उद्योग सञ्चालन गर्न व्यापार सङ्घ र उद्योग सङ्गठनको माग

मोरङ । उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसायलाई निरन्तर सञ्चालन गर्न मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनले माग गरेका छन् । दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेको हस्ताक्षरमा जारी विज्ञप्तिमा विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी अझै लामो समय हाम्रो माझ रहिरहने प्रक्षेपण गरेको सन्दर्भमा सङ्मक्रणको जोखिमबाट बच्न विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी आचारसंहिता अनिवार्य पालना गर्ने जनाइएको छ ।

कोरोना भाइरसबाट बच्न एक मात्र विश्वासिलो आधार सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, निर्मलीकरण गर्ने तथा साबुनपानीले हातधुने भएकाले यसको प्रयोगलाई सबै उद्योगी व्यापारीले कडाइका साथ पालना गर्न अपिल गरिएको छ । महामारीको यस अवस्थामा उत्पादन प्रक्रियालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पुर्याउँदै आएका उद्योग व्यवसायलाई सहजरूपमा सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गरिदिन तीनै तहका सरकारसँग एवं स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार ४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न तरुण दलको माग

काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार गर्नेहरुलाई कारबाही गर्न नेपाल तरुण दलले सरकारसँग माग गरेको छ ।

तरुण दलले कोरोना संक्रमणको महामारीको बेला अग्रपंतिमा रहेर सेवामा खटिएकाहरुले मनोबल बढाउने कार्य गर्नुपर्ने समयमा दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको हो ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अमानवीय व्यवहारमा संलग्न जोसुकै होस् कारबाहीको दायरामा ल्याउन र अग्रपंतिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति तरुण दलले सम्मान प्रकट गरेको छ ।

कुइनेमङ्गलेको झोलुङ्गे पुल बाढीले बगायो, आवत जावतमा समस्या

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए । “खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउँमा जान पाइएको छैन,” उनले भने “खोलामा जङ्घार तरेर अथवा घुमाउरो बाटो हिँड्नुपर्ने भएकाले जनजीवन कष्टकर भएको छ ।”

दुवाडी र ढाड जोड्ने बन्दीघाटको ७८ मिटर र खरिबोटस्थित १ सय १८ मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए । “एकरातेको ६० मिटर लामो भाकर झोलुङ्गेपुल र छहरीस्थित ७८ मिटर लामो झोलुङ्गे पुलको एकातर्फको भाग नदीमा खसेको छ,” उनले भने “दुवाडी, घ्याँसीखर्क, पात्लेखर्क, चौरखानी, खरिबोटलगायत बस्तीका २०० भन्दा बढी घरधुरीलाई आवतजावतमा समस्या भएको छ ।”

विसं २०७७ को साउन महिनायता विभिन्न समयमा रघुगङ्गा नदीमा आएको बाढीले पुल बगाएको हो । बगाएको सबै पुल रघुगङ्गा नदी माथिका हुन् । सबै पुलको दायाँतर्फको भागमा कटान गरेर बगाएको छ । कुइनेमङ्गले म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँ हो ।

यसैगरी पहिरोले कुइनेमङ्गलेका विभिन्न बस्तीमा पाँच घर पुरिएका र २१ घर विस्थापित भएका छन् । दुवाडीमा दुई वटा र पात्लेखर्कमा एउटा घर पुरिएका तथा छहरीमा दुई वटा घर रघुगङ्गा नदीले कटान गरेर बगाएको वडाध्यक्ष छन्त्यालले बताए ।

चौरखानीमा एउटा सामुदायिक भवन, १० घर र दुवाडीमा १० घरमा क्षति पुगेको छ । पहिरोका कारण जमिन धाँजा फाटेर चिरा पर्न थालेपछि स्थानीयले घर छाडेका छन् । चौरखानीका चन्द्रबहादुर छन्त्याल, दलबहादुर विक, नरप्रसाद छन्त्याल, थमबहादुर छन्त्याल, उत्तम छन्त्याल, रेमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्क छन्त्याल र नरमान छन्त्यालको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

