निषेधाज्ञा अवधिभरको लागि नविलको यस्तो छ तालिका,उपत्यकामा आज यी ४ शाखा खुल्ला

काठमाडौँ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउँन ३ गते राती १२ बजेदेखि १० गते सम्मको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सिमित मात्रामा खोल्न निर्देशन दिएको हो । सरकारको निर्देशनलाई पालना गर्दै नविल बैकले निषेधाज्ञा अवधिभरको लागि कुन शाखा कहिले खुल्ने भनेर तालिका सार्वजनिक गरेको छ । सोही अनुसार आज (आइतबार) उपत्यकाको कान्तिपथ, कुमारीपाटी, कमलविायक र मैतिदेविका शाखा सञ्चालनमा ल्याएको छ ।

त्यस्तै सोमबार महाराजगंज, ग्वार्काे, कमलविनायक कुलेश्वरका शाखा खुल्ला रहने छन्, भने मंगलबा नयाँवानेश्वर, सातदोबाटो,कमलविनायक र तिनधाराका शाखा खुल्ला रहने छन् ।
यसरी नै सरकारको २ गतेको निर्णय अनुसार निषेधाज्ञाको अन्तिम दिन बुधबार त्रिपुरेश्वर, भैँसीपाटी, कमलविनायक र चावहिलका शाखा खुल्ला रहने बैंककले जनाएको छ ।

बैंकका अनुसार शाखाहरु दिउँसो ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने छन् ।

साथै उपत्यका बाहिरको हकमा शाखा खुल्ने समय तालिका स्थानिय निकाय÷अधिकार प्राप्त निकायले सुचना जारि गरिएको स्थानमा उक्त सुचनाको आधारमा र त्यस बाहेकका स्थानमा नियमित रुपमा खुल्ला रहने बैंकले जनाएको छ ।

स्वाब दिए पछि अनिवार्य क्वारेन्टिनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौँ । पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरिएको बताए ।

सरकारी अस्पतालका नर्सिङ, पारामेडिसिनहरुले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन उउनले अनुरोध गरे ।

यस्तै काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरुलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा गौतमले अनुरोध गरेका छन् ।

नेपालमा अहिलेसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार १ सय १७ जनामा सङ्क्रमण, १८ हजार ३ सय ५० जनामा सङ्क्रमण निको र १ सय ४६ जनाको स¬ङ्क्रमणका कारणले मृत्यु भइसकेको छ ।

“पिसीआर पोजेटिज आइसोलेसनमा गएकासँग सम्पर्कमा रहेका प्राइमरी कन्ट्याक्टले सङ्क्रमितसँग सम्पर्क भएको अन्तिम दिनदेखि गणना गर्दा पाँचदेखि सात दिनभित्रमा स्वाब दिन अनुरोध छ”, उनले भने, “सङ्क्रमितसँग भेटेको तुरुन्तै पिसीआर परीक्षण गरेपछि ‘फल्स नेगेटिभ’ आउँछ । नेगेटिभ आयो भनेर ढुक्क हुने तर सङ्क्रमणमा हुने डर हुन्छ । त्यसैले पाँचदेखि सात दिन कुर्नु पर्दछ र उक्त समयमा छुट्टै क्वारेन्टिनमा समेत बस्नुपर्दछ ।”

काठमाडौँ उपत्यकामा नमूना परीक्षणका लागि १४ वटा अस्तालमा स्वाब सङ्कलन केन्द्र राखिएको छ । त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्तपाल, निजामती अस्पताल, स्टार अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरीको बलम्बु अस्पताल, ह्याम्स अस्पताल, नेपाल–चीनमैत्री अस्पताललगायतका १४ अस्पतालमा गई स्वाब दिनका लागि सङ्क्रमणको जोखिम भएका व्यक्तिलाई आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।

पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

यस्तै, शनिबार १ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै देशभर डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ ।

उपत्यकामा थप २ सय १६ जनामा संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय १६ जनालाई संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २ सय १६ जनाको कोरोना संक्रमण भएको हो ।

उपत्यकाको काठमाडौं जिल्लामा एक सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ५ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६ वर्षीय बालिकासहित ९ जनाको मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेमा संक्रमितको ०।५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए।

लिदी पहिरोमा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, अझै ७ बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पहिरामा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए ।

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौँ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो ।


उपचारका लागि आएलगत्तै उहाँको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको छ । चितवन मेडिकल कलेजको प्रयोगशाला हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकाले नतीजा सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्याबमा शुक्रबार राति गरिएको पुनः परीक्षणमा समेत उहाँको पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।


सोही मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको नतीजा आउन बाँकी रहेको उनले बताए । अहिले तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । सो मेडिकल कलेजमा नेपाल र भारतका सीमा क्षेत्रबाट धेरै बिरामी उपचारका लागि आएकाले कोरोना सङ्क्रमण देखिने क्रम बढेको छ ।

विश्व स्वास्थ्य संगठनले लेबनानमा पुनः स्वास्थ्य सहायता सामग्री पठायो

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले बेरुतमा थप स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । सो संगठनले लेबनानमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री पठाइने घोषणा यसअघि नै गरेको थियो । यसअघि पनि अगष्ट महिनाको पहिलो हप्तातिर पहिलो पटक सामग्री पठाएको थियो ।

लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय सहायता स्वरुप त्यहाँ ती स्वास्थ्य सामग्री पठाइदिएको जनाइएको छ । लेबनानको राजधानी बेरुतमा केही समय अघि भएको शक्तिशाली विस्फोटमा परी कैयौँको ज्यान गएको थियो । त्यसैगरी सो विस्फोटले देशमा ठूलो जनधनको क्षति हुन पुगेको थियो ।

लेबनानका नागरिकले यहाँको सरकार र प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन शुरु गरेका र यसबाट राजनीतिक संकट आउने भन्दै विश्व स्वासथ्य संगठनले कोभिड १९ को रोकथाम र नियन्त्रणमा सहयोग पुग्नेगरी ती सामग्री पठाएको थियो ।

सोही कारण सो संगठनले यो सहयोगको घोषणा गरेको हो । बेइरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँ दुर्घटना भएको थियो । लेबनानमा एकातर्फ विस्फोटका कारण ठूलो जनधनको क्षति भएको थियो भने अर्कातर्फ यहाँका नागरिकले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेकोले अवस्था निकै अप्ठेरो भएकोले लेबनानलाई कोभिड १९ विरुद्ध लड्नका लागि सहयोगस्वरुप ती सामग्री पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले लेबनानमा पुगेर यहाँका नागरिकको कोभिड १९ बाट हुने संक्रमणको जोखिम कम गर्नका लागि पनि सहयोग गरिरहेको बताएको छ ।

अमेरिकामा बेरोजगारी बीमा आवेदन गर्ने १० लाखभन्दा बढी

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन गरिरहेका बताइएको छ ।
यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको हो । अमेरिकाबाट प्राप्त भएको समाचारमा सो कुरा जनाइएको छ ।

अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यस्तो अवस्था आएको हो । गएको पाँच महिनामा अमेरिकामा कोरोना भाइरसको प्रकोप देखिएको छ । यहाँ हाल कम्तीमा पनि ५६ लाख नागरिकलाई कोरोनाको संक्रमण देखिएको छ । जसका कारण यहाँको अर्थतन्त्र तथा रोजगारीहरुमा पनि नराम्रोसँग ह्रास आएको पाइएको छ ।

यस्तो बेरोजगारी संख्या यहाँ बढ्दै गएको देखिएको छ । पछिल्लो समयमा ११ लाख नागरिकले बेरोजगारी बीमाको फारम भरेका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा बढी हो । अघिल्लो हप्ता यहाँ यो फारम भर्ने व्यक्तिको संख्या ९ लाख ७० हजार मात्र थियो ।

यहाँको सरकारले महामारी बेरोजगार सहायता पनि दिइरहेको छ । सो सहायता अन्तर्गत यो बीमा पनि पर्दछ । त्यसैले नागरिकहरुले पहिलो पटक यति धेरैले यो फारम भरेका हुन् । यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले अमेरिकामा कारोना भाइरसको प्रकोप अहिलेजस्तो गरी बढ्दै जाने हो भने यो बेरोजगार नागरिकहरुको दर पनि ठूलो मात्रामा बढ्दै जाने बताएका छन् ।

प्रदेश नं २ मा मात्रै संक्रमणबाट ५२ जनाको मृत्यु

काठमाडौँ । मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२ जनाको कोरोनाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।

यस प्रदेशअन्तर्गतका आठवटै जिल्लाबाट कोरोनाको सङ्क्रमणको चपेटामा परेको छ । सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको देखिएको छ । सो जिल्ला कोरोनाबाट २५ जनाको ज्यान गइसेकेको छ भने दोस्रो धनुषा जिल्लामा नौ जनाको मृत्यु भएको छ । त्यस्तै, बारामा छ, सप्तरीमा चार, रौतहटबाट तीन, महोत्तरी र सिरहाबाट दुई÷दुई र सर्लाही जिल्लामा एकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार अपराह्नसम्म यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ६३ पुगेको छ । सोमध्ये तीन हजार ९८४ जना उपचार गराई घर फर्केका छन् भने तीन हजार ८९५ जनाको उपचार भइरहेको छ । प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्य तीव्र रुपमा भइरहेको छ । अहिलेसम्म ८५ हजार ७६४ को स्वाबको नमूना सङ्कलन गरिएको छ । सङ्कलित स्वाबमध्ये ७२ हजार ७८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ९१२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

भारतबाट आउने वा सशङ्कित व्यक्तिका लागि यस प्रदेशमा निर्माण गरिएको २१७ वटा क्वारेन्टिनमा १३ हजार ७४८ वटा शय्याको व्यवस्था गरिएको छ । ती क्वारेन्टाइनमा एक हजार ३२७ जनालाई क्वारेन्टिन राखिएको छ भने होम क्वारेन्टिनमा दुई हजार १८८, आइसोलेशनमा ४६१ र होम आइसोलेशनमा ७६२ जना बसेका छन् ।
यस प्रदेशको आठवटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ । भारतमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । सीमानामा आवतजावतमा रोक लगाइएको भएपनि लुकिछिपी भित्रिने व्यक्तिमध्ये कतिपय कोरोनाबाट सङ्क्रमित पाइएका छन् । त्यस्ता व्यक्तिहरु परिवारमा घुलमिल गरेर बसेपछि कोरोनाको सङ्क्रमण ह्वात्तै बढेको देखिएको छ ।

बालिकालाई अपहरण गरी बलात्कार

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन ।
विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डरीले बताउनुभयो । पीडित बालिकालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्रहरी कार्यालय बानियाभार राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले उक्त योजनाका बारेमा जानकारी गराउनु भएको हो ।

इराकमा पछिल्ला वर्षहरुमा इरान समर्थित अतिवादीहरुको प्रभाव बढ्न थालेको तथा इस्लामिक स्टेटका लडाकूहरु पुनः सक्रिय हुन थालेको भन्दै प्रधानमन्त्री मुस्तफाले राष्ट्रपति ट्रम्पसँग विचारविमर्श गर्नु भएको थियो ।

ह्वाइट हाउसमा प्रधानमन्त्री मुस्तफासँगको भेटमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामी इराक छाड्न व्यग्र छौं, र म त्यो दिनको प्रतिक्षामा छु ।”

ट्रम्पले भन्नुभयो, “हामी इराकमा थियौं र अब हामी छाड्दैछौं । हामी जतिसक्दो चाँडो इराकबाट बाहिरिने छौं र हामीबीचको सम्बन्ध जहिल्यै सुमधुर छ । हामीबीच ठूलै स्तरमा तेलसम्बन्धी सम्झौता हुँदैछ । हाम्रा तेल कम्पनीहरुले इराकमा ठूलो लगानी गर्दैछन् । हाम्रो विश्वासमा इराकीहरुले आफ्नो मुलुकको रक्षा आफैं गर्न सक्षम छन् ।”

अमेरिकी सेनाको फिर्तीको समयसीमाका बारेमा सोधिएको एक प्रश्नमा अमेरिकी विदेशमन्त्री माइप पोम्पेओले हाम्रो अभियान समाप्त भएलगत्तै हामी इराक छाड्छौं भन्नुभयो । उहाँले राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्न आदेश दिइसक्नु भएको छ, र त्यही अनुसार काम अघि बढिसकेको जानकारी दिनुभयो ।

इराकमा हाल पाँच हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । गत महिना अमेरिकाका वरिष्ट सैनिक जनरलले इराकमा सानो संख्यामा अमेरिकी सैनिक तैनाथ रहने बताउनुभएको थियो । अमेरिकी केन्द्रीय कमान्डका कमान्डर जनरल फ्रान्क म्याकेन्जीले इराकी सरकारले अमेरिकी सेनाको उपस्थितिलाई स्वागत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अमेरिकी समर्थनप्राप्त इराकी प्रधानमन्त्री अल–काधिमी गत मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अमेरिका–इरानबीचको शत्रुतापूर्ण सम्बन्धका कारण काधिमीले दुबै देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्न निकै ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ ।

इरानको कुनै सन्देश लिएर वासिङ्टन आउनुभएको थियो कि भन्ने प्रश्नमा इराकी प्रधानमन्त्री काधिमीले “आफू अमेरिका भ्रमणमा जाँदा हुलाकी भएर नजाने” बताउनुभएको छ ।

इराक र इरानबीच सांस्कृतिक र धार्मिक सम्बन्ध रहिआएको छ, र यसलाई अमेरिकाले मान्यता दिएको छ । तर इराकभित्र इरान समर्थित लडाकूको चलखेल रोक्न अमेरिकाले विगतदेखि नै प्रयत्न गरिरहेको छ ।

बुधबार नै अमेरिकी ऊर्जा मन्त्री डान ब्राउलेटले आठ अर्ब डलर बराबरको लगानी गर्न निजी क्षेत्रका अमेरिकी कम्पनीहरुसँग सम्झौता भएको बताउनुभएको थियो । उक्त सम्झौतामा इराकी इन्धन तथा विद्युत मन्त्री र पाँच वटा अमेरिकी कम्पनीबीच हस्ताक्षर भएको थियो ।

इराकमा लगानी गर्न इच्छुक निजी क्षेत्रका कम्पनीहरुमा हनीवेल, बेकर ह्युजेज, जिई, स्टेलार र चेभरोन रहेका छन् ।

विश्वभरी दुई करोड २२ लाख संक्रमित, एकै दिन साढे दुई लाख थपिए

काठमाडौँ । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको जानकारी अनुसार विश्वभरीको कुल सङ्क्रमित संख्या दुई करोड २२ लाख ५६ हजार २२० पुगेको छ ।

ती मध्ये दुई लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ ।

सोही अवधिमा अरु छ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि सबैजसो देशहरुले लकडाउन समेतका अनेक उपायहरु अपनाए पनि प्रामाणिक औषधिको अभावमा सङ्क्रमित र मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको छ ।

प्युठानमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

प्युठान । प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए।

घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो ।

मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिनुभयो । उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।