सुशीला पौडेल दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका उपसचिव मनोज रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ९अतिरिक्त समूह०का उपसचिव पुष्कर भट्टराईलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का उपसचिव लिलाधर अवस्थीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय वा अन्तर्गतमा सरुवा गरेको छ ।
रक्षा मन्त्रालयकी उपसचिव कविता निरौला ढुंगेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गतका उपसचिव दिपक ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका उपसचिव धर्मेन्द्र कुमार झालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मा दरवन्दी रही कामकाजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत पठाईका उपसचिव राजु खनाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मै फिर्ता, जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल केमिष्ट शंकर प्रसाद पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गतका सिनियर डिभिजनल केमिष्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मा सरुवा गरेको गरिएको छ ।