टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय

पर्वत । पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक पठाएर विद्यार्थीलाई पढाइरहेको छ । विद्यालयले विद्यार्थीलाई तीन वटा क्लष्टरमा विभाजन गरेर शिक्षकलाई टोलटोलमै पठाएको छ । पञ्चकोशी माध्यमिक विद्यालय मात्रै होइन कुस्मा नगरपालिका –१२ को जनता सुदर्शन माध्यमिक विद्यालयले पनि टोलमै पुगेर पढाएको छ ।

इन्टरनेट अभावका कारण अनलाइन कक्षा सञ्चालन गर्न नसकेपछि पर्वतका ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले टोल शिक्षा पढाउन थालेका छन । विद्यालयले पठाएपछि अहिले शिक्षक विद्यार्थीलाई पढाउन टोलटोलमा पुग्न थालेका छन् । “इन्टरनेटको पहुँच सबै विद्यार्थीका बीचमा नहुने भएकाले टोलटोलमै पुगेर पढाउन थालेका छौँ”, पञ्चकोशी माविका प्रधानाध्यापक प्रकाश सापकोटाले भने, “विद्यार्थीलाई शैक्षिक क्षति हुन नदिन हाम्रो ठाउँमा यो नै सबैभन्दा उत्तम विकल्प देखियो ।” विद्यालयले यसअघि टोलमा पुगेर गृहकार्य दिने र १० दिनपछि पुगेर गृहकार्य परीक्षण गरी थप गृहकार्य दिँदै आएको थियो । कक्षाकोठामा सामाजिक दूरी कायम गरेर पढाउन विद्यार्थी सङ्ख्या धेरै भएकाले कठिन छ । दशैँसम्म टोलटोलमै पुगेर यही विधिका आधारमा पठनपाठन गराउने योजना रहेको प्रअ सापकोटाले बताए ।

सरकारले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरेर विद्यार्थीलाई सिकाइ क्रियाकलापमा संलग्न गराउने भनेको छ । निर्देशिकामा इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने कक्षासहित टोलमा पुगेर सिकाइमा सहजीकरण गर्न निर्देशन दिइएको छ तर पर्वतका कमै मात्र विद्यार्थी ‘भर्चुअल’ कक्षामा जोडिन सकेका छन् । धेरै विद्यार्थी सिकाइ क्रियाकलापमा जोडिन नसक्दा जिल्लाका विभिन्न विद्यालयले टोलटोलमा पुगी विद्यार्थी जम्मा पारेर पाठ्यक्रमअनुसारकै क्रियाकलाप जारी राखेको बताएका छन् ।

सदरमुकाम कुश्मा नगरपालिकाभित्रैका विद्यालयमा नेट अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ । विद्यार्थीलाई नजिकका विद्यालय, खाली घर, समाजघर वा घाम लाग्दा चौरमा पनि पढाउन थालिएको जनता सुदर्शन माविका शिक्षक आनन्द रिमालले बताए । जिल्लामा सङ्क्रमित थपिएको अवस्थामा टोल शिक्षाका लागि जाँदा विद्यार्थी र अभिभावक नै शिक्षकबाटै सङ्क्रममण आउने हो कि भन्ने चिन्तामा रहे पनि अहिले त्यो त्रास नरहेका कारण टोल शिक्षाका माध्यमबाट गरिएका सिकाइ प्रभावकारी बनेको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा मोबाइलबाट लिइने डेटाबाहेक विकल्प नरहेको र त्यो पनि राम्रोसँग नचल्ने विद्यार्थीको गुनासो आएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचै बताए । “हाम्रोमा नेट उपलब्ध छैन । पहिलेदेखि नै शिक्षकको घर जुन ठाउँमा छ, सोही ठाउँका विद्यार्थी पढाउने र शिक्षक नरहेका टोलमा नजिक पर्ने शिक्षकलाई खटाएर पठनपठानमा सघाउने काम गरिरहेको उचैले बताए ।

कुश्मा नगरपालिकाअन्तर्गत नगर शिक्षा शाखाका प्रमुख विष्णु तिवारीले गाउँमा सङ्क्रमित नरहेका कारण यो अवस्थामा टोल शिक्षा प्रभावकारी रहेको र कतिपय विद्यालयका शिक्षकले पालो गरेर विद्यार्थीलाई विद्यालयमा बोलाउनुपर्ने भनी आफूलाई फोन गरेको भए पनि त्यसो गर्दा सरकारको आदेश उल्लघङ्न हुने बताए ।

नारायणीले बगायो ‘केटो’

चितवन । नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो ।
निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान करिब तीन वर्षको केटोलाई नदीले बगाएको हो । “निकुञ्जको दूर्गम क्षेत्रबाट (कोर एरिया) आज बिहान गैँडाकोट बच्चालाई बगाएको छ” उनले भने, “केटोलाई बगाएपछि हामीले उद्धार गर्न अथक प्रयास गर्यौँ तर सफलता मिलेन सकेनौँ ।” नदीको बाढीले केटोलाई बगाएर भारत पुर्याएको उनले जानकारी दिए ।
केटोलाई भारत पुर्याएपछि वाल्मीकि टाइगर रिजर्वका पदाधिकारीसँग समन्वय गरेर केटोको खोजी कार्य जारी राखिएको उनको भनाइ छ । “अहिलेसम्म केटोको अवस्था जानकारी पाउन सकिएको छैन” उनले भने, “केटो भेटिएपछि खबर गर्न भनेका छौँ ।” यस आर्थिक वर्षमा यस अघि आएको बाढीले बगाउँदा एउटा गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।

थप १३१३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार २६२ जनाको पिसिआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रलायका प्रवक्ता डा जागेश्वर गौतमले बताए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ७० हजार ६१४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार ८६६ पुगेको छ । मन्त्रालयको अनुसार निको हुने कूल सङख्याको ७३.४ प्रतिशत हो । देशभर १८ हजार २८९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी हालसम्म आइसियुमा २२७ जना उपचाररत छन् भने भेन्टिलेटरमा ३९ जना उपचाररत छन् । संस्थागत आइसोलेशनमा आठ हजार २३७ र होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन् । क्वारेन्टिनमा ६ हजार ४६४ जना छन् ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित जिल्लामा मोरङ, सिराह, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर र भक्तपुर गरी सात जिल्ला छन् भने शून्य सङ्क्रमित रहेको जिल्लामा सोलुखुम्बु, मनाङ, रसुवा, हुम्ला, मुगु, मुस्ताङ र रोल्पा रहेका छन् ।

पछिल्लो २४ घण्टामा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ४५९ पुगेको छ । मृत्यु हुनेमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौँका ७५ र कपिलवस्तुकी ७० वर्षीया महिला छन् ।

सनराइजको शाखा खजुरामा

काठमाडौँ । सन्राइज बैंकले बाँकेको सीतापुर, खजुरा गाउँपालिका–२ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालमा ल्याएको छ । बैकिङ्ग सेवा विस्तार गर्ने क्रममा बैंकले खजुरामा ५० औँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको खजुरा २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालले गरेका छन् ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

हालसम्म बैंकले १३४ वटा शाखा, ५० वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

भाटभटेनीले पनि बढायो खसीको मासुको मूल्ये, यस्तो नयाँ रेट

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले अब खसिको मासुको मूल्य बढाउने निर्णय गरेको छ । बजारमा खसीको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ हुँदा ८ सय ५० रुपैयाँ किलोमा बिक्री गरेको भाटभटेनीले अब भने केही महँगोमा बेच्ने जनाएको छ । अबका केही साता ८ सय ९९ र दशैंका बेला ९ सय ९९ रुपैयाँले बिक्री गर्ने सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै भाटभटेनीले सस्तो मूल्यमा बिक्री गरेको हो ।

भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै नाफा राखेर बिक्री गर्ने गरेको छ ।

‘हामीले नेपालगञ्जबाट खसीको मासु ल्याएर बिक्री गर्दैै आएका छौं, पहिलो हाम्रो लागत प्रतिकिलो ७ सय रुपैयाँ पर्थ्यो र ८ सय ५० रुपैयाँमा बिक्री वितरण गरिरहेका थियौं,’ सञ्चालक गुरुङले भने, ‘अब ल्याउने मासुको मूल्य हामीलाई नै ८ सय ५० रुपैयाँ पर्छ, त्यसैले नयाँ मूल्य ८ सय ९९ राखेर बिक्री गर्छौं ।’
अब दशैंको सिजन आएकाले किसानले नै बढी मूल्य लिने भएकाले बजारमा खसीको मासुको मूल्य बढ्ने उनले जानकारी दिए ।

‘दशैंका बेला प्रतिकिलो ९ सय ९९ रुपैयाँमा बिक्री गर्न सकिन्छ कि भन्ने छ,’ उनले भने ।

उनका अनुसार भाटभटेनीले गोलभेडा, चिनी र आलु पनि बाहिरबाट सस्तो मूल्यमा ल्याएर बिक्री गरिरहेको छ ।

हिमालयन एयरलाइन्सले पायो ‘स्व ग्राउण्ड ह्याडलिङ’को अनुमति

हिमालय एयरलाइन्सलाई स्व ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएको छ । नागरिक उड्ययन प्राधिकरणले एयरलाइन्सलाई आज अनुमति दिएको हो । तिब्बत एयरलाइन्ससँगको साझेदारीमा नेपालमा सञ्चालित उक्त एयरलाइन्सलाई प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयले असोज ४ गते आफैंले ग्राउण्ड ह्याण्डलिङ गर्न सक्ने अनुमति दिइएको हो ।

तिब्बत एयरलाइन्समा नेपालको यति समूहको साझेदारीमा हिमालय एयरलाइन्स स्थापना भएको हो । वर्तमान सरकारलाई यति समूहसँगको निकटताका आधारमा नेपाल वायु सेवा निगमको व्यवसाय खोसेर हिमालय एयरलाइन्सलाई दिएको आरोप पनि लागिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजहरुको ग्राउण्ड ह्याण्डलिङको काम राष्ट्रिय ध्वजाबहाक सञ्चालन गर्ने नेपाल वायु सेवा निगमको आम्दानीको एउटा प्रमुख स्रोत हो । नगद प्रवाहको अभाव भैरहेको बेला निगमको व्यवसाय खोसिएको भनेपनि वास्तविकता भने त्यस्तो होइन । अहिले पनि त्रिभुवन विमानस्थलमा थाइ एयरवेज र एयर इण्डिया आफैंले ग्राउण्ड ह्याण्डलिङको काम गर्छन् । ‘हिमालय एयरलाइन्सले पनि आफ्नो ग्राउण्ड ह्याण्डलिङको काम आफैंले गर्ने अनुमति पाएको हो’, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरलले भने, ‘स्वदेशी विमान कम्पनीले आफैंले ग्राउण्ड ह्याण्डलिङ गर्न खोज्दा निगमको भाग खोसेको भन्न मिल्दैन ।’

नबिल बैंकले सुरु गर्यो ‘नबिल ग्रिन पिक’ सेवा सुचारु, पिन सेट गर्न बैंक धाउनै नपर्ने

काठमाडौँ । नबिल बैंकले नबिल ग्रिन पिक सोवा सुचारु गरेको छ । डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न बैंकले यो सेवा सुचारु गरेको हो ।

बैंकले ग्रिन पिन सेवा मार्फत नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अब ग्राहकले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिएमा बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु नपर्ने बताए । ग्राहकहरुले नजिकैको नबिल बैंकको एटीएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्ने उनले जानकारी दिए । शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताएका छन् ।

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको एटीएममा गई कार्ड मसिनमा राखेर ‘ग्रिन ओपीटी फर पिन’ मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहकहरुले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ‘ओपिटी’ प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकहरुले ‘इन्टर ओपिटी टु चेन्ज योर पिन’ मेनु छनौट गरि प्राप्त भएको ‘ओपीटी’ राखेर पिन सेट अथवा रिसेट गर्न सकिनेछ ।

हाल बैंकले देश भरी ११९ शाखा र १८५ एटिएम काउण्टरहरु मार्फत् बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

प्रेस काउन्सिलको अध्यक्षमा बुढाथोकि

काठमाडौँ । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त भएका छन् । निर्वतमान अध्यक्ष किशोर श्रेष्ठको राजीनामा सँगै प्रेस काउन्सिलको अध्यक्षमा बुढाथोकी नियुक्त भएका हुन् ।

शुक्रबार प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले जेष्ठ सदस्य साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई कार्यवहाक अध्यक्षमा नियुक्त गरेको हो ।

सानिमा लाइफको सिइओमा मुखिया

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अगम मुुखिया नियुक्त भएका छन् । कम्पनीको सीईओ नियुक्त गर्नको लागि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकृति दिनुपर्ने कानुनी व्यवस्था अनुसार समितिले शुक्रबार नियुक्तीका लागि स्विकृति दिएको हो ।

मुखिया रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीमा डेपुटी सिइओको रुपमा रहेका थिए । प्रमुख कार्यकारी अधिकृत पदमा उनले ४ वर्षका लागि नियुक्ती पाएका हुन् ।

सानिमा लाइफमा सीईओ पद खाली थियो । कम्पनी २०७४ सालमा संचालनमा आएको भएपनि महाप्रबन्धकको रुपमा शिवराम तिमिल्सिनाले व्यवस्थापनको नेतृत्व गरिरहेका थिए ।

नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा १० वर्ष काम गरेका मुखिया सो कम्पनीको एसिस्टेन्ट जनरल म्यानेजरको जिम्मेवारीमै रहेकै बेला रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीको डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा गएका थिए । बीमा क्षेत्रमा करिब १५ वर्ष काम गरेको अनुभव भएका मुखिया बीमा बजारमा नयाँ नयाँ प्रडक्ट ल्याउनेमा खास दख्खद राख्ने व्यक्तिका रुपमा परिचित छन् । उनले अन्तराष्ट्रिय श्रम संगठन ९आइएलओ० मा प्रोजेक्ट कन्सल्ट्यान्टको रुपमा पनि काम गरेको अनुभव संगालेका छन् ।

सांग्रिला बैंकले समय नाघेको सावाब्याज चुक्ता गरे ब्याज रकममा १२% प्रतिशत छुट प्रदान गर्ने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ । योजनाा अनुसार बैंकका ऋणी ग्राहकले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट गर्ने भएको हो ।
उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा भने लागु हुने छैन ।

लगातार ओरालो लागेको सुनको मूल्य आज ८ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य लगातार घटिरहेको थियो । आज शुक्रबार सुनको मूल्यमा ८ सयले बढेको छ । बिहीबार ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेर ९३ हजार ९ सयमा कारोबार भएको सुन चाँदि महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन ९३ हजार ४ सयमा कारोबार भईरहेको छ । यो अघिल्लो दिनको भन्दा ८ सय बढी हो । यसरी नै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ४० रुपैयाले बढेर ११ सय ६० मा कारोबार भइरहेको छ ।

दार्चुलामा असई मृत फेला

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा नेपाल प्रहरीका एकजना मृत भेटिएका छन् । दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ न बंगाबडाको होटलमा नेपाल प्रहरीका सई मृत फेला भेटिएका हुन् । महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बाससेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

उनको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार सई रावलको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थियो । उनी बाथरुममा लडिरहेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल दार्चुलामा लगिएको थियो । तर डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए । सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेवा विकास र नबिल इन्भेष्टिमेण्ट बैंकबीच मरामर्श सेवा सम्बन्धि सम्झौता

