लकडाउन अवधिमा औषधिमात्रै ६ अर्बको आयात

काठमाडौँ । लकडाउन अवधिमा औषधिमात्रै रु ६ अर्बको आयात भएको छ ।

गत चैत ११ गतेदेखि लकडाउन सुरु भएको हो । सोही अवधिमा नै रु ६ अर्ब बराबरको औषधि आयात भएको स्रोतले जनाएको हो ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको जनाएको छ ।


सो अवधिमा रु ४ अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र १ एक अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

गत २४ घण्टा यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २, संक्रमित हुनेमा आजसम्मकै धेरै ६ सय ७१

काठमाडौँ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।


आज मृत्यु हुनेहरूमामा कैलाली गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा २ का ४३ वर्षीया महिला रहेका छन् ।
पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो भने महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

हालसम्म नेपालको ७४ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।
त्यस्तै आजै नेपालमा अहिलेसम्मकै धेरै ६ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
बिहिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।

एसियाको आर्थिक वृद्धिदर ०.१, ६० वर्ष यताकै न्यूनः एडीबी

काठमाडौं । चालु आर्थिक २०२० मा एसियाको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमात्रै हुने एसियाली विकास बैंकले अनुमान प्रक्षेपण गरेको छ ।

सियाली विकास परिदृश्य (एसियन डेभलपमेन्ट आउटलुक)को पूरक प्रकाशन सार्वजनिक गर्दै एडीबीले कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण आर्थिक गतिविधिहरुमा असर पर्नुका साथै बाह्य मागमा समेत कमी आएको तथ्यलाई दृष्टिगत गर्दै आर्थिक वृद्धिदर अनुमान संशोधन गरेको हो ।


एडीबीले नेपालको आर्थिक वृद्धिदर चालु आवमा २.३ प्रतिशत र आगामी आवमा ३.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।
कोरोनाको कारण आर्थिक वृद्धिदर सुस्त भएको विकास बैंकको दाबी छ । यो वर्षको वृद्धिदर सन् १९६१ यताको न्यून हुने बैंकले जनाएको छ ।


एसियाका अधिकांश उपक्षेत्रको वृद्धिदर समेत सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ । एडिबीले सन् २०२० मा पूर्वी एसियाको वृद्धिदर १.३ प्रतिशतमा सीमित हुने बताएको छ । यसअघि अप्रिलमा २.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रक्षेपण गरिएको थियो । यो क्षेत्रमा सन् २०२१ देखि रिकभर हुने अनुमान बैंकले गरेको छ ।

एडिबीले दक्षिण एसियाको वृद्धिदर पनि सन् २०२० मा ३ प्रतिशको वृद्धि हुने अनुमान गरेको छ । यसअघि अप्रिलमा ४.१ प्रतिशतको वृद्धिदर हुने अुनमान थियो ।
साथै यो वर्ष दक्षिण पूर्वी एसियामा २.७ र सेन्ट्रल एसियामा ०.५ प्रतिशतको वृद्धिदर कायम हुने बैंकले प्रक्षेपण गरेको हो ।


यद्यपि, यो आर्थिक वृद्धिदर अहिलेको संकट सुरु हुँदैगर्दा पूर्वाद्र्धतिरको अनुमान थियो ।
पछिल्लो चरणमा औद्योगिकरण भएका हङकङ, चीन, कोरिया, सिंगापुर, ताइपेइ, चीनलाई छाडेर विकासशील एसियाको आर्थिक वृद्धिदर सन् २०२० मा ०.४ प्रतिशत र आगामी वर्ष ६.६ प्रतिशत हुनेछ ।


एसियाली विकास बैंकको परिदृश्यले जोखिमको सम्भाव्यतालाई भने नकारेको छैन । कोभिड–१९ को प्रकोपले बहुपक्षीय प्रभाव पारेका कारण देशहरुको ऋण र वित्तिय संकटलाई टार्न नसकिने उल्लेख गरिएको छ । यसका साथै अमेरिका र चीनबीच व्यापारमा टकराव थप गहिरिने सक्ने आँकलन गरिएको छ ।

नेपालकाे संविधान दोस्रो संशोधन पनि सर्वसम्मतले पारित भयाे


काठमाडौं । नेपालको संविधान ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित गरेको हो।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले सभामा उपस्थित रहेको शतप्रतिशत मतदान संविधान संसोधनको पक्षमा परेको जानकारी दिए। मतदानमा ५७ जनाको सांसदको उपस्थिति रहेको थियो। राष्ट्रिय सभामा कायम रहेका हाल ५८ सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने एक सांसद पद अहिले रिक्त छ ।

