बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) प्रतितोला एक लाख ४१ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको हो ।      

छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँ रहेको छ ।                                         

यता, चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

अनुगमन टोलीमाथि नै ‘रकम बार्गेनिङ’को आरोप


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट बजार अनुगमनमा खटिएका निरीक्षण अधिकृतलगायतका कर्मचारीमाथि रकम बार्गेनिङको आरोप लागेको छ ।
पछिल्लो समय विभागले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा गरेको बजार अनुगमनमा विभागका कर्मचारीहरूले रकम माग गरेको र विभिन्न बहाना बनाएर बार्गेनिङ गरेको आरोप व्यवसायीहरूले लगाएका छन् ।
विभागले दैनिक रुपमा ५ देखि ७ टोली बनाएर काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न पसल, पानी उद्योगलगायतका स्थानमा अनुगमन गरीरहेको छ । सबै टोलीमा गरेर झन्डै चालिस कर्मचारी अनुगमनमा खटिँदै आएका छन् ।
विभाग केही समयदेखि महानिर्देशकविहीन अवस्थामा रहेको थियो । महानिर्देशक नभएको समयमा नै अनुगमनमा खटिएका कर्मचारीहरूले रकमको बार्गेनिङ गरेको व्यवसायीको आरोप छ ।
अनुगमनमा खटिएका कर्मचारीहरूले केही सानो त्रुटि फेला परे पनि ठूलै अपराध गरेको जस्तो व्यवहार गर्ने र माथि मिलाउनुपर्ने भन्दै अप्रत्यक्ष रूपमा पैसाको बार्गेनिङ गर्ने गरेको पीडित व्यवसायीको गुनासो छ । विशेष गरी काठमाडौंका लाजिम्पाट, गैरीधारा, बूढानीलकण्ठ, ललितपुरका जावलाखेललगायत विभिन्न क्षेत्रका र भक्तपुर क्षेत्रका व्यवसायीले विभागका टोलीहरूले अशिष्ट व्यवहार गर्दै अप्रत्यक्ष रूपमा रकमको बार्गेनिङ गरेको आरोप लगाएका हुन् । विभागको अनुगमन टोली हाल स–साना व्यवसायमा केन्द्रित रहेको छ ।
विभागमा निर्देशकका रूपमा रहेका केही उपसचिवहरू पनि अनुगमन र सेटिङ धन्दामा लागेको व्यवसायीले आरोप लगाएका छन् । लाजिम्पाट क्षेत्रका एक व्यवसायीले विभागका कर्मचारीले साना व्यापारीहरूलाई दुःख दिएको र ठूला व्यापारीलाई केही पनि गर्न नसकेको बताएका छन् ।
विभागले बजार अनुगमनका लागि दश प्लस दुई अवधारणा ल्याएको भए पनि त्यो सफल हुन सकेको छैन । विभागका केही निर्देशकहरूसँगको मिलेमतोमा निरीक्षण अधिकृतलगायतका कर्मचारीहरूले बार्गेनिङको प्रयास गरेको भन्दै व्यवसायीले त्यसको जानकारी महानिर्देशकलाई गराउने बताएका छन् । उनीहरूले वाणिज्य सचिवको अध्यक्षतामा रहने केन्द्रीय अनुगमन समितिमा समेत आफूहरूले उजुरी गर्ने बताएका छन् ।
यसरी नै दुःख दिने र रकमको बार्गेनिङ गर्ने क्रम बढाएमा त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिने उनीहरूको भनाइ छ ।
विभागले भने नियमित कार्यक्रमअनुसार नै बजार अनुगमनलाई जारी राखिएको बताएको छ । विभागले आफ्नो वेभसाइटमार्फत् दैनिक बजार अनुगमनको प्रगति सार्वजनिक समेत गर्दै आइरहेको छ ।
विभागका सूचना अधिकारी तथा निर्देशक राकेश पाण्डेले विभागका निरीक्षण अधिकृतलगायतका कर्मचारीबाट नियम अनुसार नै अनुगमन भइरहेको र बार्गेनिङ गरेको भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरे ।
उनले अनुगमनमा खटिएका कुनै कर्मचारीले बार्गेनिङ गरेको प्रमाणसहित कतैबाट उजुरी आएमा त्यस्ता कर्मचारीलाई कडा कारबाही गरिने समेत बताएका छन् ।

