अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर

काठमाडौँ । कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ ।

अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ ।

बजेट घाटाको अंक बढ्नुको अर्थ हो, अर्को वर्ष संघीय ऋण वार्षिक कूल गार्हस्थ्य उत्पादनभन्दा बढी हुनेछ । यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो । त्यसबखत कूल राष्ट्र ऋण समग्र अमेरिकी अर्थतन्त्रको आकारभन्दा बढी थियो ।

बुधबार सार्वजनिक गरिएको ३३ खर्ब डलरको अंक सन् २०१९ को कूल घाटाभन्दा तीन गुणा बढी हो । कोरोनाभाइरस महामारीबाट सिर्जित समस्यापछि घोषणा गरिएका चार पटकका राहत प्याकेजका कारण सरकारको कूल खर्च ६६ खर्ब डलर पुगेको छ, र यो रकम सन् २०१९ को भन्दा २० खर्ब डलरभन्दा बढी हो ।

आर्थिक मन्दीका कारण राजश्वमा कमी आएको छ । व्यक्तिगत आयकरको संकलन गत वर्षको भन्दा ११ प्रतिशतले न्यून छ । कर्पोरेट राजश्व पनि ३४ प्रतिशतले घटेको छ ।

कोरोनाभाइरसका कारण गरिएको लकडाउनले समग्र अर्थतन्त्रमा व्यापक असर पारेको भन्दै संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यवसायीलाई अनुदान, बेरोजगारी भत्ता, १,२०० डलर प्रत्येक व्यक्तिका खातामा सोझै भुक्तानी र अरु राहत योजनाले छोटो अवधिका लागि भए पनि अर्थतन्त्रलाई जोगाउन मद्दत गरेको थियो ।

अधिकांश अर्थशास्त्रीहरु अर्थतन्त्र ठूलो संकटमा परेका बखत ठूलो मात्रामा राष्ट्रऋण उठाउनु स्वाभाविक रहेको बताएका छन् ।

तर अहिले सांसदहरु र ह्वाइट हाउसबीच पाँचौं राहत प्याकेजका बारेमा गम्भीर विचारविमर्श जारी छ । डेमोक्राट पार्टीको नियन्त्रण रहेको कंग्रेसले गत मे महिनामा ३५ खर्ब डलरको राहत योजना पारित गरेको थियो ।

यस वर्षको अन्त्यसम्ममा राष्ट्रिय ऋण अमेरिकाको कूल गार्हस्थ्य उत्पादनको ९८ प्रतिशत पुग्नेछ, र यो वस्तु तथा सेवाको कूल अंक बराबर हो ।

बजेट कार्यालयले सन् २०२१ मा राष्ट्रऋण कूल जिडिपीको १०० प्रतिशत पुग्ने जनाएको छ । आगामी दशकमा राष्ट्रऋण करिब १३० खर्ब डलर पुग्नेछ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंह रुसको भ्रमणका लागि बिहीबार रुसको राजधानी मस्को पुगेका छन् । उनले आज नै रुसका रक्षामन्त्री सेर्गेइ सोइगुसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने बताइएको छ ।

उनी तीन दिनसम्म रुसमा रहनु हुने भारतीय मिडियाले जानकारी दिएका छन् । भारतीय रक्षा मन्त्रालयले पनि आज ट्वीट गरेर मन्त्री सिंह तीन दिने भ्रमणका लागि आज मस्को पुगिसकेको जानकारी गराएको छ ।

मस्कोमा भोलिदेखि शुरु हुने साङघाइको अपरेसन अर्गनाइजेसको बैठकमा सहभागी हुनका लागि रक्षामन्त्री सिंह आज मस्को पुगेको बताइएको छ । सो बैठकका अतिरिक्त उनले त्यहाँ विभिन्न भेटवार्ता पनि गर्नेछन् ।

सो बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरूको सहभागिता रहने मस्कोबाट रुसी रक्षा मन्त्रालयले जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय रक्षामन्त्रालयले आज ट्वीटमार्फत जानकारी गराएअनुसार रक्षामन्त्री सिंह मस्को पुग्नुभएको छ र उहाँले त्यहाँ रक्षा तथा सुरक्षात्मक रणनीतिका विषयमा महत्वपूर्ण भेटवार्ता पनि गनुहुने छ ।

सोही बैठकमा सहभागी हुनका लागि साङ्घाइ कोअपरेसन अर्गनाइजेसन एसओसीका सदस्य राष्ट्रहरुका रक्षामन्त्रीहरु पनि पुग्नुभएको रुसको राजधानी मस्कोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

रथ तान्दा प्रहरी र स्थानीयबीच झडप, प्रहरीमाथि ढुंगामुढा प्रहार

काठमाडौँ । निषेधाज्ञाको उलंघन गर्दै रातो मत्स्येन्द्रनाथको रथ तान्दा लतिपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । विहिबार जारी निषेधाज्ञाबीच रातो मत्स्येन्द्रनाथको रथ तान्दा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले हस्तक्षेप गरेसँगै स्थानीय र प्रहरीबीच झडपको स्थिती सिर्जना भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँससमेत प्रयोग गरेको छ । स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

पछिल्लो २४ घण्टामा थप १२ सय २८ जना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य महिला ३ सय ९४ र पुरुष ८ सय ३४ जना रहेका छन् ।

यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन्।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

सिरहा । सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारको लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । सोही दुर्घटनामा परी सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ बर्षीय जितेन्द्र महरा भन्ने शिवकुमार महरा गम्भीर घाईते भएको र उनको भुमिजा अस्पताल लहानमा उपचार भई रहेको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

सशस्त्र प्रहरीमाथि तस्करद्वारा ढुङ्गा प्रहार

काठमाडौँ । गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीमा नेपाल–भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरुले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डामा खटी गएको १४ जनको टोलीमाथि भारतबाट अवैधरुपमा समान नेपाल भित्राउँदै गरको अवस्थामा तस्करले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका हुन् ।

भारतबाट ल्याउँदै गरेको माछाको भुरा नियन्त्रणमा लिने क्रममा तस्करले ढुङ्गा मुढा प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले बताउनुभयो । स्थानीय बासीन्दाको सहयोग पछि तस्करहरु भागेका हुन् । तस्करहरुबाट रु १६ हजार मूल्य बराबरको माछाका भुरा बरामद गरिएको छ ।

सोमबार समेत बेलडाँडी गाँउपालिका ३ कालोपुल नजिक पर्ने नेपाल–भारत सीमा स्तम्भ नम्बर ७८४।५ र ७८४।६ को बीचमा सशस्त्र प्रहरी बल, बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमान्डमा गस्तीमा रहेको टोलीमाथि १०।१५ जना भारतीय तस्करले नेपालतर्फ सामान भित्राउन खोज्दा नियन्त्रणमा लिने क्रममासमेत सशस्त्र प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए । सशस्त्र प्रहरी उपरीक्षक ऐरले भन्नुभयो, “रु १५ हजार ६०० मूल्य बराबरको समान भारतीय तस्करले छाडेर गएका छन् ।” उहाँका अनुसार सामान नियन्त्रणमा लिइए पनि भारतीय तस्करहरु भने भाग्न सफल भएका छन् । यस बारेमा भारतीय सीमा शुरक्षा बल विओपी टाटरगञ्जलाई समेत जानकारी गराईएको उहाँले बताउनुभयो ।

ढोरपाटन पहिरोः बेपत्ता १३ को परिचय खुल्यो, चारको शव भेटियो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए ।

उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् । त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०र३२ वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा अन्दाजी ३०र३५ वर्षका पुरूषको शव भेटिएको उनले बताए । त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०र२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२र१३ का पुरूषको शव फेला परेको भण्डारी बताए । शवको सनाखत हुन सकेको छैन । प्रहरी भखरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भैरहेकाले सङ्ख्या बढ्न सक्ने भण्डारीले बताए । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दै छ ।

क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गर्दै आएका उमेश पटुवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । लामो समय मुख्य प्रशिक्षक नहुँदा प्रशिक्षणमा बाधा पुगेकाले उक्त पदका लागि दरखास्त आह्वान गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

यसैगरी क्यानले सातवटै प्रदेशका लागि एक एक प्रशिक्षकसमेत माग गरेको छ । क्यानले प्रमुख व्यवस्थापक, प्रमुख वित्तीय व्यवस्थापक र व्यवस्थापकका लागिसमेत दरखास्त आह्वान गरेको छ । क्यानले देशभर क्रिकेट खेलको विकास र विस्तार गर्न पहिलो पटक पत्येक प्रदेशमा प्रशिक्षक राख्ने यसअघि निर्णय गरेको थियो । प्रशिक्षणको अभावमा उनीहरुले खेल्ने मौका पाउन सकिरहेका थिएनन् । अब सबै प्रदेश र जिल्लाामा क्रिकेट खेलाडी उत्पादनमा मुख्य रुपमा जोड दिइने क्यान अध्यक्ष चन्दले बताए ।

जगदम्बा स्टिलको रड बिक्रि वितरणमा रोक, बेण्डीङ गर्न लागिएका १६ एमएमका रड पिटिक्क भाँचिए

काठमाडौँ । सरकारले जगदम्बा स्टिलद्धारा उत्पादित रड(फलामको डण्डी) बिक्रि वितरणमा रोक लगाएको छ । शंकर ग्रुपअन्र्तगतको सोही रड नेपाल गुणस्तर तथा नापतौल विभागका गुणस्तर परीक्षणमा गुणस्तर कमजोर पाइएपछि बिक्रीवितरणमा रोक लगाएको हो । विभागले शुक्रबार कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको १६ एमएमको टिएमटी बार फी ५०० रड बिक्रीवितरण नगर्न निर्देशन दिएको छ ।

विभागले जगदम्बाले डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएको जनाउको छ । विभागका अनुसार गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गरेर मापदण्डअनुसार नभएपछि बिक्रीमा रोक लगाएएको हो । उजुरीका आधारमा उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो । कार्बनको मान ०.३० प्रतिशत (म्याम्सं हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले उक्त परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागले जानकारी दिएको छ ।

विभागले उक्त व्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन दिदै बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउन भनेको छ । विभागको निर्देशनअनुसार निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका रड फिर्ता लिनु पर्नेछ । विभागले कम्पनीलाई ‘नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावली २०४० को नियम (१६) अनुसारको कारबाही किन नगर्ने ? कुनै कारण भए १५ दिनभित्र आफ्नो सफाइको सबुत प्रमाण तथा सुधारका लागि सही कार्यसहित विभागमा पेस गर्नू,’ भन्दै १५ दिनभित्र थप स्पष्टीकरण पेस गर्न पत्र पनि लेखेको छ ।

जगदम्बा स्टिलमा केमिकलको मात्रा धेरै रहेको विभागले उल्लेख गरेको छ । सल्फर, कार्बन जस्ता केमिकलको मात्रा बढी हुँदा रड कडा बन्छ र रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ । जगदम्बाका रडमा यस्तो समस्या पहिलेदेखि नै देखिदै आएको छ ।
पछिल्लोे समय काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डण्डी भाँच्चिएको थियो । डण्डी गुणस्तरहीन भएको भन्दै भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो । डण्डी न्यून गुणस्तरको पाइएपछि कारबाही अघि बढाएको र स्पष्टीकरण चित्तबुझ्दो नभए विभागले थप कारबाही अघि बढाउने र उद्योगको इजाजतसमेत रद्द गर्न सक्नेछ । चित्तबुझ्दो जबाफ आए सुधारको अवसर पनि दिन सकिने विभागले जनाएको छ ।

फलामको डण्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कवाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा भने सधै प्रश्न उठ्दै आएको छ । जसका कारण उपभोक्ताले विभिन्न मानसिक तनाव बेहोर्दै आएका छन् । आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दावी गर्ने जगदम्बा स्टिल्सले चरम लापवाही गर्दै आइरहेको छ । मानिसले जिन्दगीभरको कमाई हालेर घर बनाउन लाग्दा गुणस्तरीय सामान प्रयोग गर्न चाहन्छ । अझ घरको मेरुदण्ड भनेको घरमा प्रयोग हुने फलामे रड नै हो जसले घरलाई मात्रै होइन उक्त घरमा बस्नेलाई पनि जुनसुकै विपत्तिबाट बचाउन सक्छ । तर त्यही मेरुदण्ड कमजोर भयो भने मानिसले कति तनाब भोग्नु पर्दछ ।

हो त्यस्तै तनाव अहिले जगदम्बा स्टिलका छड प्रयोग गर्ने बोहोराटार खरिबोटका उपभोक्ताले भोग्नुपरेको छ राजधानीको बनस्थली बोहोराटारमा घर निर्माण गरेका गोरखाका श्रीकृष्ण भट्टराई आफ्नो बनाउदै गरेको घरमा जगदम्बा स्टिलस्का छड पिटक्क पिटक्क भाचिन थालेपछि त्यस्तै तनाबमा परेका हुन् । ३ तल्लाको घर सम्पन्न गर्न लागिसके किा भट्टराईले लकडाउनका बेला पनि नियमित निर्माण जारी रहेको घरमा साउन २८ गते विहान बेण्डीङ गर्न लागिएका १६ एमएमको जगदम्बाको रड पिटिक्क भाँचिएपछि अन्य रडहरु पनि चेक गर्दा त्यसरी नै भाँचिए । रड मात्रै भाँचिएनन् रडसँगै उनको मन पनि भाँचियो । उनले आफूले रड ल्याएको डिलरमा फोन सम्पर्क गरेर रड भाँचिएको बारे जानकारी गराए, त्यसपछि कम्पनीको हेड अफिसमा पनि जानकारी गराए र प्राविधिक सहितको टिम समेत आयो । प्राविधिक इन्जीनियरको टिम आएपछि उनीहरुकै सामुन्ने रड भाँचिएको देखाइयो र भनियो गुणस्तरप्रति शंका लाग्यो अब जगदम्बा रड प्रयोग गरेर बनाईएका घरहरु के गर्ने ? तर कम्पनीका अधिकारी र इन्जीनियर प्राविधिकले आफ्नो सामान गुणस्तरीय भएको कुरा दोहोर्याउँदै बेण्डिंग गर्न नजानेर हो कि भनेर टार्ने कोशिष गरे ।

पीडित भट्टराईले आफूले बनाएको घरमा प्रयोग गरिएको सम्पुर्ण डण्डीहरुमाथि अब शंका लागेको र विश्वास गर्न नसक्ने बताएका छन् । उनले आफू अब यस्तो घरमा बस्न नसक्ने र त्यो घर कम्पनीले लिइदिनुपर्ने माग गरे । कम्पनीले उचित न्याय दिनेतर्फ कदम नचाले आफू कानुनी उपचारमा जाने उनले बताए । भट्टराईसँगै जगदम्बाकै रड प्रयोग गरेर घर निर्माण गरिरहेका स्थानिय तुलसीराम तिवारी, निर्माणको ठेक्का लिएका अरुण पाण्डे र अन्य प्रत्यक्षदर्शीले सामान नै गुणस्तरहीन भएको बताए ।

तिवारीले आफ्नै सिफारिसमा श्रीकृष्णले जगदम्बाको रड प्रयोग गरेको तर मंगलबार उक्त रड्कै कारण भर्खर निर्माण सम्पन्न हुन लागेको आफ्नो घर भत्काउने कि के गर्ने दोधारमा रहेको बताए उनले तुरुन्तै जगदम्बा रडलाई सरकारले कारवाही गरि आफुहरुलाई क्षतिपुर्तिको माग गरे । उक्त घटनापछि जम्मा भएका दर्जनौ स्थानीय प्रत्यक्षदर्शीले आफूले फलामको डण्डी काँचको डण्डी झैं भाँचिएको देख्दा आश्चर्यचकित भएको बताए । उनीहरुले कम्पनीले प्रयोग गरेको कच्चा पदार्थ देखि उत्पादन र गुणस्तरका सबै कुरा छानवीन गरी प्रतिवेदन सार्वजनीक गर्न र यसको कानुनी प्रक्रियाबाट छानवीन र कार्वाही गर्नुपर्ने बताए । घर निर्माणको काममा १० वर्षदेखि संलग्न ठेकेदार र कामदारहरुको भनाईमा अहिलेसम्म यसरी १६ एमएमको रड भाँचिएको पहिलोपटक देखिएको हो । अहिलेसम्म सो घरमा जगदम्बाको रड मात्रै लाखौको प्रयोग गरिसकेका पीडित भट्टराई अब आइन्दा आफूले जगदम्बा रड प्रयोग नगर्ने बताउँदै अरुलाई पनि प्रयोग नगर्न सुझाव दिन्छन् ।

यसअघि पनि जगदम्बा रडको गुणस्तरका विषयमा विभिन्न टिप्पणीहरु आउने तथा रड भाँचिएको समाचारहरु आउने गरेका थिए । तर कम्पनीले शक्तिको भरमा यस्ता प्रतिक्रियाहरुलाई कुल्चँदै आएको पीडितहरुको भनाई छ । स्वयम्भू सानो भर्याङस्थित डी।पी हार्डवेयरबाट २० लाख भन्दा बढिको डण्डी किनिसकेका उनले पछिल्लो पटक मात्रै २ लाख ४२ हजारको डण्डी किनेका थिए । डण्डी मर्काउँदा भाँचिन थालेपछि उनले कम्पनी र सम्बन्धित निकायमा खबर गरे । कम्पनीबाट मार्केटिङ म्यानेजर भरत श्रेष्ठ प्राविधिक टोली लिएर घटनास्थल बोहोराटार पुगेका थिए । तर उनले कमजोरी स्वीकार गर्न तयार भएनन् । बरु उल्टै गुणस्तर परीक्षण गराउने र परीक्षण गराउँदा गुणस्तरीय नै रिपोर्ट आउने दाबी गरेर फर्किए । उनकै अगाडी जगदम्बा कम्पनीका फलामे रड भाँचेर देखाउँदा समेत नपत्याएको प्रत्यक्षदर्शीको भनाई छ । ‘कम्पनीबाट आएको टोलीले त हामीले मर्काउन नजानेको पो भने’ एक जना कामदारले भने, ‘८–९ वर्ष भयो निर्माण क्षेत्रमा काम गर्दै हिडेको, अहिलेसम्म यस्तो कमशल रड देखेको थिईन ।’ अन्तत भट्राईले उजुरी दिएपछि अहिले विभागले कम्पनीमाथि एक्सन लिदैं विक्रिवितरण गर्दै रोकेको हो ।

सहसचिवको सरुवा रोक्न महासचिव पौडेलको प्रधानमन्त्रीलाई पटकपटकको आग्रह किन?

काठमाडौँ । नेकपाका महासचिव बिष्णु पौडेल विभिन्न निकायका ठेक्का पट्टा देखी सरुवा बढुवामा हाबी हुन्छन् भन्ने कुरा विकास मन्त्रालय देखी अर्थ मन्त्रालय भित्र छिरेर बुझ्ने हो भने प्रष्ट हुन्छ । एउटा सामान्य सहसचिव सरुवाको लागी महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलि समक्ष गरेको पटकपटकको आग्रह बाट पनि धेरै कुरा बुझ्न सजिलो हुन्छ । प्राप्त जानकारी अनुसार अर्थ मन्त्रालय वैदेशिक माहाशाखाका सहसचिव श्रीकृष्ण नेपालको सरुवा रोक्न प्रधानमन्त्री ओलीलाई महासचिव पौडेलले संघीय तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाटीलाई फोन गराएको सन्दर्भले यतिबेला निजामती सेवाका कर्मचारीतन्त्रलाई आश्चर्यचकित बनाएको छ । नीति बनाएपछि सबैका लागी बराबर हो, प्रधानमन्त्रीको तहबाट शक्तिको दुरुपयोग गराएर एउटा सामान्य सहसचिवको सरुवा रोक्नु ठुलोकुरा नहोला तर यसले प्रार्ने दुरगामी असरका बारेमा बहस हुन थालेको छ। प्रधानमन्त्री सबै कर्मचारीका साझा अभिभावक हुन। गार्‍होसारो फुकाउनु त एउटा प्रक्रिया होला तर वर्षाै देखि अर्थमा बसेर उ बिना केही हुन सक्दैन भन्नू कतिसम्म न्यायसंगत होला बहस यसमा केन्द्रित छ। वैदेशिकमा बस्ने नेपाल सामान्य त कोहि सङ बोल्दैन कसैलाई मान्छे गन्दैनन यस्ता कर्मचारीले कसरी बिदेशीलाई कुटनैतिक मर्यादा ख्याल गर्दै प्रस्तुत होलान् र? अर्थको वैदेशिक महाशाखा चलाउलान भन्ने चर्चा भैरहेको बेला यस्तै पात्रलाई भएको सरुवा रोक्न महासचिव पौडेल लागेको देख्दा अर्थ कै कर्मचारी छ्क्क परेका छ्न। कर्मचारी सरुवा नियमित र स्वाभाविक प्रक्रिया हो । तरपनि कतिपय कर्मचारी भने सरुवा भनेपछि सर्वस्व नै गुमाउन लागेको जस्तो गर्ने गर्छन् । यसै क्रममा एउटा सहसचिवको सरुवा रोक्न प्रधानमन्त्री समक्ष नै कुरा पुर्‍याएको नौलो नभए पनि सहसचिव नेपालको सरुवा रोक्ने प्रयासलाई अस्वभाविक रुपमा हेरिएको छ।
अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालको सरुवा रोक्न नेकपाका महासचिव विष्णु पौडेललाई सधैं प्रयोग गरिरहेका हुन्छ्न समाचार श्रोत बताउछ।
‘उहाँ विना अर्थ मन्त्रालय नै नचल्ने भयो हजुर भनेर प्रधानमन्त्रीज्यूसमक्ष नै बिन्ती बिसाएको कुरा आएको छ’, सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो, ‘सरुवा जस्तो सामान्य र नियमित प्रक्रियाकै लागि यति ठुलो मरिहत्ते हुन्छ भने अरू झन् के होला’।‘दर्जनौँ वरिष्ठ सहसचिवहरू खटाएको ठाउँमा प्रदेश सचिव भई जिम्मेवारी समाल्न गइरहँदा नेपालले प्रधानमन्त्रीसम्मको पावर लगाउन खोज्नुको कारण चाहिँ के रहेछ ?’अन्य निकायका सहसचिवले आश्चर्यचकित हुदै भने शक्तिको आडमा जे गरे नि हुन्छ लोकतन्त्र अर्थकालाई मात्र आएको हो कि निजामतीका अरु निकायका सहसचिवलाई पनि लोकतन्त्रले न्याय गर्छ।
सबै सहसचिव प्रदेश जाँदा अर्थको सहसचिव मात्रै जान नहुने कारण हो ? भनेर हामीले अर्थका उच्च अधिकारीलाई राखेका प्रश्नमा । ‘राजश्व पनि कम उठी रहेको बेलामा वैदेशिक सहायता पनि परिचालन गर्नुपर्ने अवस्थाभनिए पनि सरकारी नितिलाई जो आएपनी कार्यन्वय गर्न सक्छ्न भन्ने हेक्का नभएर होकि अरु निकायका सहसचिवलाई मान्छे नगनेका हुन प्रशासन क्षेत्र भित्रै यस्तो विभेद देखिएको बताइन्छ।
हङकङ र ल्हसा महावाणिज्य दूत बनाइ पठाउँदा उनको आवश्यकता नहुने अर्थ मन्त्रालयलाई प्रदेशमा पठाउँदा कसरी बितिहाल्ने रहेछ,प्रश्न उठेको छ।
समाचार श्रोत अनुसार केही दिन अघि मात्रै निर्णय भएको दुई महावाणिज्यदूतका लागि नेपाल पनि खुब लागेका थिए तर केही नचलेपछि वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल र झापाका प्रजिअ उदय राना मगर नियुक्त भए । नेपाललाई महावाणिज्य दूत बनाउन अर्थकै उच्च अधिकारी पनि लागेका थिए ।

मनकामना माइको दर्शन गरेर आजको राशि हेर्नुस्, दिन शुभ रहने छ

वि.सं.२०७७ साल भदौ १८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–प्रतिपदा,१२ घडी ४९ पला,बिहान १० बजेर ५१ मिनेट उप्रान्त द्वितिया । नक्षत्र–पूर्वाभाद्रपदा,३६ घडी ५७ पला,बेलुकी ०८ बजेर ३१ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–धृति,२१ घडी १५ पला,दिउसो ०२ बजेर १४ मिनेट उप्रान्त शूल । करण– कौलव,बिहान १० बजेर ५१ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–कुम्भ,दिउसो ०१ बजेर ५९ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेट । दिनमान ३१ घडी ३१ पला । पञ्चक। द्वितीया श्राद्ध। पुञ्चली भुजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कार्यक्षेत्रमा थोरै समय लगानि गर्दा पनि उत्कृष्ट नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा आमासँग विवाद हुने योग रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट्टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।

थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार १ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ। हाल ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा छन्।

यस्तै काठमाडौँ उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा हुने भएको छ। गृह मन्त्रायलसँगको छलफलपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्।

यसपटक जारी भएको निषेधाज्ञामा थप केही सेवालाई भने छुट हुने भएको छ। यसअघि जारी निषेधाज्ञामा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तुमा रोक लगाइएको थिएन।

थप गरिएको निषेधाज्ञामा होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुने छन्। बैंकलगायतका निकायले न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्नेछन्। उपत्यकामा कोरोनाको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने आदेश दिएको थियो।

पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार एक सय १२ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार उनीहरु कोरोनामुक्त भएर घर फर्किएका हुन्।

योसँगै नेपालमा कोरोना भाइरसबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ। यस्तै आज देशभर एक हजार एक सय २० जना कोरोना संक्रमित भएका छन्। योसँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ।

कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु

भैरहवा । कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको हो ।

कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकामा गए राति मृत्यु भएको डा. पोखरेलले जानकारी दिए । हाल भीम अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । डा. पोखरेलका अनुसार आइसीयुमा चार र सामन्य वार्डमा १७ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।