अब हजारको नोटमा राम—लक्ष्मण हात्तीको चित्र

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको एक हजारको नयाँ नोट निष्कासन गर्ने भएको छ।

केन्द्रीय बैंकले म‌गलबार एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो। नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो।

बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुई वटा हात्तीको फोटो हुनेछ।’ यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ।

नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ।

झापामा पहिरो, १ युवकको मृत्यु, ३ घाइते

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ। बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मङ्गलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षासँगै गएको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन्। उनीहरुको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मङ्गलबार राति गएको पहिरोले घर पुर्दा घाइते भएकाहरुलाई स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिले उद्धार गरेको वुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिनुभयो। पहिरोका कारण सोही ठाउँका थप दुई घर जोखिममा परेपछि उनीहरुलाई स्थानीय चर्चमा राति नै सारिएको छ। वुद्धशान्ति गाउँपालिका इलामसँग सिमाना जोडिएको गाउँपालिका हो।

भदौ १ देखि विद्यार्थी भनासहित परिक्षा खुल्ने

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन्। विद्यालय कलेज, ट्युशन सेन्टर तालिम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, सबै प्रकारका प्रदर्शनी, भेला तथा सम्मेलन, सिनेमाहल, पार्टी, प्यालेस डान्सबार मनोरञ्जल स्थलहरु भने अर्को सूचना नआए सम्मका लागि सञ्चालनमा रोक लगाइएको छ।

यद्यपि कोरोनाको प्रभाव र त्यसको संक्रमणको अवस्थाका आधारमा भदौ १ अघि नै सरकारले उक्त विषयमा निर्णय लिन सक्नेसमेत मन्त्री खतिवडाले जानकारी गराए। उनका अनुसार सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, धार्मिक तथा सामाजिकस्थल, समूहमा खेलिने खेल, पुस्तकालय सङ्ग्रहालय चिडियाखाना पनि अर्को सूचना जारी नभएसम्मका लागि सञ्चालन गर्न पाइने छैन।

सेवा सञ्चालन भएका क्षेत्रमा भने कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ। मास्क प्रयोग गर्नुपर्ने, पटकपटक साबुन पानीले हात धुनुपर्ने, सानिटाइजरको प्रयोग गर्नुपर्नेछ । सरकारले संकटका कालोबजारी र जम्माखोरी गर्ने व्यक्तिहरुलाई भने कानूनअनुसार कारवाही गर्ने जनाएको छ।

कोरोना भाइरसको संक्रमण रोक्न गत चैत ११ देखि लागू गरेको बन्दाबन्दी झण्डै चार महिनापछि विधिवत् रुपमा अन्त्य भएको छ। यससँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि केही सेवा सञ्चालन गरिए पनि सोमबारको मन्त्रिपरिषदको निर्णयसँगै थप सेवा सञ्चालन हुने भएको छ। जोखिम कायम रहेका केही सीमित गतिविधिमा रोक लगाउने यसअघिको निर्णय भने कायम राखेको छ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सेवासमेत भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको हो।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, ४ घर बगायो

तनहुँ । मंगलबार बिहानैदेखि तनहुँअन्तर्गत पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण आएको पहिरोले मंगलबार बिहानैदेखि तनहुँअन्तर्गत पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहारा, मार्कीचोक र बन्दीपुर गाउँपालिका–१ विमलनगर, डुम्रे, नाहालामा राजमार्ग भाँसिएको कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले अन्य स्थानका सडक मर्मत गरिएको भए पनि ऐनापहराको ढुङ्गा फाल्न भने गाह्रो भएको बताए। तिमिल्सिनाका अनुसार मंगलबार साँझसम्ममा ऐनापहराको सडकमा खसेको ढिस्को फालिएपछि भने राजमार्ग सुचारु हुनेछ।

