विद्युत् महशुलमा ५० प्रतिशत छुटको माग

काठमाडौँ । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन्। कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन्।

विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाबन्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छुट दिन मन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए।

भेटमा ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए, होटल एशोसिएशन अफ नेपाल (हान), टुरिष्ट बस एशोसिएन अफ नेपाल (टिवान), नेपाल एशोसिएएन अफ रयाफ्टिङ एजेन्सिज (नारा), गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), नेपाल कैलाश यात्रा सङ्घलगायत २ दर्जन संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

भेटपछि ऊर्जामन्त्री पुनले बन्दाबन्दीका कारण मुलुकको हरेक क्षेत्रमा समस्यामा परेको भन्दै उक्त समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउनका लागि सरकारले गर्नुपर्ने कुनै कसरत बाँकी नराख्ने उल्लेख गर्नुभयो । मन्त्री पुनले पर्यटन क्षेत्रलाई विद्युत् क्षेत्रमा दिने सहुलियतका बारेमा आफूले सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

गुणस्तरहीन पानी उत्पादन तथा विक्रि गर्ने पानी उद्योग कारवाहीमा

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ। उद्योग गुणस्तरहीन पानी उत्पादन तथा विक्रि गरेको कसुरमा २ लाख जरिवानाको कारवाहीमा परेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो। कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि रु दुई लाख जरिवाना गरेको हो। अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको सो कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले बताउनुभयो।

सीमा क्षेत्रमा खटिएका १८ प्रहरी जवानमा कोरोना

झापा । सीमा क्षेत्रमा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ। पूर्वी नेपालको काँकरभिट्टा सीमा क्षेत्रमा खटिएका १८ जना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीहरु सीमाक्षेत्र, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खट्दै आएका थिए।
संक्रमितमध्ये सशस्त्र प्रहरीका १७ पुरुष र १ महिला भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले जानकारी दिए। उनका अनुसार २ जनामा संक्रमण देखिएपछि साउन ७ गते थप ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी विराटनगर स्थित प्रादेशिक प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो।

संक्रमण देखिएका सबैलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पतालमा लागिएको छ। शुक्रबार साँझ सम्ममा झापामा संक्रमितको संख्या ३ सय ४५ पुगेको छ। चौलागाईँका अनुसार संक्रमण देखिएका सबैको अवस्था सामान्य छ। हालसम्म जिल्लामा २ सय ९९ जना भने निको भएर घर फर्किसकेका छन्।

यसअघि पनि काँकडभिट्टाकै सीमा क्षेत्रका २ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो।

विश्वमा कोरोना भाइरस सक्रमितको संख्या एक करोड ५६ लाख नाघ्यो

काठमाडौँ । विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६ हजार ७८७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ।

संक्रमितमध्ये हालसम्म ९५ लाख ५४ हजार ८९० व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ५४ लाख ७५ हजार १६३ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। संक्रमितमध्ये ६६ हजार १८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख ७० हजार १३१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ४७ हजार ३३३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा ३५ लाख ४५ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ एक लाख २९ हजार २१६ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ४८ लाख ८९ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ दुई लाख ३ हजार ८८७ जनाको मृत्यु भएको छ।

युरोपमा २७ लाख ३६ हजार २५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५३१ को मृत्यु भएको छ। एसिया ३६ लाख ८२ हजार ५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८६ हजार ६७ जनाको मृत्यु भएको छ।

अफ्रिकामा सात लाख ९२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ७५६ जनाको मृत्यु भएको छ। ओसियानामा १५ हजार २९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६१ जनाको मृत्यु भएको छ।

तान्जानियाको पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन

काठमाडौँ । तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ। तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उहाँ देशका तेस्रो राष्ट्रपतिको रुपमा चयन हुनु भएको थियो। उहाँले सन् १९९५ बाट २००५ सम्म २ कार्यकाल राष्ट्रपतिको रुपमा शासन गर्नु भएको थियो।

तान्जानियाका तेस्रो राष्ट्रपतिको निधनबाट ‘म दुखी भएको छु र यो देशको लागि ठूलो क्षति हो। आउनुहोस्, हामी उहाँहरूका लागि प्रार्थना गर्रौ र थप जानकारी पछि आउनेछ ’ राष्ट्रपति जोन मगुफुलीले टेलिभिजनमार्फत गर्नु भएको छोटो सम्बोधनमा बताउनु भएको छ। मकापाको मृत्युको कारण भने तत्कालिन खुलाइएको छैन्।

मकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरीब परिवारमा भएको थियो। उहाँले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गर्नु भएको थियो। उहाँ देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारमा नियुक्त भई काम गर्नु भएको थियो।

राष्ट्रपति हुनुअघि उहाँले विदेश मन्त्री र सूचनामन्त्री जस्ता मन्त्रीपरिषदका पदहरू सम्हाल्नु भएको थियो। राष्ट्रपति हुनु भन्दा अघि उहाँँ संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा पनि हुनु भएको थियो ।

उहाँको राष्ट्रपति कार्यकालमा आर्थिक सुधार,उद्योगहरू निजीकरण र अर्थव्यवस्था उदारीकरणको भएको मानिन्छ।

प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ३ लाख ठगि गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनी एक व्यक्तिसँग ३ लाख ५० हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीमा जागिर लगाइदिने भनी ठगी गर्ने रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

परिसरका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका वलीले विभिन्न व्यक्तिसँग ठगी गरेको निवेदन परेपछि पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका वलीको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, किर्तिपुर नगरपालिकाको नक्कली राजश्व सङ्कलन गरेको कागजात, प्रतिबन्धित नेकपा माओवादी ‘विप्लव’ समूहको आर्थिक सहयोग गर्ने कागजात बरामद गरेको छ।

५ लाख बढी घुससहित डिभिजन वन कार्यालयका प्रमुख साह पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ। घुसबापतको सोही रकम लिएर सुनसरीबाट रौतहटतर्फ गइरहेका उनलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

डिभिजन वन कार्यालयको बा २ झ ४१० नम्बरको सवारी साधानमा श्रीमतीसहित रौतहट गइरहेका उनले उक्त रकम सवारी साधनमा लुकाएको उजुरी परेपछि नियन्त्रणमा लिइएको अख्तियारका दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ। उनीहरुमाथि थप अनुन्धान सुरु भएको आयोगले जनाएको छ।

सञ्चालक समितिले माग्यो सनराईज बैंकका सिईओको राजिनामा,अध्यक्षसम्म तानिन सक्ने अवस्था

काठमाडौं । बैंकको संञ्चालक समितिले सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको राजिनामा माग गरेको छ। अध्यक्ष अध्यक्ष मोतीलाल दुगड र अधिकृत पौडेलबीचको अनैतिक क्रियाकलापका कारण बैंकनै धराशायी अवस्थामा पुग्न लागेको भन्दै संचालक समितिले सीईओलाई तत्काल राजिनामा दिन अल्टिमेटम दिन निर्देशन दिएको छ।

पछिल्लो समय सञ्चालक समितिमै नलगि दुई जनाको सहमतिमै बैंकका महत्वपूर्ण निर्णयहरु गैर कानूनी तरिकाबाट निर्णय हुन थालेको भन्दै अन्य संचालनहरुले सीईओ शर्मालाई भोली (शनिवार) सम्मको समयसीमा दिएर राजिनामा दिन निर्देशन दिएको बैंक व्यवस्थापन स्रोतले जानकारी दिएको छ।

‘अन्य संचालकहरुले सीईओ शर्मालाई भोलीसम्म पदबाट राजिनामा दिन निर्देशन दिनुभएको छ,’ बैंक उच्च व्यवस्थापन स्रोतले भन्यो, ‘यदि भोलीसम्म सीईओ सरले राजिनामा नदिएको खण्डमा संचालक समितिको बहुमत निर्णयबाट अध्यक्ष र सीईओ दुबैलाई हटाउने चेतावनी दिनुभएको छ।’ विशेषगरी पछिल्लो समय अध्यक्ष र सीईओमा मिलेमत्तोमा बैंक तथा सेयरधनीको स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थ केन्द्रित रहेर काम गर्न थालेपछि विवाद चर्किएको स्रोतले जनाएको छ।

अध्यक्ष पौडेल र सीईओ शर्मालाई कमसल धितोमा कर्जा प्रबाह गर्ने र कर्जाको विना पनि आधार भाका सारेको आरोप छ। ‘‘पछिल्लो समय बैंकमा सीईओ र अध्यक्षको मिलेमत्तोमा कमसल धितोमा कर्जा प्रबाह गर्ने र उठाउनु पर्ने कर्जाको पनि विना आधार भाका सार्ने काम गर्दै आउनु भएको छ,’ व्यवस्थापन स्रोतले भन्यो, ‘सीआई र अध्यक्षको विशेष सम्बन्धका कारण आफुलाई फाइदा हुनेगरी निर्णय गर्दा बैंक नै धराशायी हुने अवस्थामा पुगेपछि संचालकहरुले सीईओलाई तत्काल राजिनामा दिन अल्टिमेटन दिनुभएको हो।’ लाखौं सेयरधनी रहेको बैंकमा दुई जनाको मात्र स्वार्थमा निर्णय हुन थालेपछि यसले दिर्घकालिन असर पुर्याउने भन्दै अध्यक्ष बाहेक मालचन्द दुगड, शैलेन्द्र गुरागाईँ, बच्चराज टाटरलगायत सबै संचालकहरुले सीईओलाई तत्काल पदबाट राजिनामा दिन अल्टिमेटम दिएका हुन्। तर, बैंक व्यवस्थापन स्रोतका अनुसार भने सीईओ शर्माले आज शुक्रबार दिनभर काम गरेर अन्तिम समयमा राजिनामा दिएर बाहिरिने मनस्थितीमा रहेको बुझिएको छ।

म्याद सकिएको पानी बेच्दा भाटभटेनीलाई ३ लाख जरिवाना

काठमाडौँ । भाटभटेनी सुपर मार्केटलाई म्याद सकिएको पानी बेचेको कसुरमा ३ लाख रूपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनीलाई म्याद सकिएको पानी बेचेको कसुरमा ३ लाख रूपैयाँ जरिवाना गरेको हो।

शुक्रबार विभागले भाटभटेनीमा अनुगमन गरेको थियो। अनुगमनमा त्रुटि आईएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरेको विभागले बताएको छ।

उपत्यकामा थप १० जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार) कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका १० जनामा संक्रमण पुष्टि भएको डा. जागेश्वर प्रशाद गौतमले जानकारी गराएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना गरी १० जनामा कोरोना पुष्टि भएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले १ सय ३३ जनामा कोरोना थपिएको पुष्टि गरेका हुन्।
योसँगै नेपालमा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या १८ हजार ३ सय ७४ पुगेको छ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ८३ रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा गौतमले बताए।

देशभर शुक्रबार मात्र १सय ७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ९ सय ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ८७ को नमुना परीक्षण भएको डा. गौतमले जानकारी गराए।

पालुङ–नौबिसे सडक खण्ड पनि अवरुद्ध

काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ। सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दीए।

सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन्। पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए।
अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ।

उपचाररत विश्व गुरुङको लागि बेलायत र हङकङबासी नेपालीद्धारा पौने ३ लाख सहयोग

काठमाडौँ । टाउकोमा गम्भीर चोट लागि उपचाररत विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट सङ्कलित रु २ लाख ७५ हजार नगद प्रदान गरिएको छ। पर्वत मोदी गाउँपालिका–१ लौसीबोट घर भई हाल पोखरा १२ फूलबारी सफा मार्गमा बस्दै आउनुभएका उहाँको दुई वर्ष अघि भर्याङबाट लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो। २५ वर्र्षीय गुरुङको उपचारपछि पनि हालसम्म होस खुल्न सकेको छैन।

उपचारमा १ करोडभन्दा बढी रकम खर्च भइसकेको र हाल उपचारका लागि आर्थिक अभाव भएपछि बेलायतमा रहेका नेपाली, लौसीबोट हङकङ समाज र लौसीबोट बेलायतबाट सङ्कलित सो रकम उहाँकी आमा डिलकुमारी गुरुङलाई प्रदान गरिएको छ।

सहयोग रकम पर्वत घर भई हाल पोखरा १० अमरसिंहचोकमा बस्दै आएका युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ र लक्ष्मी गुरुङको संयोजनमा लौसीबोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोकबहादुर गुरुङ र लौसीबोट गाउँ समाजका अध्यक्ष कुलवीर गुरुङले विश्वका आमा डिलकुमारीलाई हस्तान्तरण गर्नुभएको हो।

सरकारी छाप दुरुपयोग गरि ७४ लाख ठगि गरेका फरार अभियुक्त पक्राउ

काठमाडौँ । सरकारी छाप दस्तखत कीर्ते (दुरुपयोग) र ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर महांकाल गाउँपालिका २ बस्ने ४३ वर्षीय हरिशरण महतलाई प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनको २०७० चैत १७ गतेको फैसलाले २ वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहेका महतलाई ललितपुर सातदोबाटोबाट केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनले लोप्साङ् लामा र उनकी श्रीमती च्यूङ्ताङ् लामाको नाममा रहेको काठमाडौं नागार्जुन नगरपालिका ५ स्थित कित्ता नम्बर ८१८ को २—०—२—० क्षेत्रफल जग्गा मालपोत कार्यालय कलंकीका तत्कालीन खरिदार भिम बहादुर राईसँगको मिलोमतोमा काठमाडौं जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामा लगायत अन्य कागजातहरु नक्कली बनाई किर्ते गरेका थिए। उनले सिन्धुपाल्चोक साबिक फुल्पिङ्कट्टी गाबिस १ बस्ने कमल कुमार श्रेष्ठको नाममा नामसारी गराई कास्की साविक पोखरा उपमहानगरपालिका ३ बस्ने प्रवीणमान श्रेष्ठलाई २०६४ चैत २४ गते ७५ लाख रुपैयाँ मूल्यमा बिक्री गरी सरकारी छाप दस्तखत कीर्ते र ठगी गरेको ठहर भएको हो।

कसूरमा संलग्न खरिदार भिम बहादुर राईलाई सोही ब्यूरोको प्रहरीले २०७४ जेठ २२ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। महतलाई फसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः पहिरो सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो। निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उहाँले जानकारी बताउनुभयो। सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो। सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो। पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ।