कोशीको नीति तथा कार्यक्रम आज आउँदै

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिएका छन्।

प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन्।

सर्वोच्च अदालतले माग्यो रवि लामिछानेविरुद्ध प्रहरीमा परेको जाहेरी

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता गरिएको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।सर्वोच्च अदालतले सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी पेश गर्न आदेश दिएको छ । 

सूर्यदर्शन सहकारीका वचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । सोही पूरक जाहेरी सर्वोच्चले झिकाउन आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको हो ।

गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपिठ गरिदिएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो । 

उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको थियो ।

दोहोरो अंक बढ्यो नेप्से, ४ अर्ब ३१ करोड बराबरको कारोबार

काठमाडौं । लगातार दूई कारोबार दिन घटेपछि आइतवार नेप्से १३.५१ अंक बढेर बन्द भएको छ । परिसूचक २ हजार ८३.०४ विन्दुमा पुगेको हो । आइतवारको बजारलाई हेर्दा विस्तारै नेप्से सम्हालिने प्रयासमा लागेको अनुमान गर्न सकिन्छ । यसअघि बजेट सार्वजनिक भएयता केही दिन बजार घटेको थियो ।

तर अब विस्तारै करेक्सन चक्र पूरा भएको र बजारले पुनः गति लिन सक्ने लगानीकर्ता बताउँछन । कारोबार रकमपनि केही बढेको छ । अब विस्तारै बजारमा लगानीकर्ता सक्रिय हुन थालेको देखियो ।

यद्धपि बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नुपूर्व बजारको अवस्था र कम्पनीको समग्र अवस्थालाई केलाएर लगानी गर्न जानकारहरु बताउँछन् ।

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३९ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ८५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७३ प्रतिशत वृद्धि भएको छ ।

३२५ धितोपत्रको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर ६५ हजार ६५४ पटकमा रू. ४ अर्ब ३१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागको हो । मल्टीपर्पस फाइनान्सको शेयर मूल्य रू।४९८ दशमलव ३० र मकर जितुमाया सुरी हाइड्रोपावरको रू. ४१०.३० पुगेको छ ।

आइतवार सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ग्मुाएका छन् । यस कम्पनीको शेयर मूल्य ९.१३ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू.५७७ कायम भएको छ । त्यस्तै दोस्रोमा युनिलिभर नेपालको शेयर मूल्य ७ .८८ प्रतिशत घटेर रू। ४३ हजार ६६३ मा झरेको हो ।

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू.२२ करोड ६४ लाख बराबरको कारोबार भएको छ । शेयर मूल्य प्रतिकित्ता रू.५७७ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा पोखरा फाइनान्सको रू। १८ करोड ७० लाख बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी ब्यापार समूहको सूचक ६.५६ प्रतिशत वृद्धि भएको छ भने उत्पादन तथा प्रशोधन समूहको सूचक २.४० प्रतिशत घटेको छ ।

क्रिकेटर सन्दीपलाई भिसा नदिएर अमेरिकाले नेपालमाथि अपमान गर्‍याे : ज्ञानेन्द्र शाही

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा संसदमा विरोध जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अमेरिकाले सन्दीपलाई भिसा नदिनु भनेको देशकै अपमान भएको बताए ।

उनले भने, ‘सन्दिप लामिछानेलाई भिसा नदिनु भनेको सन्दीप र नेपाली नागरिकको मात्र होइन यो सिंगो नेपालकै अपमान हो ।’ उनले भने, ‘उच्च अदालतले निर्दोष घोषणा गरेको मान्छेलाई भिसा लाग्दैन ! एक देशले अर्को देशको अस्तित्व स्वीकार गर्ने भनेको छ । के आज हाम्रो सम्बन्ध स्थापित भयो ? एउटा राष्ट्रिय खेलाडीलाई भिसा दिइएन !

यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न तयार सन्दीप लामिछानेको भिसा अमेरिकाले दोस्रो पटक पनि रिजेक्ट गरिदिएको थियो ।

बिहीबार अपराह्न ४ बजे अन्तरवार्ताका लागि महाराजगन्जमा बोलाइएका सन्दीपलाई एक महिनाभित्र दोस्रो पटक अमेरिकी दूतावासले भिसा दिन नमानेको हो । यसअघि जेठ ९ मा दूतावासले सन्दीपलाई भिसा दिन मानेको थिएन । पहिलो पटक भिसा दिन नमानेपछि सरकारको उच्च तहबाट अमेरिकी दूतावासमा पहल गरिएको थियो ।

आइसीसी टी-२० विश्वकप : पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो

काठमाडौँ। आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले १७.४ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

