कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने प्रचण्डको दावी

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने बताएका छन्।

आइतबार चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै दाहालले पार्टी विभाजित हुन नदिइने बताएका हुन् ।

स्थायी कमिटीको बैठक जारी रहेकोले निर्णय नहुँदै धेरै बोल्नु उचित नहुने भन्दै उनले पार्टीका दुई अध्यक्षहरूले गर्न भनेको काम गर्न हतार नगर्न निर्देशन दिए।

‘तपाईं कसैलाई पार्टी विभाजित भइहाल्छ कि भन्ने भयले पछि पो परिन्छ कि भनेर अगाडि जान खोज्नु भयो भने पछुताउनु पर्दछ । किनभने भोलि पार्टी एकताबद्ध हुँदा सहमति गरेर नेताहरु अगाडि बढ्दा किन हतारो गरिएछ भन्ने तपाईंलाई नपरोस्’ दाहालले भने ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई दाहाल लगायतका नेताले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा मागेपछि पार्टीभित्र विवाद उत्कृर्षमा पुगेको बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

हिराजडित ६ लाखको मास्क बजारमा

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण मास्क लगाउनु अत्यावश्यक भइसकेको छ।

नेपाल र भारतमा यतिबेलाको सिजन बिहेबारीको सिजन भएकाले सूनचाँदी र हिरामोतीको महत्त्व बढ्ने गर्दछ।

यसै सन्दर्भमा भारतको गुजरातस्थित सुरतमा व्यापार गरिरहेका एउटा गहना पसलेले बिहेको सिजनलाई ध्यानमा राखेर ६ लाख सम्मको मास्क हिराजडित बनाएको छ।

हिरा जोडेको उक्त मास्कको भारतीय मूल्य ४ लाख जति राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। योसँगै यतिबेला ती गहना पसलेले बनाएको मास्कको चर्चा सामाजिक सञ्जालमा चुलिएको छ ।

गहना विक्रेता दीपक चौकसीले भनेका छन्, ‘मलाई हिराजडित मास्क बनाउने आइडिया मेरा ग्राहकबाट आएको हो, जसको घरमा बिहे थियो। पतिपत्नी दुवैले यस्तो मास्कको अर्डर गरे।

त्यसपछि उनले आफ्ना डिजाइनरहरूलाई मास्क बनाउने काममा लगाए। उक्त मास्कमा शुद्ध अमेरिकन हिरा जोडेर बनाइएको छ।

यसअघि भारत महाराष्ट्रमा एकजनाले सूनको मास्क लगाएर चर्चा बटुलेका थिए। त्यसको मूल्य पनि झण्डै ३ लाख थियो।

एआईजीका दुई पद रिक्त, यी ३ जनाको प्रतिस्पर्धा

काठामाडौँ । तत्काल नेपाल प्रहरीमा एआईजीका दुई पद रिक्त रहेका छन् । सरकारले रिक्त एआईजी पदलाई पनि बढुवामार्फत पुर्ण गर्ने तयारीमा लागेको छ । तत्कालै नयाँ प्रहरी महानिरीक्षक नियुक्त पनि गरिसकेको छ । महानिरीक्षक पश्चाल सरकार एआईजीमा पनि बढुवाको तयारी गरेको छ।

एआईजीको लागि प्रतिस्पर्धामा को—को?

दुई रिक्त पदका लागि तीन डिआईजीबीच चर्को प्रतिस्पर्धा छ। बरियता र योग्यताका आधारमा निरजबहादुर शाही र प्रद्युम्न कार्की स्वभाविक उम्मेदवार हुन्। तर, जुनियर डिआईजी विश्वराज पोखरेल पनि अहिले एआईजी हुने दौडमा छन्।

जसकारण प्रतिस्पर्धा पेचिलो बनेको छ। आईजिपी बढुवामा बरियता र कार्यक्षमतालाई आधार बनाएर निर्विवाद भएको भन्दै प्रचार गरिरहेको सरकारलाई एआईजी बढुवामा संगठनको चेन अफ कमाण्ड बिग्रने गरी निर्णय गर्न नैतिक रुपमा समेत गाह्रो छ।

एआईजी बढुवालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको पहिलो परीक्षा ठानिएको छ। गृहले एआईजी र डिआईजी पदमा बढुवाबारे तयारी गर्न उनलाई नै भनिसकेको छ। एआईजी बढुवा भएको अवस्थामा डिआईजीका तीन पद रिक्त हुनेछन्। जसमा आईजिपीकै ब्याचका एसएसपीहरु दाबेदार छन्।
असारभित्र बढुवा नभएपछि कात्तिकमा पुग्ने भएकाले बढुवाका दाबेदारहरुको दौडधुप बढेको छ।

आइतबार मात्र ८२ जनामा कोरोना संक्रमण

काठमाडौँ । अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय एक पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोना जितेका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या आठ हजार पाँच सय ८९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ५१.१ प्रतिशत हो।

पार्टीभित्रको विवाद सुल्झिने बाटोमा छ: प्रचण्ड

चितवन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवाद सुल्झिने बाटोमा रहेको बताएका छन् ।

चितवनमा कार्यकर्ताहरूसँग संक्षिप्त विचार राख्दै प्रचण्डले हतारमा निर्णय गरेको भए पार्टी फुटको संघारमा पुगिसक्ने बताए ।

उनले पार्टी एकताका लागि आफूहरू सचेत रहेको बताउँदै तत्कालीन एमाले र माओवादीले पार्टी एकता गर्ने संकल्पका साथ साझा घोषणापत्र र उम्मेदवारले जनताले असाधारण विश्वास जितेको बताए । जनताले दिएको दुई तिहाइ मतलाई कसैले कमजोर पार्न नहुने उनको जिकिर थियो ।

उनले भने, ‘पार्टीको एउटा अध्यक्षको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्तिम समयसम्म धर्यतापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।’

पछिल्लो समय नेकपामा प्रचण्डसँग माधवकुमार नेपाल, झलनाथ खनालसहित स्थायी कमिटीका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पद छाड्न दबाव दिएका थिए । तर ओलीले दुवै पद नछाड्ने अडान लिएपछि नेकपा फुटको संघारमा पुगेको स्वयम् नेकपा नेताहरूले बताएका थिए ।

त्यसतर्फ संकेत गर्दै प्रचण्डले भनेका छन्, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ ।’

उनले भने, ‘जतिसुकै अप्ठ्यारो भए पनि समाधान निस्किन्छ भन्ने विश्वास लिएको छु । अर्को अध्यक्षसँग भएको वार्ताको संकेत पनि हल गर्नुपर्छ भन्नेतिरै छ ।’

सडक आन्दोलन तथा पार्टी कार्यालयमा भइरहेको धर्नातिर संकेत गर्दै उनले हतार गरेर कुनै खालको गतिविधि जरुरी नरहेको बताएका छन् ।

अमेरिका बाहिरिएपछि डब्लूएचओको बयानः विभाजनले कोरोना जित्न सकिँदैन

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीसँग लड्नका लागि वैश्विक एकताका लागि भावुक अपिल गरेको छ।

‘संगठनका प्रमुखले ‘नेतृत्वको अभाव’ को आलोचना गर्दै कोरोना भाइरसको महामारीसँग लड्न वैश्विक एकताका लागि भावुक अपिल गरेका हुन्।

विनाशकारी भाइरस पहिचान भएको छ महिनाभन्दा बढी भइरसक्दा पनि पूरा विश्व यसलाई नियन्त्रण गर्न संघर्षरत छ भने दैनिकरुपमा संक्रमितको संख्या बढ्दो छ।

‘साथीहरु, गल्ती नगर्नुहोला। आज हाम्रो सामु भाइरसमात्र सबैभन्दा ठूलो चुनौती होइन,’ टेड्रोस अधानोम घेब्रेसियसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो लागि चुनौती भनेको राष्ट्रिय र वैश्विक स्तरमा नेतृत्व र ऐक्यबद्धताको कमी हो।’