प्रतिनिधि सभाबाट जेठ ३१ गते नै सर्वसम्मतिले पारित भइसकेको उक्त विद्येयक राष्ट्रिय सभाबाट पनि दुई तिहाई बढी मतले पारित भएको हो।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय सभाको आजको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल सदनमा प्रस्तुत गरियोस् भन्ने प्रस्ताव पेश भई दफावार छलफलपछि मतदान भएको थियो।

राष्ट्रिय सभाबाट पारित भएको विधेयक अब प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइनेछ । त्यसपछि नेपालको नयाँ नक्सा सहितको निशान छापसम्बन्धी संविधान संशोधन विधेयकले संवैधानिक मान्यता प्राप्त गर्नेछ ।

चिनिया कम्पनीसँगको खर्बाैंको आयातमा भारतले प्रतिबन्ध लगायाे

काठमाडौँ । भारतले कुनै पनि चिनिया कम्पनीका टेलिकम उपकरणमा प्रतिबन्ध लगाउने भएको छ । चीनविरूद्ध ‘ट्रेड वार’मा उत्रिन खोज्दै भारतले कुनै पनि केन्द्रिय टेलिकम्पनीहरुलाई चिनिया कम्पनीका सामान किन्नबाट रोक लगाउने जनाएको छ ।

लद्दाखमा भएको सैनिक भिडन्तपछि भारतले चीनसँग बदला लिन यस्तो निर्णय गरको हो । निर्णयअनुसार विश्वकै टप मोबाइल कम्पनीका रुपमा रहेको हुवावे र अर्काे मोबाइल कम्पनी जेडटिइबाट अब भारतीय टेलिकम्पनीहरुलाई सामग्री किन्न पाउने छैनन् । साथै भारतले ‘भारत सञ्चार निगम र माहानगर फोन निगम’बाट फोरजीका उपकरणका लागि आह्वान गरेको टेन्डरबाट पनि चाइनीज भेन्डरलाई हटाउने तयारी थालेको छ ।

स्रोतका अनुसार भारतमा टेलिकम कम्पनीहरुको कारोबार झण्डै २० हजार करोड रुपयाँ बराबरको छ । त्यसको एक चौथाइ चिनिया कम्पनी हुवावे र जेडटिइले ओगेटेका छन् ।
भारतको सोही निर्णयले चिनिया कम्पनीहरुलाई झण्डै ५ हजार करोड (करिब ५ खर्ब) को झड्का लाग्ने अनुमान छ ।

बुधबार बसेको भारतीय उच्च स्तरको बैठकले नै चीनसँग व्यापारिक द्वन्द्व सुरु गर्ने निर्णय गरेको भारतीय अधिकारीहरुले बताएका छन् ।

कोरोनाले वातावरण संरक्षण गर्न सिकायो


काठमाडौँ । कोरोनाले वातावरण संरक्षण गर्न सिकाएको सरोकारावालाले जोड दिनु भएको छ ।


तराई विकास तथा संचार केन्द्र, नेपालले आज यहाँ आयोजना तथा काठमाडौ महानगरपालिकाको सहकार्यमा भएको “मानविय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रममा उनीहरुले वातावरण संरक्षण मानिस स्वयम्ले गर्नुपर्ने बताएका छन ।


काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले कोरोना भाइरस जस्तो महामारीले प्रकृति मानिस कसरी वस्नु पर्दछ भन्ने पाठ सिकाएको बताउनुभयो ।
उहाँले अहिले बन्दाबन्दी (लकडाउन)ले गर्दा देशभरिको नै वातावरण स्वच्छ रहेकोले अहिल्यै कै जस्तै वातावरण बनाउन सवैले फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।


“मानिसले पहिले भूकम्पको कारण वातावरण संरक्षणमा जोड दिएका थिए । खुला ठाउँ छोड्ने अग्ला घर नबनाउने जस्ता कुरामा केही समय ध्यान दिएका थिए ” उहाँले भन्नुभयो, “तर केही बर्षमा त्यसलाई विर्सका थिए । अहिले फेरि कोरोनाले मानिसलाई वातावरण संरक्षण गर्नुपर्दछ भन्ने सिकाएको छ ।”
उहाँले लकडाउनले गर्दा वोटविरुवाले राम्रोसंग श्वास फेरेर देश नै सुन्दर बनाएर मुलुकलाई चिनाएको बताउनुभयो ।


