रुकुममा श्रीमतीले गरिन् श्रीमानको हत्या

रुकुम । रुकुम(पूर्व)मा श्रीमतीले आफ्ना श्रीमानको हत्या गरेकी छन्। जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो।

पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्लाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए। उनका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ। मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ। धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको हो।

प्रधानमन्त्री ओली गंगलाल अस्पतालमाः इसीजी र इको परिक्षण हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल हृदयरोग केन्द्र (मुटु अस्पताल) बाँसवारी पुग्नु भएको छ ।


अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओली इसीजी र इकोको परीक्षणको लागि अस्पताल पुग्नु भएको हो । उहाँको परिक्षण भईरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको अस्पताल जाने योजना पहिले नै तय भएको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ४ सय बढीमा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना पुष्टि भएको छ।

योसँग नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १ हजार ४ सय ६२ रहेको छ। योसँगै डिस्चार्ज हुने संक्रमितको कुल संख्या ४ हजार ६ सय ५६ पुगेको छ।

भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाइने

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताउनुभएको छ । परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उहाँले भक्तपुरमा चोरी र सडक दुर्घटना न्यूनीकरण चुनौतीको विषय रहेको आफूले जानकारी पाएको चर्चा गर्दै यसलाई नियन्त्रण गर्न आफू फरक ढङ्गले लाग्ने बताउनुभयो ।

कार्यक्रममा परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले अनुसन्धानलाई असर पर्ने र कतिपय केही दिन गोप्य राख्नुपर्ने घटना हतारिएर सम्प्रेषण नगरिदिन उहाँले आग्रह गर्नुभयो । जगाती प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले लकडाउन कायमै रहेकाले पास नभएका र आवश्यक प्रक्रिया पूरा नगरी पूर्वबाट आएका यात्रुलाई साँगा नाकाबाटै फर्काउने गरेको बताउनुभयो । उहाँले काठमाडौंँका लागि झापादेखि विभिन्न जिल्ला पार गर्दै आएका यात्रुलाई साँगाबाट फर्काउनु पर्दा दुःख लाग्ने गरेको बताउँदै शुरुको पालिकाले नै प्रक्रिया नपुगेका सवारी साधनलाई काठमाडौंँ पठाउन रोक्नुपर्ने औल्याउनुभयो ।

असार ८ गतेदेखि १४ गतेसम्म विभिन्न साधनामा काठमाडौँं आएका एक हजार ५०३ जनालाई साँगाबाट फर्काइएको बताउँदै प्रनाउ जोशीले लकडाउन शुरु भएपछि गाउँ फर्किएजस्तै अहिले काठमाडौँ फर्कनेहरुको लर्को लाग्ने गरेको बताउनुभयो ।

यातायात सञ्चालन नभएको समयमा सहुलियतको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ ।
महासङ्का अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वमा गएको महासङ्घको टोलीले अर्थ सचिव शिशिरकुमार ढुङ्गानालाई आज मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यातायात व्यवसायमा रहेका समस्या सुनाउँदै सहुलियतको माग गरेको हो । महासङ्घले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनःविचार र पुनःकर्जाको व्यवस्था गर्न माग गरेको छ ।

अर्थसचिव ढुङ्गानासँग चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजतलगायतका कागजातको नवीकरण स्थगनसमेत माग गरिएको महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो।

महासङ्घको मागप्रति अर्थ सचिव ढुङ्गाना सकारात्मक रहेको पनि सिटौलाले जानकारी दिनुभयो ।

महासङ्घले यस अघि पनि पटक–पटक विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि भेटेर सवारीसाधन सञ्चालन नभएको समयमा सहुलियतको माग गर्दै आएको छ ।

आज नै ट्याक्सी चालकले यातायात व्यवस्था विभागमा ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

सरकारले गत चैत ११ देखि जारी राखेको बन्दाबन्दीमा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन भए पनि सार्वजनिक सवारीसाधन खुलाउने सम्बन्धी कुनै निर्णय गरेको छैन ।

  