डब्लूएचओ प्रमुखको यो अभिव्यक्तिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित रहेको धेरैको बुझाइ छ। आफ्नै देशमा विश्वकै खराब स्थितिमा रहेको कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्न असफल रहेका ट्रम्पले डब्लूएचओविरुद्ध खुल्ला युद्ध सुरु गरेका छन्।

‘यो त्रासदीले हामीलाई हाम्रा धेरै साथीहरुलाई गुमाउनु परिरहेको छ। विभाजित विश्वले यो महामारीलाई जित्न सक्दैन,’ भावुक बनेर बोली समेत लर्बरिएका टेड्रोसले भने।

चीन परस्त भएको भन्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनको आलोचना गर्ने गरेका छन् । तर, जर्मनी, फ्रान्स र बेलायत जस्ता शक्ति राष्ट्रहरु संकटको घडीमा डब्लूएचओको पक्षमा देखिएका छन् ।

बिहीबार जर्मन चान्सलर एन्जेला मार्केलले महामारीले विश्वभर देखिएको ‘तथ्य नस्वीकार्ने पपुलिजम’ को खतरालाई उजागर गरेको बताएकी थिइन् । ‘हामीले झुट र दुष्प्रचार देख्यौँ, महामारीसँग लड्ने यो तरिका होइन ,’ ब्रसेल्समा युरोपियन संसदलाई उनले भनेकी थिइन्।

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रिलियम पदार्थको मूल्य बढाएको छ।

निगमले शुक्रबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँ बढाएको हो।

बढेपछिको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ पुगेको छ।

निगमले १० दिन अघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

विभिन्न कम्पनीको गरि ६ अर्ब बराबरको साधारण शेयर निष्काशन

काठमाडौँ । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका २ कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन्।

नेपाल धितोपत्र बोर्डका अनुसार कूल रु पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २ सय २० बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ। सोअनुसार पाँच करोड ८४ लाख ९ हजार ८७१ कित्ता शेयर बिक्री गर्न लागिएको हो। त्यसमा १० जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन्। यस्तै चार बीमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक÷एक कम्पनी रहेका छन्।

४ बीमा कम्पनीको साधारण शेयर आउँदै

बोर्डका अनुसार जनरल इन्सयोरेन्स कम्पनी नेपालले रु ३० करोड बराबरको ३० लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार ५ गते बोर्डमा आवेदन दिएको छ। सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

सानिमा जनरल इन्स्योरेन्सले पनि रु ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै यही असार १४ गते आवेदन दिएको छ। सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ।

त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रु ६० करोड बराबरको ६० लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार २२ गते बोर्डमा आवेदन दिएको छ। सो कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रु ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै बोर्डमा आवेदन दिएका छ। सो कम्पनीको शेयर सानिमा क्यापिटलले बिक्री गर्नेछ।

बोर्डका अनुसार हिमालयन हाइड्रोपावर लिमिटेडले रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता र विन्दाबासिनी हाइड्रोपावर कम्पनीले पनि रु २५ करोड बराबरको २५ लाख कित्ता शेयर बिक्रीका लागि आवेदन दिएका छन्।

त्यस्तै रुरु जलविद्युत् परियोजनाले रु ८ करोड ९६ लाख ९५ हजार २ सय २० बराबरको आठ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन माग गरेको छ।

शुभम् पावर लिमिटेडले रु ५ करोड ८० लाख ५८ हजार बराबरको ५ लाख ८० हजार ५८० साधारण शेयर बिक्रीको अनुमति मागेको छ।

सिइडिबी हाइड्रोपावर कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता, तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले रु एक खर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति माग्दै बोर्ड पुगेको छ।

त्यसैगरी मैलुङ खोला जलविद्युत् कम्पनीले रु ७ करोड ३६ लाख २८ हजार ६ सय बराबरको ७ लाख ३६ हजार २ सय ८३ कित्ता, माउन्टेन इनर्जी नेपालले रु ३९ करोड ३६ लाख पाँच हजार ४सय बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले रु ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता र सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले रु ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ।

