चन्द समूहका बोहरा पक्राउ

डोटी । नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उहाँलाई बडिकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए। उनले भने, “बोहरालाई एनसेल टावरमा आगजनि र क्षति लगायतका गतिबिधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी गरिरहेका थियौँ, बिपिनगरमा फेला परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेका हौँ।”

पक्राउ परेका बोहरासँग एनसेलमा गरिएको क्षतिलगायत अन्य गतिबिधिका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

भरतपुर अस्पतालका प्रमुखसहित ४ चिकित्सक र १ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

काठमाडौँ । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित ४ चिकित्सक र १ स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ। आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए। सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ।

काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो। प्रसूति विभागका प्रमुखलाई कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिँदै छ। ३ दिनअघि गरिएको परीक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको भए पनि अस्पतालको नियमित उपचारमा भने कुनै असर नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “यो सङ्कटको घडीमा जे–जति हामी चिकित्सक, स्वास्थ्यकर्मी स्वस्थ छौँ, उपचारकार्यमा निरन्तर खट्नेछौँ।”

जिल्लामा रहेका दुई मेडिकल कलेज र निजी अस्पतालसँग समन्वय गरेर कोरोना सङ्क्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उहाँले बताए। अस्पतालका सङ्क्रमणमा परेका चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था खतरामुक्त रहेको अधिकारीले जानकारी दिए। गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगाले र उहाँकी श्रीमती भरतपुर अस्पतालमा नै कार्यरत चिकित्सकमा पनि कोरोना सङ्क्रमण देखिएपछि हाल घरकै आइसोलेसनमा बसिरहेका थिए ।

भरतपुर क्षेत्रमा रोगको सङ्क्रमण निकै बढेपछि शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लोपटक शनिबार राति आएको नतिजामा २८ जनामा कोरोना पुष्टि भएकामा २७ चितवनका हुन्। तीमध्ये २१ भरतपुर महानगरपालिकाभित्रका छन्। जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ९९ पुगेको छ।

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो। यही कारण वरियतामा कुनै फेरबदल नभएको हो। पछिल्लो ५ महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ। दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ।

यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५औँ, बङ्गलादेश १ सय ३४औँ, श्रीलङ्का १ सय ४०औँ, माल्दिभ्स १ सय ४२औँ तथा भुटान १ सय ५४औँ स्थानमा रहेका छन्। विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन्।

लिदी पहिरोः बेपत्तामध्ये १७ को शव फेला

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ। मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन्।

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको प्रहरीले जनाएको छ। पहिराले २७ घर पुरेको थियो। घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो। घाइतेमध्ये रुपबहादुर दोङ, जानुमाया दोङ, पासाङ दोङ र केवरिङ तामाङसमेत ४ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइएको छ। गम्भीर घाइते यामुल्हामु दोङको मनाङ एयरको हेलिकोप्टरमार्फत उद्धार गरी नयाँ बानेश्वरस्थित नेपाल निजामती अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच गृहमन्त्री रामबहादुर थापा आज अपराह्न राहत सामग्रीसहित घटनास्थल पुगी घटनाका बारेमा जानकारी दिए। राहत सामग्रीमा त्रिपाल, म्याट, लत्ताकपडा तथा खाद्य सामग्री रहेको प्रहरीले जनाएको छ।

त्यसअघि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिएर र्फकेका थिए।

मलेसियाको अर्थतन्त्र १७ प्रतिशतले संकुचित

काठमाडौँ । नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा झण्डै १७ प्रतिशतले संकुचित भएको छ। सन् २००८ को विश्वव्यापी आर्थिक संकटयता पहिलो पटक मलेसियाको अर्थतन्त्रमा यतिठूलो संकुचन आएको यो पहिलो पटक हो।

मलेसियाको केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा अप्रिल–जुन महिनाको अवधिमा खुद वार्षिक वृद्धिदरमा १६ दशमलव ५ प्रतिशतले कमी आएको उल्लेख छ। वर्षको पहिलो त्रैमासिक अवधिमा मलेसियाको अर्थतन्त्रको संकुचन २ प्रतिशत थियो।

कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द, यात्रा प्रतिबन्ध तथा अन्य व्यवस्थाले अर्थतन्त्रमा गहिरो असर परेको बैंकको भनाई छ।

तर बैंकले मे महिनामा महामारीसँग सम्बन्धित कतिपय प्रतिबन्धहरु हटाइएपछि निर्यात, औद्योगिक उत्पादन र उपभोग्य खर्चमा उल्लेख्य सुधार आएको जनाएको छ।

राष्ट्रबैंकले वर्षभर समग्र अर्थतन्त्र ३ दशमलव ५ देखि ५ दशमलव ५ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेको छ। मलेसियाको अर्थतन्त्र आगामी सन् २०२१ मा ५ दशमलव ५ देखि ८ प्रतिशतका दरले वृद्धि हुने बैंकको भनाई छ।

दिल्लीमा गत २४ घण्टामा एक हजार १९२ कोभिड–१९ सङ्क्रमित, ११ को मृत्यु

काठमाडौँ । भारतको राजधानी शहर नयाँ दिल्लीमा गत २४ घण्टाको अवधिमा थप एक हजार १ सय ९२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ११ सङ्क्रमितको मृत्यु भएको राज्य सरकारले जानकारी गराएको छ।

योसँगै दिल्लीमा शुक्रबारसम्म सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाख ५० हजार ६ सय ५२ पुगेको छ। दिल्लीमा चार हजार १ सय ७४ सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ। राष्ट्रिय राजधानीमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय ६६ पुगेको छ।

दिल्लीमा शुक्रबार कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७ सय ९० रहेको छ भने अहिलेसम्म एक लाख ३५ हजार १ सय ८ सङ्क्रमित निको भई घर फर्किएका छन्।
दिल्लीमा हालसम्म १२ लाख ७३ हजार १ सय ४० को कोभिड–१९ परीक्षण गरिएको छ।

संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा गत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६४ हजार ५ सय ५३ पुगेको छ भने एक हजार सङ्क्रमितको मृत्यु भएको छ।

भारतभर कूल सङ्क्रमितको सङ्ख्या २४ लाख ६१ हजार १ सय ९१ रहेको छ भने छ लाख ६१ हजार ५ सय ९५ अझै सङ्क्रमित अवस्थामा रहेका छन्। सङ्क्रमितमध्ये देशभर ४८ हजार ४० जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार शुक्रबार काठमाडौँ जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन। शुक्रबार देशभरमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेहरूको जानकारी गराएका हुन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ।

यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ। यस्तै आज ११ हजार ५ सय ७५ पीसीआर भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ९९ पुगेको छ ।

लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते

सिन्धुपाल्चोक । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ। लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिए।

पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिए। पुरिएका ५ घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले बताए।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए। जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।

कोरोना कहरकैबीच सचिव सहसचिवको भर्ना खुलाउने तयारीमा सरकार

काठमाडौँ । कोभिड–१९ को संक्रमण बढ्दो रहेपनि सरकारले भने विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न मन्त्रालय, निकाय, आयोग तथा सचिवालयमा रिक्त सहसचिव र उपसचिवको संख्या पठाउन बिहीबार पत्राचार गरेको छ। मन्त्रालयले आगामी १० भदौभित्र सबै रिक्त पदको विवरण पठाउन ती निकायलाई पत्राचार गरेको हो।

मन्त्रालयले पदपूर्ति प्रक्रियाका लागि रिक्त दरबन्दीको विवरण माग गरेकाले सहसचिव र उपसचिवमा लोकसेवा आयोगको वार्षिक क्यालेन्डरअनुसार नै परीक्षा हुन सक्ने देखिएको हो। मन्त्रालयका अनुसार हाल सबै निकायमा गरेर सहसचिवतर्फ अप्राविधिक (प्रशासन) तर्फ ५२ र प्राविधिक सेवा समूहमा ३० गरी ८२ बढी पद रिक्त छन्।

उपसचिवतर्फ दुवै सेवा समूहमा गरी २ सयभन्दा बढी पद रिक्त छ। जसमा प्रशासन सेवाको १ सय ३० र अप्राविधिक सेवाको ७० बढी पद रिक्त रहेको मन्त्रालयले जनाएको छ। दुुवै सेवा समूहमा गरी सहसचिवतर्फ ८२ र उपसचिवतर्फ २ सय जना गरी २ सय ८२ पदका लागि परीक्षा हुने देखिएको हो। यो समाचार आजको राजधानी दैनिकमा छ ।

मकवानपुरमा पहिरोः १ बेपत्ता, ४ गाडी पुरिए

काठमाडौँ । मकवानपुरमा पहिरो जाँदा १ जना बेपत्ता भएका छन् भने ४ गाडी पुरिएका छन् । जिल्लाको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएका हुन् भने १ ओटा स्काभेटर र ३ वटा टिप्पर पुरिएका छन् ।

भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खस्दा खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेको बताए ।

ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन्। पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए। उनी सम्पर्कविहीन भएपछि बेहोस भएकी उनको पत्नीलाई राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी पुर्याएर उपचार गरिएको छ।

पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ। घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो। अहिले बिहान प्रहरी घटनास्थल पुगिसकेको छ।

पछिल्लो २४ घण्टामा थप ५ सय २४ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ८ सय ३७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर १४ हजार ७ सय ६९ जना क्वारेन्टिनमा रहेका छन्।

ग्रिनसिटीको कालो कर्तुत, आधाबाटोबाटै अपहरण हुन्छन् बिरामि

काठमाडौँ। पछिल्लो समय ग्रिनसिटी अस्पतालको विश्वसनियता हराउँदै गएको छ। अस्पतालको एक पछि अर्काे हर्कत क्रमशः बाहिरीएको छ। अहिले त ग्रिनसिटीले विरामीलाई मृत्यु सैयामा पुर्याउने अस्पतालको रुपमा परिचय नै बनाएको छ।

यसै पनि उपत्यकाको महँगो अस्पताल भनेर चिनिने ग्रिनसिटी अस्पतालका सञ्चालक लोक बहादुर टन्डन बजारमा आफ्नो संञ्जाल नै बनाएर चलाखि गरिरहेका छन्। सस्तोमा उपचार हुने हरेक अस्पताल र विशेष गरि सरकारी अस्पतालमा चालकलाई उनले आफ्नो कब्जामा राखेका छन्। यसरी उनले सस्तोमा तथा सरकारी अस्पतालमा आउने विरामीहरुलाई आफ्नो कमाउने हतियार बनाउने गरिको उनको सम्पर्क रहेको छ। यतिसम्मकी कतिपय एम्बुलेन्स चालकहरुले उनलाई नसोधि विरामी समेत नबोक्ने गरेको रहस्य खुल्न आएको छ। यसबापल उनले चालकहरुलाई मोटो रकम समेत दिने गरेका छन्। यसबापत उनीहरुले अलि हुने खाने परिवारका विरामी भए ग्रिन सिटीमा लग्ने गरेका छन्।

टन्डनको चलाखि यतिमात्र नभई अझ अर्को रहस्य भनेको काठमाडौं नजिकका छिमेकी जिल्लाहरुमा एम्बुलेन्स खरिद गरेर विचौलियाका रुपमा चालकहरु राखेका छन्। उनीहरुले ति जिल्लाहरुमा विरामी भेट्नासाथ सिधै ग्रिनसिटीमा ल्याउने गरेका छन्। एक प्रकारले भन्ने हो भने, ती जिल्लाहरुमा विरामी ल्यााउनका लागि ग्रिनसिटी अस्पतालले सिन्डिकेट नै लादेको छ भन्दा पनि फरक नपर्ने गरि टन्डनले सञ्जाल बनाएका छन्।

उनी सर्वसाधरणलाई त सहजै ठग्न सक्थे—सक्थे उनले कलाकार देव लामालाई समेत ठगेका छन्। कलाकार देव लामाको सम्बन्धमा सम्पूर्ण जाहेजेथा सिध्याएर उनको परिवार सडकमा पुग्ने अवस्था आउँदा पनि टन्डनले झुट बोलि बोलि उनलाई ठग्न छाडेनन्।

पीडित परिवारलाई मात्र नभई यस बारेमा समाचार लेख्ने सञ्चार माध्यमलाई पनि उनले धम्की तथा प्रलोभवनमा पारेर यो पिडादायी आवाज बाहिर आउन दिएनन्। लामा परिवारले ४२ लाख खर्च गरेको दाबी गरिरहेको अवस्थामा टन्डनले सिधैं अस्विकार गर्ने गरेका छन्। लामाका प्राप्त प्रमाणहरु अध्यायन गर्दा पनि लामा परिवार पीडित बनेको स्पष्ट देख्न सकिन्छ।