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी (हेर्नुहोस् सूचना)

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी भर्ना गर्ने तयारी गरेको छ। सूचना जारी गर्दै विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो।

विभागले सहायक सूचक पदमा २३४ जना, सुरक्षा गार्डमा १६ जना तथा परिचरमा २ जनाका लागि दरखास्त आह्वान गरिएको जनाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने विभागले जनाएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ। त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

ताल निर्माणमा भ्रष्टाचारः विशेष अदालतमा मुद्दा दायर

काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा चर्चित भरत ताल निर्माणमा ३० करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

संघीय सरकारको स्वीकृतिविना वन क्षेत्रमा माछापोखरी बनाउने भनेर परियोजना अघि बढाई त्यसबाट ढुंगा, गिटी, बालुवाको दोहन गरेको अख्तियारको दाबी छ।

ताल निर्माणमा भ्रष्टाचार भएको र त्यसमा संलग्न रहेको आरोपमा अख्तियारले मेयर भरतकुमार थापाविरुद्ध मुद्दा दायर गरेको छ। उनीविरुद्ध दुई महिनाअघि मात्र पाँच करोड ३३ लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा अख्तियारले दायर गरिसकेको छ। मुद्दा विशेष अदालतमा विचाराधीन छ। दुई महिनामा उनीविरुद्ध दोस्रो मुद्दा लागेको छ।

यस मुद्दामा अख्तियारले नगरपालिकाकी उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र सर्लाहीको जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथु चौधरीलाई प्रतिवादी कायम गरेको छ । उनीहरूविरुद्ध जनही ३० करोडको बिगो मागदाबी अख्तियारले गरेको छ।

प्रतिवादीहरूले मिलेमतोमा बदनियत राखी संघीय सरकारअन्तर्गतको सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृतिविना अनधिकृत रूपमा माछापोखरी निर्माणका लागि ढुंगा, गिटी, बालुवा उत्खनन गर्न प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको गलत प्रतिवेदन तयार गरेको अख्तियारको आरोप छ।

नगर कार्यपालिकाबाट माछापोखरीको डिपिआर तयार गरेको देखाएर बहुउद्देश्यीय माछापोखरी निर्माण गर्ने कार्यको गुरुयोजनासमेत स्वीकृत नगरेको अख्तियारको दाबी छ । बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई माछापोखरी (हाल भरत ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजनाअन्तर्गत वन क्षेत्रमा नेपाल सरकारको स्वीकृतिविना दुईवटा माछा पोखरीबाट ४७ लाख दुई सय ८५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गरेको देखिएको छ।

त्यसमध्ये सात लाख ५२ हजार घनमिटर बिक्री गरी सात लाख ५० हजार एक सय ४३ घनमिटर आयोजनामा प्रयोग गरी भण्डारणमा रहेको १८ लाख ५७ हजार सात सय १२ घनमिटरसहित ३३ लाख ५९ हजार आठ सय ६५ घनमिटर मात्र खर्च तथा मौज्दात देखिएको छ।

बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष कैद

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमतिविना शारीरिक सम्पर्क राखेको ठहर गर्दै यो सजाय सुनाएको हो । अदालतले जरिवानाको रूपमा तोकिएको ३ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरूप प्रदान गरिने छ । गिरीलाई यसअघि जेठ १३ गते दोषी ठहर गरिएको थियो । सर्वोच्च अदालतको आदेशले उनी यसअघि नै थुनामा रहेका थिए ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीको सहमतिविना शारीरिक सम्पर्क राखेको आरोपमा गिरीविरुद्ध मुद्दा दायर भएको थियो ।

अष्ट्रेलिया ‘सुपर–८’ मा प्रवेश, नामिबिया ९ विकेटले पराजित

एजेन्सी । उपाधि दाबेदार अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकप २०२४ मा नामिबियालाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितले समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै सुपर-८ मा पुगेको छ ।

जित्नलाई ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । ट्रविस हेड १७ बलमा ५ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । डेविड वार्नर ८ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । मिचेल मार्श ९ बलमा ३ चौका र १ छक्कासहित १८ रनमा नट आउट रहे । डेविड विजाले १ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १७ ओभरमा ७२ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेराल्ड इरास्मसले ४३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए । माइकल भान लिंगेनले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुड र मार्कस स्टोइनिसले २–२ विकेट लिए । प्याट कमिन्स र नाथन एलिसले १-१ विकेट लिए ।

समूह बी मा अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । अष्ट्रेलियाले ओमानलाई ३९ र इंग्ल्यान्डलाई ३६ रनले हराएको थियो । अष्ट्रेलियाले १६ जुनमा स्कटल्यान्डसँग खेल्नेछ ।

स्कटल्यान्ड ३ खेलमा २ मा जित र एक खेलमा अंक बाड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ ।इंग्ल्यान्ड २ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । ओमान ३ खेलमा जित विहीन हुँदै बाहिरी सकेको छ ।

समूह डी मा दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ सुपर-८ मा स्थान पक्का गरेको छ । अन्य टोलीले भने सुपर ८ मा आफ्नो स्थान पक्का गर्न बाँकी छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् ।

वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द

काठमाडौं । टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । बिहानैदेखि वर्षा भएपछि लडरहिलस्थित ब्रोवार्ड क्रिकेट रंगशालामा खेल बिनाटस नै रद्द भएको हो ।

नेपाली समयअनुसार बिहान सवा ५ बजे खेल सुरु हुने तालिका थियो । तर वर्षा नरोकिएपछि खेल रद्द भएको आधिकारिक घोषणा गरिएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीलाई १–१ अंक बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस नतिजापछि श्रीलंका समूह चरणबाटै बाहिरिने निश्चित भएको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमशस् दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो

नेपाली टोलीले अब क्यारेबियनको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।

यस्तो छ तपाईंको ३० जेष्ठ २०८१, बुधबार (आज)को राशिफल

मेष : रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

वृष : नयाँ यात्रा गर्ने योग छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। स्वास्थ्य क्षेत्रमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। धेरै समय अरुलाई दिँदा घरमा विवाद हुने जोखिम देखिन्छ। अप्रिय खबर सुन्नुपर्ने बाध्यतासमेत बन्नेछ।

मिथुन : समय रमाइलो छ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बलले भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। स्वदेशमा अवसर प्राप्त हुनेछ। तपाईंको कामले धेरै मानिस प्रभावित हुनेछन्।

कर्कट : धन कमाउने योग छ। व्यापारमा लगानी गरेको भए राम्रो उन्नति हुनेछ। आफन्तको माया प्राप्त हुनेछ। विदेशमा गरेको लगानीले विवाद हुनेछ। मनमा उब्लिने शंका र उपशंकाले निर्णय क्षमता कमजोर बन्नेछ।

सिंह : परिवारले शंका गर्ने समय छ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। बाहिर तपाईंको प्रभाव राम्रो भए पनि घरभित्र विवाद बढ्ने देखिन्छ।

कन्या : सम्मान प्राप्त हुनेछ। अतिथिको रुपमा तपाईंले अवसर प्राप्त गर्नुहुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।
परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। साथीको कुरा सुन्नु राम्रो हुन्छ। ठुलो वा विज्ञसँग सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ। मिठो खान पाइने छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। जिम्मेवारी नै भार हुनेछ। संघर्ष गरेर जिम्मेवारी पूरा गर्नु राम्रो हुन्छ। विज्ञसँग सल्लाह लिएर गरेको काम सफल बन्नेछ। सामाजिक सेवा गर्ने अवसर प्राप्त हुनेछ।

धनु : राम्रो सन्देश सुन्न पाइनेछ। शुभ समाचारले मन खुशी हुने दिन छ। परिवारसँगको भेट रमाइलो हुनेछ। होटल व्यवसायमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। मन अशान्त हुनेछ। आफन्तले असहयोग वा धोका दिने जोखिम देखिन्छ। तपाईंमा रहेको साढेसातीको प्रभावले जुनसुकै काम गर्दा पनि अवरोध सिर्जना गरिरहेको हुन्छ।

कुम्भ : बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। लगानी भए शिक्षाको माध्यमबाट सफलता प्राप्त हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

मीन : खानपानमा समस्या हुनेछ। मनमा तनाव भए पनि सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सक्रिय भएकाले खुशी मिल्नेछ। परोपकारको अवसर प्राप्त हुने भएकाले दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

भरत ताल बनाउँदा ३० करोड घोटाला : मेयर, उपमेयर र प्रमुख प्रशासकीयविरुद्ध मुद्दा

काठमाडौँ। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । सर्लाहीमा चर्चित भरत ताल निर्माणमा ३० करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार संघीय सरकारको स्वीकृतिविना वन क्षेत्रमा माछापोखरी बनाउने भनेर परियोजना अघि बढाई त्यसबाट ढुंगा, गिटी, बालुवाको दोहन गरेको अख्तियारको दाबी छ।

अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । यसैगरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध पनि ३० करोड २९ लाख रुपियाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मागदाबी गरिएको जानकारी अख्तियारका प्रवक्ता घिमिरेले दिनुभयो ।

इन्जिनियर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो सजाय र जरिवाना 

काठमाडौँ । यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौँका तत्कालीन उपसचिव सुन्दर भट्टराईलाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ ।

सार्वजनिक सेवा प्रवेश गरेको १ साउन ०३८ देखि ०७५ मंसिर मसान्तसम्मको उनको आम्दानी र खर्चबारे अख्तियारले विश्लेषण गरेको थियो । न्यायाधीशहरू खुशीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए । ​ साथै उनले १४ लाख ७४ हजार १६९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको विशेषको ठहर छ ।

भट्टराईलाई तीन महिना कैद र बिगो बमोजिम जरिवाना हुने गरी फैसला भएको विशेष अदालतका सूचना अधिकारी रेग्मीले जानकारी दिएका छन् ।​

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रामजानकी दलित आधारभूत विद्यालयको भवन निर्माण गर्दा १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूलाई अख्तियारले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नवराजपुर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शोभा कुमारी यादव, योजना शाखाका प्रमुख रमेशकुमार निधि, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह, सव(इन्जिनियर सन्तोषकुमार यादव, जिन्सी प्रमुख सञ्जय प्रसाद यादव, उपभोक्त समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल, सचिव रामभरोस मुखिया मलाह रहेका छन् ।

सहकारी घोटालाः ७ जना आरोपित कारागार चलान

काठमाडौँ । कावासोतीस्थित छिपछिपे सहकारी संस्थामा भएको १६ करोड ५८ लाख घोटालाका आरोपित ७ जनालाई सोमवार कारागार चलान गरिएको छ । अदालतको आदेशपछि प्रहरी हिरासतमा रहेका उनीहरूलाई भरतपुर कारागार चलान गरेको हो । पूर्वी नवलपरासी प्रहरीका अनुसार अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राख्न पर्ने ७ जनालाई सोमवार बिहान भरतपुर कारागार चलान गरिएको हो ।

पूर्वी नवलपरासीमा कारागार नभएका कारण उनीहरूलाई छिमेकी जिल्ला चितवनको भरतपुर कारागार पठाइएको हो । जिल्ला विभाजनपछि पूर्वी नवलपरासीमा कारागार छैन । यहाँका थुनुवालाई नजिकको चितवन कारागार पठाउने गरिएको छ ।

न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवस्थापक योगेन्द्र पाण्डे, नगेन्द्र बहादुर रिमाल, संजिवकुमार महतो, कृष्ण प्रसाद ज्ञवाली, ढुण्डिराज गौतम, विकास सापकोटा र शिवलाल लामिछानेलाई कारागार चलान गरिएको हो ।