त्यस्तै बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित रिमाल्नी, नाहाला, याम्पामा राजमार्ग भाँसिएको थियो। त्यस क्षेत्रमा राजमार्गमा भने मर्मत गरिसकिएको उनले बताए। व्यास नगरपालिकाको मादीपुल नजिक, म्याग्दे गाउँपालिका–१ गुणादीअन्तर्गतको सडक भने मंगलबार सफा गरिएपछि सवारी चलेका छन्। व्यास नगरपालिका–१ खकौलीस्थित दमौली–छाब्दीमार्गमा सडक भासिएको छ। त्यस क्षेत्रबाट आवात–जावातका लागि वैकल्पिक बाटोको व्यवस्थापनमा लागिरहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

‘दमौलीसँग छाब्दीका सर्वसाधारण आवागमनमा समस्या भएकाले वडा कार्यालयलाई वैकल्पिक बाटो व्यवस्थापन गर्न निर्देशन दिएको छु, छिट्टै सडकको व्यवस्थापन हुन्छ ।’ –उनले भने।

बन्दीपुर गाउँपालिका–६ खहरे थुमथुमेस्थित नाल्दीपुल नजिकै आएको पहिरोले ४ घरमा क्षति पुर्याएको छ। त्यस क्षेत्रमा सञ्चालित केही पसलमा क्षति पुगेको स्थानीय नवराज गुरुङले बताए। गुरुङका अनुसार त्यहाँको आठ घरमध्ये ३ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने भौतिक सामग्रीहरू नदीले बगाएको छ । पहिरो खस्न रोकिएको र वडा कार्यालयले उद्धार गरेको सामाजिक अभियन्ता सिद्धान्त गर्जा मगरले जानकारी दिए।

त्यस्तै बन्दीपुर गाउँपालिका–१ नाहालाका सुरेश र अर्जुन अधिकारीको घरमा पहिरोले पूर्णरूपमा क्षति पुगेको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए। पशुचौपायको भने स्थानीय तथा जनप्रतिनिधिले उद्धार गरिएका छन्। उहाँका अनुसार डुम्रेलगायत ३५ जना विस्थापित भएका छन्।

पहिरोका कारण बन्दीपुरका १४ घर–परिवार विस्थापित भएका छन। बन्दीपुर–१ र २ नम्बर वडाका चार÷चार र ५ नम्बर वडाका दुई घर परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी गराए।

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

काठमामडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ। भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा गएराति पहिरो खसेको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति करिब ८ः४५ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४ः३० बजे एकतर्फी खुलाइएको थियो।

पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किनुभएको थियो । उहाँहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्कनुभएको थियो । राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिनुभयो । केहीबेरमा पहिरो पन्छाउने काम थालिने छ ।

मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने

काठमाडौँ । मालदिभ्सले महामारीबाट प्रभावित पर्यटन उद्योगमा लगानी वृद्धि गर्न पर्यटनसम्बन्धी गतिविधिका लागि उद्योगहरूले लिएको जमिनको कर कमी गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले सम्प्रेषित समाचारमा उल्लेख छ।

पर्यटनमन्त्रीसमेत रहेका मालदिभ्सका आर्थिक विकास मन्त्री फायज स्माइलीलाई उद्धृत गरी लेखिएका समाचारहरूमा पर्यटन व्यवसायका लागि भाडामा लिइएका सरकारी जग्गाको भाडामा अत्यधिक समायोजन गरिने बताउनुभएको उल्लेख गरिएको छ।

यसले कोभिड–१९ को महामारीका कारण प्रभावित पर्यटन व्यवसायका लागि विभिन्न टापूमा भएका लगानीलाई राहत पुग्ने र उनीहरूको आर्थिक सुधारमा टेवा पुग्ने स्माइलीले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पर्यटनका लागि दिइएका जग्गाको भाडादर प्रति वर्गमिटर २ अमेरिकी डलर कायम हुनेगरी सरकारले कार्यक्रम सार्वजनिक गर्न लागेको छ।

मालदिभ्समा पर्यटन व्यवसाय सञ्चालनका लागि भाडामा दिइएका जग्गाबाट सरकारले ठूलो मात्रामा राजश्व सङ्कलन गर्ने गरेको छ। सन् २०१९ मा जग्गा भाडाबाट १० करोड ३६ लाख अमेरिकी डलर राजश्व सङ्कलन गरेको थियो।

