घट्यो सुनको मुल्य

सुनको मुल्य शुक्रवार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ।

बिहिवार तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन शुक्रवार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन यसै हप्ता मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको हो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि आज तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य बन्दै

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिती सामान्य बन्दै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलेले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको जनाएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्तीअनुसार ओलीको मिर्गौला प्रत्यारोपण पछि गरिने नियमित परीक्षणहरुलाई भने निरन्तरता दिइएको छ । प्रधानमनत्रीको स्वास्थ्य परीक्षणका सबै नतिजाहरु सुधारोन्मुख रहेको पनि अस्पतालले जनाएको छ ।

भाइटल र ल्याबका सूचकहरु राम्रो अवस्थामा रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नक्कली ऋण देखाएर ठगी गर्ने दुईजना पक्राउ

महोत्तरीमा नक्कली ऋण देखाएर ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’ मा नक्कली ऋण देखाएर ठगी गर्ने मोरङको ग्रामथान गाउँपालिका–३ का २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण पक्राउ परेका हुन् ।

नेरुड लघुवित्तको उपशाखामा नक्कली ऋण देखाएर १ करोड ६१ लाख ७६ हजार रुपैयाँ रकम हिनामिना गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।

पक्राउ पर्ने तवदार र कर्ण संस्थाका कर्मचारी हुन् । ऋणिसँग सोझै सम्पर्क हुने तवदार र कर्ण नेरुडे लघुवित्त वित्तीय संस्थाका क्रमशः वरिष्ठ उत्प्रेरक र सहायक उत्प्रेरक हुन् । उनिहरुलाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैंकमा जम्मा नगरी एक करोड ६१ लाख ७६ हजार आठ सय ६० हिनामिना गरेको देखिएको हो।

यति धेरै रकम हिनामिनामा दुईजनाको मात्र हात नरहेको आशंका गर्दै थप अनुसन्धान भइरहेको बताईएको छ । वित्तीय संस्थाको केन्द्रिय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद न्यौपानेले उजुरी दिएपछि सोही उजुरीका आधारमा दुवै जनामाथि बैंकिङ कसुर मुद्दामा कारबाही भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन् ।

किशोरीमाथि सामूहिक बलात्कार : चार जनालाई १० वर्ष कैद

सप्तरी । जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई सो सजायको फैसला गरेको हो ।
फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ ।

पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा विसं २०७४ फागुन २८ गते उजुरी दिएकी थिइन् । सामूहिक बलात्कारको आरोपमा एटलाण्टिक र अजय घटनालगत्तै पक्राउ परेका थिए भने मनोज र अर्जुन २०७४ चैत २६ गते वारेण्ट जारी भएपछि अदालतमा हाजिर भएका थिए ।

सुनको मूल्यमा नयाँ किर्तिमान

काठमाडौं । पछिल्लो समय सुनको मूल्य उकालो लागेको छ । मंगलबार सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै, तेजाबी सुन मूल्य ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। सोमबारको तुलनामा १० रुपैयाँ घटेको हो। आज चाँदी प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

कांग्रेस महासचिव ज्योतिरादित्यद्वारा राजीनामा

भारतीय कांग्रेसका महासचिव ज्योतिरादित्य सिंधियाले पार्टीबाट राजीनामा दिएका छन् । उनले मंगलवार ट्विटरबाट आफुले कांग्रेस पार्टिबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

ज्योतिरादित्य सिंधियाले सन् २०१८ मा मध्य प्रदेशमा भएको निर्वाचन पछिको सरकारमा आफुले नेतृत्व गर्न नपाएको रिस पोख्दै पार्टी छाड्ने निर्णय गरेका हुन् । मध्य प्रदेशमा मुख्यमन्त्री रहेका कमलनाथसँग उनको व्यक्तीगत टकराव थियो । पार्टीले उनलाई मुख्यमन्त्री नबनाएपछि पार्टी नेतृत्वसँग उनी आक्रोशित थिए ।

कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गांधीका नाममा हिजो ९ मार्चको मिति राखेर उनले राजीनामा पठाएको बुझिएको छ । आफु १८ वर्षबाट कांग्रेस पार्टिको सक्रीय राजनीतिमा रहेको जानकारी गराउदै उनले पार्टिले विश्वास नगरेकोले आगामी दिनका लागि पार्टिसँगको समवन्ध विच्छेद गर्न बाध्य भएको पत्रमा जानकारी गराएका छन् । सोमबार राजनीनामा दिएका सिंधियाले मंगलबार विहान भाजमा नेता तथा गृहमन्त्री अमीत शाह र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