उहाँले नेपाल गौतमवुद्ध र पशुपतिको देश भएर यहाँका जनतालाई केही नभएको भन्दै नेपालीमा इम्युनिटी पावर बढी रहेकोले नै महामारीको भयाभव स्थिति नभएको स्पष्ट पार्नुभयो । उहाँले कोरोना जस्तो महामारीले नेपालीलाई खानपान, व्यवहारमा परिवर्तन गरेको उल्लेख गर्नुभयो ।


उहाँले काठमाडौ महानगरले वातावरण संरक्षण गर्नुपर्दछ भनेर एक घर दुई वोटविरुवा रोप्ने अभियान संचालन गरेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौका जिल्ला प्रमुख अधिकारी जनकराज दाहाल लकडाउनले मात्र समस्या समाधान नहुने भन्दै लकडाउनका स्वरुप परिवर्तन गरिएको बताउनुभयो । उहाँले भोलिदेखि जनजिवनलाई सहज बनाउन लकडाउनको स्वरुप परिवर्तनगरिन थालिएको बताउनुभयो ।


उहाँले सरसफाई राख्न सकेमात्र कोरोना भाइरसबाट बच्न सकिने भन्दै कुहिने र नकुहिने फोहोरलाई अलग अलग व्यवस्थापन गर्नसकिने बताउनुभयो ।
कार्यक्रममा महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौ उपत्यकामा दैनिक एक हजार १४३ मेटिक टन फोहोर उत्सर्जन हुने भएकोले त्यसलाई व्यवस्थापन गर्न स्थानीयवासीको अग्रसरता हुनुपर्ने बताउनुभयो ।
उहाँले उपत्यकाको फोहर व्यवस्थापन नुवाकोटको बन्चरेडाँडामा भइरहेकोले अव त्यहाँ व्यवस्थापन गर्न समस्या हुने बताउनुभयो । “ फोहर व्यवस्थापन गर्ने काम घरबाट नै हुनुपर्दछ ” उहाँले भन्नुभयो, “ एउटा घरबाट दैनिक ३०० ग्राम निस्कने फोहरलाई कौसी खेती, करेसावारीमा खेतीमा प्रयोग गर्नुपर्दछ ।”
उहाँले काठमाडौमा मात्र दैनिक एक हजार राँगाको बध गर्ने भएकोले त्यस्तो वधको अन्त्य गर्न महानगर लागिरहेको जानकारी दिनुभयो ।


कार्यक्रममा ओम समाज डेन्टल अस्पतालका प्रमुख डा सुवास घिमिरेले दाँत र मुख सफा भए ९० प्रतिशत रोग नलाग्ने बताउनुभयो । उहाँले कोरोना भाइरसबाट बच्न पनि नियमित दाँतको सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो अस्पतालले स्थलगत रिर्पोटिग गर्ने पत्रकार, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क दन्तसेवा प्रदान गरिरहेको बताउनुभयो ।


वातावरण पत्रकार समूहका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सल्लाहाकार तीर्थ कोइरालाले उपत्यकामा सहरिकरण समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले नेताका भाषण मात्र नलेखेर वातावरणले पार्ने प्रभावका बारे लेख्नुपर्ने बताउनुभयो ।


महासंघका केन्द्रीय सदस्य तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईले लकडाउनका कारण धुँलो धुँवा नभएकोले सुन्दर वातावरण देख्न सकिएको भन्दै सवै मिलि वातारण संरक्षण गर्नुपर्ने बताउनुभयो


सोही अवसरमा प्रमुख अतिथि अर्यालले ओम समाज डेन्टलका प्रमुख डा. घिमिरेलाई लकडाउन अवधिभरि संचारकर्मीलाई निःशुल्क सेवा प्रदान गरेवापत सञ्चारकेन्द्रको तर्फबाट सम्मान गर्नु भएको थियो । लकडाउन अवधिभरि १५० भन्दा बढी संचारकर्मीको दाँत परीक्षण गरिएको डेन्टलका प्रमुख डा. घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा उच्च अदालत पाटनका न्यायधिश मोहम्मद साविर हुसेनको समेत सहभागिता रहेको थियो ।

