स्पेनका पूर्व राजाद्धारा देश छोड्ने घोषणा

काठमाडौं । स्पेनका पूर्व राजा ख्वान कार्लाैसले देश छोड्ने घोषणा गरेका छन्। उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। उनले करिब ४० वर्ष राज गरेका थिए।

स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको हो।

उनले कहिले देश छाड्छन् र कहाँ गएर बस्छन् भन्नेचाहिँ खुलाइएको छैन ।

पूर्व राजा कार्लोसले आफूलाई लागेका आरोपबारे केही सोधपुछ गर्नु परेमा आफू उपलब्ध हुने पनि बताएको समाचारमा उल्लेख छ ।

साउदी अरेबियामा एउटा हाइस्पीड रेलको ठेक्कामा कार्लोसको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।

स्पेनमा करिब ४० वर्ष राज गरेका कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।

बालिकालाई बिहे गर्छु भन्दै पटक पटक बलात्कार गर्ने वडा अध्यक्ष पक्राउ

काठमाडौँ । बालिकालाई बलात्कार गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। चौध वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखा, पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका हुन्।

उनले बालिकालाई बिहे गर्छु भन्दै पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ। उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिएको हो ।

करिब ४७ वर्षीय रानाभाटलाई सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साँगाबाट उपत्यकामा छिर्ने १३ यात्रुमा कोरोना

काठमाडौँ । एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना परीक्षणमा उनीहरुलाई कोरोना पोजिटिभ देखिएको हो।

लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने तीन नाका काभ्रेपलाञ्चोकको साँगासँगै, ललितपुरको फर्पिङ र काठमाडौँको थानकोटबाट काठमाडौँ प्रवेश गर्ने यात्रुको कोरोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो । साँगा–नाकामा मात्रै सङ्कलित तीन हजार ४ सय ८२ यात्रुको स्वाब सङ्कलन गरिएकामध्ये १३ मा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार तीन नाकाबाट करिब दश हजार यात्रुको स्वाब सङ्कलन गरिएको थियो । यात्रुको पोलिमरेज चेन्ज रियाक्सन ९पिसिआर० परीक्षण गर्दाको रिपोर्ट पोजिटिभ आएका हो ।

तीन नाकामा सङ्कलित स्वाबको वीर अस्पताल, शिक्षण अस्पताल तथा टेकु अस्पतालमा परीक्षण गरिएको टोलीका सदस्य खेमराज सापकोटाले बताए । उनका अनुसार तीन नाकामा एक साता यात्रुको स्वाब सङ्कलन गरिएको थियो । “हामीले १० हजार यात्रुको स्वाम्प्लिङ टेष्ट गर्ने योजना बनाएका थियौँ, टार्गेट पूरा भएपछि स्वाब सङ्कलन कार्य बन्द गर्यौँ”, उनले भने ।

टोलीले आइतबारदेखि शुक्रबारसम्म तीनै नाकामा उपत्यका प्रवेश गर्ने यात्रुको स्वाब सङ्कलन गरेको हो ।

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

काठमाडौँ । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। उनी सोमबार बिहान ९ बजे अस्पताल भर्ना भएका थिए ।

कोरोनाबाट ७७ वर्षीय वृद्धको मृत्यु भएको कोशी अस्पताल विराटनगरले जनाएको छ। वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो।

उनको सवा ३ बजे मृत्यु भएको थियो भने एक घण्टापछि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मधुमेहको समस्या रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको आएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ।

४ सहसचिवको सरुवा

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत ४ सहसचिवहरूको सरुवा भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई प्रदेश नं. ५ को अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने अधिकारीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव बिनोद कुमार सिँहलाई पठाइएको छ। त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई युवा तथा खेलकुद मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
मन्त्रालयल शुक्रवार सहसचिवहरूको सरुवा गरेको हो।

काठमाडौँ उपत्यकामा सोमबार थप ५१ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय १८ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गरिएकोमा ४ सय १८ जनामा कोरोना पुष्ट भएको हो।

परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयको प्रवक्तामा चक्रबहादुर बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ। गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्री स्तरीय निर्णयबाट मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो।

गृह मन्त्रालयमा शान्ति सुरक्षा महाशाखा प्रमुख नै प्रवक्ता हुने व्यवस्था छ। मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिनअघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएपछि गृह प्रवक्ता र शान्तिसुरक्षा महाशाखा खाली रहँदै आएको थियो।