बास्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

काठमाडौँ । पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

प्रहरीले कालीकोट स्थायी घरभएका शाहीलाई ठिमीबाट पक्राउ गरेको बताउँदै उहाँले जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । बम विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि नै अभिषेक भन्ने टेकबहादुर विक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी, देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो । जसमा जिल्ला अदालत भक्तपुरले चैत ३० गते देवीबहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र अन्य तीन जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरी थप अनुसन्धान एवं कारवाही अगाडि बढाएको गिरीले जानकारी दिनुभयो ।

हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व छः मन्त्री फुयाँल

काठमाडौँ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व रहेको बताउनुभएको छ । मन्त्री फुयाँलले सुरुङको निर्माणपछि ढुवानी तथा मोटरपार्टसमा वर्षाेदेखि भइरहेको अर्बौं रुपैयाँ बराबरको खर्च रोकिने उल्लेख गर्नुभयो ।

उहाँले यस मार्गले देशकै सबैभन्दा ठूलो भन्सार नाकासमेत भएको प्रदेश २ मा रहेको वीरगञ्जलगायत उक्त प्रदेशका विभिन्न क्षेत्र, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशको समेत केही क्षेत्रलाई देशको राजधानीसँग सहज रुपमा जोड्नसमेत सहज हुने बताउनुभयो । उहाँले मुग्लिङ– काठमाडौँ सडकखण्डलाई चाहेर पनि दुई लेनभन्दा बढी फराकिलो बनाउन नसकिने भौगोलिक जटिलता रहेको बताउँदै सुरुङ नै उत्तम विकल्प रहेको उल्लेख गर्नुभयो ।

हाल विभिन्न क्षेत्रबाट राजधानी सम्मका लागि हुने ढुवानीमा सयौँ किलोमिटर लामो दूरी तय गर्नुपर्दा इन्धन तथा मोटरपार्टसमा समेत अर्बौं रुपैयाँ खर्च हुने गरेको उहाँको भनाइ थियो । मन्त्री फुयाँलले हाल देशमा सवारी दुर्घटनाका कारण सयौँ मानिसको मृत्यु हुने गरेको भन्दै उक्त सुरुङमार्गले दुर्घटनाबाट हुने मृत्युदरलाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतबाट हाल अमलेषगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौँ पु¥याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने बताउनुभयो । कूल ७२ किलोमिटरमा अमलेषगञ्ज काठमाडौँ पाइपलाईन विस्तार गर्न सकिने उहाँको भनाइ थियो ।

उक्त मार्गको सञ्चालनपछि देशको इन्धन र स्पेयर पार्टसमार्फत खर्च हुने वार्षिक एक अर्बभन्दा बढी रकम बचत हुने, मोटरहरुको खरिदमा कमी आउने, यात्रुका लागि  यात्राको अवधिसमेत  बचत हुने तथा सडक मर्मत खर्च घट्नेलगायत देशलाई दीर्घकालीन फाइदा हुने उहाँले बताउनुभयो ।

मन्त्री फुयाँलले उक्त मार्गको निर्माणपछि काठमाडौँसँग छिमेकी शहरहरुको दूरी कम हुन आउने र सोका कारण राजधानी सहर काठमाडौँको जनघनत्व विस्तार भई सन्तुलन कायम हुने उल्लेख गर्नुभयो । उहाँले काठमाडौँका उद्योगधन्दाहरुमा कम ढुवानीमा कच्चापदार्थहरु पुर्याउन सकिने हुँदा उत्पादन लागत कम हुनेलगायत थुप्रै फाइदा रहेको बताउनुभयो ।

मन्त्री फुयाँलले सुरुङमार्गलाई समयमै सुरु गर्न तथा समयमा नै सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । फुयाँलले तत्काल सङ्घीय सरकारसँघ छलफल गरी आवश्यक गृहकार्यहरु सम्पन्न गरेर सहकार्यमा काम अगाडि बढाउने जानकारी दिनुभयो । वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी, कुलेखानी सुरुङमार्गको बोलपत्र आह्वानको तयारी भइरहेको तर सङ्घीय सरकारसँग सहकार्य हुने भएकाले छलफलका लागि केही समय लागेको बताउँदै अब चाँडै काम थाल्ने जानकारी उहाँले दिनुभयो ।

म रहेसम्म नेकपा टुक्रिन दिन्नः माधव नेपाल

काठमाडौं । नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले आफु रहेसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई टुक्रिन नदिने बताउनु भएको छ ।

वर्तमान नेकपा सचिवालय सदस्य नेपालले आफुरहेसम्म पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताउनु भएको हो ।
बागमती प्रदेश नेकपा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नेपालमा ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने उहाँको भनाई छ ।


‘तपाईहरू यहाँ आउदा धेरै आशंका लिएर आउनुभएको छ। पत्रपत्रिकाको समाचारले दिमाग खराव भएको होला, यहाँबाट जाँदा उर्जा लिएर जानुहुनेछ।’ नेपालले भन्नु भयो ।

नेता नेपालले पार्टी एकतामा भइरहेको ढिलाइलाई धेरै पर धकेल्न नहुने समेत बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य छनौटलाई लिएर बुधबारदेखि नेकपामा विवाद चुुलिएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहित माधव नेपाल र झलनाथ खनालले बामदेव गौतमलाई अघि सारेका छन्।

यही कारण नेकपा विभाजित हुन सक्ने आशंका बढेका बेला नेता नेपालले यस्तो बताउँनु भएको हो ।
माधव नेपाल पछिल्लो समयमा पार्टी र जनता दुवैको लागि सकरात्मक सोचाईले अगाडी बढीरहनु भएको छ । उहाँका यस्तै विभिद सकरात्मक र विकासात्मक अभिव्यक्ति र क्रियाकलापको कारण यतिबेला निकै नै लोकप्रिय नेता बन्न पुग्नु भएको छ । साथै पार्टीका लागि पनि एक खम्बाको रुपमा भूमिका निर्वाह गर्नुभएको छ ।

पार्टी एकता बचाऔँँ: मन्त्री योगेश भट्टराई

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र चुलिँदै गएको आन्तरिक संकटका कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले परामर्श तीव्र पारेका छन् ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले आफू निकट मन्त्री तथा स्थायी समिति सदस्यहरूसँग गरेको परामर्शपछि मन्त्री योगेश भट्टराईले पार्टी एकता सुदृढ पार्नुपर्नेमा जोड दिन शीर्ष नेतृत्वलाई आग्रह गरेका हुन् ।

बुधबार बिहान भट्टराईसहित केही मन्त्री र स्थायी समिति सदस्यलाई ओलीले बालुवाटार बोलाएका थिए । परामर्श सकिएलगत्तै मन्त्री भट्टराइले अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाएको र बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताएको आफ्नो फेसबुक पेजमा लेखेका छन् । उक्त परामर्श सकारात्मक रहेको समेत भट्टराईको भनाइ छ ।

‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ’, भट्टराईले ओलीलाई दिएको सुझावबारे जानकारी दिएका छन् । उनले भनेका छन् ‘चिज साकारात्मक दिशामा जाने आशा गराँ । प्रोक्सी वार बन्द गरौँ ।’

स्रोतका अनुसार बुधबार बिहानको परामर्शमा सहभागीहरुले ओलीलाई पार्टी निर्णय मान्न सुझाव दिएका थिए ।

कांग्रेस पूर्वसांसद छन्त्यालको निधनप्रति शोकप्रस्ताव : संसद बैठक स्थगित

काठमाडौँ । संघीय संसद्को दुवै सदनले प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बसेको छुट्टाछुट्टै बैठकले सांसद छन्त्यालको निधन प्रति शोक प्रस्ताव पारित गरेको हो ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य छन्त्याल–२०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ्ग जिल्लाबाट संविधानसभाबाट सदस्य थिइन् ।

उनको ६३ वर्षको उमेरमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारको क्रममा आज निधन भएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको अर्को भोलि दिउसो गते १ः०० बजे बस्ने छ ।