अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

धानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत थिए ।ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए। न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले महासभालाई यही असोज १० गते सम्बोधन गरेका थिए।

महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भइ छलफल भयो।

न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए। उनले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए।

उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरे।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत थिए।

सडक विभागले गर्‍यो २१६ इन्जिनियरको सरुवा (सूचीसहित)

काठमाडौं- सडक विभागले २१६ जना इन्जिनियरको सरुवा गरेको हो। विभागले सडक विभाग वा अन्तर्गत कार्यरत राजपत्राङकित तृतिय श्रेणीका कर्मतारीको सरुवा गरेको हो। 

विभागले शुक्रबार निर्णय गर्दै विभिन्न कार्यालयमा रहेका इन्जिनियरहरुको जिम्मेवारी हेरफेर गरेको हो।

नेप्सेमा ४४.४५ अंकको सुधार

काठमाडौँ। हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ४५ अङ्कले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज सीईडीबी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै कुमारी सबल योजना, युनाइटेड मोदी हाइड्रोपावर, सर्वाेत्तम सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु सेलेक्ट फन्डको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि शेयर कारोबार रकम भने घटेको छ । हिजो चार अर्ब रुपैयाँभन्दा धेरैले कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका ९७ लाख १७ हजार कित्ता शेयर तीन अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रशितभन्दा बढी बढेको छ भने अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

नुवाकोट । काठमाण्डाै – काठमाण्डाैबाट पोखराका लागि छुटेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उनका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपराह्न एक बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुगेका थिए।

उनका अनुसार उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नंं.माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटना स्थलमा ठूलोभीर भए पनि मौवाको रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो ।

बर्षा बाढीबाट रौतहटमा घर डुबानको संख्या १२ सय ४५ : ३ को मृत्यु

रौतहट १३ असोज। गत बिहिबार देखी परेको अबिरल बर्षासंगै रौतहट स्थित बिभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा घर डुबानको संख्या १२ सय ४५ पुगेको छ। आईतवार बिभिन्न घटनामा परी ३ जनाको मृत्यु भएको छ।
जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। त्यस्तै परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साह घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु हुनुका साथै बौधिमाई नगरपालिका २ ईनरवाका १४ बर्षीय अनिल महतोको आफ्नै ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको एसपी घिमिरेले जानकारी दिएका छन्।
अबिरल वर्षासँगै बागमती लालबकैया लगायत बिभिन्न नदी खोलामा आएको बाढीले जिल्लाको १८ स्थानियतह मध्ये १३ वटा प्रभावीत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले आईतवार दिउँसो जारीहरेको सूचनामा उल्लेख गरिएको छ। बर्षा बाढीबाट वृन्दावन, गढीमाई,माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको छ। बर्षा बाढीबाट उक्त पालिकाहरुमा १८ सय ५ घरधुरीका ५ हजार ५९५ मानिस विस्थापित भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। संगै जिल्ला स्थित बिभिन्न ठाउँको गरी ८ प्रहरी चौकी बस्थापित भएको थियो। त्यस्तै बर्षा बाढीले बिभिन्न स्थानको ७ बाटो अवरुद्ध भएको उल्लेख गरिएको छ।
बर्षा बाढीको बिभिन्न घटनामा परेका १२३ जना मानिसलाई संयुक्त टोलीले उद्वार गरेको जनाइएको छ। त्यस्तै विपदको समय १ गाई र ५ वटा खसी बाख्राको मृत्यु भएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।अबिरल बर्षा र बाढीमा राहत तथा उद्धारको लागि जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरे सहित १०४ जनाको टोली परिचालन गरिएको बताईएको छ। त्यस्तै सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं सहित २७५ जनाको टोली परिचालन गरिएको थियो। त्यस्तै मेजर झनक थापाको कमाण्डमा १५० जना नेपाली सेना परिचालन गरिएको थियो सिडियो हिरालाल रेग्मीले जानकारी दिएका छन्। आज पनि बिहानै देखि संयुक्त सुरक्षा टोली जिल्लाको बिभिन्न स्थानमा राहत तथा उद्धारको लागि परिचालन गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन्। बर्षा बन्द हुनुका साथै नदीहरूमा पानीको सतह घट्दै गइरहेकोले जिल्लाको अवस्था सामान्य हुँदै गएको उनको भनाई छ।

यस्ता छन् सर्वदलीय बैठकका निर्णय

काठमाडौँ- सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले डाकेको उक्त बैठकले घाइतेको उद्धार गरी अलपत्र यात्रुलाई सुरक्षित तबरले गन्तव्यसम्म पुर्‍याउने निर्णय पनि गरेको छ।

देशका सबैजसो राजमार्ग अवरुद्ध भएको र यसलाई तत्काल सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सयन्त्र प्रयोग गरी निकास दिने निर्णय बैठकले गरेको छ।

आज बसेको सर्वदलीय बैठकले खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसपछि अलपत्रहरूलाई गन्तव्यमा पुर्‍याउने, घाइतेको उपचार र अवरुद्ध सडक सञ्चालन गर्ने निर्णय गरेको छ ।

सर्वदलीय बैठकले गरेका निर्णयहरू

१. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण जनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

२. अविरल वर्षाको कारण आएको बाढी, पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित बासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने ।

३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने ।

४. देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो(ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सुचारु गर्ने । यसै गरी ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत् गृहहरूको मर्मत सम्भार गरी विद्युत् आपूर्ति र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सुचारु गर्ने । बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत सम्भार गरी खानेपानी आपूर्ति गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने ।

५. मौसममा क्रमिक सुधार आइरहेको भएता पनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितिमा जनस्वास्थ्यको सवाल अहम् हुने भएकोले विपद्पछिको महामारीको सम्भावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुवै विधि प्रयोग गरी प्रभावित क्षेत्रमा औषधी उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने ।

६. विपद्को चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दसैँ, तिहार, छठ जस्ता पर्वहरूलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्यासलगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सुपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने ।

७. बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत् संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरी पुनर्निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउने ।

८. बाढी पहिरोबाट घर वास गुमाएका पीडितहरूका पुनर्स्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने ।

९. विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजी क्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजी क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने ।

४१३ जना लेखापालको सरुवा, को कहाँ ? (सूचिसहित)

काठमाडौं। सरकारले ४ सय १३ जना लेखापालको सरुवा गरेको छ। महालेखा नियन्त्रकको कार्यालयले ४१३ जना लेखापालको सरुवा गरेको हो।

कार्यालयले शुक्रबार गरिएको निर्णयअनुसार आइतबार सरुवाको विवरण सार्वजनिक गरेको हो।

‘रेड नोटिस’ जारी गरिएका तीन जनालाई दुबईबाट पक्राउ गरी ल्याइयो

काठमाडौँ । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार अभियुक्त दुबईबाट पक्राउ परेका छन् ।ठगीसम्बन्धी र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीहरू हुन् । ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै जबरजस्ती करणी मुद्दामा फरार रहेका रोमन कार्कीलाई पनि पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी उनीहरूलाई दुबईबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये भूपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्ध रेड नोटिस जारी भएको थियो ।

भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

न्याय परिषद् नियमावलीमा भएको संशोधन खारेजीको माग गर्दै बारको धर्ना

काठमाडौँ । विभिन्न माग राखी नेपाल बार एसोसिएसन धर्नामा उत्रिएको छ । उनीहरूले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्न माग राखेका छन् । 

सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिको बैठकमा भएको सहमति अनुसार न्याय परिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्नुपर्नेमा बेवास्ता गरिएको भन्दै बारले बिहीबार धर्ना दिएको हो । यसअघि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरी न्याय परिषद्ले न्यायाधीश नियुक्ति अघि बढाएको भन्दै बारले आन्दोलन सुरु गरेको हो ।

कार्यदलको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्नेमा उल्टै असंवैधानिक तवरबाट न्याय परिषद्बाट थप निर्णयहरू गर्नका लागि बिदामा बसेका प्रधानन्यायाधीश र संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी भएका व्यक्तिहरूबाट नेपालको न्यायपालिकालाई गम्भीर असार पार्ने निर्णय हुन लागेको भन्दै बारले विरोध जनाएको छ ।

२६ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । लेखा सेवाका २६ जना उपसचिवको सरुवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयमाबाट अन्य कार्यालयमा जिम्मेवारी दिएर सरुवा गरेको हो ।

कार्यालयले लेखातर्फका उपसचिव, उपमहालेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रकहरुको सरुवा गरेको हो।

यसअघि मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरिय बैठकले कर्मचारी सरुवा तत्काल रोक्का राख्ने निर्णय गरेपछि महालेखा नियन्त्र कार्यालयले २६ उपसचिवको सरुवा गरेको हो।

निजामती सेवा नियमावलीअनुसार कर्मचारीको सरुवा व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गर्दै आएको छ। कर्मचारी सरुवा भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्ने प्रावधान छ।

नेप्सेमा ३२.८१ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर पुनः २५०० विन्दुभन्दा तल झरेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार, करिब ५० अंक बढेर २५०० विन्दुभन्दा माथि बन्द भएको नेप्से, यस दिन पुनः २५०० विन्दुभन्दा तल झरेको हो।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६५ हजार २५८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता २९०० रुपैयाँ पुगेको छ ।  

ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । अपी पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०१ अंक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३० अंक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो भाउ ?

काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज छापावाल सुनको तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार ७ सय रुपैयाँ रहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६० हजार ४ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।    

स्थानीय तह उपनिर्वाचनमा २ मंसिरमा उम्मेदवारी दर्ता

काठमाडौँ । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ ।

२ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाले जानकारी दिए ।

३ मंसिर बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । त्यही दिन दिउँसो ३ बजेदेखि ४ मंसिर बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ हुनेछ । ४ मंसिरकै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ताका लागि ५ मंसिरको बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन दिउँसो १ देखि ३ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

स्थानीय तहको उपनिर्वाचन भने १६ मंसिरको बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । 

व्यक्तिसँग लेनदेन गरेको आरोपमा इन्स्पेक्टरको जिम्मेवारी खोसियो

काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताइन् ।उनले भनिन्, ‘हिजो बेलुकी यस विषयमा छानबिन समिति पनि बनाएका छौं, उहाँलाई तत्काललाई उपत्यका प्रहरीमै बोलाएका छौं ।’उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।

ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

यो घटनामा संलग्न केहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको समेत बताइएको छ ।

सुदूरपश्चिमका ९ जिल्लामा माओवादी केन्द्रले तोक्यो इन्चार्ज

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ  जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

जसमा कञ्चनपुरमा टेकेन्द्रप्रसाद भट्ट, कैलालीमा नेपबहादुर चौधरी, डडेल्धुरामा कुन्ती जोशी, डोटीमा त्रिलोचन भट्ट, बैतडीमा नरेन्द्र कुँवर, दार्चुलामा लक्ष्मणदत्त जोशी, बझाङमा मीनबहादुर कुँवर, बाजुरामा कर्णबहादुर विश्वकर्मा र अछाममा शरद्सिंह भण्डारीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी पाएर कार्यक्षेत्रमा खटिएका इन्चार्जले सङ्गठन सुदृढीकरणसँगै विस्तारका लागि कार्य अगाडि बढाउने बताइएको छ । अन्य केन्द्रीय समिति सदस्यलाई प्रदेश, जिल्ला, सदन, विभाग, जनवर्गीय समिति, मोर्चामा जिम्मेवारी दिइने छ ।