असार १ गते देखि श्रव्यदृश्य माध्यमबाट पठनपाठन सञ्चालन हुँदै

काठमाडौँ । कोरोनाभाइरसका कारण रोकिएको पठनपाठन लाई सरकारले असार १ गतेदेखि श्रव्यदृश्य माध्यमबाट सञ्चालन गर्ने भएको छ ।

कक्षा दश सम्मका विधार्थिलाई ध्यानमा राखि टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु मार्फत पढाइ सञ्चालन गर्न लागिएको हो ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रले टेलिभिजनमा पढाइ हुने कक्षा र विषय अनुसारका समय तालिका सार्वजनिक गरेको छ । जस अनुसार, पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत पाठहरुको श्रव्यदृश्य सामग्री १ असारदेखि ३१ असारसम्म विभिन्न माध्याममा प्रशारण हुनेछ ।

तालिका अनुसार कक्षा १ देखि ८ सम्मका श्रव्यदृश्य पाठहरु एनटिभी प्लस च्यानलबाट प्रशारण हुनेछ। यस्तै, कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कूल एजुकेसन च्यानलबाट प्रसारण हुनेछन्।

महामारीका कारण विद्यालयहरु तत्काल खुल्ने अवस्था नभएकाले ुवैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ु अनुसार सामग्री तयार पारेर प्रशारण गर्ने व्यवस्था मिलाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

बंङ्गलादेशमा अलपत्र नेपाली आज नेपाल आउँदै

काठमाडौं । बङ्गलादेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुने स्रोतले जनाएको छ ।


तालिका अनुसार आज नेपाल एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने छ ।
नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे १० बजे ढाका उडेको छ । उताबाट दिउँसो साढे २ बजे काठमाडौँ अवतरण गर्नेछ । निगमका प्रवक्ता अर्चना खड्काले विदेशमा अलपत्र नेपालीलाई निगमका जहाजले आजदेखि स्वदेश ल्याउन शुरु गर्ने जानकारी दिनुभयो ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।


नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन् ।

निगमको अपरेशनल विभागका अनुसार नेपाल एयरलाइन्सले जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान गर्नेछ । त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।

त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ मा नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दाह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जलस या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ ।

हिमालय एयरलाइन्सले पनि बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अबर, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ ।

विप्लपले गर्यो सरकारको प्रशंसा

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले नयाँ नक्सा पारित गरेकोमा केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै विप्लवले विज्ञप्ति जारी गर्दै उक्त कदमको प्रशंशा गरेका हुन् ।
तर जनमत र संघर्षको दबाबमा परेर ओली सरकारले संसद्बाट नक्सा पास गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

उनले विज्ञप्ति मार्फत सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ बताएका छन् ।

साथै, नक्सा मात्र परेर जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभइ, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन पनि विप्लवले सरकारलाई सुझाव दिएका छन् ।
विज्ञप्तिमा ‘यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौं ।’ उनले सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन पनि अनुरोध गरेका छन् ।

आज प्रदेश २ मा मात्रै थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । प्रदेश २ मा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्य पर्साका ३ जना बाहेक बाँकी सबै पुरुष रहेका छन् ।
शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो ।

पर्वतमा आएको पहिरोमा परि ७ जनाको मृत्यु

पोखरा । पर्वतको कुश्मा नगरपालिका—३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा सातजनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा ५८ वर्षीय तुलबहादुर थापा, उनकी पत्नी मीनकुमारी थापा, नातिनी विविशा थापा, दीपा थापा, कमला विक र प्रमिसा विक रहका छन् भने अझै एकजनको भने परिचय खुलेको छैन ।
शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोले उनीहरुको ज्यान लिएको हो । उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका हुन् ।


तुलबहादुर थापाको ६ जनाको परिवार र कमला विकको ३ जनाको परिवार पहिरोले पुरेको हो । ९ मध्ये सातजनाको शव फेला परेको हो । पहिरोमा परेर अझै दुईजना बेपत्ता छन् ।

आज नेकपा सचिवालय बैठक बस्दै, एमसिसीबारे छलफल

काठमाडौँ । अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे छलफल गर्न आज अपरान्न ४ बजे केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले एजेण्डाका विषयमा औपचारिक जानकारी नभए पनि एमसिसीकै बारेमा छलफल गर्ने सम्भावना रहेको बताए । बैठकमा नेकपाद्वारा गठित कार्यदल सदस्यहरु परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, स्थायी समिति सदस्य भीमबहादुर रावल र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि बोलाइएको पवक्ता श्रेष्ठले बताए ।


यसअघि २७ जेठमा बोलाइएको बैठक स्थगित भएको थियो । संसदमा बजेट र संविधान संशोधनसम्बन्धि एजेण्डा पारित गर्नुपर्ने भएकाले कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो ।
नेकपाभित्र एमसिसी यथास्थितिमै पारित गर्ने कि संशोधनसहित पारित गर्ने भन्ने विषयमा लामो समयदेखिको विवाद टुंगिएको छैन । तर, सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसदबाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने हुन्छ ।

कारोना संक्रमणबाट थप एकजनाको मृत्यु

गुल्मी । गुल्मीका कोरोना संक्रमित ३६ वर्षीय मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
उपचारमा खटिएका डा. कविराज भुसालले स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न महिला स्वास्थ्यकर्मीले नै रगत दिएको बताए । तर कोसिस गर्दागर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उनलाई बचाउन सकिएन उनले भने ।

शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा बसेका थिए । उनको जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा रहेर उपचाररत थिए ।

तर उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । उनमा रक्त अल्पताको समस्या देखिएपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी थिईन । उनको ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।

थापाको नेतृत्वमा देशभरका १सय १५ अस्पतालको अनुगमन

काठमाडौँ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको ११ औं स्थापना दिवसको अवसरमा यूनियनका अध्यक्ष चन्द्र थापाको नेतृत्वमा देशभरका १ सय १५ अस्पतालको अनुगमन तथा सर्वेक्षण गरिएको छ ।
थापाले कोरोना जोखिमको समयमा पनि अहोरात्र खटिरहेका सस्वास्थ्यकर्मीहरुले पारिश्रमिक, सुरक्षा सामाग्रि तथा सामाजिक सुरक्षा कोषमा सुचिकरणको अवस्था वारेमा बुझ्न र सहजता ल्याउनको लागि सर्वेक्षण गरिएको बताउनु भयो ।
देशभरका १ सय १५ स्वास्थ्य संस्थाहरु मध्यबाट प्रदेश नम्वर १ का १८ प्रदेश नम्वर २ का २ बाग्मती प्रदेशका ४८ , गण्डकी प्रदेशका १६ , प्रदेश ५ का २७ , कर्णाली प्रदेशका ३ र सुदुर पश्चिम प्रदेशका १ गरि देशभरका १ सय १५ वटा स्वास्थ्य संस्थाहरुमा सर्वेक्षण गरिएको बताउनु भयो ।

अध्ययन अनुसार ६० प्रतिशत स्वास्थ्य संस्थाहरु संचालनमा रहेको ४० प्रतिशत अंशिक संचालनमा रहेको देखिएको छ ।३३ प्रतिशत अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएको ६४ प्रतिशतले आंशिक रुपमा उपल्ब्ध गराएको देखिएको छ ।

यस्तै ४१ प्रतिशत स्वास्थ्य संस्थाले चैत महिनाको पुरा पारिश्रमिक दिएको, ५६ प्रतिशतले बिदा कटौती गरेको र ३ प्रतिशतले पारिश्रमिक नै नदिएको देखिएको छ । बैशाख महिनाको जम्मा १५ प्रतिशतले पुरा पारिश्रमिक दिएको ६९ प्रतिशतले बिदा कटौती गरेको र १६ प्रतिशतले पारिश्रमिक नै नदिएको पाईएको छ । अझ सामाजिक सुरक्षा कोषको हकमा निजि स्वास्थ्य संस्था उदासिन देखिएको छ । ९५ प्रतिशत निजि स्वास्थ्य संस्था हाल सम्म पनि सामाजिक सुरक्षा कोषमा सुचिकृत नभएको देखिएको हो ।

