ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा सोमबार साँझ ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ७४०२ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स४प ७२१० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–३ निवासी २१ वर्षीय देविन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते चालक यादवलाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकमा पछाडि सवार धनुषाको धनुषाधाम निवासी २३ वर्षीय बालकृष्ण यादव घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ।

काठमाडौँ महानगरका सबै सामूदायिक विद्यालयका छात्रालाई अब निःशुल्क स्यानिटरी प्याड

निःशुल्क स्यानिटरी प्याडले खुशीको मुहारमा खुशी छाएपछि
काठमाडौँ । कक्षा–११ को अध्ययनको प्रतिक्षामा वसेकी आस्मा पोख्रेल ज्ञानोदय माध्यामिक विद्यालय, बाफलकी छात्रा हुन्। आज उक्त विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा धेरै छात्रा सहभागी थिए । सहभागी मध्येकी पोख्रेल पनि एक थिइन। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको शुभारम्भ गर्दैगर्दा पोख्रेलको मुहारमा खुशीको भाव नाचिरहेको प्रष्ट देखिन्थ्यो।

त्यसो त काठमाडौँ महानगरपालिका वडा नम्बर–१४ की अध्यक्ष सोभा सापकोटाले स्यानिटरी प्याड भेन्डिङ मेसिनमा सिक्का खसालेर एउटा प्याड निकाली छात्रालाई हस्तान्तरण गर्दा त्यहाँ उपस्थित सबै छात्रा र महिलाले निकैबेर ताली बजाए र खुशी साटासाट गरे। कार्यक्रममा सहभागी पोख्रेललाई ‘विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ भैरहदाँ कस्तो महशुस भएको छ ?’ भनी प्रश्न गर्दा उनले कक्षा–कक्षामा स्यानिटरी प्याड वितरण गर्ने सरकारको कार्यको खुलेर प्रसंशा गरिन्। ‘रजस्वला हरेक महिलामा हुने नियमित प्रक्रिया हो,’ उनले भनिन्, ‘विद्यालयमा पुगेपछि मासिक स्राव हुँदा प्याडको अभावमा धेरै पटक विद्यालय नै छाडेर घर फर्किनु परेको तितो अनुभव छ। अब यो सकारात्मक प्रयासले त्यस्तो बाध्यताको अन्त्य हुने र छात्राहरुलाई सहज हुने अपेक्षा गरेका छौँ।’
पोख्रेलको जस्तै अनुभव छ, सृसा रावलको पनि । ‘विद्यायमै यसरी निशुल्क प्याड वितरणको व्यवस्था हुनु सबै छात्राका लागि खुशीको कुरा हो,’ रावलले भनिन्, ‘महिनावारीकै कारण विद्यालय आउन अप्ठयारो हुने, रजस्वला हुँदा विद्यालय नै अनुपस्थित हुनुपर्ने बाध्यता थिए। अब त्यसको अन्त्य भएको छ।’ रजस्वला हुँदा हिनताबोध महशुस गर्नुपर्ने बाध्यताको समेत अन्त्य हुने उनले अपेक्षा गरिन्। ‘निशुल्क प्याड वितरणपछि सबै छात्राहरुमा नियमित विद्यालय आउने र अध्ययन गर्ने परम्पराको थानली हुनेसमेत अपेक्षा गरेका छौँ,’ उनले भनिन्।


कार्यक्रममै सहभागी खुशी जोशीले पनि विद्यालयमा निशुल्क प्याड वितरण गर्ने कुरा सकारात्मक भएको भन्दै खुशी व्यक्त गरिन् । ‘ज्ञानोदय विद्यालयमा यसरी निशुल्क स्यानिटरी प्याड वितरण गर्ने कुराले म मात्रै होइन रजस्वलाको समय भएका र रजस्वला भैरहेका सबै छात्राले खुशीको महशुस गरेका छन्,’ उनले भनिन्, ‘पहिलाको अवस्था हेर्ने हो भने रजस्वलाको समयमा शिक्षकहरुसँग खुलेर कुरा गर्न सक्ने अवस्था थिएन। अहिले ठाउँ–ठाउँमा मेसिनहरु राखिएको छ। अब रजस्वला भयो भन्दै हिनताबोधसहित शिक्षकसँग विदा माग्नु पर्ने अवस्थाको समेत अन्त्य भएको छ।’ उनले यस्तो व्यवस्था दुर्गमका विद्यालयमा समेत हुनुपर्ने सुझाव दिइन्।

रजस्वला भएका महिलालाई विभेद गर्नुहुन्नः मेयर शाक्य


कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले रजस्वला भएका महिलालाई विभेद गर्नुनहुने बताउनुभयो । ‘हरेक घरमा महिला छन्। महिला नभएको घर हुँदैन। उनीहरुलाई हेर्ने दृष्टिकोण अनि बुझ्ने र बुझाउनेमा फरक छ,’ उहाँले उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, ‘घरमा कोही रजस्वला हुँदा उनीहरु कमजोर हुन्छन्। त्यो बेलामा उनीहरुको हेरविचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने सकारात्मक पाटो हो। तर, चार दिन मेरो काम गर्ने पालो, उसले छोएको खानु हुँदैन भन्ने जस्ता विभेदपूर्ण व्यवहार पनि हुने गरेका छन्। यसलाई परिवर्तन गर्नुको अर्को विकल्प छैन।’ उहाँले पहिलादेखि चलिआएको चलन हो भन्दै विकृति र विसंगतीलाई छाडिरहने हो भने पुस्तौसम्म यस्तै परम्परा रहिरहने बताउनुभयो। ‘यस्तो परम्पराको अन्त्य नगर्ने हो भने झन जरा गाडेर बस्छ र समाजलाई अघि बढ्न दिदैँन,’ उहाँले भन्नुभयो, ‘समाज परिवर्तन गर्ने हामी सबैको दायित्व हो। समाज परिवर्तनका लागि अठोट पनि चाहिन्छ।’ उहाँले सामूदायिक विद्यालय सुधारमा ध्यान दिन समेत आग्रह गर्नुभयो।
विद्यालयका प्र.अ. नातिकाजी महर्जनले छात्राले रजस्वला हुँदा विगतमा धेरै कठिनाई भोग्नु परेको बताउनुभयो। उहाँले त्यही बाहनामा छात्राहरु विद्यालयमा अनुपस्थिति हुनुपर्नेसम्मका बाध्यता रहेको भन्दै अब त्यसको अन्त्य हुने बताउनुभयो। उहाँले यो चेतना जगाउने कार्यक्रम भएको पनि बताउनुभयो।


उहाँले पहिलो चरणमा पाँचदेखि १२ कक्षासम्म अध्ययन गर्ने करीब १४ सय छात्राको रजस्वला पिरियड हुने भएकाले त्यसैलाई आधार मानेर उनीहरुलाई महिनामा करिब १६ ओटा आवश्यक पर्ने हिसावले १ लाख २० हजार प्याड टेण्डर प्रक्रियामा गएर खरिद गरेको जानकारी दिनुभयो । उहाँले भेन्डिङ मेसिन र डिस्पोजल मिसिन पनि खरिद गरेको जानकारी दिनुभयो।
काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले महानरपालिका क्षेत्र भित्रका सबै सामूदायिक विद्यालयलाई प्रति छात्रा १ हजार ६ रुपैयाँका दरले बजेट निकासा गरी सबै विद्यालयमा पठाइसकेको जानकारी दिनुभयो।

एसईईको नतिजा यही हप्ताभित्र सार्वजनिक गर्न तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले यसै हप्तामा नतिजा प्रकाशन गर्ने तयारी गरेको बताए। ‘हामी यही हप्ताभित्रै नतिजा प्रकाशन गर्नेगरि तयारी अगाडि बढाईरहेका छौं। आज विदा दिन पर्यो। भोलि कार्यालय गएर म नतिजा प्रकाशनसम्बन्धी छलफल गर्छु। केही विद्यालयहरुले आन्तरिक मूल्यांकन पठाउँदाखेरि नाम, जन्ममिति र ठेगानाबारे त्रुटि भेटिएको छ, हामीले ती विद्यालयहरुलाई सच्याएर पठाउन भनेका छौं। बरु, एकरदुई दिन ढिला होस, तर विद्यार्थीहरुले दुःख नपाउन भन्ने पक्षमा बोर्ड छ।’ अध्यक्ष प्रा.डा. पौडेलले भने।

यो वर्ष एसईई परीक्षा कोरोना संक्रमणको कारण हुन सकेन। परीक्षामा सहभागी हुनको लागि ४ लाख ८२ हजारले फाराम भरेका थिए।

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोरोना परीक्षण गरिने

काठमाडौँ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको आज कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ।

महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको कोभिड–१९ परीक्षणका लागि आज स्वाब सङ्कलन गरेको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री निवास बालुवाटारका ६०, अख्तियारका ६० र परराष्ट्र मन्त्रालयका १८ जनाको स्वाब सङ्कलन गरिएको छ।

महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलका अनुसार बालुवाटारमा सुरक्षाकर्मी र कर्मचारी, अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्याक्ट टे«सिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ। यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो।

नुवाकोटको राजश्वसंकलनमा कोरोनाले प्रभाव पारेन, अघिल्लो बर्षको भन्दा बढी उठ्यो

नुवाकोट। कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटकाअनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा ४६ करोड ४१ लाख २१ हजार संकलन भएको छ। कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको अवधिमा आर्थिक गतिविधि कम भए पनि नुवाकोटमा राजस्व संकलनमा वृद्धि भएको छ
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ४० करोड ४५ लाख ६९ हजार राजस्व संकलन भएको थियो।

यस वर्ष झण्डै ६ करोडले बढी राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका सूचना अधिकारी युवराज डुम्रेले बताए। जिल्लामा सबैभन्दा बढी राजस्व जिल्ला प्रशासन कार्यालयबाट संकलन भएको छ। राहदानी वितरणका कारण जिल्ला प्रशासन कार्यालयको राजस्व अन्य कार्यालयबाट संकलित भन्दा बढी भएको हो । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा २ करोड १५ लाख ५५ हजार ६ सय ३१ संकलन गरेको छ।

यस्तै, बेलकोटगढी नगरपालिकाबाट एक करोड ६२ लाख ९९ हजार, जिल्ला प्रहरी कार्यालयबाट एक करोड तीन लाख २७ हजार, डिभिजन सडक कार्यालयबाट एक करोड ६८ लाख ४४ हजार संकलन भएको छ। गत आर्थिक वर्षका विभिन्न स्थानीय तहरुले सशर्तमा आएको बजेट, बेरुजु दाखिला लगायतबाट ३६ करोड ३३ लाख राजस्व जम्मा भएको कार्यालयका सूचना अधिकारी डुम्रेले जानकारी दिए।

कास्कीमा छोरी बलात्कार गर्ने बुवा पक्राउ

काठमाडौँ। कास्कीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय बुवा पक्राउ परेका छन्।

पोखरा महानगरपालिका–२६ बस्ने ती व्यक्तिले छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कोरोना नियन्त्रणमा विज्ञको सुझावअनुसार अगाडी बढ्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विज्ञहरूबाट आएका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन्।

मंगलबार सरोकारवाला र विज्ञहरूलाई बालुवाटारमा बोलाएर सुझाव लिएका प्रधानमन्त्री ओलीले प्राप्त सुझाव कार्यान्वयनमा लैजान आफू प्रतिवद्ध रहेको बताएका हुन्।

प्रम ओलीले स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका हुन्। उक्त परामर्शमा २५ जनाको उपस्थिति रहेको थियो।

‘परामर्शमा प्रमुख प्रतिपक्ष दलका काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित २५ जनाको उपस्थिति रहेको थियो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘सुझाव दिनेहरुलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभयो र कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो।’

थापाले सुझावहरु एकै खालका नभएको भन्दै समग्रतामा कोभिड समस्या बढिरहेको सन्दर्भमा मिश्रित सुझाव प्राप्त भएको बताए।

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयागका १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आयोगका १४ प्रहरी र १ जना सवारी चालक गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अख्तियारका सञ्चार विज्ञ शरद अधिकारीले आयोगका १ सय ७९ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

साताको तेस्रो दिन नेप्से परिसुचक ७.५९ अंकले बढ्यो

काठमाडौँ। साताको तेस्रो दिन मंगलबार सेयर कारोबार‍मा सुधार आएको छ। सोमबार नेप्से परिसुचक ०.५४ प्रतिशत अर्थात ७.५९ अंकले बढेर १ हजार ४ सय ३ दशमलब ८६ विन्दुमा रोकिएको छ।

त्यस्तै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ०.५० प्रतिशत अर्थात १ दशमलब ४७ अंकले बढेर २ सय ९४ दशमलब २४ विन्दुमा रोकिएको छ।

दिनभर १ सय ९० कम्पनी कारोबारको लागि सूचीकृत भएका छन्। कूल सूचीकृत कम्पनीको १६ हजार ६ सय ६६ पटकको ५३ लाख ४२ हजार ८ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ। जस अनुसार कारोबार रकम १ अर्ब २९ करोडको २५ लाख २ हजार २ सय १३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २१ हजार ९ जना पुगेको उनले बताए।

मंगलबार उपत्यकामा ६२ जनामा कोरोना पुष्टि

काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

संक्रमितमा काठमाडौँका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन्।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २ सय ५९ जना संक्रमित थपिएको जानकारी दिए।

जनकपुरधाममा पनि निषेधाज्ञा

जनकपुर। जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो।

पूर्वमा कपिलेश्वर बसपार्क, पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो (दूधमति पुल) उत्तरमा क्षीरेश्वर नगरपालिकाको जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने औरही खोलाको पुल र दक्षिणमा बनौली मोड, बसहिया सडकमा पर्ने सोनामति मन्दिर एवं प्रदेशसभा जाने मोडको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। सो अवधिभर (साउन २५ राति १२ बजेसम्म) अतिआवश्यक सेवाबाहेक सम्पूर्ण पसल र उद्योग सेवा बन्द गरिएको छ।

गाइजात्रा विधि पुर्याएर घर–घरमै मनाउन मेयर शाक्यको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परम्परागत सांस्कृतिक पर्व ‘गाइजात्रा’ लाई विधि पुर्याएर घर–घरमै मनाउन आग्रह गर्नुभएको छ। यो पर्व एक वर्ष भित्र देहावसान आफन्तको सम्झना र दुःख विर्साउन धुमधामसँग मनाउने चलन भए पनि यस्तो विषम परिस्थितिमा भिडभाड नगरी मनाउन उहाँले आग्रह गर्नुभएको हो ।

‘यो जात्रा आफूलाई मन पराउने वा आफूले मन पराउने देहावसान आफन्तको पीडा विर्साउने परम्पराका रुपमा मनाउने चलन छ,’ शाक्यले भन्नुभयो, ‘मेरो घरमा मात्रै होइन हरेकका घरमा कोही न कोही देहावसान भएका छन् भनेर देखाइ पीडा कम गर्ने वा दुःख बाँड्ने परम्पराका रुपमा समेत यो जात्रालाई मान्ने गरिएको छ।’
प्रमुख शाक्यले यस्तो जात्रा विगतका वर्षमा धुमधामसँग मनाउने गरेको स्मरण गराउँदै भन्नुभयो– ‘कोरानाको कहरले भयावह भएको यस्तो अवस्थामा २५–३० हजार मानिस एकै पटक सडकमा आउँदा नसोचेको संक्रमण फैलिन सक्छ। त्यसैले देहावसान भएका आफन्तहरुको सम्झनामा मनाउँदै आएको गाइजात्रा पर्वलाई यो पटकका लागि विधि पूरा गरेर आ–आफ्नो घरमा मात्रै मनाउन अपिल गर्दछु।’

उहाँले यस्तो बेलामा आस्था, विश्वास र परम्परालाई कायम राख्दै जात्रा–पर्व मान्न र जोखिमबाट बच्न पनि आग्रह गर्नुभयो। ‘आफूलाई माया गर्ने र आफूले माया गर्ने व्यक्ति वितेकोमा सबैलाई पीडा अवश्य हुन्छ। तर, यस्तो बेलामा भीडभाडका साथ मनाउँदा जोखिम बढ्न सक्छ,’ उहाँले भन्नुभयो, ‘यस बारेमा पनि सचेत रहनुहोला।’

पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने चलन छ। यो पर्व आज देशभर सुरु हुँदैछ। राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई पीडा भुलाउन यो पर्वको थालनी गरेको भन्ने परम्परा छ। प्रताप मल्लले रानीलाई दुनियाँले यस्तै पीडा भोग्नुपर्छ भन्ने देखाउन जनतालाई वर्षभरीमा आ–आफ्नो घरका देहावसान भएका मानिसको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक कथन छ।

हेर्नुस् ! मंगलबार (आज) को विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबार (साउन २०) को विनिमयदर जारी गरेको छ। जारी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ७४ पैसा रहेको छ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र बिक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

काठमाडौँ। जाजरकोट कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टामा मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो। बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो। सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए।

पुनको यस अघि दुईवटा छोरा भईसकेका छन्। शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उहाँको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए। उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ।