आज थप ८ सय ५५ जनामा कोराना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन् ।

बाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कोइराला

राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा प्रा. डा उपेन्द्र कोइराला नियुक्त हुने भएका छन् । उनी उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी हुन् । पूर्व सहसचिव निर्मल हरि अधिकारी राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष पदबाट हटाएर कोइरालालाई नियुक्त गरिएको हो । निर्मल हरि अधिकारी अर्थ मन्त्रालयको सहसचिवबाट अवकास हुनासाथ राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनेका थिए ।

अधिकारीको स्थान खाली गर्न २०७७ भदौ १ गतेको मन्त्रिपरिषदको बैठकले उनलाई राजश्व बोर्डको सदस्यमा नियुक्त गरिएको थियो । साथै सरकारले नेपाल राजस्व परामर्श विकास समिति (राजस्व बोर्ड)को अध्यक्षमा भने पूर्वसचिव महेश दाहाललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को २०७७ भदौ १ गते सोमबारको बैठकले पूर्वसचिव दाहाललाई बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो भने बोर्डको सदस्यमा पूर्वसहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त गरिएको थियो ।

अर्थ मन्त्रालयको सहसचिवबाट अवकाश प्राप्त हुनासाथ अधिकारी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएका थिए ।

बैतडीमा मृतकका परिवारलाई राहत वितरण

बैतडी । डिलाशैनी गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ । परिवारका सदस्य गुमाएका डिलाशैनी–४ बलालीका ऐते बोहरालाई राहत तथा क्षतिपूर्ति दिइएको हो । गत साउन २२ गते राति सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा ऐतेकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको ज्यान गएको थियो । यस्तै घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले रु चार लाख राहत दिएको हो । विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत दिइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । पीडित परिवारको खातामा एकमुष्ठ रु चार लाख जम्मा गरिदिएको हो ।

उनले भने, “परिवारका एक सदस्यको मृत्यु भएमा रु दुई लाख र सोही परिवारका अर्का सदस्यको मृत्यु भएमा थप रु एक लाख दिने व्यवस्था छ । सोहीअनुसार दुई मृतकको गरेर रु तीन लाख र घर पूर्णरूपमा क्षति भएकाले थप रु एक लाख गरी चार लाख बैंकमार्फत दिएका हौँ ।”

यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोले गरेको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जनाइएको छ । अन्य स्थानीय तहमा मानवीय क्षति नभएकाले स्थानीय विपद् व्यवस्थापन समितिले नै क्षतिपूर्ति तथा राहत दिने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । कुन क्षेत्रमा के कति क्षति पुर्याएको छ भन्नेबारे सम्बन्धित स्थानीय तहमा रहेका विषयगत शाखाहरुले हेर्ने र त्यसपश्चात् राहत तथा क्षतिपूर्ति दिइने बताइएको छ ।

यसैबीच बैतडीको सुर्नया गाउँपालिका–५ का पहिरोपीडित चार परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित वीरबहादुर मडै, दिनेश मडै, रामबहादुर मडै र धर्म मडैको परिवारलाई राहत सामग्री वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लीला विष्टले बताए ।

सोमबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको सहयोगमा प्राप्त राहत सामग्री वितरण गरिएको हो । राहत सामग्रीमा कपडा, भाँडाकुँडा, त्रिपाल, खाद्यान्नलगायत सामग्री छन् । यसका साथै उपाध्यक्ष विष्टले आफ्नातर्फबाट राहतस्वरुप पीठो वितरण गरेका छन्।

पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गर्ने सम्बन्धमा भने आगामी कार्यपालिकाको बैठकमा छलफल हुने उपाध्यक्ष विष्टले बताउनुभयो । गत हप्ता अविरल वर्षासँगै पहिरो खस्दा सुर्नया–५ का ४ परिवार विस्थापित भएका थिए ।

शेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन

काठमाडौँ । शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिएका छन् ।

गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उहाँको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिक रहनुभएका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आउनुभएको थियो । उनका बुबाआमा भने नेपालमै हुनुहुन्छ ।

आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ

सङ्खुवासभा । जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना पक्राउ परेका हुन् ।

आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हरी बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइसोलेसन सेण्टर तोडफोड गरेको आरोपमा यस अघि हिमाल किरण क्याम्पसका प्रमुख डा मात्रिका तिम्सिनालाई पक्राउ गरिएको थियो । प्रमुख डा. तिम्सिनाको अगुवाइमा आइसोलेसन सेण्टर तोडफोड हुँदा हराएका सामानको खोजतलास भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।

सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार

बाँके । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कृषि तालीम केन्द्रको आइसोलेसनमा लगिएको थियो । पाँच सिसी लागूऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए । आइसोलेसनबाटै सङ्क्रमित थुनुवा फरार भएपछि खोजीका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।

सङ्क्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएर आवश्यक अनुसन्धान भइरहेको छ । उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी खटिएका थिए ।

नेप्से आजपनि हरियो भएर बन्द भयो, २१ अङ्कको वृद्धि

काठमाडौँ । कोरोनाको सङ्क्रमण फेलने भन्दै सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारलाई भने त्यसले कुनै प्रभाव पारेको छैन । आइतबार दोहोरो अङ्कले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले आज पनि सोही लय पछ्याएको छ । कारोबार रकममा समेत बढोत्तरी भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २१.२६ बिन्दुले बढेर एक हजार ४३१.६० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५९ ले बढेर २९३.१४ मा पुगेको छ । कूल १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर रु दुई अर्ब १३ करोड ९२ लाख दुई हजार ७५ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह १.४३ ले घटदा बैंकिङ १६.०८, व्यापार १३.७३, विकास बैंक १७.१६, जलविद्युत् ७.२२, वित्त ३.७, निर्जीवन बीमा १२८.६९, उत्पादन ६४.९१, अन्य १२.३६, लघुवित्त ५५.७३, जीवन बीमा १६२.८७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पुनरबीमा कम्पनीको शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड ६० लाख ४० हजार ९७५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै नेको इन्स्योरेन्स कम्पनी रु १२ करोड ९९ लाख २१ हजार ५१६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड १८ लाख चार हजार ३६९, ग्लोबल आइएमइ बैंक रु ११ करोड ८० लाख २६ हजार ९६६, नेपाल बैंक लिमिटेड रु आठ करोड २७ लाख ८८ हजार ५२६, शिवम् सिमेन्ट रु सात करोड ३८ लाख २२ हजार १३७ र प्रभु इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ९५ लाख ४८ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कर्पोरेट डेभलपमेन्ट बैंक ६.९०, खानीखोला हाइड्रोपावर ६.२५, आरएमडिसी लघुवित्त ५.५०, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५.०८ प्रतिशतले कमाए । यस्तै छ्याङदी हाइड्रोपावर २.२५, श्री इन्भेस्टमेन्ट फाइनान्स १.९७, मल्टीपर्पस फिनान्स कम्पनी १.८५, प्रोगेसिभ फाइनान्स कम्पनी १.८५ र राधी विद्युत् कम्पनीका शेयरधनीले १.८५ प्रतिशतले गुमाए ।

एकै परिवारका पाँच जनाको झुण्ड्याएर हत्या

काठमाडौँ । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।

भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।
भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ । आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।

खरेले सञ्चारमाध्यमहरुलाई आफूहरुले वैज्ञानिक रुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताए ।

रिपब्लीकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लीकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार शुरु हुँदैछ । चार दिने यस भेलाले ट्रम्पको उम्मेदवारीलाई औपचारिकता दिनेछ ।

गत साता डेमोक्र्याटिक पार्टीको चार दिने भर्चुअल भेलाले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरिसकेको छ । बाइडेनले उपराष्ट्रपतिमा मनोनयन गर्नु भएकी कमला ह्यारिसलाई पनि सोही भेलाले अनुमोदन गरिसकेको छ ।

कोरोनाभाइरस महामारीका कारण चार्लोट्टे सम्मेलन केन्द्रको भेलाको आकार सानो बनाइएको रिपब्लीकन पार्टीले जनाएको छ ।

रिपब्लीकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपतिलाई बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् ।

विश्लेषकहरुका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ । उहाँले यसअघि अघि सार्नु भएका कैयौं नीतिको कार्यान्वयन नभएको र कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको स्थिति छ ।

यसबाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरुका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन् ।

रिपब्लीकन पार्टीकी अध्यक्ष रोन्ना म्याकडानियलले देशभित्र विषम परिस्थिति रहे पनि रिपब्लीकनको चुनावी अभियान कुनै पनि स्थितिमा कमजोर नहुने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले पनि पार्टीभित्रबाट आफ्ना विषयमा सकारात्मक धारणा प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको छ । फक्स न्यूज च्यानललाई आइतबार दिनुभएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पार्टी सम्मेलनमा प्रतिनिधिहरुले आफूलाई पर्याप्त साथ, सहयोग र समर्थन गर्ने बताउनुभयो ।

विगतमा दुबै दलले चुनावी वर्ष ठूलै सभा, समारोह र भेला गर्ने प्रचलन थियो । तर यसवर्ष कोरोनाभाइरसले सबै कृयाकलापलाई स्थिर तुल्याइदिएको छ ।

रिपब्लीकन पार्टीबाट एक्लो उम्मेदवार रहनु भएका ट्रम्पका लागि अमेरिकाका ५० राज्यबाट आमन्त्रित ३३६ प्रतिनिधि ९डेलिगेट्स० ले मात्र मतदान गर्नेछन् । हुनतः रिपब्लीकन पार्टीका कूल प्रतिनिधि संख्या २ हजार ५०० भन्दा बढी छ । आमन्त्रित प्रतिनिधिका लागि ४२ पृष्ठको स्वास्थ्य तथा सुरक्षा निर्देशिका उपलब्ध गराइएको छ ।

चार्लोट्टेमा सम्मेलन शुरु भएपछि पार्टीका अन्य अधिकांश कृयाकलाप वासिङ्टन डिसीमा केन्द्रित हुनेछन् ।

प्रथम महिला मेलानिया ट्रम्पले रोज गार्डेनबाट मंगलबार सम्बोधन गर्नेछिन् । उपराष्ट्रपति माइक पेन्स बुधबार बाल्टिमोरस्थित फोर्ट म्याकहेन्रीबाट सम्बोधन गर्नेछन् ।

राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीको साउथ लनबाट बिहीबार सम्बोधन गर्नु हुनेछ जहाँ उहाँका समर्थकहरु ठूलो संख्यामा उपस्थित हुनेछन् ।

१ सय ६२ अधिकृतको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ सय ६२ जना अधिकृतहरूको सरुवा गरेको छ ।

भदौ ३ गतेको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो । मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा भएका कर्मचारीलाई विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा पठाएको हो ।
सरुवा नामावलि हेर्न लिंक खोल्नुहोस्ःhttps://drive.google.com

स्थानीय तहका ४ कर्मचारीको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका ८ जना स्थानीय तहका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले उनीहरुको काज सरुवा गरेको हो ।

पदस्थापन तथा हाजिरीका लागि समस्या भएका ५ जना सहायक चौथो, २ जना अधिकृत छैटौँ, १ जना सहायक पाँचौँ स्तरका कर्मचारीलाई भदौ ३ गतेको सचिव स्तरीय निर्णय अनुसार विभिन्न प्रदेशमा सरुवा गरेको हो ।

नियुक्ति दिएको तर स्थायी दरबन्दी पूर्ति हुँदा सम्बन्धित स्थानीय तहमा हाजिर नगराइएका कर्मचारीलाई उनीहरूले पेस गरेको निवेदन, नियुक्तिको छायाप्रति, सम्बन्धित स्थानीय तहमा पदपूर्तिको कारणसहितको सिफारिस र कर्मचारीहरूले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।
पूर्ण विवरण हेर्न तलको लिंक खोल्नुहोस्: https://drive.google.com

सोमबार थप ७ सय ४३ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र २२४ जना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४ गरि उपत्यकामा मात्र २२४ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङका ३१, संखुवासभामा २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुनसरीमा २३, धनुषमा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८, सिरहामा १०, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, मकवानपुरमा १८, रामेछापमा २, सिन्धुपाल्चोकमा ५, कास्कीमा २, गोर्खामा १, तनहुँमा ३, नवलपरासीमा १०, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, पाल्पामा २ जनामा संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्रस्तैगरी वर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ६, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा १९, रुकुममा १८, सुर्खेतमा ११, कञ्चनपुरका १९, कैलालीमा ७९, डढेलधुरामा ४, दार्चुलामा १, बाजुरामा १ तथा बैतडीमा ३ जना संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष,मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीया महिला र रुपन्देहीकै अन्य तीन जना पुरुष रहेको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङ अन्र्तगत सोमबारको प्रेस बिफ्रिङमा जनाकारी गराएका हुन् ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

पाल्पामा पिसिआर मेसिन जडानका लागि एक करोड निकासा

पाल्पा । कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसिआर मेसिन जडानका लागि रु एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै परीक्षणको दायरा फराकिलो बनाउन जिल्लामा मेसिन जडानका लागि रकम निकासा भएको हो ।

कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १० औँ बैठकबाट रु एक करोड निकासा भएको छ । जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पिसिआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले बताउनुभयो । सो मेसिन जडानका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा रकम आइसकेको सांसद पाण्डेयले जानकारी दिए ।

मेसिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै पिसिआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय बताएका छन् । उनका अनुसार जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पिसिआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ ।

जिल्लामा पिसिआर परीक्षण गर्ने विधि नहुँदा प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब सङ्कलन गरी पठाउने गरिएको छ । स्वाव सङ्कलन गरेर पठाए पनि समयमा नै रिपोर्ट नआउँदा लामो समयसम्म नतिजाको पर्खाइमा बस्नुपर्ने बाध्यता थियो । अब भने जिल्लामै पिसिआर परीक्षण हुने भएपछि छिट्टै नतिजा थाहा पाउन सकिन्छ । यहाँ पिसिआर मेसिन सञ्चालनमा आएपछि पाल्पासँगै गुल्मी, अर्घाखाँचीलगायत जिल्लाको स्वाब परीक्षण गर्न सहज हुनेछ ।

स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने

काठमाडौँ । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाव सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिबाट भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवत्ता बच्चुराज बस्यालले कोभिड–१९ नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरको आधारमा १०० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । उक्त भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराउने नगर प्रवक्ता बस्यालले बताए ।

यस्तै बैठकले कोभिड–१९ नियन्त्रणमा अप्रत्यक्ष खटिने अन्य सवारी चालक, स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । एउटै व्यक्तिले दोहोरो भत्ता लिन नपाइने व्यवस्थासमेत टोखाले गरेको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि खाना तथा खाजा खर्चको रकम नगर उपप्रमुखको संयोजकत्वमा रहेको समितिले निर्णय गरी सिफारिस गरेबमोजिम उपलब्ध गराइने जानकारी दिए । बैठकले ६० औँ बैठकमा प्रत्येक वडा कार्यालयबाट खटिएका बढीमा १५ जना स्वयंसेवकलाई वडा कार्यालयको सिफारिसका आधारमा राष्ट्रिय बिमा कम्पनीमार्फत कोरोना बिमा प्रक्रिया अगाडि बढाउने निर्णय भए पनि ६१ औँ बैठकले २० जनासम्मको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

यस्तै टोखा–२ मा रहेको सार्वजनिक जग्गामा आइसोलेसन सेन्टर स्थापनाका लागि स्रोत, साधन, आवश्यकता र औचित्यताका आधारमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको नगरप्रमुख अधिकारीले बताए।

कार्यपालिकाको बैठकले नगरपालिकाअन्तर्गत वडाध्यक्षले बुझिलिएका मोटरसाइकल, स्कुटर वडा कार्यलयको नाममा हस्तान्तरण गर्ने तथा नगरपालिकालाई आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धित उपकरण खरिदका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । टोखा–२ चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन बागमती प्रदेश सरकारलाई सिफारिस गर्ने भएको छ ।

नगरपालिकाभित्रका खाद्यान्न, तरकारी तथा फलफूल, दुग्धजन्य तथा मासुजन्य पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न दिँदै आएकोमा आगामी दिनदेखि ५ बजेदेखि ९.१५ बजेसम्म खोल्न दिने बैठकले निर्णय गरेको छ । टोखामा अहिलेसम्म ९२ जनामा कोरोना सङ्क्रमण देखिइसकेको छ । तीमध्ये ६३ जना सक्रिय सङ्क्रमित छन् । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै शनिबार मात्र १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ ।