कोरोनाबाट थप १ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप १ जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोरोना अस्पतालमा लगिएको थियो। उनको सोही दिन साँझ मृत्यु भयो।

उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

कञ्चनपुरमा १ सय २० दिनको लकडाउनमा ७२ जनाले गरे आत्महत्या

कञ्चनपुर । जिल्लामा लकडाउनअवधिमा ७२ जनाले आत्महत्या गरेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन्। लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका घटना बढेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए। “विष सेवन र झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क हेर्दा गत चैतदेखि असारसम्म अरु बेलाको भन्दा वृद्धि भएको देखिन्छ ।” उनले भने, “वैशाख र जेठ महिनामा गरी आत्महत्या दुरुत्साहनमा दुई वटा मुद्दासमेत दर्ता भएका छन्।”

प्रहरीका अनुसार विष सेवन गरेर गत चैत महिनादेखि ३२ जनाले आत्महत्या गरेका छन् भने सोही अवधिमा झुण्डिएर ४० जनाले आत्महत्या गरेका छन्। “लकडाउनमा बेरोजगारी, विपन्न समुदायका जीविका चलाउनेदेखि विविधखाले समस्याले पनि हिंसाका घटना बढेको देखिन्छ ।” उउनले भने, “लकडाउन अवधिमा हुने अपराध नियन्त्रणमा प्रहरी पनि सोहीअनुसार योजना बनाएर अघि बढेको छ।” लकडाउन अवधिमै आत्महत्या दुरुत्साहन मुद्दामा एक जना पूर्पक्षका लागि कारागार चलान हुनुका साथै एक जना तारेखका छुटेका छन्। “लकडाउनमा यहाँ आत्महत्या तुरुत्साहनमा २ वटा मुद्दा दर्ता गरेर कारवाही अघि बढेको थियो।”, प्रहरी प्रवक्ता थापाले बताए। विगतमा पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना बढी नै रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

पहिरोमा परेर मृत्यु भएका जम्ल्याहा रानाको परिवारलाई नगरपालिकाले ५० हजार दियो

काठमाडौँ । मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका ३ वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई टोखा नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले बताए।

नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा विपद् व्यवस्थापन समिति निर्माण समेत गर्ने निर्णय गरेको उनले बताए।

“वडा विपद् व्यवस्थापन समितिले विपद्को समयमा तत्काल उद्धार तथा सम्बन्धित निकायलाई खबर गर्नेछ”, उनले भने।

उनका अनुसार नगरपालिकाले वडामा आवश्यक पर्ने विपद् व्यवस्थापन सामग्रीका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ।

नगरपालिकाभित्र रहेका वडा विपद् व्यवस्थापन समितिले वडाभित्र विपद्का कारण भएको क्षति सङ्कलन गरी तत्काल अस्थायी तटबन्ध निर्माणका लागि वडा कार्यालयले ५० हजार रुपैयाँसम्म रकम दिन पाउने व्यवस्थासमेत गरेको छ। सो रकमभन्दा बढी क्षति भएमा वडाले नगरपालिकाको विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर विनियोजन गनुपर्र्ने निर्णय भएको बताए।

मन्त्रिरिषदको साउन ५ गते बसेको बैठकले बाढी, पहिरोबाट ज्यान गुमाउने व्यक्तिको परिवारलाई २ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ।

बाग्लुङ फुटबल खेलाडीलाई राहत

बाग्लुङ । अखिल नेपाल फुटबल सङ्घको सहयोगमा जिल्ला फुटबल सङ्घ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई रु चार हजारका दरले बुधबार राहत प्रदान गरेको छ।
कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको हो।
राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकूद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताए। उनले सङ्कटका बेला खेलाडीलाई सघाएकामा फुटबल सङ्घलाई धन्यावाद दिए। जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको सङ्घका जिल्ला अध्यक्ष रामराज गुरुङले बताए। खेलाडी र अफिसियलाई गरी रु ७६ हजार राहतमा खर्च भएको उनको भनाइ छ। राहत रकमको चेक बुझेपछि खेलाडीले खुशी व्यक्त गरेका थिए।

ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावसा बन्द गर्न अमेरिकाको आदेश

बेइजिङ । संयुक्तराज्य अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ। पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तिब्र असन्तोष व्यक्त गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता चीनले अमेरिका समक्ष आग्रह गरेको बताए।

उनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिए।
चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पुर्‍याउने भन्दै विरोध गरेको छ।

प्रवक्ता वाङले भने ‘यो अमेरिकाले एकपक्षीय रुपमा संचालन गरेको राजनीतिक भडकाउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गर्दछ। साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लंघ हो।’

उनले अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको हामी कडा शब्दमा निन्दा गर्दछौं भन्दै यस कदमले चीन–अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्नेछ उनले भने।

ह्यूस्टनस्थित स्थानीय संचार माध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए।

ह्यूस्टन प्रहरी प्रमुखले भवनको परिसरबाट धुँवा निस्केको जानकारी दिँदै भवन परिसरभित्र प्रवेश गर्न नदिइएको बताए।

गृह प्रवक्ता सहित २६ सह—सचिवको सरुवा

काठमाडौं । सरकारले गृहमन्त्रालय प्रवक्ता केदारनाथ शर्मासहित २६ जना सह–सचिवको सरुवा गरेको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरेको छ।

त्यस्तै गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडा सरुवा गरिएको छ।

गृह मन्त्रालयका सह–सचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सह–सचिव ध्रुवकुमार पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालयका सहसचिव राष्ट्रपति कार्यालय, काठमाडौँ, गृह मन्त्रालयका सहसचिव जगनाथ पन्त धनगढी उपमहानगरपालिका, कैलालीमा सरुवा गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश पोखराका सहसचिव किरण राज शर्मालाई संचार तथा सूचना मन्त्रालयमा सरुवा गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेश हटौंडाका सह–सचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालय सरुवा गरिएको छ।

भरतपुर महानगरपालिका, चितवनका सहसचिव प्रेमराज जोशी रक्षा मन्त्रालय, हेटौडा उपमहानगरपालिका, मकवानपुरका सहसविचव राजेश पौडेल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जितपुर सिमरा उपमहानगरपालिका, बाराका सहसचिव प्रदीप राज अधिकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गरिएको छ।

पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक

काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ । रेग्मी असार २४ गतेदेखि हराएका थिए। परिवारले अपहरण परेको हुनसक्ने भन्ने व्यहोराको निवेदन साउन ४ गते महानगरीय अपराध महाशाखामा बुझाएका थिए।

यस विषयमा अनुसन्धानका लागि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति होटलबाट पक्राउ गरेपछि अपहरणको नाटक गरेको रहस्य खुलेको हो। रेग्मी असार २४ गते घरबाट निस्की सम्पर्कविहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउपछि अनुसन्धान गर्दा रेग्मीले विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनी करोडौँ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोतसाधनको दुरूपयोग भएकाले सोहीअनुसारको मुद्दामा उनीमाथि थप अनुसन्धानका लागि आज प्रहरीमा बुझाइएको महाशाखाले जनाएको छ।

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४ सय ३२.४४ पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३.९० अङ्कले घटेर ३ सय ३ दशमलव १४ मा पुगेको छ।

आज कूल १ सय ८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर रु एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७ सय १६ मा खरिद बिक्री भयो। कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ। होटल १ सय ३४ दशमलव ४५ र सामूहिक लगानी कोषको शेयर ०.०७ अङ्कले बढेको छ।

बैंकिङ २१ दशमलव ५१, व्यापार ७ दशमलव ९४, विकास बैंक ३ दशमलव ८३, जलविद्युत् १३ दशमलव ०३, वित्त ७ दशमलव १६, निर्जीवन बीमा ५ दशमलव ५४, उत्पादन २० दशमलव९५, अन्य १४ दशमलव ३४, लघुवित्त १५दशमलव १ र जीवन बीमा ७१ दशमलव६ अङ्कले घटेको छ। कारोवार रकमका आधारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको शेयर रु १८ करोड १५ लाख ८४ हजार ८ सय २१ मा खरिद बिक्री भयो।

त्यस्तै नेपाल पुनःबीमा कम्पनी रु १६ करोड २३ लाख ७६ हजार २ सय ६७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ९ करोड ९२ लाख ६९ हजार ६ सय ५५, एनएमबी बैंकको रु आठ करोड १३ लाख ७३ हजार ३ सय ४०, हिमालयन डिष्टिलरी लिमिटेड रु सात करोड ४८ लाख ८७ हजार ४ सय ७६ र एनआइसी एशिया बैंकको शेयर रु ७ करोड १३ लाख चार हजार ५ सय १७ मा खरिद बिक्री भयो।

ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए। यस्तै तारागाउँ रिजेन्सी होटल ९ दशमलव ९५, सोल्टी होटल ९ दशमलव ४९, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था ६ दशमलव ४८, श्रीराम सुगर मिल्स ६ दशमलव २७ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ५ दशमलव ४३ प्रतिशतले कमाए। यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८ दशमलव ६१, घलेम्दी हाइड्रोपावर ६ दशमलव ९०, सिनर्जी पावर डेभलपमेन्ट ६ दशमलव ५४, जोशी हाइड्रोपावर ५ दशमलव ८८, रिडी हाइड्रोपावर ५ दशमलव ८१ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ८० प्रतिशतले गुमाए।

स्वास्थ्यसम्बन्धि सचेत हुन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन्।राष्ट्रपटि भण्डारीले ट्वीट गर्दै कोरोना भाइरसबाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन्।

‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन”, उनले ट्वीटमा भनिन्।

राजेश हमालका भाईको निधन

काठमाडौँ । महानायक राजेश हमाललाई पारिवारिक शोक परेको छ।

हमालका एकमात्र भाइ राकेश हमालको उपचारको क्रममा नयाँ दिल्लीमा निधन भएको हो।

कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बतायो। राकेशका श्रीमती र दुई छोराछोरी छन्।

राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौँमा एउटै घरमा बस्छन्। उनीहरूका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ। राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए । राजेश अहिले काठमाडौँमा नै छन्। राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ।

मेगा बैंक ११ औं वर्षमा प्रवेश

काठमाडौं । मेगा बैंक संचालनको ११ औं बर्षमा प्रवेश गरेको छ । १० औं बार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाहले ग्राहकहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको बताए।

शाहले पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर गर्दै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु मेगा बैंकको महत्वपूर्ण उपलब्धी भएको बताए । मर्जर र प्राप्तिका लागि ढोका खुल्ला नै रहेको जानकारी दिँदै उनले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको बताए।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश बर्षको वित्तिय सूचकांकलाई हेर्दा एक दशकको छोटो समयमै देशकै अग्रणी बैंक बन्न सफल भएको बताइन्।

बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८ दशमलव३२ प्रतिशतमा कायम राख्न सफल भएको जनाएको छ। जसले गर्दा कोभिड १९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यावसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरुलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराउने जनाएको छ।

‘बार्षिकोत्सवको अवसर पारेर बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने घोषणा गरेको छ।

बैंक चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा, व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२ औं स्थानमा रहेको जनाएको छ। २०७७ आषाढ मसान्तसम्ममा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ। बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा २ सय ६ शाखा सञ्जालमार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौँ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ ।

महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा १ चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ४२ पुगेको छ।

उपत्यकामा थप ३ जनामा कोरोना पुष्टि

काठमाडौँ। उपत्यकामा थप ३ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार आज काठमाडौँमा ३ सहित देशभर सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रायको नियमित ब्रिफिङमा डा. जागेश्वर गौतमले उपत्यकामा ३ जनामा कोरोना पुष्टि भएको जानकारी गराएका हुन्।

आज थप १ सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टा (बिहीबार) थप सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमन्त्रालयको नियमित प्रेस बिफ्रीङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सय जनामा कोरोना पुष्टि भएको जानकारी गराएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । त्यसमध्ये हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ७० रहेको छ।

‘पार्टीलाई विधि–पद्दतिमा लगि वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक छ’, माधवकुमार नेपाल वरिष्ठ नेता


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एब पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको बताउनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभएको हो।

नेता नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् । ‘अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ। आजपनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ’, विज्ञप्तिमा उल्लेख छ। पुष्पलालको नेतृत्वमा ५ जनाले २००६ सालमा स्थापना गरेको नेकपा आज नेपाली जनताको आशा, भरोषा र विश्वासको केन्द्रका रुपमा स्थापित भएको नेता नेपालले बताउनु भएको छ।

त्यस्तै उहाँले कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै कमरेड पुष्पलालले स्थापित गरेका मानकहरु सधैँ मार्गदर्शनका रुपमा रहेको उनको भनाई बिज्ञप्ति मार्फत आएको छ।