आश्वासन समितिको सभापतिमा विडारीकै निरन्तरता

काठमाडौँ। राष्ट्रियसभा अन्तर्गत समितिहरुमा सभापति चयन गर्न शुक्रबार निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवि भट्ट सभापति चयन भएका छन्। त्यसैगरी , विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएकी हुन्।

निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका हुन्। अहिले निर्विरोध निर्वाचित भएकाहरु नै यसअघि पनि त्यही समितिका सभापति थिए। कार्य सकिएपछि पुनः उनिहरुलाई नै सभापतिमा चयन गरिएको हो।

काठमाडौँ सुकेधाराबाट हात्तीको दाह्रासहित ३ जना पक्राउ

काठमाडौँ । हात्तीको दाह्रासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार काठमाडौँको सुकेधाराबाट १० इञ्च लामो हात्तीको दाह्रा सहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पक्राउ पर्नेमा पाँचथरका २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोकका २५ वर्षीय हरि कार्की र गोरखाका २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

साढे एक बजे काठमाडौँ महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

काठमाडौँ महानगरपालिकामा जिम्मेवारबिहिन बनेका कार्कि अझै हावी

काठमाडौं । काठमाडौं महानगरपालिकाको पदपूर्ति समितिले निर्देशक पदको बढुवा सुचना प्रकाशित गरेको थियो। त्यतिबेला गोरखापत्रमा सुचना प्रकाशन गरेनुसार नरेन्द्र विलाशले ७७ नम्बर, बुद्धरत्न मानान्धरले ७५, डा. उत्तमकुमार रेग्मिले ७१, नुरनिधि न्यौपानेले ६९, भैरव बोगटीले ६८, नारायण बाबू भट्टराईले ६५, अर्चना श्रेष्ठले ६४ र ज्ञानेन्द्र बहादुर कार्कीले ६० नम्बर प्राप्त गरेका थिए।

जसअनुसार तत्काल काठमाडौँ महानगरका निर्देशक ज्ञानेन्द्र कार्की ८ औँ नम्बरमा पर्न आउँछन्। तर, यस्तो सत्य एकातिर हुँदाहँदै कामपाले हालै जारी गरेको कार्य सम्पादन पुस्तकमा ज्ञानेन्द्र कार्की दोस्रो नम्बरमा परेका छन्। आठौ नम्बरमा रहेका कार्की दोस्रो नम्बरमा पर्न कसरी सफल भए ? प्रश्न तेर्साइएको छ।

यसरी उनी दोस्रो नम्बरमा केको आधारमा परे भन्ने कुरा महानगरभित्र चर्चाको बिषय बनेको छ। उनीभन्दा शिर्ष स्थान हासिँल गरेका अर्थात उनीभन्दा सिनियर ७ जना हुँदाहुँदै ७ जनालाई नै तेजोबोध हुनेगरि कार्यसम्पादनको जिम्मेवार बिहिन बनेका कार्कि एकाएक कार्यसम्पादन पुस्तकको २ नम्बरमा नाम प्रकाशित हुँदा खोजिको बिषय बन्नुलाइ धेरैले स्वभाबिक रूपमा लिएका छन।

महानगरमा सवारी साधन बेथिती

महानगरको आन्तरिक सहमति अनुसार आठौ तह सम्मका कर्मचारीलाई महानगरले सवारी साधन उपलब्ध गराउनु पर्ने हुन्छ। तर यो सहमतिको उचित कार्यन्वयन हुन सकेको छैन, सेवाको समान दाबेदार कतिपय कर्मचारीले सवारी साधनको पाउनुपर्ने सेवा उपभोग गर्न पाएका छैनन्, यस्तो हुनु भनेको माथिल्लो तहलाई चाकरी चाप्लुसि गर्ने बाटो राखिएको रुपमा हेरिएको छ। त्योसँगै विभदको छिद्र प्रवेश गराउने श्रेय कार्कीलाई नै जान्छ। विगतमा निर्देशक कार्कि हावि भएका बखत सो निर्णय गर्न सफल भएका थिए।

