पिसीआर परीक्षण अब मात्र दुई हजारमा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोेकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क रु दुई हजार तोकिएको जानकारी दिएका छन् ।

सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पिसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताए । बजारमा रिएजेन्ट र पिसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उहाँले जानकारी दिए ।

यसअघि मन्त्रालयले पिसीआर परीक्षणका लागि रु ४ हजार ४०० तोकेको थियो । त्यस भन्दाअघि पिसीआर परीक्षणका लागि मन्त्रालयले रु ५ हजार ५०० शुल्क तोकेको थियो । नेपालमा अहिलेसम्म ८ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १५९ जना सङ्क्रमित भएका छन् । दैनिक करिब १० हजारको सङ्ख्यामा पिसीआर परीक्षण भइरहेको छ ।

सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पिसीआर परीक्षण हुँदै आइरहेको छ ।

यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचिकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको उनले जानकारी दिए । उक्त खोपको सम्पूर्ण वितरण परिषद्ले प्राप्त गरी मन्त्रालयमा पेश गर्नसमेत भनिएको छ । सरकारले बंगलादेशबाट पाँच हजार सो खोप प्राप्त गरेको उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । पहिला ३ सय ६५ र पुरुष ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५४ हजार १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म संक्रमणबाट ३ सय ४५ जनाको मृत्यु पुष्टि भएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको पहिलो महिला महानिर्देशकको रुपमा श्रेष्ठ

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी मीना श्रेष्ठलाई दिइएको छ । निर्वतमान सुनिल कुमार दासलाई मन्त्रालयमा तानिएको छ । दासलाई मन्त्रालयमा तानेर त्यहाँ मीना श्रेष्ठलाई जिम्मेवारी दिइएको हो । उनी खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पहिलो महिला पदस्थापन भएकि हुन् ।

विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको बसेको बैठकले महानिर्देशकमा पदस्थापन गरेको हो । श्रेष्ठलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरिएको खानेपानी मनत्रलयले जनाएको छ । उनी खानेपानी विभागको झण्डै ५ दशकको इतिहासमा नियुक्त पहिलो महिला महानिर्देशक बनेर रेकर्ड कायम गरेकी छिन् ।
०५३ मंसिर १० गते निजामति सेवामा प्रवेश गरेकी श्रेष्ठले सुरुमा शहरी विकास तथा भवन निर्माण विभागको बिल्डिङ एण्ड आर्किटेक उपसमूहमा इन्जिनियर पदमा सेवारत रहिन् ।

०६६ साल चैत्र १२ गते लिखित परिक्षाबाटै बिल्डिङ एण्ड आर्किटेक उपसमूहको सिनियर डिभिज्नल इञ्जिनियर (उपसचिव) पदमा बढुवा हुनुभएकी श्रेष्ठ २०७१ सालमा स्याटिरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति भएकी हुन् । स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उहाँ २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा प्रवेश गरेकी उनी विगत तीन बर्षदेखि खानेपानी तथा ढल व्यवस्थापन विभागको उप महानिर्देशकको रुपमा कार्यरत थिइन् ।

२० औं करोड भ्रष्टाचार गर्ने कन्ठलाई अख्तियारले किन देख्दैन ?

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले सहरी विकास विभागका इन्जीनीयर काशीप्रसाद गुप्ता बिरुद्ध १७ करोड बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । तर कतिपय यस्ता व्यक्तिहरु छन् जसलाई धेरैले भ्रष्टाचार गरेको छ भन्दा भन्दै पनि अख्तियारले निष्पक्ष रुपमा छानविन गर्दैन । जसको एक जल्दो उदाहरण हुन् सहसचिव चक्रवर्ती कन्ठ ।

विभागमा सधैं आकर्षक आयोजनाको प्रमुख भएर ठेक्कापट्टामा नांगो भ्रष्टाचार गर्ने सहसचिव कन्ठका बिरुद्ध अख्तियारले मिहीन ढंगले छानबिन गर्न नसकेको विभागकै अधिकारी बताउँछन् ।

सहरी विकास तथा भवन निर्माण विभागका दुई वटा आयोजनाको ३३ अर्ब ७० करोड रुपैयाँको ठेक्कामा कन्ठले नै सेटिङ गरी प्रतिस्पर्धा नै नगराई १० अर्बभन्दा बढी अनियमितता गरेको आरोप छ ।

कमल थापा सहरी विकास मन्त्री हुँदा ३३ अर्बभन्दा बढीको ठेक्कामा भएको सेटिङका बारेमा सरोकारवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि कुनै पनि निकायले चासो राखेको पाइएको छैन ।

यी दुई आयोजनाको ठेक्कामा कन्सलटेन्सी र कन्ष्ट्रक्सनको काममा कम दरमा बोलपत्र पेश गरेकालाई ठेक्का नदिई ३० प्रतिशत भन्दा बढी कबोल गर्नेलाई दिएर अरबौं अनियमितता गरिएको थियो । परामर्शदाता छनौट र निर्माणका ठेकेदारसँग सेटिङ गरी प्रतिस्पर्धालाई सीमित गराएर दश अर्ब नेपाल सरकारलाई नोक्सान पार्ने मणिराम गेलाल अहिले भवन विभागका महानिर्देशक छन् । आयोजना प्रमुख चक्रवर्ती कन्ठलाई उनले अहिले पनि भवन विभागको आकर्षक महाशाखा प्रमुखमा बिराजमान गराएका छन् । आवास महाशाखा र योजना महाशाखाका प्रमुख कन्ठले अहिले पनि खर र झिंगटीको छाना हटाई जस्तापाता लगाउन दिने अनुदान दिंदा अहिले पनि कमिसन दिने गाउँपालिका वा नगरपालिकामा बजेट दिने गरेका छन् ।

गेलालसहितको टीमले कन्ठलाई उपसचिव हुँदै आईयुडीपी र आरयुडीपीको प्रमुख बनाएको थियो । सहसचिवले नांगो भ्रष्टाचार गर्न नमान्ने भएपछि उपसचिव कन्ठलाई प्रमुख बनाई दुवै परियोेजनाका ठेक्का सेटिङमा दिइएको थियो । जसमा कन्सलटेन्सीसँग ३० प्रतिशत घुस तय गरी दिइएको थियो । इआरएमसी र उदय कन्सलटेन्सीका संचालक उद्धवराज चौलागाई र बीडीएका अरुण स्वामीलाई कन्सलटेन्सीको ठेक्का दिइएको थियो ।

कन्ष्ट्रक्सनतर्फ कालिका कन्ष्ट्रक्सनका विक्रम पाण्डे र शर्मा एण्ड कम्पनीका रमेश शर्मालाई २० प्रतिशत घुस लिनेगरी दिइएको भवन विभाग स्रोत बताउँछ । आईयूडीपी आयोजना धरान, विराटनगर, वीरगंज महानगरपालिका र सिद्धार्थनगर, नेपालगंज र जनकपुर नगरपालिकामा लागू भएको थियो । प्रत्येक नगरपालिकामा परामर्शका लागि १० करोडका दरले छुट्ट्याइएको थियो । विराटनगर र वीरगंज महानगरपालिकाका लागि १५ करोडका दरले छुट्ट्याइएको थियो ।

कन्स्ट्रक्सनका लागि प्रत्येक नगरपालिकामा ३ अर्बभन्दा बढी बजेट थियो । विराटनगर र वीरगंजमा ५ अर्बका दरले छुट्याइएको थियो । आइयूडीपीको कन्स्ट्रक्सनको बजेट २२ अर्ब र परामर्शदाताको ७० करोड बजेट थियो । त्यो बजेटमा कन्सल्टेन्ट र कन्स्ट्रक्सन दुबैमा सेटिङ गरी ठेक्का दिइएको थियो ।
यस्ता यथेस्ट प्रमाण हुँदा हुँदैपनि अख्तियारले उनीमाथि निष्पक्ष रुपमा छानबिन गरी दायरामा ल्याउन असमर्थ भएको छ ।

इन्जीनीयर गुप्ताले यसरी कमाए १६ करोड, सम्पत्ति लुकाउन श्रीमतीकै मिलेमतो

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागका इन्जीनीयर काशीप्रसाद गुप्ताबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्ताबिरुद्ध भ्रष्टाचार गरी गैरकानुनी रुपमा १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । ललितपुर डिभिजनदेखि विभिन्न कार्यालयमा प्रमुख भएका गुप्ताले विकासको बजेटमा कागज मिलाएर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको खुल्न आएको छ ।