लोक बहादुर टन्डन सुरु देखि नै विवादित व्यवसायिक पृष्ठभूमी बनाएका व्यक्ति हुन्। जनताको अरर्वौ रकम ठगि प्रकरणमा मुछिएको ‘नेटवर्क कम्पनी युनिटी लाइफ’का लिडर समेत हुन्। युनिटीलाई सरकारले हस्तक्षेप गरेपश्चात उनी लामो समय फरार रहेका थिए। उनी कहिले नेपाल र कहिले भारत भौतारिदै लुक्ने समेत गरेका थिए तर पनि प्रहरीले उनलाई समातेरै छाड्यो। तरपनि, माथिल्लो निकायमा सेटिङ गर्न माहिर टन्डन १ करोड ५० लाख धरौटीमा रिहा भए।

जनतालाई सपना बाँडेर उठाएको त्यो रकमबाट उनी छुट्न त छुटे सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेपछि पुनःपक्राउ परे। त्यसपछि पनि उनी सेटिङ मिलाएर छुटे। उनले सञ्चालन गरेको ग्रिनसिटी अस्पताल हरेक समय विवादमा आइरन्छ। तर पनि जनतालाई लुटुन र मार्न छोडेको छैृन्। अहिले ग्रिनसिटी अस्पताल ठगि प्रकरण अर्थात बिरामीलाई बिल नदिई मोटो रकम अशुल्ने लुट र मृत्युको अखडा बनेको छ।

स्कुटर चोरी गर्ने ३ जना पक्राउ

गोरखा । प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस–४ स्थायी घर भई हाल पोखरा–३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल तथा अन्य २ जना किशोरहरुको परिचय प्रहरीले गोप्य राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

बुधबार बिहान १ बजे फूलबारीमा स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । पक्राउपछि अनुसन्धान गर्ने क्रममा अन्य थप दुई वटा चोरीको स्कुटरसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले साउन २५ गते पोखरा–४ गणेशटोलस्थित सुकमाया कामीको घरको कम्पाउण्डबाट चोरी भएको ज्ञानकुमारी गुरुङकोे ग६प ६३४२ नम्बरको रातो डियो स्कुटर पोखरा–१२ फूलबारी सफामार्गमा फेला पारेको थियो।

त्यसैगरी साउन २६ गते राति पोखरा–४ रामकृष्ण टोलबाट चोरी भएको धनमाया गुरुङको नामको ग १७ प ३०५१ नम्बरको रातो डियो स्कुटर र साउन २७ गते राति १२ः३० बजेमा पोखरा–११ प्रगतिटोलबाट हराएको सिर्जना मल्ल ठकुरीकोे ग५प ३९१५ नम्बरको निलो डियो स्कुटर पोखरा–२६ बुढीबजारबाट बरामद गरिएको प्रहरी प्रवक्ता हमालले जानकारी दिए।

पोखरा उपत्यका र आसपासबाट विभिन्न समय र स्थानबाट मोटरसाइकल र स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत इलाका प्रहरी कार्यालय, सिसुवाबाट प्रहरी टोली खटिई खोजतलास तथा अनुसन्धानको शुरु गरेको थियो। पक्राउ परेकाहरुको साथबाट चोरीका पाँच थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई चोरी तथा डाँका कसुरअन्तर्गत जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी प्रहरीले जनाएको छ।

युएईमा १ सय १० नेपालीको मृत्यु

काठमाडौँ । युएईमा पछिल्लो ५ महिनाको अवधिमा १ सय १० जना नेपालीले ज्यान गुमाएका छन्। आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक अनुसार ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा ५ जना महिला छन्। प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले बुधबार जारी गरेको सूचनामा उल्लेख छ। कोरोनाका कारण ३६ जना र अन्य कारणले ज्यान गुमाउने ६९ जना गरि सोही अवधिमा १ सय १० जनाले ज्यान गुमाएका हुन् । त्यसबाटभ २६ ओटा शव नेपालमा पठाईएको छ भने बाँकीको अन्त्यष्टि युएईमै गरिएको छ ।
कोरोनाबाहेकका कारण ज्यान गुमाएकाहरुको शव लामो समयसम्म यहीँ अड्किएको र हवाई उडान ठप्प भएपछि यहीँ रहेका आफन्तले अन्तिम संस्कार गरेका थिए।