लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन्। बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन्। शपथ लिएका मध्य तिमिल्सीना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीका हुन्।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ। प्रदेशमा १२ मन्त्रालय छन्।

युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ। याे मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री स्वयंम‍्सँग छ। मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए। सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी, प्रतिपक्ष दलका नेकपा माओवादीका दल नेता तथा पूर्वमुख्यमन्त्री जाेखबहादुर महरा, सभामुख तुलाराम घर्तीलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो।

रवि लामिछानेलाई म्याद थपको लागि अदालत उपस्थित गराइँदै

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ । 

कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको म्याद आज सकिन लागेकाले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो ।  लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। उनी हाल कास्की प्रहरीको हिरासतमा छन् ।

त्यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई पनि आज अदालतमा उपस्थित गराइँदै छ । छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । उनीहरूमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको हो ।

कात्तिक ८ गते बिहीबार, यस्ताे छ तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। घरायसी आवश्यकता बढ्नाले सञ्चित रकम खर्चनुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। तर आत्मविश्वासको कमीले मनमा डर लाग्न सक्छ। शुभचिन्तकहरूको सहयाेगले फाइदा उठाउन सकिनेछ। किनमेलमा केही खर्च लागे पनि महत्त्वपूर्ण सामान जाेड्ने समय छ। वादविवादबाट टाढा रहनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्व निखार्ने हुँदा आकर्षक भइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अरूबाट फाइदाकाे आशा गर्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा खर्च गराउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। थैली नहेरी किनमेलमा लाग्दा अधिक खर्च भएकाे थाहा नहुन सक्छ। उपकरण बिग्रनाले मर्मतमा खर्च गर्नुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले लाेकप्रियता दिलाउनेछ। नयाँ कामका लागि केही भौतिक साधन पनि जुटाउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
परिस्थितिवश धेरै फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि औषधि जाेहाे गर्नुपर्ला। यात्रामा अधिक खर्च हुनेछ। अरूको विश्वास गर्दा काम रोकिन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
घुमफिर तथा मनोरञ्जनमा अलमलिनाले काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ। अनावश्यक किनमेलमा फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने देखिन्छ, सजग रहनुहोला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा पुग्न सक्छ। परिस्थिति र समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।

४० सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

विशेषगरी गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि, उद्योग लगायतका सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो। त्यस्तै प्रदेश सचिव रहेका सहसचिवहरुको पनि जिम्मेवारी हेरफेर गरिएको बताइएको छ।

ऊर्जामन्त्रीका १०० दिन दिन, यी हुन् मुख्य उपलब्धि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १०० दिन पूरा भएको छ । गत असार ३० गते उनी नेपाली कांग्रेससहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका थिए । 

 प्रधानमन्त्री ओलीको मन्त्रीमण्डलमा दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनको अवसरमा यस अवधिमा गरेका मुख्य काम र उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री खड्काको दाबीअनुसार यी हुन् मुख्य उपलब्धिहरू :

१. ऐन, कानून तर्जुमा तथा संस्थागत पुर्नसंरचना तर्फः

• राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने ऊर्जा उत्पादनका आन्तरिक स्रोतहरुको अधिकतम विकास गर्न, राज्यको आन्तरिक विद्युत खपत वृद्धि गर्न, अन्तरदेशीय विद्युत व्यापारका सम्भाव्य प्रतिफलहरु प्राप्त गर्न तथा राज्यको ऊर्जा क्षेत्रको योजनावद्ध एवं समयक्रमानुसार विकास गर्नुपर्ने आवश्यकता अनुरुप सन् २०२३ देखि २०३५ सम्मको लागि गरिनुपर्ने कार्यहरु समेटेर ऊर्जा विकास मार्गचिव तथा कार्ययोजना

२०८१” तयार गरी स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌द्मा पेश गरिएको । जलस्रोत र सिंचाइ क्षेत्रमा अध्ययन, अनुसन्धान कार्यको लागि मापदण्ड तयार गरी स्वीकृत गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि नेपाल सरकार मन्त्रिपरिषद् समक्ष पेश भएको ।

• जल तथा मौसम विज्ञान नीति, २०८१ नेपाल सरकारवाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको।

२. ऊर्जा तर्फः

३ अक्टोवर, २०२४ तदनुसार १७ असोज, २०८१ मा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसि विद्युत व्यापार निगम बीच नेपालबाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्ने सम्बन्धी त्रिपक्षीय विद्युत विक्री सम्झौतामा हस्ताक्षर सम्पन भएको।

३ अक्टोवर, २०२४ तदनुसार १७ असोज, २०८१ मा आउदो सुखा यामको विद्युत मागलाई मध्यनजर गरी स्वदेशी विद्युत उत्पादनले अपुग हुने र भारतको एक्सचेन्ज बजारमा मात्र निर्भर हुन नसकिने भएकोले ढल्केबर-मुजफ्फरपुर ४०० के. भी प्रशारण लाईनबाट २०० मे.वा. र टनकपुर-महेन्द्रनगर १३२ के.भी. प्रशारण लाईनबाट ३० मे.वा. RTC विद्युत आयात गर्ने गरी नेपाल विद्युत प्राधिकरण र भारतको विद्युत व्यापार कम्पनी NVVN बीच विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको।

२२०/१३२/३३ के.भी. चिलिमे हव GIS सबस्टेसन र २२०/१३२/३३ के.भी. त्रिशुली हव Hybrid GIS सबस्टेसन गरी २ वटा सबस्टेसनहरु निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको।

मध्यभोटेकोशी ज.वि.आ.बाट बाह्रविसे सबस्टेसन सम्मको ४ कि.मी. को २२० के.भी. सिंगल सर्किट प्रसारण लाईन निर्माण सम्पन्न भएको ।

ढल्केबर-इनरुवा ४०० के.भी. प्रसारण लाईन र ढल्केबर-लोहारपट्टि १३२ के.भी. प्रसारण लाइन एवं १३२/३३/११ के.भी. सबस्टेसन (जम्मा ८२.५ MVA) निर्माण सम्पन्न भई सञ्चालनमा आएको ।

• चिलिमे-त्रिशुली २२० के.भी. प्रसारण लाईन (२८.१ कि.मी., डबल सर्किट / मल्टिपल सर्किट) को निर्माण कार्य लगभग सम्पन्न भएको।

थप २३४.५ एम.भि.ए. क्षमताको (बुर्तिवाङ ४६ एमभिए बाग्लुङः पौडीअमराई ४६ एमभिए गुल्मी, लोहारपट्टी ८२.५ एमभिए महोत्तरी, मलेखु ६० एमभिए धादिङ) नयाँ सबस्टेशनहरुको निर्माण कार्यलाई तीव्रता दिइएको ।

• रसुवा जिल्ला स्थित १११ मे.वा. क्षमताको रसुवागढी जलविद्युत आयोजना, सिन्धुपाल्चोक जिल्ला स्थित १०२ मे.वा.को मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवा जिल्ला स्थित ४२.५ मे.वा. क्षमताको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई संचालनमा ल्याउने कार्य अन्तिम चरणमा रहेको।

• सोलुखुम्बु जिल्ला स्थित १२ मे.वा. क्षमताको दुधकुण्ड खोला ज.वि.आ., म्याग्दी जिल्ला स्थित ३८ मे.वा. क्षमताको निलगिरी खोला ज.वि.आ., सिन्धुपाल्चोक जिल्ला स्थित ९९० कि.वा. क्षमताको सेलांङ खोला साना ज.वि.आ., कास्की जिल्ला स्थित २५ मे.वा. क्षमताको सेती नदी ज.वि.आ., बाग्लुङ जिल्ला स्थित ४.९६ मे.वा. क्षमताको भीम खोला साना ज.वि.आ., संखुवासभा स्थित ५ मे.वा. क्षमताको लंखुवा साना ज.वि.आ. र गोरखा जिल्ला स्थित २ मे.वा. क्षमताको अप्पर रिचेत खोला ज.वि.आ. लगायतका निजी क्षेत्रवाट प्रवर्द्धित आयोजनाहरुबाट करिव ८८ मे.वा क्षमताका जलविद्युत आयोजनाहरु संचालनमा ल्याई राष्ट्रिय प्रशारण ग्रिडमा आवद्ध गरी विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ गरिएको ।

गोरखा जिल्ला स्थित १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु गर्न सुपरभिजनका लागि आवश्यक पर्ने परामर्शदाता छनौटका लागि Terms of Reference, लागत अनुमान र EOI सम्बन्धी कागजातहरु तयार भइरहेको एवम् आयोजनाको निर्माण प्रारूप टुंग्याउने प्रक्रिया प्राथमिकताका साथ् अघि बढाइएको।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत ३२.४ किलोवाट बराबर क्षमताको सौर्य खानेपानी तथा सिंचाई पम्प जडान कार्य सम्पन्न भएको ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत सुस्ता गाउँपालिकामा १०० किलोवाट क्षमताको सौर्य मिनी ग्रिड बाट उत्पादित बिध्युत रास्ट्रिय प्रसारण ग्रिडमा जडान गरि करिव ३०० घरधुरीमा विद्युत सेवा संचालन कार्यसम्पन्न भएको ।