मालदिभ्समा कोभिड–१९ महामारीको कारण पर्यटन क्षेत्रमा व्यापक प्रभाब परेको छ। मालदिभ्सको इतिहासमा पछिल्ला केही दशक यता विदेशी पर्यटकको आगमन सङ्ख्या शुन्य रहेको छ। मालदिभ्समा गत मार्च २० देखि जुलाई १५सम्म विदेशी मुलुकहरूसँगको सीमानाकाहरू बन्द गरिएका छन्।

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आयो

काठमाडौँ । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो। दुवैतर्फबाट लोडरलगायतका साधनले पहिरो पन्छाइएको उनले बताए। सोमबार दिनभर वर्षा र पहिरो खसिरहेपछि काम गर्न सकिएको थिएन। आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको थियो। पहिरो खसेको ठाउँ नारायणगढबाट ३१ दशमलव ५ किलोमिटर मुग्लिनतर्फ पर्दछ।

सो ठाउँ इच्छाकामना गाउँपालिका–६ हो। सो सडकको पहिरो खस्ने अन्य ठाउँ मर्मतसम्भार गरिएको भए पनि त्यस ठाउँमा काम गर्न शुरु गर्दागर्दै पहिरो खस्न थालेको हो। यसअघि पनि त्यही पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सो सडक अवरुद्ध हुँदा धेरै सवारीका साधन रोकिएका थिए। सडक एकतर्फी खुलेसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन्। राजधानी काठमाडौँतर्फ जाने सवारी भने अगाडि पृथ्वी राजमार्गमा पुगेर रोकिने भएका छन्। सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ।

३ सचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३ सचिवहरुको सरुवा गरेको छ, भने केहिलाई पदस्थापन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा र पदस्थापन गरेको हो।

हरिप्रसाद बस्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्। प्रशासन श्रोतलाई प्राप्त प्रारम्भिक सूची अनुसार बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

त्यसै गरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

त्यस्तै केही दिन अघि बढुवा गरेका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिव र मान बहादुर विकलाई बाग्मती प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको छ।

१ सय ९५ प्रहरी सहायकको निरीक्षकको बढुवा

काठमाडौँ । नेपाल प्रहरीका १ सय ९५ जना प्रहरी सहायक निरीक्षकको बढुवा भएको छ।

सोमबार बसेको बढुवा समितिले १ सय ९५ जना प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।

उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जनालाई कोरोना पुष्टि भएको हो।

युरोपेली युनियनद्वारा २१ खर्ब डलरको बजेट स्वीकृत

काठमाडौँ । युरोपेली युनियनका नेताहरुले चार दिनदेखिको लामो विवाद र बहसबीच अन्ततः २१ खर्ब डलरको बजेट पारित गर्न सहमति जनाएका छन्। यस बजेटसँगै कोरोनाभाइरसका कारण संकटमा परेको अर्थतन्त्र उकास्न तयार पारिएको आर्थिक पुनरुत्थान प्याकेज पनि पारित भएको छ।

युरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुखहरु सहभागी ब्रसेल्स शिखर बैठकमा कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक पक्षमाथि व्यापक विचारविमर्श भएको थियो।

युरोपेली परिषदले तयार पारेको ७ खर्ब ५० अर्ब युरोको एउटा आर्थिक सहायता प्याकेजलाई पनि बैठकले अनुमोदन गरेको छ। खासगरी कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित मुलुकलाई उक्त रकम अनुदान र ऋणका रुपमा उपलब्ध हुनेछ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले शिखर बैठकमा भएको सहमति ऐतिहासिक रहेको बताउँदै राहत प्याकेजमा बन्दोबस्त गरिएको अनुदान र ऋणले युरोपेली मुलुकबीचको ऐक्यबद्धतालाई अझ सुदृढ बनाउन मद्दत गर्ने उल्लेख गर्नुभयो।

जर्मन चान्सलर एन्जेला मर्केलले शिखर बैठकमा आगामी सात वर्षका लागि युरोपेली युनियनको आर्थिक आधार तयार पार्न सफलता हासिल भएको बताउनुभयो।

युरोपेली युनियनका परम्परागत रुपमै सबैभन्दा शक्तिशाली र प्रभावशाली ठानिएका जर्मनी र फ्रान्सले यसपटकको मध्यस्थता वार्तामा पनि निर्णायक भूमिका निर्वाह गरेका थिए। युरोपेली युनियनका केही राष्ट्रले प्रस्तावित आर्थिक पुनरुत्थान प्याकेजमा देखाएका सरोकारलाई पनि यी दुई राष्ट्रले समाधान गरेर पुनः आफ्नो उपस्थिति बलियो बनाएका छन्।

युरोपेली युनियन आयोगकी अध्यक्ष उर्सुला भोन डर लियेनले युरोपेली मुलुकको आर्थिक पुनरुत्थानका लागि निकै सकारात्मक प्रस्ताव पारित भएको बताउनुभयो।

नेदरल्याण्ड्सका प्रधानमन्त्रीको अग्रसरतामा केही युरोपेली मुलुकले प्रस्तावित राहत प्याकेजमा अनुदानको रकम बढी राखिएको भन्दै आपत्ति जनाएका थिए । उनीहरुले सबैभन्दा बढी राहत प्राप्त गर्ने सम्भावना रहेका स्पेन र इटालीले आर्थिक सुधारका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै तिनै राष्ट्रलाई बढी नगद अनुदान दिइनु उपयुक्त नहुने बताएका थिए।

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले यस पटकको बैठकमा निकै तनाबपूर्ण क्षण उत्पन्न भएको समेत बताउनुभयो।

आमसञ्चारमाध्यमका लगानी पारदर्शी गरिनेः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा उहाँले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन थालिएको बताउनुभयो ।

उहाँले कोभिड–१९ का कारणले सञ्चारमाध्यम ‘मध्यम’ रुपमा प्रभावित भएको भन्दै सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको बताउनुभयो। ‘कोभिड–१९ का कारणले सञ्चारमाध्यम मध्यम रुपमा प्रभावित भएको छ’’, उहाँले भन्नुभयो, ‘कोभिड–१९ का कारण देखाउँदै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई कामविहिन बनाउन हुँदैन। रोजगारदाता र श्रमिक मिल्नुको विकल्प छैन।”

उहाँले सञ्चारमाध्यमलाई पनि कानूनी रुपमा उद्योगका रुपमा परिभाषित गरिएकाले सञ्चारमाध्यममा देखिएका समस्या श्रम, अर्थ र सञ्चार मन्त्रालय बसेर टुङ्ग्याइने बताउनुभयो। कोभिड–१९ का कारण सरकारले चैत महिनामा पूरै र वैशाख महिनाको ५० प्रतिशत र बाँकी तलब पछि दिने भनेर निर्देशन दिएको भन्दै उहाँले कतिपय सञ्चारमाध्यमले विज्ञापनको पैसा पाउन नसकेर समस्या आएको हुन सक्ने बताउनुभयो। “साउन महिनापछि पहिलेकै अवस्थामा फर्कनेछौँ त्यसपछि धेरै क्षेत्रलाई अब सामान्य ढङ्गबाट सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि सञ्चारमाध्यम पनि सहज चल्न सक्दछन् र श्रमजीवी पत्रकार कटौती गर्ने अवस्था आउनेछैन।”

सञ्चारमन्त्री डा खतिवडाले सञ्चारमाध्यममा श्रमजीवी पत्रकारलाई पारिश्रमिकको समस्या आउने भनेर नै सामाजिक सुरक्षा कोष ल्याइएको जानकारी दिनुभयो। उहाँले चाँडै नै विज्ञापन बोर्डको गठन गरेर लोककल्याणकारी विज्ञापन निष्पक्ष ढङ्गले वितरण गरिनेसमेत जानकारी दिनुभयो। छलफलमा सांसद गणेश पहाडी र जीपछिरिङ लामाले कोभिड–१९ का कारणले श्रमजीवी पत्रकार बेरोजगार हुननहुने बताउनुभयो।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले पत्रकारका श्रम र सिर्जनाबाट कमाएका सञ्चारमाध्यमले अहिले आएर कोभिड–१९ का कारण देखाउँदै जागिरबाट निकाल्ने गरेको बताउनुभयो । मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेलले आमसञ्चारमाध्यमलाई जीवन्त राख्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो।

सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुभाष खतिवडा, ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, नेपाल प्रेस सङ्गठनका नरेन्द्र साउँद, प्रेस युनियन नेपालका कोषाध्यक्ष सरोज अधिकारीलगायतले कोभिड–१९ का कारण देखाएर श्रमजीवी पत्रकारलाई सञ्चारमाध्यमले निकाल्न नहुने बताउनुभयो।

साउन ८ देखि यातायात सञ्चालन हुने,जोरबिजोर प्रणाली पनि लागू हुने

काठमाडौँ । साउन ८ गतेदेखि सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन हुनेछन् । सार्वजनिक यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। तर व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए।

तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ।

सार्वजनिक यातायातमा पनि जोरबिजोर लागू हुने

यातायात व्यवसायीहरू आउँदो बिहीबारदेखि सबै सार्वजनिक यात्रुबाहक बस चलाउन तयार भएसँगै यातायातहरू जोरबिजोर रूपमा सञ्चालन हुने भएका हुन् ।

सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, तीनवटा ट्रेड युनियनहरू नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ, महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच छलफल भएको थियो ।

उक्त छलफलमा मुख्यगरी ४ वटा सहमति भएको हो। यातायात श्रमिकहरूको समूहिक कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधा आधा भुक्तानी गर्ने, यातायात श्रमिक कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारको तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने, यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाइजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले उपलब्ध गराउने, लामो, छोटो र मध्यम दूरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभागको मार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस गर्नेलगायत सहमति भएको छ।

पुनर्कर्जालगायत बैंकिङका विषयमा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत संबोधन गरेको र चालक सहचालकको कोरोना बिमाको प्रिमियम सरकार र व्यवसायीले आधा आधा व्यहोर्ने सहमति जुटेपछि व्यवसायीहरू बस चलाउन राजी भएका हुन्।

सरकारले साउन ७ गतेसम्म लकडाउन गरेकाले त्यसपछि सबै व्यवसायीलाई सवारी साधन चलाउन आग्रह गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। अन्तर जिल्लाभन्दा पनि छोटो, मध्यम तथा लामो दूरीका सवारीसाधन चलाउन दिनुपर्ने व्यवसायीहरूले बताएका छन् । कम्तिमा प्रदेशभित्र बस चल्न दिनुपर्ने उनीहरूको भनाइ छ।

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । सेयर बजारमामा मंगलबार दोहोरो अंकको गिरावट आएको छ।

बजारमा गिरावट आएसँगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्से मापन गर्ने सूचक १४ दशमलव ९९ अंकले घटेर परिसूचक १ हजार ४ सय ४९दशमलव ९४ बिन्दुमा रोकिएको छ ।

आज कूल १ सय ८५ कम्पनीको ४९ लाख ७६ हजार ४ सय ८८ कित्ता सेयर १ अर्ब ८७ करोड २२ लाख २० हजार ४ सय ४७ रुपैयाँको सेयर किबनेच भएको छ।

कारोबारमा बैंकिङ समूहको २० दशमलव ७५, विकास बैंक १३ दशमलव ०३, जलविद्युत कम्पनी २१ दशमलव ४५, निर्जीबन बीमा ३१ दशमलव १८, माइक्रोफाइनान्स ७ दशमलव ०२, जीवन बीमा समूहको उपसूचक १ सय ९ दशमलव १२ अंकले घटेको छ। यस्तै होटल २१ दशमलव ८४, टे«डिङ २१ दशमलव ८४ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ७४ दशमलव ६४ अंकले घटेको छ।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, श्री राम सुगर मिल्स, समृद्धि फाइनान्स, सोल्टि होटल, यूनिलिभर नेपालका लगानीकर्ताले कमाउँदा हिमाल दोलखा हाईड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, घोडाघोडी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्।

पछिल्लो २४ घण्टामा थप १ सय ५० जनामा कोरोना संक्रमण, ६ सय ९ डिस्चार्ज

काठमाडौँ । अद्यावधिक विवरणअनुसार मंगलबार थप १ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

त्यस्तै मंगलबार ६ सय ९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४ सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।