काठमाडौा । नेपाल धितोपत्र बोर्डबाट ईजाजत पत्र प्राप्त नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड र नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त कामना सेवा विकास बैंकबिच संस्थागत परामर्श सेवासम्बन्धि सम्झौता सम्पन्न भएको छ । असोज ५ गतेका दिन दुई बैंकबीच सम्झौता भएको हो ।

कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवासम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्ने छ ।

संस्थागत परामर्श सेवासम्बन्धि अन्य जानकारीः

संस्थागत परामर्श सेवा भन्नाले विज्ञ तथा व्यवसायिक वित्तिय परामर्शदाताहरूद्वारा विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवालाई संस्थागत परामर्श सेवा भनिन्छ । अंग्रेजीमा यसलाई फाइनान्सियल एडभाइजरी अथवा कर्पोरेट एडभाइजरी पनि भनिन्छ । अर्को शब्दमा भन्दा फाइनान्सियल एडभाइजरी तथा वित्तिय कन्सलटेन्सीको काम नै संस्थागत परामर्श सेवा हो ।

नविल ईन्भेष्टमेण्ट बैङ्किग लिमिटेडले वित्तिय क्षेत्रमा पूँजीको परिचालन, लगानीका सम्भावित क्षेत्रहरू, सम्भावित नाफा÷जोखिमको अवस्थिति÷मुल्यांङ्कन लगायतका बिषयमा परामर्श दिने गर्दै आएको छ । व्यवसायको रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्प्रर्धात्मक क्षमताको अभिवृद्धि गर्ने जस्ता आफ्नो व्यवसायको सुक्ष्म व्यवस्थापनमा सहयोगी कार्य गर्न पनि संस्थागत परामर्शदाताको आवश्यकता÷खोजी हुने गरेको पाईन्छ ।

यसका साथै व्यवसायलाई आवश्यक पूँजीको उपलब्धता, लगानीकर्ताको लागि उपयुक्त व्यवसाय र व्यवसायीको खोजी साथै व्यवसायका लागि उचित मूल्यांङ्कन गर्न सक्ने लगानीकर्ताको खोजीमा समेत संस्थागत परामर्शदाताले समन्वयकारी÷सहयोगी भुमिका निर्वाह गर्दछन् । विभिन्न व्यवसायमा अन्तरनिहित जोखिमको न्यूनीकरण गर्न, जोखिम बहन गर्ने क्षमता अनुरूपको व्यवसायको विस्तार र जोखिम बहन गर्ने क्षमताको समष्टिगत अभिबृद्धिमा संस्थागत परामर्श सेवा प्रदायहरूले विशेष विज्ञता हाँसिल गरेका हुन्छन् । संस्थागत परामर्श सेवा आफैमा एउटा छुट्टै उद्योग हो ।

यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राष्ट्रिय आय र उत्पादकत्वलाई बुद्धि गर्न सहयोग गरिरहेको हुन्छ । अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने परियोजना तथा कम्पनिलाई विभिन्न हिसाबले सहयोग गरी एउटा भिन्न पहिचान÷मुल्य सिर्जना गर्न सक्षम भएकोले गर्दा नै यसको महत्व दिनानुदिन बढ्दै गएको पाइन्छ ।

वित्तिय अनुशासन, लगानीको सुनिश्चितता, जोखिमको न्यूनीकरण, विस्तृत तथा वैज्ञानिक अनुसन्धान पद्धतिमा आधारित कार्यप्रणालीले गर्दा नेपालमा पनि संस्थागत परामर्श सेवाको उपयोग व्यवसायिहरुले व्यवसायिकरुपमा बढाउँदै लगेका छन् । परामर्श सेवा लगानीका क्षेत्रमा मात्रै सीमित नभई यसले वित्तीय क्षेत्रमा अन्य विबिध÷धेरै सेवाहरु प्रदान गर्दछ । नाफामुलक संस्थाले मात्र नभएर गैह्र नाफामुलक संस्थाले समेत परामर्श सेवाको उपयोग गर्न सक्दछन् ।

२०७४ को चैतबाट नेपाल धितोपत्र बोर्डले लाईसेन्स दिएपछि संस्थागत परार्मश सेवाको औपचारीक सुरुवात भएको हो । नेपालमा नबिल इन्भेष्टमेण्ट बैङ्किग लिमिटेडले धितोपत्र बोर्डबाट अनुमति लिएर यो सेवा प्रदान गरिरहेकोछ । नबिल इन्भेष्टमेण्ट बैङ्किग लिमिटेडले क्यापिटल मार्केट तथा इन्भेष्टमेन्ट बैङ्किगको दृष्टिकोणबाट यस कम्पनीले आफ्नो कार्यपद्धतिलाई अगाडि बढाइ रहेको छ । संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैङ्किग लिमिटेडबाट कामना सेवा विकास बैंकले निम्न लिखित सेवाहरू आफ्ना ग्राहक वर्गहरुलाई प्रदान गर्न सक्नेछस्
१. संगठित संस्थाको संरचना हेरफेर
२. मुल्याङ्कन
३. हेज फण्ड
४. प्राइभेट इक्विटी
५. व्यवसायिक योजना
६. सम्पत्ति व्यवस्थापन
७. लोन सिन्डिकेशन
८. मर्जर तथा एक्युजिसन
९. वर्किङ क्यापिटल फाइनान्सिङ
१०. लगानी सम्बन्धि परामर्श
११. भेन्चर क्यापिटल
१२. प्रत्यक्ष वैदेशीक लगानी सम्बन्धि सेवा

व्यावसायीलाई सहुलियत दिने सम्बन्धमा ग्लोबल आइएई र होलट व्यवसायी महासंघबीच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियत दिन सम्बन्धमा सम्झौता भएको छ । नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैङ्किङ कारोबारको पहुँच भित्र ल्याउने विषय सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् ।

होटल व्यवसायी महासंघ नेपालसंग आवद्ध व्यवसायीहरूलाई आर्थिक कारोबारमा सघाउ पुर्याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको हो ।

यसका साथै महासङ्घसँग आबद्ध व्यवसायीहरूको लागि बैंकले आवश्यकता अनुसार बैङ्किङ एवं वित्तीय साक्षरता सम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । यस्तो सुविधा लिनको लागि महासङ्घसँग आबद्ध सम्पूर्ण व्यवसायीहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैङ्किङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर सहित ७ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुनः होम क्वारेण्टिनमा बसेका छन् । बैंकका एकजना डेपुटी गभर्नरलगायत केन्द्रीय कार्यालयका सातजना कर्मचारीलाई हिजो कोरोना संक्रमण पुष्टि भएपछि अधिकारीले आजदेखि होम क्वारेण्टिनबाटै कार्यालयको काम गर्ने भएका हुन् । झण्डै एक महिनाअघि पनि उनी एक साता होम क्वारेण्टिनमा बसेका थिए ।

स्रोतका अनुसार बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये एक जना डेपुटी गभर्नर शिवराज श्रेष्ठ, दुई जना संस्थागत योजना विभागका, तीन जना बैंक सुपरीवेक्षण विभागका र एक जना सामान्य सेवा विभागका कर्मचारी रहेको बताइएको छ ।

केन्द्रीय कार्यालयमा एकैपटक सातजनामा कोरोना पुष्टि भएपछि आजदेखि केन्द्रीय बैंकको काम नै प्रभावित हुनसक्ने एकजना कार्यकारी निर्देशकले बताएका छन् । गत साउन र भदौमा मात्र अधिकांशको स्वाब परीक्षण गरिएको थियो । तर, त्यत्तिबेला परीक्षण नेगेटिभ आएपछि कर्मचारीले आफू सँधैका लागि कोरोनामुक्त भएको झैँ व्यवहार गरेकाले अहिले भित्रभित्रै फैलिएको हुनसक्ने स्रोतको दाबी छ ।