आजदेखि रातमा बाहिर हिडडुल गर्न नपाईने

काठमाडौं । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।

शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मा अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न नपाईने बताईएको छ ।


असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको हो ।

त्यस्तै, विवाह, ब्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ । उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।
पछिल्लो समय संक्रमण संख्या दिन प्रतिदिन बढ्दो भएपछि सरकारले थप सर्तकता अपनाउन लागेको हो ।

शोकमग्न देखियो त्रिभूवन विमानस्थल, जब खाडिबाट २३ वटा शव अवतार गरियो

काठमाडौं । खाडी मुलुकबाट आज चार्डर्ट विमानमार्फत नेपालीको शव काठमाडौ ल्याइएको छ ।


शुक्रवार कतार एयरवेजको चार्टर्ड विमानमार्फत २० शव ल्याइएको छ भने कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र यूएईको दुबईबाट आएको नेपाल एयरलाइन्सले सिन्धुपाल्चोकका एक जनाको शव ल्याएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव ल्याइएको छ ।


यस्तै कपिलवस्तुका मोहम्मद अलाम मुसलमान, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङका युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव आएको हो ।
यसैगरी, कुवेतबाट नुवाकोटकी सोनी तामाङ र संखुवासभाका मानबहादुर आलेको शव ल्याएको छ । यूएईबाट सिन्धुपाल्चोकका पेम्बा नुर्बू शेर्पाको शव नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको छ ।


विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म र्पुयाउने गर्दै आएको छ । अहिले कोरोनाको कारण उपत्यकाबाहिरबाट काठमाडौं आउन सम्भव नभएकाले बोर्ड आफैंले विदेशबाट ल्याइएका शव बुझेर सम्बन्धित घरसम्म र्पुयाइदिने बोर्डले जनाएको छ ।
तर कतिपय मृतकका आफन्तहरुलाई भने थाहा नभएर उनीहरु शव बुझ्न विमानस्थल पुगेका थिए । शव उर्ताने समयमा विमानस्थल निकै नै उदासिन देखिएको थियो ।
यसअघि कुवेतबाट ३, ओमानबाट १ र यूएईबाट १ जनाको शव ल्याइसकिएको छ ।

काठमाडौँमा आज पनि थप तीन जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ३ जनामा कोरोना पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।

बिहीबार मात्र काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा ३ जना गरी काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार देशभरिमा थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । संक्रमितमध्ये ७ हजार ५६७ पुरुष र ७०७ महिला रहेका छन्। त्ययस्तै शुक्रबार थप २१६ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा २ सय १६ जना डिस्चार्ज थप ४ सय २६ जनामा संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

त्यस्तै शुक्रबार २१६ जना देशभरिका विभिन्न आइसोलेशनबाट डिस्चार्ज भएका छन् ।

बैंकहरुले सरकारले ताेेकेकै मितिमा कर बुझाउने


काठमाडौँ । बैंकहरूले सरकारलाई समयमै कर बुझाउने निर्णय गरेका छन् ।

सर्वोच्च अदालतले असार ७ गते कर बुझाउनुपर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे पनि बैंकरूले भने तोकिएकै समयमै कर बुझाउने निर्णय गरेका हुन् ।

कर बुझाउने नागरिकको दायित्व भएको र सोहीअनुसार बैंकहरूले सरकारलाई समयमै कर बुझाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् ।

यो विश्वव्यापी संकटको समयमा हामीहरू मिलेर अगाड िबढ्नुपर्ने दायित्व रहेको बताउँदै राज्यलाई आवश्यक परेको समयमा नागरिकको दायित्व निर्वाह गरौं भन्ने सहमतिअनुसार असार ७ गतेभित्रै कर बुझाउने निर्णय भएको उनले बताए ।

उनका अनुसार केही बैंकहरूले आज देखि नै कर बुझाउन शुरु गर्ने छन् । ‘निर्णय अनुसार चैत र वैशाख महिनामा बुझाउनु पर्ने टीडीएस र दोस्रो किस्ता पनि असार ७ गतेभित्रै बुझाउने निर्णय भएको छ, केही बैंकहरूले भोलिदेखि नै बुझाउनु हुनेछ,’ दाहालले भने ।