सोही भ्रष्टाचारमा गुप्ताकी पत्नी मिता गुप्ता समेत संलग्न रहेको पाइएको छ । पति काशीप्रसाद गुप्ताले पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्ति लुकाउने छिपाउने तथा दुरूपयोग गर्ने एवं भोग चलन गर्ने उद्देश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरेको पाइएकाले उनी बिरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
गुप्तालाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रूपमा लुकाउन छिपाउन सहयोग, दुरूत्साहन गरेको आरोप श्रीमती मितामाथि लगाइएको छ । अख्तियारले इन्जीनीयर काशी गुप्ता र उनकी श्रीमती मिता दुवैलाई जनही १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँ ८६ पैसा नै बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।

इन्जीनीयर गुप्ताले भ्रष्टाचार गरेको सम्पत्ति आफन्तहरु अन्जुकुमारी महतो, उदितनारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रीति कुमारी गुप्ता, डा। रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार ७८३ रुपैयाँ ९८ पैसा रकम लुकाई छिपाई राखेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

उनीहरुबिरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुको सम्पत्ति जफतका लागि मात्र मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । इन्जीनीयर गुप्ता संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर हुँदा अख्तियारले उनको छानबिन सुरु गरेको थियो ।

कोरोना नियन्त्रणमा तीनै तह सकृय भएर लाग्नुपर्छ –सिडिओ दाहाल

काठमाडौँ । पछिल्लो समय कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि उपत्यकालगायत मुलुकभर बन्दाबन्दीको अवस्था रहेको छ । यसबाट अपराधिक क्रियाकलापहरुमा बढोत्तरी भएको छ भने खाद्य सामाग्रीलगायत अत्यावश्यक बस्तुहरुको छिटफुट कालाबजारी र अस्वाभाविक रुपमा मूल्यबृद्धि हुन थालेको छ । यसबीच आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले ‘उपत्यकाको शान्ति सुरक्षा र बजार अनुगमनको अवस्था’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल सरकारका सचिव एकनारायण अर्यालले कोरोना भाइरसका कारण अबको दिनहरु च्यालेन्जिङ्ग रहेको बताउनुभयो । कोभिड–१९ का कारण अब बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव हुने लगायतका क्राइसिसहरु आउन सक्ने भन्दै तीनै तहका सरकारले जनतालाई प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारले जनतामाझ रिजल्ट देखाउनुपर्ने बताउनुभयो । निजी क्षेत्रबाट जनता मारमा पर्न सक्ने अवस्था आएमा त्यस्ता ठाउँमा सरकारको उपस्थिति समेत रहनुपर्नेमा उहाँको भनाई थियो ।
कार्यक्रममा काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दशैं, तिहार, छठ पर्वलगायतका चाडपर्व नजिकिँदै गर्दा अनुगमनका कार्यलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय कोभिड–१९ र बन्दाबन्दीका कारण जनता कालाबजारी, कृत्रिम अभाव, असुरक्षालगायतका समस्याहरु भोग्नुपर्ने अवस्थालाई ध्यानकेन्द्रित गर्दै अनुगमनका कार्यलाई व्यवस्थित गरिएको बताउनुभयो । प्रमुख दाहालले लकडाउन र निषेधाज्ञाको समयमा ४० ट्रक चकलेट म्याद नाघेको चकलेट बरामद गरेको, २० लाख माक्र्स नियन्त्रणमा लिन सफल भएको, थर्मल गनको काला बजारी गर्नेलाई कारबाही गरिएको जानकारी गराउनुभयो । उहाँले जनता संकटमा पर्दा काठमाडौ जिल्ला प्रशासन कार्यालयले उपभोक्ता हित संरक्षण र शान्ति सुरक्षाको क्षेत्रमा थुप्रै सफलता हाँसिल गरेको भन्दै आफूँहरु सर्वसाधारणले अनुभूति हुने गरी अनुगमनका कार्यहरुलाई तिव्रता दिइको भन्दै उपत्यकाको सुरक्षा चुस्त दुरुस्त रहेको दाबी गर्नुभयो ।
ललितपुर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यतिबेला सामान्यभन्दा फरक अवस्थामा रहेको भन्दै बजार अनुगमन चुनौतीपूर्ण रहेको बताउनुभयो । पछिल्लो समय कोभिड १९ का कारण सिर्जित अप्ठ्यारो परिस्थितिमा आम सर्वसाधारणलाई अप्ठ्यारो पार्ने गरी अत्यावश्यक सामाग्रीको कृत्रिम अभाव, कालाबजारी गर्ने, म्याद सकिएका सामाग्रीहरुको विक्रि वितरण भईरहेको भन्दै जनतालाई दुःख पु¥याउने गतिविधि भईरहेको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि सबैसँग समन्वय गरी बजार अनुगमन गरिरहेका बताउनुभयो ।


भक्तपुर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड १९ र बन्दाबन्दीका कारण सिर्जित अप्ठ्यारो परिस्थितिमा बजार अनुगमनका कार्यलाई तिव्रता दिएको बताउनुभयो । भक्तपुर जिल्लामा ४ वटै स्थानीय निकायहरुसँग सहकार्य गरी जिल्ला प्रशासन कार्यालयले भक्तपुरले सेनिटाइजर र माक्र्समा कालाबजारी गरे तत्काल कानुनी कारबाही गर्ने बताउनुभयो ।
जिल्लाभित्रका होटलहरुमा हुने अनैतिक कार्य, बालुवा तस्करीलगायतका अपराध नियन्त्रणमा जोड दिँदै आएको बताउनुभयो । कोभिड १९ ले निम्त्याएको अप्ठ्यारो परिस्थितिमा उपभोक्ता ठगी गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने र गुनासो आउँदा तत्काल सम्बोधन गर्ने दाबी गर्नुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले साउन र भाद्र महिनामा ३४२ फर्महरुमा अनुमगन गरेको जानकारी गराउनुभयो । बजार अनुमगनमा जाने प्रतिनिधिहरुका विषयमा समेत प्रश्न उठ्न थालेपछि विभागले बजार अनुगमनमा जाने मानिसहरुका लागि आचारसंहिता र कार्यविधिको व्यवस्था गरेको बताउनुभयो । कोभिड १९ का कारण लकडाउन र निषेधाज्ञा हुँदा डेट एक्सपायरको सामानहरु बजारमा बढ्न थालेको बताउनुभयो ।
त्यसैगरी उपत्यका अपराध महाशाखा प्रमुख दिपक थापाले लकडाउन र निषेधाज्ञामा विभिन्न हिंसात्मक घटनाहरुमा बढोत्तरी भएको बताउनुभयो । यसबीचमा ४ वटा हत्याका घटना घटेको जानकारी गराउँदै नक्कली सेनिटाइजर र माक्र्सको विक्रि वितरण बढिरहेको बताउनुभयो । सामाजिक सञ्जालबाट ठगी बढेको प्रति इंगित गर्दै उहाँले भन्नुभयो–‘अनलाइनमा डाक्टर हो भनेर अफवाह फैल्याएर ठगी गर्ने, प्रलोभन देखाएर ठगी गर्ने लगायतका घटनाहरु बढिरहको छ ।’
ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले कोभिड–१९ को संक्रमणले सबै क्षेत्रलाई गाँजिरहेको बेला कालाबजारी लगायतका गलत गतिविधिमा लाग्नेहरुलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताउनुभयो । ट्राफिक प्रहरीले आफूँ कोभिडको संक्रमणबाट बच्दै ट्राफिक व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।


सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काठमाडौ महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवाली, राजधानी दैनिकका सम्पादक सागर पण्डित, महानगरको सुरक्षा प्रमुख धनपति सापकोटा लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरष्कृत हुनुभएका काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई सञ्चार केन्द्र नेपालको तर्फबाट खादा र रुद्राक्षको माला लगाएर सचिव अर्यालले बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा वल्र्ड लिंक कम्युनिकेशले उपलब्ध गराएको १ हजार माक्सलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको सामाग्री नेपाल सरकारका सचिव र प्रमुख जिल्ला अधिकारीहरुलाई हस्तान्तरण गरेपछि तत्काल सो स्वास्थ्य सामाग्री सञ्चारकर्मीहरुलाई उपलब्ध गराउनुभएको थियो ।

ओमानबाट ८३० नेपाली घर फिर्ता आए सम्पर्कविहीन र अलपत्र पनि खोजि खोजी ल्याईने

काठमाडौँ । नेपाली राजदूतावास, ओमानले पाँचौँ उडानमार्फत त्यहाँ रहेका १६५ नेपाली (३९ महिला तथा १२६ पुरूष) लाई आज नेपाल पठाएको छ । यात्रु तथा चालक दलका सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको राजदूतावासले जनाएको छ ।
कोभिड –१९ महामारीपछि हालसम्म पाँच उद्धार उडानमार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्डअनुसार ओमानमा रहेका ८३० नेपालीलाई नेपाल फिर्ता गराइसकिएको जनाइएको छ ।
आजको उडानबाट नेपाल जानेमध्ये सम्पर्कविहीन र झापा बाह्रदशी गाउँपालिकाकी नेत्रकुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ । राउत वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका रूपमा केही वर्षअघि ओमान आउनुभएको र विसं २०७० देखि सम्पर्कविहीन रहनुभएको भनी उहाँका छोरा नवराजले जानकारी दिएपछि कूटनीतिक माध्यमबाट सम्पर्कमा ल्याइएको र निजको स्वास्थ्यावस्था नाजुक रहेकाले घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासबाट सहजीकरण गरिएको जनाइएको छ । साथै मानव तस्करको फन्दामा परी पर्यटक प्रवेशाज्ञामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीका लागि ओमानमा आई घरेलु कामदारका रूपमा काम गर्ने क्रममा अलपत्र ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पूरा गरी आजकै उद्धार उडानमार्फत नेपाल फर्काईएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।
त्यसैगरी सो उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारका रूपमा कार्यरत करीब ६० नेपालीलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गर्नसमेत दूतावास सफल भएको बताइएको छ । विमानस्थलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले सम्पूर्ण नेपालीलाई सफल यात्रा तथा सुखमय जीवनका लागि शुभकामना व्यक्त गर्नुभयो । यात्रुको यात्रा सहजीकरणका लागि दूतावासका द्वितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना, स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका सदस्यलगायत नेपाली राजदूतावास, मस्कट कोभिड–१९ व्यवस्थापन स्वयम्सेवी सदस्यले योगदान गर्नुभएको थियो ।
यात्रामा सहभागी सम्पूर्ण नेपालीले दूतावासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त गराएकामा राजदूत तथा दूतावासको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँहरुलाई सफल घरफिर्ती गराउन, पीडितलाई सम्पर्कमा ल्याउन तथा उद्धारमा प्रत्यक्षअप्रत्यक्ष सहयोग पु¥याउने सहयोगी सङ्घसंस्था एवम् व्यक्तिलगायत समस्त नेपाली समुदायप्रति दूतावासले आभार व्यक्त गरेको छ ।

निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी

काठमाडौँ । अमेरिकामा हुन लागेको राष्ट्रिपतीय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरुले लक्षित गरिरहेको पाइएको छ । प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरु आफुहरुले धेरै प्राप्त गरेको जानकारी दिएको छ ।

निर्वाचन लक्षित गतिधिविधिहरुमा भइरहेका साइबर आक्रमणहरु विषेशगरेर रुस, चीन र इरानबाट भइरहेको पनि कम्पनीले बिहीबार स्पष्ट पारेको छ । त्यस्ता कार्यबाट उनीहरुले कतिपय व्यक्तिगत र कतिपय संस्थागत सूचनाहरु लिने गरेको माइक्रोसफ्टका अधिकारीहरुले जनाएका छन् ।

आक्रमणकारीहरुले राष्ट्रपतिका दुवै उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी डेमोक्रयाटिक तर्फका उम्मेदवार जोन बिडेन दुवैको प्रचार प्रसार कार्यलाई लक्षित गरिरहेको पाइएको छ ।
अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ । यसअघिको निर्वाचनमा पनि यस्तै प्रकारका आक्रमणहरु र गतल प्रयासहरु भएको आरोप लागेको थियो ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्याटिक तर्फकी उम्मेदबार हिलारी क्लिन्टनको पक्षमा भएको प्रचारप्रसार र रणनीति सम्वन्धी विवरणहरु अनधिकृत रूपमा रुसी ह्याकरहरूले चोरेको चर्चा भएको थियो । अहिलेको ह्याकिङ कार्यमा पनि उनीहरु संलग्न रहेको पाइएको माइक्रोसफ्टले जनाएको छ ।

रुसका ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्रयाटिकहरुसँग सम्वन्धीत दुईसय भन्दा बढी संगठनहरुलाई लक्षित गरेको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमणबाट ४ कैदीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसका कारण नेपालमा कारागारमा रहेका ४ कैदीको मृत्यु भएको छ । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप ४ जना कैदीबन्दीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले जानकारी दिएका छन्।

मृत्युपछि संक्रमण पुष्टि हुनेमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन्। उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो। ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो।

त्यसअघि, भदौ १५ मा ललितपुरको मेगा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका एकजना कैदीमा कोरोना पोजेटिभ देखिएको थियो।

पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १६७ पीसीआर परीक्षण गरिएकोमा १४ सय ५४ जनामा कोराना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार(आज) प्रवक्ता डा. जागेश्वर गौतमले सोही जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

काठमाडौँ । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३।१ प्रतिशत पुगेको छ । यो सँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो ।

यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ । कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनीहरू पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न वाध्यात्मक अवस्था सिर्जना गर्ने, हप्तामा तीन वा चार दिन मात्र काममा बोलाउनेलगायतका कारण नियमित पाइरहेको आम्दानीमा गिरावट आउने तथा समयमा तलब पाउनसमेत मुस्किल भएको यहाँ श्रम गरिरहेका नेपालीहरूको भनाइ छ ।

यद्यपि एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले यो महामारीमा कोरियामा आम्दानी तथा काम घटे पनि विदेशी कामदारहरू विशेषगरी नेपालीहरू अझै सुरक्षित रहेको बताउनुभयो । उहाँले कम्पनी बन्द भई बोरोजगार भएँ भन्ने एकाधबाहेक सुन्नु नपरेको र थोरै भए पनि आम्दानी भइरहनु सुखद कुरा हो भन्नुभयो । कोरियामा श्रम गर्ने नेपालीहरूको भिसा (इ–९) बलियो हुने र उनीहरूलाई कुनै समस्या परे श्रम नियमानुसार अधिकार लिन र कम्पनी परिवर्तन गरेर भए पनि रोजागरी बचाइराख्न सक्ने भएका कारण नेपालीहरूलाई खासै चिन्ता नहुने उहाँको धारणा छ ।

यहाँका मझौला तथा ठूला कम्पनीहरू विशेषतः बाह्य निर्यातमा निर्भर रहन्छन् । कोरोना माहामारीका कारण निर्यात घट्दा त्यसको प्रत्यक्ष असर साना कम्पनीलगायतमा पर्दा यहाँको श्रमबजारमा अत्यधिक उथलपुथल देखिएको हो ।

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसमा

काभ्रे । जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरू संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन् ।

यससँगै अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको छ । यही भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुग्नुभएका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताएका थिए ।

सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोलीले भदौ १६ गते जिल्लाको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि बिहीबार सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिए । पहिरोमा अभिभावक गुमाएका पाँचदेखि १२ वर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एसओएस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल–२ का वडाध्यक्ष लामाले जानकारी दिए । लामाका अनुसार बालग्राम पठाइएकमा छ बालक र एक बालिका छन् ।

पहिरोबाट विस्थापित भएर जुगल–१ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयबाट आवश्यक काजगपत्र तयार गरी पिसीआर परीक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एसओसएस बालग्राम पनौतीका निर्देशक अमगाईं, विनोदमणि भट्टराईलगायतको टोलीसँग पठाइएको अध्यक्ष लामाले बताए ।

गत साउन ३० गते बिहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिकामध्ये १२ वर्षमाथिका पाँच बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने एसओएसका निर्देशक अमगाईँले जानकारी दिए ।

जुगल–२ को लिदी पहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ । विस्थापितहरूको स्थायी बसोबासका लागि पहल भइरहेको छ ।

डोटीमा जीप दुर्घटना परि १२ घाइते, दुईको अवस्था गम्भीर

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप आज बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताए । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ ।

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको हो । बिहीबार सिकिस्त अवस्थामा भर्ना भएकी विराटनगर–१९ मिलन चोककी ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।

५ दिनदेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आफन्तले कोशी अस्पताल ल्याएका थिए । आइसोलेसनमा राखिएकी उनको अवस्था गम्भिर भएपछि बेलुका कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।

उनका अनुसार कोभिड १९ उपचार केन्द्रमा पुग्दा महिलाको शरिरमा अक्सिजनको मात्रा १८ प्रतिशत मात्र थियो ।

निजी विद्यालयले अनलाइन कक्षा सञ्चालनको शुल्क लिन पाउने

काठमाडौँ । सरकारले निजी विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन गरेवापत शुल्क लिने बाटो खुल्ला गरेको छ ।
शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा निजी विद्यालयले पनि स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रही स्थानीय तहले स्वीकृत गर्नुपर्ने छ ।’

मन्त्रालयले असोज १ गतेदेखि विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकाय तथा सरोकारवालाहरुलाई अनुरोध समेत गरेको छ ।

निर्देशिकामा निजी क्षेत्रको भूमिकादेखि, विद्यालय, अभिभावक, शिक्षक, प्रदेश, स्थानीय तहलगायतकाको भूमिका समेत उल्लेख गरिएको छ ।
यस्तो छ निर्देशिकाः