कतिपय निजी अस्पतालहरुमा ब्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) बिना नै काम गर्न पर्ने बाध्यात्मक अवस्था रहेको, केही अस्पतालमा विगत फागुन महिना देखि कै पारिश्रमिक नपाएको, कतिपय निजि स्वास्थ्य संस्थामा कार्यरत श्रमिकहरूले समयमा तलब नपाउने, पाए पनि पूरा तलब नपाउने र बेतलबी बिदा बस्नुपर्ने बाध्यताले उनीहरुको दैनिक जीवन यापन झन झन कष्टकर हुदै गएको , घरभाडा र अत्यावश्यक दैनिक उपभोज्ञ सामाग्रीको जोहो गर्न पनि नसक्ने अवस्था बनेको सर्बेक्षणले देखाएको छ ।
अस्पताल सञ्चालकहरूबाट नेपाल सरकारको निर्णयको यसरी संकटपूर्ण अवस्थामा समेत खुल्ला उल्लघन हुनु निन्दनीय रहेको भन्दै अध्यक्ष थापाले कर्मचारीहरूका जीवनयापन प्रति पूर्णरूपमा गैहृ जिम्मेवार बनेका निजि क्षेत्रका अस्पताल सञ्चालकहरूको मनोमानीले मर्यादाको सीमापार गर्न थालेको बताए ।लकडाउन अवधीको नेपाल सरकारको निर्णय अनुसारको पारिश्रमिक र प्रोत्साहन भत्ता सबैलाई समान रूपले अविलम्व उपलब्ध गराउन अध्यक्ष थापाले अनुरोध समेत गर्नुभएको छ ।

सरकारले दियो निर्देशनः सुरक्षाकर्मीहरु आन्दोलनकारीप्रति कठोर बन्दै

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सरकारले प्रर्दशन तथा आन्दोलनका कार्यक्रमहरु निषेध गर्ने भएको छ ।

शुक्रबार गृहमन्त्रालयले प्रर्दशनको विषयलाई गम्भिर रुपमा लिँदै बैठक बसेको थियो । गृहमन्त्रालयको बैठक लगत्तै काठमाडौँ जिल्ला प्रशासनको बैठक बसेको थियो । सोही बैठकबाट प्रर्दशनलाई निषेध गर्ने निर्णय गरेको हो ।


कोरोना संक्रमणको अवस्थामा केहिदिनयता देखि काठमाडौँ माइतिघर मण्डला लगायतका विभिन्न जिल्ला तथा स्थानमा हुँदै आईरहेको प्रर्दशनप्रति गृहमन्त्रालय तथा काठमाडौँ जिल्ला प्रशासनले आपत्ति जनाएको छ ।
यसरी पर्दशन गर्ने र प्रर्दशनमा संलग्न रहने हो भने कोरोनाले भोलीका दिनमा देशको स्थिती भयावह हुने निश्चित रहेको भन्दै हरेका किसिमका प्रर्दशन कार्यक्रम बन्देज गर्ने निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ ।


सरकारमा जिम्मेवारी र आन्दोलनकारीमा संयमता नभए कोरोनाले देश भयावह हुने निश्चित नै रहेको छ ।


भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शन गरेका थिए । अहिलेको अवस्था हेर्दा महाराष्ट्रमा संक्रमितको संख्या ९७६४८ पुगेको छ भने ३५९० जनाको मृत्यु भएको छ । जबकी चीनमा संक्रमितको संख्या ८३०५७ छ । महाराष्ट्रमा हिजोमात्र ३२५४ जना संक्रमित भए भने १४९ जनाको मृत्यु भयो ।


स्पेनमा भएको प्रदर्शनमा सहभागी धेरै संक्रमित भएको र त्यसको केहीहप्तापछि आफन्तले शब हेर्न समेत नपाएको अवस्था आएको थियो ।
त्यस्तै ब्राजिलमा भएको प्रदर्शनको कारण हजारौं संक्रमित भएका थिए । जसका कारण ब्राजिलले संक्रमितको संख्यामा अहिले अमेरिकालाई पछ्याइरहेको छ ।
जुलुसमा सामाजिक दुरी कायम, मास्कको सहि प्रयोग तथा हात धुने र स्यानिटाईजर प्रयोग गर्ने जस्ता क्रियाकलापहरुम जति नै सजग रहन्छु भनेपनि नसकिने कुराहरु हो । भिडमा अपरिचितको भीडमा अपरिचित व्यत्तिहरु हुन्छन् जसले गर्दा आफु सुरक्षित छु भनेर भन्न र रहन सक्ने स्थिती नहुन पनि सक्छ ।
साथै बिरोध प्रदर्शनमा चिच्याउने, नारा लगाउने, सिठी फुक्ने, खोक्ने आदि गर्दा संक्रमितको मुखबाट कोरोना भाइरसको लोड धेरै निस्किने र धेरैजना एकैपटक संक्रमित हुने सम्भावना पनि हुन्छ ।