न्यू सगरमाथा एग्रोभेट सेन्टरका सञ्चालक वैध युरिया मलसहित पक्राउ

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले करिब ७४ बोरा युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

राजविराज नगरपालिका–६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा आइतबार प्रहरीले छापा मारेर अवैधरुपमा भण्डार गरी राखेको मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले युरिया मल र गाडीका चालकलाई भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको जानकारी दिनुभयो।

कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु

जनकपुर। धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ। शहीदनगर–८ डुमरिया बस्ने ती युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए। उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ।

प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो। शवलाई जनकपुरमै व्यवस्थापन गरिने बताइएको छ। धनुषामा कोरोना सङ्क्रमणबाट मृत्युको यो पहिलो घटना हो । यस प्रदेशमा अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ।

उपप्रधानमन्त्री पोखरेलसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडाँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले आज शिष्टाचार भेट गर्नुभयो। भेटका अवसरमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भएका प्रयासका साथै द्विपक्षीय हित र सरोकारका विभिन्न विषयमा छलफल भएको थियो।

उपप्रधानमन्त्री पोखरेलले महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ सङ्क्रामक रोगलाई नियन्त्रण गर्न नेपाल सरकारका तर्फबाट भइरहेका कार्यबारे प्रकाश पार्दै कोभिड–१९ सङ्क्रमणविरुद्ध लड्न संयुक्त राज्य अमेरिकालगायत मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभयो। उहाँले सङ्क्रमणको नियन्त्रणसँगै आर्थिक तथा सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गर्दै जानुपर्ने चुनौतीका बीच नेपाल सरकारले उच्च सतर्कता अपनाएर कार्य गरिरहेको बताउनुभयो । उहाँले सङ्क्रमणलाई जथाभावी फैलन नदिन सीमानाकामा निगरानी बढाइएको विदेशबाट नेपाल आउनेहरु क्वारेन्टिन केन्द्र बस्नुपर्ने व्यवस्था मिलाइएको मास्क लगाएर तथा सामाजिक दूरी कायम गरेर मात्र सार्वजनिक कार्यालयमा काम काज गर्ने व्यवस्था मिलाइएको र पिसिआर परीक्षणको दायरा विस्तार गर्दै लगिएको बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको सङ्ख्यालाई बढ्न नदिन तीनै तहका सरकारले आपसमा समन्वय गरी कार्य गरिरहेको उहाँले राख्नुभयो ।

उपप्रधानमन्त्रीले संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमणका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यसको बाबजुद अमेरिकाले नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि उपलब्ध गराएको सहायताको सराहना गर्नुभयो । वार्ताका क्रममा माननीय उपप्रधानमन्त्री पोखरेलले संयुक्त राज्य अमेरिका र नेपाल दुवै लामो समयदेखि असल मित्रका रूपमा रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिका सरकारले पु¥याएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

राजदूतले बेरीले नेपालले कोभिड–१९ रोगको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गर्दै सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन सामाजिक दूरी कायम गर्ने लगायतका उपायलाई प्राथमिकताका साथ अवलम्बन गर्न उपयोगी हुने कुरा बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको नियन्त्रणका लागि दुवै मुलुकले मिलेर कार्य गर्न आवश्यक रहेको बताउँदै कठिन परिस्थितिका बाबजुद नेपाललाई सहयोग गर्न अमेरिका सदैव तत्पर रहेको कुरा बताउनुभयो । राजदूत बेरीले संयुक्त राज्य अमेरिकाले नेपाललाई विगत ७० वर्षदेखि आर्थिक सामाजिक हित हुने गरी विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तर जारी राखिने विचार व्यक्त गर्नुभयो।

रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारका अनुसार शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौँस्थित अमेरिकी राजदूतावासका अधिकारीको समेत उपस्थिति थियो।

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ। यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा पुगेको छ । कूल १९० कम्पनीका ४५ लाख ६०३ कित्ता शेयर रु एक अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० मूल्यमा खरिद बिक्री भए।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ। होटल २.२९, जलविद्युत् २.२ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ। बैंकिङ १६.५, व्यापार ८.५१, विकास बैंक ४.७३, वित्त ३.३३, निर्जीवन बीमा २५९.६४, उत्पादन ५.७३, अन्य १३.७९, लघुवित्त २७.६५, जीवन बीमा ३३८.८ अङ्कले बढेका छन्।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु २५ करोड ८४ लाख १८ हजार १०७ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनी रु १९ करोड ९४ लाख ५२ हजार ९१६, एनआइसी एशिया बैंक रु आठ करोड ६१ लाख ८६ हजार २५१, शिखर इन्स्योरेन्स रु आठ करोड ५७ लाख ६८ हजार १३२, एनएमबी बैंक रु छ करोड ६७ लाख ३५ हजार १४२, हिमालयन डिस्टिलरी रु छ करोड ४४ लाख ३० हजार ३८७ र एनआइसी एशिया लघुवित्त रु छ करोड २९ लाख २५ हजार १५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

यस्तै, मिर्मिर माइक्रोफाइनान्स ९.९७, तारागाउँ रिजेन्सी होटल ९.९६, जोशी हाइड्रोपावर ८.२३, सगरमाथा इन्स्योरेन्स ८.११, सपोर्ट माइक्रोफाइनान्स ७.५६, प्रिमियर इन्स्यारेन्सका शेयरधनीले ६.१४ प्रतिशतले कमाए। त्यस्तै, वेस्ट फाइनान्स कम्पनी ६.५४, नेशनल हाइड्रोपावर ३.७०, सनराइज फष्ट माइक्रोफाइनान्स ३, समृद्धि फाइनान्स २.८८, रसुवागढी हाइड्रोपावर २.६८ र एभरेष्ट बैंकको संस्थापक शेयरधनीले २.५० प्रतिशतले गुमाए। 

उत्तर कोरियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा

काठमाडौँ। उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ।

कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ।

सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन्।

सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराउनुभएको हो । नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश दिनुभएको छ।

आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो।

थप १ सय ३० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३० जना कोरोना संक्रमित फेला परेका छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकारी दिए।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन्। हालसम्म १३ हजार १ सय २८ डिस्चार्ज भएका छन् भने कोभिड १९ संक्रमणका कारण हालसम्म ४५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा आठ जना कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुईजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीनजना र स्टार अस्पताल ललितपुरमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पूर्व डिआइजी कोईरालाको पुनरावलोकनमा आज सुनुवाई

काठमाडौँ। सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइ आजका लागि पेसी तोकिएको छ।

पत्नी गीता ढकालको हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालत र तत्कालीन ललितपुर पुनरावेदन अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय तोकेकामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले साढे ११ वर्ष कैद घटाउँदै उनलाई बिहीबार जेलमुक्त गराएको थियो।

सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अब ३ जना न्यायाधीशबाट सुनुवाइ हुनेछ।

पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ। संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ।

पछिल्लो हप्तासम्ममा ३४ हजार बढी अलपत्र नेपालीको उद्धार

काठमाडौँ। पछिल्लो हप्तासम्म ३४ हजार ८३० नेपालीको उद्धार गरिएको छ। सङ्घ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो।

यद्यपि, यही साउन ८ गते बिहीबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगन गरेको छ। आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ।

यस्तै मलेशिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरियालगायतका देशबाट यस हप्तासम्म २१६ शव नेपाल पु¥याइ परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४७४ मध्ये १६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ शव नेपाल ल्याउन बाँकी छ।

यसैबीच एनआरएनएको कोभिड–१९ उच्चस्तरीय समितिको बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनएका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ शुरु भएदेखि समितिले गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको छ । उहाँले कोरोना भाइरसको महामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् ९एनसीसी०को निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली समुदायले व्यहोर्नुपरेको अप्ठ्यारो र संवेदनशील यस घडीमा मल्हम लगाउने काम भइरहेको जनाउँदै यस कार्यलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभयो ।

बैठकमा महासचिव डा हेमराज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा दुई हजार १०० स्वयंसेवक खटिरहेको जानकारी दिनुभयो । उहाँले सङ्घका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमार्फत ८१ हजारभन्दा बढीले परामर्श लिएको बताउनुभयो । बैठकमा स्वास्थ्य समितिका संयोजक डा सापकोटाले गैरआवासीय नेपालीमा कोरोना प्रभावबाट बच्न र बचाउनका लागि भइरहेका प्रयास र जोखिम बढ्दै गएको पछिल्लो समयमा अपनाउनुपर्ने सावधानीका बारेमा आफ्नो धारणा राख्नुभएको थियो।

बैठकमा बोल्ने वक्ताहरुले कोरोना भाइरसको जोखिम अझै बढेकाले ढुक्क भएर बस्न नहुने र आफूले सावधानी अपनाए मात्रै अरुलाई पनि सङ्क्रमणबाट जोगाउन सकिन्छ भन्ने भावना मनन गर्नुपर्नेमा जोड दिनुभएको थियो। बैठकमा सहभागीहरुले नेपालमा फर्किकाहरुलाई सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने जोखिम अझै बढेको र आवश्यक सावधानी अपनाउन उनीलाई सचेत बनाउनुपर्नेमा बताउनुभएको थियो।

पछिल्लो १ हप्तामा कोरोनाले विदेशमा थप १ नेपालीको मृत्यु

काठमाडौँ । पछिल्लो एक हप्तामा विदेशमा विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले बेलायतमा थप एकजना नेपालीको निधन भएको जानकारी गराएको हो।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १ सय ६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कूल सङ्क्रमितमध्ये २९ हजार २ सय ४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन्। गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ। यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ।

सङ्घका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय ६ पुगेको छ। यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ। समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ।

२५ वर्षिय युवाले मुक्कामा विश्व किर्तिमान राखे

काठमाडौँ । स्लोभाकियाका मार्शल आर्टसका २५ वर्षिय पुरुष खेलाडिले एक मिनेटमा ३ सय २२ मुक्का प्रहार गरी गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन्।

पावेल ट्रुसोभले औपचारिक रुपमा किर्तिमानका लागि प्रयास गर्नु अघि आफुले ६ महिना सम्म क्रसफिट, पावर लिफ्टिंग र इन्टरभल वर्क जस्ता नियमित व्यायाम गरेको बताएका छन्।

६ वर्षको कलिलो उमेर देखि मार्शल आर्ट्समा भाग लिँदै आएका उनले गिनिज नियम अनुसार प्रत्येक मुक्का पाखुरा पूरा तन्काएर बलपूर्वक हान्नुपर्ने पर्ने भएकाले पनि राम्रो तयारी गरिएको बताएका छन्।

सुनचाँदी ब्यावसायीको तेस्रो महाधिवेशन असोजमा हुँदै

काठमाडौँ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले तेश्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा गर्ने भएको छ।

महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठक बसेर यो निर्णय गरेको हो। महाधिवेशनमा देशभरबाट करिव ४ सय जना प्रतिनिधि सहभागी हुनेछन्।

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन असोज १२ गते गर्ने निर्णय गरेको छ।

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका लागि वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ।

हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन

आम उपभोक्ताको सर्वोपरी हितलाई मध्यनजर गर्दै महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ। यस्तै, यस विषयमा थप प्रष्ट हुने गरी बैठकले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएका छन्।

गेग्रेटो उठाउँदा पहिरो खसेर स्काभेटर पुरियो, ट्याक्टर र टिपर चालक बेपत्ता

काठमाडौँ । बागलुङ पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ। जिल्लाको नगरपालिका–१ निरयघाट नजिक गएराति साढे आठ बजे पहिरो खसेको हो ।
ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ च ४७ नंको ट्र्याक्टर र ग १ ख ४६३७ नंको टिपर र स्काभेटर पुरिदाँ टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए। स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ।

। स्काभेटरको नम्बर खुलेको छैन । “पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ”, प्रहरी निरीक्षक रिजालले भने।

पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन। सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए।

अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ। घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशंका गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए। पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ।

फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य

काठमाडौँ । फ्रान्समा कोरोनाभाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परिक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ।
प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने शुक्रबार जानकारी दिनुभएको हो।

सिमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीति अन्तर्गत परीक्षणलाई कडाई गर्ने व्यवस्था गर्न लागिएको उहाँको भनाई छ। उहाँका अनुसार अमेरिका, ब्राजिल, भारत, अल्जेरिया, बहराईन, इजरायल, दक्षिण अफ्रिका, कुवेत, कतार, युएई, ओमन, पनामा, पेरु, सर्बिया, टर्की र मडागास्करबाट आउने यात्रुलाई परीक्षण अनिवार्य गर्न लागिएको हो।
फ्रान्सले ती देशहरुलाई कोरोनाको दृष्टीकोणले खतरापूर्ण अवस्थामा रहेका देशहरुको सूचीमा राखेको अधिकारीहरुले जनाएका छन्।

“ती देशहरुमा परीक्षण नगर्ने रणनीति लिइएको छ। त्यसैले हामीले परीक्षण गर्नु पर्ने व्यवस्था गर्न लागिएको हो। यो कार्यान्वयन गर्न धेरै गाह्रो छ भन्ने हामीलाई थाहा छ। तै पनि गर्ने निर्णयमा पुगेको छौँ,” उहाँले भन्नुभयो।

सिमाना जोडिएको स्पेनबाट हुने आवतजावतलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा छलफल भइरहेको र आवत जावतलाई अति न्युन बनाउने प्रयास गरिने पनि उहाँले जानकारी दिनुभयो।
फ्रान्समा शुक्रबारसम्म एक लाख ८० हजार ५ सय २८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ती मध्ये एकैदिनमा एक हजार १ सय ३० जना थपिएको अधिकारीहरुले जनाएका छन्। यो संख्या एक दिन अगाडी एक हजार ६२ मात्रै रहेको थियो।

कोरोनाभाइरसका कारण फ्रान्समा अहिलेसम्म तीस हजार १ सय ९२ जनाको मृत्यु भएको छ। ती मध्ये दश जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

सुर्यविनायकमा रोपिए ४ सय ५० बढि प्रजातिका बिरुवा

काठमाडौँ। सुर्यविनायक नगर पालिका वडा न.८ सिपाडोल मालिगाउमा आज वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुरद्वारा आयोजित सोही वृक्षारोपण कार्यक्रम नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा ४ सय ५० वटा विभिन्न प्रजातिका विरुवाहरुको रोपन गरिएको छ।
व्यबस्थापन समितीको संयोजक कविराम थापाले वृक्षिरोपण गरिएको स्थानमा पुष्पलाल स्मृति पार्क निर्माण गरिने बताउनुभयो।

कार्यक्रम जिल्ला समितीका अध्यक्ष ध्रुवराज बिष्टको सभापतिमा भयको थियो भने कार्यक्रम समितीका सचिव रजन के।सीले संचालन गर्नु भएको थियो।

साथै,कार्यक्रमको जानकारी आयोजक समितीका सदस्य युवा नेता दिपक थापाले गराउनु भयो।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सोम मिश्र , वागमति प्रदेशका माननिय राजेन्द्रमान श्रेष्ठ , नेकपाको जिल्ला कमिटी सचिव डिपी ढकाल लगाएर जिल्ला कमिटी सदस्यहरु ,, स्थानिय जनप्रतिनिधीहरु नेकपाका नेता कार्यकर्ताहरूको उल्लेख्य उपस्थिती रहेको थियो।

पौराइ सरोकार समाजको आयोजनामा काठमाडौँमा रक्तदान अभियान

काठमाडौ ।रौतहटबाट काठमाडौ आइ बसोबाँस गर्ने उपत्यकाका पौराइ बासीहरुले आज रक्त दान कार्यक्रम गरेका छ्न।

पौराइ सरोकार समाजको आयोजनामा भएको सो कार्यक्रममा रौतहटको बागमती ,पौराइ ,जुडबेल फुलवारी र सिन्दुरेघारीका उपत्यका बस्नेहरूले रक्तदान कार्यक्रममा भगलिएको आयोजक कमिटीका सम्योजक देब भण्डारीले सम्पत्ति न्युज लाई बताए।

कोभिडका कारण बजारमा रगतको अभाव भएको कारणले धेरै सर्बसाधरणलाई रगत उपलब्ध गराइउन मुस्किल परेको सुनिए पछि पौराइ सरोकार समाजले यो कार्यक्रम आफनो अभियान थालेको आयोजक समितिको भनाइ छ।

रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको बताइएको छ।