त्यसैबेला देखि नै यस्तै खालका विविध विवादास्पद निर्णय गर्दै गएपछि विकृतिको जड नै भएको निष्कर्ष सहित विगत १ बर्ष देखि कार्कीलाई जिम्मेवारबिहिन बनाई मन्त्रालयमा थन्क्काईएको थियो।

जिम्मेवार बिहिन भएर थन्काईएका कार्कि नेपथ्यबाट महानगरपालिका भित्रका निर्णयमा हावि हुन्छन् भन्ने प्रमाण हालै प्रकासन गरेको कार्यसम्पादन पुस्तकबाट प्रष्ट हुन्छ।

जिम्मेवार बिहिन कार्कीबाट गाडीको दुरुपयोग

कार्की यतिबेला लकडाउनको अवज्ञाका साथै महानगरका सवारी तथा कर्मचारीको समेत दरुपयोग गर्दै डाँडाकाँडा घुम्न निस्केका छन्। एकातिर कोरोना माहामारीको बेला जनताले दुई छाक नपाएको बेला उनी डाँडाकाँडा मनोरञ्जनमा निक्केका छन् भने अर्कातिर महानगरको स्रोतसाधनको दरुपयोग गरेपछि उनी बढी नै आलेचित बनेका छन्।

झण्डै २ बर्ष अगाडि कार्कि प्रशासन प्रमुख हुँदा काठमाडौ मातहतका डिएसपिहरु राजनाथ पाण्डे र दिनेश अर्याललाई षडयन्त्रको सिकार बनाउँदै जिम्मेवार बिहिन बनाएका थिए। यतिमात्र नभई सरकारि सवारी साधन प्रयोग गर्न कानुनले मिल्दैन भन्दै खोसेका समेत थिए।

तर, कार्कि भने १ बर्षदेखि जिम्मेवारी बिहिन भएर पनि मन्त्रालयमा हाजिर गर्दै महानगरभित्रैको ईन्धन र सवारी चालकलाई आफ्नो नियन्त्रणमा राखिरहेका छन्। उनको यस्तो रवैयाको पछाडी आधार र कारण के ? विगतमा जिम्मेवार विहिन भएका पाण्डे र अर्याललाई कानुन लाग्ने तर त्यहि कानुन कार्किलाई भने नलाग्ने भन्ने हुन्छ ? प्रश्न खडा भएको छ।

तीनकुने बसोवास गर्ने कार्कीले अहिलेपनि महानगरबाट महिनामा १ सय ५० लिटर तेल लिँदै आएका छन्। जिम्मेवार विहिन कार्कीलाई यत्रो सुविधा के का लागि ?

उनकै समान दर्जामा रहेर काम गरिरहेका जसले सवारी साधन समेत पाईरहेका छैनन्, उनीहरुबिच पनि बहस र चर्चा चलेको मात्र छैन कार्यक्षेत्रमा आत्माबल कमजोर बनाएर काम गर्नुपर्ने बाद्य्यता कर्मचारी बिच आइपरेको छ।

उनी सरहका प्राय सबै हाकिमहरुले मारुती अल्टो चढ्छन् तर उनले भने नयाँ टाटा सवारीमा सयर गर्दै हिडेका छन्।

यो देख्दा महानगरमा न्याय भन्ने कुरा कोमामा पुगेको को छ भन्ने निष्कर्षमा ईमानदार कर्मचारीहरु पुगेका छन्।

कार्की बहुरुपि रंग धारणाा गर्न सक्ने व्यक्ति हुन्। उनी तत्कालिन समयमा मन्त्रालयको अनुमति बिना नै राप्रपाका राजाराम श्रेष्ठसँग लन्डन मा मात्र नभई धेरै ठाउँमा घुम्न समेत गएका थिए।

उनि राजाको शासनकालको स्थानीय विकास मन्त्री खड्कबहादुर जिसिको घरमा ब्यालकलेवल रक्सी बोकेर जाँदा मन्त्रीले हपारेर पठाएको तत्कालिन मन्त्रीका सुरक्षाकर्मीबाट बुझ्न सकिन्छ ।

हरेक पार्टीको सदस्यता बोकेका कार्की डाँडाकाडाँका भट्टिमा बसि महानगर भित्रका ईमान्दार कर्मचारीलाई लागिगलौच गर्दै यतिबेला दिन कटाईरहेको पाईन्छ।

उनले अहिले पनि महानगरबाट उपभोग गर्ने ईन्धन यस्तै यस्तै काममा प्रयोग गर्ने गरेको समाचार स्रोत बताउँछ।

त्यसैगरि ०७२ को भुकम्पको समयमा वातावरण विभागमा रहँदा स्वीकृति नै नलिइ क्यानडा गएका कार्किलाई मन्त्रालय तहबाटै कालो सुचिमा राखिएको थियो । त्यो बेलाको भ्रमण खर्च रकम मन्त्रालयले रोके पनि पछि महानगर भित्र कृर्ते गरि निकालेको सन्दर्भ पनि चर्को रूपमा उठेको छ। बिकृतिको चाङसँग सामना गरिरहेको काठमाडौँ महानगर भित्र अहिले भने नेपाल सरकारका स्वच्छ छविका सचिव एकनारायण अर्याल आएका छन्। उनको प्रवेशसँगै महानगरमा धेरै कुराहरु सुधारहुने अपेक्षा गरिएको छ। कतिपय कामहरु थालनी गरिसकेको अबस्था छ भने यस्ता विकृतिजन्य कर्मचारीको सन्दर्भमा भने सचिव अर्यालले के कस्तो पाइला चाल्ने हुन महानगरको बेथिति नियाल्नेहरुले चाँसोदिएर हेरेका छन।

विराटनगरमा सङ्क्रमणबाट थप मृत्यु

काठमाडौँ । विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।

विराटनगर–९ निवासी ती व्यक्ति व एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित थिए । शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा दासले बताउनुभयो । विराटनगरमा सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ ।

उपत्यकाका प्रशासनमा अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौँ। कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा स्थगन गर्ने भएका छन्। बन्दाबन्दीपछि असार १ गतेदेखि उपत्यकाका तीन वटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेकामा सङ्क्रमणको जोखिम बढेको भन्दै साउन २५ गतेदेखि सेवा स्थगन गर्ने निर्णय गरेका हुन्।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित बसेको आजको संयुक्त बैठकले आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गर्ने निर्णय गरेको हो। सरकारी निर्णयअनुसार असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र मास्क लगाउने व्यवस्था मिलाउँदै सेवा सञ्चालन गरिरहे पनि मानिसको भीडभाड बढेकाले उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो।

मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको जनाइएको छ। शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ।

अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ। अनावश्यक भीडभाड नगरी दुई मिटरको भौतिक दूरी राखेर सेवा लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य मापदण्ड नअपनाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको छ। ऐनमा एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ।

शुक्रबार थप ५ सय ६४ जनामा कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

तत्काल पठनपाठन सञ्चालन गर्न सकिदैनः शिक्षा मन्त्री पोखरेल

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालयमा विद्यार्थी बोलाएर पठपनपाठन गराउन सम्भव नभएको जनाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल सम्भव नरहेको बताउँदै सरकारले फेस टु फेसको विकल्पबारे अध्ययन गरिरहेको बताएका छन्।

त्यस्तै उनले केही विकल्प कार्यान्वयनमा आइसकेको पनि बताए।

त्यस्तै सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न पनि मन्त्री पोखरेलले आग्रह गरे।

विद्यार्थीलाई घरमै गएर पढाउने जस्ता काम पनि भएको भन्दै उनले यो विकल्प कर्णाली प्रदेशमा प्रभावकारी देखिएको मन्त्री पोखरेलले बताए।

पठनपाठन बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएको र विद्यार्थीको ध्यान पढाइबाट अन्यत्र केन्द्रित हुन थालेको भन्दै सांसदहरुले पढाइ कहिलेदेखि सञ्चालन हुन्छ भनी सोधेका थिए।

पछिल्लो २४ घण्टाका कोरोनाबाट ५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको जनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको बताएका हुन्।

मृत्यु हुनेमा पर्सा जिल्लाका ४५ वर्षीय पुरुष, वीरगंज महानगरपालिकाका ७९ वर्षीय पुरुष, वीरगंजकै ५७ वर्षीय पुरुष, सिराहाका २५ वर्षीय पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ।

नदिले बगाएर दुई बालक बेपत्ता

गोरखा । गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो।

“गोरखा नगरपालिका वडा नं ३ स्थित बेनीखोलामा फुटबल खेल हेर्न खुर्पाजुङबाट चार साथी मिलेर आएका रहेछन्”, उहाँले भन्नुभयो, फुटबल हेरेर फर्कँदै गर्दा नदी तर्ने क्रममा दुई जनालाई बगाएछ ।” बिहीबार दिउँसो बालकलाई नदीले बगाएको थियो।
लगातारको वर्षाका कारण दरौदी नदीमा पानीको बहाव बढी भएकाले पनि खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । मझुवा, बाह्रकिलो र चोरकाटेलगायत दरौँदी नदीको आसपासका क्षेत्रमा प्रहरी, स्थानीयवासी र बेपत्ता युवकका आफन्त मिलेर खोजीकार्य जारी रहेको प्रनाउ खतिवडाले जानकारी दिनुभयो।

कोरोना संक्रमितको मृत्यु, दाह संस्कार नेपाली सेनाले गर्ने

काठमाडौँ । गत बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति मृत्यु भएको छ । तीन वर्षदेखि मृगौलाको समस्या रहेका युवकको मृत्यु भएको हो ।

ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।

आफन्तको नाममा सरकारी रुपैँया राख्ने लेखापाल पक्राउ

रुकुम पश्चिम । श्रीमती र भतिजोको खातामा अनधिकृतरुपमा लाखौँ सरकारी रुपैयाँ जम्मा गर्ने लेखापाल पक्राउ परेका छन्।

जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी पक्राउ परेका हुन् । उनीसहित स्थायी शिक्षक समेत रहेका उनका भाइ विकास केसी, भतिज भिमशेन केसी र सोही पालिकामा करारमा सह—लेखापाल समेत रहेका भतिज सुवास केसी लगायत ४ जनालाई राति गाउँपालिको कार्यालयबाट पक्राउ गरिएको छ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले लेखापालसहित ४ जनालाई पक्राउ गरिएको जानकारी गराएका छन्। यद्यपि के कारण कुन अवस्थामा पक्राउ परे भन्नेबारे उनले केही बोल्न चाहेनन् । तर आफूविरुद्धका सबै प्रमाण नष्ट गर्नकै लागि उनीहरु राति नौँ बजे कार्यालयमा गएको स्रोतले बताएको छ।

राति करिब ९ बजेको समयमा कार्यालयमा आएर कागजात नष्ट गर्ने क्रममा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि सईको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो।

आर्थिक वर्ष २०७६–०७७ मा लेखापाल केसीले विभिन्न शीर्षकको सरकारी रकम आफू, श्रीमती र त्रिवेणीमै लेखा सहयोगीको काम गर्ने भतिजा सुवासको नाममा जम्मा गरेको खुलेको थियो । उनले श्रीमती विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५ लाख रुपैयाँ जम्मा गरेको खुलेको थियो ।

केसीले ८ लाख आफ्नो नाममा र विर्माको नाममा फरक फरक मितिमा ८ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको पाइएको थियो । त्यस्तै लेखा सहयोगीको रूपमा कार्यरत भतिजा सुवासको खातामा तलब शीर्षकमा ७ लाख ९१ हजार रकम जम्मा गरेका भेटिएको थियो।

आर्थिक वर्ष २०७६–०७७ मा कार्यान्वयन भएका योजनामा बजेट अपुग भएको गुनासो बढेपछि गाउँपालिकाले आवश्यक अनुसन्धान गरेको थियो ।

सो क्रममा लेखापाल केसी उनकी श्रीमती विर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता भईसकेको छ। तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता भएको छ।

नुवाकोट आजदेखि ‘लकडाउन’

नुवाकोट । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ।

सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ। यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए।

उनका अनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नपा–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गरिने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न नपाउने निर्णय बैठकले गरेको छ।

बैठकले खेलकूदस्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन, विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गर्न रोक लगाई वैकल्पिक सिकाइ विधिको अवलम्बन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।

बाह्र वर्षमुनिका बालबालिका, अशक्त व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई अत्यावश्यक कार्यबाहेक घर बाहिर ननिस्कन तथा हिँडडुल नगर्र्न समेत गरिएको छ । यसैगरी यही साउन २५ गतेदेखि अर्को आदेश नभएसम्म जिल्लाभित्रका सबै सरकारी, निजी तथा गैरसरकारी कार्यालयले प्रदान गर्ने सेवामध्ये सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका मापदण्डअनुरुप अतिआवश्यक सेवा मात्र प्रदान गर्ने निर्णय गरिएको प्रजिअ ढकालले जानकारी दिए।

उहाँका अनुसार यही निर्णयका आधारमा आजदेखि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा एक स्थानीय तहको लागि सातामा दुई दिन मात्र उपलब्ध गराउने निर्णय गरिएको छ।

केन्द्रले जिल्लाको ८८ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना रोकथाम समूह’ गठन गर्ने, जिल्ला प्रवेश गर्ने बेलकोटगढी नगरपालिकास्थित कोल्पुटार नाकालाई थप व्यवस्थित बनाउने तथा ककनी र शिवपुरी गाउँपालिकास्थित सबै नाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गर्ने निर्णय पनि गरेको छ। यसैगरी आवतजावतमा कडाइ गर्ने र अतिआवश्यक कामबाहेकलाई मात्र पूर्वअनुमति लिएर आएकालाई मात्र प्रवेश गर्न दिने केन्द्रले जनाएको छ। कोरेना सङ्क्रमण रोक्न जिल्लाभित्र कडाइ गर्न थालिएको हो।

काठमाडौँमा पुनः श्रीमती र छोरीमाथि एसीड प्रहार

काठमाडौँ । काठमाडौंको चुच्चेपाटीमा आमा र छोरीमाथि एसिड आक्रमण भएको छ।

हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका अन्दाजी ४४ राजन विष्टले बिहीबार साँझ करिब ९ बजे श्रीमती र छोरीलाई एसिड प्रहार गरेका हुन्।

विष्टले मादक पदार्थ खाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। विष्टलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ। आमा छोरीको टाउको र अनुहारमा एसिड परेकाले अस्पताल लगिएको छ।

विरगञ्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृतयु

काठमाडौँ । वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । बिहीबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ बर्षका पुरुषमा साँझ संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण बिहीबार साँझ रिपोर्ट पोजेटिभ आएको हो। मृतकलाई विभिन्न समस्या देखिएपछि गत मगंलबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

यस्तै गत साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षिय बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। नारायण अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार बिहीबार साँझ प्राप्त रिपोर्टमा ती बृद्धको रिपार्ट पोजेटिभ आएको हो।

उनको आफनै घरमा साउन २० गते राति मृत्यु भएको थियो। बुधबार बिहान स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाएर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

प्रदेश २ का कानून मन्त्री यादव र प्रदेशसभामा सदस्यमा कोरोना

काठमाडौँ। प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र १ जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री यादवले साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराएका थिए। उनको बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

उनले संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताए, साथै उनले डराउन पर्ने आवश्यकता नरहेको बताएका छन्। उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिल गरेका छन्। उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन्।

त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि बुधवार बेलुका रिपोर्ट आएसँँग कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ।