बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि शिक्षकले नै बलात्कार गरेको खुलासा

बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो ।

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो । केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् ।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए । उनले भने, “घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताइ। उनले भने, “यो कुरा बाहिर आइसकेपछि हामीले घटनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ । सुरक्षाका लागि पनि किशोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ ।” किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । यद्यपि बलात्कारको आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । आरोप लागेकाहरुलाई हालसम्म पनि सोधपुछसमेत नगरेको बताइएको छ ।

ब्राउन सुगरसहित सीमा क्षेत्रबाट दुई पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

दशगजा क्षेत्रमा भारतीयहरुले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेका थिए । उक्त स्थानमा रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको थियो । नियन्त्रणमा लिइएका दुवैलाई बिओपी भुडामा ल्याइएको छ । बरामद ब्राउन सुगर र नियन्त्रणमा लिइएका दुवैलाई नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको छ ।

मंगलबार गणेश भगवानको दर्शन गरेर राशिफल हेर्नुहोस्, दिन शुभ रहनेछ

वि.सं.२०७७ भदौ–२३,मंगलवार,शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि–षष्ठी , २०ः१७ बजे उप्रान्त सप्तमी,नक्षत्र(भरणी , ०६ः३२ बजे उप्रान्त कृत्तिका,योग–व्याघात , १६ः४६ बजे उप्रान्त हर्षण,करण–गर ०७ः२४ बजेदेखि वणिज, २०ः१७ बजे उप्रान्त वालव,चन्द्रराशि–मेष, आनन्दादि योग–मुसल, सूर्योदय–५ः४६, सूर्यास्त–१८ः१५,दिनमान–३१ घडी ११ पला,षष्ठी श्राद्ध। शिक्षा तथा साक्षरता दिवस। सर्वार्थसिद्धि योग ६ः१७ देखि २०ः१७ बजेसम्म। त्रिपुष्कर योग २०ः१७ बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

शत्रु हरु पनि मित्र बन्न सक्छन,सानातिना कामको झमेला आउनसक्छ ,परिवारमा शान्ति हुनेछ,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ६ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,लेनदेन मा विवाद हुनेछ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लेनदेन आदिमा फाइदा हुनेछ,आर्थिक संकट पर्नेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सानातिना कामको झमेला आउनसक्छ ,नसोचेको काम बन्ने सम्भावाना छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

तातो रिस गर्नाले काम बिग्रिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीमा विचार पुराउनु होला,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

संकल्प गरेको काम सफल हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,यात्रा घातक बन्न सक्छ, आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,खानेकुरा मा विचार पुराउनु होला,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार ओरालो लागिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १२.१७ बिन्दुले घटेर एक हजार ४८७.८१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले घटेर २९८.६४ मा पुगेको छ । कूल १९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर रु दुई अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ मूल्यमा खरिद बिक्री भए ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरोलो लागेको छ । व्यापार २२.९६, वित्त ०.३, अन्य ३.७९ र लघुवित्त १.१५ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १७.३६, होटल २.५६, विकास बैंक १५.५८, जलविद्युत् ३.५३, निर्जीवन बीमा ४६.७६, उत्पादन १७.६८, जीवन बीमा ९२.५४ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ ।
कारोबारमा आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ४० लाख ३७ हजार ६९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नागरिक लगानी कोष रु १५ करोड ६३ लाख तीन हजार ५६९, नेको इन्स्योरेन्स रु नौ करोड तीन लाख १९ हजार ९२७, एनएमबी बैंकको संस्थापक शेयर रु आठ करोड ८२ लाख चार हजार ८८०, नेपाल लाइफ इन्स्योरेन्स कम्प्नी रु आठ करोड २४ लाख ९५ हजार ६४ र शिवम् सिमेन्ट रु सात करोड ५४ लाख ९४ हजार ८२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, उन्नती सहकार्य लघुवित्त ९.९१, यूनिभर्सल पावर कम्पनी ९.८७, जोशी हाइड्रोपावर ८.८६, नागरिक लगानी कोष ७.९४ र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.३३ प्रतिशतले कमाए । त्यस्तै, एनआरएन इन्फ्रास्टकचर ९.९२, घलेम्दी हाइडङो ६.८५, हिमालयन पावर पार्टनर ५.८८, अरुण काबेली पावर ५.०८ र एआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए ।

निजामती सेवा दिवस उत्कृष्ट पुरस्कार १० जनालाई , ३० जनालाई निजामती सेवा पुरस्कार

काठमाडौँ । निजामती सेवा दिवसको अवसरमा सरकारले १० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारले पुरस्कृत गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् । उनी काठमाडौमा आएपछि सेवा प्रवाह सुधारमा उल्लेख्य भुमिका खेलेका थिए । त्यसैगरि झापाको कमल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठलाई पनि १ लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । श्रेष्ठले पनि कमल गाउपालिकामा उल्लेखनीय सुधारका कार्यहरु थालेका छन् साथै स्थानीय तहमा सुशासन र विकासका कार्यक्रम सञ्चालन गर्न श्रेष्ठले प्रभावकारी भुमिका निर्वाह गर्दै आइरहेका छन् ।

यसैगरि १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा अन्य अधिकारीहरुमा सु्शाील कुमार लम्साल, मान बहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरत कुमारबम, टामलाल पाण्डे, उषादेवी देवकोटा र धन बहादुर लामा रहेका छन् ।
यस्तै ५० हजारको निजामती सेवा पुरस्कार पाउनेहरुमा रघुराम विष्ट,कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खेमराज कोइराला, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र ,बावुराम अधिकारी रहेका छन् । यस्तै सो पुरस्कार पाउने अन्यमा विरेन्द्रकुमार मिश्र, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल, मञ्जु सिह, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, जानुका पोख्ररेल आचार्य रहेका छन् ।

अमेजनले अमेरिकामा विदेशी बीउको बिक्रीमा प्रतिबन्ध लगायो

हजारौं अमेरिकीहरूले आफूले आदेश नगरेको बीउको प्याकेटहरू प्राप्त गरिको समाचार सार्वजनिक भएपछि ‘अनलाइन’ व्यापार गर्ने अमेरिकी कम्पनी ‘अमेजन’ले संयुक्त राज्य अमेरिकामा आयात गरिएको बीउको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकामा खासगरी चीनलगायत विदेशबाट आएका बन्द पोकाहरूभित्र माग नभएका शङ्कास्पद विउका दाना भेटिएका विवरणपछि ‘अमेजन’ को यो निर्णय आएको बताइएको छ ।

“हामीले केवल अमेरिकी कम्पनीहरूबाट उत्पादित बीउको बिक्रीलाई अनुमति दिइरहेका छौं,” विशाल अनलाइन विक्री सेवा प्रदायक कम्पनीले शनिबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

गत जुलाईको अन्त्यतिर अमेरिकी कृषि विभागले विदेशबाट माग नगरिएका विउका पोकाहरू अमेरिकी कृषकहरूसम्म पुगेको जानकारी प्राप्त भएको र यस्ता वियले अमेरिकी कृषि षेत्रलाई खतरा उत्पन्न गर्ने भन्दै त्यस्ता विउ नलगाउन कृषकलाई निर्देशन गरेको थियो ।

शङ्कास्पद पोका (पाकेट) हरू खोलेर हेर्दा पुदीना, रायो, गुलाबलगायत विभिन्न १४ प्रजातीका साग तथा फूलको विउ भेटिएको विभागले दावी गरेको छ ।

कृषि विभागले १२ अगस्टमा जारी एक विज्ञप्तिमा भनिएको छ, “यस समयमा हामीसँग यो ‘विउलाई विस्थापन गर्ने हौवा’ बाहेक अरु केहि हो भन्ने कुनै प्रमाण छैन । कहिलेकाहीँ विक्रेताहरूबाट केही यस्ता अनावश्यक चीजहरू प्राप्त हुन्छन् जसले बिक्रीलाई बढावा दिन गलत ग्राहक समीक्षा पठाइदिन्छन् ।

मन्त्री खतिवडाको बर्हिगमनसँगै नेप्सेमा गिरावट

विगत साढे २ वर्ष यता सेयर बजारमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको नाममा चलखेल गर्नेहरुलाई आजको सेयर बजारको क्लोजीङ अवस्थाले दरो झापड हानेको छ ।
निर्वतमान अर्थमन्त्री खतिवडाको कार्यकाल भरी नै जब सेयर बजारमा गिरावट आउँछ तब उनको नाम लिने र उनले बोलेको शब्द ‘सेयर बजार अनुत्पादक क्षेत्र हो’लाई चर्चामा ल्याउने गरिएको थियो । धेरै समयदेखि लगानीकर्ताहरुले अर्थमन्त्रीको कारण बजार घटेको उनले मन्त्रालय छोडेपछि बजार बढछ भनेर तर्क गर्दै आएका थिए ।
आजपनि कारोबारको पहिलो घण्टा सेयर बजार खुप तातेको थियो । अर्थमन्त्रीको बर्हिगमनसँगै सेयर बजार उल्लासमय देखियो भन्दै सामाजिक सञ्जाल समेत भरिए तर यसले रिजल्ट भने ठिक विपरीत दियो । बजारखुल्नासाथै हरियाली छायो । प्रि–ओपनिङमा बजारमा ४३ अंकले माथि उक्लिएको थियो । सबै उपसमूहहरुमा हरियाली छाएको थियो । कारोबार खुेलेको केहिबेरसम्म सबै समूह बढेका मात्रै थिए ।

तर, विस्तारै विस्तारै बजार तल झर्दै गयो । बन्द हुँदासम्म व्यापार र म्युचुअल फन्डबाहेक सबै उपमूहहरु राताम्मे देखिए ।

मन्त्री खतिवडाले शुक्रबार राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछिको पहिलो कारोबारमा नै दोहोरो अंकको गिरावट आयो । धेरै लगानीकर्ताहरुले आइतबार बजारमा सर्किट लाग्छ, मन्त्री खतिवडाको बिदाईलाई स्वागत गर्छ भनेर बसेको थिए, लगानीकर्ताको त्यो सोचाईलाई बजारले गलत साबित गरिदियो ।
नेव्से सूचक १० दशमलव ४५ अंकले घटेर १४९९ दशमलव ९७ बिन्दुमा रोकिएको छ । १९१ कम्पनीको ७० लाख ३८ हजार ९९० कित्ता सेयर २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा टे«डिङ समुहको उपसूचक २२ दशमलव ६३ अंकले बढ्दा बैंकिङ ८ दशमलव १४, विकास बैंक २० दशमलव ८, निर्जीन बीमा २५ दशमलव ६१, उत्पादन तथा प्रशोधन ४० दशमलव ४३, जीवन बीमा २६ दशमलव ३३, माइक्रोफाइनान्स १० दशमलव २७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको ४० करोड १३ लाख १० हजार ८४ रुपैयाँको सेयर किनबेच भएको छ ।

मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा खातुनलाई दिए ५० लाख

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । उनले बालिकाको अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले रु ५० हजार प्रदान गरेको बताए । मन्त्री भट्टराईले बालिका र उनका बुबालाई सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा आज आमन्त्रण गरी सहयोग गरेका छन् ।

गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा बालिकामाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । उनी कक्षा नौ मा अध्ययनरत छिन् । सो अवसरमा मन्त्री भट्टराई भने, ‘मलाई विश्वास छ, तपाइँ भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’’

आज थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

काठमाडौँ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।

आज बिहानैदेखि १९ औँ जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताए । उनले भने, “मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने भएका छौँ । हाल रथ भएको स्थानबाट मात्र १५ देखि २० मिटर पर सोह्रखुट्टे पाटी भएकाले धेरै परसम्म रथ तान्नुपर्ने छैन् ।” गाःबहालबाट महानगरपालिकाको गेटसम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले जानकारी गराए ।

लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने छौँ ।” रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराए ।

विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको महर्जनको भनाइ छ ।

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । वि.सं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएको थियो ।

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौँ । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उहाँ आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो ।

टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो । एक सय ६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । बार्बाडोसका लागि कप्तान जेसन होल्डरले ६९ रन बनाए । यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान गरे । बलिङतर्फ जमैकाका लागि सन्दीप, ओशाने थोमस र प्रिस्टन मस्वीनले एक एक विकेट लिए । किफायती बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा २६ रन खर्चिनुभयो । उहाँले बार्बाडोसका कप्तान होल्डरको विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको जमैकाका लागि जेर्मेनी ब्ल्याकउडले सर्वाधिक ७४ रन बनाए । यसमा उनको चार छक्का र पाँच चौका सामेल थियो । यस्तै आन्द्रे रसेलले २८ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५४ रनको अर्धसतकीय पारी खुले । ग्लेन फिलिप्सले १७ रन बनाउनुभयो । बलिङतर्फ बार्बाडोसका जोसुवा बिशप, जेसन होल्डर, राशिद खान र हेडेन वाल्सले एक एक विकेट लिए ।

सन्दीप आबद्ध जमैकाले लिग चरणको अब एक मात्र खेल खेल्न बाँकी छ । जमैका यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अङ्क तालिकाको चौथो स्थानमा रहेको जमैकाले अब सेमिफाइनल भने शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससित खेल्नुपर्ने छ । प्रतियोगितामा सन्दीपले उत्कृष्ट बलिङ गर्दै हालसम्म नौ खेलमा ११ विकेट लिन सफल भएका छन् ।

विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेः मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन् ।

गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियाममा मन्त्री भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने बताए ।

उनले राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धीलाई आत्मसात गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैरआवासीय नेपालीसमक्ष आग्रह गरे । राजनितिक अधिकार भन्नाले के के पर्ने भन्ने सन्दर्भमा स्पष्ट हुन नसकेका विषयमा नागरिकतासम्बन्धी ऐन कानून निर्माणको चरणमा थप छलफल गरेर जान सकिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले सरकार वा दलहरुले केही अप्ठ्यारा व्यवस्था गर्न चाहन्छन् कि भनेर शङ्का नगर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।

“अहिले सबै राजनीतिक दलको बुझाइमा एकरुपता छ । केही विषय छन् भने पनि सहमति हुन्छ, हामी सबै एकै ठाउँमा छौँ”, उनले भने, “धेरै विषय सम्बोधन भएको अवस्था छ । धेरै समस्या समाधान भएको छ । कतिपय विषयमा प्रष्ट हुन बाँकी होला, ती विषयमा पनि आगामी दिनमा छलफल गरी अघि बढ्दै जान सकिन्छ ।”

सो अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले गैरआवासीय नेपालीलाई अधिकार दिने सन्दर्भमा कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिँदा पनि केही फरक नपर्नेमा जोड दिँदै गैरआवासीय नेपालीका आगामी पुस्तालाई नेपालसँग जोड्न नागरिकताको सन्दर्भमा लगाइएको कतिपय व्यवस्थालाई हटाउनुपर्ने उल्लेख गरे।

उनले हरेक नेपालीले मतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित हुुनुपर्ने बताउँदै देशबाहिर रहने नेपालीले नेपाल सरकारको कूटनीतिक नियोग रहेका देशमा त्यहीँ नियोगकाट वा नभएको अवस्थामा गैरआवासीय नेपाली सङ्घसँगको समन्वयमा मतदान केन्द्र बनाएर भए पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले एकपटकको नेपाली सधैँको नेपाली हुने भएकाले सधैँ नेपाली हुनका लागि गैरआवासीय नेपालीले राज्यसँग गुहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । पूर्वमन्त्री अनिलकुमार झाले गैरआवासीय नेपाली भनेर फरक व्यवहार गर्न नहुनेमा जोड दिँदै आवासीय र गैरआवासीय बीचको विभेद हटाउनुपर्ने बताए ।

एनआरएनए आइसिसी सदस्य शङ्कर खड्काको अध्यक्षता, आइसिसी सदस्य प्रमोद सिटौला र पुरुषोत्तम बोहोराको सहजीकरणमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय महेन्द्र यादव र प्रदीप पौडेल, एनआरएनए आइसिसीका उपाध्यक्ष डा बद्री केसी, सल्लाहकार हरिबोल भण्डारीलगायतले नागरिकतासँग जोडिएका कतिपय प्रष्ट हुनुपर्ने विषयमा व्यापक छलफलपश्चात् सबैको सहमतिमा संसद्को अब बस्ने बैठकबाट नागरिकता विधेयक पास हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपतिले इच्छामृत्यु अस्वीकार गरेपछि फेसबुक लाइभ गरेर मृत्युको प्रतिक्षा

काठमाडौँ । फ्रान्सको डिजोन शहरमा बस्दै आएका ५७ वर्षीय अलाइन कोक लाइलाज नाम गरेका पुरुष विरामीले हैरान बने। आफूलाई उपचारबाट निको नहुने भएपछि उनले राष्ट्रपति इम्यानुएल म्याक्रोसँग इच्छामृत्यु (मर्न मागेको अनुमति) गर्न पाउँ भनेर माग गरे।

तर, राष्ट्रपतिले लाइलाजको इच्छामृत्युको माग खारेज गरिदिए। राष्ट्रपतिले आफू खुसी मर्न नदिने भएपछि उनले खाना पान गर्न छाडिदिए। साथै शनिबार विहान फेसबुकमा आफू मर्न लागेको भन्दै लाइभ सुरु गरे।

फेसबुक लाइभमा लाइलाजले आफू अब एक हप्ताभन्दा धेरै नबाँच्ने नचाहेको बताए। उनले भने, ‘जति समय बित्दै जान्छ त्यति नै मेरो मनमा बेचैन बढेको छ।’

उनले राष्ट्रपतिलाई चिट्ठी लेख्दै आफूलाई निको नहुने रोग लागेको बताएका छन्। उनले भनेका छन्, ‘मेरो असह्या पीडा र दुखाईलाई रोक्न शान्त हुने कुनै औषधि दिनु, जसले म सधैंका लागि शान्तसँग बस्न सकूँ।’

यसबारे राष्ट्रपति म्याक्रोले उनलाई सम्झाउँदै इच्छामृत्यु दिन अस्वीकार गरिदिएका थिए। म्याक्रोले भने, ‘फ्रान्सको कानूनविपरीत जान मलाईं कुनै इजाजत छैन। किनभने म कानूनभन्दा ठूलो हैन। त्यसैले म तपाईंको अपिल मान्न सक्ने अवस्थामा छैन।’

राष्ट्रपतिको जवाफ मिलेपछि लाइलाजले शुक्रबारदेखि आफ्नो मृत्युको फेसबुक लाइभको घोषणा गरी शनिबारदेखि सुरु गरेका छन्। फ्रान्स युरोपीय देशको एक मात्र देश हो, जहाँ इच्छामृत्युको अनुमति दिँदैन।

लाइलाज पछिल्लो ३४ वर्षदेखि विरामी हुँदै आएका छन्। विरामी भएपछि उनी एकै ठाउँमा सुत्नुबाहेक केही गर्न सक्ने अवस्थामा रहेका छैनन्। उनले फेसबुक लाइभ सुरु गर्दै आफूले मृत्युलाई यादगर बनाउन चाहेको बताएका थिए। एजेन्सी

सांसद सुवाललाई संक्रमण पुष्टि

भक्तपुर । भक्तपुरका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका प्रतिनिधिसभाका सांसद सुवालले कोरोना संक्रमण भएको आशंकामा १५ भदौमा पीसीआर परीक्षण गराएकोमा शनिबार संक्रमण पुष्टि भएको हो । अहिले उनी होम आइसोलेसनमा बसेका छन् । रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ ।

सशस्त्र प्रहरी भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको हो ।

सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) थपिन लागेको हो । प्र्रदेश–२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीभित्र बिओपी थप्न थालिएको बाहिनी कार्यालयले जनाएको छ ।

प्रदेशका आठ जिल्लाका सीमाक्षेत्रमा तीन चरणमा ७३ बिओपी थप्ने योजनाअन्तर्गत अहिले तत्काल पहिलो चरणमा १२ वटा सञ्चालनमा ल्याइहालिने सशस्त्र प्रहरी बलका प्रदेश–२ प्रमुख ९बाहिनीपति० तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले स्पष्ट पारे । यसक्रममा केही नयाँ पोष्ट सञ्चालनमा आइसकेका छन् । त्यसपछि क्रमशः दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ बिओपी स्थापना गरिने छ । सशस्त्र प्रहरी सीमा पोष्टमा अहिले प्रदेशभरिमा तीनहजार ५०० जनशक्ति परिचालित छन् ।

अहिले कोभिड–१९ सङ्क्रमणको सन्त्रास छाएका बेला सीमाक्षेत्रमा हुने दोहोरो आवागमन रोक्न, सीमाक्षेत्रमा हुँदै आएका अवाञ्छित क्रियाकलाप निरुत्साहित गर्न र सीमा सुरक्षामा थप जनशक्ति बढाउन बिओपी थपिन लागेको बाहिनी कार्यालयले स्पष्ट पारेको छ ।

कोभिड–१९ सङ्क्रमण शुरु भएदेखि सशस्त्र प्रहरीले प्रदेश–२ का नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ (एफओबी) समेत स्थापना गरेको छ । अवैधरूपमा भारतबाट भित्रिने व्यक्तिलाई रोक्ने र क्वारेन्टिन केन्द्रमा पठाउने काम एफओबीले गर्दै आएको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि प्रदेशभित्र सशस्त्र प्रहरीले २० ठाउँमा ५५१ शय्याका क्वारेन्टिन केन्द्र सञ्चालनमा ल्याएको छ । प्रदेशभित्र सञ्चालनका लागि आठवटा ‘ड्रोन’ तयार अवस्थामा राखिएका छन् । सशस्त्र प्रहरीले प्रदेशका आठ जिल्लाका भारतसँग सीमा जोडिएका स्थानीयतहका १३३ वडामा सम्बन्धित वडाअध्यक्षको नेतृत्वमा गठित सीमा निगरानी समितिसँग समन्वय गरेर ‘सीमा सुरक्षामा जनता र सशस्त्र प्रहरी साथसाथ छन्’ भन्ने सन्देश प्रवाह गरेको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।

सशस्त्र प्रहरीका सीमा प्रहरी पोष्टले आर्थिक वर्ष २०७७÷०७८ शुरु भएयताका साउनदेखि हालसम्मको अवधिमा अवैध तरिकाले सीमा वारपार गरिन लागिएका करिब छ करोड मूल्यका समान बरामद गरी सम्बन्धित भन्सार कार्यालयहरुलाई बुझाएको छ । यसैगरी आपराधिक क्रियाकलापमा भेटिएका २४ जनालाई नियन्त्रणमा लिई कारवाहीका लागि सम्बन्धित नेपाल प्रहरीका कार्यालयमा बुझाइएको बाहिनी कार्यालयले जनाएको छ ।

यस अवधिमै स्रोत नखुलेको रु २७ लाख ९५ हजार ७३० नगद र वनक्षेत्रमा हुने अवैध चोरी कटानका नौ लाख मूल्यका काठ बरामद गरी सम्बन्धित वन कार्यालयलाई बुझाइएको बाहिनी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बलले थप पोष्ट र जनशक्ति बढाएसँगै सीमाक्षेत्रबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सुधार हुने सीमाक्षेत्रका सर्वसाधारणले आस सङालेका छन् ।