बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको सार्वजनिक यातायात सेवा बन्द

काठमाडौँ । कोरोना भाइरस नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ। बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको आन्तरिक बससेवा बन्द गरिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बन्द गरिएको केन्द्रले जनाएको छ।

उक्त केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले छोटो समयका लागि बससेवा बन्द गरिएको र जोखिमको अवस्था, बस चालकले अपनाएका स्वास्थ्य मापदण्ड पूरा भए—नभएको केही समयपछाडि विश्लेषणका आधारमा खोल्न सकिने बताए। यस्तै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले कार्यालय प्रमुख तथा कर्मचारीले जिल्ला नछोड्ने, अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्यको मापदण्ड अपनाई तोकिएका कर्मचारीको मोबाइलमा समन्वय गरी सेवा लिनुपर्ने बताइएको छ।

अर्को आदेश नभएसम्म मठमन्दिर, गुम्बा, जात्रा बसै बन्द गर्ने, स्वास्थ्यको मापदण्ड सबैले पूर्ण रूपमा पालना गर्ने(गराउने, दीर्घरोगी, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीलाई घरबाट बाहिर ननिकाल्ने, रसुवा प्रवेश गर्ने बेत्रावती सिमानामा आवतजावतको रोकथाममा कडाइ गर्नेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

आज(बिहीबार)को विदेशी विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार,साउन २९) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ४ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ३३ पैसा रहेको छ।

यसैगरी, पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ५३ पैसा रहेको छ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

विप्लव समूहका १३ कार्यकर्ता पक्राउ

काठमाडौँ । प्रदेश प्रहरी कार्यालयले केही दिनयता देखि रुकुम पश्चिमबाट ४, जुम्लाबाट ३, सुर्खेत, सल्यानबाट २÷२, दैलेख र डोल्पाबाट १÷१ गरी १३ जनालाई पक्राउ गरिएको हो। यसरी प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतारकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ।

प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ। दुवै जना सोही समूहको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ। प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले उनीहरुको साथबाट साथबाट विभिन्न दस्तावेज, निर्माण व्यवसायीलाई आर्थिक सहयोगको लागि लेखिएका पत्र तथा रकम असुल गरेका अर्धकट्टीसमेत बरामद गरिएको बताए।

रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावलसहित विप्लव समूहका चार जना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडीबजारबाट पक्राउ गरिएको छ। रावलसहित विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, समूहका जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेका हुन्।

त्यस्तै, दैलेखको आठबीस नगरपालिका–६ का उदय विक, मुगुको सोरु गाउँपालिका–६ निवासी जिल्ला सेक्रेटरी रामबहादुर भाम ‘उदय’, जुम्लाको हिमा गाउँपालिका–७ निवासी जिल्ला सदस्य नन्द तिवारी र सोही गाउँपालिकाकी सपना बुढा पक्राउ परेका छन्। जुम्लाको गोठीचौर गाउँपालिका–१ का सूर्य महतारा, सल्यान बागचौर नगरपालिका–४ का मोहन केसी र सोही नगरपालिका–२ का सेजन चन्द पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये सल्यानबाट एक जनालाई छाडिएको छ भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एक जनालाई मुद्दा दर्ता गरिएको छ । प्रदेश प्रहरी प्रवक्ता बास्तोलाले उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुविधा र अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिए।

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

काठमाडौँ । कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ।

बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो।

राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो ३ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनमा महिनैपिच्छे २.२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको जनाएको छ। यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको देखाएको छ।

युरोपका अरु मुलुकहरु खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ।

तर तथ्याँक कार्यालयले लकडाउनमा सहजीकरण गर्न थालेयता जुन महिनामा अर्थतन्त्रमा निकै सुधार आएको बताएको छ। कार्यालयका अनुसार जुन महिनामा बेलायती अर्थतन्त्र ८.७ प्रतिशतले वृद्धि भएको छ।

तथ्याँकशास्त्री जोनाथन अथोले जुनमा बेलायतका पसलहरु खुलेका, कारखानामा उत्पादन हुन थालेको तथा घर निर्माणका कार्यहरु पुनः शुरु भएको बताउनुभयो।

बेलायत सरकारले हाल बन्द अवस्थामा रहेका पब, रेष्टुराँहरु खोल्न थालिए अर्थतन्त्रमा व्यापक सुधार आउने जनाएको छ। बेलायती अर्थमन्त्री रिशी सुनाकले कोरोनाभाइरसको प्रभाव अझै देखिएकाले कठिन समय अझै बाँकी रहेको बताउँदै अहिल्यै दशौं हजारले रोजगारी गुमाएका र आगामी महिनामा त्यो संख्या अझ बढ्न सक्ने जानकारी दिनुभयो।

जहाँसम्म, बेलायत सरकारले मजदुरको ज्याला भुक्तानीमा कम्पनीहरुलाई आर्थिक सहायता गरिरहेकाले पनि अर्थतन्त्रलाई पुनर्जीवन दिन सहज हुने बेलायती अर्थविज्ञहरुको ठम्याई छ।

सरकारले झण्डै १२ लाख रोजगारदाताले कामबाट विदा दिएका झण्डै ९६ लाख मजदुरलाई तलबी आर्थिक सहायता दिइरहेको छ, र यो सहायता अंक करिब ४४ अर्ब डलर छ।

‘कान्तिपुर’ का सहसम्पादक बानियाँको शव मकवानपुरमा

काठमाडौँ। ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ। दुई दिनदेखि सम्पर्कविहीन रहेका सम्पादक बानियाँको शव भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएको अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए।

मङ्गलबार बिहानै शव फेला परेको थियो। पानी परिरहेको र जालीमा अड्किएकाले प्रहरीलाई शव निकाल्न समेत निकै मुश्किल भएको थियो। साँझ मात्रै शव निकालेर राति परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। आज मात्रै शवको सनाखत भएको बताइएको छ।

पत्रकार बानियाँ पहिले लामो समय ‘कान्तिपुर‘ दैनिकमा काम गरी बीचमा ‘नागरिक’ दैनिकमा केही समय गएका थिए। त्यसपछि पुनः फर्किएर कान्तिपुरमा कार्यरत थिए।
एसएसपी थापाका अनुसार यही साउन २६ गते बल्खुस्थित खोलामा चिप्लिएर लडेपछि बेपत्ता उनि भएका थिए। पानीको बहाब बढी भएकाले उद्धार प्रयास सफल हुन सकेन। तत्कालीन समयमा उनको पहिचान हुन सकेको थिएन। प्रहरीमा प्राप्त विवरणअनुसार सोमबार अपराह्न ३ बजे पत्रकार बानियाँ बल्खुमा हिँडिरहेका अवस्थामा देखिएका थिए। सोमबार ३ः२३ बजेको सिसी क्यामेरा फुटेजमा उहाँ हल्लिएर हिँड्दै गरेको देखिएको प्रहरीले जनाएको छ।

कोभिड–१९ को जोखिमका समयमा मास्क नलगाई हिँडेको देखेपछि त्यसबेला प्रहरीले कहाँ जान लागेको भनेर सोधखोजसमेत गरेको थियो। पत्रकार बानियाँले तीनकुनेस्थित घर जान लागेको भनी जवाफ फर्काएका थिए। प्रहरीले राम्ररी सुरक्षित भएर घर जानसमेत सुझाएका थिए तर उनि माथि लाग्नुपर्नेमा खोलातिर लागेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ।