यस्तै सिबिआइएल क्यापिटल लिमिटेडले रु ३ करोड बराबरको ३ लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले रु ८६ लाख बराबरको ८६ हजार कित्ता साधारण शेयर बिक्रीको तयारी गर्दै बोर्डबाट अनुमति मागेको छ। अन्यतर्फका दुई कम्पनीमा चन्द्रागिरि हिल्स लिमिटेड र इमर्जिङ नेपाल लिमिटेड छन्।

चन्द्रागिरि हिल्सले रु १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता र इमर्जिङ नेपालले रु ५ करोड बराबरको ५ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ।

बोर्डले चालू आवमा कुल नौ कम्पनीका रु ३ अर्ब ९९ करोड ४८ लाख ४ हजार बराबरको तीन करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको थियो। त्यसमा शिवश्री हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड रहेका छन्। यस्तै केही दिनअघि मात्रै एनआइसी एशिया लुघवित्त वित्तीय संस्थाले साधारण शेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत भई कारोबार शुरु गरेको छ।

सो कम्पनीले रु ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको थियो । यस्तै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले रु सात करोड सात लाख ८० हजार बराबरको सात लाख सात हजार ८ सय कित्ता साधारण शेयर बिक्री गरेको छ। सो कम्पनीको साधारण शेयर बाँडफाँड हुन बाँकी छ।

यस्तै अजोड इन्स्योरेन्स लिमिटेडको साधारण शेयर हाल बिक्री भइरहेको छ। सो कम्पनीको रु ३० करोड बराबरको ३० लाख कित्ता शेयर बिक्री भइरहेको छ। उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ। बोर्डले माउन्टेन इनर्जी नेपाललाई आयोजना प्रभावित र सर्वसाधारणलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित र सर्वसाधारणका लागि समान १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीको अनुमति दिएको छ।

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना, संक्रमण दर घट्दो

काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा विगत २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै शनिवार अपराह्णसम्म देशभरिमा कोरोना पुष्टि भएका संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४ सय ३१ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम ७० संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा बोल्दै डा. गौतमले सङ्क्रमित हुने क्रम घटिरहेको बताए।

एकै दिन आज कोरोनाबाट थप ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मृत्युु हुनेहरूमा काठमाडौं महानरपालिका—१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर—४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

नेपाल प्रेस काउन्सिलको चिठि भारतको प्रेस काउन्सिललाई, अनर्गल प्रचारप्रसार बन्द गर्न आग्रह

काठमाडौँ । प्रेस काउन्सिलले नेपालबारे अनर्गल टिप्पडि गर्ने भारतीय मिडियाका प्रचारप्रसार बन्द गर्न भारतको प्रेस काउन्सिललाई चिठि लेखेको छ । भारतीय मिडियाले नेपालबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालले भारतको प्रेस काउन्सिलको नामलाई पत्र लेखेको हो।

भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई सम्बोधन गर्दै काउन्सिलले यही जुलाइ १० मा पत्र लेखेको छ । पत्रमा भारतीय केही टेलिभिजन च्यानलले नेपालका प्रधानमन्त्री र चिनियाँ राजदूतलाई जोडेर गरिएका अनर्गल प्रचारप्रति कदम चाल्न भारतीय प्रेस काउन्सिललाई आग्रह गरिएको छ।

काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमार्फत भारतीय मिडियाले आधारहीन समाचार पस्केको भन्दै आपत्ति जनाइएको छ।

‘नेपालका प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतको प्रेम सम्बन्ध भएको भन्ने जस्ता कपोकल्पित र बनावटी भिडिओ भारतको जी न्युज च्यानलबाट प्रसारण भएका छन्। र जुन सामाजिक सञ्जालमा सनसनीपूर्ण रूपमा प्रचार गरिएको छ। यस्तो बनावटी भिडिओले कपोकल्पित सूचना मात्रै दिएको छैन, बरु सार्वभौम राष्ट्रको निष्ठामाथि आक्रमण पनि भएको छ,’ काउन्सिलले जारी गरेको पत्रमा उल्लेख छ।