बैंक तथा वित्तीय संस्थाहरूको हकमा भने दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तमा वार्षिक आम्दानीको पूर्वानुमान गरेर सोही आधारमा कर दाखिला गर्ने गरिएको छ ।

यसअघि सरकारले जेठ २५ गतेभित्र कर बुझाउनका लागि सूचना जारी गरेको थियो । लकडाउनको अवधिमा कर बुझाउने सूचनाको विरोध भएपछि सरकारले दुई साता समय थप गरेको थियो ।

पर्वत अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मीमा देखियाे कोरोना


काठमाडौँ । गण्डकी प्रदेशको पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
राष्ट्रिय प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले जानकारी दिनुभएकाे हाे ।

संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरिएको छ । अर्को सुचना नआउँदासम्म सेवाहरू बन्द हुने डा देवकोटाले बताएका छन् ।

१ सब सहित एक सय ४८ यात्रु लिई युएईबाट नेपाल एयरलाइन्स उड्याे

काठमाडौं । युएईबाट नपाली लिएर नेपाल एयरलाइन्स उडिसकेकाे छ । कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ४८ जना नेपाली आज नेपाल अाउँदै छन् । नेपाल एयरलाइन्सको आरए(२२९२) को पोहिलो ‘उद्धार’ उडानमार्फत एक सय ४८ जना आज नेपाल अाउन लागेका हुन् ।

उडान तालिका भन्दा चार घन्टा ढिलो गरि स्थानिय समय अनुसार बिहानको ५ः१० बजे दुबईबाट उडेको थियो । जहाज १ बजेर २५ मिनेट जाँदा उड्न पर्ने थियो।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका गर्भवती महिला, बिरामी,असक्त रहेका छन् । जसमा ९४ जना गर्भवती महिला र २० जना गर्भवती महिलाका श्रीमान, ९ जना दीर्घ रोगी, ३ जेष्ठ नागरिक, १ जना प्यारालाइसिस भएका, १० जना वर्किङ भिसा सकिएका र अन्य ११ जना यात्रु छन्। उनीहरु सबै आफ्नै खर्चमा नेपाल फर्किएका हुन्।

उनीहरुलाई दुवई बिमानस्थलमा नै निःशुल्क आरडीटी परीक्षण गरिएको गैर आवासीय नेपाली संघ एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले रातोपाटीलाई बताए। उपाध्यक्ष शेर्पा र कोषाध्यक्ष विकास शाहीले यात्रुहरुलाई सहजीकरण गरेका थिए।

उनीहरुको बिदाइको लागि नेपाली दूतावासका आबुधावीका उपनियोग प्रमुख तथा प्रवक्त्ता रिता धिताल र द्वतीय सचिव भुवन ओझा विमानस्थल पुगेका थिए। साथै गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका अध्यक्ष प्रकास कोइराला, महिला संयोजक शोभा शर्मा, नेपाल एसोसिएसनका बोर्ड मेम्बर कल्पना राई र नेपाली समाजका महासचिव वेदप्रसाद अर्याल पनि विमानस्थल पुगेका थिए। जहाजमा १ सय ४८ यात्रु र एक जनाको शव रहेको छ ।

फेसबुकले किन हटायाे ट्रम्पकाे पाेष्ट?

एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुकमा राखेको दर्जनौं विज्ञापन पोष्ट हटाएको छ ।

अमेरिकामा सेप्टेम्बरमा हुन लागेको प्रधानमन्त्रिय चुनावको लागि राखिएका ट्रम्प, उपराष्ट्रपति माइक पेन्स र टिम ट्रम्पबाट ती स्पोन्जरड पोष्टहरु राखिएको २४ घण्टापछि मात्रै फेसबुकले हटाएको हो ।

ट्रम्पले राखेका ती विज्ञापन पोष्टमा नाजी पार्टीको घृणाको संकेत जस्तै संकेत राखिएको थियो ।

फेसबुकले २४ घण्टा पछिमात्र हटाएपछि साेहि पोष्ट धेरै मानिसले देखिसकेका थिए । फेसबुकलले संगठित घृणा उत्पन्न गराउने किसिमको पोष्ट भएका कारण नीति उल्लंघन गरेको भन्दै उक्त विज्ञाापन पोष्ट हटाएको हो ।

उल्टाे राताे त्रिभुज जस्ताे संकेत उक्त पाेष्टमा राखिएकाे थियाे । यद्यपी ट्रम्पकाे चुनावी अभियानका प्रवक्ताले भने फेसबुकले यस्तै किसिमकाे संकेत इमाेजीका लागि भने राखेकाे र पाेषटहरूलार्इ खाली अाराेप लगाएकाे बताएका छन् ।

सन् १९३० मा यस्तै संकेत नाजी पार्टीले कम्युनिष्टहरुलाई छुट्याउन र अन्य सामाजिक लोकतान्त्रिक एवं नाजीहरुले बन्दी बनाएका मानिसहरुलाई चिन्न प्रयोग गर्ने गरेको थियो ।

ट्रम्पले पनि अमेरिकामा कालो मानिसको हत्यापछि आन्दोलनमा उत्रिएकाहरुलाई सम्बन्धित बनाउँदै उक्त पोष्ट गरेका थिए ।

त्यसै पोष्टमा नाजीले बन्दी बनाएकाहरुलाई चीन्न प्रयोग गरिएको जस्तै उल्टाे राताे त्रिभुज जस्ताे संकेत राखेका हुन् । यसअघि ट्विटरले पनि ट्रम्पका पाेष्टहरु हटाएकाे थियाे ।

गण्डकी प्रदेशमा बिहानै थप २४ जनामा काेराेना पुष्टि: प्रदेशमा संक्रमितको संख्या ३४८ पुग्याे

काठमाडौं । गण्डकी प्रदेशमा बिहानै २४ जनामा काेराेना संक्रमण भएकाे छ ।

प्रदेशकाे विभिन्न जिल्लामा भारतबाट अाई क्वारेन्टाइनमा बसेका व्यक्तिलाई संक्रमण भएकाे हाे ।


संक्रमितहरु नवलपरासीकाे बिनयत्रिबेणी गाउँ पालिकाका २ जना, बाग्लुङकाे गल्काेट नगरपालिकाका र काठेखाेला गाउँपालिकाका गरि १४ जना, कास्कीको पाेखरा र रुपा गाउँपालिकाका ६ जना र स्याङ्जाको कालि गण्डकि गाउँपालिका १ र साेहि जिल्लाकै पालिका नखुलेका १ जना गरि २४ जना रहेका छन् ।

संक्रमित हुनेमा १९ वर्ष देखि ६१ वर्षसम्मका २ महिला र बाँकि पुरुषहरु रहेका छन् ।

सीमानाकामा धमाधम सशस्त्र प्रहरीको स्थायी बीओपी थप्दै सरकार

काठमाडौं । सरकारले सीमानाकामा सशस्त्र प्रहरीको स्थायी बीओपी थपिरहेकाे छ ।

नेपाल सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पुर्याउने गरी धमाधम काम अघि बढाएकाे गृह मन्त्रालय स्राेतले जनाएकाे छ ।

सीमा सुरक्षा व्यवस्थापन गर्न सरकारले  ५ सय स्थानमा स्थापना सशस्त्र प्रहरी बलको बीओपीको संख्या थप गर्ने लक्ष्य राखेकाे छ । त्यस्कालागि  सरकारले तत्कालका लागि २ सय २१ पुर्याउने गरी काम सुरु गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि १ सय ७ स्थायी बीओपी रहेकामा १ सय १४ थप गरी २ सय २१ पुर्याइने लक्ष्य लिइएको हो । गृहमन्त्री रामबहादुर थापाले बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७७ माथिको छलफलमा उठेका विषयका सम्बन्धमा जवाफ दिने क्रममा स्थायी बीओपी २ सय २१ पुर्याइने गरी काम सुरु भएको जानकारी गराएका हुन्।

गृहमन्त्री थापाका अनुसार बुधबारसम्म दार्चुला जिल्लाको छांगरु र हुम्लाको हिल्सासमेत गरी १ सय २९ स्थानमा स्थायी बीओपी स्थापना भइसकेको हुनेछ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ६९ वटा बोर्डर आउट पोस्टको भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरेको गृहमन्त्री थापाले भनेका छन्।सरकारले कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि भन्दै भारतीय सीमा क्षेत्रमा हाल १२ सय १३ वटा सशस्त्र प्रहरीका अस्थायी चेक पोस्ट स्थापना गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीतर्फका कुल २२ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ।
पछिल्लाे समय भारतसँग सिमा विवाद चर्किएपछि सरकार सिमा सुरक्षामा अझ सतर्क र चनाखाे भएर लागेकाे गृहमन्त्री थापाकाे भनाई छ ।

नेपालको संविधानको दोस्रो संशोधन विधेयक राष्ट्रपतिद्धारा प्रमाणितः अब अनुसूची ३ मा नयाँ नक्सा सहितको निशान छाप

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।


राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।


अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा रहनेछ । संविधान संशोधन विधेयक दुवै सदनबाट सर्वसम्मतिले पारित भएको थियो ।

तिर्न सक्ने उद्योगीव्यावसायीले राजश्व बुझाएर सरकारलाई सहयोग गर्नुपर्छ: गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर तिर्नु नागरिकको जिम्मेवारी भएकाले तिर्न भएकाहरुले तिरेर सरकारलाई सहयोग गर्न आह्वान गरेका छन् ।


गोल्छाले आज ट्वीट गर्दै कर तिर्नु हरेका नागरिकको जिम्मेवारी भएकाले सक्ने उद्योगीरव्यवसायीले राजश्व बुझाएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन– ‘सर्वोच्च अदालतको आदेशले कठिन अवस्थामा हामीलाई केही सजिलो भएको छ ।’


तर, महामारीका कारण कर तिर्न नसक्ने उद्यमी व्यवसायीहरूको समस्या भने सरकारले बुझ्नुपर्ने उनले बताएका छन् ।
गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाटै संकट टर्ने समेत उल्लेख गरेका छन्। ।

नेपालमै पहिलोपटक बुद्ध एयरले लियो आधुनिक सिमुलेटर

काठमाडौं । वायुसेवा कम्पनी बुद्ध एयरले आधुनिक सिमुलेटर ल्याएको छ । निजी क्षेत्रको अग्रणी स्थानमा रहेको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालमा पहिलो पटक यो आधुनिक सिमुलेटर ल्याएको हो ।


कम्पनीका अनुसार पाइटलको तालिम दिने प्रयोजनका लागि ल्याइएको हो । यो सिमुलेटर नयाँ पुस्ताको हो । उडानमा हुने समस्या समाधानका लागि ल्याइएको यो सिमुलेटर ५ लाख युरो अर्थात करिब ७ करोड रुपैयाँ खर्च भएको कम्पनीको भनाइ छ ।
एटीआर विमानका लागि लक्षित गरी ल्याइएको सिमुलेटर विमानमा देखिने कुराभन्दा पनि भित्रको सिस्टमबारे विस्तृतमा जानकारी प्राप्त हुन्छ । विमानमा आउने कुनै पनि समस्या उक्त सिमुलेटरमा देखिन्छ ।

‘कुनै विमान गन्तव्यमा उडान गर्दा उक्त विमानस्थलमा अवतरण गर्दाको त्यहाँको मौसमको अवस्था, विमानको सिस्टमको अवस्थालगायत सम्पूर्ण जानकारी सिमुलेटरमा प्राप्त हुन्छ,’ कम्पनीले भनेको छ ।

सिमुलेटर विशेष गरी तालिम प्रयोजनका लागि ल्याइएको हो । विमान उडान गर्दा हुने सबै खाले जानकारी यसमा प्राप्त हुन्छ । आधुनिक सिमुलेटर एटीआर विमानको ककपिटमा भएको सम्पूर्ण सिस्टम भएको छ ।

ज्वरो मात्र नापेर कतारबाट नेपाली ल्याउँदै

काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले असार ६ मा नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स ८ र १० गते कतारबाट नेपाल उडान हुने जानकारी गराएको छ ।
कोरोनाको महामारीपछि कतारबाट नेपाल फर्कनेहरुका लागि दोस्रो चरणको उडान तालिका सार्वजनिक भएको छ ।
साही ६, ८ र १० गते हुने ३ वटा उडानका लागि सम्भावित यात्रुहरुको सूची कतार सरकारको सम्बन्धित निकायबाट स्वीकृत भइसकेको विज्ञप्तिमा जनाइएको छ । चार्टर फ्लाइटको हवाई भाडा अमेरिकी डलर ३९२ तोकिएको छ ।
कतारमा हाल निजी स्वास्थ्य संस्थाहरुलाई कोराना परीक्षण गर्ने अनुमति नभएकाले दोहा–काठमाडौं यात्रा गर्ने क्रममा कोरोना संक्रमण नभएको प्रमाणपत्र साथमा राख्न सम्भव नभएको सन्दर्भमा विमानस्थलमा ज्वरो मापन गरिने साथै “भ्जतभचबश मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने भएकाले अनिवार्य रुपमा उक्त एप सञ्चालनमा ल्याउन कतारमा रहेका नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।
२० जुनको नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत यात्रा गर्ने सम्भावित १७४ यात्रुहरु रहेको जनाएको छ ।
२२ जुनको हिमालयन एयरलाइन्समा यात्रा गर्ने सम्भावित १७४ यात्रुहरु र २४ जुनको हिमालयन एयरलाइन्समा यात्रा गर्ने १७३ जना सम्भावित यात्रुहरु रहेका छन् ।

सुचिकृत तालिकामा सम्भावित १८४ यात्रुरुहरुको नामावली दूतावासले सार्वजनिक गरेपनि नेपाल एयरलाइन्सको अर्काे उडान मिति तय भएको छैन ।
उक्त सूचीमा परेका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त भएपछि मात्र उडान गर्न पाउने दूतावासले विज्ञप्तिमा जनाएको छ ।

पहुँचको आधारमा डा. दिव्यासिंहलाई डिनमा नियुक्त गरिएको भन्दै तालाबन्दी

काठमाडौँ । दिव्यासिंह शाहलाई डीन नियुक्त गरेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै भातृ विद्यार्थी संगठन अनेरास्ववियूले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम )मा तालाबन्दी गरेको छ ।


बरिष्ठता मिचेर राजनीतिक पहुँचकै आधारमा सिंहलाई डिन नियुक्त गरेको भन्दै विरोध भइरहेका बेला अनेरास्ववियूले तालाबन्दी गरेको हो ।
क्याम्पस कमिटी अध्यक्ष विनय पंज्ञानीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली संगठन सरकारमा जोसुकै भए पनि विकृति र विसंगतिका विरूद्ध सधै लडेको इतिहास छ । तसर्थ कोरोना महामारीका बेला रातारात विषय टुंग्याएर राजनीतिक आडमा अमुक व्यक्तिलाई डिन बनाइएको हुनाले यस संगठन चुप बस्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सिफारिसअनुसार त्रिविले डिनमा नियुक्त गरेको थियो ।
‘यो आन्दोलन व्यक्ति विशेषविरूद्धको नभई पद्धति विरुद्ध लक्षित छ ।

हामीले प्रक्रियाको कुरा बारम्बार उठाउँदा पनि अटेरी गरी पद्धति विपरीत गएको हुनाले घोर विरोधसहित बन्द गर्न बाध्य भएका हौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन निर्णय सच्याइ राम्रो नजीरलाई कायम राखी योग्यता र बरिष्ठतामा आधारित भई डिन पदको नियुक्ति गरियोस् भन्ने माग राखी तालाबन्दीसहित आन्दोलन प्रारम्भ गरेको जानकारी गराउँदछौँ ।’