उनीहरू रकम हिनामिनाको आरोपमा २ महिना अघि पक्राउ परेका हुन् ।

‘२३ औँ सशस्त्र प्रहरी दिवस’ को उपलक्ष्यमा शौचालय हस्तान्तरण


काठमाण्डौँ । सशस्त्र प्रहरी बल नेपालको ‘२३ औँ सशस्त्र प्रहरी दिवस’ को उपलक्ष्यमा सार्वजनिक शौचालय हस्तान्त्रण गरिएको छ ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका–६ जरेखेतमा (Quick impact project) अन्तर्गत त्यहाँका सर्वसाधारण जनताको लागि सहज होस् भन्ने उदेश्यले कुल १८ लाख रुपैयाँमा निर्माण सम्पन्न गरीएको ८ कोठे सार्वजनिक शौचालय हस्तान्तरण गरीएको हो ।
बगमती प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशठाडा मगरले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई समुदउद्घाटन सहित सोमबार हस्तान्तरण गरेका हुन् ।
शौचालय निर्माणमा स्थानियतह, ब्यापारी, समाजसेबी बुद्धिजीबि लगायत स्थानियहरुले निर्माण सामग्रीका साथै प्रत्यक्ष रुपमा सहयोग गरेका थिए ।
पछिल्लो समयमा सशस्त्र प्रहरी लगायत सुरक्षा निकायले सामाजिक बिकास निर्माणमा ठूलो योगदान पुर्याउदै आएका छन् । बागमती प्रदेशमा ठाडा मगर आए सगै नयाँ–नयाँ जनस्तरबाट अपेक्षित काम गर्न सफलता मिल्दै आएको सम्पत्ति न्युजलाइ चितवनका वरिष्ठ कानुन व्यावसायि रामकृष्ण अधिकारीले बताए ।

विमान दुर्घटनामा उद्धार कार्य चुस्त र दुरुस्त बनाउन आपत्कालीन नमुना अभ्यास

काठमाडौँ । काठमाण्डौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा उद्धार कार्य चुस्त र दुरुस्त बनाउने उद्देश्यले नमुना अभ्यास गराइएको छ । सोमबार दिउँसो विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना र आपत्कालीन अवस्थाको प्रतिकार्यका लागि नमुना अभ्यास गरेको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल, एम्बुलेन्स र चिकित्सा टिमको सहभागिता थियो । अभ्यासका क्रममा कुनै काल्पनिक स्थानबाट उडेको विमानमा इन्जिन खराब भई दुर्घटनाग्रस्त भएको क्षणको उद्धार कार्यलाई देखाइएको थियो ।

सुदूरपश्चिम प्रदेशः एमाले र माओवादीबाट मन्त्री बन्दै

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएको छ ।

एमालेले प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मुख्यमन्त्रीलाई दिएको स्रोतको भनाइ छ । यस्तै माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री सोडारीले स्वतन्त्र प्रदेश सभा सदस्य डा। तारादत्त जोशीलाई समेत सरकारमा सहभागी गराएर सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार सोडारीले साँझ ५ बजे शपथ ग्रहणको व्यवस्था मिलाइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरिसकेका छन् । प्रमुख सत्ता साझेदार एमाले र माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम मुख्यमन्त्रीलाई बुझाएपनि मन्त्रालयगत भागबन्डा नमिल्दा समस्या भइरहेको छ ।

भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्रयाएर मन्त्री नियुक्त गर्ने तयारीमा रहेका मुख्यमन्त्रीलाई सत्तारुढ दलभित्रैबाट मन्त्रालय विभाजन गर्न नहुने दबाब रहेको छ ।

नाउपा मन्त्रालय विभाजनको विपक्षमा

मुख्यमन्त्री सोडारीले भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका बेला उनकै क्याबिनेटका मन्त्री विपक्षमा उभिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले मन्त्रालय विभाजनमा सहमत हुन नसकिने अडान लिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षबाट सरकारमा गएका चौधरीले मन्त्रालय फुटाउनहुन्न भन्ने पक्षमा पार्टी र आफू रहेको बताए ।