सरकारको १०० दिनको यहि अवधिमा बाढी, पहिरो, डुवान जस्ता राष्ट्रिय विपद्‌को सामना समेत गर्नुपरेको परिप्रेक्ष्यमा सोबाट प्रभावित विद्युत संरचनाको पुनः निर्माण एवम् मर्मत सम्भार तथा विद्युत सप्लाई सुचारु गर्ने कार्यमा मन्त्रालय र मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरु एकजुट भई परिणाममुखी पहलकदमी लिइएको।

 सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा दसैंपछि दैनिक नयाँ रेकर्ड बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको हो।

आज असाेज ७ गते मंगलबार पनि सुनकाे मूल्य वृद्धि भएकाे छ । बुधबारका लागि प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ मूल्य तोकिएको महासंघले जानकारी दिएको छ।

यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँका दरले कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज तोलामा दुई हजार १३५ रुपैयाँले बढेको चाँदीको मूल्यको पनि यो हालसम्मकै उच्च रेकर्ड हो ।

सरकार सय दिन नै भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित : प्रचण्ड

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। आज बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘सरकारको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशङ्का गरेका थियौँ, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ’– अध्यक्ष प्रचण्डले भने – ‘विपक्षी दलहरूले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरूले समेत असन्तुष्टि जनाइरहेका छन्। यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ।’

उद्योगहरूको बक्यौता महसुस उठाउन खोज्दा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनले बताए।

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापन पत्र बुझाइसकेको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताए।

उनले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिए।

उनले पार्टीको पक्षमा देशव्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रह गरे।

सरकारले आज सय दिनको उपलब्धि सार्वजनिक गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने भएका छन् । ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । 

प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कमहरुको विवरण, आगामी योजनालगायतका विषय समेटेर सम्बोधन गर्ने छन् ।

एमाले अध्यक्ष समेत रहेका ओली पछिल्लो पटक प्रधानमन्त्री भएको मंगलबार एकसय दिन पुगेको छ । ओली नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच सहकार्यका लागि सात बुँदे समझदारी भएको थियो । उक्त समझदारीमा राजनीति स्थिरता र संविधान संशोधनलाई मुख्य एजेण्डा बनाइएको थियो ।

कात्तिक ७ गते बुधबार, यस्ताे छ तपाईंको राशिफल

मेष : आर्थिक अवस्था संकटमा पर्नसक्छ। लगानीका क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। बन्धुसँग गरेको छलफलबाट कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। राजनीतिक संगठनमा धराप थाप्ने साथी सक्रिय छन्। न्याय भने तपाईंको पक्षमा मिल्नेछ। परिवारको साथ मिल्नेछ।

वृष : राम्रो बोले पनि साथीले गलत व्याख्या गर्नसक्छन्। विदेशी लगानीका क्षेत्रबाट फाइदा हुने योग छ। राजनीतिक संगठनमा सहकार्य नगर्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

मिथुन : दिन राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। रोगको समयमै उपचार नगरेमा गम्भीर रुप लिनसक्ने देखिन्छ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : अढैया शनिदेव प्रतिकुल भएकाले बिहानै शिवको भजन सुन्नुभएमा फाइदा हुनेछ। तपाईंले सोचेका काम बन्नेछन्। उपचारकोक्रममा भए रोगको पहिचान हुनेछ। परिवारले राम्रो साथ र सहयोग दिने योग छ।

सिंह : श्रमको प्रतिफल प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा निर्भर हुँदा धोका हुनसक्छ। कर्तव्य मात्र पुरा गर्नु अवश्यक देखिन्छ। नियमित औषधी सेवन गरेमा रोगबाट मुक्ति मिल्नेछ।

कन्या : लगानी गरेको भए राम्रो प्रतिफल मिल्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। सोचेका काम बन्नेछन्। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारले राम्रो रेखदेख गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।
लगानीका क्षेत्रमध्ये विदेशले मन तान्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने जोखिम छ। विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।

वृश्चिक : उदयशुक्र आफ्नै राशिमा रहेकाले समाजमा तपाईंको बोलीको प्रभाव पर्नेछ। सानो कुराले मन कमजोर हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : उच्च स्थानमा चन्द्रमा र मंगल ग्रह बसेका छन्। राज्यका अंगबाट तपाईंलाई साथ र सहयोग मिल्नेछ। स्वदेश तथा विदेशमा तपाईंको प्रशंसा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

मकर : अन्त्य साढेसाती शनिदशा चल्दैछ। अनुत्पादक क्षेत्रमा धन खर्च हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। साथीभाइ र दाजुभाइले राम्रो साथ दिएकाले राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनसक्छ।

कुम्भ : आफ्नै राशिमा शनिदेव पुगेका छन्। साना कुरामा झन्झट र रिस बढ्नसक्छ। बिहानै उठेर शिवको भजन सुनेमा मन शान्त बन्नेछ। शनिदेव सकारात्मक भए तपाईंको दिन राम्रो बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट मनमा उत्साह बढ्नेछ। बौद्धिक कुराको प्रभाव बढ्नेछ।

मीन : खानपानमा समस्या हुनसक्छ। रोगले सताउने जोखिम देखिन्छ। आध्य शनिदेवलाई खुशी पार्न गणेशलाई दूबो चढाएमा दिन शान्त बन्नेछ। परिवारसँग खुशीका साथ दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

बाढीपहिरो पीडितलाई पाँच करोड आर्थिक सहयोग

काठमाडौँ । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । 

सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ ।

बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन्भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्र्रदान गर्ने क्रम जारी छ ।

सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा

काठमाडौं । सिन्धुली–रामेछाप जोड्ने सुनकोशीमा बेलिब्रिज हाल्ने काम सकिएको छ । योसँगै असोज दोस्रो साताको भारी वर्षापछिको बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको हो ।

सुनकोशी नदीको बाढीले बगाएको रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सञ्चालन आएको हो ।

उक्त बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार सम्मान गरेका छन् ।

मंगलबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए ।

रास्वपाका २ उपसभापतिसहित ९ जनाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी

काठमाडौं । अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा.स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् ।

सफलले दुई जना उपसभापतिसहित रास्वपाका उपनेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, डा।तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झाविरुद्ध मंगलबार दिउँसो जाहेरी पेश गरेको सफलले जानकारी दिए ।

नेप्से परिसूचक बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा २५.८८ अंकको वृद्धि देखिएको छ । आइतबार र सोमबार उच्च अंकले घटेको बजार आज दोहोरो अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८८ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ८१ विन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको ४ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड ९ लाख कित्ता शेयर किनबेच भएको छ ।  मंगलबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार करिब ६ अर्बको शेयर कारोबार भएको थियो । 

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज १ सय ९९ कम्पनीको शेयर मूल्य बढेको छ । ४० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ । 

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ । यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य ७.८२ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ६.३६ प्रतिशतले बढेको छ । महुली लघुवित्तको शेयर मूल्य ६.१० प्रतिशत र मैलुङ खोला जलविद्युतको शेयर मूल्य ६.०९ प्रतिशतले बढेको छ । 

आगामी अधिवेशनमा सबै विधेयक पेश गर्न संसदीय समितिलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् । मंगलबार  समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएर घिमिरेले यसतो निर्देशन दिएका हुन् । 

घिमिरेले मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बोलाएका थिए । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए ।

समिति सभापतिहरूले संसद अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताएका छन् । अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरूले बताएका छन् ।

बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरूले बताएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए । सभामुख घिमिरेले भने संसदको अधिवेशनमा समितिमा रहेका सबै विधेयक पेश गर्न निर्देशन दिएका छन् ।

कार्यवाहक मेयरलाई हर्क साम्पाङको निर्देशन- मलाई कुनै अदालतले चुनेको होइन

धरान । उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आइतबार आदेश दियो । उपमेयर आइन्द्रविक्रम बेघाले हालेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले कार्यवाहक मेयरको जिम्मा पाएका धरान- ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तत्काल काम नगर्न आदेश दिएको थियो ।

अदालतले मेयर साम्पाङको निर्णय कानुनी रूपमा विवादित ठहर गर्दै यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।

उच्च अदालत विराटनगरको न्यायाधीश ध्रुवराज नन्दको इजलासले मिति २०८१ असोज २३ मा पेस भएको रिट निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै मेयरको अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने विषय विवाद समाधान नभएसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि मिति २०८१ कार्तिक ६ गते उपस्थित हुनसमेत निर्देशन दिएको छ।

उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले मेयरको निर्णयविरुद्ध अदालतमा निवेदन दिएका थिए। निवेदकको तर्फबाट अधिवक्ताहरू कर्णबहादुर राई, प्रेमकुमार घिमिरे र विनोदकुमार तिमिल्सिनाले कानुनी बहस गर्दै मेयरको अनुपस्थितिमा कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई सुम्पनु अनुचित भएको र नगरपालिकाको कामकारबाहीमा कानुनी जटिलता निम्त्याउने तर्क गरेका थिए।

यसअघि, मेयर साम्पाङ २०८१ असोज २८ मा विदेश भ्रमणमा जाने भएपछि उनले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएका थिए। तर, उच्च अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गतको व्यवस्थालाई ध्यानमा राख्दै तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अब, दुवै पक्षको उपस्थितिमा अदालतले आगामी सुनुवाइमा निर्णय गर्नेछ।

यो आदेशसँगै धरान उपमहानगरपालिकाको प्रशासनिक नेतृत्वमा उत्पन्न विवादले नगरपालिकाको कामकाजमा असर पुर्‍याउने देखिएको छ।