सिमानामा कडाई गरेर निषेधाज्ञा अन्त्य गर्न २० सांसदको सुझाव

काठमाडौं उपत्यकाका २० जना सांसदहरुले निषेधाज्ञा नलम्बाउन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले निषेधाज्ञालाई निरन्तरता नदिएर मेला, पर्व, चाडपर्वमा मात्र निषेध गरेर अन्य क्षेत्रमा भने निषेधाज्ञा नगर्न सुझाब दिएका हुन् । साथै उनीहरूले उपत्यकाभित्र छिर्ने नाकामा भने कडाइ गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार उनीहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर सुझाबपत्र बुझाए थिए । उनीहरुले कोरोना संक्रमणको परीक्षणको स्वाब टेस्टको रिपोर्ट २४ घन्टाभित्रै दिने व्यवस्था मिलाउन पनि सांसदहरूले सुझाब दिएका छन् ।साथै ‘काठमाडौंका ३२ वटै वडास्तरमा कन्ट्याक्ट ट्रेसिङको व्यवस्था स्थानीय सरकार मार्फत मिलाउनु पर्ने सुझाव समेत दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ।

उपत्यकामा आज संक्रमितको संख्या ५ सयको नजिक

काठमाडौँ । काठमाडौं उपत्यका बुधबार थप ४६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। जसमा काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ। ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ।

सुकुम्बासी बस्तीमा दैनिक १ हजार मानिसलाई खाना खुवाइने

काठमाडौ । सिन्धुपाल्चोक बनसाँघु समाज र लामोसाँघु भ्याली समाज स्वामितोले काठमाडौ महानगरपालिका वडा नं. १० भित्र रहेका सुकुम्बासी टोलहरुमा निशुल्क खाना खुवाउन सुरु गरेको छ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न नदिनका लागि गत चैत्र ११ गतेदेखि लागू भएको लकडाउन र विगत ३ साता यता निषेधाज्ञा जारी भएपछि कयौं मानिसहरुले विहान बेलुकी हात मुख जोड्न नसक्ने स्थितिमा पुगेकै कारण निम्न वर्गका मानिसहरुलाई खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको सिन्धुपाल्चाक बनसाँघु, समाजका अध्यक्ष रमेश श्रेष्ठले बताए ।


काठमाडौ महानगरपालिका वडा नं. १० को सहकार्यमा शंखमुल, शान्ति विनायक, देवीनगरका सुकुम्बासी टोलहरुमा दैनिक १ हजार प्याकेट खाना वितरण गर्ने कार्यक्रम रहेको जसमध्ये भर्खरै शंखमूलमा ३ सय प्याकेट खाना वितरण गरिसकेको र बाँकी शान्तिविनायक र देवीनगरमा लगेर वितरण गर्ने अन्तिम तयारीमा रहेको लामोसाँघु भ्याली समाज स्वामितोका अध्यक्ष बलदेव श्रेष्ठले जानकारी गराए ।


लकडाउन र निषेधाज्ञाका कारण कामविहिन बन्नुपर्दा दैनिक हात मुख जोर्न धौ धौ परिरहेको बेला आफूँहरुलाई मिष्ठान भोजन उपलब्ध गराएकोमा शंखमूलका सुकुम्बासी टोलका मानिसहरु खुसी हुँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।
दैनिक समाज डटकमको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा विभिन्न समाजसेवीहरु सहभागि रहेका थिए । लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले गर्दा दैनिक ज्यालादारी गरी खाने र न्यून आय भएका मानिसहरु चरम समस्यामा परिरहेकोले निषेधाज्ञाभरी आफूँहरुले खाना वितरण गर्ने आयोजकले जनाएको छ ।

राहतको प्रतीक्षामा बाढीपीडित

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ । घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन् । ढोरपाटन–९ मा यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुगेपछि देशविदेशबाट राहत जुटे पनि सडक सम्पर्क विच्चेछ भएकाले राहत पुर्याउन समस्या भएको छ ।

बाढीका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै वेपत्ता छन् । बाढीले ८० वटा घर पूर्ण र ७१ घरमा आंशिक क्षति बनाएको छ । बाढीले ठूलो क्षति पुर्याएको खबरसँगै विभिन्न सङ्घसंस्था तथा व्यक्तिले राहत अभियान चलाइरहेका छन् । ताराखोला गाउँपालिका, लोकदोहोरी प्रतिष्ठान बागलुङ, लायन्स क्लब अफ बागलुङ, दलित सञ्जाल बागलुङलगायत दर्जनौँ सङ्घसंस्थाले नगरपालिकाको केन्द्र बुर्तिबाङमा राहत पुर्याएका छन् । भदौ १८ गतेदेखि सङ्कलित हुनथालेको राहत सडक अभावका कारण पीडितसमक्ष पुर्याउन समस्या भएको हो ।

एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भएपछि राहत दिने शुभेच्छुक तथा दाताहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरेका छन् । यद्यपि गृहमन्त्री रामबहादुर थापा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेसका नेता द्रोण कुँवर तथा जित शेरचनले हेलिकप्टरमार्फत केही राहत भने बाढीग्रस्त क्षेत्रमा पुर्याउनुभएको थियो । विपतपछि बाढीग्रस्त क्षेत्रमा पुगेका सङ्घसंस्था र व्यक्तिले दिएको राहत पनि ढोरपाटन–९ को वडा कार्यालयमा राखिएको छ । पीडित परिवारका सदस्यहरु भौगोलिक रूपमा पनि विकट क्षेत्रमा रहेको र मोबाइल सम्पर्कमा समेत समस्या भएकाले समन्वयमा पनि वडा कार्यालयलाई सकस भएको छ ।

नगरपालिकाले खोज तथा उद्धार कार्य जारी रहेको र तथ्याङ्क सङ्कलन गर्ने काम पनि चलिरहेकाले हाल ढोरपाटन नगरपालिकाको तर्फबाट मात्रै राहत सामग्री वितरण गरिएको ढोरपाटनका नगर–उपप्रमुख करमती पुनले जानकारी दिनुभयो । “सडक र सञ्चार सम्पर्क विच्छेद, घटनास्थल पुग्नै समस्या तथा पीडितहरुले राहत लिनसमेत नसकेका कारण राहत वितरणमा चुनौती छ”, पुनले भन्नुभयो, “तत्कालका लागि खाद्यान्न वितरण भइसकेको र अन्य राहतहरु क्रमशः वितरण गर्दै जानेछौंँ।” पुनका अनुसार भौगोलिक विकटता र सडक अवरुद्ध भएका कारण राहत वितरणमा समस्या भइरहेको छ । सडक खुलाउन नसके खच्चडमार्फत राहत लैजाने उहाँको भनाइ छ । वडा कार्यालयमार्फत पीडित परिवारलाई एक बोरा चामल, दाल तथा तेल वितरण गरे पनि केही पीडितले नपाएको गुनासो व्यक्त गरेका छन् ।

हालसम्म पीडितहरुको तथ्याङ्क सङ्कलनमै रहेका कारण राहत वितरणमा ढिलाइ भएको वडा कार्यालयले जनाएको छ । गृहमन्त्री र मुख्यमन्त्रीले हेलिकप्टरमार्फत वितरणका लागि लगेको त्रिपाल, भाँडाकुँडा र म्याटे«ससमेत वडाकार्यालयमै थन्किएको छ । असली पीडितहरु दाहसंस्कार र वेपत्ताको खोजीमा रहेका कारण राहतका लागि वडा कार्यालयमा समेत आउन सकेका छैनन् । वडा कार्यालयदेखि तीन घण्टाको पैदलयात्राको दूरीमा रहेको र अहिले पैदलबाटो समेत नरहेका कारण पीडितको घरमै राहत पुर्याउन सकिएको छैन । बाढीपीडितले भने राहत नपाएको गुनासो गरेका छन् । हालसम्म नगरपालिकाको कुनै राहत नपाएको बाढिपीडित लालबहादुर विकले गुनासो गर्नुभयो । यस्तै अर्का पीडित तुलबहादुर विकले नगरपालिकाले एक केजी दाल र एक लिटर तेलमात्रै दिएको बताउनुभयो । नगरपालिकाले राहत दिएको भन्ने सुने पनि आफूले राहत नपाएको पीडितहरुको गुनासो छ ।

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

काठमाडौँ । कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् ।

कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन ९अवसाद० जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्सिएको महसुस हुने, बढी पिसाब फेर्न मन लाग्ने, मनमा अनावश्यक चिन्ता लाग्ने, एक्लै बस्न मन लाग्ने, भित्री मन खुसी नरहने, निन्द्रा नपर्ने, हरेक कुरालाई नकारात्मक दृष्टिबाट हेर्ने जस्ता समस्या आएका छन् । यस्तै शरीर झमझमाउने, टाउको दुख्ने, घाँटीमा अड्किए जस्तो हुने, शरीर अप्ठ्यारो महसुस हुने, कोरोना भाइरस लागे जस्तो भान हुनेलगायतका समस्या लिएर मानिसहरु उपचारका लागि आउन थालेको उहाँले जनाकारी दिनुभयो । उनले भने, “एउटै कुरा दोहोर्याई तेहेर्याई सोच्ने, कन्भर्सन डिसअर्डर, पिटिएसडी जस्ता समस्या लिएर मानिसहरु आउन थालेका छन् ।”

कतिपय मानिस मनमा तनाव हुनाले मदिरा सेवन गर्ने तथा दुव्र्यसनीमा फस्ने खतरा बढ्ने उनको भनाइ छ । मानसिक रोगबाट बच्न एउटै कुरामा गहिरिएर नसोच्ने, मनको कुरा अरुलाई भन्ने बानी गर्दा पनि तनावमुक्त भइने सेढाइँको सुझाव छ । अहिलेको समयमा जे छ त्यसैमा सन्तुष्ट बन्न सक्ने, आफूलाई अरुसँग तुलना गर्नुपर्ने, मोबाइल फोन, फेसबुक कम प्रयोग गर्ने गर्दा मन शान्त हुने उनले बताए ।

सेढाइँले भने, “बिहानदेखि बेलुकासम्म कामको विभाजन गर्ने, समयलाई उपयोग गर्ने, खाना पकाउने, तरकारी केलाउने, करेसाबारीमा काम गर्ने, किताब पढ्ने जस्ता कामहरु गर्नुपर्छ ।” खाना खाने, सुत्ने समय एकनासको बनाउने, अनावश्यक समाचारमा विश्वास नगर्ने, कुलतमा नफस्ने, मनोबल उच्च राख्ने र सन्तुलित भोजन खाने गर्नाले मानसिक समस्याबाट वञ्चित भइने सेढाइँले जानकारी दिए ।

पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै जाँदा आइसोलेसनमा बस्नेहरुमा मानसिक समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् । उनीहरुलाई मानसिक समस्या नआउने गरी स्वास्थ्यमा ध्यान दिनुपर्ने चिकित्सकहको सुझाव छ । कोरोना सङ्क्रमणलाई त्रासको रूपमा नहेरेर सावधानी अपनाएर उच्च मनोबलका साथ बसेमा रोग जित्न र लाग्न नदिन सहयोग पुग्ने विज्ञहरुको सुझाव छ ।

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाडौं । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् ।

सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता मंगलबारसम्म ५७ हजार नेपाली स्वदेश आएका छन् ।

प्रतिनिधिसभातर्फ काठमाडौंबाट निर्वाचित सांसदहरूको मंगलबार ज्ञापनपत्र बुझ्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउन सुरु भएयता मात्रै विभिन्न नाका हुँदै भारतबाट मात्रै १० लाख बढी नेपाली स्वदेश आएको बताए ।

सरकारले कोरोना महामारी सुरु भएपछि भारतमा रोकिएका नेपालीलाई ल्याउन भन्दै २० वटा नाका खुला गरेको थियो । तर अहिले भने १० नाका मात्रै खुला गरिएको छ

‘नेपाली श्रमिकहरू भारतलगायत विभिन्न मुलुकमा छन्, लकडाउन सुरु भएपछि १० लाख बढी श्रमिक भारतबाट मात्रै स्थल मार्ग हुँदै आएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । भारतबाहेक तेस्रो मुलुकबाट पनि उद्धार गरी यस बीचमा नेपाली श्रमिक र विदेशमा अलपत्र परेका नेपालीलाई ल्याइएको छ,’ उपप्रधान एवं रक्षामन्त्री पोखरेलले भने ।

सरकारले कोरोना महामारी सुरु भएपछि भारतमा रोकिएका नेपालीलाई ल्याउन भन्दै २० वटा विभिन्न नाका खुला गरेको थियो । तर अहिले भने १० नाका मात्रै खुला गरिएको छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार लकडाउन सुरु भएपछि हवाई मार्ग हुँदै न्यून संख्यामा केही विदेशीसहित ५६ हजार नेपाली स्वदेश आएको जानकारी दिए । यस बीचमा २६ हजार नेपाली भने बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ ।

‘लकडाउन सुरु भएपछि हवाई मार्ग हुँदै न्यून संख्याका केही विदेशीसहित ५६ हजार नेपाली स्वदेश आएका छन् । यस बीचमा २६ हजार नेपाली बाहिरिएको तथ्यांकले देखाउँछ,’ अध्यागमन विभागका महानिर्देशक केसीले राजधानीसँग भने ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहदुर बुढाले हाल भने १० विभिन्न नाका हुँदै भारतीय सीमासँग जोडिएका नाकाहरूबाट नेपाली आइरहेको जानकारी दिए ।

‘अहिले १० वटा विभिन्न नाका हुँदै भारतबाट नेपालीहरू आउन पाउँछन्, यताबाट जानेहरू समेत आवश्यक कागजात पु¥याएर गइरहेका छन,’ गृह प्रवक्ता बुढाले भने ।

सरकारले भारतबाट आउनेहरूलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा स्थानीय तहसम्म पुर्याउने गरेको छ । यसरी आउनेहरू नेपाल भित्रिएपछि अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्छ भने सम्बन्धित स्थानमा पुगेपछि क्वारेन्टिनमा बस्नुपर्छ ।

यस्तै, तेस्रो मुलुकबाट आउनेहरूलाई समेत काठमाडौं आएलगत्तै प्रदेशअनुसार नै हेल्डिङ सेन्टरमा राखिँदै आएको छ भने त्यहाँबाट स्वास्थ्य परीक्षण गराएर प्रदेशअनुसार सरकारी पहलमै सम्बन्धित जिल्लासम्म पठाउँदै आइएको छ ।

यसरी हवाईमार्गबाट आउनेहरूले ७२ घण्टाअगाडि पीसीआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनुपर्छ । त्यस्तै, पर्यटन मन्त्रालयले लागू गरेको मापदण्ड पूरा गरेको हुनुपर्छ । यसरी आएकाहरू समेत सरकारले तोकेको समयसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । (यो समाचार आजको राजाधानी दैनिकमा महेश्वर गौतमले लेख्नुभएको छ ।)

एक हप्ताको रक्तदान अभियानमा, २१२ युनिट रगत सङ्कलन

काठमाडौँ । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसूति, मिर्गौला, क्यान्सर तथा नियमित डायलासिसका बिरामी रगत अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी सिफारिस (रिफर) भएर आउने भएकाले यहाँ सधैँ रगतको माग उच्च हुने गर्दछ ।

यसपटक गत भदौ पहिलो सातादेखि जारी निषेधाज्ञाका कारण नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भयो । रगत सहज आपूर्ति नभएको र बिरामी प्रभावित भएको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवासङ्घ कास्कीले भदौ १७ गतेदेखि आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमले अभाव पूर्ति गर्न मद्दत पुगेको छ ।

जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोेखरेलको २१औँ स्मृति दिवसको सन्दर्भ पारेर कोरोना कहरका बीच जिल्लामै पहिलोपटक भदौ २३ गतेसम्म एक साता आयोजना गरिएको कार्यक्रमबाट २१२ युनिट रगत सङ्कलन भएपछि तत्कालका लागि अभाव हटेको हो ।

रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले कोरोना त्रास र निषेधाज्ञाका बीचमा समेत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर एक सातासम्म गरिएको कार्यक्रमबाट केन्द्रमा रगतको मौज्दात बढाउन सहयोग पुगेको र अभाव हटेको बताए । उनका अनुसार निषेधाज्ञा अलि खुकुलो भएपछि नियमित कार्यक्रमको तालिकासमेत बन्न शुरु भएकाले अब अभाव नहुने विश्वासमा रहेको छ ।

हाल कोही पनि विरामी रगत अभावमा फर्कनुपर्ने अवस्था नरहेको बताउँदै उनले दैनिक गरिएको कार्यक्रमबाट ताजा रगत आवश्यक पर्ने बिरामीलाई राहत मिलेको उल्लेख गरे । “एक सातासम्म एउटा संस्थाले रक्तदान कार्यक्रम गरेको पोखरामा पहिलोपटक हो, उनले थालनी गरेको कामबाट नयाँ अनुभव प्राप्त भएको छ”, ज्ञवालीले भने, “आगामी दिनमा अभावका बेला सहज रगत आपूर्तिका लागि व्यवस्थापन गर्न आँट मिलेको छ ।”

राजनीतिसँगै युवालाई सामाजिक कार्यमा जोड्ने योजनाअनुसार राष्ट्रिय युवा सङ्घले पोखरामा वर्षेनी नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ तर साताव्यापी कार्यक्रम भने पहिलोपटक गरेको हो । सङ्घका जिल्ला संयोजक भोजराज पौडेलले निषेधाज्ञाका कारण पूर्वनिर्धारित कार्यक्रमसमेत धमाधम स्थगन भएको तथा रक्तसञ्चार केन्द्रमा रगत अभावले बिरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम गरिएको बताए ।

“हामी राजनीतिक सङ्गठन हौँ, तर सङ्कटको बेलामा त्यससँग जुध्दै सामाजिक कार्य गर्न सक्षम छौँ भनेर प्रमाणितसमेत गरेका छौँ”, पौडेलले भने, “यसबाट लामो समय निष्क्रिय सङ्गठनका नेता कार्यकर्तालाई समेत योजनामा जोडेर क्रियाशील बनाउन र समस्या पर्दा युवा जनताको साथमा उपस्थित रहन्छ भन्ने सन्देश दिन सफल भयौँ ।”

युवा नेता विनय थापा प्रतिकूल परिस्थितिको सामना गर्दै कार्यक्रम गरिएको बताउँदै युवा जहिले पनि रचनात्मक र सामाजिककार्यमा क्रियाशील हुँदै आएको बताए । जनताका समस्या र आवाजलाई सम्बोधनका लागि आगामी दिनमा समेत अप्ठ्यारो अवस्थामा अग्रभागमा रहेर काम गर्ने गरी योजना निर्माण गरिने उनको भनाइ । उनले भने, “चुनौतीका बीचमा एक दिन कार्यक्रम गरे पनि हुन्थ्यो तर अप्ठ्यारो अवस्थाको सामना गरेर एक सातासम्म राम्रोसँग व्यवस्थित हिसाबले सफल भयो ।”

कोरोना कहरका बीचमा शहीदको स्मृति दिवस पारेर आयोजना गरिएको कार्यक्रमले शहीदप्रति समेत सम्मान भएको राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य पूर्ण लामाले बताए । “हाम्रो कार्यक्रमले युवाहरु सङ्कटका बेलामा समेत एकजुट हुन सक्छन् भन्ने सन्देश दिएको छ, अप्ठ्यारो समयमा समेत युवाहरु रगत दिन तयार भए । यसले शहीदप्रतिसमेत सम्मान भएको छ”, उनले भने ।

पोखरामा दैनिक ७० युनिट हाराहारीमा रगतको माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । निषेधाज्ञाका बेलामा रगत आपूर्तिका लागि अहिले रक्तसञ्चारको घुम्ती रक्त सङ्कलन एम्बुलेन्स बसमार्फत रक्तदान कार्यक्रम हुँदै आएको छ । केन्द्रले दुई वा सोभन्दा बढी व्यक्तिले रक्तदानको इच्छा गरेमा सम्बन्धित व्यक्ति रहेकै स्थानमा एम्बुलेन्स बस पठाउने गरेको छ । केन्द्रले पूर्वनिर्धारित कार्यक्रम स्थगन नगर्न र नियमित रक्तदानका कार्यक्रम गर्नसमेत आग्रह गरेको छ ।

छिन्नमस्ता सखडाको छिन्‍नमस्ता सखडेश्‍वरी भगवतिको दर्शन गरेर बुधबारको राशिफल हेर्नुहोस्

विःसं.२०७७ साल भदौ २४ गते बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी,३९ घडी ५७ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका,०७ घडी ३० पला,बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त रोहिणी । योग–हर्षण,२८ घडी ०० पला,बेलुकी ०४ बजेर ५८ मिनेट उप्रान्त बज्र । करण– भद्रा,बेलुकी ०९ बजेर ०४ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३१ घडी ०७ पला । सप्तमी श्राद्ध। महालक्ष्मी व्रत समाप्ति।

मेषःचू,चे,चो,ला,लि,लू,ले,लो,अ

माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

बृषःई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउँन सहज हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ ।

मिथुनः का,की,कू,घ,ङ,छ,के,को,हा

अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहनेछ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै सघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्वन्धीत व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपार्ईँदेखि टाडिन सक्छन् ।

कर्कटः ही,हू,हे,हो,डा,डी,डु,डे,डो

व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी हाईड्रोपावर,पानि तथा औषधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

सिंहः मा,मी,मू,मे,मो,टा,टी,टू,टे

नयाँ–नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरी मनग्गे धन सम्पति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई धन कमाउन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु फक्रियर जानेछन् ।

कन्याः टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

सुरु गरीएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी गर्दा पनि मनग्गे आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुँदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

तुलाः रा,री,रु,रे,रो,ता,ती,तू,ते

हतार गर्ने बानिले अनावस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।

बृश्चिकः तो,ना,नी,नू,ने,नो,या,यी,यू

व्यापार व्यावसायमा नाँफा कमाउन वढि नै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपुर्ण हुनसक्छ । स्वास्थ्य सम्वन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेहुदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पती पत्नी बीचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुनेछ ।

धनुः ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

स्वास्थ्यले साथ दिने हुदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार विस्तार गरी प्रशस्त रुपैया पैसा कमाउनेछ । नयाँ ठाउको भ्रमण गरी संगितको सुमधुर धुनमा रमाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

मकरः भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ ।

कुम्भः गू,गे,गो,सा,सी,सू,से,सो,दा

घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषी तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

मीनः दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

शाहशिलो कामगर्ने जोसजागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी विच मायाको गाठो कसिलो भएर जानेछ । तपाईँ दिन शुभ रहोस् ।

बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट व्यक्तिगत विवरण प्राप्त गर्न सक्ने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएको छ । केन्द्रीय बैंकले आज जारी गरेको एकीकृत निर्देशनमा ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी विवरण विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने र सोही माध्यमबाट ग्राहकको पहिचान तथा कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसका लागि छुट्टै ई–केवाइसी पोर्टल बनाउनुपर्नेछ । राष्ट्र बैंकको निर्देशनमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान फाराम भर्नुको साथै विद्युतीय माध्यमबाट खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने व्यवस्था गरिएको उल्लेख छ । बैंकका अनुसार विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रुपमा सम्पुष्टि गरिने विधि तय गर्नुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरुपयोगबाट सुरक्षित रहन पर्याप्त सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ । यस्तै, सरकारले सामाजिक सुरक्षालगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले नयाँ खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने छ ।

बैंकका सञ्चालकलाई नैतिक शिक्षा

बैंक तथा वित्तीय संस्थाका सञ्चालकले यदाकदा अशिष्ठ व्यवहार देखाएको पाइएपछि केन्द्रीय बैंकले आज शिष्ट भाषा बोल्न र कार्यवातावरण नबिग्रान भनेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको बुँदा नं ६२ मा बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई पदीय मर्यादा कायम राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनमा भनिएको छ “सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नुपर्नेछ, संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु गराउनु हुँदैन ।’

सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने

एकीकृत निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष ९म्युचुअल फण्ड० सञ्चालन गर्न पाउने भएका छन् । त्यसका लागि उनीहरुले सहायक कम्पनी स्थापना गर्नुपर्नेछ । सोही कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने छन् । त्यसका लागि तोकिएको शर्त भने पालना गरेर इजाजतपत्र प्राप्त बंैक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्पmत सामूहिक लगानी कोष सञ्चालन गर्न सक्ने छन् । त्यसमा योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी खडा गर्नुपर्नेछ, त्यस्तो कम्पनी खडा गर्दा हुन गएको लगानीलाई राष्ट्र बैंकले तोके अनुसारको जोखिम भार प्रदान गर्ने छ ।
त्यसका लागि वित्तीय कारोबार सञ्चालन भएको पाँच वर्ष पुरा भएको हुनु पर्ने छ । पछिल्लो तीन वर्षदेखि लगातार मुनाफा गरेको हुनुका साथै सञ्चित नोक्सानीमा रहेको हुन नहुने व्यवस्था गरेको गरिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाका सञ्चालक वा कार्यकारी प्रमुख राष्ट्र बैंकको कारवाहीमा नपरेको र त्यस्तो कारवाहीमा परेको भए फुकुवा भएको तीन वर्ष पुगेको हुनु पर्ने शर्त छ । (

आबेको उत्तराधिकारीको लागि दौड शुरू

काठमाडौँ । जापानको सत्तारूढ पार्टीले मङ्गलबार प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ । प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र नभई दलमा कुशल नेतृत्वको छनोट हुने बताए ।

एक स्ट्रबेरी किसान परिवारबाट जापानी राजनीतिमा उच्च नेतृत्वमा पुग्न सफल ७१ वर्षीय सुगालाई आगामी नेतृत्वको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । जापानी मन्त्रीपरिषद्का मुख्य सचिवसमेत भई काम गरेका उहाँलाई सेप्टेम्बर १४ मा हुने लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को संसदीय दलको नेता बन्नका लागि पार्टीमा प्रमुख समूहहरुको समर्थन सुरक्षित भइसकेको बताइएको छ ।

एलडीपीमनिर्विरोध नेतृत्व हस्तान्तरण हुने अवस्था देखिएको छैन । नेतृत्व हात पार्न सुँगाले जापानी राजनीतिमा अर्का एक लोकप्रिय पूर्व रक्षामन्त्री र पार्टीको नीति प्रमुखसँगै संसदीय दलको नेता चयन हुनका लागि कडा प्रतिस्पर्दा गर्नुपर्नेछ ।

एलडीपीको ठोस विधायकीय बहुमतका कारण दौडका विजेताले सेप्टेम्बर १६ मा संसदमा बहुमत प्राप्त गरी प्रधानमन्त्री बन्न सक्नेछन् । एलडीपीसँग संसदको स्पष्ट बहुमत भएकोले उक्त पार्टीको संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुने भन्ने निश्चित छ ।

जापानको सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्री आबेले अचानक स्वास्थ्य कारणका लागि राजीनामा गर्ने घोषणा गरेका कारण एलडीपीले नयाँ सरकार गठनका लागि नेतृत्वको दौड सुरु गर्नुपरेको हो ।

तत्कालका लागि जो प्रधानमन्त्री भएपनि प्रधानमन्त्रीले जनताको समर्थनको लागि निर्वाचनको घोषणा गर्ने जापानी राजनीतिबारे जानकार विश्लेषकहरूले अनुमान लगाएका छन् ।

तर सुगाले तत्काल आम निर्वाचन असम्भव हुने सङ्केत गर्दै नयाँ प्रधानमन्त्रीले महामारीविरूद्ध आफ्नो प्राथमिकतालाई अघि सार्ने बताएका छन् ।

घर तथा गाडी कर्जामा ब्याजदर नबढाउन राष्ट्र बैंकको आग्रह, परिमार्जिज एकिकृत निर्देशन सहित

काठमाडौँ । अब बैंकबाट लिएको ऋणको ब्याजदर नबढ्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६ लाई परिमार्ज गर्दै यस्तो व्यवस्था लिएको हो ।
कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लामो समय लकडाउन र निषेधाज्ञाका कारण मुलुकभरको आर्थिक अवस्था कमजोर बनिरहेको छ ।

व्यापार व्यवसाय बन्दप्रायः रहेका बेला आर्थिक अवस्था कमजोर भइरहेका बेला मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले घर तथा गाडी खरिदका लागि दिएको ऋणको ब्याजदर नबढाउन निर्देशन दिएको हो ।

घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको सो निर्देशनले घर तथा गाडी कर्जा लिएकाहरुलाई राहत महसुस गराएको छ ।

पछिल्लो समय बैंकहरुले विभिन्न बाहनामा ब्याज बढाउन थालेको भन्ने गुनासो आइरहेका बेला राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार कर्जाको अवधिभर ग्राहकले एउटा निश्चित रकम किस्ता तिरे पुग्ने भएको छ ।

बैंकहरुले बेसरेट परिवर्तन भएसँगै ब्याजदर घटबढ गर्दा व्यक्तिगत प्रयोजनका लागि कर्जा लिने ग्राहकहरु समस्यामा परेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले कर्जा अवधिभर निश्चित व्याजदर कायम गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाका सीइओहरुसँगको जुम मिटिङमा मगंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टर्म लोन लिने ऋणीका लागि फिक्स्ड ब्याजदर कायम गर्न निर्देशन दिए ।

निर्देशनमा व्यक्तिगत प्रयोजनका टर्म लोन लिने ऋणीका लागि ब्याजदर फिक्सड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

‘एउटा कुनै ऋणीको मासिक ५० हजार रुपैयाँ किस्ता तिर्नसक्ने क्षमता छ, उसले सोही अनुसार बैंकबाट ऋण लिएको हुन्छ तर बैंकहरुले २÷४ महिनामै ब्याजदर बढाउँछन् र उसले तिर्नुपर्ने किस्ता बढेर ५२÷५५ हजार रुपैयाँसम्म हुने गरेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यस्तो अवस्थामा निश्चित आम्दानी भएको ऋणीले ऋण तिर्न नसकेर डिफल्टर हुनुपर्ने बाध्यता छ । यसलाई रोक्न फिक्सड ब्याजदर हुनुपर्ने व्यवस्था गरेका हौं ।’

राष्ट्र बैंकले यसअघि पनि फिक्स्ड ब्याजदरमा ऋण दिन निर्देशन दिएको थियो । तर बैंकहरुले यसको कार्यान्वयन गरेका थिएनन् । अहिले कर्जाको क्षेत्र नै तोकेर ब्याजदर फिकसड गर्न भनेको हो ।

राष्ट्र बैंकको निर्देश्न अनुसार अब कुनै पनि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रयोजनका टर्म लोनको स्किम ल्याउँदा त्यसमै कर्जाको ब्याजदर उल्लेख गरेको हुनुपर्छ । उक्त स्किममा बैंकले कर्जा अवधिभर फिक्स ब्याजदर हुँदा पर्न आउने ब्याजदर र किस्ता प्रष्टरुपमा उल्लेख गरेको हुनुपर्छ ।

र, बैंकले अर्को अप्सन पनि दिन सक्छ । यदि ग्राकले भावी दिनमा आधार दरमा हुने परिवर्तनका आधारमा तलमाथि ९फ्लक्चुएट० हुने स्किम रोज्नुहुन्छ भने त्यो व्यवस्था पनि गर्नुपर्छ ।

यसरी स्किम आउँदा ग्राहकले जुन स्किम रोज्छन् त्यसै अनुसारको सम्झौता गरेर बैंकले ऋण दिनुपर्छ । ग्राहकको इच्छाविपरित गर्न पाइँदैन । यो व्यवस्थाले ग्राहकको मनोवल उच्च बनाउने राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ ।

यस्तो छ परिमार्जित एकिकृत निर्देशन:

पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।

उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । उपत्यकामा मंगलबार थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३ सय, ललितपुरका ३८ तथा भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो।

मुस्किलले ६ महिना बालबालिकालाई खोप, अझै पनि जटिबुटिको भर

उपल्लो डोल्पा । शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिकाले छ महिना खोपविहीन बन्नुपरेको हो । वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले खोप पाउने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।

गर्मी मौसम मात्र खोप ढुवानी गर्न सकिने भएकाले छ महिना मात्र खोप उपलब्ध गराउन सकिएको कार्यालयको भनाइ छ । उच्च भूगोल रहेको ठाउँमा चिसो मौसममा भारी हिमपात हुने भएकाले ढुवानी नहुँदा खोप उपल्लो डोल्पा पुर्याउन नसकिएको हो । हुनेखानेहरुले तल्लो डोल्पा तथा देशका अन्य ठाउँमा गएर खोप सेवा लिए पनि आर्थिक अवस्था कमजोर भएका सबैले खोप सेवा लिन नपाउने अवस्था रहेको कार्यालयको जिकिर छ । हेलिकोप्टरबाहेक अन्य माध्यमबाट उपल्लो डोल्पामा खोप र अन्य औषधि पुर्याउन नसकिने स्वास्थ्य सेवा कार्यालय जनस्वास्थ्य शाखाका प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो । उपल्लो डोल्पामा स्वास्थ्य संस्थाको सङ्ख्यासमेत अत्यन्तै न्यून छ ।

तीन स्थानीय तहमा बर्थिङ सेन्टर छैन

उपल्लो डोल्पाका तीन स्थानीय तहमा सुरक्षित सुत्केरी गराउनका लागि बर्थिङ सेन्टर नै नभएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । उच्च हिमाली क्षेत्रमा पर्ने फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा बर्थिङ सेन्टर नै नभएको शाखा प्रमुख शाहीले जानकारी दिनुभयो । त्यस्तै तल्लो र मध्यडोल्पाको ठूलीभेरी नगरपालिकामा दुईवटा बर्थिङ सेन्टर, त्रिपुरासुन्दरी नगपालिकामा चार, काइके गाउँपालिकामा दुई, जगदुल्लामा दुई र मुड्केचुलामा तीनवटा बर्थिङ सेन्टर छन् । बर्थिङ सेन्टर भएको ठाउँमा समेत सुत्केरी सेवा लिनेको सङ्ख्या कम छ । उपकरण नहुँदा छामेर नै जाँच हुँदै आएको छ ।

त्यस्तै शे–फोक्सुण्डोमा तीनवटा स्वास्थ्य संस्था, डोल्पोबुद्धमा दुई, छार्का ताङसोङमा दुई र काइके गाउँपालिकामा दुईवटा मात्र स्वास्थ्य संस्था रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र डोल्पा जिल्लाभरि नरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

उपल्लो डोल्पाभन्दा तल्लो र मध्य डोल्पामा स्वास्थ्य संस्थाको सङ्ख्या बढी छन् । त्रिपुरासुन्दरी नगरपालिकामा पाँचवटा स्वास्थ्य संस्था, सदरमुकाम रहेको ठुलिभेरी नगरपालिकामा स्वास्थ्य सेवा कार्यालयसहित चार, मुड्केचुला गाउँपालिकामा तीन, जगदुल्ला गाउँपालिकामा तीनवटा रहेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा मुड्केचुला गाउँपालिकामा ८३, त्रिपुरासुन्दरी नगरपालिकामा १३५, ठुलिभेरी नगरपालिकामा १६८, काइके गाउँपालिकामा २३ र जगदुल्ला गाउँपालिकामा २२ महिला सुरक्षितरूपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका स्वास्थ्य सेवा व्यवस्थापक सिजन रावलले जानकारी दिनुभयो । उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने सङ्ख्या शून्य छ ।

घरमै सुत्केरी हुने दर उपल्लो डोल्पामा शतप्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आम्चीको भरमा मात्र सुत्केरी सेवा उपलब्ध हुँदै आएको छ । अहिले पछिल्लो समयमा सुरक्षित मातृत्व, नवजात शिशु तथा बालस्वास्थ्य र परिवार नियोजन लागू भएदेखि केही सुधारका लागि पहल गर्न खोजिएको छ ।

हवाइमार्गमार्फत १७ गर्भवतीको उद्धार गरिएको छ । राष्ट्रपति उद्धार कोषमार्फत सबै गर्भवतीको उद्धार भएको हो । उद्धार भएकामध्ये अधिकांश उपल्लो डोल्पामा रहेका छन् । पहुँच नहुने अधिकांश गर्भवती गाउँमै असुरक्षितरूपमा सुत्केरी हुन बाध्य भएको फोक्सुण्डो गाउँपालिका–३ का सितार गुरुङले बताउनुभयो ।

अधिकांश सुत्केरी घरमै

डोल्पाका अधिकांश सुत्केरी घरमै असुरक्षितरूपमा सुत्केरी हुने गरेका छन् । पहुँचमा स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुन बाध्य भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्ट्रेचरसमेत नभएका कारण डोकोमा बोकेर कोही, कोहीले स्वास्थ्य संस्था लिएर सुत्केरी गराउने गरेको स्थानीयवासी बताउँछन् । धामी, झाँक्रीको विश्वासमा यहाँका अधिकांश गर्भवती स्वास्थ्य संस्था पुग्न बाधा उत्पन्न भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

नियमित गर्भजाँच गर्ने गर्भवतीको सङ्ख्यसमेत कम रहेको उहाँको भनाइ छ । बर्थिङ सेन्टरमा समेत आवश्यक उपकरणको अभावमा सबै सेवा दिन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । उपल्लो डोल्पाका गाउँमा के भइरहेको छ भन्नेसम्म सदरमुकामस्थित दुनैमा महिना दिनपछि मात्र सूचना प्राप्त हुने गर्दछ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन आग्रह गरे पनि कसैले आफ्नो कुरा भनेको नमान्ने गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीतुन्डुप गुरुङले जानकारी दिनुभयो ।

उपचारका लागि जडीबुटीको भर

उपल्लो डोल्पामा गर्भवतीलाई सुत्केरी गराउनेदेखि अन्य रोगबाट बिरामी भएमा सबैलाई स्थानीय जडीबुटीबाट उपचार गरिँदै आएको छ । स्वास्थ्य संस्थामा पहुँच नहुँदा अधिकांश सर्वसाधारण जडीबुटीको माध्यमबाट स्थानीयवासीको उपचार गर्न बाध्य भएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उपल्लो डोल्पाका तीनवटा स्थानीय तहका सर्वसाधारणको जडीबुटीकै भरमा उपचार कार्य हुँदै आएको स्थानीय निकायका जनप्रतिनिधिको भनाइ छ ।