सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो हप्तादेखि सुनको मूल्य निरन्तर बढीरहेकाे छ । आज सुनको मूल्य निरन्तर छैठाैँ दिन बढेको हो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतीतोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

गुल्मीबाट मात्रै अख्तियारमा ६० उजुरी दर्ता

गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् ।

 उजुरीमध्ये ३५ वटा फर्छ्यौट भएको र बाँकी २५ उजुरी छानबिनकै क्रममा रहेको छ । आयोगले जिल्लास्तरमा अन्तरक्रिया सरोकारवाला निकायबीच अन्तरक्रिया गरेको छ । अख्तियारले गुल्मीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया गरेको हो । 

पछिल्लो समयमा स्थानीय तहमा उजुरीको सङ्ख्या बढ्दै जान थालेसँगै स्थानीय तह र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको दूरी कम गर्ने उद्देश्यले गुल्मीमा जिल्लास्तरीय रूपमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दुई नगरसहित १२ स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेशकुमार केसीले अख्तियारले गर्ने कार्य र क्षेत्राधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले गुल्मी जिल्लासहित कार्यक्षेत्रभित्र रहेका आठ जिल्लाका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तु एवं स्थानीय तहलाई आयोगका सुझावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवर्द्धननात्मक गरी मुख्य रुपमा तीन किसिमका रणनीतिक उपायमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको छ । 

सुनको मूल्य फेरी बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। 

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।

पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार निष्कर्षमा पुग्न नसकेपछि आज पुन: बैठक बस्न लागेको छ ।  बैठकमा समसामयिक राजनीति गतिबिधि, पार्टीको आगामी कार्यदिशाको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।

पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बोलाइएको  बुर्लाकोटीले जानकारी दिए।

आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने नेताहरूले बताएका छन्। 

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? 

काठमाडौँ । आज (बुधलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।

आज सुन तोलामा ९ सयले रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो 

उपनिर्वाचन : आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ।

आयोगले मंगलबार उम्मेदवारको नामावली सार्बजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्बजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ । 

आयोगले आज बिहान ९ बजेदेखि अपराहन्न १ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको छ । 

त्यस्तै आयोगले आज अपराहन्न १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्ने जनाएको छ ।  त्यस्तै आजै आयोगले आजै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ । यस अघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४१० उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । 

अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् ।

माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो । 

उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने : शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने दाबी गरेकाे छ ।

आइतबार कीर्तिपुरको मेयरमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले देशभरको तथ्यले त्यो देखिएको बताए ।

मतदाताले दिएको मतलाई काँग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा काँग्रेसकै जित हुने जिकिर गरे । अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि काँग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ थियो ।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायतले स्वागत गरेका थिए ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी रहेका थिए। यही कात्तिक २६ देखि सुरु भएको कोप–२९ आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ ।

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १४.१२ अंक घटेर २७३४.८३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक घटेको छ।

आज कुल ३०८ कम्पनीका एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख बराबरको कारोबार भएको थियो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज कुठेली बुखेरी हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३३ करोड ८६ लाख ३३ हजार बराबरको कारोबार भएको छ भने पोखरा फाइनान्सको २५ करोड ८९ लाख बराबरीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने व्यक्ति पक्राउ

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाका नवराज अर्याल छन् । तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनको दाबी थियो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हाे एसपी होविन्द्र बोगटीले बताए । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका थिए । त्यसक्रममा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको विवरण उनले अन्तर्वार्तामा सुनाएका थिए ।

ऋषि धमलालाई पनि केन्द्रीय अनुसन्धान ब्यूरोले कार्यालयमा बोलाएको छ । निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो ।

क्यान्सर दिवसको अवसमा देशभरका सबै किशोरीलाई निःशुल्क ‘एचपीभी’ खोप : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशभरका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘एचपीभी’ निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।

मंगलबार मन्त्रीस्तरीय निर्णय भए पछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियान अन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिइनेछ ।

 यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गैरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । 

किशोरीहरुलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए । ‘हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं, मन्त्री पौडेलले भने, किशोरावास्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका छाैं । ‘

मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका छन् । जसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको छ । 

मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरूको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए ।

लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

आज सुन तोलामा ४०० सय रुपैयाँले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार प्रतितोला सुन १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार प्रतितोला चाँदी १ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

अदालतका दुई कर्मचारी घुससहित पक्राउ

काठमाडौँ । सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई घुससहित कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको हो।

टंगालस्थित आयोगको केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अगाडी बढाइएको छ ।

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज एक हजार ९२५ मा खरिदबिक्री भइरहेको छ। 

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीको राजीनामा स्वीकृत

काठमाडौंं । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको हो । उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा लोहनीको राजीनामा स्वीकृत गर्ने निर्णयबारे जानकारी दिए ।

१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो ।

सो विषयमा मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएको निकट स्रोतले जनाएको छ । लोहनीले गत भदौमा राजीनामा दिएका थिए ।