सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।
एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८वर्षीया ललिता दोङको शव फेला परेको हो । यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन् ।
हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा मात्रै छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
Month: February 2022
गोली हानेर पुजारीको हत्या
रौतहट । रौतहटको एक पुजारीको हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिकामा २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।
बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हाजी हत्या गरेका प्रहरीलेि जनाएको छ।
बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।
कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ
सिरहा । सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयको लाठी प्रहारबाट अनुहार र शरीरका भित्री भागमा चोट लागेको राउतको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनालगतै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपमा स्थानीय ४७ वर्षीय बालदेव साह, ३८ वर्षीय कमलेश राउत, ४६ वर्षीया लिला देवी राउत र २२ वर्षीया सुलेखा राउतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई भारतीय पक्राउ
काठमाडौँ । स्रोत नखुलेको लाखौं रुपैँयासहित २ भारतीय महिला पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका ती महिलाको साथबाट स्रोत नखुलेको रु ६ लाख ४० हजार बुधबार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
रकमसहित पक्राउ पर्नेमा भारतको विहार राज्य, सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं १ सिन्दुरीयाका समान उमेरका ४५ वर्षीया शान्ति देवी र सोही ठाउँ बस्ने मिना देवी पक्राउ छन् । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले ती महिला प्लाष्टिकको झोला चेक गर्दा श्रोत नखुलेको सो रकम फेला पारेको तथा उनीहरुमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक खड्काले बताए।
भवन विभागमा ठूलो भस्ट्राचार, अख्तियार रमिते
काठमाडौँ। केहिदिन अघि मात्र रेल विभागको ठेक्कामा अरबौँको रेटिङ भईरहेको समाचार आइरहेको छ। यसैगरी शहरी विकास तथा भवन निर्माण विभागका २ वटा आयोजनाको ३३ अर्ब ७० करोड रुपैयाँको ठेक्कामा पनि सेटिङ गरी प्रतिष्पर्धा नै नगराई १० अर्बभन्दा बढी अनियमितता भएको तथ्य प्राप्त भएको छ। विभागको यो अनियमितता तथा सेटिङका बारेमा दुनियाँ बेखबर बनेको छ।
सडक विभाग, खानेपानी विभाग, रेल विभागका ठेक्काका सेटिङका बारेमा बारम्बार समाचार आउने गर्दछन् । तर शहरी विकास तथा भवन निर्माण विभागमा भएको ३३ अर्बभन्दा बढीको ठेक्कामा भएको सेटिङका बारेमा सरोकारवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि कुनै पनि निकायले चासो नदिए पछि सुशासन चाहनेहरु चिन्तित बनेका छ्न। साना तहका कर्मचारीलाई कानुनी डण्डा तेर्साउने निकाए यतिबेला कता छ खोजिको बिषय बनेको छ।
एकीकृत शहरी विकास आयोजना (आईयूडीपी) र क्षेत्रीय शहरी विकास आयोजना (आरयूडीपी) को कन्सलटेन्सी र कन्स्ट्रक्सनको ३३ अर्ब १७ करोडको बजेटमा चरम अनियमितता भएको छ। जसमा शहरी विकास मन्त्री, सचिव र भवन विभागका महानिर्देशक, उपमहानिर्देशकदेखि आयोजना प्रमुखसम्मको मिलेमतो रहेको बताइएको छ।
यी दुई आयोजनाको ठेक्कामा कन्सलटेन्सी र कन्स्ट्रक्सनको काममा कम दरमा बोलपत्र पेश गरेकालाई ठेक्का नदिई ३० प्रतिशत भन्दा बढी कबोल गर्नेलाई दिएर अरबौं अनियमितता गरिएको प्रमाण एथेष्ट रहेको स्रोतले जनाउँछ। यो ठेक्कामा परामर्शदाता छनौट र निर्माणका ठेकेदारसँग सेटिङ गरी प्रतिष्पर्धालाई सीमित गराएर १० अर्ब नेपाल सरकारलाई नोक्सानी व्याहोर्नु परेको छ। यसमा अनियमितता गर्नमा मुख्या हात रहेका मणिराम गोलाल अहिले भवन विभागका महानिर्देशक छन्।
आयोजना प्रमुख चक्रवर्ती कन्ठलाई उनले अहिले पनि भवन विभागको आकर्षक महाशाखा प्रमुखमा राखेका छ्न। आवास महाशाखा र योजना महाशाखाका प्रमुख कन्ठले अहिले पनि खर र झिंगटीको छाना हटाई जस्तापाता लगाउन दिने अनुदान दिंदा अहिले पनि कमिसन दिने गाउँपालिका वा नगरपालिकामा बजेट दिने गरेका छन् ।
गेलालसहितको टीमले कन्ठलाई उपसचिव हुँदै आईयुडीपी र आरयुडीपीको प्रमुख बनाएको थियो । सहसचिवले नांगो भ्रष्टाचार गर्न नमान्ने भएपछि उपसचिव कन्ठलाई प्रमुख बनाई दुवै परियोेजनाका ठेक्का सेटिङमा दिइएको थियो । जसमा कन्सलटेन्सीसँग ३० प्रतिशत घुस तय गरी दिइएको थियो ।
कन्स्ट्रक्सनतर्फ कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे र शर्मा एण्ड कम्पनीका रमेश शर्मालाई २० प्रतिशत घुस लिने गरी दिइएको भवन विभाग स्रोत बताउँछ । आईयूडीपी आयोजना धरान, विराटनगर, वीरगञ्ज महानगरपालिका र सिद्धार्थनगर, नेपालगञ्ज र जनकपुर नगरपालिकामा लागू भएको थियो ।
कर्णालीमा ९ हजार घरधुरीलाई सुरक्षित आवास
काठमाडौँ । चालू आर्थिक वर्षमा कर्णालीका झण्डै ९ हजार घरधुरीको सुरक्षित आवास निर्माण हुने भएको छ । गरीबीको रेखामुनि रहेका, खरले छाएका तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारविहीन परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेटिने भएको हो ।
कार्यक्रमअन्तर्गत सुर्खेतमा सबैभन्दा बढी २ हजार ६४३ सुरक्षित आवास बन्नेछन् । रुकुम(पश्चिम)मा एक हजार १९९, सल्यानमा एक हजार ६९१, दैलेखमा एक हजार ७८९, जाजरकोटमा एक हजार १५, डोल्पामा ५१२ र जुम्लामा ५०६ घरधुरीले सुरक्षित आवास पाउनेछन् । सरकारले खर तथा परालको छाना भएका घरधुरीमा पनि जस्तापाताले छाना छाउन सहयोग गर्नेछ । जस्तापाता छाउनका लागि प्रतिघरधुरी रु ५० हजार उपलब्ध गराइनेछ ।
सङ्घीय शहरी आयोजना कार्यान्वयन एकाइले सुर्खेत निर्वाचन क्षेत्र नं १ मा निर्माण हुने परिवारको टुङ्गो लगाएको छ । त्यहाँका एक हजार ५२० घरमा जस्तापाताको छाना लगाइनेछ । आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर टीकाराम पोखरेलका अनुसार उक्त रकम घरमूलीले सम्बन्धित स्थानीय तहबाट प्राप्त गर्नेछन् । “चालू आवमा प्रदेशका नौ हजार घरका छानामा जस्तापाता लगाउने योजना छ”, उनले भने, “सुर्खेतमा करीबकरीब टुङ्गो लागिसक्यो, अन्य जिल्लामा बाँकी छ, सम्बन्धित क्षेत्रका सांसद, स्थानीय जनप्रतिनिधिहरुको बैठकले लाभान्वित घरपरिवारको टुंगो लगाउनेछ ।” जस्तापाता लगाएमा आगलागीबाट सुरक्षित हुने र गरीब परिवारले राहत महसुस गर्ने सरकारको अपेक्षा छ ।
थप ६ सय ८१ जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा थप ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।
हालसम्म संक्रमितमध्ये १७ हजार ७०० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १२० जनाको मृत्यु भएको छ।
प्रेमजालमा फसाएर बेचबिखन
काठमाडौँ । एक किशेरीलाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया किशोरीलाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।
उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानीटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ । शुरुमा प्रलोभनमा पारेर उनलाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए । उनका सहयोगी भारतको एक नचिनेको पुरुषलाई किशोरी जिम्मा लगाएर फर्किएका थिए ।
भारतीय निज किशोरीलाई अश्लील भिडियो देखाई मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै त्रासमा राखेर चरम यातना दिएको खुलेको छ । उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगारी लगाइदिने बहानामा भारतका विभिन्न ठाउँमा लग्ने गरेको पीडितले बताएकी छन् ।
त्यही सिलसिलामा उनी पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
एक वर्षअघि उक्त घटना भएको थियो । त्यसपछि तामाङ फरार हुँदै आएका थिए । उनका सहयोगी भने फरार छन् । उनको खोजी जारी रहेको जनाइएको छ । अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्युरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो । तामाङलाई ब्युरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले आज विज्ञप्तिमार्फत जनाएको छ ।
पुर्ब सचिब दाहाल राजस्व बोर्ड को अध्यक्षमा नियुक्त
काठमाडौँ । एउटा काबिल ब्याक्तित्व जो अर्थ मन्त्रालय अन्तर्गतका सबै निकायमा बसि गहकिलो ब्यबहारिक अनुभवले समेत खारिएका पुर्ब सचिब महेश दाहाल लाई सरकारले राजस्व बोर्डको अध्यक्ष नियुक्त गरेको छ। उहाँ सालिन र एक बौद्धिक ब्याक्तित्व मात्र नभएर सुशासन प्रत्याभूत गराउने प्रशासकका रूपमा चिनिनुहुन्छ। व्यवसायीहरुले हरेक वर्ष बजेट सुझावमा राजस्व बोर्ड गठनको माग गर्दे आईरहेका थिए । राजस्व सम्बन्धि विवादको लागि राजस्व बोर्ड गठन गर्नुपर्ने माग व्यवसायीको थियो। सोही मागको सम्बोधन गर्दै लामो समयपछि सरकारले राजस्व बोर्ड गठन गरेको हो ।
त्यसको अध्यक्षमा पूर्वसचिव महेश दाहाललाई नियुक्त गरे पस्चात धेरै सरोकारवालाहरुले खुशी व्यक्त गरेका छन्। उपयुक्त ब्यक्ति उपयुक्त स्थानमा चयन भएकाले यस क्षेत्रमा सुधारका काम हुने बिश्वास व्यक्त गरिएको छ। त्यसै गरि बोर्डको सदस्यको रुपमा राजस्वअनुसन्धान बिभागका पुर्ब महानिर्देशक एब अर्थ मन्त्रालयमा बजेट महाशाखामा प्रमुख का रुपमा भुमिका निर्वाह गरि सक्नु भएका पूर्वसहसचिव निर्मलहरि अधिकारी छन् ।
मन्त्रीपरिषद्को बैठकले राजस्व बोर्डको अध्यक्षमा दाहाल र सदस्यमा अधिकारीलाई नियुक्त गरिएको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ। ।अनुभवहिनहरुलाइ राजस्व फरसोट समितिमा राख्नाले केहि समय अगाडि भए गरेका कामहरु बिबादास्पद भएका थिए।
पछिल्लो समय गठन भएको आयोग अत्याधिक विवादमा परेपछि यसको विरुद्द आयोगका सदस्यहरुलाई अख्तियारले समेत मुद्दा चलाएको थियो। नयाँ यस बोर्डमा अध्यक्ष दाहालको कमान्डले प्रभाबकारी ढङ्गले काम गर्नुहुनेमा सरोकारवालाहरु बिश्वस्त देखिन्छन् ।
बझाङमा पहिरोमा परि २ जना बेपत्ता,४ जना घाईते
बझाङ । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ५ मिडीमा पहिरोले घर बगाउँदा २ जना बेपत्ता रहेका छन् भने ४ जना घाइते भएका छन् ।
मिडीमा मंगलबार राति १ः१५ बजेतिर पहिरो गएको जिल्ला प्रहरीका कार्यालय बझाङले जनाएको छ। घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ४ जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन्।
प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको बेङ्लोरमा छन । पहिरोमा परेर प्रतापकी श्रीमती ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया छोरी टिन्टी ताम्राकार र १६ वर्षीय छोरा अनिल ताम्राकार घाइते भयका छन । घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । १४ वर्षीय छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षीय सुदीप ओखेडा बेपत्ता भयका छन् । सुदीप केही दिनअघि आफ्नो फुपूको घरमा आएका थिए ।
दुवै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताएका छन। पहिरोका कारण १५ घर उच्च जोखिममा रहेको स्थानीय सुरेश कुँवरले जानकारी दिएका छन। एक हप्ताअघि मात्रै यहाँका स्थानीय बासिन्दाहरूले मुचुल्कासहित आफूहरु जोखिममा रहेको भन्दै वडा कार्यालय र नगरपालिकालाई जानकारीसमेत गराएका थिए। गाँउमाथि खोल्लेख(लुएटी सडकखण्डबाट पहिरो गएको स्थानीयले जनाएका छन् ।
कोराना संक्रमणबाट थप एक जनाको मृत्यु
धरान। कोरोना संक्रमणाबाट थप एक जनाको मृत्यु भएको छ। मोरङको बुढिगंगा गाँउपालिका—२ की ६७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। उनको वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराति निधन भएको हो।
मृत्यु भएकी महिला मंगलबार बिहान २ बजे वीपी प्रतिष्ठानकामा भर्ना भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। अत्याधिक ज्वरो र खोकी लाग्नका साथै श्वास प्रस्वासमा समेत गम्भीर समस्या भएका कारण उनको मृत्यु भएको डा.सापकोटाले बताए।
मृतक महिला विगत लामो समयदेखि मुटु समस्याको दीर्घ रोगी भएको डा। सापकोटाले बताए। मृतकको शव व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए।
महामारी नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने सरकारको तयारी
धनुषा । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने तयारी थाल्ने निर्णय गरेको हो।
बैठकले समाजिक विकासमन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखसमेत रहने गरी समन्वय समिति गठन गर्दै उक्त समितिले मेडिकल कलेजसहितका निजी स्वास्थ्य संस्थासँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा निजी अस्पताललाई सङ्घीय सरकारले तोकेको दर उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ । त्यसपछि पनि मेडिकल कलेज तथा निजी अस्पतालले कोभिड उपचारमा सहयोग नगरे कारवाही तथा दर्ता खारेजका लागि सङ्घीय सरकारमा लेखी पठाउने तथा कानूनबमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
बैठकले प्रदेशमा समुदायस्तरमै फैलिँदै गएको कोरोना महामारी नियन्त्रणमा रहेका अप्ठ्यारा एवं सरकारले गर्नुपर्ने कामबारे जिल्लास्तरबाटै जानकारी लिन प्रदेशको चार स्थानमा दुई÷दुई जिल्ला समेटिने गरी बैठक गर्ने निर्णयसमेत गरेको छ । साथै प्रदेश सरकार र पिसिएमसीले विगतमा गरेका निर्णयहरु अविलम्ब कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशनसमेत दिएको छ ।
बैठकमा मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको अति दुःखदायी तथा असहज परिस्थितिमा सबै नागरिकलाई बचाउने पहिलो जिम्मेवारी भएको हुनाले प्रदेश सरकार कठोरभन्दा कठोर कदम चाल्न बाध्य रहेको बताए। उनले यस विषम परिस्थितिमा सबै पक्षलाई आ–आफनो स्तरबाट सहयोग गर्न अपिलसमेत गरेका छन्।
यसअघि नै निर्णय भएको वीरगञ्ज, जनकपुर र राजविराजमा थप पिसीआर मेशिन जडान एवं गौरमा नयाँ ल्याब सञ्चालनकार्य अविलम्ब पूरा गर्नुका साथै महोत्तरीको जलेश्वरमा समेत नयाँ पिसीआर ल्याब सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रणमा देखिएको जनशक्ति अभावलाई अविलम्ब करार सेवामार्फत परिपूर्ति गर्नसमेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वाथ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने निर्णयसमेत गरेको छ ।
काभ्रेपलाञ्चोका ३ सरकारी कार्यालयको सेवा बन्द
काभ्रेपलाञ्चोक । पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन्।
आन्तरिक राजश्व कार्यालय धुलिखेलले मङ्गलबार सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो। कोरोना भाइरस सङ्क्रमण काभ्रेपलाञ्चोकमा समुदायस्तरमा फैलिरहेको असहज परिस्थितिका कारण समग्र कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिई सेवा बन्द गरेको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले अति जरुरी बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी गराए।
यसैगरी जिल्लास्थित मालपोत कार्यालयले पनि पछिल्लो केही दिनदेखि कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढिरहेको जनाउँदै स्वास्थ्य संवेदनशीलताका कारण अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द रहेको जनाएको छ । प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार मङ्गलबारदेखि सेवा बन्द गरिएको बताए।
केन्द्रले जिल्लामा दिनानुदिन सङ्क्रमित दर बढ्दै गएपछि सेवाग्राहीको भीडभाड हुने तीन कार्यालयको सेवा अनिश्चतकालीनरूपमा बन्द गरेको हो । जिल्लामा मङ्गलबार मात्रै १६ सङ्क्रमित देखिएका थिए । केन्द्रको मङ्गलबारको आकस्मिक बैठकले जिल्लास्थित बढी मानिसको भीडभाड हुने तीन कार्यालयको सेवा बन्द गरिएको जनाएको हो । साथै केन्द्रले उपत्यका प्रवेश गर्ने दुई नाका साँगा र नालामा आवागमन जाँचमा थप कडाइ गर्ने निर्णय गरेको छ ।
केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कोरोना भाइरसको उच्च जोखिमका कारण आन्तरिक राजश्व कार्यालय, मालपोल कार्यालय र नापी कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गराइएको बताए। उनका अनुसार अन्य सेवाप्रदायक सरकारी कार्यालयले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गर्नुपर्नेछ ।
यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि जिल्लाका रहेका बैंक तथा वित्तीय संस्थामा मानिसको भीड नियन्त्रण प्रयोजनार्थ आजदेखि अर्को सूचना जारी नभएसम्म दिन बिराएर सेवा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जिल्लाका सबै बैंक तथा वित्तीय संस्थालाई एक दिनको ‘अल्टरनेट’ मा सेवा प्रवाह गर्नेबारे जानकारी गराइएको बताए।
यसैबीच कारोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले पनि आफ्नो सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । ती स्थानीय तहले सूचनाको उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन–२०२० बमोजिम सजाय र जरिवाना गर्नेसमेत जनाएका छन्। हालसम्म कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने सङक्रमितको सङ्ख्या ९७ पुगेको छ।
काठमाडौँ उपत्यकामा पुनः लकडाउन
काठमाडौँ । काठमाडौं उपत्यकाभित्र पुनः ७ दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले एक साताका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो।
काठमाडौं प्रशासनका अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ एवम् न्याय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम भदौ ३ गते राति १२ देखि १० गते रातिसम्म निषेधाज्ञा जारी गरिएको छ।
यो निषेधाज्ञामा औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कनने, अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै व्यापार(व्यवसाय बन्द गरिने, अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौंमा सवारीसाधन भित्रिन दिइने छैन। जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन पनि बन्द हुने भनिएको छ।
कोभिड—१९ को संक्रामण जोखिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा जान—फर्कन पर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम् कर्मचारी संख्या निर्धारण गरी परिचयपत्रको आधारमा सवारीसाधन सञ्चालन गर्न पाउने छन्। उनीहरूका लागि बिहान ९ देखि साढे १० र अपराह्न ३ देखि साँझ ५ः३० सम्म आवागमनका लागि साधन चलाउन दिइने छ।
अत्यावश्यकीय वस्तु, सेवा अन्तर्गत पर्ने औषधी, खाद्यान्न, फलपूल, ग्यास, इन्धन, दुग्ध, विद्युत, सञ्चार, मृत्यु संस्कार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, अस्पताल जाने आउने बिरामीलगायतलाई सवारीसाधन चलाउन दिइने छ।
यस्तै, कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन हुन पाउने छैन। मानिसहरू भेला(जम्मा हुन र भिडभाड गर्न पाइने छैन।
प्रशासनका अनुसार परम्परागत रुपमा भई आएको दैनिक नित्य पूजाबाहेक धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न र जमघट हुन दिइने छैन। शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायत बन्द रहनेछन्।
सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयहरू बन्द रहने छन्।
यस्तै, फुटपाथ वा खुला ठाउँमा, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय पनि बन्द रहने छन्। होटल(रेष्टुराँ सबै बन्द रहने छन्। बैंकिङ सेवालगायत भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन, न्यूनतम् कर्मचारी राखी स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गराउनलगायत निर्णय प्रशासनले गरेको छ।
सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण
काठमाडौँ । सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो।
सर्वोच्च अदालतमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र एकजना न्यायाधीशको सुरक्षाकर्मी गरी २ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै सर्वोच्च अदालतमा तीनजना व्यक्ति कोरोना सङ्क्रमित भएका छन्।
कोभिड–१९ को महामारीका बेला तीनजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि न्यायलयमा काम गर्ने कर्मचारमिा त्रास बढेको छ । त्रास बढेसँगै अदालतले अत्यावश्यक सेवा मात्र दिने निर्णय यसअघि नै गरिसकेको छ ।