उनी भारतीय जनता पार्टीमा प्रवेश गरे उनलाई शुरुमा राज्यसभामा लगिने र केन्द्रिय मन्त्रीमण्डलमा सहभागी गराउन सक्ने वाचा भाजपा नेतृत्वले गरेको संचार माध्यमले जनाएका छन् । ज्योतिरादित्य सिंधिया औपचारिकरुपमा अझै भाजपा प्रवेश नगरेपनि उनले कांग्रेस पार्टीबाट राजीनामा दिएका छन् । उनीसँगै मध्य प्रदेश विधान सभाका १९ सासंदले पनि पार्टी छाड्ने तयारीमा छन् । त्यसले मध्य प्रदेशमा कमलनाथको सरकार ढल्ने भएको छ । उनीहरुले भाजपालाई सर्मथन गरे प्रतिपक्ष भाजपाले सरकार बनाउने छ ।

कोरोना संक्रमित आफै क्वारेन्टाइनमा जानुपर्छ : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा गएर बस्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी नराखिने पनि प्रष्ट पारेका छन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै ढकालले ज्वरो र रुघाखोकी देखिएमा तुरुन्तै अस्पतालमा पुर्याउने जिम्मा सरकारले पूरा गर्ने पनि उल्लेख गर्नुभएको छ । ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आए सरकारले खरीपाटी क्वारेन्टाइनमा राख्ने योजना बनाएको उहाँको भनाई छ ।

‘हरेक मानिसले दिनैपिच्छे ज्वरु आएको छ, छैन भन्ने नाप्न सक्ने, कति दूरी मेन्टेन गर्ने ? के खाने ? परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने ? के गर्ने ? के नगर्ने ? भन्नेबारे सरकारले विस्तृत योजना बनाएको बताउँदै मन्त्री ढकालले भने, ‘‘विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडी कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश हुन्छ, १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ ।’

सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट गलत सूचना सम्प्रेसण भइरहेको भन्दै आधिकारीक सूचना जारी गर्ने व्यवस्था गर्न स्वास्थ्यमन्त्रीको ध्यान आकर्षण गराएको छ । संघका संयोजक रामप्रसाद सापकोटाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सीमा नाकाहरुमा स्वास्थ्य चेकजाँचको प्रभावकारी व्यवस्था गर्न मन्त्री ढकालको ध्यान आकर्षण गराइएको हो ।

अष्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थीमा कोरोना संक्रमण

२६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीले उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् । अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए ।

अधिकारीका अनुसार उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लाग्दा देखिने लक्षण देखिएको तर उनले मार्च ६ मा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेका थिए । उनको शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गरिएको र उनलाई अलग राख्न ९सेल्फ आइसोलेसन० आग्रह गरिएको भए पनि त्यसलाई उनले पालना नगरेको बताइन्छ ।

उनलाई कोरोनाको संक्रमण भएको शनिबार पुष्टि भएको र लगत्तै उनलाई आइसोलेसनमा राखिएको जानकारीमा उल्लेख छ । तास्मानियाका जनस्वास्थ्य सेवाका प्रमुख डा मार्क भेइचले सेल्फ आइसोलेसनमा राख्न गरिएको सल्लाह बेवास्ता गर्नुलाई ‘अस्विकार्य’ बताएका छन् ।

प्रविधिमैत्री नबन्दा लोप हुँदै पाल्पाका फलाम उद्योग

जिल्लामा रहेका फलाम उद्योगहरुले पछिल्लो प्रविधि अनुसार विकास हुन नसक्दा विस्तारै लोप हुने अवस्थामा पुगेकबा छन् । यहाँका कुनैपनि स्थानीय तहले स्थानीय उद्योगहरुको प्रवर्द्धनमा चासो नदेखाउँदा पाल्पाको औधोगिक पहिचान नै संकटमा पर्ने खतरा बढेको हो ।

आजभोली स्थानीय सीप र प्रविधिको उपयोगबाट बनेका कृषि औजार मात्र होइन, खाना पकाउने फलामका भाँडा बनाउने व्यवसायहरु नै गाउँघरमा विरलै मात्रामा देखिन थालेका छन् ।

कुटिर उद्योगका रुपमा परापूर्वकाल देखि नै स्थापित व्यवसाय पछिल्लो समय सीपको पुस्ता हस्तान्तरण हुन नसकेका कारण लोप हुँदै गएको स्थानीयहरु बताउँछन् । यसका साथै जिल्लाका कारखानामा कोइलाको अभाव हुनु, सीप र प्रविधीले आधुनिकतासँग प्रतिष्पर्धा गर्न नसक्नु जस्ता कारणहरुले यहाँका फलाम कारखाना लोप हुन थालेका हुन् ।

बजारमा कृतिम अभाव सिर्जना गर्न दिइँदैन : साल्ट ट्रेडिङ

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशनले नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै बजारमा अभाव नभएको जनाएको छ । साल्ट ट्रेडिङले आगामी करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी यस्ता दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको प्रष्ट पारेको हो ।

दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आइरहेको कर्पोरेशनका विभागीय प्रमुख व्रजेशकुमार झाले करिब १० महिनालाई पुग्नेगरी नुन मौज्दात रहेको बताए । कर्पोरेशनसाल्ट ट्रेडिङसँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात रहेको र अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको उनले जानकारी दिए ।

साल्ट ट्रेडिङले चिनीको पनि पर्याप्त मौज्दात रहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाईअनुरोध गरेको छ । भागीय प्रमुख झाले जानकारी दिएअनुसार हाल दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा र सात हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमै रहेको छ।

चिनी उद्योगसँग मात्रै १ लाख १ हजार मेट्रिक टन चिनी

यता आपूर्ति मन्त्रालयले नेपालका चिनी उद्योगहरुसँग मात्रै एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात रहेको ले जनाएको छ। त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको जानकारी दिएको छ । त्यस्तै दुर्गम तथा हिमाली जिल्लामा चार हजार १६ मेट्रिक टन चामल मौज्दात रहेको र कम्पनीले फागुन दोस्रो सातासम्म १९ हजार ५२२ मेट्रिक टन धान खरिद गरिसकेको जनाएको छ ।

सरकारले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा पुनः आग्रह गरेको छ। सरकारले गरेको आग्रह र सरकारका निकायहरुले साल्ट ट्रेडिङको जस्तै उपभोक्ताको मागलाई ध्यानमा राखेर अघि बढ्ने हो भने बजारमा कुनै पनि वस्तुको अभाव हुने देखिदैन ।

सरकार र सरकारका सम्बनिधत निकायहरुले उपभोग्य वस्तुहरुको अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई निस्तेज पार्न सके बजारको वस्तुको अभाव पनि नहुने र सामानको मूल्य पनि नबढ्ने अपेक्षा गर्न सकिन्छ ।

साल्ट ट्रेडिङ मात्रै होइन नेपाल आयल निगम, औषधि व्यवस्था विभाग, खाद्य संस्थान लगायतका संस्थाहरुले आफ्नो क्षमताको सही मूल्याङ्कन गरेर बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने बडाईका साथ लाग्ने हो भने कुनैपनि वस्तुको अभाव हुँदैन् ।

उपभोक्ताको दैनिक उपभोग्य वस्तुहरुको आफूर्ति गर्दै आएका संस्थाहरुले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्नेविरुद्ध सरकारले चालेको कदमलाई साथ दिएर लाग्ने हो भने कालोबजारी आफै नियन्त्रण हुन्छ ।

यद्दपी यस कार्यका लागि व्यवसायी तथाा उपभोक्ताहरुको भूमिका पनि उत्तिकै महत्वपुर्ण रहन्छ । सबै सरोकारवालाहरुले आम उपभोक्तालाई केन्द्रमा राखेर व्यापार–व्यवसाय गर्ने र अनुगमन टोलीलाई पनि सहयोग गर्ने गर्ने हो बजारमा कृत्रिम अभाव रोक्न सकिन्छ ।

कृषि मन्त्रालयद्वारा प्रदेश सरकारसँग प्रि – बजेट समन्वय छलफल सुरु

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व प्रदेश सरकारहरुसँग छलफल थालेको छ ।

मन्त्रालयले जनाएअनुसार सातै वटा प्रदेश सरकारसँग एकीकृत नीति तथा कार्यक्रम तय गरी बजेट बनाउन आइतबारदेखि छलफल सुरु गरिएको हो ।

संघ र प्रदेश सरकारबीच योजनामा समन्वय नहुँदा कृषि क्षेत्रका समस्या थाती रहेको विगतको अनुभव पछि एकीकृत योजना तय गर्न दुई दिने छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

दुई दिनसम्म चल्ने छलफलमा सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सचिवको सहभागीता रहेको बताइएको छ ।