नेपालको सार्वभौमिकतामा आक्रमण हुने गरी अन्य टेलिभिजन च्यानलले पनि आधारहीन सामग्री उत्पादन र प्रसारण गरेकोमा काउन्सिलले ध्यानाकर्षण गरेको छ । यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको ऐतिहासिक निर्णयमा पनि भारतीय टिभी च्यानलले बनावटी समाचार प्रसारण गर्न थालेको पत्रमा उल्लेख छ।

भारतीय मिडियाले नेपालबारे टिप्पणी गरेकोमा नेपालको तर्फबाट कुनै कदम नचालिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न सोध्न थालिएपछि काउन्सिलले यस्तो पत्र लेखेको हो ।

उपत्यकामा संक्रमण वृद्धि हुँदा ६ जिल्ला भने कोरोना मुक्त

काठमाडौँ । नेपालमा ६ वटा जिल्ला कोरोनाभाइरस संक्रमितमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यसरी कोरोनामुक्त भएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला रहेका छन् ।


तर हिजोआजको दिनमा उपत्यकामा भने संक्रमितको दर बढ्दो छ। आजमात्रै काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकलमा गरिएको नमुना परीक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १३ जना र काठमाडौंका १५ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै, भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

साँचो सरकारलाई बुझाएर यातायात नचलाउने व्यावसायीको चेतावनी

काठमाडौँ । यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग प्रस्तुत गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको हो।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको बताउँदै आफूहरूलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको उल्लेख गरे ।‘हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं।’

उनले आफूहरूको व्यवसाय चौपट भएको भन्दै अब यातायात सञ्चालन गर्न नसक्ने बताए। उनले भने,‘यातायात सञ्चालन गर्ने हो भने सरकारले सबै यातायातको राष्ट्रियकरण गरेर चलाओस्। राष्ट्रियकरण गर्दा आफूहरूले यातायातको लागत मुल्य पाउनुपर्छ।’

यातायात व्यवसायी चार महिनायता मारमा परेको भन्दै मजदुरहरु पनि समस्यामा परेको बताए। यातायात मजदुरलाई तलब दिनका लागि भएपनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको मागसमेत गरे।

त्यस्तै महासंघले विभिन्न पाँच मागहरू अघि सार्दै सरकारले आफूहरूको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। व्यवसायीका मागहरूमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरूको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्ण तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बीमा प्रिमियम छुट समयावधि समायोजन लगायत रहेका छन्।

उपत्यकामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । उपत्यकामा शुक्रबार थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा २८ जना र ललितपुरमा १३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

उनका अनुसार विगत २४ घण्टायता नेपालमा थप १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ जना पुगेको छ। हालसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन्।

हाल ८ हजार ६ सय ३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन्। हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै बिहीबारसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

हावाबाट पनि कोरोना सर्ने, डब्लूएचओले गर्यो स्वीकार

काठमाडौँ । कोरोना भाइरसको संक्रमण हावाबाट पनि सर्न सक्ने वैज्ञानिकहरूको तर्कलाई विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले स्वीकार गरेको छ ।

विश्वभरका २ सय भन्दा बढी बैज्ञानिकहरूको अन्तर्राष्ट्रिय संगठनले यसअघी कोरोना भाइरसको संक्रमण हावाबाट पनि फैलन सक्ने दाबी गर्दै आएको थियो ।

ती वैज्ञानिकहरूको समूहले भाइरस संक्रमितहरूले सास फेर्दा, खोक्दा हावाको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्न सक्ने बताएको थियो ।

यसलाई डब्ल्युएचओले पनि पूरै अस्वीकार गर्न नसकिने भन्दै अध्ययन गरिने जनाएको थियो ।

डब्ल्युएचओले कोरोना संक्रमितको सासबाट निस्केको हावालाई मसिनमा राख्ने गरेकाले हावाबाट सर्न नसक्ने बताउँदै आएकोमा अहिले हावाबाट पनि सर्न सक्ने स्वीकारेको हो ।

डब्ल्युएचओले केही रेष्टुराँ, जीम हलको भिडभाडमा गरिएको अध्ययनले बन्द कोठामा रहेको भाइरस पनि हावाको माध्यमबाट मानिसमा सर्न सक्ने औंल्याएको हो ।