निरौलाविरुद्ध दुईवटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो ।

सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो ।

एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको छ । स्रोतका अनुसार निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ । अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।

न्यायाधिश नियुक्ति प्रक्रियालाई लिएर नेपाल बार एशोसियसनले विरोध गरेको थियो । संविधान र कानुन अनुसार नियुक्ति नभएको भनेर बारले विरोध जनाएको थियो । त्यसैसँग सम्बन्धित रहेर उजुरी परेको हो ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीशमा कार्यरत छन् भने पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन् ।

मन्त्रालयले घिसिङलाई सोधेको १५ बुँदे स्पष्टीकरण (विवरणसहित)

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले १५ बुँदे स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले मंगलबार पत्र पठाउँदै १५ बुँदे स्पष्टीकरण सोधेको मन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। 

पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेसँगै बनेको केपी शर्मा ओली नेतृत्वको सरकारसँग कार्यकारी निर्देशक घिसिङको द्वन्द्व चर्किँदै आएको छ। ट्रंकलाइन र डेडिकेटेड फिडरबाट प्रयोग गरेको बिजुलीको बक्यौता महशुल उठाउने विषयमा विवाद हुँदा प्रधानमन्त्री ओलीले संसदबाटै घिसिङविरुद्ध बोलेका थिए। 

संसदको सार्वजनिक लेखा समितिमा समेत बक्यौताको विषयभन्दा घिसिङको विषयमा बढी छलफल भएको थियो। समितिले पनि बक्यौताको विषयमा कुनै निर्णय दिन सकेन। यसले बक्यौता विवाद समाधानको साटो थप गिजोलिन पुगेको थियो। 

हेर्नुहोस् स्पष्टीकरण विवरण

१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवं आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरू ।

२. नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ।

३. नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरूका व्यावसायिक संस्थाहरूसँग गरेको विभिन्न मितिका सम्झौता एवं समझदारी पत्रहरूको विवरण ।

४. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूमा रहेको प्राधिकरणको शेयर संरचना एवं ती कम्पनीहरूको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै, ती कम्पनीहरूमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरूको विवरण ।

५. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूको विगत ४ वर्षको वित्तीय विवरण ।

६. नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट Power Evacuation पूर्ण रुपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूको विवरण ।

७. हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धित ६० मेगावाटको खिम्ती – १ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण/प्रतिवेदनहरू ।

८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरूको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।

९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमण सम्बन्धी विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवं ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।

१०. डेडिकेटेड फिडर/ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवं सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू ।

११. नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्रमार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफर्मरको अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं., खरिद मूल्य एवं हालको अवस्था सहित)

१२. हाल बोलपत्र आह्वानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु /सामग्रीहरूको विवरण एवं प्रतिस्थापन कार्ययोजना (परिमाण एवं अनुमानित लागत रकम सहित ) ।

१३. नेपाल विद्युत प्राधिकरणले आफैंले विभिन्न स्थानहरूमा सिमेन्टेड पोल प्लान्टहरू स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरूबाट खरिद भएमा विभिन्न पोलहरूको खरिद मूल्य एवं सो सम्बन्धी परिमाणहरूको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण ।

१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजुमध्ये हालसम्म फर्स्यौट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।

१५. नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रूपमा गत ५ वर्षदेखि को-को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।

राष्ट्रपति पौडेलद्वारा एक विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनबाट पारित गरी पठाइएको उक्त विधेयक संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ ।

सदनको दुवै बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

विजया दशमीका दिन राष्ट्रपति पौडेलले टिका लगाइदिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको दिन टिका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार इच्छुक मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरूलाई अपरान्ह ३ बजेदेखि ३:३० बजे सम्म टिका लगाइदिने कार्यक्रम रहेको छ ।

त्यस्तै इच्छुक सर्वसाधारणलाई अपरान्ह ३: ३० बजेदेखि ५ बजेसम्म टिका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यलयका अनुसार मर्यादित पोशाकमा प्रवेशद्वारनम्बर १ बाट प्रवेश गर्न पनि आग्रह गरेको छ  ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । 

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।”

दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् । नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए । हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

उर्जा मन्त्रालयले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेका छन् । उर्जा मन्त्री दिपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई १५ बुदे स्पष्टीकरण सोधेका हुन् ।

मंगलबार घिसिङलाई १५ बुदे स्पष्टीकरण पत्र थमाइएको हो । पत्रमा ‘तपाईंलाई किन कार्वाही नगर्ने ?’ भन्ने प्रश्न पनि रहेको श्रोतले बतायो ।पछिल्लो समय सरकार र घिसिङ बिच ठुलो बिवाद छ ।

घिसिङले उद्योगी ब्यवसायीलाई दुस्ख दिएको प्रधानमन्त्रीको आरोप थियो । घिसिङले सरकारको निर्देशन समेत नमानेको आरोप छ । मंगलबार स्पष्टीकरण सोधेपछी बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्राधिकरण बोर्ड बैठक स्थगित गरेको एक बोर्ड सदस्यले जानकारि दिए ।

पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेसँगै बनेको केपी शर्मा ओली नेतृत्वको सरकारसँग कार्यकारी निर्देशक घिसिङको द्वन्द्व चर्किँदै आएको छ। ट्रंकलाइन र डेडिकेटेड फिडरबाट प्रयोग गरेको बिजुलीको बक्यौता महशुल उठाउने विषयमा विवाद हुँदा प्रधानमन्त्री ओलीले संसदबाटै घिसिङविरुद्ध बोलेका थिए।

स्पष्टीकरणमा कार्यकारी निर्देशक घिसिङको अधिकार कटौती गर्ने तयारी गरिएको छ ।

असोज २३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । अनुभव वा सीपको प्रयोग गरी आम्दानी बढाउन सकिने छ, आन्तरिक प्रतिभा वा अभिव्यक्तिगत कलाको प्रस्तुति गर्दै मानसम्मानसमेत जुटाउन सकिने छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अङ्कुश लगाउनु होला । शत्रु र कुरा काट्नेहरू सक्रिय रहेको समय हो । आफ्नै कमजोरीले साख बिग्रन सक्छ । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । जीवनसाथी र छोराछोरीका क्रियाकलापमा चिन्ता बढ्नेछ, नातागोताको के महत्त्व छ भन्ने बुझी आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्नसक्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । नयाँ ठाउँ, रमणीय वातावरण र नयाँ मित्रको सङ्गत र संसर्ग हुने समय हो । मनमस्तिष्क धर्म, अध्यात्म र परोपकारप्रति केन्द्रित हुनसक्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । काम जोखिमपूर्ण देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ, अझ सिनियर वा अनुभवीको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । आत्मविश्वासमा कमी आउनसक्छ, हरेक क्रियाकलापमा संयमता र हिम्मतको खाँचो हुनेछ । जुवा वा सट्टाबाजीमा धन लगानी गर्नु हानिकारक बन्नेछ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरे÷रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । उच्च महत्त्वाकाङ्क्षा कायम राखी अघि बढ्ने प्रयास गर्नुहोस्, जहाँ दृढ इच्छा र सबल मानसिकता हुन्छ, त्यहाँ दैवले पनि सघाउ पुर्याउने गर्दछ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

राष्ट्रपतिसमक्ष मुस्लिम र थारू आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम र थारू आयोगले आर्थिक वर्ष २०८०/८१ मा वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्त्वपूर्ण माध्यम रहेको बताउनुभयो । थारु समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार रहेको उहाँको भनाइ छ ।

“आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपी, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गर्नुहुँदै । 

यस्तै, देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति, समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको सन्दर्भमा सोहीबमोजिम गठित मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । 

उहाँले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्ने विषयमा सरकारले ध्यान दिने विश्वास  समेत व्यक्त गर्नुभयो ।

विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि प्रधानमन्त्री ओलीद्वारा छलफल

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चा अधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गराउन कानूनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापनका कार्यक्रमलाई छिटोछरितोरुपमा अघि बढाउने निष्कर्ष निकालिएको छ । 

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रका पूर्वाधार विकास आयोजना कार्यान्वयनमा वन, वातावरण र जग्गा प्राप्तिसँग जोडिएका समस्याको पहिचान गरी समाधानका उपायमाथि विमर्श गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियागत ढिलाइ र नीतिगत अस्पष्टताका कारण तोकिएको समयमा लक्ष्य हासिल नहुने र लागत बढ्ने स्थिति अन्त्य गर्न निर्देशन दिनुभयो । उहाँले उत्पादन बढ्दो रहेको स्थितिमा विद्युत् व्यापारमा विविधीकरण गर्दै बङ्गलादेशमा विजुली निर्यात गर्न भारतको ‘डेडिकेटेड ट्रान्समिटर लाइन’ बनाउने  र बङ्गलादेश हुँदै अरु मुलुकमा पनि निर्यात गराउने गरी लाग्न आग्रह गर्नुभयो । 

आयोजनाका मुअब्जा  र प्रसारणलाइनका विवाद मिलाउन तथा नेपाल विद्युत प्राधिकरणलाई औचित्यता र कार्यक्षेत्रका आधारमा व्यवस्थितरुपमा सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो । “यस क्षेत्रमा भइरहेको अनियमितता र चलखेललाई राज्यले देखेर पनि कारबाही गर्न नसक्ने स्थिति हुनु हुँदैन । शक्तिवालाले के भन्छ भनेर हाम्रो संयन्त्र चल्ने होइन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “शक्ति र बलका आधारमा होइन, नियम, काुनन, समयको माग र मुलुकको आवश्यकतामा चल्नुपर्छ । हामीले हाइड्रो इलेक्ट्रिकमा पनि जाने गरी लाग्नुपर्छ ।”

आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत उत्पादन गराई खपत र निर्यात गरी मुलुकलाई वार्षिक रु २ दशमलव ६५ खर्ब आय हुने कार्ययोजनाको लक्ष्य छ । यसले आठ लाख ६५ हजार एक सय १८ को सङ्ख्यामा रोजगारी सृजना हुने पनि प्रक्षेपण गरिएको छ । कार्ययोजना कार्यान्वयनका क्रममा उत्पादन, प्रसारण लाइन र वितरणका लागि करिब ४६ दशमलव ५ अर्ब अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । हाल मुलुकको विद्युत क्षमता तीन हजार दुई सय ४३ मेगावाट छ । 

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा २०७२ फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दसकसम्बन्धी अवधारणापत्र र कार्ययोजना स्वीकृत भई कार्यान्वयनको आएको थियो । सोही कार्ययोजनाको जगमा विसं. २०७५ जेठ १ गतेदेखि मुलुक लोडसेडिङमुक्त भएको थियो ।

बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४९ जना घाइते

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी झयाडीमा बस दुर्घटना भएको छ।

काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटनामा परेको हो।

बस दुर्घटनमा परि २ जनाको घटनास्थलमा मृत्यु भएको र  ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । 
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नेप्से दोहोरो अंकले बृद्धि, ६ अर्ब बढीको कारोवार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३७.१३ अंकले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा बन्द भएको हो ।                                          

कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिममा अडिन सकेन । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन हिजो ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भएको छ । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो ।

अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो । यी दुईबाहेक सबै सेक्टर बढे । आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाईड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह बढे । इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।

त्यस्तै विन नेपाल लघुवित्तको ६.१, जनउत्थान सामुदायिक लघुवित्तको ४, पोखरा फाइनान्सको ३.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र गुडविल फाइनान्स क्रमशः अगाडि रहेका छन् ।

सवारी दुर्घटनामा २ प्रहरीको मृत्यु

 विराटनगर ।  मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ । कोशी राजमार्गको बूढीगंगामा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ः४० बजेतिर ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सचर ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन् । दुर्घटनालगत्तै प्रहरीले मिक्सचर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका – ६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे।

प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने  र यसको अगुवाइ सरकारले गर्ने बताउनुभयो। उहाँले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गर्नुभयो। 

एमालेको असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा पचास लाख र सांसदको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो। 

सो अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो। 

सिंहदरबारबाट ६ जना पक्राउ

काठमाडौँ । सिंहदरबारस्थित दक्षिण गेट अगाडिबाट  ६ जना पक्राउ परेका छन्।  दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् । 

कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण बोगटीसहित ६ जना रहेका छन् ।

‘बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर! आवतजावत सहज गर! हवाई भाडा नियन्त्रण गर! आकाशिदो महँगी र मूल्यवृद्धि नियन्त्रण गर’लगायतका उनहीहरुले नारा लगाएका थिए।

नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ५६.०९ अंकले बढेर दुई हजार ६ सय ५३ दशमलव ५८ विन्दुमा बन्द भएको हो ।                                         

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अङ्कले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ।

आजको कारोबारमा कूल एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर रु छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय पाँच मूल्यमा कारोबार भएको छ।

नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी नौ दशमलव ७६, इस्टर्न हाइड्रोपावर नौ दशमलव ६८,गुडबिल फाइनान्स नौ दशमलव २७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले आठ दशमलव १४ प्रशितले कमाएका छन्।

यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना नौ दशमलव ४३, एनआइसी एशिया सेलेक्ट फण्ड छ दशमलव ७०, स्वरोजगार लघुवित्त पाँच दशमलव ४९ र उपकार लघुवित्तका लगानीकर्ताले चार दशमलव ४१ प्रतिशले गुमाएका छन्।