अमेरिकामा क्रिकेट विश्वकपको इतिहासकै पहिलो खेल खेलिएको हो । अमेरिकामा खेलिएको विश्वकपको यो ऐतिहासिक खेलमै कुल तीन सय ९१ रन बन्यो । अमेरिकाको जितमा एन्ड्रिज गौस र एरोन जोन्सले महत्त्वपूर्ण योगदान गरे ।

दुवै ओपनरलाई सस्तैमा गुमाएको अमेरिकाका लागि गौसले ६५ रन बनाए । उनले केवल ४६ बलमा तीन छक्का र सात चौका प्रहार गरे । एरोन जोन्सले पनि टोलीका लागि अविजित अविजित ९४ रनको योगदान गरे । उनले ४० बलको सामना गरी १० छक्का र चार चौका हिर्काए ।

गौस र एरोनले एक सय ३१ रनको साझेदारी गरे । अमेरिकाले खाता खोल्नुअघि नै आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान स्टिभन टेलर शून्य रनमै आउट भएका थिए । अर्का ओपनर मोनांक पटेलले भने १६ रन बनाए ।

दोस्रो विकेटका रूपमा कप्तान मोनांक पटेललाई गुमाउँदा घरेलु टोली अमेरिकाले केवल ४२ रन बनाएको थियो । त्यसपछि एन्ड्रिज गौस र एरोन जोन्सले टोलीको स्कोरलाई एक सय ७३ रनको बलियो स्थितिसम्म पुर्याएका थिए ।

कोरी एन्डर्सन तीन रनमा अविजित रहे । अमेरिकाले अतिरिक्त रूपमा पनि १९ रन पाएको थियो । क्यानडाका बलर निखिल दत्त, डिलोन हेलिगर र कलिम सानाले एक–एक विकेट लिए ।

त्यसअघि आफ्नो चिर प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध क्यानडाले गतिलो ब्याटिङ गरेको थियो । क्यानडाका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । ओपनर नवनित धालिवालले ६१ रन बनाएका थिए । उनले केवल ४४ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे ।

चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तन पनि टोलीको खातामा ५१ रन थपे । उनले केवल ३१ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । विकेटकिपर ब्याट्सम्यान श्रेयस मोभाले पनि अविजित ३२ रन बनाए । उनले १६ बलमा दुई छक्का र दुई चौका प्रहार गरे ।

ओपनर ब्याट्सम्यान एरोन जोन्सनले पनि टोलीको खातामा २३ रन थपेका थिए । क्यानडाले अतिरिक्त रूपमा पनि १० रन पाएको थियो । अमेरिकाका बलर कोरी एन्डर्सन, हरमित सिंह र अली खानले एक–एक विकेट हात पारे ।

एक महिनामा भित्रिए यति धेरै पर्यटक


काठमाडौँ । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । प्रि–कोभिड भने यस्तो सङ्ख्या ७८ हजार ३२९ जना रहेको थियो ।
सार्वजनिक रिपोर्टअनुसार यस महिना सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ४२.४४ प्रतिशतको हिस्सा हो ।
यस्तै, सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ८ हजार ३८१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ९.२९ प्रतिशत हो ।
एसियन महादीप अन्तर्गतका सार्क मुलुकहरूबाट ४३ हजार ८०३ जना पर्यटक आएका छन् भने अन्य दक्षिण एसियाली मुलुकहरूबाट १४ हजार ४२५ जना, युरोपेली मुलुकहरूबाट ११ हजार २१४ जना, सामुन्द्रिक मुलुकहरूबाट २ हजार ५१४ जना र अमेरिकी मुलुकहरूबाट ९ हजार ५४२ जना आएका छन् ।
यसै अवधिमा मध्यपूर्वी देशहरू इजरायल, टर्की लगायतका देशहरूबाट ७ हजार ७८३ जना पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ ।

मधेस प्रदेशः मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै

काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए ।

नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ ।

‘हामी आजै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि ६३ जना सांसदको हस्ताक्षरसहित जाँदैछौँ’, यादवले रातोपाटीसँग भने, ‘एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,लोसपा,सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतका सांसदको हस्ताक्षर रहन्छ ।’

यादवले लोसपा समेत नयाँ सरकार गठनको पक्षमा रहेको दाबी गरे पनि लोसपाले नयाँ समीकरणमा जाने या नजाने भन्ने निर्णय गरिसेको छैन । यो प्रदेशमा लोसपाका नौ जना सांसद छन् ।

यसअघि केन्द्रमा नयाँ समीकरण बनेसँगै एमाले र माओवादी जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट फिर्ता भएको थियो । आइतबारै नेकपा एकीकृत समाजवादीले पनि मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने तयारी गरेको छ । एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका थिए ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भएको हो ।

आइतबार छापवाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको मूल्य हालसम्मकै उच्च हो ।

आइतबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

स्रोत नखुलेको यति धेरै रकमसहित चाबहिलबाट दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको चाबहिलबाट प्रहरीले ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा भोजपुर घर भएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा छन् । सुन खरिद गर्न सो रकम ल्याएको आरोपीहरूले प्रहरीसँग बताएका छन् ।

चाबहिल स्थित गेस्ट हाउसबाट रकम सहित उनीहरू पक्राउ परेका हुन् ।

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र  भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन ।  एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हाे। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।

अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको हो ।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन् भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।

रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ ।

रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरितसमेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।

सुरुमा अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । दरपिठ भएपछि त्यसविरुद्ध उनले इजलासमा निवेदन दिएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि जेठ १४ गते रिट दर्ता भएको थियो ।

उक्त रिटमा आइतबार पहिलो सुनवाइ हुँदैछ। सर्वोच्च अदालतले कारण देखाऊ आदेशसहित अन्तरिम आदेशका विषयमा निर्णय गर्नेछ।

यार्सा टिप्न गएका मुगुका ४ जनाको मृत्यु, एक सिकिस्त

मुगु। बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका जिल्लाका चार जनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।

लेक लागेर सिकिस्त भएका १ जनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।

शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो। मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुमकार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गतेदेखि प्रवेश खुला गरेको हो।

यस्तो छ तपाईंको २० जेष्ठ २०८१, आईतवार आजको राशिफल

मेष : स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम आउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
वृष : दिन रमाइलो छ। लगानी अनुसारको आम्दानी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुने दिन छ। परिवारिक मेलमिलापको दिन रहेको छ।

मिथुन : आज कर्म क्षेत्रबाट अगाडि बढ्ने समय हो। पैतृक सम्पत्ति र पितृको आशिर्वाद लिएर गरेको लगानीबाट फाइदा मिल्नेछ। शिक्षामा सफल, स्वास्थ्यमा सुधार हुनेछ। महत्तवपूर्ण काम गर्नु अगाडि गोप्यता कायम गर्नु उपयुक्त हुन्छ। पारिवारिक दुरी बढ्नेछ।

कर्कट : पठनपाठनमा मन जानेछ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथी र आफन्तले निरन्तर साथ दिनेछन्।

सिंह : संघर्षपूर्ण दिन छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा गरको लगानी सफल हुनेछ। परिवारको साथ पाइनेछ।

कन्या : दिन रमाइलो छ। साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

तुला : तपाईंले गरेको कामको क्रेडिट अरुले लिने खतरा देखिन्छ। अरुको सहयोग गर्न लाग्दा आफूलाई घाटा हुने देखिन्छ। कुनै पनि काम गर्नु अगाडि परिवारसँग छलफल गर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा भने लफडा हुने देखिन्छ।

वृश्चिक : आफ्नै साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ। सहयोग गर्ने भन्दा तपाईंको कमजोरी खोज्ने साथी सक्रिय देखिन्छन्। न्यायपूर्वक गरेको श्रमको उचित मूल्यांकन हुनेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : काम गर्दागर्दै अचानक संकट आइपर्न सक्छ। पुरानो कुराले मनमा पश्चाताप हुनेछ। थोरै बोलेर जित्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीतर्फ मन जानेछ। अचानक रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।

मकर : आज तपाईंको जित निश्चित छ। खेल क्षेत्रमा हुनुहुन्छ भने विजय प्राप्त हुनेछ। समाजका बौद्धिक व्यक्तिसँग भेट हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा मन जानेछ।

कुम्भ : धनको दुःख नभए पनि साथीभाइको साथ गुम्दै जाने खतरा देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारलेसमेत शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्छ।

मीन : बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुनेछ। बोलीको प्रभावले काम बन्नेछन्। झुटा आरोप लाग्ने खतरा रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। साढेसातको दशा भएकाले समय अप्ठेरो देखिन्छ।

एक करोड एक लाखसहित एक जना पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारी रहेका छन् ।

सहप्रवक्ता थापाका अनुसार सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ ।

सहप्रवक्ता थापाले रकमसँगै कार र चालक अन्सारीलाई नियन्त्रणमा लिइएको बताए।

प्रारम्भिक सोधपुछमा अन्सारीले सो रकमको स्रोत खुलाउन नसकेका उनको भनाइ छ ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१-८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, आर्थिक वर्ष २०८१-८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट सार्वजनिक गरेका थिए ।