“स्थानीयवासीले खोला छ, तल नजानुहोस् भन्दाभन्दै उहाँ थाहा छ भन्दै खोलातर्फ जानु भएछ”, महाशाखा प्रमुख थापाले भने , जाँदाजाँदै चिप्लिएर लड्नुभएछ ।” उक्त घटना सोमबार अपराह्न १५ः४५ बजेतिरको हो। त्यसपछि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले समेत खोजी गर्दा फेला पार्न सकेनन् । घटनास्थलमा जुत्ता भने फेला परेको थियो। खोला किनारमा भेटिएको जुत्ता छोरीले पहिचान गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
छोरी सुस्मिताले सिसी टिभी फुटेज हेरेपछि बानियाँलाई नदीले बगाएको पहिचान खुलेको थियो । पत्रकार बानियाँ घरबाट भने साउन २५ गते नै निस्किएको महाशाखाले जनाएको छ। त्यस दिन उनि काठमाडौँको ढुङ्गेअड्डास्थित तीनथानामा रहेको आफन्तकहाँ बसेको खुलेको छ। त्यहाँबाट भोलिपल्ट अपराह्न साढे १२ बजे उनि हिँडेका थिए। त्यसदिन अपराह्न १ बजे कलङ्कीबाट मोबाइल अफ भएको पाइएको छ।

मङ्गलबार परिवारबाट महाशाखामा खोजतलासका लागि निवेदन परेपछि मात्रै महाशाखाले उनलाई नै वाग्मतीले बगाएको भन्ने यकिन गरेको थियो। खोला किनारमा पुगेपछि जुत्ता अड्किएको र मान्छे खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। तत्कालै स्थानीय तथा प्रहरीले उद्धार प्रयास गरे पनि सफल हुन सकेन। मकवानपुर– भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित माण्डु हाइड्रोपावरको बाँधमा अल्झिएको अवस्थामा फेला परेको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

अपराध अनुसन्धान महाशाखा काठमाडौँले बानियाँको परिवारलाई तस्वीर देखाएपछि परिवारले शव पुष्टि गरेका थिए। सोही आधारमा आफूहरुले शवको सनाखत गरेको प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए। दुई दिनदेखि घर नफर्र्किएपछि परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको थियो। विसं २०२७ जेठ १५ गते तनहुँ जिल्लाको भानु नगरपालिकामा जन्मिनुभएका बानियाँ काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ सुविधानगरमा बस्दै आएका थिए। बानियाँ नेपाल पत्रकार महासङ्घका पूर्वसचिवसमेत हुन्।

ग्लोबल बैंकको नयाँ शाखा कपनमा

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो शाखासहित ग्लोबल बैंकका देशभर शाखाकार्यालयहरु २ सय ५९ पुगेका छन्।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंङ्किङ सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २ सय ५९ शाखा सञ्जाल सहित २ सय ३५ एटीएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २ सय १८ शाखा रहित बैंङ्किङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत सेवा प्रदान गरेको छ।

बुधबार कोरोनाबाट ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाकाबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको पुष्टि गरेको हो।

बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको जनाएका हुन्।

उनका अनुसार मृत्यु हुनेमा काठमाडौँका ७८ वर्षीया महिला,, धादिङका ३२ वर्षीय पुरुष, जनकपुरका ७१ वर्षीय पुरुष र ३८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुष रहेका छन्।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ। त्यस्तै आज थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा मात्रै थप १ सय ३९ जनामा कोरोना

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्र १ सय ९ जना संक्रमित थपिएका छन्। यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन। बुधबारमात्र नेपालमा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ५ सयको हाराहारीमा संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४ सय ३२ पुगेको छ। गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन्।
डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

बुटवलमा कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौँ । बुटवलमा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ। उनीहरुको कोरोना विषेश अस्थायी अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेमा उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका २ का ४२ वर्षीय कृष्णकुमार गुप्ता र २५ वर्षीय प्रदीप तेलीको रहेको अस्पताल जनाएको छ। गुप्ता साउन २५ र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए। गुप्ताको कोरोना पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी रहेको अस्पतालले जनाएको हो।

दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए। उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो।

नेता मोहनका बुवाको मलामी १५ सय बढी, दाहसंस्कार पछि मंगलबार कोरोना पुष्टि

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्‍नेतका बुवाको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ। गत साउन २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको थियो।

उनको अन्तिम संस्कार भइसकेपछि म‌ंगलबार कोरोना पुष्टि भएको हो। उपचारका क्रममा तीन दिनसम्म शिक्षण अस्पतालको आइसीयुमा रहेका बस्नेतको मिर्गौलाको समस्याको कारणले मृत्यु भएको जानकारी आफन्तले दिएका थिए।

मृगौलाको समस्याबाट मृत्यु भएको अस्पतालले बताएपछि उनको शव गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे ल्याइएको थियो। धार्मिक परम्पराअनुसार गरिएको अन्त्येष्टिमा १५ सयभन्दा बढी सहभागी भएको बाह्रबिसे नगरपालिकाले जनाएको छ।

उनको कोरोनाबाट मृत्यु भएको पुष्टिसँगै आज कन्ट्याक ट्रेसिङ हुने भएको छ। जिल्ला स्वास्थ कार्यालय प्रमुख दुर्गादत्त चापागाईँले मलामी गएकाहरूको खोजी हुने जानकारी दिए।

नेकपा काठमाडौँ जिल्ला सदस्य गौतमलाई मातृ शोक

रामेछाप। सुनापानी गाउँपालीका सिम्पानी आफ्नै निवासमा नेकपा काठमाडौँ जिल्ला सदस्य एब सचिवालय सदस्य केशरी गौतम राजन को ममतामयि माता नन्दामाया गौतमको २७ गते राती ८२ वर्षको उमेरमा निधन भएको छ।

लामो समय स्वासप्रश्वसमा समस्याग्रास्त नन्दमायाका ३ छोरा खिर पू. गौतम, केशव गौतम र केशरी गौतम(राजन) र एक छोरी रहेका छन्।

स्थानीय तहमा महिलाहरुले घरेलुहिसाका कारण खेप्नुपरेको सास्ती र पिरमर्कालाई सहयोगी भावनाले काम गर्दै आउनु भएकी नन्दमायाँको निधनप्रति सो क्षेत्रमा गहिरो दुःख व्यक्त गरिएको छ।—सम्पत्ति न्यूज

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज ६ स्थित सिरहा रोडमा बस्दै आएका ८० वर्षीय बृद्वकोकोरोना भाइरसबाट मृत्यु भएको हो। योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

उनको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनलाई ४ दिनअघि ज्वरो आउँदा स्वाब परीक्षण गर्न दिएका थिए।

उनको रिपोर्ट पोजेटिभ आएसँगै आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो। एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको हो। उनी यसअघि मुटुसम्बन्धी रोगी थिए । यसका साथै थाइराइड, सुगर, उच्च रक्तचापबाट पीडित थिए।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ।

उपत्यकामा मालपोत कार्यालयका सेवा बन्द

काठमाडौँ। उपत्यकास्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवाहरू आज देखि भदौ १५ गतेसम्मका लागि बन्द गरिएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले मङ्गलवार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले अत्यावश्यक र आकस्मिकबाहेकका सेवा प्रवाह स्थगित गरेको जानकारी गराएको हो।

भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालको मन्त्री स्तरीय निर्णय अनुसार विभागले सेवा स्थगन गरेको शाखा अधिकृत कृष्णप्रसाद जोशीद्वारा जारी सूचनामा उल्लेख छ।

सिडिओहरुको सरुवा

काठमाडौँ। गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा गरेको छ ।

मन्त्रालयले धादिङका प्रजिअ आसमान तामाङलाई पर्सा जिल्ला सरुवा गरेको छ। पर्साका प्रजिअ विष्णु कार्कीलाई मन्त्रालय तानिएको छ।

अछामका प्रजिअ पुण्य विक्रम पौडेललाई धादिङ जिल्लाको प्रजिअको जिम्मेवारी दिई पठाएको छ भने उनको ठाउँमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायलाई पठाएको छ।

त्यस्तै रौतहटको सिडिओको जिम्मेवारी सम्हाल्न इन्द्रदेव यादवलाई पठाएको छ। केही समय अघि मात्रै सहसचिव भएका उनको गृह मन्त्रालयमा पदस्थापन भएको थियो।