रु १४ लाख खर्चेर दुई वर्षअघि चौरखानीमा निर्माण गरिएको सामुदायिक भवनसमेत पहिरोका कारण चिरा परेर भत्किएको छ । बाउन्न घर भएको चौरखानीमा हाल ३७ परिवारको बसोबास छ । पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चौरखानीका बासिन्दालाई अन्यत्र स्थानान्तरण गराउनुपर्ने बस्तीको सूचीमा राखेको छ ।

जग्गा पहिचान हुन नसक्दा बस्ती स्थानान्तरणको योजना कार्यान्वयन हुन सकेको छैन । भूगर्भविद्को टोलीले अध्ययन गरेर बस्ती सार्न सुझाव दिएका थिए । यसैगरी घ्याँसीखर्क हुँदै चौरखानी जोड्ने पदमार्गसमेत पहिरोले भत्काएको छ । रघुगङ्गा गाउँपालिकाले गत आर्थिक वर्षमा रु १३ लाख खर्चेर ढुङ्गाको सिँढी चिनेर चौरखानी पुग्ने पदमार्ग बनाएको थियो ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले काठमाडौँ उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भएपनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन । अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै शेयर कारोबार गरेका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.७७ बिन्दुले बढेर एक हजार ४१०.३४ मा पुगेको छ । यस्तै कारोबार पनि आज रु। एक अर्ब माथि भएको छ ।

कूल १८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता शेयर रु एक अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार २.५६, जलविद्युत् १.३८ र सामूहिक लगानी कोष ०।०३ ले घटेको छ । यस्तै बैंकिङ ४.८, होटल २३.९४, विकास बैंक ७.९३, वित्त ६.०३, निर्जीवन बीमा २३३.२२, उत्पादन ८८.२३, अन्य ४.१४, लघुवित्त २३.६१ र जीवन बीमा १७३.८४ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ६४ लाख तीन हजार ८१९ बराबरको कारोबार भइ शीर्ष स्थानमा रह्यो । यस्तै, शिवम् सिमेन्ट रु सात करोड १९ लाख ८७ हजार ३८१, नेपाल पुनरबीमा कम्पनी रु ६ करोड ६८ लाख ११ हजार ३३०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५ करोड ७४ लाख ५६ लाख ८५, प्रभु इन्स्योरेन्स कम्पनी रु चार करोड २४ लाख ९७ हजार ५५१ र नेपाल इन्स्योरेन्स कम्पनी रु तीन करोड ५३ लाख ३९ हजार १४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार समृद्धि फाइनान्स ९.७७, नेको इन्स्योरेन्स ७.२४, तारागाउँ रिजेन्सी होटल ६.५०, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनीले ६.३७ प्रतिशतले कमाए । पञ्चकन्या माइ हाइड्रो पावर ३.७०, यूनियन हाइड्रोपावर ३.२८, साधना लघुवित्त २.७२, साञ्जेन जलविद्युत कम्पनी २.१९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज मृत्यु भएको छ । मृतक दुवै रुपन्देही जिल्लाका रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनीहरुको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाई गाउँपालिका– २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका –१ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले आज जारी गरेको सूचनामा जनाइएको छ ।
मृतकमध्येकी महिलालाई गत साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनी मिर्गौला र उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ । आज बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै समरीमाईका पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए । उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा आज अपराह्न मृत्यु भएको अस्पतालको सूचनामा जनाइएको छ ।
कोरोना विशेष अस्पतालमा अहिले ३५ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १४ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए ।

चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण

काठमाडौँ । चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १० बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको हो ।

गाओफेन–९ ०५ नामक उक्त उपग्रह लङमार्च टुडी रकेट’ को माध्यमबाट प्रक्षेपण गरिएको हो । उक्त बुहुउपयोगी उपग्रहसँगै टिन्टुओ–५ नामको अर्को उपग्रह पनि प्रक्षेपण गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।

आइतवारको उक्त प्रक्षेपण लङमार्च रकेट श्रृङ्खलाको ३४३ औँ प्रक्षेपण भएको बताइएको छ ।

तालिबान आक्रमण, चार प्रहरी मारिए

काठमाडौँ । दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएको सुरक्षा स्रोतले जनाएको छ ।

पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ ।

अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण गरेको छ । गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच अफगानिस्तानमा शान्ति बहाली गर्नेसम्बन्धी महत्वपूर्ण सम्झौता भइसकेको छ ।

उक्त सम्झौतामा तालिबान समूहले आफगानिस्तानमा जारी हिंसात्मक कारबाहीलाई न्यून गर्ने, अफगान सरकारसँग शान्ति वार्ता गर्ने, अफगान कारागारमा बन्दी तालिबान लडाकूलाई मुक्त गर्ने, युद्धविराम गर्ने लगायतका विषय समेटिएका छन् ।

थप ८ सय १८ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय १८ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै आइतबार थप २८१जना कोरोना भाइरस संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म १८६३१ जनाले कोरोना जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

सहसचिवद्वय ढकाल र राना मगर महाबाणिज्यदुतमा सिफारिस

काठमाडौँ । नेपाल सरकारका दुई सहसचिव नवराज ढकाल र उदय रानामगर ल्हासा र हङकङको ५ महिनादेखि रिक्त रहेको महाबाणिज्यदूतका लागि सिफारिस भएका छन । नुवाकोट जिल्ला स्थायी घर भएका राना झापाको प्रमुख जिल्ला अधिकारी रहेका छन भने ढकाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले हङकङका लागि राना र ल्हासाका लागि ढकालको नाम सिफारिस गरेको हो । सम्भवत भोलीसोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई महाबाणिज्यदूतमा चार वर्षका लागि नियुक्त गर्नेछ । महाबाणिज्यदूतमा सिफारिस भएका राना र ढकाल दुबै नेपाल सरकारका इमान्दार कर्मचारी हुन । ढकाल नुवाकोटको बेलकोटगढी एउटै नगरपालिका स्थायी बासिन्दा हुन ।

सुदूरपश्चिममा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा भदौ ७ गते थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा बिदा दिइएको बताए ।

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । विसं २०७७ मा दिइने बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ ।

दुर्घटनामा परि मृत्यु भएको परिवारको लागि क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ

कञ्चनपुर । जिल्लाको महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै शनिबार दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

मृतक बमको शवसहित क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । महाकाली–६ मा शुक्रबार मोटरसाइकल दुर्घटना हँुदा बमको मृत्यु भएको थियो । बम महाकाली–१ का बासिन्दा हुन । स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन् । मोटरसाइकलमा सवार अर्का कुमार बुढा घाइते छन् । भारतीय नम्बरको युके०६एएफ ८४२६ नंको मोटरसाइकल युके०६ए०६ए ५८१२ नं को मोटरसाइकलसित ठोक्किएको थियो ।

मोटरसाइकल ठोक्किएपछि बम बेहोस भएका थिए । उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको थियो । उनीसँगै मोटरसाइकलमा सवार बुढाको खुट्टा भाँचिएको छ ।

समस्या समाधानका लागि छलफल

सवारी दुर्घटनामा परी ज्यान गुमाएका युवकलाई क्षतिपूर्ति माग्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि अहिले छलफल शुरु भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । इलाका प्रहरी कार्यालय दोधारामा मृतक युवकका आफन्तसहित जनप्रतिनिधि र प्रहरीबीच समाधानका लागि छलफल शुरु गरिएको छ ।

छलफलमा नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१ का अध्यक्ष अर्जुनदत्त भट्ट, दिलबहादुर सिंह, प्रहरी निरीक्षक बमलगायत छलफलमा बसेका छन् । स्थानीयवासीले मृतक युवकका परिवारका लागि रु सात लाख क्षतिपूर्तिको माग गरेका छन् ।

कार्यदलले प्रतिबेदन बुझायो,आम कार्यकर्ताले के दिए सुझाव

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको आयोगले प्रतिवेदन बुझाएको छ। कार्यदलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएको हो।

कार्यदलको प्रतिवेदनले दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ ।

नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो। पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा र शंकर पोखरेल छन्।

कार्यदलको प्रतिवेदनले दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ । कार्यदलमा रहने सबैलाई मन्त्री बनाउदा पदकै लागि कार्यदलमा बसेका रहेछ्न भन्ने सन्देश भने जाने भएको छ। कार्यदलमा बस्ने महासचिव पौडेल भने अब बन्ने मन्त्रीमण्डलमा नसमेटिने बुझिएको छ। यसैबीच आम कार्यकर्ता तहबाट दिएका सुझाव भने भएका सबै मन्त्रीहरूलाई हटाएर नेताहरूबीच सहमति गरि नयाँ अनुहारहरु समेट्न सके पार्टी र प्रधानमन्त्री केपि शर्मा ओलिलाई थप उर्जासहितको सफलता मिल्ने बताइएको छ ।

एनआइसी एसियाको यस्तो छ ७ प्रदेशका लागि तालिका, उपत्यकामा आज यी ४ शाखा खुल्ला,

काठमाडौँ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउँन ३ गते राती १२ बजेदेखि १० गते सम्मको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सिमित मात्रामा खोल्न निर्देशन दिएको हो । सरकारको निर्देशनलाई पालना गर्दै एनआइसी एसिया बैकले आज (आइतबार) उपत्यकामा पुलचोक, नयाँ वानेश्वर सामाखुसी र सीतापाइलाको गरि ४ शाखा सञ्चालनमा ल्याएको छ । यी चार शाखा सहित बाग्मती प्रदेशमा कर्पाेरेट अफि ब्रान्च, स्याफुल मन्थली पाँचखाल र सिन्धुलीका शाखा सञ्चालनमा ल्याएको छ ।

यसैगरि प्रदेश १ मा २८ शाखा कार्यालय र ५ एक्सटेन्सन काउन्टर, प्रदेश २ मा ५ शाखा कार्यालय सहित १ एक्सटेन्सन काउन्टर, गण्डकी प्रदेशमा ३ शाखा कार्यालय सहित ३ एक्सटेन्सन काउन्टर, प्रदेश ५ मा २१ शाखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर र १ विस्तारित काउन्टर खुल्ला रहने छन् ।
यसरी नै कर्णाली प्रदेशका ६ शाखा कार्यालय खुल्ला रहने छन् ।
बैंकका अनुसार शाखाहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रहने छन् ।

मेगाका मुख्य कार्यालय सहित आज यी ४ शाखा खुल्ला, यस्तो छ तालिका

काठमाडौँ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउँन ३ गते राती १२ बजेदेखि १० गते सम्मको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सिमित मात्रामा खोल्न निर्देशन दिएको हो । सरकारको निर्देशनलाई पालना गर्दै मेगा बैकले निषेधाज्ञा अवधिभरको लागि कुन शाखा कहिले खुल्ने भनेर तालिका सार्वजनिक गरेको छ । सोही अनुसार आज (आइतबार) उपत्यकाको मुख्य कार्यालय कमलादी, खिचापोखरी (साबिक गण्डकी बि.बैं), पाटन (प्रयोगपोखरी), सुकुलढोका (भक्तपुर) र ठमेलको शाखा सञ्चालनमा ल्याएको छ ।

त्यस्तै सोमबार मुख्य कार्यालय कमलादी, न्यूरोड खिचापोखरी, जावलाखेल, नयाँ ठिमी र ठमेलको शाखा खुल्ला रहने छन्, भने मंगलबार मुख्य कार्यालय कमलादी, नयाँ बानेश्व ( शुभलक्ष्य भवन), कुमारीपाटी, पुरानो ठिमी र ठमेलको शाखा खुल्ला रहने छन् ।
यसरी नै सरकारको २ गतेको निर्णय अनुसार निषेधाज्ञाको अन्तिम दिन बुधबार मुख्य कार्यालय कमलादी, नयाँवानेश्व ( चोक) पाटन(प्रयागपोखरी) सुर्यविनायक र ठमेलको शाखा खुल्ला रहने बैंककले जनाएको छ ।

बैंकका अनुसार शाखाहरु दिउँसो ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने छन् ।

साथै उपत्यका बाहिरको हकमा यो हप्तााभर निम्नानुसार शाखा खुल्ला रहने बैंकले जनाएको छ ।