महानगरपालिकामाअस्वभाविक भत्ता कटौति गर्न सचिव अर्यालले चाले बोल्ड कदम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अस्वभाविक भत्तामा व्यापक कटौति गर्ने निर्णय गरेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत, सचिव एकनारायण अर्यालले अस्वभाविक भत्ता कटाउँदा बार्षिक ७ करोड बचत हुने भन्दै बोल्ड कदम उठाएका हुन् ।

सचिव अर्यालले आइतबार वातावरण व्यवस्थापन विभाग र सहरी स्वास्थ्य विभागको ५० प्रतिशत भत्ता यथावत राखेर बाँकी सबै भत्ता कटौती गर्ने निर्णय गरेका हुन्। यो निर्णय साउन महिनादेखि नै लागू हुने महानगरले जनाएको छ।

वातावरण विभाग अन्तर्गत चालक र कुचिकार र सहरी स्वास्थ्य महाशाखा अन्तर्गत कोभिड—१९ को काममा प्रत्यक्ष संलग्न कर्मचारीलाई सुरुको तलब स्केलको ५० प्रतिशत भत्ता उपलब्ध गराइनेछ।

सोही सेवा उपभोग गर्नको लागि सम्वद्ध महाशाखा प्रमुखको सिफारिस अनिवार्य गरिएको छ।
‘महालेखा परीक्षकको कार्यालयको बेरुजू सम्बन्धि प्रतिवेदन र सरकारको खर्च मितव्ययिता गर्ने नीति अनुसार प्रशासन विभागको राय बमोजिम भत्ताको हकमा दोहोरो नपर्ने गरी वातावरण व्यवस्थापन विभाग र सहरी स्वास्थ्य विभागको ५० प्रतिशत यथावत राखेर हाललाई अन्य सबै भत्ता कटौती गर्ने निर्णय भएको छ,’ महानगरको निर्णय कपीमा भनिएको छ।

यसैगरी, अब गाडीको हकमा इन्धन पुनरावलोकन गरिने भएको छ।

यसअघि किलोमिटर अनुसार इन्धन उपलब्ध गराइँदै आएकोमा इन्धन पुनरावलोकन गर्न महानगरका मेकानिकल इन्जिनियर पुरुषोत्तम शाक्यको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ।

जसको सदस्यमा इन्जिनियर प्रमोद डंगोल र लेखा अधिकृत श्याम न्यौपाने सदस्य छन्। कार्यदललाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ।

महानगरका सहसचिव राजेश्वर ज्ञवाली हाललाई इन्धनमा कटौती गरिएकोमा कार्यदलको प्रतिवेदन पेश भइसकेपछि फेरि कटौती हुने आधार रहेको बताउँछन्।

हाल महानगरका प्रमुख प्रशासकीय अधिकृतले मासिक एक सय लिटर, सहसचिवले ८० लिटर पाउने छन् भने विभागीय प्रमुख९महाशाखा प्रमुख तथा महानगरका गाडीमा ७० लिटर इन्धन हुनेछ। त्यस्तै, मोटरसाइकल प्रयोगकर्ताले प्रतिव्यक्ति १० लिटर मात्र इन्धन पाउने छन्।

महानगरको कामको शिलशिलामा उपत्यका बाहिर जानु परेमा र थप सवारीसाधन प्रयोग गर्नुपरेमा अधिकार प्राप्त अधिकारीको स्वीकृतिका थप इन्धन उपलब्ध गराइने भएको छ।

महानगरले नगर कार्यपालिकाको बैठकमा प्रतिव्यक्ति २ सय ५० र अन्य बैठकको हकमा प्रतिव्यक्ति १ सय ५० का दरले खाजा उपलब्ध गराउने निर्णय गरेको छ।

सहसचिव अर्यालको विजोग, गाडी सहितको सुविधा सुब्बाले खोसेपछि तनावमा

सहसचिवको यो गाडी हड्पेर सुब्बा बस्याल डाडाकाडा घुम्दै छन।

काठमाडौ । निजामति प्रशासनको उच्च तह नै मानिने सहसचिवलाई एक जना सुब्बाले हालयकायल बनाए, भन्दा झट्ट विश्वास नलाग्न सक्छ।

विश्वास लागोस् पनि कसरी ? सहसचिवले आफ्नो पिए (स्वकिय सचिव) नायब सुब्बा दर्जाकालाई राखेर आफ्नो कार्यालयीय कामको सहयोगी बनाउने गर्दछन्। हरेक सहसचिवले सहयोगी बनाएर ढोका बाहिर गेटमा राख्नुपर्ने दर्जाका एक सहयोगीले भने सहसचिवकै गाडी जफत गर्दै मन्त्रालयमा जिम्मेवारी बिहिन बनाएर सानो कोठामा थन्काएको समाचार सुन्दा अपत्यारिलो लागेर सम्पत्ति न्यूजसंवाददाता टिम मन्त्रालय उनको कोठा र सुब्बाको कोठामा पुग्दा बल्ल समाचारले सार्थकता पाएको छ।

प्राप्त समाचार स्रोतका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन शाखाका अधिकृत लीला प्र. काफ्ले र सुब्बा यादव बस्यालको खुराफातीले मन्त्रालयका सहसचिव भुवनहरि अर्यालले यतिबेला न त सवारी साधन पाएका छन् न त बस्ने कोठा नै सहज रुपमा उपलब्ध भएको छ।

कम्पनी रजिष्टार कार्यालयबाट मन्त्रालय सरुवा भएर आएका सहसचिव अर्याल प्रशासन महाशाखा प्रमुखका रुपमा केहि समयको लागी कार्यरत थिए। केही समय प्रशासन महाशाखामा रहेका अर्याललाई नायब सुब्बा बस्यालले आफ्नो षड्यन्त्रको तीर हान्दै विना विभागीय सहसचिव बनाईदिए भने प्रशासनमा सहसचिव यज्ञराज कोइरालालाई भित्र्याइएको छ। जिम्मेवारविहिन बनाईएका सहसचिव अर्यालले सवारी साधन समेत नपाएपछि कोभिडको यस्तो महामारीको अवस्थामा तीव्र तनाव झेल्न बाध्य भएका छन्।
मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले यस्तो विभेद जस्तो सहसचिवलाई परेको मर्का बुझ्ने र समस्या सुल्झाईदिने उपाए खोज्नु भन्दा मुख्य सचिव कहिले बनिएला भन्ने तिर मात्र लागेकाले समस्या जटिल बनेको नजिकबाट नियाल्नेहरुको धारणा छ। मुख्यसचिवको सपना देख्नेले एउटा सुब्बाले स्टोर चलाएर लाखौँ कमिसन खाएको हेक्का राख्दैनन् र सहसचिवप्रतिको अपमानलाई व्यवस्थापन गर्न सक्दैन भने उनको कार्यक्षमता यसै घटनाले मापन भएको प्रशासन क्षेत्रका जानकारहरु बताउँछन्।

नायब सुब्बा बस्याल मन्त्रालयको ११४ नम्बरको कोठामा बस्छन् ।

उनी बस्ने कोठा सचिव घिमिरे भन्दा उत्कृष्ठ रहेछ। कोठामा सिसिटिभी लगायत सुविधा सम्प्पन्न ठुलो आकारको कोठामा बसेर आदेश फरमान गर्दछन्। सहसचिव अर्याललाई सबैभन्दा माथिल्लो तला जहाँ कुनै सुविधा छैन। सानो साँघुरो आकारको कोठामा एउटा सानो टेबुल–कुर्सीसहित स्टोरले व्यवस्थापन गरेर थन्क्याएको पाइएको छ। कोठामा टेलीफोनको समेत सेवा उपलब्ध गराईएको छैन ।

सहसचिव अर्याल चढ्ने गाडी नायब सुब्बा बस्याल यतिबेला चढिरहेका छन्। उनी गाडी फेरी फेरी चढ्ने सुब्बामा चिनिन्छन्। यतिमात्र होइन यतिबेला मन्त्रालयमा उनको दादागिरी धेरैलाई मेसो नभएर हो या उनको सामुन्ने धेरैलाई टिक्न गाह्रो भएर हो बस्याल र अधिकृत काफ्ले यतिबेला मन्त्रालयमा चर्को रुपमै हावी भएका छन्। यस घटनाले कतिपय मन्त्रालय र विभागका परिदृश्यको प्रतिनिधित्व गरेको रुपमा धेरै कर्मचारीले लिएका छन्। लोकतन्त्र आएपछि कर्मचारीहरुबीच चेन अफ कमाण्ड विग्रँदै गएको छ भन्ने प्रमाणका रुपमा यस घटनाले थप पुष्टि मात्र गरेका छैन मन्त्रालयका सचिवको समेत कार्यक्षमतामा प्रश्न खडा गरेको छ।

नक्कली प्रहरी बनि होटल मालिक थर्काउने २ पक्राउ

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय दाङले २ जना नक्कली प्रहरी पक्राउ गरेको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन्।

नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिकरुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएका प्रनाउ खड्काले बताए।

यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले पक्राउ गरिएको हो। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कोरोना प्रकोपः दक्षिण अफ्रिकाका सम्पुर्ण शिक्षण संस्थाहरु बन्द

काठमाडौँ। दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन् । कोरोना महामारीको संक्रमण बढ्दो रुपमा देखिएका कारण दक्षिण अफ्रिकी सरकारले यहाँका विद्यालय, विश्वविद्यालय तथा सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने घोषणा यसअघि नै गरेको थियो।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको महामारी पछिल्लो समयमा निकै बढ्दै गएको छ। सोही कारण यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको यहाँको शिक्षा मन्त्रालयले जनाएको छ।
यही जुलाई २७ तारिखदेखि यहाँका विद्यालयहरु बन्द भएका हुन् । यो बन्द आगामी अगष्ट महिनाको अन्त्यसम्म नै कायम रहने अधिकारीहरुले जनाएका छन्। सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताएको बताइएको छ।

दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरस ठूलो संख्यामा संक्रमण देखिएको बताइएको छ। यहाँ आजसम्ममा ५ लाख ११ हजारभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । त्यसैगरी यहाँ ८ हजार भन्दा बढी व्यक्तिको निधन भएको छ।

यहाँ पछिल्ला दिनहरुमा निकै ठूलो संख्यामा संक्रमण बढ्दै गएको देखिएकोले शिक्षण संस्थाहरु बन्द गर्नुका साथै अरु विभिन्न नियन्त्रणका उपायहरु अपनाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

बोको हरामले गर्यो पुनः १८ सर्वसाधारणको हत्या

काठमाडौँ। क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ।
सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । सो हमलामा परी अरु कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिक गम्भीर रुपमा घाइते भएका बताइएको छ ।

बोको हरामका हतियारधारी वद्रोहीहरुले सर्वसाधारणको हत्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि हमला गरेका यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
यहाँको एक स्थानीय पत्रिकाले सो समाचार दिएको छ । उक्त पत्रिकाका अनुसार सो क्षेत्रमा शनिबार राति बोको हरामका सशस्त्र विद्रोहीहरुले उक्त क्षेत्रका स्थानीय सर्वसाधारणको हत्या गर्नेगरी सो हमला गरेका थिए ।

बोको हरामले पश्चिमी अफ्रिकामा गएका कैयौँ वर्षहरु देखि ठूलो मात्रामा हमला गर्ने गरेको पाइएको छ ।
जसका कारण यहाँका हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँ नागरिकलाई अपहरण गर्ने गरेका छन् । पछिल्लो समयमा बोको हरामले आफ्नो अभियानका विरुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई तारो बनाउने गरेका छन् ।

प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा २ जना घाईते

काठमाडौँ । उदयपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा २ जना घाईते भएका छन्। घाईते हुनेमा आन्दोलनकारीले हानेको ढुङ्गा लागेर प्रहरी जवान राजकुमार बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ। यस्तै, आन्दोलनकारीपट्टि पनि एक जना रहेका छन् । उदयपुरको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आइतबार नेपाली काँग्रेस, संघीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध गरेको आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो।

इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली काँग्रेस, संघीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध विरोधसभा गरेको र सो कार्यक्रम बरगाछी बजारको जनजाति हल परिसरमा गर्ने सम्झौता भएको थियो । बरगाछी क्षेत्रमा कोरोना सङ्क्रमण व्यापक फैलिएको कारण २५ जनामात्र भेला भएर कार्यक्रम गर्ने भनिए पनि ५ सयभन्दा बढीको सङ्ख्या आन्दोलनकारी आएर नगरपालिकाको कार्यालय नै तोडफोड गर्न खोजेकाले झडप भएको इप्रका रापुरले बताएको छ ।

नगरपालिका हल परिसरमा प्रहरीले कार्यक्रम गर्न नदिएपछि आन्दोलनकारीले गेटबाहिर कार्यक्रम गरेका थिए ।

यता नेकपाका कार्याकर्ताले विरोध जुलुस निकालेका थिए । दैनिक कोरोना सङ्क्रमण बढ्दै गइरहेको र केही दिनदेखि यता बजार क्षेत्रलाई सिल गरेर हिँड्डुल आवतजावतमा रोक लगाइए पनि राजनीतिक दलले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

सिन्धुपाल्चोकमा पहिरो, ८ जना बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकमा पहिरो जाँदा ८ जना बेपत्ता भएका छन्। गए रातिको अविरल वर्षाले पहिरो जाँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची–११ बजारमा पहिरो जाँदा आठ जना बेपत्ता भएका हुन्।

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएकाका हुन् । एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज बिहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।